सरस्वती नदीको अलौकिक रूपान्तरण

By | September 16, 2014

सरस्वती विद्याकी देवी हुन् भन्ने कुरो सबैलाई थाह छ । ऋग्वेदमा ‘सरस्वती’ (तलाउहरुकी धनी) सिन्धु नदीको एउटा सहायक नदीको नाम मात्र हो । ऋग्वेदका अनेक ऋचामा सरस्वती नदीको नाउँ आउँछ । दसौँ मण्डलको एउटा ऋचा (१०.७५.५) मा चाहिँ पूर्वमा गङ्गादेखि क्रमश: पश्चिममा यमुना, सरस्वती, शुतुद्री (सत्लज), परुष्णी (रावी), असिक्‍नी (चेनाव), मरुद्वृधा, वितस्ता (झेलम), सुषोमा (सोहान), आर्जीकीया (व्यास) आदि दश ओटा नदीका नाउँ आउँछन् । आज हामीले चिन्ने ‘वीणापुस्तकधारिणी’ सरस्वती देवीको मानव स्वरूप ऋग्वेदमा छैन । ‘पुराणिक इन्साइक्लोपिडिया’ अनुसार हातमा वीणा, पुस्तक र अक्षमाला लिने सरस्वतीको स्वरूप सबभन्दा पहिले अग्नि पुराण (१० औँ शताब्दी) मा वर्णन गरिएको पाइन्छ ।

इरानीहरु हेल्मन्ड नदीलाई ‘हरकइती’ भन्थे र त्यो नाम सरस्वती नदीकै इरानी नाम हो भन्ने म्याक्डोनेल र किथको भनाइ किन ठिक मान्नु पर्छ भने, संस्कृतमा सकार भएका ठाउँमा फारसी (इरानी) भाषामा हकार हुन्छ (जस्तै, सप्ताह, हप्ता; सिन्धु, हिन्दु) । ऋग्वेदमा सरस्वती अरब सागरमा मिसिने नदी हो भन्ने बुझिन्छ, तर उत्तर वैदिक साहित्यमा कुरुक्षेत्र वा आधुनिक पटियालाका छेउमा मरुभूमिमा बिलाउने नदीका रूपमा वर्णन गरिएको पाइन्छ । त्यस पछिका महाभारत (आदि पर्व १६:१९) तथा पुराणहरुमा सरस्वतीलाई गङ्गाको सहायक नदी मानिएको पाइन्छ । मानिसहरु बसाइँ सरेर नयाँ ठाउँमा पुगे पछि आफ्नै पुराना ठाउँ, खोला, डाँडा, आदिको नाउँ आफु पुगेका ठाउँमा राख्‍छन् भन्ने कुरो इरान र भारतका नदीको नाउँ मिलेकाले देखाउँछ ।

कसरी सिन्धुको सहायक नदी कालान्तरमा गङ्गाको सहायक नदी भयो भन्ने कुराको व्याख्या सरस्वती नदीका बाटामा पर्ने आजको राजस्थानको मरुभूमिले दिन्छ, किन भने उत्तर वैदिक साहित्य लेखिँदा (इपू ८ औँ शताब्दी) ऋग्वेदिक काल (इपू १२००) को राजस्थानको हरिलो भरिलो जग्गा मरुभूमि भई सकेको थियो । नदी वा गाडको वेग पहाडमा धेरै हुन्छ, मैदानमा घट्छ र समुद्र छेउमा पुग्दा झन घट्नाले बाङ्गोटिङ्गो हुन्छ । त्यस्तो बाङ्गोटिङ्गो नदीका बाटामा दुवै तिर तलाउ (सरस्, सर:) हरु बन्दछन् । समुद्रसित मिल्ने वेलामा छेउछाउमा भेटिने त्यस्तै पोखरी र ताल (सरस्, सर:) ले गर्दा नै त्यस नदीको नाउँ ‘सरस्‌+वती’ (तलाउ भएकी) वा सरस्वती भएको हो । यस भाषा वैज्ञानिक प्रमाणबाट पनि ऋग्वेदमा भनिए झैँ सरस्वती नदी प्राग्वेदिक कालमा समुद्र सम्म पुग्थ्यो भन्ने कुरामा बल पुग्छ । पहाडबाट नदीले बगाएर ल्याएको बालुवा बगरमा थुपार्नाले एकातिर उत्तर वैदिक कालमा नै सरस्वती नदी मरुभूमिमा कतै बालुवा मुनि हराउने, कतै फुत्त निस्किने भई सकेको थियो ।

ब्रह्माण्ड पुराण (अ ४३) अनुसार सरस्वती ब्रह्माको अनुहारबाट जन्मिन्; ब्रह्माले उनलाई सबैका जिब्राका टुप्पामा, नदीका रूपमा र आफ्नै बाबुसँग बस्‍न खटाए । अरु पुराण अनुसार सरस्वती, गायत्री र सावित्री समेत ब्रह्माका पत्‍नी हुन् । सरस्वती नदी विनाशन तीर्थमा दबिन्छिन् र चमसोद्‍भेदमा प्रकट हुन्छिन् भन्ने कुरो महाभारत वन पर्व (१३०.३) मा लेखिएको छ । त्यस्तै महाभारत स्वर्गारोहण पर्व (५.२५) मा श्रीकृष्ण परमधाम भए पछि उनका १६ हजार १०८ पत्‍नीहरुले सरस्वती नदीमा जल समाधि लिएको उल्लेख छ । मगध (आजको बिहार राज्य) का राजा जरासन्धले मथुरामा पटकपटक आक्रमण गरे पछि कृष्णजी आफ्ना सबै प्रजालाई मथुरा छोडेर आजको गुजरातमा पर्ने द्वारका नाउँको एउटा टापुमा आफ्नो किल्ला बनाएर बसाइँ सरे । भारतीय पुरातात्त्विक अनुसन्धानले किल्लाले खेरिएको द्वारका प्राग्वेदिक कालको सरस्वती नदी समुद्रमा मिल्ने ठाउँमा फेला पारेको ‘युट्युब’ मा हेर्न सकिन्छ । ‘युट्युब’ मा राजस्थानको मरुभूमिमा दबिएको सरस्वती नदी मरुभूमिको बिचमै मूल फुटेर ह्वाल्ह्वाल्ती आएको देख्‍न सकिन्छ भने, ‘गुगल अर्थ’ ले उत्तराखण्डमा सरस्वती नदीको शिर देखाउँछ ।

भौगर्भिक परिवर्तनले गर्दा पहिले सिन्धुको सहायक नदी भएको सरस्वती पछि कुनै वेला मैदानी भागमा गङ्गाको सहायक नदी पनि भएको कुरो प्रयागलाई गङ्गा, जमुना र सरस्वतीको सङ्गम तीर्थ मानिएको र त्यहाँ पनि सरस्वती नदी चाहिँ बालुवा मनि लुकेको जन विश्वासबाट बुझिन्छ । अहिले भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले सरस्वती नदीको खोजी गर्ने परियोजना अगाडि सारेका छन् । दश बिस वर्ष अघि पनि यस्तै एउटा परियोजनाले केही अनुसन्धान गरेको थियो ।

पुराणहरुमा चाहिँ सरस्वती नदीको मानवीकरण भई सकेको पाइन्छ । मत्स्य पुराण अनुसार एक दिन आफ्नै पिता ब्रह्माले आफुलाई कामुक आँखाले हेरेको सरस्वतीले चाल पाइन्; सरस्वती ब्रह्माको दाहिने पटि लुकिन्; सरस्वतीलाई हेर्न ब्रह्माको अर्को टाउको उम्रियो; त्यसबाट छेलिन सरस्वती बाबुको पछिल्तिर लुकिन्, ब्रह्माको अर्को मन्टो त्यतै उम्रियो; त्यसबाट पनि छेलिन सरस्वती बाबुको देब्रे पटि लुकिन्, ब्रह्माको अर्को मन्टो त्यतै उम्रेर ब्रह्मा चतुर्मुखी भए । भागेर केही सिप नलागे पछि सरस्वतीले आफ्नै बाबुकी पत्‍नी हुन स्वीकार गरिन् ।

पुराणहरुमा सरस्वतीलाई कतै ब्रह्‍माकी कतै विष्णुकी पत्‍नी मानिएको छ । देवी भागवत (स्क ९) अनुसार विष्णुका तिन पत्‍नी (लक्ष्मी, सरस्वती, गङ्गा) मध्ये गङ्गाले चाहिँ अरु सौताका आँखा छलेर विष्णुलाई लोभ्याएको देखेर सरस्वतीले गङ्गालाई कुटिन्; लक्ष्मीले छुट्याउन आउँदा लक्ष्मीलाई पनि धरतीमा जन्मिने सराप दिइन्; त्यो देखेर गङ्गाले पनि सरस्वतीलाई धरतीमा जन्मिने सराप दिइन्; सरस्वतीले गङ्गालाई पनि पापीहरुको पाप पखालेरै बाँच्नु पर्ने सराप दिइन् । पौराणिक साहित्यमा यसरी नदीहरुको मिथकीकरण र मानवीकरण गरिएको पाइन्छ ।

हामीले अहिले चिन्ने सरस्वतीको स्वरूप अग्नि पुराण (१०-११ औँ शताब्दी) मा पाइएको हो, तर ‘मध्यकालीन भारतीय प्रतिमा लक्षण’ (डा.मारुति नन्दन तिवारी, १९९७ई) का अनुसार भारतीय मूर्ति विज्ञानको अनुसन्धानमा सरस्वतीको पहिलो दुई हाते मूर्ति (दोस्रो शताब्दी) जैनहरुले बनाएको देखिन्छ । ऋग्वेदमा काव्यात्मक उपमानका रूपमा मात्र देवी बनाइएकी सरस्वती नदीलाई जैन धर्मको केन्द्र गुजरात भएकाले भगवतीका रूपमा मूर्तिमै मानवीकरण गर्ने अभियान पनि गुजरातबाटै सुरु भएको देखिन्छ । पछि तान्त्रिक दर्शनको प्रभावले सरस्वतीका हातहरु चार ओटा, छ ओटा (खजुराहोका मूर्ति, मध्य प्रदेश) र आठ ओटा (११औँ शताब्दीको तमिलनाडुको तन्जोरको मूर्ति) हुँदै थपिँदै गएको पाइन्छ । आठौँ शताब्दीका मूर्ति (खजुराहो) हरुले सरस्वतीलाई हंसवाहिनी बनाएको पाइन्छ  अनि १२औँ शताब्दीका मूर्ति (ढाका सङ्ग्रहालय) मा सरस्वतीको नृत्य मुद्रा देखिन्छ ।

यसरी ऋग्वेदमा सिन्धु नदीका सात सहायक नदी (सप्त सिन्धु) मध्ये सबभन्दा पूर्व तिर पर्ने प्रमुख नदीको रूपमा वर्णन गरिएको सरस्वती नदीले सम्म जग्गाले गर्दा भौगर्भिक परिवर्तनले दिशा बदलेर कहिले गङ्गाको सहायक नदी भएर प्रयागमा मिसिनाले र पछि यसकै सहायक नदीले दिशा परिवर्तन गर्नाले पानी नपुगेर राजस्थान र गुजरातको हरियाली पूर्ण भूभाग मरुभूमिमा परिणत भएकाले मरुभूमिको बालुवा मुनि अल्पे पनि ऋग्वेदमा आलङ्कारिक रूपमा मात्र फाट्टफुट्ट देवी मानिएकी सरस्वती नदी दोस्रो शताब्दीदेखि गुजरात केन्द्र भएको जैन धर्मका मूर्तिमा पहिलो पल्ट दुई हात भएको मानवाकार मूर्तिमा देखा पर्छिन् र विस्तारै तान्त्रिक दर्शनको प्रभावले हात पनि थपिँदै जान्छन् र हातमा राखिने अलङ्कार पनि थपिँदै गएर इसाको दोस्रो सहस्राब्दीको प्रारम्भमा आज हामीले चिन्ने ‘वीणापुस्तकधारिणी’ र ‘हंसवाहनसंयुक्ता’ अथवा ‘मयूरवरवाहिनी’ रूपकी विद्याकी देवीमा रूपान्तरित हुन्छिन् ।

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply