Daily Archives: December 1, 2017

बिरानो घर

अचेल धेरै नेपालीहरुलाई अर्को नचिनेको नेपालीसित भेट्ता मिठो बोली बोल्न पुगेको देखिँदैन । गाडीको खलासी र पसलेहरुले पनि आफ्ना ग्राहकहरुसित निमोठिएर बोलेको सुन्ने कुनै शिष्टाचारी कान ठाडो भएको देखिँदैन । सार्वजनिक बसमा बुढा बुढी र अशक्तहरुका लागि छुट्याई दिएको सिटमा बसी रहेका नकच्चराहरुले बुढा बुढी, छोरा छोरी बोकेका आइमाई र अशक्त देख्ने बितिक्कै सिट छोड्न मन गरेको देखिँदैन । जेब्रा क्रसमा बाटो काटी रहेका मानिसहरुलाई उछिनेर गाडी हुइँक्याएर लगेको देख्ने ट्राफिक नियम पालन गरेको देख्ने प्रहरी पाइँदैन । चढेको बसको टिकटको पैसा नै नतिरी आँखा छलेर सुइँकुच्चा ठोक्ने नेपालीहरु देख्ता तिनीहरुलाई नेपाली नै हुन् भन्न मन लाग्दैन । आफुसित साइनो नलाग्ने तरुनी एक्लै दोक्लै भेट्ता चौताराको किम्बु ठान्ने प्रवृत्ति नदेख्ने आँखा पनि हाम्रै हुन् । नेपालीहरुलाई शिष्टाचार सिकाउने आमा बाबु जति सबै मरी सके कि क्याहो ! सपनामा म कहिले बिरानो घरलाई आफ्नो ठान्छु, कहिले आफ्नै घरलाई बिरानो ठान्छु । कुन चाहिँ मेरो सपना हो? कुन चाहिँ मेरो बिपना हो?

अचेल मलाई मेरो घर बिरानो लागी रहेको छ । म जन्मेका घरमा म भन्दा साना भाइ बहिनी र आमा पिताजीसँग मात्र हुँदा मेरो घर मलाई जस्तो लाग्थ्यो, नयाँ नयाँ साइना थपिए पछि घरको स्वाद त्यस्तै लाग्न छोड्यो । अठार सालमा पाँच वर्षको उमेरदेखि बाइस वर्षको उमेर सम्म भारतका विभिन्न सहरमा बसेर मेरा दाजु घरमा आए पछि म परिवारमा घर साँढे हुन पाइन । म भन्दा ठुला दाजुको साइनो र मान मर्यादा आमा पिताजीका बिचमा घुस्रियो । दाजुलाई नेपाली बाहुनको परम्परागत संस्कृति र दाजुले भोगेको भारतीय सहरिया जीवन शैलीसँग तालमेल गर्न प्रति क्षण र प्रति दिन कठिन युद्ध गर्नु पर्‍यो । दाजुको त्यस सङ्घर्षका रापले मलाई मेरो मझेरी अलिक बिरानो लाग्न थाल्यो । उन्नाइस सालमा परिवारमा भाउजु थपिनु भयो । घर नौलो भयो, तर सामाजिक, सांस्कृतिक, परम्परागत र मनोवैज्ञानिक शक्तिहरु क्रियाशील भएर मलाई मेरो घर झन बिरानो लाग्न थाल्यो । चौबिस सालमा मेरै पनि बिहे भए पछि अनि पच्चिस सालदेखि तेत्तिस साल सम्म मेरा छोराछोरी जन्मे पछि मेरो मनोद्वन्द्वमा नै आन्तरिक र बाह्य कथाका परिघटना बुनिन थाले । बत्तिस सालदेखि चालिस साल सम्ममा भाइ बहिनीको बिहे भएर घरसँग बुहारी र ज्वाइँको साइनो थपियो । भतिजा भतिजी र भान्जा भान्जी जन्मे पछि थपिएका घानका घान साइनाले मेरो परिवार प्याज र बन्दाकोबी मोटाए झैँ मोटाउँदै पनि गयो । परिवार जति झ्याङ्गियो, त्यति मेरो अँगालाको फेरो नपुग्ने हुँदै गयो । स्वाद फेरिँदै जाँदा मेरो घर मैलाई बिरानो हुँदै गयो ।

 आमा नै हरेक मान्छेको मूल घर हो भन्ने कुरो सबैलाई थाहा छ । म अहिले जति अगाडि सम्म सम्झिन सक्छु, त्यति अगाडि सम्म म आफुलाई आमाको छातीमा टाँसिई रहेको पाउँछु । त्यति वेला मलाई मेरी आमा भन्दा नजिकको र आत्मीय अर्को मान्छे भएको म अनुभव गर्दिन । मलाई भोक लाग्यो, आमा ! मलाई तिर्खा लाग्यो, आमा ! मलाई डर लाग्यो, आमा ! मलाई जाडो भयो, आमा ! मलाई गर्मी भयो, आमा ! मलाई एकदम हाँस उठ्यो, आमा ! मलाई रुन मन लाग्यो, आमा ! मलाई एकदम दुःख लाग्यो, आमा ! मलाई एकदम खुसी लाग्यो, आमा! मलाई कतै जान मन लाग्यो, आमा ! मलाई केही चाहियो, आमा ! मलाई अल्छी लाग्यो, आमा ! मलाई केही सोध्न मन लाग्यो, आमा ! मैले बिराएँ, आमा ! मैले जितेँ, आमा ! मैले हारेँ, आमा ! आमा भए, मलाई अरु केही पनि चाहिँदैनथ्यो, सबै कुरो पुग्थ्यो । मेरा भाइ बहिनी जन्मेदेखि म आमासित अलि अलि पर हुँदै गएँ । मेरो र आमाको अँगालो झन झन जति लम्के पनि भेट्न नसकिने भयो । दाहीँ गर्दा दुब्ला गोरुलाई मियो नजिकै बाँधिन्छ, बलिया गोरुका लागि गलाम पनि पर राखेर घुमाइन्छ । मेरा साइनामा आफन्तका चिचिला झुत्तिँदै गए पछि म आमाको अँगालाबाट अलि अलि गरेर निकै पर पुगेँ । मलाई मेरो घर झन झन बिरानो लाग्दै गयो ।

            मेरा दाजु र साइँलो भाइको चुलो बेग्लै भए पछि मात्र धरान छोडेर कीर्तिपुरमा सरुवा हुँदा मेरो चुलो पनि आमा पिताजीका चुलाबाट अलग्ग भयो । मलाई कीर्तिपुरको डेरा धेरै बिरानो भयो । मलाई डेराको बसाइ नै बिरानो भयो । पहिलो वास डेरामा बस्ता त एकदम नियास्रो लागेर रुँ रुँ भयो । मलाई डेराको चुलो धेरै बिरानो भयो । मलाई नयाँ चुलाको किनेको दाल चामल र साग पात पनि धेरै बिरानो भयो । मलाई मट्टितेलका चुलामा पकाएको भातको स्वाद पनि दाउरामा पकाएको स्वाद भन्दा बिरानो लाग्यो । डेरीको दुधको स्वाद पनि सारै बिरानो लाग्यो । मलाई भाडा तिरेर बसेको आफ्नै कोठो पनि कति बिरानो लाग्यो भनेर साध्य छैन । मलाई धरानको भुइँचालाले लडाएको घरले नै पनि बिरानो पार्‍यो । म धरानको आफ्नो घरको मझेरी बाहिर बिरानो मझेरीलाई आफ्नो भन्न आएँ, मैले आफु जन्मेको धरान विजयपुरलाई छोडेर काठमाडौँलाई आफ्नो भन्न सिकेँ । मैले बिरानामा बाँच्ने बानी बनाएँ ।

            जापान फाउन्डेसनको दुई पल्ट फेलोसिप पाएर श्रीमतीसँगै म दुई वर्ष जापानको कोबे सहरमा बसेँ अनि चिनियाँ अन्तरराष्ट्रिय रेडियोको नेपाली विभागमा नेपाली विशेषज्ञ भएर एक वर्ष बसेँ । मेरो हरेक विदेश बसाइ बिरानै भयो, तर म विदेशका बिरानामा अब नियास्रिन छोडेँ । लामो समय बसेका यी विदेशहरु पनि मेरा बिराना घर हुन्, छोटो समय बसेका त डेरा । दुई चार वास बसेका विदेशका डेरामा त आत्मीयता हुने कुरै हुँदैन, खालि सम्झनाका झिल्का झिल्की मात्र बाँकी रहन्छन् ।

            अचेल नेपालीहरु विदेश बिझाउने र स्वदेश बिझाउने गरी दुई किसिमका हुन्छन् । स्वदेश बिझाउनु राम्रो होइन, तर मलाई अचेल आफ्नो देशै बिरानो र बिझाउने भएको छ । अहिले मेरो आफ्नै गुदी छेउका परिवार सदस्यहरुले पनि मैले बहुमूल्य ठहराएका हाम्रा सांस्कृतिक परम्परा र चलनलाई खिल्ली उडाएर लत्याई रहेको देखेर म दाँतमा ढुङ्गा लागे जस्तो भई रहेको छु । मेरो परिवार, मेरा इष्ट मित्र, मेरो छिमेक, मेरो टोल, मेरो गाउँ, मेरो सहर र मेरो देशमा म बर्बरिकले महाभारत हेरे झैँ मेरो मनै बिझ्ने गरी हाम्रो संस्कृतिको व्यापक काटमार, साटफेर, हत्या र बलात्कार भई रहेको र निरन्तर पहिरो गएको देखी रहेको छु । म भुट्भुटिन्छु, म छट्पटिन्छु, म छिट्पिटिन्छु, म पिरिन्छु, तर नेपाली समाज शक्तिशाली समयको यो कुहिगन्धे वैतरणीमा जसरी रमाएर बगी रहेको छ, म टुलुटुलु हेर्न, भोग्न र भुट्भुटिन अभिशप्त छु । यस खोलालाई म विपरीत दिशा तिर अर्थात् आफुले चाहे तिर फर्काउन सक्तिन ।

            मैले मेरो परिवारमा सिकार युगको अवशेष देखिन, किन भने मेरो परिवार शाकाहारी थियो, तर पशु पालन युगको अवशेष चाहिँ मैले देखेँ । मेरा पिताजीको गाई गोठ कुनै वेलामा गोलापरासीमा थियो अरे । त्यो त मैले देखिन, तर अन्तिम गोठका गाई वस्तु बारीमा बाँधेको सम्झन्छु । धरानको घरमा गाई पाल्ने चलन चाहिँ छ, तर अब मोही पार्ने चलन जाँदै छ । काठमाडौँका मेरा केटा केटीले त पशु पालनसँग सम्बन्धित केही कुरा पनि बुझ्दैनन् । जनकलाल शर्माका घरमा मेरो धरानको एउटा भतिजो कुखुराले खान्छ भनेर डराएको र धरानको घरमा काठमाडौँकी एउटी भान्जी बाच्छाले खान्छ भनेर डराएको सम्झन्छु । मेरो परिवार कृषि युगमा भएको मलाई थाहा छ : हामीले खैरेनीको र बाँझागराको खेत आफै रोपेको मलाई थाहा छ । अब मेरा परिवारका धेरैजसो केटा केटीहरु कृषि युगका हाम्रै घरका सर्दामहरु चिन्दैनन् । मेरा दुइटी बहिनी नजन्मे सम्म हाम्रो घरमा मासु पाक्तैनथ्यो, घरमा लसुन प्याज भित्रिँदैनथ्यो । आज ती सबै निषेधहरु बिस्तारै हराउँदै गए । हामी क्रमशः आफ्ना परम्परा बिर्सिँदै ‘सभ्य’ हुँदै गयौँ । सम्झेर ल्याउँदा हामीलाई उहिलेको आफु नै बिरानो लाग्ने भई रहेको छ ।

            अहिले दिनहुँ प्रति क्षण हाम्रो समाजका सदस्यहरुको पारस्परिक साइनामा विचलन आई रहेको छ, यसैले मलाई आफ्नै समाज र आफ्नै देश अस्ति भन्दा हिजो र हिजो भन्दा आज झन झन बिरानो लागी रहेको छ । विज्ञान र प्रविधिको विकाससँगै अन्तरराष्ट्रिय व्यापार र विज्ञापनले आकर्षण गरेका सुविधालाई निषिद्ध वृक्षको फल ठानेर कसरी जनता अलग्ग बस्न सक्छन् र ! लोकको गति त पानीको जस्तै जता सजिलो छ, त्यतै बग्ने किसिमको हुन्छ । नेपाल सरकार चलाउनेहरुले त्यसको आफ्नै विकल्प दिन सक्नु पर्थ्यो । नेपालको ठुल्दाइले नेपालको सरकार, प्रशासन र अर्थ तन्त्रलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउन भर गर्नु पर्थ्यो, सघाउनु पर्थ्यो र सिकाउनु पर्थ्यो, तर उसले आफ्ना भाइ बहिनीहरुलाई सधैँ आफ्नो औँलो र फेर नसमाई हिँड्नै नसक्ने पङ्गु बनाई राख्ने धृतराष्ट्र नीति नलिएको भए हुन्थ्यो । विदेशीहरुले नेपालीहरुलाई नेपाली जस्तै र नेपाललाई नेपाल जस्तै बनाई राख्न आफ्नो ज्ञान, विज्ञान, व्यापार, शिक्षा र सिप दिन मन गर्नु पर्थ्यो, हाम्रा परम्परा र संस्कृतिलाई पुर्जा साट्तै ध्वस्त गरेर आफैँलाई माथि पार्ने कुटिल नीति नलिएको भए हुन्थ्यो।

हाम्रो ठुल्दाइ चाहिँ हाम्रो संस्कृतिको विरोधमा छैन, तर त्यसलाई हाम्रो कोठे बारीमा पसल थाप्न मन छ, हाम्रा खेत बारी झुक्याएर ठेक्कामा लिन मन छ र ललाइफकाई सही ठेसाई हाल्न मन छ । उसलाई के पनि मन छ भने, उसका भाइबैनाहरु कहिल्यै पनि आफ्नै खुट्टामा उभिन नसकुन्, उनीहरुले सधैँ दाजुको औँलो नसमाई ताते पनि गर्न नसकुन्, त्यसैले आफ्ना यिनै स्वार्थ पुरा गर्न त्यसले आफ्ना भाइबैना लडाई रहन्छ र उनीहरुको आत्मनिर्णय गर्ने क्षमता र अधिकार सधैँ खँजाहा, खोरन्डो र लकुवाले ग्रस्त होस् भनेर धूप हाल्छ अनि साना साना कुरामा पनि हस्तक्षेप गरी रहन्छ । त्यसले हाम्रै भान्सेहरुलाई पनि खाने कुरामा मन्द विष हाल्न वेला वेलामा तीर्थ यात्रामा बोलाई रहन्छ । हाम्रा भान्सेहरुलाई मुहुनी लगाएर उनीहरुलाई आफ्नो घरै बिरानो लाग्ने पारी रहन्छ भन्ने गाइँगुइँ कान्ला पारिबाट वेला वेलामा आई रहन्छ । त्यसले हाम्रा डाडु पन्यु हत्याएर त्यसैबाट आफुलाई काम लाग्ने चम्चा बनाएर पठाउने जादु टुना गर्छ अरे ।

पस्चिया हावा लागेका हाम्रा इष्ट मित्र र जोरिपारीहरुका आँखाले हेर्दा नेपाल र नेपाली चलन कस्तो अनौठो र अड्बङ्गे लाग्दो हो ! हामी नेपाल र नेपाली चलनलाई विदेशी आँखाले नहेरौँ, नेपाली आँखैले हेर्न सक्ने मात्र हामीले सधैँ हुनु परेको छ । नेपालीहरुले विदेशी शिक्षा लिएर विदेशी आँखाले नेपाल र नेपाली चलन अड्बङ्गे भएको देख्नु हाम्रो दुर्भाग्य हो । किन थुप्रै पश्चिमा विदेशीहरु हाम्रो संस्कृति विरुद्ध खनिएका? यसको लेखाजोखा गर्नु आवश्यक छ ।

नेपालीलाई चाहिने शिक्षा भनेको नेपालीले नेपाली जस्तै ‘राम्रो’ बन्नका लागि हो, नेपालीलाई नेपाली जस्तो बन्न मन नलाग्ने अथवा नेपालीलाई नेपाली जस्तो बन्नै नदिने अथवा अप्ठ्यारो हुने र असम्भव लाग्ने बनाउन नै होइन । नेपालीले नेपाली जस्तै बन्दा हाम्रो परम्पराले ल्याएका असमानता, अन्याय र थिचोमिचो सके सम्म घटाउन मन लाग्ने ज्ञान चाहिँ शिक्षाले देओस्, तर हामीले पाएको शिक्षाले हामीलाई नेपाल र नेपालीसँग मन विरक्तिने र मन बाउँडिने डेडो आँखो नदेओस् ! हामीले कमाएको शिक्षाले हामीलाई नेपाली भएरै उन्नति गर्न सक्ने हाम्रो आत्मविश्वास बढाउन सक्नु पर्छ, हामीलाई नेपाली भएकामा आत्मग्लानि हुने अनि नेपाल र नेपाली चलनदेखि घिन मानेर यो भयानक महारौरवबाट सके सम्म छिटो ज्यान जोगाएर बाहिरिन मन लाग्ने र जन्तुले बच्चा सारे झैँ आफ्ना जहान छोरा छोरी हतार हतार ठाउँ सारेर विदेश पुर्‍याउन अत्याउने शिक्षाले हाम्रो र हाम्रा इष्ट मित्रको भलो गर्दैन, हाम्रा शत्रुको मात्र भलो गर्छ । वास्तवमा विदेशलाई आदर्श मान्ने, विदेशलाई फाइदा हुने, विदेश जान मन लाग्ने, विदेशी हुन मन लाग्ने अर्ती उपदेश शिक्षा नै होइन, त्यो त आत्मघाती कालकूट मन्द बिख हो । यसै मन्द विषले मेरो घर झन झन बिरानो बनाई रहेको छ ।

हुन त यो ‘शिक्षा’ का नाउँले चलेको पस्चिया हावाको यो ‘मन्द विष’ ले नछोएको कुनै एसियाली मुलुक छैन, तर यस बिखको असर सके सम्म कम कसरी गर्ने भन्ने विषयमा सबभन्दा बढ्ता सोचेर आफ्नो मौलिकता सबभन्दा बढ्ता जोगाउने देश जापान हो भन्ने मलाई लाग्छ । जापानले आफुलाई औद्योगिक उन्नतिका टाकुरामा पुर्‍याउने मन्त्र ‘शिक्षा’ लाई नै मान्यो र दोस्रो विश्व युद्ध पछि आफ्नो देशको उद्योगीकरण कसरी गर्ने भन्ने शिक्षा र त्यसका आडमा विकसित प्रविधिमा केन्द्रित भयो । यो मन्त्र जापानलाई कति काम लाग्यो भने, त्यसले भू सम्पदा र जल सम्पदाले समृद्ध चीन र भारत जस्ता सबै एसियाली देशलाई समृद्धिमा उछिनेर युरोपेली मुलुकहरुको टक्करमा आफुलाई पुर्‍यायो । तर वैज्ञानिक शिक्षामा आधारित प्राविधिक र औद्योगिक विकास गर्दा आफ्नो परम्परागत संस्कृतिलाई पनि कसरी जोगाउने र औद्योगिक विकाससँगै काँध मिलाएर सांस्कृतिक सम्पदाको उन्नयन कसरी गर्ने भन्ने कुरा पनि बिर्सेन । जापानी शिक्षाको विकाससँगै आफ्नो संस्कृति नारेर लैजान सकेकाले जापानीहरुलाई उनीहरुको शिक्षाले बढ्ता जापानी हुन सघायो । दुई वर्ष जापान बस्ता मलाई जापानी भन्दा सभ्य र अनुशासित मान्छे अहिले अन्यत्र छैन होला भन्ने लागेको छ अनि त्यसै बसाइले मलाई मेरो देशको शिक्षाले ल्याएको नयाँ चलन सारै बिझाउने भएको छ । मलाई मेरो घर निद्रा नलाग्ने गरी बिरानो भएको छ, तर जतिसुकै बिरानो र बिझाउने भए पनि म मेरो देशलाई चटक्कै छोडेर विदेश तिर बसाइँ सर्ने कुरो सोच्न पनि सक्तिन, किन भने जस्तो भए पनि, बिरानै भए पनि, मलाई मेरै देश प्यारो लाग्छ ।

हामीले जसलाई हाम्रा भान्से राख्यौँ, तिनीहरु चोर र बेइमान निस्के भने, तिनीहरुले लोभ वा डर लागेर शत्रुलाई फाइदा हुने गरी छौँडा हुन मन गरे भने, त्यहाँ मेरी मातृभूमिको त केही दोष छैन । जसको भर परेर अनि विश्वास गरेर हामीले हाम्रा ढिकुटी जिम्मा लगायौँ, तिनीहरु चोर, चन्डाल र कप्टी भए भने, त्यहाँ मेरो देशले के बिरायो ? यो देशका सन्तान व्यापारीको भेसमा तस्कर भए भने, नेताका रूपमा गुन्डा खेलाउने भए भने, मेरो देशले के बिरायो? हाम्रै दाजु भाइहरु एक अर्काका बिचमा पक्षपाती पर्खाल बनाएर भाइ बहिनी र मातृभूमिकै शोषण र थिचोमिचो गर्ने भए भने, म कसरी आमाको मायाँ मारुँ? म आफ्नै परिवार भित्र पनि साइना साइनाका बिचमा पनि सारा र गारा पर्दा टाँगिँदै गरेको सुइँको पाई रहेको छु ।

            मलाई मेरो घर सारै बिरानो लाग्न थालेको छ ।