नेपालमा स्त्री राज्य र मातृसत्ताको अवशेष
(नयाँ पत्रिकाको ‘झन नयाँ’ स्तम्भमा ‘स्त्री राज्य’ शीर्षकमा प्रकाशित, शनि बार, चैत १६ गते २०७५)
डा० माधव प्रसाद पोखरेल
महाभारतमा पाञ्चाल (कुमाउँ) की राजकुमारी द्रौपदीको एकै चोटि पाँच भाइ पाण्डवसित बिहे भएको कुराले पितृसत्तात्मक समाजका पाठकहरुलाई उदेक लाग्छ । त्यो भन्दा बढ्ता उदेक आफ्ना श्रीमान् (पाण्डु) हुँदा हुँदै श्रीमानकै सल्लाहले मथुराकी राजकुमारी कुन्तीले अनेक देउताबाट छोरा (धर्मराजबाट युधिष्ठिर, वायुबाट भीमसेन र इन्द्रबाट अर्जुन) पाएको र माद्रीले जम्ल्याहा दाजु भाइ अश्विनीकुमारबाट जम्ल्याहा छोरा (नकुल र सहदेव) पाएको कथाले पाठक छक्क पर्छ । कुन्तीले बिहे नै नभइकन सूर्यबाट एउटा छोरो (कर्ण) जन्मेको कुरो ‘लोक लाज’ ले कसैलाई नसुनाएको तर अर्जुनसँग धनुर्विद्यामा होड गर्न रङ्गशालामा आएको कवच कुण्डल सहितको कर्णलाई देख्ता र दरबारियाहरुले त्यस छोराको अपमान गर्दा कुन्ती भित्र भित्रै भुट्भुटिएको र फत्र्याक फत्र्याक भएको देख्ता चाहिँ धेरैजसो पाठकलाई स्वाभाविक नै लाग्छ । कुरुक्षेत्रमा कर्णको लासको सद्गति गर्न कुन्तीले युधिष्ठिरलाई कर्ण तेरै दाजु हो भनेर सार्वजनिक गर्दा कथा रोमाञ्चक बन्छ ।
कुन्तीकी सासु कस्तूरीगन्धा सत्यवतीले आफ्ना शान्तनु तर्फका छोरा चित्राङ्गद र विचित्रवीर्य मरे पछि सत्यवतीका बाबुकै कारणले आजीवन ब्रह्मचर्य लिने भीष्म प्रतिज्ञा गरेका जेठी (गङ्गा) पट्टिका छोरा देवव्रतलाई कुलको ‘निरन्तरता’ का लागि बिहे गर्न कर गर्दा पनि नमाने पछि आफ्ना भाइ बुहारी (अम्बिका र अम्बालिका) हरुबाट कुलको रक्षा गरी देउ भन्दा पनि नमाने पछि बिहे गर्नु भन्दा अगाडि पराशर ऋषिबाट जन्मेका आफ्ना छोरा व्यास ऋषिलाई लगाएर ‘नियोग’ प्रथाबाट अम्बिका र अम्बालिकाबाट क्रमशः धृतराष्ट्र र पाण्डु जन्माएको कुरालाई कथा मात्र मानेर धेरैजसो पाठकहरु तिनछक परेका छन्, तर महाभारतको यो चलन आज पनि कुमाउँ, गढवाल (पाञ्चाल) र नेपालमा पाइन्छ भन्ने कुरा चाल पाउँदा अधिकांश नेपाली पाठक कति छक्क पर्लान् र झस्केलान् भनेर यो लेख लेखिएको हो ।
महाभारतका यी पात्रको लिङ्ग मात्र परिवर्तन गरेर सोच्ता के होला ? द्रौपदीका श्रीमानको सङ्ख्या गनेर महाभारतमै कर्ण, दुर्योधन र दुःशासनले द्रौपदीको अपमान गरे, तर अर्जुनको बिहे कति ओटीसित भयो, त्यसको निश्चित गन्ती कसैले गरेन, किन भने अर्जुनका भित्रिनी र बाहिरिनीहरुको गणनाबाट समाजले अर्जुनलाई कलङ्कित गर्दैन । पतिसित सल्लाह गरी गरी अनेक पुरुषबाट छोरा पाउने कुन्तीको चरित्र सहन गारो मान्ने समाजले कुन्तीका ठाउँमा पाण्डुले कुन्तीसँग सल्लाह गरी गरी अनेक महिलाबाट छोरा पाएका भए, समाजले त्यसमा उदेक मान्नु पर्ने र पाण्डुको चरित्र कलङ्कित बनाउनु पर्ने केही कारण देख्तैन । सत्यवती र कुन्तीले बिहे नै नगरी छोरा पाएको अहिलेकै नेपाली मुलुकी ऐनले भेट्यो भने पनि कलङ्कित गर्ला, तर उही घटनाका अङ्सियार पराशर ऋषि र सूर्य भगवानको जात कट्टा गर्ने कुरो नेपालको कुनै पनि मुलुकी ऐनले सोच्तैन । व्यास ऋषिले बुहारीहरुलाई पुत्रवती बनाएको घटना (र नियोग प्रथा) त प्राचीन हिन्दु समाजमा चलेकै थियो भन्ने कुरो पाण्डुरङ्ग काणे (१९४१ इ) ले ‘धर्मशास्त्रको इतिहास’ मा लेखेका छन् । नेपाल भारतमा नै कतै कतै विधवा भाउजुको देवरसित स्थायी रूपमा अनौपचारिक बिहे भएका घटना त मेरै जानकारीमा पनि भेटिएलान् ।
पुरुष प्रधान (पितृसत्तात्मक) समाजमा जति किसिमले महिलासँग यौन सम्बन्ध राख्न पुरुषलाई छुट र अधिकार दिएको हुन्छ, त्यति नै अधिकार महिलालाई दिएको हुँदैन । त्यसै गरी महिला प्रधान (मातृसत्तात्मक) समाजमा त्यही अधिकार र छुट जति महिलालाई दिइएको हुन्छ, त्यति पुरुषलाई दिइएको हुँदैन । यस दृष्टिले विचार गर्दा महाभारतको उत्तरी भेगमा सम्भवतः खस र शकहरुको समाज कतै कतै मातृसत्तात्मक रहेछ भन्ने बुझ्नु पर्ने हुन्छ । अहिले पनि ब्रह्मपुत्र बेँसीका खासी, गारो र जयन्तियाहरुका समाजमा अनि केरलाका नायरहरुका समाजमा अनि चीनका युन्नान र सिछुवान प्रान्तका पहाडमा बसोवास गर्ने मोसुओ जातिहरुका समाजमा पुरुषको नभएर महिलाको हैकम चल्छ । एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिका, आदि महादेशका खास खास समुदायमा मातृसत्ता अहिले पनि चलेको सामाजिक अवस्था भएकाले कति समाज वैज्ञानिकहरु के धारणा राख्छन् भने, हरेक मानव समाज पहिले मातृसत्तात्मक नै थियो, पछि पितृसत्तात्मक भएको हो । त्यसो हो भने, सङ्खुवा सभाको किमाथाङ्काका शेर्पाहरुका परिवारमा आंशिक रूपमा मात्र उभ्रेको, तर नेपाल हिमालयका हुम्ला र डोल्पामा झन्डै आधा जसो परिवारमा व्याप्त भएको बहुपति (द्रौपदी) प्रथाले र पश्चिम नेपालका बादी र गढवाल कुमाउँका नायरहरुमा पाइने बहुपति प्रथाले प्रागितिहासिक सामाजिक अवस्थाको जिउँदो सङ्ग्रहालयको प्रतिनिधित्व गर्लान् ।
समाज वैज्ञानिकहरुले मातृसत्ताका किसिमको वर्गीकरण पनि केस्रा केस्रा छुट्ट्याएर गरेको पाइन्छ, तर म समाज शास्त्रको विद्यार्थी नभएकाले नेपालमा पाइने मातृसत्ताको सामान्य चिनारी मात्र यस लेखमा गराउने कोसिस गर्छु ।
- हुम्ला र डोल्पाको बहुपति प्रथा :
दीपक बुढाको सूचना अनुसार हुम्ला र डोल्पामा झन्डै ४०% परिवारमा अझै एउटै महिलासित सबै दाजु भाइको बिहे र दाम्पत्य हुने बहु पति (द्रौपदी) प्रथा प्रचलित छ । यो चलन तिब्बती मूलका परिवारमा बढ्ता प्रचलित छ (लक्ष्मीदत्त जोशी, पृ० ७७), तर खस समुदायमा पनि पाइन्छ । डा० काली बहादुर मल्लले भने अनुसार जाजरकोटमा पुरैनीकी एउटी महिलाले सानका साथ दुइटा पुरुषसित बिहे गरेकी छिन् ।
मानव विकासको प्रारम्भिक चरणको मानिएको यो संस्कृतिलाई नेपालका बुज्झकीहरुले कलङ्क ठानेर त्यसलाई युरोप अमेरिकाका पश्चिमी आँखाले अथवा हिन्दु अतिवादीहरुका आँखाले हेरेर पितृसत्तात्मक समाजमा परिवर्तन गराउन लागी पर्नु दुर्भाग्य हो । विश्वका मानव शास्त्री र समाज शास्त्री अध्येता र अनुसन्धाताहरुका लागि नेपाल हिमालयले जोगाएको यो प्राचीन जीवन शैली अध्ययन र अनुसन्धानको विषय हुन सक्छ, त्यसैले यस्तो प्रागितिहासिक परम्परा बदल्न खोज्ने ‘सांस्कृतिक क्रान्ति’ लाई हतोत्साहित गर्दै कसरी यस्ता मानव समुदायको यो प्रागितिहासिक प्रथालाई आदर्श ढङ्गले जिउँदो सङ्ग्रहालयका रूपमा संरक्षण गर्ने भन्ने कुरामा स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार लाग्नु पर्छ ।
- माथि उल्लेख गरे झैँ महाभारतमा मातृसत्तात्मक समाजका अनेक उदाहरण छन् :
- बाबु आमाले नै औपचारिक रूपमा पाँच ओटा दाजु भाइ (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव) सित बिहे गरी दिएकी पाञ्चाल देश (वर्तमान उत्तराखण्ड अथवा कुमाउँ र गढवाल) की राजकुमारी द्रौपदी,
- बिहे गरी दिएका पति (पाण्डु) सितै सल्लाह गरेर रोजी रोजी अनेक परपुरुषबाट सन्तान जन्माउने शूरसेन अथवा मथुराकी राजकुमारी कुन्ती (धर्मराज, वायु र इन्द्र) र माद्री (जम्ल्याहा अश्विनीकुमार),
- सासु (पराशर ऋषिका कृपाले उच्च हिमाली क्षेत्रमा पाइने कस्तूरी मृगको बास्ना आउने सत्यवती) र जेठाजु (भीष्म) कै सल्लाह अनुसार सासुले बिहे गर्नु भन्दा अगाडि नै अर्कै पुरुष (पराशर ऋषि) बाट जन्माएका छोरा भएकाले साइनाले जेठाजु पर्ने वेद व्यासबाट सन्तान जन्माउने हस्तिनापुर (दिल्ली) का राजकुमार विचित्रवीर्यका विधवा अम्बिका (धृतराष्ट्र) र अम्बालिका (पाण्डु),
- समाजको लाजले खोलामा बगाई दिएको र बिहे गर्नु भन्दा अघि नै पाएको अनौपचारिक छोरा (कर्ण) लाई आफु राजमाता भई सके पछि आफ्नै औपचारिक छोरा (अर्जुन) सित धनुर्विद्यामा होड गर्न हाँक दिँदै आउँदा रङ्गशालामा चिने पनि सार्वजनिक नगरेर भित्र भित्रै भुट्भुटिने कुन्ती र
- कुरु वंश अपुतो हुने सङ्कट आउँदा मात्र विधवा बुहारीहरुबाट नियोग प्रथा अनुसार त्यो सङ्कट टार्न आफ्नो बिहे गर्नु भन्दा अगाडि जन्मेको छोरा (वेदव्यास) को नाम भीष्मसित सार्वजनिक गर्ने ‘कस्तूरीगन्धा’ सत्यवती, अनि
- आफ्ना पति (धृतराष्ट्र) हुँदा हुँदै ससुरा पर्ने वेदव्यासबाट आशीर्वाद पाएर एक सय एक सन्तान पाउने गान्धार (अफगानिस्तान) की राजकुमारी प्रतिव्रता गान्धारी ।
महाभारत कालको मूलतः उत्तरी हिमाली क्षेत्र (गान्धारदेखि पाञ्चाल सम्म) मा पाइने मातृसत्तात्मक समाज आज पनि कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाइने रहेछ । द्रौपदीको जस्तो बिहेसँग हुम्ला र डोल्पाको चलन ठ्याक्क मिल्ने रहेछ । महाभारतले अम्बिका, अम्बालिका, कुन्ती र माद्रीका लागि स्वीकार गरेको मातृसत्तात्मक ‘नियोग’ प्रथालाई पितृसत्तात्मक हिन्दु धर्म शास्त्रले चाहिँ हियाएको छ भन्ने कुरो काणे (पाण्डुरङ्ग काणे, १९४१, पृ० ५९९-६०७) ले आफ्नो धर्मशास्त्रको इतिहास भन्ने किताबमा लेखेका छन् । खसहरुका समाजमा त्यस्तो नियोग प्रथा थियो र अवशेषका रूपमा अझै कतै कतै छ भन्ने कुरो लक्ष्मीदत्त जोशी (१९८४ इ) ले ‘ट्राइबल पिपल अफ हिमालयाज’ (हिमालयका जन जाति : खसहरुको अध्ययन) भन्ने किताबमा लेखेका छन् ।
- खस समाजमा मातृसत्ता
खसहरुको संस्कृति बारे अनुसन्धान गर्ने लक्ष्मीदत्त जोशी (१९८४ इ) ले खसहरुका निम्न लिखित चलनहरु उल्लेखनीय ठहराएका छन्, जसलाई मातृसत्तात्मकताका अवशेष मान्न सकिन्छ :
- छोराका सन्तान नभए घर ज्वाइँ पाल्ने चलन (पृ० ३)
- खसहरुका केही वैवाहिक चलन (पृ० ४९-५०): खसहरु कहाँ पहिले विधवा भाउजु सकार्ने चलन थियो, जारी तिरेर स्वास्नी ल्याउन पाइन्थ्यो, बिहे गर्न जग्गे गर्नु आवश्यक थिएन, द्रौपदी प्रथा प्रचलित थियो ।
- खसहरु कहाँ सौता अंश लाग्छ, छोरा अंश लाग्दैन । छोराले अंश नपाउने, भान्जाले अंश पाउने चलन पनि खसहरु कहाँ थियो (पृ० ७४)।
- राजस्थानका राजपुतहरु पनि खस (शक?) नै हुन् । उनीहरुकहाँ केटी माग्न जानेले ससुरालाई पैसा तिर्नु पर्छ। नेपालका कति जातिमा पनि यो चलन छ । राजस्थानमा भान्जीको बिहेमा मामाले ‘मामा झोली’ पाउँछ । परिवारमा मामाको हैकम चल्ने यो चलन मातृसत्तात्मक समाजको अवशेष हो (पृ० ७४-७५)। मामा ससुरालाई भान्जे बुहारीले कपाल ढाक्ने नेपाली चलन पनि त्यहीँबाट आयो होला ।
- बादीहरुको बहुपति प्रथा :
बादीहरुको बहुपति प्रथा हिमाली क्षेत्रको ‘द्रौपदी प्रथा’ भन्दा फरक छ । द्रौपदी प्रथामा चाहिँ एउटी महिलाको बिहे महिलासित साइनो नलाग्ने सहोदर दाजुभाइहरुसित स्थायी रूपमा हुन्छ । बादीहरुको समाजमा चाहिँ बादी महिलाहरुको परस्पर साइनो नलाग्ने नै अनेक पुरुषहरुसित अस्थायी रूपमा मात्र हुन्छ । एक किसिमले बादीहरु पुराणका अप्सरा जस्ता हुन्छन् । पितृसत्तात्मक समाजले धेरै दरबारका राजा महाराजाहरुमा प्रचलित एउटै पुरुषले बेलुकै पिच्छे अर्का अर्कै महिलासित रात बिताएको धेरै अस्वाभाविक मान्दैन । अरुकै छोरी बुहारी र पत्नीहरुसित एकै चोटि रास लीला मनाउने पुरुषलाई भगवान् कृष्ण मानेर पूजा गर्न समाजले केही पनि अप्ठ्यारो मानेको छैन, कृष्णजी र राजा महाराजाहरुलाई समाजले चरित्रहीन ठहराएर कलङ्कित गरेको छैन, तर मातृसत्तात्मक समाजमा त्यसै गरी एउटै महिलाले बेग्ला बेग्लै पुरुषसित रात बिताएको पनि स्वाभाविक हुन्छ भन्ने कुरो हाम्रो पितृसत्तात्मक आँखाले बुझ्न सक्तैन । त्यसै कारणले पुराणहरुमा कृष्णजी जस्तै एकै चोटि अनेक देवताहरुसित रास लीला गर्ने वीराङ्गना भगवतीहरुको कथा अर्थात्, लैङ्गिक समानता पाइँदैन । रामायणमा भगवती सीताको चाहिँ अग्नि परीक्षा बरु भेटिन्छ ।
नेपालका बादी जाति र गढवाल कुमाउँका नायक जाति खस समुदायकै सदस्य हुन्, तर परम्परा अनुसार बादी महिलाहरुले ठालुहरुका घरमा नाच्न जाने र पुरुषहरुले मादल बजाएर आफ्ना महिलाहरुलाई सघाउने चलन थियो । यसरी महिलाहरु ठालुहरु कहाँ रात बिताएर धेरै पैसा र अन्नपात कमाउँथे, त्यसैले बादी समुदायमा छोरो जन्मेको भन्दा छोरी जन्मेको धेरै मूल्य थियो अनि परिवारमा महिला (आमा, पत्नी र छोरी बुहारी) हरुकै हैकम चल्थ्यो । बादी समुदायमा धेरै छोरी जन्मनेहरु र धेरै पत्नी हुनेहरु भाग्यमानी मानिन्थे र सम्पन्न हुन्थे ।
नेपालका बादीहरुको समाजमा झैँ खसहरुका समुदायमा अहिले सम्म पनि कुनै न कुनै रूपमा पाइने महाभारतको जस्तो मातृसत्तात्मकताको अवशेषले विश्वका समाज शास्त्र र मानव शास्त्रका विद्यार्थी र अनुसन्धाताहरुका लागि बहुमूल्य जीवन्त सङ्ग्रहालयको प्रतिनिधित्व गर्छन् । बादीहरुको जस्तो श्रीमानहरु आफ्नै श्रीमती अरु कहाँ पैसा कमाउन पठाउने खसहरुकै एउटा समुदायको चलन गढवाल, नैनिताल र अल्मोडाका नायकहरु कहाँ पनि पाइन्छ (लक्ष्मीदत्त जोशी, ट्राइबल पिपल अफ द हिमालयाज, पृ० ७०)।
एउटा गाईका गोठमा बाच्छा बाच्छीहरुको अथवा चराचुरुङ्गीहरुका बथानमा बचराहरुको बाबु कुन कुन हो भन्ने हिसाब नभए जस्तै बादीहरुका छोरा छोरीको वास्तविक बाबुको हिसाब त्यति हुँदैन । प्रकृतिमा सबै जन्तु र चराचुरुङ्गीमा मातृसत्ता नै पाइने हुनाले मातृसत्ता स्वाभाविक र प्रकृतिको नजिक हो र पितृसत्ता चाहिँ कृत्रिम हो जस्तो देखिन्छ, त्यसैले मानव समाज आधारभूत रूपमा मातृसत्तात्मक नै थियो; पछि पितृसत्तात्मकमा क्रमशः रूपान्तरित भयो भन्ने समाज शास्त्र र मानव शास्त्रको एउटा सिद्धान्तका आधारमा बादी महिलाहरुको सामाजिक मूल्याङ्कन हुनु आवश्यक छ । बादीहरुका परिवारमा जसले आमालाई स्थायी रूपमा बिहे गर्यो, त्यसैलाई बाबु मान्नु पर्ने अवस्था देखिन्छ ।
बादीहरुले पुरा कालमा खसहरुका समुदायमा भएको मातृसत्तात्मक समाजको प्रतिनिधित्व गर्छन् । हिमाली क्षेत्रमा आज पनि अवशेषको रूपमा पाइने मातृसत्तात्मकता अर्थात् बहुपति (द्रौपदी) प्रथा पितृसत्तात्मकतामा द्रुत गतिले रूपान्तरण भई सकेका खस समुदायमा दुर्लभ हुँदै गएको छ । जाजरकोटमा एउटी सम्भ्रान्त महिला अझै एकै साथ दुई पति राखेर बसेको सूचना (काली बहादुर मल्ल) पाइएको छ । त्यही बहुपति प्रथाको अवशेष आज बादीहरु कहाँ देखिन्छ। मातृसत्तात्मता भएका बादी (किमाथाङ्काका शेर्पा र गढवाल, कुमाउँका नायक) हरुका समाजमा धेरै पुरुषहरुसँग सहवास गर्नु पितृसत्तात्मक समाजमा पुरुषले बहुविवाह गर्नु जस्तै एकदम स्वाभाविक कुरो मानिन्छ । महाभारतमै पनि सत्यवती, अम्बिका, अम्बालिका, गान्धारी, कुन्ती, माद्री र द्रौपदीहरुले मातृसत्तात्मक समाजको प्रतिनिधित्व गर्थे ।
पितृसत्तात्मक समाजमा बादीहरुको मातृसत्तात्मक समाज अनैतिक र घृणित जस्तो अरुलाई मात्र होइन, अरुको खिसी-टिउरी सुनेर बादीहरुलाई नै पनि लाग्न सक्छ, त्यसैले बादीहरुको परम्परा र प्रतिभा जोगाउँदै उनीहरुको समाजको सांस्कृतिक क्रान्ति कसरी गर्न सकिन्छ भन्ने कुरा सोच्नु स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको दायित्व हो।
परम्परा अनुसार मातृसत्तात्मक बादी समुदाय आज भोलि भई रहेको सामाजिक परिवर्तनले क्रमशः पितृसत्तात्मक भई रहेको छ, त्यसैले आज परिवारमा क्रमशः पुरुषको हैकम चल्न थालेको छ; महिलाहरुको कमाइ घटेको छ; परम्परागत पेसामा परिवर्तन भई रहेको छ; तर महिलाहरुको वैकल्पिक पेसा भने, राज्यले जुटाउन सकेको छैन । यसरी बादीहरु विपन्नताले ग्रस्त भएका छन् । स्थानीय, प्रादेशिक, अथवा केन्द्रीय सरकारले बादीहरुलाई विपन्नताबाट मुक्ति दिँदै वैकल्पिक रोजगार दिलाउँदै सामाजिक आर्थिक सुधारद्वारा सबलीकरण गर्नु पर्ने आवश्यकता छ । बादीहरुको प्रागितिहासिक मातृसत्तात्मक समाजको सौन्दर्य र महत्त्व पितृसत्तात्मक नेपाली आँखाले बुझ्न नसकेर बादीहरुको मातृसत्तात्मक सहवासलाई घृणित मान्यो र उनीहरुको चलनलाई रोक लगायो, तर बादीहरुको समाजलाई वैकल्पिक रोजगार भने दिन सकेन ।
बादीहरुको परम्परागत संस्कृतिलाई सरकारले कसरी संरक्षण गरेर विश्वका मानव शास्त्री र समाज शास्त्रीहरुको अध्ययन, अनुसन्धान र जीवन्त सङ्ग्रहालयको रूप दिने र उनीहरुको सिप र संस्कृतिको विस्तार गरेर आय आर्जनको बाटो बनाउने भन्ने उपाय निकाल्नु न्याय सङ्गत हुने देखिन्छ ।
- खस र शकहरुको स्त्री राज्यको चर्चा :
रोमन इतिहासकार प्लिनी (इसाको पहिलो शताब्दी) ले चम्बा उपत्यकामा खसहरुको स्त्री राज्यको सूचना दिएका छन् । इन्साइक्लोपिडिया आमाजनिका अनुसार युरेसियाको पूर्वमा अल्ताई पहाडदेखि पश्चिम युरोपमा कृष्ण सागर भन्दा पश्चिम सम्मका घाँसे मैदानमा अनि दक्षिण पश्चिममा पश्चिम एसिया र इजिप्ट सम्म युद्धमै भाग लिने शक वीराङ्गनाहरुको चर्चा गरिएको छ । ग्रिस, रोम, चीन र इजिप्टका पितृसत्तात्मक समाजमा शकहरुका समाजको लैङ्गिक समानता उदेक लाग्दो र हास्यास्पद भएको देखिन्छ, त्यसैले ग्रिसेली मिथकहरुमा आमाजन र स्त्री राज्यका मनगढन्ते दन्ते कथाहरु थुप्रै बनेका पाइन्छन् । ‘खस जातिको खास कुरो’ (अन्नपूर्ण, फागुन ११) भन्ने लेखमा मैले खसहरु पनि पामिरको माल भूमि वरिपरि भेटिने शकहरुकै बगाल हो भन्ने कुरो लेखेको छु ।
ब्रह्मपुर (कुमाउँ) को उत्तर तिर हिमालय पारि सुवर्णगोत्र (कैलास मानसरोवर क्षेत्र) मा उत्कृष्ट सुन पाइने हुनाले त्यस ठाउँको नावैँ सुवर्णगोत्र भएको हो । यस देशलाई चिनिया इतिहासमा ‘पूर्वी स्त्री राज्य’ भन्ने नाउँ किन दिइएको (स्वेनचाङ) भने, त्यहाँ राजाको भन्दा रानीको हैकम चल्थ्यो अरे । त्यो देश पूर्वमा तुर्फान, पश्चिममा मालवा (गुजरात र राजस्थान) र उत्तरमा खोतान सम्म फैलेको थियो भन्ने कुरो स्वेन चाङ (वाटर्स, १९०४-१९०५ इ, पृ० ३३०) ले लेखेका छन् । स्वेनचाङको त्यस सूचनाका आधारमा चाङचुङ राज्यको सिमाना भित्र कुमाउँ र कर्णाली प्रदेश सम्मको नेपाल पनि पर्थ्यो कि जस्तो देखिन्छ । राहुल सांकृत्यायन (तिब्बत में बुद्धधर्म), टुची (१९५६ इ) र स्नेल्ग्रोभ (१९८१ इ) ले त्यस राज्यको नाउँ ‘चाङचुङ’ (वा ‘शाङशुङ) राखेको कुरो मैले त्यसै लेखमा उल्लेख गरेको छु । स्वेनचाङ (पृ० २५८) ले पश्चिमी स्त्री राज्य चाहिँ बृहत्संहितामा वर्णन गरिएको (बेलुचिस्तान उत्तरको) स्त्री राज्य हो भन्ने ठहराएका छन् । त्यो पनि खस भूमि नै हो भन्ने कुरो एट्किन्सन (१८८४ इ) र ग्रियर्सन (१९१६ इ) ले ठहराएका छन् ।
विष्णु पुराणमा पनि स्त्री राज्यको वर्णन गरिएको छ । त्यस राज्यमा छोराले आमाको थर लिनु पर्थ्यो र छोरीहरु राजा हुन्थे अरे (एट्किन्सन ४५८-४५९)। महाभारत वन पर्व (५१, १९९१) मा पनि त्यस स्त्री राज्यको चर्चा छ भन्ने सूचना टुची (पृ० १०१) ले दिएका छन् । राजतरङ्गिणी (१२ औँ शताब्दी) अनुसार काश्मीरका सातौँ शताब्दीका कर्कोटक नाग वंशका राजा जयापीड (७५१-७८२ ई) ले कन्नौज, प्रयाग र पुर्णियाँ (पौण्ड्रवर्धन) सम्म दिग्विजय गरेका थिए । अर्को दिग्विजयमा जयापीडले ‘स्त्री राज्य’ जितेर नेपालका राजा अरमुडिलाई आक्रमण गरे (स्टेइन, १९०० इ, पृ० ९५)। अरमुडि पछि हट्तै गएर काली गण्डकी तर्न लागेका जयापीडका सेनालाई माथि थुनी राखेको पानी छोडी दिएर बगाई दिएर जयापीडलाई बन्दी बनाए । पछि जयापीडका मन्त्रीले छल मैत्री गराएर जयापीडलाई भगाए (स्टेइन, ५३१-६५९) ।
- शक जातिका महिला र लैङ्गिक समानता :
युरेसियाको विस्तृत घाँसे फाँटमा घोडा चढेर आफ्ना वस्तु चराउँदै बसाइँ सर्ने शक जातिका २० ओटा जति नाम इपू० पाँचौँ शताब्दीका ग्रिसेली भूगोलविद् स्ट्राबोले लेखेका छन् । ठावैँ पिच्छे बेग्ला बेग्लै नाउँ भएका ती शकहरुका अनेक बगालमा लोग्ने मान्छे र आइमाईले छुट्टाछुट्टै आत्मरक्षा गर्न सक्ने हुनु आवश्यक थियो, त्यसैले शकहरुका समाजमा महिलाहरु पनि घोडा चढेर लडाइँ गर्ने तालिम लिन्थे, लोग्ने मान्छेहरुसित युद्धमा बराबरी गर्थे, मल्ल युद्धमा पनि भिड्थे, रण क्षेत्रमै पुरुषहरु सरह लडाइँ गर्न पुग्थे, टमक्क परेका छालाका लुगा लगाउँथे, ब्वाँसाको छालाको चुच्चे टोपी लगाउँथे, बुट लगाउँथे, पेटी कस्थे अनि तरवार, भाला, चुप्पी, धनुर्वाण र कोर्रा चलाएर शत्रुको सामना गर्थे । उनीहरु आफ्ना वाणका टुप्पा सर्पका बिखमा चोब्थे र शत्रुहरुमा घातक प्रहार गर्थे । यो कुरो पितृसत्तात्मक ग्रिसलाई सारै उदेक लाग्दो भयो, त्यसैले उनीहरुले (इपू० पाँचौँ शताब्दीका इतिहासकार हेरोडोटसले पनि) ती शक युवतीहरु (आमाजनहरु) का विषयमा अनेक मनगढन्ते दन्ते कथा, काव्य, नाटक र कला कृतिहरु बनाए । ग्रिसमा मात्र नभएर ती शक युवतीहरुका किम्बदन्तीहरुले भारत, इजिप्ट र चीन सम्म पनि साहित्यको रूप लिए (इन्साइक्लोपिडिया आमाजनिका, २०१४ इ)।
इपू० तेस्रो शताब्दीका भारतीय सम्राट् चन्द्र गुप्त मौर्य र उनकी सहशासिका नेपाली महारानी ‘कुमारदेवी’ का सेना र अङ्ग रक्षकमा सुसज्जित वीर महिला योद्धाहरु नै खटिएका थिए र सम्भवतः ती महिला सैनिकहरु स्त्री राज्य (चाङचुङ) का नागरिक (खस वीराङ्गना?) थिए भन्ने कुरो अलेक्जान्डरका राजदूत मेगास्तनिजले ‘इन्डिका’ भन्ने किताबमा लेखेको कुरो उल्लेख गरिएको छ (इन्साइक्लोपिडिया आमाजनिका, ४०७-४०८)। कौटिल्यको अर्थशास्त्रमा पनि त्यस्तै महिला अङ्ग रक्षकको व्यवस्था गरिएको छ । चन्द्रगुप्त मौर्यलाई पश्चिम नेपालका खसहरुले सघाएको कुरो त ‘दिव्यावदान’ र ‘अशोकावदान’ मा लेखिएको कुरो लामा तारानाथको ‘बुद्ध धर्मको इतिहास’ को कुरो मैले माथिकै लेखमा पनि उल्लेख गरेको छु । भारतवर्षमा प्राचीन कालदेखि युवा र युवती दुवैलाई युद्ध कला सिकाइन्थ्यो भन्ने कुरो पनि त्यहाँ उल्लेख गरिएको छ ।
- शकहरुका बहुविवाहको किसिम :
युरेसियाका घोडचढी शकहरुका विभिन्न समुदायमा पितृसत्तात्मक ग्रिसेलीहरुलाई उदेक लाग्ने अनौठा किसिमका बहु विवाहहरुको चर्चा पनि इन्साइक्लोपिडिया आमाजनिका (१३०-३७) मा गरिएको छ । पुरुष र महिला दुवैलाई विना भेद भाव मायाँ लगाउन पुरै छुट (पोलिअमोरी), एकै चोटि अनेक पति राख्न पनि पाउने बहुपति प्रथा (पोलिएन्ड्री) र एकै चोटि अनेक पत्नी राख्न पनि पाउने बहुपत्नी (पोलिग्यामी) प्रथा ती यायावर शकहरुका समुदायमा प्रचलित थियो । त्यति मात्र नभएर गाँजा खान, ऋग्वेदका आर्यहरुले खाने सोमलता, मादक मह र रक्सी खान पनि शकहरुका समाजमा लैङ्गिक पक्षपात थिएन (१४३-१४४, १४५-१५१)।
अलेक्जान्डरलाई पनि एउटी शक युवतीले मारेकी थिइन् । ‘स्त्री राज्य’ को वर्णनबाट खस महिलाहरुको हैकम त्यस क्षेत्रमा पुरुषको भन्दा माथि रहेछ भन्ने बुझिन्छ । बादीहरु प्रागितिहासका त्यस्तै शक महिलाहरु हुन्, अथवा त्यही स्त्री राज्यका नागरिक हुन्, जसले आफ्नो परम्परा अहिले सम्म जोगाएका छन् । बादीहरुको प्रागितिहास र इतिहास नबुझी उनीहरुको अपमान गर्नुको साटो बादीहरुको परम्परालाई कर्णाली प्रदेश र सुदूर पश्चिमले जोगाएको प्रागितिहासको जिउँदो सङ्ग्रहालयका रूपमा व्यवस्था गर्नु बुद्धिमानी होला ।
- महिलाको स्थिति
कर्णाली प्रदेश खस जातिको बाहुल्य भएको प्रदेश भए पनि खस जातिकै महिलाहरुको स्थिति चाहिँ अरु जातिको भन्दा निम्न स्तरको देखिन्छ । जुन जातिमा मातृसत्ता थियो र अझै केही रूपमा ठाउँ ठाउँमा छ, इपू० पाँचौँ शताब्दीमै युनानी भूगोलविद् स्ट्राबोले जुन जातिमा महिलाहरुको शासन देखेका थिए; जुन खस जातिकै गोती शक जातिकी एउटी वीराङ्गनाले अलेक्जान्डरलाई युद्धमा मारेकी थिइन् र शक जातिकै वीराङ्गनाहरुले चित्तौरमा वीरता देखाएका थिए र जुन जातिको लैङ्गिक समानता र महिलाहरुको वीरता र रण कौशलबाट प्राचीन ग्रिस, रोम, इजिप्ट र चीन थर्कमान थियो, त्यसै जातिको बहुमत भएका ठाउँमा आज महिलाहरुको स्थिति पुरुषका तुलनामा खच्केको छ । कर्णाली प्रदेशमा पहिले महिलाहरुका खटनमा पारिवारिक निर्णय हुन्थ्यो, तर अहिले पुरुषहरुका हातमा त्यो निर्णय गर्ने अधिकार सरेको छ । दुल्लुमा छोरो जन्मिँदा मात्र छैटी खेलाउँछन्, छोरीको छैटी गर्दैनन्; छोरो जन्मिँदा खुसी हुने चलन छ; घर भित्रको काम महिलाले नै गर्ने चलन छ । खसहरुको बहुमत भएका क्षेत्रमा रजस्वला भएका महिलाहरुलाई हिन्दु धर्मका वेद र धर्मशास्त्रमा कतै नभएको छाउगोठमा राख्ने चलन छ ।
कर्णाली सरकारले आफ्नो प्रदेशका सबै महिलाहरुलाई खस महिलाहरुले उपभोग गरेको प्रागितिहासिक र ऐतिहासिक गौरव दिन सक्ला?