नयाँ पत्रिका, २०७६ साल भदौ १४ गते शनि बार, ‘झन नयाँ’ मा प्रकाशित

नेपालका छेत्री बाहुन र दलितहरुलाई पनि उनीहरुको मातृभाषालाई पनि नेवारहरु र पश्चिम तिरका मगर र अरु जन जातिले ‘खस’ भन्दछन् । बालकृष्ण पोखरेल (२०५५) ले ‘खस जातिको इतिहास’ भन्ने किताबमा खसहरुलाई पुरै युरेसिया भरि मात्र होइन, मिश्र (इजिप्ट) देश सम्म पनि लडाइँ गरेर दिग्विजय गर्ने जाति भनेर चिनाएका छन्, तर राहुल सांकृत्यायन (१९५३ इ०, गढवाल, ५५) ले ठाउँका नाउँ हेर्दा खसहरुको दसी मध्य एसिया र दक्षिण एसियाको उत्तरी भेगमा धेरै तिर पाइने भए पनि पश्चिम नेपालदेखि भारतको कुल्लु (काङ्गडा) सम्म मात्र विशेष किसिमका आर्य जातिलाई ‘खस’ जाति भनेको पाइन्छ भन्ने लेखेका छन् ।

मेरो अनुसन्धान  (अन्नपूर्ण पोस्ट, फागुन १३, २०७५) ले पनि खस जातिलाई नेपालको उत्तर पश्चिममा संसारको छानो भनेर चिनिने ताजिकिस्तानमा पर्ने पामिरको माल भूमिदेखि अर्थात्, उज्बेकिस्तानको सिर दरिया नदीदेखि कैलास पर्वत हुँदै नेपालको काली गण्डकी सम्मको हिमाच्छादित भूमिको वारि पारिको मानव बस्तीलाई मात्र खस जातिको प्रागितिहासिक सांस्कृतिक गति विधि भएको क्षेत्र ठहराएको छ, त्यसैले मैले त्यस क्षेत्रको नाम नै ‘खस मण्डल’ राखेको छु । उल्लिखित ‘खस मण्डल’ अर्थात्, हिमाच्छादित भूभागमा तिन किसिमका भारोपेली जाति मिलेर खस जाति बने जस्तो देखिन्छ ।

अहिले सम्म युरेसियाको पुरातात्त्विक अनुसन्धानले भारोपेली जातिको मूल थलो युराल पहाडको पश्चिम तिर कश्यप सागर र कृष्ण सागरको उत्तर तिरको भूभागलाई ठहराएको छ । रुसको भोल्गा नदी किनारको सिन्तास्ता भन्ने ठाउँलाई भारोपेली जातिको मूल थलो मानिएको छ । त्यो मूल थलाबाट झन्डै इपू० २५०० तिर जुन बगाल भूमध्य सागर क्षेत्रमा टर्कीको एनाटोलिया पुग्यो त्यसलाई हित्ती भन्दछन् भने, जुन बगाल पश्चिम चीनको ताक्लामकान आई पुग्यो, त्यस बगाललाई तोखार भन्दछन् (कुज्मिना, २००७ इ०, ओरिजिन्स अफ इन्डो-इरानियान्स, अस्को पार्पोला, २०१५ इ०, द रुट्स अफ हिन्दुइज्म)।

ताक्लामकान उपत्यका उल्लिखित खस मण्डलको ठिक्क उत्तर तिर पर्छ । त्यसै उपत्यकाबाट रोमन साम्राज्य सम्म जोड्ने त्यो चिनियाँ रेसम मार्ग (भिक्टर मायर, २०१४ इ०, रिकन्फरिङ द सिल्क रोड) को एउटा हाँगाले कैलास मानसरोवर क्षेत्र (ताक्लाकोट) देखि ताक्लामकान सम्म पनि जोडेको पाइएको छ (जेन छिउ, २०१६ इ०), त्यसैले उल्लिखित खस मण्डलमा त्यो जाति पनि उक्ले जस्तो लाग्छ । खसहरु ताक्लाकोटदेखि ताक्लामकान सम्म राज्य गर्थे भन्ने कुरो त स्नेल्ग्रोभ (१९८१ इ०, हिमालयन पिल्ग्रिमेज) ले पनि बिक्विथ (१९८७ इ०, टिबेटन एम्पायर इन सेन्ट्रल एसिया) ले पनि लेखेका छन् ।

सोभियत रुसको कजाखस्तानमै पूर्वी र पश्चिमी आर्यहरु प्रस्ट नछुट्टिँदै आर्यहरुकै एउटा बगाल (दरद र नुरिस्तानी) इपू० पन्ध्रौँ शताब्दीदेखि तेरौँ शताब्दी बिचमा यस हिमाच्छादित भूभागमा खोलै खोला उक्ली सकेका अनेक पुरातात्त्विक प्रमाण (किथ, १९१३ इ०, ‘द व्रात्याज’, टुची, १९४० इ०, टिबेटन पिल्ग्रिम्स इन स्वात भ्याली, महेश्वर जोशी, २०१७ इ०, हर्स इन रक ड्रइङ्स इन स्पिती) पाइएका छन् । अन्तमा इपू० तेरौँ शताब्दी तिरको युरेसियाको पर्यावरणीय सङ्कटबाट जोगिन दक्षिण मध्य एसिया आई पुगेको आर्य जातिकै इरानको ईशान कोणमा पसेको बगालबाटै इपू० आठौँ सातौँ शताब्दीमा घोडा चढेर लडाइँ गर्ने शकहरुकै एउटा बगाल पनि यस हिमाच्छादित भूभागमा उक्लेका प्रमाणहरु पाइएका छन् (कुज्मिना, २००७ इ)। यसरी अनेक प्रागितिहासिक चरणमा एउटै भूभागमा मिलेर बसेका यी तिनै ओटा भारोपेली बगालहरु मिलेर खस जाति बन्यो होला भन्ने मेरो अड्कल छ । ताक्लामकानमा दुई तिन किसिमका तोखारी भाषाका सामग्रीहरु फेला परेका छन् । तिनीहरु मध्ये खोतानमा भेटिएको सामग्रीको भाषालाई ‘शक भाषा’ पनि भन्ने चलन छ (वाच्लाभ ब्लाजेक, २०११ इ०, तोखारियन स्टडिज) ।

निकोला डी कस्मो (२००२ इ) ले लेखेको ‘एन्सिएन्ट चाइना एन्ड इट्स एनेमिज’ (प्राचीन चीन र यसका शत्रु) भन्ने किताब अनुसार ह्वाङ ह नदीको उत्तर तिर पेइचिङको पूर्व सम्म नै घोडा र रथ चलाउने प्राचीन चीनका दारीपाला ‘शत्रु’ हरु इपू० १००० तिरै पुगेका थिए । सम्भवतः तिनीहरु तोखारहरु थिए । इपू० ७०० तिर घोडा चढेर लडाइँ गर्ने उस्तै अनुहार देखिने चीनका ‘शत्रु’ हरु चाहिँ शकहरु थिए । चिनियाँ इतिहासकारहरु के लेख्छन् भने, उस्तै अनुहार देखिने ती दुई खाले शत्रुहरुमा एक खालेले बोलेको भाषा अर्का खालेले त्यति बुझ्दैनथे ।

डी कस्मो के लेख्छन् भने, चिनियाँ इतिहासकारहरुले शत्रु भने पनि वास्तवमा ती घोडापाला र गाईपाला दारीपाला मानिसहरु चिनियाँहरुका शत्रु नभएर चिनियाँहरु चाहिँ तिनीहरुका शत्रु पल्टेका हुन् । आपसमा लडाइँ गरी रहने चिनियाँ राजाहरुलाई तोखार र शकहरुका घोडा, रथ, गहना र राम्रा केटी लुट्न मन भयो, त्यसैले ह्वाङ ह नदीको दक्षिण तिर मात्र बस्ने ती चिनियाँ राजाहरु आरिस गरेर ती घोडापालाहरु माथि पटक पटक आई लागे पछि अनेक पल्ट तिनीहरु हारे अनि अन्त्यमा तिनीहरुलाई सन्धि गर्दै धोका दिँदै, एक अर्कालाई फुटाउँदै रथ, घोडा, केटी र गरगहना कहिले सन्धिबाट कहिले लुटेर, कहिले लडाइँ गरेर हत्याउन थाले । यो क्रम इपू० तेस्रो शताब्दी सम्म चली रह्यो, जब चीनका पहिला सम्राट् छिन सि ह्वाङ् दीले समस्त चीनको एकीकरण गरे पछि आफुले तोखार र शकहरुको भूमि समेत हडपेर ओगट्न चीनको पर्खाल बनाए । चीनको पहिलो राजवंश पश्चिम चाउकी आमा नै भारोपेली जातिकी छोरी थिइन् अरे । चिनियाँ संस्कृतिमा घोडा, रथ, काँस, उनी कपडा र गहना तोखार र शकहरुकै देन हो, तर चिनियाँ इतिहासकारले पनि ग्रिसका इतिहासकारले पनि शकहरुलाई असभ्य, जङ्गली, भँडुवा, बेइमान र लुटाहा भनेर चिनाएका छन् । वैदिक साहित्यले नै पनि हिमाच्छादित भूभागमा बस्ने आफ्ना गोतीहरुलाई गतिछाडा ठहराएका छन् ।

भारोपेली जातिको आविष्कार तुलनात्मक भाषा शास्त्रका अनुसन्धानले गरेको हो । सन १७८६ इ० मा विलियम जोन्स (थर्ड एनिभर्सरी डिस्कोर्स, एसियाटिक रिसर्चेज) ले उच्चारण र अर्थ दुवै झन्डै मिल्ने शब्दहरुको तुलना गरेर संस्कृत, फारसी, ग्रिसेली, ल्याटिन, जर्मनेली, तोखारी, केल्टिक, इटालेली, लिथुआनियाली, रुसी, आदि भाषाहरु एउटै माउका सन्तान हुन् भन्ने सिद्धान्त बनाए पछि तुलनात्मक भाषा विज्ञान जन्म्यो, जसले विकास गरेको तुलनात्मक विधिबाट भारतीय उपमहाद्वीपदेखि युरोप सम्म छरिएका थुप्रै मातृभाषाहरु एउटै माउका सन्तान ठहरिए । त्यस्ता सबै साइनो लाग्ने भाषाहरुको साझे नाम ‘भारोपेली’ (इन्डो-युरोपियन) भन्ने राखियो । त्यस पछि भारोपेली भाषा बोल्ने जातिलाई पनि भारोपेली भन्न थालियो । भारोपेली भाषाका केही मिल्ने शब्द यस्ता छन् :

क.    गाई : गौ (संस्कृत), काउ (तोखारी, अङ्ग्रेजी), कुह् (जर्मन),

ख.    दुहुनु : *दुघ् (संस्कृत), दुग् (फारसी), तुग् (ग्रिसेली), दौग् (लिथुआनियाली), दुगा (आइस्ल्यान्डेली)

ग.      घोडा : अश्व (संस्कृत), ओस्बी (चर्च स्लाभिक), आशावे (तोखारी), अशुस (बाल्टिक), अस (लात्भियाली), आसुताइ (लिथुआनियाली), ओसोत (रुसी), इक्कुस (ल्याटिन), हिप्पोस (ग्रिसेली) ।

राल्फ लिली टर्नरले ‘व्युत्पत्तिमूलक नेपाली शब्दकोश’ (१९३१ इ०, कम्पेरेटिभ इटिमोलोजिकल डिक्स्नरी अफ द नेपाली लेङ्ग्वेज) बनाएर एकातिर नेपाली भाषाका शब्दहरुलाई भारतका भाषाहरुसित, अर्कातिर युरोप भरिका भाषासित तुलना गरेका छन् भने, अर्कातिर ‘आर्य भाषाको कोश’ (१९६६ इ०, डिक्स्नरी अफ इन्डो आर्यन) बनाएर सबै आर्य भाषाहरुका उच्चारण र अर्थ मिल्ने शब्दहरु भिडाएका छन् । यस तुलनात्मक भाषा विज्ञानका आधारमा खसहरुको भाषा पनि भारोपेली आर्य भाषा ठहर्छ ।

भारोपेली जातिले नै इपू० ४००० तिर घोडा, गाई र भेडा पाल्न थालेको हो । चक्र अथवा पाङ्ग्राको आविष्कार पनि यसले त्यसै वेला तिर गर्‍यो । पहिले उनीहरुले पालेका जन्तु भोजनकै लागि थिए होलान् । वनमा जन्तुको सिकार गर्न छोडेर आफैँ वस्तु पाल्न थाले पछि भोजनमा त यो जाति आत्मनिर्भर भयो, तर वस्तुलाई घाँस र पानी खोज्दै यो जाति फिरन्ता भयो । यसरी घाँस खोज्दै अघि बढ्दा नजिकैको साइनो लाग्ने गोती नै नचिनिने अवस्था हुन्छ । वनका जन्तुबाट आफ्नो रक्षा गर्न पहिले उनीहरु ढुङ्गा र हाडका हतियार बनाउँथे, तर ताम्र युग (इपू० १३ औँ शताब्दी) देखि तिनीहरु आफ्ना धनुषका लागि वाणका टुप्पामा तामा लगाउन थाले र तामाकै हतियार बनाउन थाले । यसरी सुरुमा आत्मरक्षा र सिकारका लागि उपयोग भएको हतियार कालान्तरमा लुटेरा र शत्रु माथि जाई लाग्न पनि उपयोग भयो ।

युराल पहाडको उत्तर पट्टि पनि दक्षिण पट्टि पनि पुरै युरेसिया भरि घाँसको दुइटा पट्टी छ, जहाँ गाईवस्तु डुलाउँदै हिँड्नेमा तोखार र आर्यहरु नै पहिला भए । पहिले पाङ्राले गाडी बनाएर सामान घिस्याए, पछि गोरुलाई घिस्याउन नारे, अन्त्यमा घोडालाई गाडीमा नारे पछि उनीहरुको गति कति हो कति बढ्यो (कुज्मिना, २००७ इ०)। त्यसै गतिले गर्दा तोखारहरु पनि इपू० २५०० तिरै ताक्लामकान पुगे र लौह युग (इपू० १०००) तिरै चीनको उत्तरी सीमाका छिमेकी भए (डी कस्मो, २००२ इ०, एन्सिएन्ट चाइना एन्ड इट्स एनेमिज) । पछि त्यही गरुङ्गो गाडी हलुङ्गो रथमा विकसित भयो । चीन, पश्चिम एसिया, इजिप्ट र सम्भवतः दक्षिण एसिया सम्म युद्ध जित्न त्यही रथ र हतियार सहायक भयो होला ।

इपू० आठौँ सातौँ शताब्दीमा शकहरुले इतिहासमा पहिलो पल्ट घोडामा चढेर लडाइँ गर्न सिके पछि समग्र युरेसिया, पश्चिम एसिया, इजिप्ट र दक्षिण एसियामा उनीहरुले दिग्विजय गरे । खसहरु पनि शकहरु नै भएकाले उनीहरु घोडा, गाई, भेडा, रथ, तामा, पित्तल, काँस र सुनसँग परिचित छन् । खाँबा गाडेर मात्र घर बनाउने आर्यहरुको चलन खसहरुकहाँ छ । ढुङ्गाको गारो लगाउने चलन आर्यहरुले तुर्कमेनिस्तान तिर मात्र सिके । त्यतै तिर आए पछि मात्र आर्यहरुले बाख्रा पाल्न जाने । युरेसियाका घाँसका फाँटमा भौँतारिँदा आर्यहरुले खेतीपाती गर्न त्यति जानेका थिएनन् । ब्याक्ट्रियामा आए पछि मात्र तिनीहरुले खेती गर्न पनि सिके । त्यहीँ आए पछि मात्र आर्यहरुले देवीको पूजा गर्न पश्चिम एसियाबाट आएका द्रविडहरुसित सिके । त्यहीँबाट ताजिकिस्तान, उज्बेकिस्तान, किर्घिजिस्तान र सिन्च्याङबाट खोलाको गड्तिरै गड्तिर वस्तु चराउँदै हिमाच्छादित भूभागमा उक्लेका खस, दरद र नुरिस्तानीहरुले हिमाली लेकमै आफ्नो विशिष्ट संस्कृतिको निर्माण गरे (कुज्मिना, २००७ इ०)।

खस जाति सम्बन्धमा बालकृष्ण पोखरेल (२०५५) कै मान्यतालाई पत्याएर मैले कर्णाली प्रदेशको प्रागितिहास (ज्योसेप्पे टुची, १९५६ इ, १९६० इ), एट्किन्सन (१८८४ इ०) को ‘हिमालयन गजेटियर’ र युरेसिया (डेभिड क्रिस्चियन), इरान, तिब्बत (बेक्विथ), सिन्च्याङ (मायर) को इतिहास र पुरातत्त्वको अध्ययन गरेँ । मेरो यो लामो अध्ययनले के फेला पार्‍यो भने, बालकृष्ण पोखरेलले चाहिँ शकहरुलाई खसको एउटा बगाल ठानेछन्, तर वास्तवमा खस पो हिमाच्छादित भूभागको सेरोफेरोमा मात्र आफ्नो सांस्कृतिक निर्माण गर्ने शकहरुको एउटा बगाल रहेछ अनि बालकृष्ण पोखरेलले खस ठानेको जाति त खसहरुको गोती शक पो रहेछ भन्ने पत्तो लाग्यो ।

राहुल साङ्कृत्यायन (२०१३, मध्य एसियाका इतिहास, भाग १, पृ० १०, १९५-१९६) र ग्रिसेली भूगोलविद् स्ट्राबो (इपू० ६३-२४ इ०) ले शकहरुका अनेक स्थानीय नाम (मसागाइट, पार्थियन, सकरौका, सइवाङ, उसुन, युह्ची, सोग्द\सोग्दियन, स्कुथियन, स्किथियन, मिडियन, स्कुद्र, मिडियन, दाह\दाहई, खश, कुषाण, हेफताल, कङ्ग, अलान, आदि) दिएका छन् । अनुसन्धानमा के देखिन्छ भने, शक नाउँ भएको बगाल चाहिँ इरान र इरानदेखि पूर्व चीन सम्म र दक्षिणमा भारतीय उपमहाद्वीप तिर पाइने रहेछ । शकहरु आर्य जाति हुन् । आर्य शब्दले ‘अवेस्ता’ रच्ने इरानी र ‘ऋग्वेद’ रच्ने भारतीय दुवै खालका आर्य जाति जनाउँछ । युनानी इतिहासकारहरुले (म्याक्क्रिन्डल, १९७५ इ) इरानको प्राचीन नाम ‘आर्याना’ लेखेको पाइन्छ

रुसी पुरातत्त्वविद् कुज्मिना (२००७ इ, ‘ओरिजिन अफ इन्डो इरानियन्स’) ले आर्यहरुको पुरातात्त्विक इतिहासमा के लेखेकी छिन् भने, इपू० १८ औँ शताब्दी पछि आफ्ना अरु भारोपेली गोतीहरुलाई छोडेर आर्यहरु रुसको युराल पहाडको पूर्व तिर घुम्थे । त्यसमा पनि क्रमशः कजाखस्तानको पश्चिम तिरको भेगमा भएको आर्य जाति क्रमशः इरानी जातिमा विकसित भयो भने, पूर्व तिर भएको आर्य जाति ऋग्वेदका ऋचा लेख्ने अर्थात् वैदिक संस्कृति रच्ने भविष्यको भारतीय आर्यमा क्रमशः विकसित भयो । यी दुवै खाले आर्यको भाषा पनि मिल्थ्यो संस्कृति पनि मिल्थ्यो । यी आर्यहरुसित सबभन्दा धेरै मिल्ने भाषा लिथुआनियाली र स्लाभिक हो । युराल पहाडको उत्तर पश्चिम तिर एउटै थलाबाट बाल्टिक भाषा बोल्नेहरु बाल्टिक सागर तिर गएछन् भने, आर्यहरु चाहिँ युराल पहाडको पूर्व तिर लागेछन् ।

अरु भारोपेली जाति भन्दा आर्यहरुको टड्कारो चिनारी के थियो भने, तिनीहरुको आवासमा आगो बाल्ने ठाउँ पनि धेरै किसिमको हुन्थ्यो । आज पनि गाउँघरमा हामी नेपालीहरु अगेनामा आगो ताप्छौँ, चुलाको भर्सेलीमा पूजा गर्छौँ अनि चुलामा भात पकाउँछौँ, बाहिर तिर गाईवस्तुलाइ कुँडो पकाउँछौँ, होम गर्दा बेग्लै ठाउँमा आगो बाल्छौँ, दियो बाल्ने ठाउँ बेग्लै हुन्छ । आर्यहरुको यो प्रागितिहासिक चलन हामीले अझै जोगाएका छौँ । आर्यको संस्कृतिमा बाहेक अरु जातिलाई यति धेरै किसिमको आगो चाहिँदैन ।

कुज्मिनाले बटुलेको आर्यहरुको दोस्रो टड्कारो विशेषता हो खाँबो र टेका नगाडी घरै नबनाउने । पश्चिम एसियाका जाति चाहिँ घर बनाउँदा गारो मात्र लगाउँछन् अरे । आर्यहरु मूल खाँबामा देउता बस्छ भनेर पुज्छन् भन्ने कुज्मिनाको पुरातात्त्विक अनुसन्धानले नेपाली खसहरुको चलनलाई पनि छुन्छ ।

पूर्वी कजाखस्तानमा जस्ता, टिन र आर्सेनिकको खानीबाट निस्केको धातुमा तामा मिसाएर पित्तल, काँस र कास्कुट बनाउन यी पूर्वी आर्यहरुले नै जाने । तामासित आर्यहरुको परिचय भारोपेली जातिको मूल थलो भोल्गा नदीको बेँसीमै भएको थियो । खसहरु पनि तामा जति पवित्र अरु धातुलाई मान्दैनन् । तामासँग पूर्वी कजाखस्तानदेखि पश्चिम मङ्गोलियाको अस्ताई पहाड सम्म पाइने अरु उल्लिखित धातुहरु मिसाएर तामा भन्दा कडा मिसोट बनाउन जाने पछि यी पूर्वी आर्यहरुको सांस्कृतिक शक्ति झन बढ्यो । यी पूर्वी आर्यहरुले नै मानव इतिहासमा पहिलो पल्ट सुन खानी पनि भेटेका थिए । विश्वभरमा सुन चलाउने पहिलो जाति नै यही पुर्बेली आर्य जाति हो ।

पुरातात्त्विक अनुसन्धानबाट के प्रमाणित भएको छ भने, पश्चिमी आर्यहरु मध्ये थोरै मात्र इपू० १००० तिर इरानको पूर्वोत्तर भेगमा ब्याक्ट्रियाबाट पसे भने, पार्थहरु चाहिँ कश्यप सागर र कृष्ण सागरको बिचमा पर्ने ककेसस पहाड तिर बाट इरानको वायव्य कोणबाट पसे अनि इरानमा अखामनी साम्राज्य थाले । एउटै इरानी आर्य जाति भए पनि पार्थहरुका संस्कृतिमा चाहिँ पश्चिम एसियाको सांस्कृतिक प्रभाव पाइन्छ भने, ईशान कोणबाट छिर्ने आर्यहरुको चलन पुर्बेली आर्यसित धेरै मिल्छ । कहाँ सम्म भने, पश्चिमी आर्यहरुको धर्म ग्रन्थ ‘अवेस्ता’ का धेरै मन्त्रहरुको भाषा समेत पुर्बेली आर्यको धर्म ग्रन्थ ‘ऋग्वेद’ का ऋचाहरुसित मिल्छ । इरानमा कहिल्यै नछिरेका भए पनि पश्चिमा आर्यहरुलाई इरानी भन्ने चलन पनि पाइन्छ ।

ईशान कोणबाट इरान छिर्ने पश्चिमी आर्यहरुले नै इपू० आठौँ सातौँ शताब्दी तिर मानव इतिहासमा सबभन्दा पहिले घोडा चढेर लडाइँ गर्न जाने । इरानीहरुको यसै बगाललाई शक भन्दछन् । शकहरु घोडा चढेर लडाइँ गर्दै एकातिर चीनको उत्तरमा पेइचिङ भन्दा पूर्व समुद्र किनार सम्म पुगे, पश्चिममा निपर नदी सम्म पुगे, नैऋत्य कोणमा ग्रिस, सिरिया र इजिप्ट सम्म पुगे, उत्तरमा मानव बस्ती भए सम्म पुगे । खसहरु तिनै शकहरुको ताजिकिस्तान, किर्घिजिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, पाकिस्तान, काश्मीर, जम्मु, हिमाचल प्रदेश, उत्तराखण्ड र नेपालको काली गण्डकी सम्मको हिमाली भूभागका छेउछाउमा फैलिएको छुट्टै चिनारी भएको जाति हो, तर खस जाति भित्र पश्चिमी आर्य जाति शकहरुसँग ऋग्वेद लेखिनु भन्दा कम्तीमा ५०० वर्ष अगाडि (इपू० १३०० तिर) उल्लिखित हिमाच्छादित प्रदेशमा पसेर बस्तै आएको प्राग्वैदिक आर्य भारोपेली मूल पुर्खासँग झन्डै इपू० २५०० वर्ष अगाडि छुट्टिएर ताक्लामकान आई पुगेको तोखार जाति पनि मिसिए जस्तो बुझिन्छ ।

आर्य जाति भारोपेली जातिको सबभन्दा फैलिएको हाँगो हो । संस्कृत भाषा यसै जातिको पूर्वी शाखामा विकसित भएको भाषा हो । आर्यहरुले जुन वेला ऋग्वेद रच्न थाले, त्यस वेला तिनीहरु मध्य एसियाको वर्तमान तुर्कमेनिस्तानमा पश्चिमी आर्यसँगै थिए भन्ने कुरो ऋग्वेदका ऋचा र अवेस्ताका मन्त्र मिलेबाट थाह हुन्छ । ऋग्वेद रच्ने आर्यहरु भूमध्य सागरबाट क्यास्पियन सागरको दक्षिणी किनार हुँदै त्यहाँ बसोबास गरी रहेका द्रविड जातिसित त्यहीँ मिसिएको पुरातत्त्व र भाषा विज्ञानले देखाउँछ । पूर्वी युरेसियाको पुरातात्त्विक प्रमाणले के देखाउँछ भने, यी दुवै खालका आर्यहरुले देवीको पूजै गर्न जानेका थिएनन् । उनीहरु देउताको मात्र पूजा गर्थे । तुर्कमेनिस्तानमै उनीहरुले द्रविडले मान्दै आएकी भगवती मान्न सिके । इपू० १३ औँ शताब्दी तिर तुर्कमेनिस्तान आई पुगेका आर्यहरुले मन्दिरमा देउता पूजा गर्न पनि जानेका थिएनन् । मन्दिरमा देउता पुज्न पनि उनीहरुले द्रविडहरुसितै सिके भन्ने कुरो पुरातात्त्विक प्रमाणले देखाउँछ । त्यहाँबाट जति दक्षिण अफगानिस्तान र पाकिस्तान तिर ऋग्वेद लेख्ने आर्यहरु पसे, त्यति धेरै तिनीहरुले बेलुचिस्तान र हरप्पा सम्म नै द्रविडहरुसँग सांस्कृतिक आदान प्रदान गरे । ऋग्वेदको मूल भागको रचना गर्दा आर्यहरु सप्त सिन्धु (पाकिस्तान) मा बस्थे । अफगानिस्तानको कुभा नदीदेखि गङ्गा नदी सम्म ऋग्वेदको भौगोलिक विस्तार देखिन्छ । यसरी वैदिक धर्मको बिउ पूर्वी कजाखस्तानमै टुसायो होला, तुर्कमेनिस्तानमा गाँजियो भने, पञ्जाबमा फस्टायो र पूर्ण रूप लियो भन्ने देखिन्छ । गङ्गा नदीको नाम त ऋग्वेदको दसौँ मण्डलमा एक ठाउँमा मात्र आउँछ । उत्तर वैदिक साहित्य मात्र गङ्गा किनारमा धेरै लेखियो ।

हिमाच्छादित भूभागमा बसोबास गर्ने आर्य र ऋग्वेद रच्ने आर्यको चालचलन प्राकृतिक र पर्यावरणीय भिन्नताले नै फरक पर्न थाल्यो । वैदिक धर्ममा जुन किसिमको आचार, नियम र अनुशासन बाँधियो, हिमाच्छादित भूभागका आर्यहरुले दुइटा कारणले त्यो अनुशासन पालन गर्न सकेनन् । पहिलो कारण त हिमाच्छादित भूभागमा बसोबास गर्ने आर्यहरु वैदिक धर्म सुरु हुनु भन्दा अगाडि नै पामिर र हिन्दुकुशबाट बग्ने सबै खोलाहरुको गड्तिरै गड्तिर माथि उक्ली सकेका थिए, त्यसैले पनि उनीहरुलाई वैदिक धर्मको ज्ञानै भएन । दोस्रो कारण चाहिँ हिमाली भूभागको पर्यावरणै बेग्लै थियो, त्यसैले वैदिक धर्म पालन गर्न तिनीहरुले रुचि देखाएनन् । त्यस्ता जनै नलगाउने र वैदिक धर्म नमान्नेहरुलाई ‘व्रात्य’ भन्ने चलन थियो । अथर्व वेदमा शिवजीलाई पनि ‘व्रात्य’ भनिएको छ । यसरी लेकाली आर्यहरु ‘व्रात्य’ भएछन्, बेँसीका आर्यहरु वैदिक (अथवा ब्राह्मण) भएछन् । वैदिक आर्यहरुका प्रतिनिधि देवता पछि विष्णु भएछन् भने, व्रात्यहरुका देवता शिवजी भएछन् । यसरी के बुझिन्छ भने, वैदिक आर्यहरुको प्रतिनिधि वेद ऋग्वेद भएछ भने, लेकाली व्रात्यहरुको प्रतिनिधि वेद अथर्व वेद भएछ भन्ने बुझिन्छ ।

प्रारम्भमा वैदिक धर्म मान्ने आर्य ब्राह्मण, वैदिक धर्म नमान्ने आर्य व्रात्य र विजातिहरु ‘शूद्र’ भन्ने जातीय वर्गीकरण बनेको देखिन्छ, तर इपू० सातौँ शताब्दी पछि त आफैसँग आई लाग्ने आफ्नै गोती शकहरुलाई पनि ‘शूद्र\स्कुद्र’ र ‘दास’\‘दाह’\‘दाहई’ भनेको पाइन्छ । प्रारम्भमा ‘वैश्य’ मात्र व्यापार गर्ने अर्थात्, पेसाका आधारमा वर्गीकरण गरिएको जाति थियो (अस्को पार्पोला, २०१५ इ०, ‘द रुट्स अफ हिन्दुइज्म)। कर्णाली प्रदेशमा अझै जनै नलगाउने व्रात्यहरु पाइन्छन् । शिवजीको पनि सबभन्दा पुरानो मूर्तिमा जनै लगाइएको पाइँदैन (गोपीनाथ राव, १९१६ इ०, हिन्दु आइकोनोग्राफी) । पशुपतिमा वाग्मती किनारमा भएको विरूपाक्षको किरातकालीन मूर्तिमा पनि जनै छैन । शिवपुराण अनुसार ‘विरूपाक्ष’ शिवजीकै एउटा नाम हो ।

नाचगानलाई वैदिक साहित्यमा राम्रो आचरण मानिँदैन, तर शिवजी त ‘नटराज’ र नाचगान र लोक साहित्यका देउता हुन् । ऋग्वेदमा रुद्रलाई सबै प्राकृतिक अनिष्टहरुका देवता मानिएको छ भने, पुराणहरुमा शिवजीलाई लत्तो छाड्ने देवताकै रूपमा चित्रण गरिएको छ । उल्लिखित हिमाच्छादित भूभाग शिव भूमि हो । त्यहाँ देवीको पनि पूजा हुने हुनाले खसहरु तुर्कमेनिस्तानकै बाटो लेक तिर लागेछन् भन्ने बुझिन्छ । खसानमा मानिने मुख्य देउता मस्टो (‘महिष्ठः’) पनि शिवजीकै अनेक रुद्र रूप हुन् ।