Monthly Archives: June 2019

राहुलको नेपाल र नेपालीसित साइनो

(नयाँ पत्रिकामा ‘पश्चिम किल्ला चम्बा पो !’ भन्ने शीर्षकमा प्रकाशित, १८ जेठ, २०७६, शनि बार)

महापण्डित राहुल सांकृत्यायनको नाउँ नसुन्ने प्रबुद्ध नेपाली हुँदैनन् होला भन्ने मेरो अन्धविश्वास छ । सोझै अङ्ग्रेजी र संस्कृत भाषा पढ्न नसक्ने तर हिन्दी भाषा चाहिँ पढ्न सक्ने थुप्रै नेपालीहरुको बृहत् सामान्य ज्ञानको आधार राहुल सांकृत्यायनकै किताबहरुको अध्ययन भएको मैले चाल पाएको छु, यसैले प्रत्यक्ष रूपमा राहुललाई नचिने पनि राहुलका किताबहरुबाट पाइने विश्वकोशीय सामान्य ज्ञानका लागि थुप्रै नेपाली प्रबुद्ध पाठकहरुका राहुल अदृश्य गुरु हुन् । मैले नै पनि आफ्ना सामान्य ज्ञानको ठुलो अंश राहुलबाट पाएको अनुभव गरेको छु । राहुल सांकृत्यायनसँग सबभन्दा धेरै हिमखिम भएका नेपाली जनकलाल शर्मा हुन् । जनकलाल शर्मा मेरी कान्छी बहिनी (रम्भा शर्मा) का ससुरा भएकाले मैले शर्माजीकै सङ्गतमा राहुलले उनलाई लेखेका १०० ओटा भन्दा बढ्ता चिठीहरु पढेको छु र राहुलका थुप्रै प्रसङ्ग शर्माजीकै मुखबाट सुनेको छु अनि शर्माजीसँगै अनेक सन्दर्भमा राहुलका अनेक ग्रन्थका पन्नाहरु सँगै पल्टाएको छु । यस अर्थमा राहुल दत्तात्रेयका १०८ गुरु झैँ मेरा पनि गुरु हुन् । म आफुलाई जनकलाल शर्माको चेलो मान्ने हुनाले राहुल सांकृत्यायनको चेलाको चेलो ठान्दछु ।

राहुल सांकृत्यायनको चिनारी र उनको नेपाल र नेपालीसँगको घनिष्ठ साइनो र योगदान केलाउन मैले उनले जनकलाल शर्मालाई लेखेका चिठी, उनको ‘मेरी जीवन यात्रा ५’ भन्ने किताब र ‘जनकलाल शर्माका संस्मरण’ भन्ने किताबमा सङ्कलित शर्माजीकै तिन ओटा लेखका सूचनालाई आधार बनाएको छु ।

राहुलको ‘बाइसवीं सदी’ भन्ने किताबमा धेरै कुरा नेपालकै विषयमा छन् । ‘नेपाल’ बारे किताब लेख्ता र ‘काशी नागरी प्रचारिणी सभा’ ले हिन्दी भाषामा एउटा विश्वकोश बनाउने योजना गर्‍यो । त्यसको प्रधान सम्पादक राहुललाई राखिएको थियो । त्यसमा नेपालका भाषाहरुको चिनारी बारे लेख्नका लागि राहुलले जनकलाल शर्मालाई एउटा नमुना अनुच्छेद दिएर त्यसलाई उनीहरुकै उच्चारणमा अनुवाद गरेर पठाउन अनुरोध गरेका थिए । जनकलाल शर्माले नेपालीका सबै भाषिकाको अनुवाद सर्वोच्च अदालतका झगडियाहरुसित गराएर पठाए भने, धेरै भोटबर्मेली भाषाको अनुवाद चाहिँ प्रहरी मुख्यालयमा गएर अनुवाद गरेर पठाए ।

राहुल नेपालका इतिहास, पुरातत्त्व, भाषा, बारे रुचि राख्थे । उनले ‘नेपाल विषयमा राम्रो इतिहास लेखेका थिए कुमाउँ र गढवाल जस्तै, अनेक कारणवश छापिएर पनि प्रेसबाटै गायब भयो त्यो ।’ नेपाल विषयमा लेखेको ४०० पृष्ठ जतिको किताब प्रकाशकले हराई दियो ।

राहुल सांकृत्यायनको अद्वितीय प्रतिभाका प्रत्यक्षदर्शी जनकलाल शर्मा राहुलको परिचय दिँदै लेख्छन् :

(क) राहुल जीवित विश्व कोश जस्ता जुनसुकै प्रसङ्गमा पनि उत्तर दिन सक्ने विद्वान् थिए ।

  • राहुल अनेक विषयका आधिकारिक विद्वान् थिए : पौर्वात्य र पाश्चात्य दर्शन, सक्रिय राजनीति\ समाजवाद, भाषा, व्याकरण, काव्य, कोश, उपन्यास, कथा, सम्पादन, सङ्कलन, सारांश, अनुवाद, यात्रा, पुरातत्त्व, इतिहास, इतिहास, विज्ञान, जीवनी, आदि ।
  • राहुलले विविध विषयका १०८ ओटा भन्दा बढ्ता पुस्तक लेखेका छन् ।
  • कुनै मान्छेले पचासौँ वर्ष एकै ठाउँ घुँडा धस्यो भने पनि यति (राहुलले गरे जति) काम गर्न सक्ला भन्ने आसै गर्न कठिन पर्छ ।
  • ‘राहुलको हात कहिल्यै खाली देखिन मैले । अनेक पुस्तकमा एकै चोटि काम भई रहेको देखेका । कुनै सोचिएका, कुनै नोट गरिएका, कुनै लेखिँदै, कुनै प्रेसमा जानै लागेका, केहीको प्रुफ आउँदै, हुन्थे । एकै पटक तिन चार जनासित कुरा गर्न र डिक्टेट गराउन सक्थे उनी ।’
  • राहुल संसारका २४ ओटा भाषामा लेख्न, पढ्न र पढाउन सक्थे ।
  • राहुल रुसको लेनिनग्राद विश्वविद्यालयमा २५ औँ महिना प्राध्यापक भए अनि श्रीलङ्कामा केही वर्ष प्राध्यापक भए ।
  • राहुललाई चीनको लिपि सुधार आयोगमा सल्लाहकार बनाइएको थियो ।
  • भारतीय उपमहाद्वीपबाट लुप्त भई सकेका संस्कृत भाषाका अनेक ग्रन्थ हिमाल पारि गएर राहुलले खोजे अनि कैयौँ भारी ताडपत्र अनुसन्धान संस्थाहरुलाई दिए । बिहार रिसर्च सोसाइटीमा पनि राहुलले दिएका त्यस्ता पाण्डुलिपिको बेग्लै सूची पत्र थियो ।
  • मेरो उपस्थितिमा चर्चा भएका पुस्तक : बुद्ध, मार्क्स, लेनिन, स्तालिन, माओको जीवनी, भारत में अंग्रेजी राज्य के संस्थापक, विस्मृत यात्री, घुमक्कड स्वामी, असहयोग के मेरे साथी, जिनका मैं कृतज्ञ, वीर चन्द्रसिंह, गढवाली, अकबर, हिमालय प्रदेश, जौनसार देहरादून, आजमगढ, ऋग्वेदिक आर्य, एशिया के दुर्गम खण्डों में, संस्कृत काव्यधारा, सरह दोहाकोश, प्रमाणवार्तिक (अङ्ग्रेजी संस्करण), नेपाल, जालन्धर खण्ड, आदि । यिनीहरुमा कति कागजमा लेखिएका हुन्थे, कति मनमा मात्र ।
  • राहुल बामे सर्न छोडे पछि कहिल्यै एउटै ठाउँमा नबसेका ‘नारद मुनिको पनि गुरु’ जस्तै थिए, १६ वर्षको उमेरदेखि त यायावर (घुमक्कड) भएरै राहुल विश्वका अनेक देश पुगे ।
  • चिताएको कुरो पुर्‍याएरै छोड्ने राहुलको बानी र शक्ति थियो ।

राहुल सांकृत्यायनको घरको नाउँ केदारनाथ पाण्डे\शर्मा थियो । उनी १८ वर्षको उमेरमा वैष्णव हुँदा उनको नाउँ दामोदर बाबा भयो । वैष्णव धर्म छोडेर बिचमा उनी आर्यसमाजी पनि भए । श्रीलङ्कामा उनी बौद्ध भए । बौद्ध भए पछि नै उनले गौतम बुद्धका छोरा राहुलको नाउँ पाए । जन्मिँदा संकृति गोत्रका बाहुन भएकाले संस्कृत व्याकरण अनुसार उनको नाउँ पछाडि ‘सांकृत्यायन’ जोडियो । भारतीय हिन्दु विश्वविद्यालय (बिएचयु) का संस्थापक मदन मोहन मालवीयले उनलाई बिएचयुबाट ‘महापण्डित’ भन्ने उपाधि दिएका हुन् ।

राहुल सांकृत्यायनको जन्म साधारण किसान परिवारमा १८९३ अप्रिल ९ (अर्थात्, १९४९ साल चैत २९ गते) वैशाख  कृष्ण अष्टमी आइत बारको दिन कनैला (उनको पितृभूमि भए पनि) उनको मावल उत्तर प्रदेशको पन्दाहामा भएको थियो । राहुलको देहान्त चाहिँ आइत बारै (१४ अप्रिल १९६३) नेपालीभाषीहरुको बस्ती दार्जिलिङमा भयो । यसरी राहुल मावलमा जन्मेछन्, ससुराली गाउँमा बितेछन् भन्न सकिन्छ ।

जनकलाल शर्मा लेख्छन्, राहुल साढे ६ फुट अग्ला, बाटुलो अनुहार, ठुल्ठुला आँखा, फराकिलो निधार, शान्त स्वभावको हँसिलो हेरी रहुँ जस्तो लाग्ने दिव्य मूर्ति भएका थिए ।

  • जनकलाल शर्मासित साइनो : राहुलको संस्मरणमा शर्मा निम्न लिखित सूचना दिन्छन् :
  • राहुल जनकलाल शर्मासित ‘संसारको जुन कुनामा गए पनि पत्रद्वारा सम्पर्क राख्थे’ ।
  • वि०सं० ९० सालको महाभूकम्प छेक तिब्बत जान राहुल गान्तोक पुगेका वेलामा जनकलाल शर्मासित आफ्ना मित्र मिश्रकहाँ राहुलको पहिलो भेट भएको हो । जनकलाल सम्झिन्छन्, टासी नाम्ग्याल हाई स्कुलका संस्कृतका गुरु मिथिलाका पण्डित शिवनाथ मिश्रले राहुललाई ‘खाना के बनाउँ, रोटी कि भात भनेर सोध्दा राहुलले जवाफ दिए अरे, ‘मैले त बर्मेक काजीकहाँ सुँगुरको मासु र भात खाई सकेँ ।’ ‘तपाईँ बाहुनको छोरो र संस्कृतको यति ठुलो विद्वान् भए पनि यस्तो कुरो गर्न सङ्कोच लाग्दैन?’ ‘निस्त्रैगुण्ये पथि विचरतां को विधिः को निषेधः’ (सत्व, रज र तमोगुण सबैबाट मुक्त भएका मान्छेले के पो गर्नु हुन्छ, के पो गर्नु हुँदैन !’)
  • राहुलसँग जनकलालालको दोस्रो भेट २००५ साल तिर बर्धाको गान्धी आश्रममा (मगनबाडी आश्रम) पढ्दा भदन्त आनन्द कौशल्यायनकहाँ भएको हो । त्यहीँ राहुलले मलाई एक जना नेपाली पनि अङ्ग्रेजी पनि राम्रो र छिटो टाइप गर्ने नेपाली खोजी दिनु भनेर जनकलाल शर्मासँग अनुरोध गरेका रहेछन् ।
  • राहुल र जनकलाल शर्माको तेस्रो भेट कालिम्पोङमा भएछ । तिब्बतको वंशावली ‘द ब्लु एनल्स’ का लेखक संस्कृत, तिब्बती र भारतीय कला कौशलका ज्ञाता रुसी विद्वान् जर्ज निकोलस रोरिक अमेरिकामा कला सङ्ग्रहालय खोलेर अन्त्यमा अमेरिकाको संस्कृति शून्यतासँग वाक्क भएर कालिम्पोङमा बसोबास गरी रहेका थिए । उनैसित आफुले तिब्बतबाट उद्धार गरेर ल्याएको धर्मकीर्तिको संस्कृतबाट तिब्बतीमा अनुवाद भएको ‘प्रमाणवार्तिक’ ग्रन्थको अङ्ग्रेजी सम्पादन गर्न र तिब्बती र संस्कृतमा परामर्श गर्न समेत राहुल दार्जिलिङ बसेका वेलामा राहुलको जनकलाल शर्मासित तेस्रो भेट भयो । त्यस भेटमा राहुलले जनकलाल शर्मालाई देवनागरी र अङ्ग्रेजीमा एकदम छिटो टाइप गर्न जान्ने एउटी टाइपिस्ट खोजी दिन लगाए । यो कुरो शर्मालाई राहुलले बर्धामा दोस्रो भेट भएकै वेलामा भनेको कुरो दोहोर्‍याए । उस वेला राहुलले शर्मालाई भनेका थिए, ‘टाइपिस्ट केटी होस्, नेपालीभाषी होस्, भरसक दलित होस्, हेर्दा राम्री होस्, म त्यसको जीवनकै कायापलट गरी दिन्छु ।’

जनकलाल शर्माले कालिम्पोङमै लुगा सिलाएर जेनतेन जीवन चलाई रहेको परिवारकी परियार थरकी मेट्रिक सम्म पढेकी दमिनी केटीलाई राहुलको टाइपिस्ट नियुक्त गरी दिए । केटीको सेवाबाट राहुल कति सन्तुष्ट भए भने, उनले केटीलाई नै आफ्नी जीवन सँगिनी बनाए, पिएचडी सम्म पढाए र डा० कमला सांकृत्यायन बनाए ।

  • राहुल सांकृत्यायन नेपाल विषयमा एउटा किताब लेख्न चाहन्थे नेपालका जाति र भाषामा आफ्नो जानकारी पनि बढाउन चाहन्थे, त्यसैले उनी नेपालमा आउने भए । राहुल सांकृत्यायन त्यति वेला अरु नेपालीलाई पनि चिन्थे होला, तर धर्मरत्न यमिले आफ्नो घरमा बस्नु भनेका रहेछन् । राहुलले जनकलाल शर्मालाई लेखेको एउटा चिठीमा के भनेका छन् भने म मधुमेहको बिरामी भएकाले सुत्ने कोठामै टाँसिएको शौचालय चाहिन्छ, त्यसैले मलाई त्यस्तो आवास खोजी दिनु होला । शर्मा र सांकृत्यायनको चौथो भेट त्यसै वेला भएको रहेछ ।

त्यति वेला त्यस्ता शौचालय गाँसिएका सुत्ने कोठा भएका कि दुई चार ओटा कुलीनका घरमा थिए अरे कि त्रिपुरेश्वरको सरकारी अतिथिगृहमा थियो अरे । जनकलाल शर्मा त्रिपुरेश्वर गएछन्, तर नेपालमा सरकारी कर्मचारीहरु प्राय चढेका हुन्छन्, त्यहाँका कर्मचारीले भने अरे, ‘भारतबाट जोसुकै लफङ्गा आए भने, तिनीहरुका लागि गेस्टहाउसमा ठाउँ खाली छैन ।’

जनकलाल शर्मालाई झ्वाँक चलेछ । उनी बिहान पाँचै नबजी विश्वेश्वरप्रसाद कोइरालाको घरमा पुतली सडक पुगेछन् । त्यति सबेरै आएको देखेर बिपीले सोधे अरे, ‘जनकलालजी, यति सबेर कहाँबाट आउनु भयो?’ शर्माले भने अरे, ‘म माग्न आएको ।’ ‘के माग्नु हुन्छ?’ ‘पक्का दिने भए माग्छु, नत्र माग्दिन ।’ ‘लु पक्का दिन्छु, के चाहियो?’ ‘मलाई तपाईँको घर एक महिनालाई चाहियो?’ ‘किन चाहियो?’ ‘पहिले घर खाली गराउनु होस्, अनि भन्छु ।’ बिपीले तुरुन्तै कालीबाबुलाई फोन गरेर ट्रक ल्याएर एक महिनालाई घर खाली गर्न लगाए अरे । त्यस पछि बिपीले भने अरे, ‘लु खाली गराएँ, अब भन्नु होस् किन चाहियो ।’ ‘राहुल सांकृत्यायन आउँदै छन्, उनैका लागि चाहिएको हो ।’ ‘ती, म त भन्दै थिएँ नि, तपाईँ त्यसै माग्नु हुन्न, राम्रो भयो ।’ बिपी खुसी भए । २००९ साल पुस २५ गते बिही बारदेखि माघ १९ गते आइत बार सम्म राहुल सांकृत्यायन कमला सांकृत्यायसित आएर विश्वेश्वर प्रसाद कोइरालाको घरमा बसे । भान्से पनि बिपीकै प्रयोग गरे अरे ।

नेपालमा बस्ता राहुल र कमलाले बिपी कोइराला, बालकृष्ण सम, हेमराज पाण्डे, लक्ष्मी प्रसाद देवकोटा, धर्मरत्न यमि, बालचन्द्र शर्मा र केदारमान ‘व्यथित’ जस्ता धेरै विद्वानहरुको सङ्गत गरे र ती सबैलाई दिगो प्रभाव छोडे । अरु सबैको भन्दा राहुललाई लक्ष्मी प्रसाद देवकोटाको प्रभाव बढ्ता पर्‍यो, त्यसैले उनले ‘आजकल’ भन्ने पत्रिकामा लक्ष्मी प्रसाद देवकोटा हिन्दीका (सुमित्रानन्दन) पन्त, (जयशङ्कर) प्रसाद र (सूर्यकान्त त्रिपाठी) निराला तिनै जना रोमान्टिक कविका समष्टि प्रतिभा हुन् भन्ने कुरो प्रकाशित गराए । सांकृत्यायनका अरु कुरा देवकोटालाई मन पर्‍यो, तर उनी राँची अस्पताल पुगेर आएको चर्चा पढेर चाहिँ देवकोटा रिसले आगो भएछन् अनि त्यसै रात ‘पागल’ भन्ने कविता लेखे र “तिम्रो ‘महापण्डित’ मेरो ‘पटमूर्ख” भनेर राहुललाई व्यङ्ग्य गरे भन्ने कुरो जनकलाल शर्माले ‘महाकवि देवकोटा : एक व्यक्ति, दुई कृति’ भन्ने किताबमा लेखेका छन् ।

त्यसै पल्ट राहुल सांकृत्यायन नेपाल आएका वेलामा नेपाली शिक्षा परिषद्ले बृहत् साहित्य सम्मेलनको आयोजना गरेको थियो । विसं० २००९ माघ १४ गते मङ्गल बार हेमराज पाण्डेको अध्यक्षतामा भएको सभामा राहुलले नेपालको भाषा नीति बारे आदर्श वक्तव्य दिएका थिए । त्यसको उद्धरण राहुल (मेरी जीवन यात्रा, भाग ५, पृष्ठ १६०-१८९) कै शब्दमा यस्तो छ, “शाम को ५ बजे माहिला गुरु की अध्यक्षता में ‘नेपाली शिक्षा परिषद्’ की सभा में मैने शिक्षा पर भाषण दिया । मेरे भाषा-सम्बन्धी विचारों के लिये गलतफहमी होने की गुंजाइश न रहे, इसी लिये भाषा-नीति के बारे में मैने विशेष तौर से कहते हुये बतलाया कि, सारे नेपाल में नेपाली (गोरखाली) भाषा की वही स्थान है और रहेगा, जो भारत में हिन्दी का । पर नेपाल बहुभाषिक देश है। यहां के लोगों को यदि जल्दी से जल्दी साक्षर और शिक्षित करना है, तो प्रारम्भिक शिक्षा का माध्यम उनकी भाषाओं को रखना होगा ।”

  • चौथो बौद्ध सम्मेलनमा भाग लिन राहुल काठमाडौँ आएका वेला (१९५६ इ) मा जनकलाल शर्मासित राहुलको पाँचौँ भेट भयो । त्यसमा भाग लिन चिनिया बौद्ध समाजका सचिव चाउ पु चु पनि आएका थिए। उनले राहुललाई चिनियाँ लिपि सुधारमा सल्लाहकार बसी दिन अनुरोध गरे । राहुलले उनसँग तिब्बतमा आफ्नो अध्ययन बढाउने इच्छा गरेका थिए । आफु चीन जाने भए पछि नेपालमै घर बनाएर आफ्नो परिवारलाई राख्ने र आफु नेपालमै सधैँका लागि बस्ने इच्छा पनि राहुलले गरेका थिए । चाउ पु चु चीन गए पछि उनले राहुललाई चीन जाने निम्तो त दिए, तर राहुलले तिब्बत जाने अनुमति पाएनन् । त्यस चोटले राहुल फत्र्याकफत्र्याक भए ।
  • अरु भेट : त्यस पछि दुई पल्ट शर्माको राहुलसँग भेट दार्जिलिङमा उनको घरमै भयो ।

राबी सम्म पुगेको थियो नेपालको सिमाना :

राहुल सांकृत्यायन नेपाल आएकै वेलामा यहाँका विद्वानहरुका भेटमा राहुलले भनेका रहेछन्, ‘कुमाउँ-गढवाल तिर गए नेपालसँग सम्बन्धित ऐतिहासिक सामग्री र पच्चिसौँ हज्जार पाण्डुलिपि पाउन सकिन्छ ।’ राहुलको त्यस भनाइबाट बिपी सबभन्दा प्रभावित भएछन् । उनले प्रस्ताव राखेछन्, “एक जनालाई त्यता पठाऔँ’ । त्यसका लागि योजना पनि बनाइयो अरे, ‘नेपाल सांस्कृतिक परिषद्’ भन्ने एउटा संस्था पनि बनाइयो अरे । केसर शमसेरले त्यस कामका लागि एउटा कार र दुइटा घर पनि दिए अरे, डेढ लाख मध्ये १ लाख भारु त खातामै जम्मा गरी दिए अरे । जनकलाल शर्माले योजना बनाए अरे । संस्थाको कार्यकारी समिति यस्तो बन्यो अरे : बिपि (अध्यक्ष), सम (उपाध्यक्ष), केसर (कोषाध्यक्ष), बराल (सदस्य सचिव) अनि सदस्यहरु (हेमराज, बाबुराम, लेखनाथ, देवकोटा, चित्तधर, सिद्धिचरण, धर्मादित्य धर्माचार्य, धरणीधर, सूर्यविक्रम)। त्यस संस्थाले ‘नेपाल सांस्कृतिक परिषद् पत्रिका’ वर्षको १ अङ्क चार पाँच वर्ष निकाल्यो अरे । ईश्वर बराल सम्पादक त्यसका सम्पादक थिए अरे । विसं० २०१० साल वैशाख १२ गते योजनाका लागि राहुललाई पत्र लेखियो अरे । राहुलले २ महिनाको रु० ५०० लाग्ने लगत पठाए अरे । बिपिले पत्र बराललाई दिए अरे, तर कुरो त्यसै सेलायो अरे अनि केसर शमसेरले आफ्नो दान फिर्ता लिए अरे ।

यस्तो सरकारी योजना तुहे पनि सुगौली सन्धि पूर्वको नेपाल हेर्ने धोको जनकलाल शर्मालाई थियो । चिठीमा आफ्नो त्यस्तो इच्छा लेख्ता राहुल पनि हिमाचल प्रदेश बारेमा एउटा किताब लेख्ने तयारी गरी रहेकाले र जनकलाल शर्माले ‘एएएस’ (आयुर्वेदिक मेडिकल सर्जन) को डाक्टरी तालिम लिएकाले इन्सुलिनको सुई लिन जनकलाल शर्मा काम लाग्ने ठहराएर राहुलले जनकलाल शर्मालाई आफ्नो देहरादूनको घरमा बोलाएछन् ।

राहुलको भव्य व्यक्तित्व देखेर जनकलाल शर्माले सोचेछन्, “डेढ दुई महिना साथमा बिताउनु छ मैले । अरु कोही हुँदैन साथमा म बाहेक । निजी डाक्टर बनेर इन्जेक्सन पनि दिनु छ मैले । डाक्टर बनेर खेलबाड गर्नु छ यत्रो प्रतिभाशाली व्यक्तिको जीवनमा । संसारले के भन्ला मलाई मेरो हात अलिकति पनि चुक्यो भने ?”

जे होस्, २०१० साल चैतमा राहुल सांकृत्यायन र जनकलाल शर्मा हिमाचल यात्रामा निस्के । त्यस यात्रामा नेपाली इतिहास र भूगोलका निम्न लिखित सूचना र तथ्य फेला परे, तर आज नेपालको पश्चिमी सिमाना पाकिस्तान पुगेका तथ्य फेला परेको ६६ वर्ष भई सक्ता पनि हाम्रा मनमा माधव घिमिरेको पुरानो ‘राष्ट्रिय गीत’ गुन्जी रहेको छ, ‘पश्चिम किल्ला काङ्गडा, पूर्वमा टिस्टा पुगेथ्यौँ ।’

  • नाहानमा ‘तारीख-ए-शरमोर’ भन्ने उर्दुमा लेखिएको किताबमा नेपाल अङ्ग्रेज युद्धको वर्णन फेला पर्‍यो ।
  • दुवै जना कहलुर राज्यको राजधानी विलासपुर पुगे । त्यो राज्य सतलज नदी छेउमा पर्छ । अमरसिंह थापाको नेपाल एकीकरण अभियानमा नेपालकै बार ठकुराई मध्ये एउटा थियो विलासपुर (कहलुर) ।
  • २०११ साल वैशाखमा दुवै जना किल्ला काङ्गडा पुगे । काङ्गडा जिल्ला हिमाचलमा नपरेर भारतीय पञ्जाबमा पर्छ । दश हज्जार जति नेपालीहरुको बस्ती धर्मशाला र भाक्सु पुगे ।
  • रावी (परुष्णी) नदीको पश्चिम किनारमा चम्बा पर्ने रहेछ । जम्मु काश्मीरको सिमाना त्यहाँबाट ६० किलोमिटर मात्र पर छ । त्यो रावी नदी नै नेपालको सिमाना रहेछ भन्ने थाह भयो । काङ्गडा भन्दा सतलज पर छन् । रावी नदी त पञ्जाब नजिकै पो छ । सं० २०११ साल वैशाख १७ गते बिही बार राहुल सांकृत्यायन र जनकलाल शर्मा नेपालको पश्चिमी ऐतिहासिक सिमानामा पुगे । चम्बामा राजा भूरिसिंहको दरबारको सङ्ग्रहालयको सूची पत्रमा अमरसिंह थापाले चम्बाका राजा जितसिंहलाई लेखेका (अङ्ग्रेजीमा अनुवाद भएका) दुई ओटा (नम्बर ५७ र C.५८) चिठी भेटिए । एउटा पत्रमा चम्बाका राजालाई ‘गोरखाका बजीर’ भनिएको छ । त्यसबाट चम्बाका राजा नेपालको अधीन भएको प्रमाणित हुन्छ ।
  • चम्बाका मानिसहरुले गाउने लोक गीतमा पनि गोर्खालीहरुले जितेको कुरो प्रमाणित हुन्छ : ‘राजा, तेरे गोरखियां ने लुट्या पहाड\ लुट्या पहाड गोरीरा, लुट्या पहाड\ तीसा लुट्या, वैरा लुट्या, लुट्या भान्दल की हार\ पांगी दी पंगवालिया, लुटियां लूटी बांकी नार\ सुन्ना लुट्या, चान्दी लुट्या, लुट्या जवाहारा\ सेजा सुत्ती कामिनी लुटियां, लुट्या पहाड ।

यसरी राहुल सांकृत्यायनको सङ्गतले नेपाल र नेपालीको कहिल्यै बिर्सन नहुने तथ्य फेला परे पनि हाम्रा इतिहासका अनुसन्धाताहरु चाहिँ किन माल पाएर पनि चाल पाई रहेका छैनन्?