रुसी रूप वादको समालोचना प्रविधि

१. परिचय
पाश्चात्य साहित्यमा भाषापरक वस्तुगत समालोचना थाल्ने ‘रुसी रूप वाद’ बिसौँ शताब्दीको दोस्रो दशकमा सुरु भयो, बिसको दशक भरि कायम रह्यो र १९३० ई० मा दमनमा पर्‍यो । यो समालोचना केही भाषा शास्त्री र साहित्यिक इतिहासकारहरु (बोरिस आइखेनबाउम, रोमन याकोब्सन, भिक्टर स्क्लोभ्स्की, बोरिस तोमासेब्स्की, युरी तिन्यानोभ, झिर्मुन्स्की, ब्रिक, आदि) ले थालेका थिए (Erlich, Russian Formalism) । यस आन्दोलनका प्रणेताहरु दुई समूहमा बाँडिएका थिए : रोमन याकोब्सनहरुले नेतृत्व गरेको ‘मस्को भाषा वैज्ञानिक मण्डल’ (Moscow Linguistic Circle, २०१५ ई०) र बोरिस आइकेन्बाउम, भिक्टर स्क्लोभ्स्की र युरी तिन्यानोभहरुले नेतृत्व गरेको पिटर्सबर्गमा केन्द्रित ‘काव्यात्मक भाषा अध्ययन समाज’ (ओपायाज, १९१६ ई) (Steiner) ।
मस्को भाषा वैज्ञानिक मण्डलका निम्न लिखित दुइटा मान्यता थिए : (क) ‘काव्य भनेको विशिष्ट अर्थ दिने भाषा मात्र हो’ र (ख) ‘कलात्मकताको ऐतिहासिक विकासमा समाज कारण हुन्छ’ । अर्कातिर पिटर्स्बर्ग समूहका दुइटा मान्यता थिए : (१) ‘भाषिक सामग्रीको पूर्ण व्याख्या गर्दा मात्रै काव्यको सप्पै अर्थ निख्रिँदैन’ र (२) कलात्मकताको ऐतिहासिक विकास स्वायत्त रूपमा स्वतः हुँदै जान्छ । रुसी रूप वादले काव्यको विश्लेषण गर्ने धेरै नौला वस्तुगत प्रविधिको विकास गरेर आफ्ना समालोचनात्मक प्रविधिलाई ‘साहित्य विज्ञान’ भन्ने नाउँ राखे पनि त्यसमा सामेल भएका विद्वान्‌हरुमा निश्चित विधि र सिद्धान्तको चाहिँ अभाव थियो (Steiner) । काव्यात्मक भाषा कस्तो हुन्छ भन्ने विषयको रुसी रूप वादीहरुको मानक सिद्धान्त याकुबिन्स्कीको सम्पादनमा १९१६ ई० मा प्रकाशित भएको त्यस आन्दोलनको पहिलो सङ्कलित प्रकाशन (काव्यात्मक भाषाको सिद्धान्त) मा बाहिर आएको थियो (Todorov) ।
प्रतीक वादी अध्यात्म वाद, समाज वाद र भविष्य वादी आन्दोलनको प्रतिक्रियाका रूपमा रुसी रूप वाद जन्मेको थियो (Erlich, Russian Formalism) । रूप वादी समालोचना आउनु भन्दा अगाडि कृतिको भित्री नभएर बाहिरी विश्लेषण (कृतिको सन्देश, कृतिकारको जीवनीसँग कृतिका कुराको साइनो, कृतिकारको मनोविश्लेषण, कृतिको निर्माणमा सामाजिक पृष्ठ भूमि, आदि) मात्र गर्ने अर्थात् कृतिको ‘के’ पक्षको खोजी गर्ने चलन थियो । रूप वादीहरुले ‘बाहिरी समालोचना’ लाई ‘भित्री समालोचना’ मा परिवर्तन गर्नु पर्ने अर्थात् ‘कसरी’ पक्षमा जोड दिनु पर्ने कुरा अघि ल्याए । अर्थात् कुन कुन तत्त्वहरुले एउटा कृतिलाई काव्य वा साहित्य बनाउँछ भन्ने कुरा केलाउने र कुन कुन नियमहरुले कुनै कृतिको संरचना बनेको छ भन्ने कुरो पर्गेल्ने काम रूप वादीहरुले आफ्नो जिम्मा लिए (Steiner) । झिर्मुन्स्कीको भनाइ अनुसार रूप वादीहरुलाई भविष्य वाद र कान्टको प्रभाव छ । कान्टका समकालीन सौन्दर्य शास्त्री कार्ल फिलिप मोरिच (१७८५ ई०) ले पनि पनि कलाको उद्देश्य कला भित्रै सिद्धिन्छ भन्ने धारणा राखेका थिए । ती दुवैको सौन्दर्य शास्त्रीय प्रभाव पनि रूप वादीहरुलाई परेको थियो (Todorov) । काव्यमा दृश्य जगतको यथार्थ चित्रण हुँदैन, दृश्य जगतको जस्तो प्रभाव कविलाई पर्छ, त्यसको मात्र चित्रण हुने हुनाले एउटै कुरो पनि कविलाई परेको प्रभाव अनुसार फरक फरक हुन्छ भन्ने रूप वादीहरुको विचार पनि कान्टकै विचारबाट प्रभावित छ (Todorov) ।
रुसी रूप वाद जन्मेका वेलामा ससुर (१९१३ ई०) को ‘संरचना वादी’ सिद्धान्त बनी सकेको र फ्रान्सेली भाषामा प्रकाशित भई सकेको (१९१६ ई०) थियो, तर रूप वादीहरुले त्यो पढ्न पाएका थिएनन् । जब याकोब्सन जस्ता त्यसका प्रवर्तकहरु स्तालिनको राप सहन नसकेर चेकोस्लोभाकियाको राजधानीमा पुगे र ‘प्रागको गुरु कुल’ सुरु गरे, त्यति वेला चाहिँ ससुरको सिद्धान्तको प्रभाव तिनीहरुलाई पर्‍यो । रुसी रूप वादमा ससुरको संरचना वादी सिद्धान्तको प्रभाव परेरै रुसी रूप वाद शैली विज्ञान र सङ्केत विज्ञानमा विकसित भयो (Erlich, Russian Formalism) ।
उत्कृष्ट साहित्यिक कृतिको विश्लेषणमा मात्र केन्द्रित भएर साहित्यको इतिहास लेख्ने परम्परागत रूढि, कृतिमा सामाजिक सन्देश खोज्ने समाजपरक समालोचना र प्रतीक वादीहरुको आध्यात्मिकताका विरुद्धमा नै रजन्मेको साहित्यिक आन्दोलन नै रुसी रूप वाद हो (Erlich, Russian Formalism) । रूप वादीहरुले गर्दा काव्य र साहित्यले वस्तुगत परिभाषा पाए । उनीहरुले नै काव्यका आन्तरिक घटकहरुको विश्लेषण कसरी गर्ने भन्ने प्रविधि समालोचनालाई दिए र साहित्यिक समालोचनालाई वैज्ञानिक स्वरूप दिए । उनीहरुले नै काव्यका प्रविधिहरुको जानकारी साहित्यका अध्येताहरुलाई दिए अनि साहित्यिक अनुसन्धानको स्तरै बढाई दिए (Erlich, Russian Formalism) । याकोब्सनलाई रोमान्टिक र प्रतीक वादी नोभालिस र मलार्मेहरुको प्रभाव परेको थियो (Todorov) ।
२. रुसी रूप वाद र संरचना वाद (Structuralism)
विश्व प्रसिद्ध संस्कृत व्याकरण लेख्ने ह्विट्नीका चेला फर्दिनान्द द ससुर (Saussure) ले स्विट्जर्ल्यान्डको जेनेभामा संस्कृत ऐतिहासिक भाषा विज्ञान पढाउँदा पढाउँदै सम्भवतः पाणिनिको संस्कृत व्याकरणबाट प्रभावित भएर वर्णनात्मक भाषा विज्ञानको जन्म दिए । इतिहासका दुई चरणमा जसरी ऐतिहासिक व्याकरणका निश्चित नियमहरुका आधारमा भाषामा परिवर्तन आउँछ, त्यसै गरी एकै समयमा पनि भाषा पाणिनिको व्याकरणले देखाए जस्तै जुनसुकै भाषा नियमहरुले व्यवस्थित हुन्छ भन्ने सिद्धान्त ससुरले बनाए । आफ्नो यो सिद्धान्त बुझाउन ससुरले निम्न लिखित कुराहरु अघि सारेका छन् :
क. जुनसुकै भाषामा त्यसका ठुला साना हरेक एकाइ बिच परस्पर सम्बद्धता हुन्छ ।
शैली विज्ञान र सङ्केत विज्ञानका प्रवर्तकहरुले ससुरको यो विचारलाई कविता, कथा, वा काव्य वा कुनै साहित्यिक कृतिको आन्तरिक विश्लेषण गर्ने आधार बनाए ।
ख. भाषा चेसको खेल जस्तो व्यवस्थित हुन्छ (Saussure 22-23, 88-89)
चेसको खेलमा सबै गोट्टीहरु परस्पर सम्बद्ध हुन्छन् । एउटा गोट्टी घट्ता चेसको खेलै फरक पर्ने भए जस्तै भाषाका सबै घटकहरुका बिचमा पनि घनिष्ठ पारस्परिक साइनो हुन्छ । ‘आन्तरिक भाषा विज्ञान’ भन्ने नाम पाएको ससुरको यस सिद्धान्तको उपयोग शैली विज्ञान र सङ्केत विज्ञानका प्रणेताहरुले साहित्यिक कृतिको विश्लेषणको आधार बनाए ।
ग. सङ्केत (Sign)
भाषालाई ससुर (Saussure 111-113) ले एउटा कागतको पन्नासित तुलना गरेका छन्, जसको एकापट्टि उच्चारण वा वर्ण क्रम (वाक्) हुन्छ, अर्कातिर अर्थ (मूल्य)हुन्छ । वर्ण क्रमको एउटा टुक्रो काट्यो भने, त्यसबाट अर्थ वा अवधारणा छुट्याउनै सकिँदैन । ससुरले समुद्रको पानीको सतह र हावाको सतह जोडिएको साझे सतहलाई पनि भाषासित तुलना गरेका छन्, जहाँ हावाका दुइटा तरङ्गहरु पानीका तरङ्गहरुसित खापिएर पानीको सतहलाई पनि हावाको सतहलाई पनि बाँडेर टुक्रा टुक्रा बनाउछन् । दुई तरङ्ग बिचका त्यस्तै एकाई जस्तै भाषाको एकाई ‘वागर्थ’ (स्फोट, सङ्केत) होला । ध्वनिले अर्थलाई र अर्थले ध्वनिलाई सीमित बनाएर भाषाको एकाइ वा ‘सङ्केत’ बन्छ । भाषाको उच्चारण गरिने भौतिक पाटालाई ससुरले सङ्केतक (Signifier) र अर्थलाई सङ्केतित (Signified) पाटा मानेका छन् । यसरी सङ्केतक र सङ्केतित मिलेरै जुनसुकै अर्थमय एकाइ (वा सङ्केत) बन्छ (Saussure 65-70) भन्ने ससुरले सिद्धान्त बनाए । ससुरले के पनि भने भने, हरेक सङ्केतमा सङ्केतक र सङ्केतितका बिचमा काकतालिक साइनो मात्र भए जस्तै शब्दको वर्ण र अर्थमा कुनै तार्किक साइनो हुँदैन, त्यो साइनो त्यसै काकतालिक मात्र हुन्छ । ससुरले के भने भने, भाषा विज्ञानले सङ्केतक र सङ्केतितको पारस्परिक साइनाको अध्ययन गर्छ (१०२) । ससुरको सङ्केतको यो अवधारणा सातौँ शताब्दीका संस्कृत व्याकरणकार र वाक्य विज्ञानका प्रवर्तक भर्तृहरि (सातौँ शताब्दी) को ‘स्फोट’ सिद्धान्तसित मिल्छ ।
ससुरको सङ्केत सम्बन्धी विचारको उपयोग समालोचनाका शैली विज्ञान र सङ्केत विज्ञानले प्रयोग गरेको पाइन्छ । ससुरको सिद्धान्त नपढे पनि रुसी रूप वादका कति भाषा वैज्ञानिक समालोचकहरुका विचारहरु ससुरका विचारसित मिल्छन् ।
घ. ससुरका आधारमा कविताको संरचनात्मक परिचय
याकोब्सन (१९६० ई) ले कवितालाई एउटा कस्तो संरचनात्मक एकाइ मानेका छन् भने, त्यसमा प्रयोग भएका वर्णहरु, वर्णहरुका अनुनासिक-अननुनासिक, घोष-अघोष, अल्पप्राण-महाप्राण, स्वर र अक्षरहरुको उदात्त-अनुदात्त-स्वरित जस्ता सुर, अनुतान र लय जस्ता विभेदक अभिलक्षणहरु, कविता लेख्न रोजिएका धातु, शब्द, उपसर्ग र प्रत्ययहरु, विशेषण र नाम अथवा क्रिया विशेषण र क्रिया अथवा क्रिया विशेषण र विशेषणका जोडा मिलाएर बनाइने पदावलीहरु, कर्ता र क्रियाका जोडा मिलाएर बनाइने सरल वाक्य वा उपवाक्यहरु, उपवाक्यहरु जोडेर बनाइने वाक्यहरु, अनेक वाक्यहरु जोडेर बनाइने अनुच्छेद वा श्लोकहरु अनि अनेक अनुच्छेद र श्लोकहरु जोडेर रचना गरिने कविताको समग्र पाठ (वा संकथन) का बिचमा पारस्परिक साइनो गाँसेर अर्थको निर्माण गरिएको हुन्छ, त्यसैले कविताको अर्थ लगाउने व्याख्याकार वा समालोचकले समग्र पाठमा यसरी परस्पर सम्बद्ध बनाएर बुनिएका सङ्केतकहरुको समन्वय गर्ने सूत्रहरु फेला पारेर माथि उल्लेख गरिएका कुनै सङ्केतकलाई खेर नफालिकन कविताले सृष्टि गरेको अर्थको आविष्कार गर्न सक्नु पर्छ । इमानुएल कान्ट (Kant) को सौन्दर्य शास्त्री विचारबाट प्रभावित याकोब्सनका विचारमा, कविता वा काव्यमा यसरी सबै सम्भव सङ्केतकहरुबाट निस्किने अर्थ जोडेर पुरै कविताको अर्थ आविष्कार गर्दा निस्किने अर्थको साइनो बाहिरी जीवन जगत् वा दृश्य जगतसँग नमिल्ने सम्भावनै बढ्ता हुन्छ, त्यसैले बोलचालका भाषाको साइनो त दैनिक जीवनको तात्कालिक प्रसङ्ग र सन्दर्भसँग अवश्य हुन्छ, तर बोलचालका भाषाको कुनै निश्चित अंश जसरी कुनै वक्ताले जीवन भरि बोलेका र भरे बोल्ने कुराहरुसँग अटुट भएर गाँसिए जस्तो कविता, कथा वा उपन्यासमा लेखिएको भाषांश अगाडि र पछाडि गाँसिएको हुँदैन र त्यो आफैँमा सिङ्गो र पूर्ण हुन्छ, त्यसै हुनाले कविताका अर्थको अनिवार्य साइनो कविता भित्र पूर्ण हुन सक्छ, बाहिरी दुनियाँसँग त्यसको साइनो पटक्कै नहुन सक्छ (Waugh 143-149) ।
ङ. सङ्केत (स्फोट) र वस्तु (Sign vs. Object)
याकोब्सन समग्र कवितालाई नै एउटा सङ्केत मान्दछन् । बोलचालको भाषामा सङ्केतक र सङ्केतितका बिचको साइनो केही नजिककै भएको मानिन्छ, तर कविता भित्र त समग्र कविता र त्यसका हरेक अङ्ग प्रत्यङ्ग बिचमा (पुरै कविता र प्रयोग भएका छन्दका बिचमा, पुरै कविता र त्यसका श्लोक श्लोक बिचमा, पुरै कविता र त्यसमा प्रयोग भएका हरेक अलङ्कारका बिचमा, एउटा श्लोक र अर्को श्लोक बिचमा, एउटा हरफ र अर्को हरफ बिचमा, एउटा चरण र अर्को चरण बिचमा, एउटा यति र अर्को यति बिचका तालमा, एउटा अक्षर र अर्को अक्षर बिचमा, एउटा अन्त र अर्को अन्त बिचको अनुप्रासको समानतामा, एउटा वर्ण र अर्को वर्ण बिचमा, एउटा धातु वा प्रातिपदिक र अर्को धातु वा प्रातिपदिकका बिचमा, मिल्ने र नमिल्ने प्रत्यय प्रत्ययका बिचमा, पर्यायहरुका बिचमा, पर्याय र विपर्यायहरुका बिचमा, एउटै अर्थ परिवारका शब्दहरुका बिचमा, पदावली पदावली बिचमा, उपवाक्य उपवाक्य विचमा र वाक्य वाक्य बिचमा) किसिम किसिमका समानता (असमानता, व्यतिरेक र भिन्नता) को कृत्रिम (कलात्मक) साइनो निर्माण गरिएको हुनाले कविताकै अङ्ग अङ्ग नै एक अर्काका सङ्केतक र सङ्केतित हुने हुनाले एउटा कविताको अर्थसँग बाहिरी जगतको साइनो अत्यन्त झिनो हुन्छ (Waugh 153-155) ।
च. विलियम कार्लोस विलियमले के लेखेका छन् भने, संरचनात्मक आविष्कार अथवा संरचनात्मक विलक्षणता नभए कुनै रचना पनि विशिष्ट काव्य हुनै सक्तैन । पुर्जाहरु बिचको पारस्परिक समन्वय भएको कुनै मिसिनमा झैँ संरचनाको पारस्परिक सङ्गठनबाटै कुनै सिर्जनात्मक कृतिले नौलो अर्थको निर्माण गर्छ, भाषाले उत्कृष्ट दर्जा पाउँछ अनि संरचना नै टड्कारो देखिने गरी ट्वालाल्ल बल्छ (Steiner) ।
छ. रुसी रूप वादका दुई ओटा मुख्य विशेषता हुन् : (अ) साहित्यिक कृति र त्यसका घटकहरुको विश्लेषण,र (आ) साहित्यिक कृतिको स्वायत्त वा निरपेक्ष विश्लेषण (Erlich, Russian Formalism)
३. बोलचाल र काव्यका भाषामा फरक
क. ध्वनि (Sound), 155-157
बोलचालका भाषामा ध्वनि र अर्थको प्रत्यक्ष साइनो हुँदैन, त्यसैले ससुरले त्यस साइनालाई काकतालिक (Arbitrary) ठहराएका छन्, तर याकोब्सनका विश्लेषणमा समानता वा तुल्यता नै कविताको मुख्य चिनारी भएकाले कवितामा चाहिँ ध्वनि र अर्थको साइनो ठाडै, सोझै र प्रत्यक्ष हुन्छ । कवितामा ध्वनि वा वर्णको अर्थसँग सोझै सङ्केतक र सङ्केतितको साइनो हुन्छ । यस्तो साइनालाई भाषा विज्ञानमा मूर्तिमय (Iconic) साइनो भन्ने चलन छ । भाषामा सुषुप्त भएर लुकेको यस्तो साइनाबाट निस्किने अर्थ कवि, रसिक, मर्मज्ञ पाठक र समालोचकले चाल पाउँछन् र कवितामा त्यसको समीक्षा गरिन्छ ।
बल्लभ मणि दाहाल (Dahal) ले स्वर मात्रै फरक परेका अनुकरण शब्द (‘टिङटिङ’, ‘टुङटुङ’, ‘टङटङ’, ‘ट्याङट्याङ’, ‘ट्वाङट्वाङ’) ले नै सानो घण्टीको आवाज हो कि ठुलो घण्टको आवाज हो भनेर घण्टको नाप नै छुट्याउन सकिन्छ भन्ने लेखेका छन् । पोखरेल (पोखरेल, नेपाली अनुकरण शब्दको व्याकरण) र नरेन्द्र चापागाईँ (चापागाईँ) ले पनि नेपाली वर्ण र अर्थको साइना बारे प्रशस्त उदाहरण दिएका छन् ।
कवितामा प्रयोग गरिने छेकानुप्रास र वृत्यनुप्रास जस्ता अनुप्रास र यमक भित्र पनि कविले अर्थ लुकाउन सक्छ । त्यस्तै, उच्चारण एउटै भए पनि अर्थ एकदमै फरक पर्ने शब्दहरुका बिच श्लेष अलङ्कार बनाएर पनि अर्थमै समानताको निर्माण पनि कवि र पाठकले गर्न सक्छन् भने, दुइटा समानार्थी पर्यायवाची शब्दका बिचमा पनि फरक अर्थ उब्जाउन सक्छन् (Waugh) ।
ख. कवितामा त्यो भन्दा अगाडि र त्यो भन्दा पछाडि बोलचालको भाषामा जस्तो सान्दर्भिक वा प्रासङ्गिक निरन्तरता छिनेको हुन्छ, त्यसैले आफैँमा पूर्ण र सिङ्गो भएकाले कविताले आफ्नो सान्दर्भिक अर्थको निर्माण आफैँ गर्न सक्छ । सन्दर्भ छिनेकाले कविताबाट निस्किने अर्थ यही हो भनेर किट्न सकिँदैन । ‘यो होला कि त्यो होला’, ‘यो पनि होला, त्यो पनि होला’ भन्ने अर्थको बिटुङ्गो कविता पढ्नेलाई लाग्छ । यसरी एउटै कविताबाट अनेक अर्थ लाग्ने सम्भावना हुनु र अर्थको टुङ्गो लाग्न नसक्नु कविताको दोष होइन, शक्ति हो र यस्तो बिटुङ्गो र अनेकार्थतालाई नै कविताको ‘लाक्षणिकता’ र ‘गुणीभूत व्यङ्ग्य’ मानिन्छ । बोलचालका भाषाबाट चाहिँ सन्दर्भ छिनेको हुँदैन ।
ग. कविता जस्ता कलात्मक साहित्यिक सिर्जनामा भित्र प्रयोग भएकै शब्द, वाक्य, पदावली, श्लोक, अनुच्छेद, आदि कविताकै अङ्गप्रत्यङ्ग नै एक अर्काका अर्थ लगाउने सन्दर्भ र प्रसङ्ग भएकाले तिनीहरुकै पारस्परिक लेखाजोखाबाट कविताको अर्थ निकाल्नु पर्छ ।
घ. कविताको अर्थ लगाउन सघाउने कविता बाहिरको सन्दर्भ चाहिँ संस्कृति, समाज र इतिहास हो । याकोब्सन (१९८२ ई) ले त लेखक र पाठकको पनि अर्थ निर्माणमा आंशिक भूमिका हुन्छ भन्ने मानेको बुझिन्छ ।
ङ. कवितामा पनि बोलचालको भाषाकै शब्द प्रयोग हुने हुनाले त्यहाँ प्रयोग भएका शब्द, रूप, पदावली, वाक्य र व्याकरणबाट आउने आधारभूत र स्थायी अर्थ त त्यस भाषाको कोश र व्याकरणले दिने अर्थसँगै मिल्छ, त्यसैले कविले आफ्नो वक्रोक्तिको निर्माण गर्दा पनि रसिक पाठक र समालोचकले कविताबाट निस्किने अर्थ दुहुँदा पनि भाषाका कोश र व्याकरणबाट निस्किने आधारभूत अर्थ वा (अभिधाबाट निस्किने) वाच्यार्थबाटै थाल्नु पर्छ, किन भने कविको पनि पाठकको पनि वाच्यार्थ वा कोशीय अर्थ चाहिँ साझे हुन्छ ।
च. त्यस सङ्कलनको भाषा वैज्ञानिक चिनारी दिँदै याकुबिन्स्कीले के भनेका छन् भने, भाषाको उपयोग बोलचालमा मात्र सीमित हुँदा त्यसका सबै घटक (वर्ण, धातु, उपसर्ग, प्रत्यय, शब्द, वाक्य, आदि) हरुको उपयोग र उद्देश्य आफ्ना कुरा सम्प्रेषण गर्नु मात्र हुन्छ, तर काव्यमा प्रयोग भएका भाषाका तिनै घटकहरुको उपयोग, उद्देश्य र कार्य चाहिँ सम्प्रेषणमा भन्दा कृतिगत स्वायत्त र आफैँमा पूर्ण अर्थ निर्माणमा मूल रूपमा हुन्छ (Todorov) ।
छ. काव्यका भाषामा अर्थ र सन्देश काव्यगत मात्र हुन्छ । काव्यका भाषामा पुनरुक्ति र समानताको खेल हुन्छ । काव्यका वाक्यमा वैकल्पिक घटकको सादृश्य वाक्यात्मक घटकमा आरोपित गरेर काव्यात्मक अर्थको सिर्जना गरिन्छ (पृ०२७) (याकोब्सन, १९६० ई०, लिङ्ग्विस्टिक्स एन्ड पोएटिक्स) ।
ज. बोरिस आइकेन्बाउमले कस्तो विचार राखेका छन् भने, बोलचालको भाषामा त परिस्थितिबाट अड्कल गरेर पनि श्रोताले नसुनेको वर्ण, ध्वनि र वाक्य पनि बुझ्छ, त्यसैले पुरै ध्यान दिई रहनु पर्दैन, तर काव्यमा चाहिँ श्रोताले गर्ने त्यस्तो अड्कल नमिल्ने हुनाले कविले भाषालाई नै बढ्ता ध्यान दिनु पर्ने बनाउँछ (Erlich, Russian Formalism) ।
झ. काव्य र कविताको भाषा बोलचालको भाषा भन्दा बढ्ता व्यवस्थित हुन्छ । एउटा कवितामा प्रयोग भएको वर्ण, शब्द, प्रत्यय र वाक्यको संरचनाको कुनै घटक पनि परस्पर असम्बद्ध र अर्थहीन हुँदैन भन्ने मान्यताकै आधारमा आइखेनबाउमले गोगोलको ‘ओभरकोट’ भन्ने कथाको विश्लेषण गर्दा कथा बाहिरको लेखकको मनोभाव, उसको जीवनी र समाज जस्ता कथा बाहिर पर्ने कुनै पनि कुराको उपयोग र चर्चा गरेनन् (Todorov) ।
४. अर्थ (Waugh 158-161)
याकोब्सनका विचारमा कविताबाट निस्किने अर्थको मूल्याङ्कन चाहिँ कोश, व्याकरण र बोलचालमा प्रचलित अर्थलाई कति मात्रामा कुनै साहित्यिक सिर्जनाले नाघ्छ, त्यसै आधारमा गरिने हुनाले कविताको अर्थ कृतिनिष्ठ, कृतिसापेक्ष र कृतिकै प्रसङ्ग र सन्दर्भमा बढ्ता सीमित हुन्छ, त्यसैले कविताको अर्थ लगाउने र व्याख्या गर्नेले :
क. पहिले त कविता लेख्न प्रयोग भएको छन्दको नियम केलाउनु पर्छ ।
अ. कविले परम्परागत वार्णिक र मात्रिक छन्द प्रयोग गर्न पनि सक्छ र बराबर मात्राका हरफ र चरणहरु बनाउन सक्छ ।
आ. कविले आफ्नै मौलिक छन्द बनाएर हरेक श्लोकमा, श्लोकका हरेक चरणमा र हरेक चरणका यति वा विश्रामहरु बिचमा बराबर उच्चारण काल लगाउने थिती बाँध्न पनि सक्छ ।
इ. कविले छन्दकै विरोध गरेर गद्य कविता लेख्न पनि सक्छ ।
संसारभरका जुनसुकै जातिले बोल्ने जुनसुकै मातृभाषाको कविता पनि आधारभूत रूपमा गाउनकै लागि रचिने भएकाले कवितामा छन्द अवश्य हुन्छ, तर कवि त एज्रा पाउन्ड र वाल्ट ह्विट्मन झैँ छन्दको विरोध गर्ने गद्य कवि पनि हुन सक्छ । गद्य कविता लेख्नेले छन्दमा पालन गरिने अक्षर र मात्राको बराबरीको विरोध गर्न सक्छ, तर बोलचालकै भाषामा पनि लगभग बराबर उच्चारण काल लाग्ने ताल (Rhythm) चाहिँ कविता पढ्नेले कायम गरी हाल्छ ।
ई. यसरी प्रचलित छन्द मिलाएर, नौलो छन्द आविष्कार गरेर, अथवा छन्दकै विरोध गरेर पनि कविले आफ्नो कवितामा छन्दकै माध्यमबाट पनि विशिष्ट अर्थ दिन खोजेको हुन सक्छ ।
ख. कविता भित्रै प्रयोग भएको वर्ण र वर्णगुच्छको समानता (छेकानुप्रास, वृत्यनुप्रास, यमक, आदि) र विरोधबाट निस्किने अर्थ दुहुनु पर्छ ।
ग. कविता भित्र वर्णको यस्तो खेल र खेलाँचीको खोजी सकिए पछि त्यसमा प्रयोग भएका अनेक धातु र प्रातिपदिकमा लागेका समान प्रत्ययबाट निस्किन सक्ने समान अर्थ दुहुनु पर्छ ।
घ. त्यस पछि कविता भित्र अनेक प्रत्यय लागेको एउटै धातु र र एउटै प्रातिपदिकमा पनि कविले कतै अर्थ लुकाएको छ कि भनेर त्यो अर्थ दुहुन खोज्नु पर्छ ।
ङ. बद्ध रूपको विश्लेषण सके पछि कवितामा प्रयोग भएका शब्द शब्दका बिचमा अथवा अथवा धातु धातुका बिचमा पनि कतै अर्थमा समानता र विरोधको निर्माण गरिएको छ कि भनेर त्यसको खोजी गर्नु पर्छ ।
च. कतै शब्द कोशमा उच्चारण एउटै हुने तर अर्थ फरक पर्ने शब्दहरुका बिचमा पनि (श्लेष अलङ्कारमा झैँ) कवितामा अर्थमा समानता (वा विरोध) ल्याउन कोसिस गरिएको छ कि भनेर त्यसलाई खोदल्नु पर्छ ।
छ. कविता भित्र माथि उल्लेख गरिए झैँ निर्माण गरिएको कलात्मक अर्थात् कृत्रिम शब्दानुशासन र वर्णानुशासनको खोजी सके पछि पदावली, उपवाक्य र वाक्य बनाउँदा बोलचालका भाषाका वाक्य व्याकरणले दिएको नियम भाँचेर कसरी नयाँ र नौला अर्थको सिर्जना गरिएको रहेछ भन्ने लेखाजोखा त्यस पछि गर्नु पर्छ ।
ज. कवितामा बोलचालको भाषाका तुलनामा शब्दहरुको क्रम खल्बलिएको हुन्छ । त्यो क्रम खालि छन्द मिलाउन मात्रै खल्बलिएको हो कि खल्बलिएका शब्दहरुको क्रममा पनि कविले कुनै अर्थ लुकाएको छ कि भन्ने जाँच्नु पर्छ ।
झ. वाक्य वा उपवाक्यमा कर्ता र क्रिया बिच बोलचालका व्याकरणले नसहने पद सङ्गतिको निर्माण गरेर कविले कुनै नौलो अर्थको सिर्जना गरेको छ कि (जस्तै, ‘अस्ताचल तिर सन्ध्या ओर्लिन् हलुका पयर उचाली’), त्यसको लेखाजोखा गर्नु पर्छ ।
ञ. कवितामा प्रयोग भएका पदावलीमा मुख्य पद (Head) र त्यसका विशेषक (Modifier) हरु बिचको व्याकरणिक ‘योग्यता’ (Logical Consistency) पनि कुनै विशेष अर्थ उमार्न जानाजान खल्बल्याइएको छ कि? त्यो पनि केलाउनु पर्छ ।
ट. बोलचालको भाषा बङ्ग्याएर कविताको रचना गर्ने माथि उल्लेख भएका सबै प्रविधिलाई भामह र कुन्तकले ‘वक्रोक्ति’ भन्ने नाम दिएका छन् ।
ठ. पुराना शब्दको प्रयोग
तिन्यानोभले काव्यमा प्रयोग हुने पुराना शब्दले शब्दको काम मात्र गर्छ कि त्यस कृतिको अर्थ निर्माणमा बेग्लै भूमिका (व्यङ्ग्य वा केही) वा कार्य गर्छ, त्यसको लेखाजोखा हुनु पर्छ भनेका छन् (Steiner)।
ड. सहविन्यास (Juxtaposition) बाट अर्थ निर्माण गर्ने प्रविधि
कुनै कवितामा दुइटा असम्बन्धित वाक्य नजिक नजिक जोडी दियो भने, तिनीहरुलाई जोड्न खोज्ने पाठकले अर्थको निर्माण गर्छ भन्ने विलियम एम्पसन (Empson 25) को विचार छ । यो कुरामा रुसी रूप वादीहरु पनि सहमत छन् ।
ढ. याकोब्सन (१९१९ ई०) ले पनि जसरी काँचो माटाको उपयोग (माटासित कुनै साइनो नहुने) कसैको स्वायत्त मूर्ति बनाउन प्रयोग गरिन्छ, जसरी एउटा स्वायत्त धुन बजाउन सङ्गीतका साधन र घटकहरुको उपयोग गरिन्छ, जसरी नृत्यमा हाव, भाव र मुद्राको उपयोग स्वायत्त प्रभाव पार्नका लागि गरिन्छ, त्यसै गरी कवितामा पनि उपयोग गरिएका शब्दहरु कविताबाट निकाल्न खोजिएको अर्थका अगाडि गौण सामग्री मात्र हुन्छन् । याकोब्सनको यस भनाइमा भविष्य वादीहरुको प्रभाव छ (Todorov) ।
ण. कविको लक्ष्य भनेको भाषा वा माध्यमको विचलन मात्र हो, यथार्थताको चित्रण होइन भन्ने रुसी रूप वादको प्रारम्भिक मान्यता थियो (Erlich, Russian Formalism) । यस विचारमा कान्टको प्रभाव छ ।
त. रेने वेलेक र वारेन (१९४९ ई०) ले के भनेका छन् भने, रुसी रूप वादले एउटा साहित्यिक कृतिलाई नै एउटा ‘वागर्थ’ (स्फोट) को एकाई मान्यो, जसमा आधा अङ्ग भाषाको विशेष सजावटले कृतिमा अर्को आधा अङ्ग विशेष काव्यात्मक अर्थ दिन्छ (Erlich, Russian Formalism) ।
थ. ‘ओपोयाज’ (काव्य भाषा अध्ययन समाज) भन्ने मण्डली बनाउनु भन्दा पनि अघि भिक्टर स्क्लोभ्स्की (१९१४ ई०) ले ‘शब्दको पुनरुत्थान’ भन्ने लेखमा कुनै कविता सुन्दा वा पढ्दा हामीलाई जुन ‘कलात्मकता’ को स्वाद आउँछ, त्यो कलात्मकता भनेको भाषिक र रूपात्मक ‘कौशल’ नै हुन्छ भन्ने लेखेका छन् । त्यस लेखमा स्क्लोभ्स्कीले काव्यात्मक भाषामा भन्दा कसरी श्रोता र पाठकले कविताको आस्वादन गर्छन् भन्ने प्रक्रियामा बढ्ता ध्यान केन्द्रित गरेको देखिन्छ (Todorov) ।
द. विशिष्ट भाषिक कार्यका रूपमा काव्य वा साहित्य
रुसी रूप वादमा एउटा काव्य कृति कस्तो हुन्छ भन्ने विषयमा चार किसिमका उपमानहरु प्रचलित भए । कुनै कुनै समालोचकले एउटा काव्य कृति यन्त्र वा मिसिन जस्तो (यान्त्रिक) ठाने र त्यसै उपमान अनुसार काव्यको विश्लेषण गरे । दोस्रा थरी समालोचकहरुले काव्यलाई एउटा जीव जस्तो (रूप वैज्ञानिक) ठाने र त्यस अनुसार काव्यका विशेषताहरु पर्घेले । तेस्रा थरी काव्य शास्त्रीहरुले एउटा काव्य कृतिलाई आफैँमा पूर्ण (रक्त सञ्चार, स्नायु, श्वासप्रश्वास, जस्तो) एउटा प्रणाली वा व्यवस्था जस्तो हो भन्ने उपमानका आधारमा विश्लेषण गरे, तर याकोब्सन (१९२१ ई०) ले चाहिँ काव्यलाई एउटा भाषिक प्रकार्य (लिङ्विस्टिक फङ्क्सन) ठान्दै भाषा वैज्ञानिक सिद्धान्तका आधारमा जुनसुकै साहित्यिक कृतिको पनि विश्लेषण गरेर पूर्ण रूपमा त्यसको अर्थ निर्धारण गर्न सकिन्छ भन्ने धारणा स्थापित गरे (Steiner) ।
ध. भाषाका कार्यात्मक अङ्ग
रोमन याकोब्सन (१९६० ई) ले ‘कुन कुन तत्त्वहरुले कुनै भाषिक कृति कला बन्छ?’ भन्ने लेखमा जुनसुकै भाषिक अभिव्यक्तिलाई तल लेखिएका छ ओटा कार्यका तत्त्वहरुलाई केलाएर मात्र त्यो अभिव्यक्ति काव्य हो कि होइन भनेर खुट्ट्याउन सकिने ठहराएका छन् । जुनसुकै संवाद वा भाषांशमा निम्न लिखित ६ ओटा अङ्ग हुन्छन् (Waugh):
अ. वक्ता (कवि, लेखक): यसको कार्य भावनात्मक (वा अभिव्यञ्जनात्मक)
आ. श्रोता (पाठक): यसको कार्य प्रयत्नपरकता
इ. भाषा (व्यवस्था, लाङ): यसको कार्य पारिभाषिक
ई. सन्देश (कृति, रचना वा कथ्य): यसको कार्य काव्यात्मक वा सौन्दर्यपरक
उ. प्रसङ्ग (सन्दर्भ): यसको कार्य सन्दर्भपरक
ऊ. सम्पर्क (वक्ता र श्रोता बिचको सम्पर्क सूत्र): यसको कार्य सामाजिक साइनो
यी छ ओटा कार्य मध्ये भाषिक कृतिमा काव्यात्मक कार्य सबभन्दा महत्त्व पूर्ण हुन्छ, अरु पाँच ओटा कार्य त्यसमा काव्यात्मक कार्यकै सहायक वा अङ्ग भएर आउँछन् । काव्यात्मक कार्य सन्देशमा मात्र एकोहोरिएको हुन्छ र यो कुरो कुनै कविता वा काव्यमा सबभन्दा टड्कारो भएर देखा पर्छ । बोलचालका भाषामा प्रसङ्ग र सन्दर्भ सबभन्दा महत्त्व पूर्ण हुन्छ, अरु पक्ष प्रसङ्ग र सन्दर्भकै सहायक भएर आउँछन्, तर कवितामा अरु पक्ष काव्यात्मक कार्य अर्थात् सन्देशमा सहायक भएर आउँछन् ।
न. प्रासङ्गिक अर्थ (वा लक्षणा) मा परिवर्तन : व्याकरण, (Waugh 161-165)
अ. कविताको अर्थमा प्रसिद्ध व्यक्ति वाचक नाम (नारद, द्रोणाचार्य, शकुनि, मन्थरा, हिट्लर, गान्धी) हरुले पनि आफ्नो मूल अर्थ छोडेर (वा जोगाएरै, वा आंशिक योग दान दिएर) सन्दर्भगत केही विशिष्ट अर्थ दिन्छन् ।
आ. रूपक (र अतिशयोक्ति) अलङ्कारमा आंशिक वा पूर्ण सादृश्यका आधारमा तात्कालिक प्रसङ्गमा मात्र लागु हुने गरी अस्थायी रूपले एउटा शब्द (उपमान) ले अर्कै शब्द (उपमेय) जनाउँछ ।
इ. लक्षणा (Metonymy) मा पनि एउटा शब्दले आफ्नो मूल अर्थ छोडेर प्रसङ्ग अनुसार नजिकैको वा कुनै प्रासङ्गिक अर्को वस्तु बुझाउने शब्द जनाउँछ ।
ऩ. एउटा सिङ्गो कविता आफैँमा पूर्ण र सिङ्गो भएकाले समष्टिमा कविताले दिने अर्थ एकातिर त्यहाँ प्रयोग भएको भाषाका सबै घटक (ध्वनि, वर्ण, अक्षर, संयोग, धातु, प्रातिपदिक, शब्द, प्रत्यय, व्याकरण, पदावली, वाक्य र सङ्कथन) हरुबाट निस्किने अर्थ जोडेर निकालिन्छ भने, अर्कातिर ती घटकबाट निस्किने अर्थ पनि समग्र अर्थसित मात्रै सम्बन्धित हुन्छन् ।
प. काव्यमा रूपक (उपमान) र लक्षणाको भूमिका (Jakobson and Halle, The Metaphoric and Metonymic Poles)
अ. कला, साहित्य, मनोविज्ञान र भाषामा रूपक (Metaphor) र लक्षणा (Metonymy/Synecdoche) भन्ने दुई ओटा प्रक्रियाहरु क्रियाशील हुन्छन् । यी दुइटै प्रक्रियामा शब्द कोशमा एउटा कुरो जनाउने शब्दले कुराका प्रसङ्गमा अर्कै अर्थ दिन्छ । यस्तो शब्दले त्यस विशेष प्रसङ्गमा जे जनाउँछ, शब्द कोशमा चाहिँ त्यसको त्यस्तो अर्थ हुँदैन । शब्द कोशमा पाइने त्यस शब्दको अर्थ चाहिँ शाब्दिक (Lexical), रूढ (Fossilized) वा स्थायी (Permanent) अर्थ अथवा वाच्यार्थ (Denotation) हो भने, कुरो, बोलचाल वा वर्णनका खास खास प्रसङ्गमा शब्दहरुले लिने अस्थायी अर्थलाई चाहिँ लक्ष्यार्थ (Metonym/ Connotation), (आ-)रोप्यार्थ (Metaphoric Meaning) वा व्यङ्ग्यार्थ (Ironic Meaning) भन्ने चलन छ । यसरी जुनसुकै भाषामा पनि निश्चित वा तात्कालिक प्रयोजनका लागि कुनै शब्दको वाच्यार्थमै परिवर्तन हुने प्रक्रियालाई याकोब्सनले लक्षणा र रूपक भन्ने मुख्य दुइटा प्रक्रिया माने ।
आ. रूपक भन्ने प्रक्रिया समानता र तुल्यता (Equivalence) अथवा विस्थापन (Substitution) मा आधारित हुन्छ भने लक्षणा चाहिँ दुइटा बेग्ला बेग्लै सङ्केतहरु जोड्न वा संयोजन (Combination) गर्न क्रियाशील हुन्छन् ।
इ. कवितामा चाहिँ रूपक वा सादृश्यको ठुलो भूमिका हुन्छ भने, गद्यमा चाहिँ लक्षणाको ठुलो भूमिका हुन्छ ।
ई. तुलना र व्यतिरेक दुइटैलाई समानता वा तुल्यता मान्नु हो भने, विस्थापनबाट आउने लघुतम युग्म (Minimal Pair) र उपमेयलाई उपमान (Metaphor) ले विस्थापन गरेरै बन्ने रूपक अलङ्कारमा झन्डै एउटै प्रक्रियाले काम गर्छ ।
५. जीव विज्ञानका अनुसन्धानको प्रभाव
क. साहित्यिक कृतिहरुलाई एउटा जीव जस्तो ठान्ने प्रवृत्ति पनि रुसी रूप वादमा पाइन्छ । जसरी टड्कारै मिल्ने र नमिल्ने बेहोरा (विभेदक व्यतिरेकी अभिलक्षण) हरुका आधारमा दुइटा जीवलाई छुट्याउन सकिन्छ र जीवहरुको वर्गीकरण गर्न सकिन्छ, त्यसै गरी साहित्यिक कृतिहरुलाई पनि सीमित विभेदक अभिलक्षणहरुका आधारमा तिनीहरुको विधागत समानता र कृतिगत भिन्नता छुट्याउन सकिन्छ । याकोब्सनले भाषा विज्ञानलाई विभेदक अभिलक्षण (Distinctive Features) को सिद्धान्त दिएका छन् । साहित्यिक समालोचनामा याकोब्सनको त्यसै सिद्धान्तलाई आड मानेर पुनरुक्ति (Repetition), समानान्तरता (Parallelism), श्रेणीकरण (Gradation), विलम्बन (Retardation) जस्ता सीमित सौन्दर्य शास्त्रीय अभिलक्षणको गन्ती गरिएको छ । रुसी रूप वादमा साहित्यिक कृतिको विश्लेषणका लागि बनाइएको यस्तो विभेदक अभिलक्षणको सिद्धान्तलाई ‘रूप वैज्ञानिक प्रजनक सिद्धान्त’ (Morphological Generative Theory) भन्ने नाम दिइएको छ (Steiner) ।
ख. अठारौँ शताब्दीदेखि जीव विज्ञानको अनुसन्धानमा उपयोग गरिएको जीवहरुको ‘रूप वैज्ञानिक’ अध्ययनमा दुई किसिमको प्राथमिकता थियो । एक किसिमको प्राथमिकतामा जन्तुका अवयव र अङ्गप्रत्यङ्गको खोजी पर्थ्यो भने, अर्को किसिमको अध्ययनको प्राथमिकतामा चाहिँ पुरै जीवको शरीरको सञ्चालनमा त्यसका अङ्गप्रत्यङ्गको के कस्तो समन्वयात्मक भूमिका रहेछ र शारीरिक आवश्यकता अनुसार त्यस भूमिकामा कसरी क्रमिक परिवर्तन हुने रहेछ भन्ने कुराको खोजीमा पर्थ्यो । गेटे चाहिँ यो दोस्रो किसिमको रूप वैज्ञानिक अनुसन्धानबाट प्रभावित भएर कला र काव्यका कृतिहरुको विकासशील र परिवर्तनशील पक्षको अध्ययन गर्थे । यिनै दुई किसिमका जीव वैज्ञानिकहरुका विचारको सिको गरेर रुसी रूप वादमा पनि साहित्यिक कृतिका स्थिर र गतिशील दुवै पक्षको अध्ययन गर्नेहरुमा समालोचकहरु बाँडिएका थिए (Steiner) ।
ग. झिर्मुन्स्की (१९२३ ई०) ले कृतिलाई कलात्मक बनाउने हरेक तत्त्वले समग्र कृतिको अर्थ र प्रभावमा निश्चित भूमिका खेल्छ भन्ने दृष्टि राखेर कुनै जीवका हरेक अङ्गप्रत्यङ्गको समग्र जीवमा समन्वयात्मक साइनो भए झैँ एउटा काव्य वा कला कृतिको पनि हरेक अङ्गप्रत्यङ्ग बिच पनि अनिवार्य समन्वयात्मक साइनो हुन्छ भन्ने दृष्टि राखेका छन् । यसले गर्दा अनुप्रासको नै पनि समग्र कविताको प्रभावमा समन्वयात्मक भूमिका हुन्छ भन्ने विचार आयो । यसै विचारबाट काव्यमा शैलीको उद्देश्यमूलकता र प्रयोजनपरकताको धारणा पनि आयो र कृति वा पाठको अवधारणा पनि रुसी रूप वादमा देखा पर्‍यो (Steiner) ।
६. प्रविधि
कुन कुन तत्त्व र प्रविधिले बोलचालको वाक्यलाई काव्य बनाउँछ भन्ने कुराको खोजी नै रूप वादी समालोचनाको मूल विशेषता हो । रूप वादी समालोचनाले नै ‘प्रयोगात्मक समालोचना’ को जन्म दियो (Erlich, Russian Formalism) । साहित्यको अध्ययन गर्दा (भाषाको) संरचनात्मक विश्लेषण गर्नु पर्छ भन्ने रुसी रूप वादको धारणा छ (Erlich, Russian Formalism) । स्क्लोभ्स्कीको विचार अनुसार कलामा वस्तु महत्त्व पूर्ण हुँदैन, वस्तुको प्रस्तुतिको कलात्मकता महत्त्व पूर्ण हुन्छ (Todorov) ।
पदार्थ (Material) र संयन्त्र वा प्रविधि (Device) : जसरी मेसिनले कच्चा माललाई चाहे जस्तो उत्पादित वस्तु बनाउँछ, त्यसै गरी काव्य लगायत सबै कलामा उपयोग गरिएका उपकरण, प्रविधि र संयन्त्रले (वर्ण, शब्द, पदावली र वाक्य जस्ता) भाषिक पदार्थलाई लय, ताल, अनुप्रास, अलङ्कार र नौला वाक्य गठन, आदिबाट निश्चित स्वरूप पाएको काव्यात्मक वस्तुका रूपमा उत्पादन गर्छन् (१९२३:१३८), त्यसैले काव्यमा कृतिकारले कुनै वस्तुलाई हेर्ने र चिन्ने जुन प्रविधिको प्रयोग गरेर नौलो, रोमाञ्चक र चमत्कार पूर्ण बनाउँछ, त्यो प्रविधि र सिप नै सबभन्दा महत्त्व पूर्ण कुरो भएकाले रसिक श्रोता, पाठक र साहित्यका विद्यार्थीको ध्यान त्यसमा टड्कारै पुग्छ । काव्यै पिच्छे त्यस्ता चमत्कारको आविष्कार गर्न आगमनात्मक र तुलनात्मक विधि प्रयोग गर्न समालोचकले अनेक विधाका काव्यलाई चिरफार गरेर त्यसमा चमत्कार ल्याउने ‘पुनरुक्ति’ (Repetition), ‘समानान्तरता’ (Parallelism), श्रेणीकरण (Gradation) र विलम्बन (Retardation) जस्ता काव्य तत्त्वहरुको खोजी गर्छ (Steiner) ।
क. शैली विज्ञानको आरम्भ : काव्यको वस्तुगत सौन्दर्य शास्त्र
रुसी रूप वाद नै शैली विज्ञानको बीज हो अनि रुसी रूप वादमा ससुरको सिद्धान्त र प्रविधि मिसाए पछि नै शैली विज्ञान पनि पूर्ण हुन्छ र सङ्केत विज्ञान (Semiotics) ले जन्म लिन्छ । स्क्लोभ्स्कीले भाषाको कलात्मक र अकलात्मक (वा सामान्य) प्रयोगमा पर्ने टड्कारा फरकहरुको बेलिबिस्तार लगाएका छन् (Steiner):
ख. कलात्मकताको परिभाषा र व्याख्या :
कुनै कला कृति कुन प्रविधि र प्रक्रियाबाट बनेछ भन्ने कुराको अनुभूति र आस्वादन नै कृति भन्दा कृतिको महत्त्व पूर्ण पाटो हो (स्क्लोभ्स्की, १९२५ ई०) अनि कुनै साहित्यिक कृतिको आत्मा भनेकै त्यसको निर्माणमा उपयोग गरिएका शैलिकीय प्रविधिहरुको समष्टि हो (स्क्लोभ्स्की, १९२१ ई०) (Steiner) ।
१. विचलन (Deviation)
स्क्लोभ्स्की र तिन्यानोभले परम्पराबाट अभिव्यक्तिमा विचलन (Deviation) ल्याई दियो भने, सौन्दर्य उत्पन्न हुन्छ भन्ने दृष्टि कोण राखे (Erlich, Russian Formalism) । स्क्लोभ्स्की (Sklovsky) ‘द थ्योरी अफ प्रोउज’ (१९२५ ई०) मा भन्दछन्, ‘साहित्यको सिद्धान्त भित्र कृतिका बाहिरी पक्षमा नभएर आन्तरिक नियमहरुको खोजीमा चाहिँ मेरो रुचि एकोहोरिएको छ’ (Steiner) ।
२. नवलीकरण (Estrangement) र अपरिचितीकरण (Defamiliarization)
अ. स्क्लोभ्स्कीले उल्लेख गरेको यस शैलिकीय प्रविधिलाई ‘अद्भुतीकरण’ \ ‘चमत्कार’ [Shklovsky ‘ostraniene’ (N), ‘ostranit’ (V), ‘अपरिचितीकरण’ (Lee T. Lemon & Marion Reis. 1965. Russian Formalist Criticism)] आदि अनेक नाम दिइएका छन् र दिन सकिन्छ । बेन्जामिन सेर (Sher) के भन्छन् भने, यो प्रक्रिया अपरिचितीकरण नभएर परिचित उपमान, लक्षणा र अलङ्कारका माध्यमले अपरिचित विचारलाई परिचित बनाउने प्रक्रिया भएकाले कला र काव्यमा बरु परिचितीकरण भन्नु ठिक हुन्छ भन्ने दृष्टि कोण राख्छन् । तोमासेभ्स्की (१९२५ ई०) ले कलात्मकता र काव्यात्मकतालाई नवलीकरण र अपरिचितीकरणसँग जोडेका छन् (Todorov) ।
आ. स्क्लोभ्स्कीले कलाले परिचित वस्तुलाई अपरिचित बनाउँछ, अर्थात् अपरिचितीकरण नै कलाको विशेषता हो भन्ने धारणा राखेका छन् (Todorov) । कलाकारलाई स्क्लोभ्स्की पुराना संरचनाहरु भत्काएर पुराना निर्माणका तिनै भत्केका सर्दाम जोडजाड गरेर नयाँ स्वर्गको निर्माण गर्ने यसै धर्तीको मानव रूपको साक्षात सृष्टि कर्ता (ब्रह्मा जस्तै) भगवान् हो भन्ने ठान्छन् । यसै धारणाले गर्दा कवि वा कलाकार परम्परागत र प्रचलित विज्ञान, दर्शन र समालोचनाका रूढिले हल-न-चल भएको अवस्थाबाट कला र कलाकारलाई मुक्ति र स्वायत्तता दिन्छ (Sher) । स्क्लोभ्स्कीले रूढि भई सकेका काव्यात्मक तत्त्वहरुलाई टड्कारा बनाउन प्यारोडीको उपयोग गरिने विचार राखेका छन् (Steiner) । काव्यमा अलङ्कारै हुनु पर्छ भन्ने केही छैन, त्यसैले अप्रस्तुत उपमानलाई प्रस्तुत उपमेयसित जोडेर परिचितीकरण गरिने आलङ्कारिक अभ्यासको साटो आफुले सधैँ चिनी राखेको कुरालाई नौलो र उदेक लाग्दो पारेर ‘अपरिचितीकरण’ प्रस्तुत गरेर पनि काव्यात्मकता ल्याउन सकिन्छ भन्ने स्क्लोभ्स्कीले नेतृत्व गरेको ओपायाजकै मान्यता छ (Erlich, Russian Formalism) । भिक्टर स्क्लोभ्स्कीले ‘अपरिचितीकरण’ अथवा नौल्याइँलाई नै काव्यको मुख्य विशेषता ठहराएर भाषाका वक्ताहरुको दैनिक प्रयोगमा बानी परेको संरचनालाई खल्बल्याएर (Deautomatization) अनि बोलचालमा कहिल्यै नजिक नजिक नआउने शब्दहरुलाई काव्यमा नयाँ अर्थको सिर्जना गर्न जानाजान नजिक ल्याएर पनि दैनिक बोलचालमा प्रयोग गरिने शब्दहरुबाटै भाषामा सिर्जनात्मक नौल्याइँ ल्याउन वा अपरिचितीकरण गर्न सकिन्छ भनेका छन् ।
बोलचालको (अकलात्मक) भाषाको प्रयोगमा वर्ण, शब्द र वाक्य विन्यास जस्ता घटक र तिनीहरुको संरचना वा विन्यास बानीका खटनमा चलेको हुन्छ, तर कलात्मक रचनाका भाषामा बानीका आधारमा गर्न सकिने सबै किसिमको अड्कल सके सम्म काम लाग्दैन । स्क्लोभ्स्कीको भनाइ अनुसार बोलचालका भाषामा परिचितीकरण (Automatization) हुन्छ भने काव्यका भाषामा अपरिचितीकरणको प्राधान्य हुन्छ । त्यसले गर्दा बोलचालको भाषा सजिलै बुझिन्छ भने, काव्यको भाषा बुझ्न त्यसमा प्रयोग भएका वर्ण, शब्द, पदावली, वाक्य र ताल जस्ता सबै पक्षमा ध्यान दिनु पर्ने हुनाले सजिलै बुझिँदैन । कुनै कृतिलाई कला बनाउँदा (उपमान जनाउने?) वस्तु र शब्दहरुलाई प्रचलित प्रसङ्गबाट बाहिर निकालेर अर्कै प्रसङ्गमा प्रयोग गरिन्छ । कलाका लागि नौला प्रसङ्गमा प्रयोग गरिएका वस्तुहरु मानव जीवनकै तथ्यसँग मात्र सम्बन्धित हुनु पर्छ ।
अपरिचितीकरणलाई नै काव्यको मूल तत्त्व मानेर याकोब्सन (१९२१ ई०) ले त के भनेका छन् भने, कुनै भाषाका साहित्यको इतिहास लेख्नेले अपरिचितीकरण अथवा शैलीगत (कलात्मक) नौल्याइँ र नौल्याइँ उत्पादन गर्ने तत्त्व र प्रविधिलाई नै आधार बनाउनु पर्छ (Steiner) ।
स्क्लोभ्स्कीका समकालीन भए पनि र आपसी भेट नभए पनि एज्रा पाउन्डले समेत काव्य सिर्जना गर्ने प्रविधिलाई ‘नमिल्ने असमान विचारहरुलाई मिलाउने’ (Unification of disparate ideas) र ‘नौलो र अनौठो बनाउने प्रविधि’ (Device of making strange) भनेर परिचय दिएका छन् (Erlich, Russian Formalism) । संस्कृत साहित्यमा ‘शिशुपालवध’ महाकाव्यका महाकवि माघले पनि सौन्दर्यको परिभाषा ‘नवता’ कै आधारमा गरेका छन् (क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयतायाः) ।
३. अग्रभूमीकरण (Foregrounding)
मुकारोब्स्कीले काव्यको भाषा सके सम्म टड्कारो बनाइएको अथवा अग्रभूमीकरण गरिएको हुन्छ भन्ने परिभाषा बनाएका छन् (Culler) । मुकारोब्स्कीले गरेको कलाको यो परिभाषा पनि अपरिचितीकरणकै घुमाउरो रूप हो ।
४. भाषामा उपमान (Metaphor) को शक्ति र उपयोग
म्याक्स ब्ल्याक (१९६२ ई०:२३६-२३७) (Black) के भन्छन् भने, एउटा टड्कारै चिनिने उपमानको प्रयोगबाट मिल्ने शक्तिले गर्दा जानकारीमा आएका दुइटा बेग्ला बेग्लै वस्तु र तिनीहरुको प्रयोग क्षेत्रलाई एउटै धारणा र भावनामा खप्टिइन्छ र समेटिन्छ अनि उपमानलाई लेन्स बनाएर उपमेयलाई कसरी हेरिन्छ भने, उपमानले नै उपमेयको शाब्दिक अर्थ दिन थाल्छ (अर्थात् अर्थगत अपसरण वा अर्थ परिवर्तन हुन्छ), जसले गर्दा बुझ्न लागेको कुरो अथवा विषय एकदम नौलो लाग्छ, किन भने उपमानको शाब्दिक अर्थ पनि त्यहाँ लुँडिएर आउँछ (Steiner) ।
५. साहित्यिकता (Literariness)
अ. रुसी रूप वादीहरुले गरेका क्रान्तिकारी अठोटहरु यी हुन् :
(१) साहित्यिक कृतिको अध्ययनमा पश्चिमी परम्परामा व्याप्त शोध विधिको अभाव र अलमलको अन्त्य गर्ने,
(२) साहित्यिकता बाहेकका कुरा साहित्यमा नगर्ने,
(३) विश्लेषणका आधारमा कृतिको निश्चित अर्थ ठोकुवा गर्ने अनि
(४) समालोचनालाई छुट्टै परस्पर सम्बद्ध, एकीकृत र स्वायत्त विधाको रूपमा स्थापित गर्ने बाटो रोजे ।
यिनै अठोटहरुका आधारमा याकोब्सन (१९२१ ई०) ले समालोचनाको अध्ययनको विषय भनेकै ‘साहित्यिकता’ मात्र हो भन्ने विचार अघि सारे भने आइखेनबाउम (१९२७ ई०) ले चाहिँ कुन कुन तत्त्वहरुले कुनै कृतिलाई साहित्यिक बनाउँछन् भन्ने कुरामा मात्र समालोचना केन्द्रित हुनु पर्ने विचार राखे (Erlich, Russian Formalism) । याकोब्सनका विचारमा काव्यमा काव्यात्मकताको विशेषता के हो भने, प्रयोग गरेको शब्दको अर्थ टड्कारो र झन चाल पाइने हुन्छ । काव्यमा बोलचालमा शब्दबाट अर्थ फटाफट त्यसै आए झैँ आउँदैन (Todorov) । साहित्यिकता, काव्यात्मकता, सौन्दर्य, अपरिचितीकरण, जस्ता कलाको परिभाषा गर्ने बेग्ला बेग्लै धारणाहरु परस्पर सम्बन्धित छन् र कहिले काहिँ एउटै कुरो बेग्ला बेग्लै नाउँ र कोणबाट भने जस्तो पनि लाग्छ । रूप वादीहरु साहित्यका स्थापित लक्षण सूत्रका विरोधी थिए । उनीहरु रचनामा अभिव्यक्तिको नौलो पन, सौन्दर्यपरक जटिलता र आविष्कारलाई महत्त्व दिन्थे (Erlich, Russian Formalism) ।
रोलाँ बाथ र लेबी स्ट्रसले साहित्य (कविता) लाई फेसनसित तुलना गरेका छन् । नयाँ पोसाकको मूल्य त्यसको पदार्थ र उपयोगिता हेरेर हुँदैन, त्यो कुन कुराले नौलो छ भनेर त्यसलाई चिनाउने ट्यागको भाषासित हुन्छ भन्ने उनीहरुको धारणा छ (Culler 38) ।
६. समता वा तुल्यता (Equivalence/Similarity) (Waugh 149-153):
क. याकोब्सन (१९६० ईः ३५८) ले भनेका छन् भने, ‘काव्यात्मक कार्यको निर्माणमा रोजाइ, छनोट (Selection) अथवा विस्थापन (Substitution) को खाँबामा नापेको समानता वा तुल्यता (Equivalence) लाई जोडाइ (Combination) का दलिनमा लगेर टाँसिन्छ (अथवा आरोपित गरिन्छ) ।’ याकोब्सनको यो भनाइ नै उनको काव्यको एक मात्र परिभाषा सूत्र हो । यस सूत्रको भाष्य र व्याख्या नभई काव्य कसरी बन्छ भन्ने याकोब्सनको गाँठी कुरै बुझिँदैन ।
बोलचालको भाषामा भन्दा कवितामा (गद्य काव्यमा भन्दा पनि पद्य काव्यमा) समानता, तुल्यता र बराबरीको हरहिसाब र पालन कति हो कति बढ्ता हुन्छ ।
अ. कविताको श्लोक बनाउन चाहिँ छन्द, लय, यति र ताल मिलाउन कृत्रिम वा कलात्मक रूपले हरेक चरण, हरेक पाउ, हरेक गण, हरेक अक्षर र हरेक मात्रा (Syllable Weight) गनेर बराबर नापो मिलाउनु आवश्यक हुन्छ । याकोब्सनको माथि लेखिएको काव्यको परिभाषा अनुसार उल्लेख गरिएका सबै तुल्यताका उदाहरणहरु ठाडो तुल्यता वा समानता भित्र पर्छन्, किन भने कविताको एउटा श्लोकमा सबै हरफहरु बराबर हुन खोज्छन्, हरेक हरफमा बिजोडी चरण वा पाउहरु परस्परमा बराबर नापोका हुन्छन्, जोडी चरण वा पाउहरु पनि आपसमा बराबर हुन खोज्छन् । संस्कृतको वार्णिक छन्दमा लघु अक्षर भएका ठाउँमा लघु अक्षर नै दोहोरिन्छ, गुरु अक्षर भएका ठाउँमा गुरु अक्षर नै दोहोरिन्छ भने, (लेखनाथको ‘पिँजराको सुगा’ लेखिए जस्तो) मात्रिक छन्दमा चाहिँ हरेक चरण वा पाउमा जम्मा मात्रा बराबर हुन्छ । पद्य कवितामा जस्तो सारो नापो मिलाउनु गद्य कविता अथवा निबन्ध, कथा र उपन्यास जस्ता गद्य साहित्यमा पर्दैन भने, बोलचालको भाषामा त झन एक रत्ति पनि पर्दैन ।
आ. कवितामा (अनुप्रास वा यमक जस्ता शब्दालङ्कारमा झैँ) समान वर्ण र समान वर्ण समूहहरु पटक पटक दोहोर्‍याएर पनि अथवा (श्लेष जस्तो उभयालङ्कारमा झैँ) फरक अर्थ भए पनि उस्तै उच्चारण हुने अनेकार्थी शब्दहरु बिचको उच्चारणको समानता भए पनि समानता र तुल्यताको नापो मिलाइन्छ । गद्य साहित्यमा यस्तो वर्ण वा वर्ण समूहहरु कवितामा जस्तो ठुलो मात्रामा मिलाइँदैन । बोलचालको भाषामा त यसरी खोजी खोजी अनुप्रास मिलाउने कुरै हुँदैन ।
इ. कवितामा (१) ‘फुल’, ‘पुष्प’ र ‘सुमन’ जस्ता समानार्थी (पर्यायवाची) शब्दहरु पटक पटक दोहोर्‍याएर, (२) अनेक प्रत्यय लगाएर एउटै धातु वा प्रातिपदिकबाट बनेका (‘फुल’, ‘फुलो’, ‘फुली’, ‘फुल्नु’, ‘उत्फुल्ल’, ‘प्रफुल्लित’ जस्ता) शब्दहरु पटक पटक दोहोर्‍याएर, (३) अनेक धातु र प्रातिपदिकमा एउटै प्रत्यय (‘बिहानी’, ‘परेली’, ‘बेलुकी’, ‘आँखी’, ‘खुट्टी’, ‘डाली’ मा झैँ) पटक पटक दोहोर्‍याएर, (४) (‘ठुलो’-‘सानो’, ‘होचो’‍-‘अग्लो’, ‘उज्यालो’-‘अँध्यारो’, ‘चिसो’-‘तातो’, ‘धनी’-‘गरिब’, ‘त्यागी’-‘लोभी’ जस्ता) विपरीतार्थी शब्दका जोडा जोडा बनाएर, (५) एउटै अर्थ परिवारका शब्दहरु (‘पानी’, ‘रस’, ‘झोल’, ‘थोपो’, ‘छिटो’, ‘तुर्को’, ‘झरी’, ‘वर्षा’, ‘धारो’, ‘छहरो’, ‘कुलो’, ‘भल’, ‘मुल्को’, ‘मूल’, ‘भुल्को’, ‘खोलो’ र ‘बग्नु’ जस्ता) सजाएर (‘मेरो आमाले आत्महत्या गरेको देश’ भन्ने कवितामा ईश्वरवल्लभले सबै ‘राता’ बिम्बहरु सजाएका छन् ।) (६) एकै किसिमका उपवाक्य र वाक्य दोहोर्‍याएर, (७) एउटै संयोजक वा निपात (‘जात र भात’, ‘कुटो र कोदालो’\ ‘धोती न टोपी’, ‘पुङ न पुच्छर’\ ‘हिङदेखि हर्दी सम्म’, ‘फेददेखि टुप्पो सम्म’ मा झैँ) दोहोर्‍याएर पनि तुल्यताबाट काव्यात्मकताको निर्माण गर्न सकिन्छ । यसरी काव्यको एउटा एकाइ (काव्य, सर्ग, श्लोक, चरण, यति, गण, अक्षर र वर्ण) को अर्को त्यस्तो एकाइका बिचमा स्थापित गरिने र पटक पटक दोहोरिने अनेक पल्ट जोडिने कृत्रिम (वा कलात्मक) तुल्यता, समानता वा बराबरीको समानान्तरबाट काव्यात्मकताको सिर्जना गरिन्छ ।
ई. लक्षणा र उपमानमा समानता, तुल्यता, बराबरी र समानान्तरता : हरेक लक्षणा भित्र रूपक (उपमान) हुन्छ र हरेक रूपक भित्र लक्षणा हुन्छ (याकोब्सन, १९६० ई०: ३७०\ पृ०१५२; २.२०)
ख. याकोब्सनले कविताको प्रारूप (Epitome) गीति कवितालाई मानेका छन् । उनका विचार (Jakobson and Halle, The Metaphoric and Metonymic Poles) मा गीति कवितामा अनुप्रास (छेकानुप्रास, वृत्यनुप्रास, अन्त्यानुप्रास) को ठुलो भूमिका हुन्छ । गीत (Lyric) मा पहिलो पल्ट सजाइएको ‘लघुतम युग्म’ (Minimal Pair) को नक्कल गरेर (जस्तै, लेखनाथको ‘सत्य सन्देश’ कवितामा ‘भर्दा’-‘पर्दा’) अनेक पल्ट दोहोर्‍याए पछि (जस्तै, ‘भर्दा-पर्दा-झर्दा-गर्दा-डर्दा-पर्दा) अनुप्रास बन्छ । एउटै शब्दको अगाडि, बिच वा अन्तको कुनै वर्ण अर्को वर्णले साटी दिए पछि बन्ने यस्तो अनुप्रास गीति कविता बनाउने समानता वा तुल्यता कायम गर्ने प्रविधिको एउटा नमुना हो । एउटा कविता वा काव्यको रचना गर्दा कविले अनेक किसिमका तुल्यताहरुको आविष्कार (Invention) गरेर जड्दछ । कविले सिर्जना वा निर्माण गरेका उपमान (Metaphor) र उपमेय लगायत सबै किसिमका तुल्यता (र विरोध वा व्यतिरेक) हरु समालोचकले फेला पार्न (Discovery) सक्नु पर्छ ।
ग. पुनरुक्ति (Repetition): काव्यात्मक प्रभाव उत्पादन गर्न काव्यमा भाषाको हरेक तहमा पुनरुक्तिको भूमिका हुन्छ (याकोब्सन, Grammatical parallelism and Russian facet, १९६६ ई०)। यो पनि समता\ समतुल्यता\सममापकताकै उदाहरण हो ।
७. कविता विश्लेषणको आदर्श नमुना
अ. याकोब्सन र स्क्लोब्स्कीको सिद्धान्तको आदर्श उपयोग कविताको विश्लेषणमा गरियो । याकोब्सनले विलियम ब्लेक र अरु केही कविका कविताको विश्लेषण गरेर ती कवितामा वर्ण, अनुप्रास, छन्द, ताल, लय, रूप, शब्द, पदावली, पद साहचर्य, उपवाक्य र वाक्य जस्ता भाषिक एकाईहरुमा बोलचालको भाषाका तुलनामा जानाजान पारिएका विचलनहरुबाट कविताले सिर्जना गरेका नौला शैलीबाट निस्कने नौला अर्थको व्याख्या र विश्लेषण गरेर रूप वादी विश्लेषण र व्याख्याको आदर्श स्थापित गरी दिएका छन् र त्यस विश्लेषणमा विशेष गरी कवितामा उच्चारण र अर्थ (अर्थात् स्फोट) को अद्वितीय समन्वय भएको देखाएका छन् अनि हरेक कवितामा भेटे सम्मका भाषिक घटकमा तालको अद्भुत व्यवस्था कायम हुने कुरो अघि सारेका छन् (Jakobson, On the Verbal Art of William Blake and Other Poet Painters) (Erlich, Russian Formalism) ।
आ. विचलन (Deviation)
गोगोलको ‘ओभरकोट’ भन्ने कथाको विश्लेषण गर्दै आइखेनबाउमले पनि के भनेका छन् भने, जुनसुकै साहित्यिक कला कृति आधारभूत रूपमा भाषा र वास्तविकतालाई जानाजान बङ्ग्याएर बनाइएको कृत्रिम रचना वा आविष्कार हो (Erlich, Russian Formalism) ।
८. शैलीगत विकासका रूपमा इतिहासको चेत
क. स्क्लोब्स्की (१९२१) ले जुनसुकै साहित्यिक कृतिलाई भेटे सम्मका संरचक तत्त्वहरुको विन्यास हो भन्ने मानेका छन् । तिन्यानोभले जुनसुकै साहित्यिक कृतिलाई एउटा सौन्दर्य शास्त्रीय व्यवस्था ठानेका छन् । तोमासेब्स्कीले कुनै युगका साहित्यमा उपयोग भएका सौन्दर्य निर्माण गर्ने घटकहरुमा र तिनीहरुले कृतिमा उत्पन्न हुने अर्थ वा कार्यमा त्यस पछि आउने युगमा क्रमिक परिवर्तन र विकास हुन्छ भन्ने विचार राखेका छन् (Erlich, Russian Formalism) ।
ख. रूप वादीहरुमा इतिहासको चेत कसरी एउटा सौन्दर्यपरक शैली भन्दा फरक शैलीको आविष्कार गर्ने खोजी गर्दै साहित्यमा शैलीगत विकास हुन्छ भन्ने विश्वासका रूपमा मात्र बनेको देखिन्छ । नत्र कृति बाहिरको इतिहासमा रूप वादीहरुलाई कुनै रुचि थिएन । तिन्यानोभका विचारमा चाहिँ साहित्यको विकास प्रचलित शैलीमा फरक ल्याउने अभिलाषाले नभएर साहित्यका प्रचलित पुरानै सामग्रीलाई कसरी नयाँ ढङ्गले सजाउने भन्ने अभिलाषाले चाहिँ हुन्छ । यसबाट के बुझिन्छ भने, साहित्यमा नौलो पन ल्याउन साहित्यकारले समाजमा प्रचलित कुनै हेपिएको साहित्यिक वा असाहित्यिक विधालाई उकासेर, नक्कल र खिसी गरेर पनि काव्यात्मकता दिएर टाकुरामा पुर्‍याउँछन् (Erlich, Russian Formalism) । तिन्यानोभ के लेख्छन् भने, साहित्यको कुनै शैली र विधा बाबुसँग बेग्लै हुन खोज्दा बाजेसित मिल्छ । यसमा स्क्लोब्स्की चाहिँ के भन्छन् भने, यस्ता साहित्यिक परिवर्तनमा भतिजो चाहिँ काका जस्तो हुन्छ (Erlich, Russian Formalism) ।
ग. काव्य शास्त्रमा लक्षण सूत्रहरुको विकास निम्नानुसार हुन्छ भन्ने तिन्यानोभ (१९२९ ई०) को विचार छ (Steiner):
अ. बानी परेका लक्षण सूत्रका प्रक्रियाहरुसँग फरक पर्ने प्रक्रियाहरुको निर्माण
आ. नव निर्मित लक्षण सूत्रहरुको काव्य रचनामा उपयोग र प्रयोग
इ. नव निर्मित सूत्रहरुको व्यापक र अधिकतम प्रयोग
ई. व्यापक भएका लक्षण सूत्र र प्रक्रियाका रूढिलाई भङ्ग गर्ने प्रक्रिया र लक्षण सूत्रको खोजी
घ. स्क्लोभ्स्कीकै ‘अपरिचितीकरण’ सँग मिल्ने गरी याकोब्सन (१९२५ई) ले पनि कुनै कला कृतिलाई एउटै र बेग्ला बेग्लै काल खण्डका अरु कला कृतिसँग दाँज्दा टड्कारै भेटिने नौलो पनका आधारमा कुनै पनि कृतिको कलात्मकताको मूल्याङ्कन गर्नु पर्छ [Historical relativity of the concept of literature] भन्ने धारणा बनाएका छन् (Steiner) ।
ङ. दैनिक बोलचालको भाषाबाट बेग्ल्याएर इतिहासको कुनै एक चरणमा काव्य बन्छ, तर काव्यको त्यही आविष्कार बानी परे पछि बासी हुन्छ र त्यसको काव्यात्मकता र मिठास बोलचालका भाषामा हराए जस्तै हराउँछ । अर्का तिर इतिहासको एउटै काल खण्डमा पनि काव्यको एउटै मात्र सम्प्रदाय बाँचेको हुँदैन, खालि अनेक सम्प्रदाय मध्ये एउटा सम्प्रदायले मान पाएको मात्र हुन्छ । इतिहासको अर्को काल खण्डमा अघिल्ला युगमा माथि पर्न नसकेको अर्को सम्प्रदायले मान पाउन पनि सक्छ अनि त्यसको काव्यात्मक प्रविधि बढ्ता टड्कारै चाल पाइने पनि हुन सक्छ (भेसिलोभ्स्कीको ऐतिहासिक काव्य शास्त्र, १८९३ ई०, को प्रभाव) ।
ऐतिहासिक विकास क्रमका आधारमा कला, कलात्मकता, कविता र काव्य तत्त्वलाई चिनाउन आइकेनबाउम (१९२२ ई०) र तिन्यानोभ (१९२४ ई०, १९२९ ई०) ले टड्कारो पन (Perceptibility) र अग्रभूमीकरण (Foregrounding) लाई नै कलात्मकता वा साहित्यिकताको परिचायक वा मूलभूत विशेषता मानेका छन् । इतिहासको अघिल्लो काल खण्डमा एउटा भाषिक वा संरचनात्मक विशेषतालाई काव्यको मूल तत्त्व मानिन्छ, तर धेरै प्रयोग गर्नाले बानी परेर श्रोता र पाठकहरुले त्यस तत्त्वमा ध्यानै दिन छोड्छन्, त्यस तत्त्वको सौन्दर्य हराउँछ, त्यसैले त्यस पछिको काल खण्डमा त्यस तत्त्वलाई पन्छाएर अर्कै तत्त्वलाई टड्कारो बनाइन्छ र कलात्मक तथा काव्यात्मक पारिन्छ । कलात्मक र काव्यात्मक सौन्दर्य वा साहित्यिकताको तिन्यानोभको यो धारणा हेगलको इतिहास दर्शनबाट प्रभावित देखिन्छ (Steiner) ।
च. परस्पर परिचित नभए पनि स्क्लोभ्स्की र याकोब्सनको समसामयिक र ऐतिहासिक सापेक्षतामा कलालाई परिभाषित गर्ने अपरिचितीकरणको धारणा बेलाइती वा अमेरिकाली रूप वादी समालोचक टी०एस० इलियट (१९२० ई) कै कलालाई परम्पराका सापेक्षतामा परिभाषित गर्नु पर्छ भन्ने धारणासित पनि मिलेको देखिन्छ, तर स्क्याफ्टिमोभ (१९२२-१९२३ ई०) र झिर्मुन्स्की (१९२८ ई०) जस्ता रुसी रूप वादी समालोचकहरु चाहिँ कलाको विधागत सौन्दर्यपरक स्वरूपका अगाडि ऐतिहासिक पक्षको अध्ययनलाई निम्सरो ठान्छन् (Steiner) ।
९. गद्य र पद्यमा फरक
क. गेयात्मकता\ अलौकिकता\ लक्ष्य
अगस्ट स्लेगेल (१८०१ ई०) ले के भनेका छन् भने, कुनै कृति जति गद्यमय हुन्छ, त्यति त्यसलाई गायन गर्न सकिँदैन, अर्थात् त्यसको गेयात्मकता घट्छ, तर कवितामा चाहिँ त्यसको उल्टो बराबर उच्चारण कालमा यति वा विश्राम आउँछ र कृतिमा ताल उत्पन्न हुन्छ । यसरी कवितामा श्रोतालाई खेलमा झैँ वास्तविकतासँग नमिल्ने काव्य लोकमा पुर्‍याइन्छ, जहाँ भाषाका एकाइहरु बिचमा बोलचालका भाषामा जस्तो ध्वनि र अर्थका बिचमा काकतालिक साइनो नभएर लक्ष्यानुरूप अर्थ निर्माण गर्न सकिन्छ (Todorov) । सेलिङ (१८०३ ई०) ले चाहिँ काव्यको बाहिरी लक्ष्य नभएकाले आन्तरिक रूपमा नै त्यसको लक्ष्य सके सम्म नियमित हुन्छ भन्ने विचार राखेको पनि पाइन्छ (Todorov) ।
ख. वर्ण वक्रता\ अर्थ वक्रता
तिन्यानोभ (१९७७ ई०) ले गद्यमा अर्थले वर्ण वक्रता (Deformation) ल्याउँछ भने, पद्यमा चाहिँ वर्णले अर्थ वक्रताको खटन गर्छ भन्ने धारणा राखेका छन् (Steiner) ।
ग. अर्थको आविष्कार\निर्माण
भिक्टर स्क्लोभ्स्की (१९१९ ई०) ले गद्य भाषामा भन्दा पद्य भाषामा त ध्वनिकै पनि बेग्लै अर्थ, शब्दको उच्चारणमा प्रयोग हुने अवयवको पनि बेग्लै अर्थ, शब्दको पनि कोशमै नभेटिने अर्थ अनि संरचना र शब्दको विन्यासकै मात्र पनि छुट्टै अर्थ हुन सक्छ भन्ने दृष्टि कोण राखेका छन् (Todorov) ।
घ. कविता वा पद्यको रचना गर्दा कविले अनुप्रासको समानता जस्तै अथवा उपमान र उपमेयका बिचको तुल्यता, सादृश्य र समानता जस्ता अनेक किसिमका तुल्यताको निर्माण वा सिर्जना मात्र गर्छ भन्ने याकोब्सनको धारणा छ । कविता वा काव्यमा उपमान र उपमेयका बिचको सादृश्य अथवा उपमानमा उपमेयको अर्थ परिवर्तन, आरोप र अर्थ ग्रहण खालि कृतिगत, तात्कालिक र प्रसङ्ग सापेक्ष मात्र हुन्छ, बोलचालका भाषामा जस्तो स्थायी अर्थ परिवर्तन हुँदैन । अतिशयोक्ति अलङ्कारमा उपमान (Metaphor) ले उपमेयको अर्थ जनाउँछ, तर त्यो अर्थ परिवर्तन पनि बोलचालका भाषामा जस्तो स्थायी हुँदैन ।
गद्य र पद्यमा फरक छुट्ट्याउन याकोब्सन (Jakobson and Halle, The Metaphoric and Metonymic Poles) ले काव्य शास्त्रमा प्रचलित दुई ओटा पारिभाषिक शब्द (रूपक र लक्षणा) को अर्थलाई व्यापक बनाएका छन् । केही बेहोराका आधारमा उपमान र उपमेयमा सादृश्य स्थापना गर्ने ‘उपमा, रूपक, उत्प्रेक्षा र अतिशयोक्ति’ अलङ्कारमा आधारभूत रूपमा उपमेयको अर्थ उपमानमा सरेर तुल्यता (Equivalence) स्थापना गरिने हुनाले याकोब्सनले कवितामा ‘घोष-अघोष’, ‘अनुनासिक-अननुनासिक’, ‘अल्प प्राण- महाप्राण’ जस्ता विभेदक अभिलक्षण (Distinctive Features) मा समानता र व्यतिरेक (Contrast) को निर्माण, ‘छेकानुप्रास’ र ‘वृत्यनुप्रास’ जस्ता अनुप्रास (Rhyme), छन्दका हरफ हरफमा र चरण चरणमा बराबर अक्षर सङ्ख्या वा मात्राको निर्माण, समानार्थी शब्दहरुको सजावट अथवा विपरीतार्थी शब्दहरुको सजावट, एउटै अर्थ परिवारका शब्दहरुको सजावट जस्ता सबै किसिमका तुल्यताको निर्माण र आवृत्ति गर्ने प्रक्रियाहरुको नमुना वा आदर्शको साझे नाम ‘रूपक’ (Metaphor) भन्ने दिएका छन् र कवितामा यसै प्रक्रियाको सर्वोपरि मुख्य भूमिका हुने विचार व्यक्त गरेका छन् ।
याकोब्सनले गद्यमा चाहिँ लक्षणा (Metonymy) को भूमिका हुन्छ भन्ने मानेका छन् । जसरी अतिशयोक्ति अलङ्कारमा निश्चित प्रसङ्गमा उपमानले (अर्थ परिवर्तन भएर) उपमेय जनाउँछ, त्यसै गरी लक्षणामा पनि एउटै प्रसङ्ग र परिस्थितिसँग निकट सम्बन्ध राख्ने एउटा शब्दले (अस्थायी, तात्कालिक र प्रसङ्ग सापेक्ष अर्थ परिवर्तन भएर) अर्को शब्दले दिने अर्थ जनाउँछ ।
ङ. फाबुला (कथा बीज) र स्युजेत (कथानक): काल क्रमको बन्धन र उद्देश्यमूलकता
स्क्लोभ्स्कीका अनुसन्धानको रुचि पद्यमा भन्दा गद्यमा र त्यस भित्र पनि आख्यानमा थियो, त्यसैले उनले कच्चा माल (अथवा पदार्थ) र उपकरणको अवधारणालाई ‘कथा बीज’ (फाबुला वा स्टोरी) र कथानक (स्युजेत) को अवधारणामा उपयोग गरे । स्क्लोभ्स्कीका विचारमा कला र काव्य त उद्देश्यमूलक हुन्छ, त्यसले वास्तविक घटना (Fabula) बाट काव्यको कथानक (Sjuzhet) लाई फरक पार्छ, किन भने वास्तविक घटनामा चाहिँ समय क्रमको नियन्त्रण वा खटन हुन्छ, तर त्यसै वास्तविक घटनाबाट समयको बन्धन र क्रम खुस्काई दिए पछि र त्यसलाई कथाकारले उद्देश्य अनुसार आफुखुसी खज्मज्याए पछि मात्र काव्यको कथानक बन्छ । कथानकमा पाइने कलात्मक नियमबद्धता साँच्चैको घटनामा हुँदैन (Steiner) । स्क्लोब्स्कीका विचारमा कथामा पात्र, जीवन दर्शन, मनोविज्ञान, आदि सबै कुरा कथानकमा आश्रित हुन्छन् र कथानकको संरचना र कलात्मकता नै कथाको मुटु हो (Erlich, Russian Formalism) ।
१०. आख्यान शास्त्रको जन्म
जर्मन साहित्यकार गेटे १७८६ ई० मा इटाली घुम्न जाँदा त्यहाँका बोट बिरुवा देखेर उनलाई संसारभरका बोट बिरुवाहरु एउटै फेदबाट विकसित भएका रहेछन् भन्ने लाग्यो । गेटेको शारीरिक रूप वैज्ञानिक विचार १९२६ ई० मा अङ्ग्रेजीमा प्रकाशित भए पछि उनको गतिशील रूप विज्ञानको प्रभावमा परेर भ्लादिमिर प्रपले १९२७ ई० मा ‘लोक कथाहरुको रूप विज्ञान’ भन्ने शोध ग्रन्थ प्रकाशित गर्दै हरेक लोक कथामा ३१ ओटा लघुतम एकाई (‘मोटिफ’) मात्र एउटै क्रममा भेटिन्छन् भन्ने निष्कर्ष निकाले भने, मिखाइल पेत्रोभ्स्कीले चाहिँ १९२८ ई० मा आधुनिक ‘कथाको रूप विज्ञान’ भन्ने शोध ग्रन्थ सार्वजनिक गरेर गेटेको जीव वैज्ञानिक रूप विज्ञानलाई साहित्यिक अनुसन्धानमा उतार्दै आख्यानका परिवर्तनशील आद्य तत्त्व (Archetype) को खोजी गर्दै आख्यान शास्त्र (Narratology) को गतिशील संरचनाका सार्वभौम घटकहरु फेला पारे । क्याफ्टिमोभ रूप वादी नभए पनि प्रोपले क्याफ्टिमोभकै लोक महाकाव्यका अनुसन्धानको सिको गरेका हुन् । भ्लादिमिर प्रप (१९२८ ई०) ले कथाको हरेक वाक्यका क्रियाबाट घटनाहरुको परिवर्तनशील स्वरूप अनि अक्रिया (नाम, विशेषण, क्रिया विशेषण, आदि) बाट कथाको अपरिवर्तनशील पक्षको विश्लेषण गर्न सकिने कुरो अघि सारेका छन् (Steiner) । रुसी रूप वादका प्रपकै त्यो प्रारम्भिक अनुसन्धानको फल स्वरूप आज आख्यान शास्त्र भन्ने बेग्लै विषय विकसित भएको छ ।
११. रुसी रूप वादमा लेखकको स्थान
तोमासेभ्स्की (१९२३ ई०) र तिन्यानोभ (१९२९ ई०) ले लेखकको जीवनीका आधारमा कृतिको विश्लेषण गर्ने कुराको त उपहास गरे, तर कुनै साहित्यिक कृतिको विश्लेषण वा समालोचनामा लेखकको ‘वास्तविक जीवनी’ चाहिँ त्यति काम नलाग्ने, तर ‘कृतिगत जीवनी’ चाहिँ कृत केही मात्रामा काम लाग्ने किन ठहराए भने, एउटा लेखकका समग्र कृतिको शैलीगत विश्लेषण गर्दा अथवा उसका कृतिहरुको क्रमिक शैलीगत विकासको लेखाजोखा गर्न लेखकको जीवनी केही सहायक हुन सक्छ । साहित्यिक समालोचनामा लेखकको नाउँ मात्रले पनि विशिष्ट ठाउँ ओगट्ने गरेको कुरो पनि उनीहरुले उठाएका छन् (Steiner) ।
१२. रुसी रूप वाद र बेलाइती\अमेरिकाली नव समालोचना
प्रागको गुरु कुलका रेने वेलेक र अमेरिकाली नव समालोचनाका अस्टिन वारेन (१९४९ई०) ले मिलेर सबभन्दा पहिले अमेरिकामा रुसी रूप वादको चिनारी गराएका हुन्, तर एक अर्काको प्रभाव र पारस्परिक जानकारी नभए पनि रुसी रूप वादका मान्यताहरु बेलाइती अमेरिकाली नव समालोचनाका क्लिन्थ ब्रुक्स, विम्जाट, विलियम एम्पसन र टी०एस० इलियटका मान्यताहरुसित मिल्छन् । नव समालोचना अन्तर्गत टी०एस० इलियटले समालोचनाको ध्यान कविबाट कविता तिर ताने, जोन क्रो र्‍यान्समले साहित्यको सौन्दर्यपरक र मौलिक बेहोरा तिर आकर्षित गरे भने, क्लिन्थ ब्रुक्स र आई०ए० रिचर्डसले काव्यको सघन पठन (Close Reading) मा जोड दिए । रुसी रूप वाद चाहिँ काव्यमा नवता वा नवीनताको खोजीमा केन्द्रित थियो भने, नव समालोचना चाहिँ परम्पराको खोजीमा थियो । नव समालोचनाका अनेक किसिमका पक्षधरहरु मध्ये रुसी रूप वादीहरुसँग क्लिन्थ ब्रुक्स र रोबर्ट वारेनको विचार निकै मिल्छ । दुवैले कृतिलाई जीव जस्तो एउटा सिङ्गो एकाई ठान्छन् र काव्यात्मक भाषाको लाक्षणिकता र अनेकार्थकता हुन्छ भन्ने कुरामा दुवै पक्ष सहमत छन् । रूप वादीहरु मध्ये पनि प्रागको गुरु कुलका संरचना वादी विचार चाहिँ ब्रुक्स र वारेनको नजिक पुग्छन् (Erlich, Russian Formalism) ।
१३. रुसी रूप वादको दुर्नियति र रूपान्तरण
सन १९२४-१९२५ तिर त रूप वादी समालोचना स्तालिनको खेदो र सिकारमा पर्‍यो र अल्प कालमै प्रतिबन्धित भयो । स्क्लोब्स्कीले आफुलाई मार्क्स वादी बनाए, तर याकोब्सन चाहिँ चेकोस्लोभाकिया तिर लागे अनि १९३० को दशकमा चेकोस्लोभाकियाको राजधानी प्रागमा याकोब्सन र त्रुबेच्कोई, माथिसियस, मुकारोब्स्की र रेने वेलेक मिलेर ‘प्राग भाषा वैज्ञानिक मण्डली’ गठन गरे र प्रागमै रूप वादले ‘संरचना वादी’ नाउँ पायो । यस वेला सम्ममा बेलाइत र अमेरिकामा पनि संरचना वादको हावा लागी सकेको थियो (Erlich, Russian Formalism) । सन १९६० को दशकमा याकोब्सन र त्रुबेच्कोईको प्रभावमा परेका लिभी स्ट्रसले मानव शास्त्री अध्ययन र विश्लेषणमा संरचना वादको प्रयोग गरे पछि फ्रान्समा पनि रुसी रूप वादको प्रभाव पर्‍यो । फ्रान्समा नपसुन्जेल संरचना वाद भाषा र साहित्यको विश्लेषण गर्न मात्र उपयोग गरिन्थ्यो । भाषा वैज्ञानिक ढाँचालाई आधार बनाएरै जिनेट र तोदोरोभले आख्यान शास्त्र बनाए । जसरी भ्लादिमिर प्रोपले याकोब्सन र स्क्लोब्स्कीको प्रभावमा परेर रुसी लोक कथाको प्रकारपरक वर्णनात्मक अनुसन्धान गरे, त्यसै शोध विधिको उपयोग ब्रेमोन्टले अरु किसिमका आख्यानको अध्ययन र विश्लेषणमा गरे । रोलाँ बाथले नै पनि रुसी रूपवादबाटै प्रभावित भएरै संरचना वादबाट उत्तर संरचना वादको विकास गरे । प्रपका अनुसन्धानको प्रभाव लिभी स्ट्रसलाई पनि पर्‍यो (Erlich) ।
१४. रुसी रूप वाद र संस्कृत काव्य शास्त्र
भाषा विश्लेषणका आधारमा काव्य कृतिका सौन्दर्यपरक अर्थको विश्लेषण गर्ने जुन वस्तु वादी समालोचनाको आविर्भाव बिसौँ शताब्दीको दोस्रो दशकमा रुसी रूप वादका नाउँमा पश्चिममा देखा पर्‍यो । संस्कृत साहित्यमा ढिलो भए, आठौँ शताब्दी सम्मै ‘वक्रता’ का आधारमा काव्यको परिभाषा गर्ने काम भामह र दण्डीले गरेको देखिन्छ । नवौँ शताब्दीमा वामनले त्यसैलाई ‘पद सङ्घटना’ का रूपमा अघि बढाएको र दशौँ वा एघारौँ शताब्दीमा कुन्तकले ‘वक्रोक्तिजीवित’ भन्ने सिङ्गै ग्रन्थ लेखेर काव्यको वर्ण, मुक्त रूप, वद्ध रूप, पद, वाक्य, प्रबन्ध र प्रकरणकै वक्रताका आधारमा काव्यको परिभाषा गरेको देखिन्छ । भामह, वामन र कुन्तकको प्रभाव रुसी रूप वादी याकोब्सन जस्ता भाषा वैज्ञानिकलाई परेको थियो कि थिएन भन्ने कुरो गम्भीर अनुसन्धानको विषय छ । भाषा विज्ञान नै संस्कृतको आविष्कार पश्चिमलाई भए पछि जन्मेको हो र ससुर जस्ता पहिलेका भाषा वैज्ञानिकहरु त संस्कृतबाट सशक्त रूपले प्रेरणा र प्रभाव लिएका हुन्थे ।
Works Cited
Black, Max. Models and Metaphors. Ithaca: Cornell University Press, 1962.
Bruns, Gerald L. “Toward a Random Theory of Prose.” Shklovsky, Victor. Theory of Prose. Moscow [Illinois, USA]: Dalkey Archive Press, 1929 [1990]. ix-xiv.
Culler, Jonathan. Structuralist Poetics: Structuralism, Linguistics and the Study of Literature. London & New York: Routledge & Kegan Paul, 1975.
Dahal, Ballabh Mani. “Phonoesthetic Elements in Nepali.” Proceedings of the First All India Conference of Linguistics. Poona: Linguistic Society of India, 1971. 120-129.
Empson, William. Seven Types of Ambiguity. 2nd. London: Chatto & Windus, 1949.
Erlich, Victor. “Russian Formalism.” Journal of the History of Ideas 34.4 (1973): 627-638.
—. “Russian Formalism: In Perspective.” The Journal of Aesthetics and Art Criticism 13.2 (1954): 215-225.
Jakobson, Roman and Morris Halle. “The Metaphoric and Metonymic Poles.” Jakobson, Roman and Morris Halle. Fundamentals of Language. The Hague, the Nederlands: Mouton, 1956. 76-82.
Jakobson, Roman. “On the Verbal Art of William Blake and Other Poet Painters.” Linguistic Inquiry 1.1 (1970): 3-23.
—. Verbal Art, Verbal Sign, Verbal Time. Ed. Krystyna Pomorska and Stephen Rudy. Minneapolis: University of Minnesota Press, 1985.
Kant, Immanuel. “Critique of Aesthetic Judgement.” Kant, Immanuel. Critique of Judgement. Ed. Nicholas Walker. Trans. James Creed Meredith. Oxford: Oxford University Press, 1790 [1952, 2007]. 35-74.
Pomorska, Krystyna. “Poetics of Prose.” Jakobson, Roman. Verbal Art, Verbal Sign, Verbal Time. Ed. Krystyna Pomorska and Stephen Rudy. Minneapolis, MN, USA: University of Minnesota Press, 1985. 169-177.
Saussure, Ferdinand de. Course in General Linguistics. Ed. Perry Miesel and Haun Saussy. Trans. Wade Baskin. New York: Columbia University Press, 1916 [English translation, 1959].
Sher, Benjamin. “Shklovsky and the Revolution.” Shklovsky, Victor. Theory of Prose. Trans. Benjamin Sher. Illinois, USA: Dalkey Archive Press, 1990 [1929]. xv-xxi.
Sklovsky, Victor Borisovich. Theory of Prose [O teorii prozy,. Trans. Benjamin Sher. Illinois, USA: Dalkey Archive Press, 1929 [Eng. tr. 1991].
Steiner, Peter. “Three Metaphors of Russian Formalism.” Poetics Today 2.1 (Winter 1980-1981): 59-116.
Todorov, Tzvetan. “Literature and Its Theorists: A Personal View of Twentieth Century Criticism.” Poetic Language: The Russian Formalists. Trans. Catherine Porter. London: Routledge & Kegan Paul, 1988. 10-28.
Waugh, Linda R. “The Poetic Function and the Nature of Language.” Jakobson, Roman. Verbal Art, Verbal Sign, Verbal Time. 1985. 143-168.
चापागाईँ, नरेन्द्र प्रसाद. नेपाली अनुकरण शब्दको स्वरूप. ललितपुर: जगदम्बा प्रकाशन, २०५८.
पोखरेल, माधव प्रसाद. “नेपाली अनुकरण शब्दको व्याकरण.” पोखरेल, माधव प्रसाद. नेपाली वाक्य व्याकरण. काठमाडौँ: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५४. ११५-१२४.

गरिमा, मङ्सिर २०७३ मा प्रकाशित

Leave a Reply