आख्यानको चेतन प्रवाह प्रविधि

By | February 5, 2016

नेपाली आख्यान साहित्यमा शङ्कर लामिछाने, पोषण पाण्डे, विजय मल्ल र गोविन्द बहादुर मल्ल ‘गोठाले’ का कथामा पाइने अनि विश्व साहित्यमा दुजार्दिन, रिचार्ड्सन, उल्फ, काफ्का, हेमिङ्ग्वे र ज्वायसका उपन्यासमा प्रयोग र विकास भएको चेतन प्रवाह प्रविधिको सैद्धान्तिक धरातल र प्रस्तुतिका प्रक्रियासित नेपाली पाठकलाई चिनारी गराउनु मात्र यस लेखको लक्ष्य हो ।

१. चेतन प्रवाहको परिभाषा

चाल पाई रहेको अनुभव; निश्चित लक्ष्य राखेर गरिएका विचारहरु, छरपस्ट भएर ध्यानमा आई रहेका वस्तुका बिम्बहरु; सम्झनामा आएका पुराना कुराहरु; जिउले चाल पाई रहेका संवेदनाहरु; मनमा उठेका जोस र भावनाहरु अनि (कल्पना,) योजना, इच्छा र दिवा स्वप्नका भङ्गालाहरु मिसिएर बगी रहेको चेतना (Pope and Singer 1) को गतिमय स्वरूपलाई चेतन प्रवाह भन्ने नाम विलियम जेम्सले दिएका छन्, जसका विचारमा हाम्रो चेतना खोलो वा भल जस्तै हुन्छ (James, The Principles of Psychology 239) । विलियम जेम्सको यस विचारलाई उनकै भाइ हेन्री जेम्सले आफ्ना उपन्यासमा पात्रहरुको छिन छिनमा गतिमय भएर बगी रहने अन्तर्मुखी चेतना वा मनको अवस्था व्यक्त गर्न प्रयोग गरे । त्यस पछि उपन्यासकार र कथाकारले आफ्ना पात्रहरु मनको वास्तविक अवस्थालाई व्यक्त गर्न हेन्री जेम्सको यो प्रविधिलाई झन झन सफलता र विविधता दिएर अपनाएको पाइन्छ । अघिल्लो युगको सामाजिक अनुकरणमूलक यथार्थ वादका विरोधमा उल्फ, ज्वायस र रिचार्ड्सनले चेतन प्रवाह शैलीको अन्तर्मुखी प्रविधि रोजे (Parsons) (५५) ।
हेन्री जेम्सले भन्दा धेरै सफलता पूर्वक अनि नयाँ घुम्ती दिएर यस प्रविधिलाई फ्रान्सका उपन्यासकार दुजार्दिनले आफ्ना उपन्यासमा प्रयोग गरे । उपन्यासमा दुजार्दिनले कुनै घटनाले एउटै मुख्य पात्रको मनमा कस्तो प्रभाव, प्रतिक्रिया र तरङ्ग ल्यायो, त्यसलाई जस्ताको तस्तै लेख्‍ने प्रयास गरेका छन् । बाहिरी दृश्यावली र अरु पात्रले बोलेको कुरो पनि त्यही मुख्य पात्र मार्फत उपन्यासमा प्रस्तुत गरिएको हुन्छ । यसरी आख्यानका संरचक घटनाहरु र मुख्य पात्रको दिवा स्वप्‍न वा स्वैर कल्पना (Perron) पनि भाषाका रूपमा उपन्यासमा देखाइएको हुन्छ । दुजार्दिनले परिभाषा गरे अनुसार चेतन प्रवाह प्रविधिबाट पात्र विशेषका आँखाबाट कथा वाचन गर्दा लेखकले वर्णन अथवा व्याख्या गरेर हस्तक्षेप गर्न पाउँदैन; कथा वाचन गर्दा पात्रका मनमा जे जे कुरो जसरी आउँछ, दुरुस्त त्यसै गरी राख्‍नु पर्ने हुनाले वाक्य पनि मिली राख्‍नु पर्दैन । दुजार्दिनले आफैँ राखेको कथा वाचनको चेतन प्रवाह प्रविधि आफैँले पनि आफ्नो उपन्यासमा पालन गर्न सकेका भने, छैनन् (Bowling) ।
बिसौँ शताब्दीका आख्यानकारहरु मध्ये चेतन प्रवाह प्रविधिलाई आदर्श रूपमा प्रयोग गर्ने त डोरोथी रिचार्ड्सन चाहिँ मानिन्छिन् । कसै कसैले त रिचार्ड्सनलाई नै यस प्रविधिको जन्म दाता पनि ठहराएका छन् । रिचार्ड्सन पात्र र परिस्थितिको टिप्पणी गर्दिनन्; बुज्झकी भएर बिच बिचमा आफ्नो उपस्थिति जनाउँदिनन् अनि पाठकहरुका लागि लेखक पूर्ण रूपले कथा वाचनमा अनुपस्थित हुन्छिन् । उनको ‘हनिकम’ भन्ने उपन्यासमा एउटा पात्र सडकमा हिँडी रहेका वेलामा उसको ध्यान र मनमा आएका कुराहरु रिचार्ड्सनले यसरी थप थप वाक्य र व्याकरण नमिलाई जस्तो आयो त्यस्तै त्यसै गरी राखेकी छिन् (Bowling) :
बाटाको दुवै तिर ठडिएका खैरो रङका घरको नजिकै पुगेर आकाश तिर फर्किँदा अलिक प्रस्ट देखिने चोसा र कुना हेर्दै…जोडिएका घरहरुसँग अस्पष्ट देखिने घरको छतका कुनाहरु…मुन्तिर बाक्लो छाया परेका रोटीका झुर्का जस्ता पट्टिएका कुनाहरु…छतबाट लत्रेका लहरा…घरहरुका झ्यालमा लगाएका फुलहरुको लस्कर, राता, पहेँला, मा::थि; झ्याल मुन्तिरको तेर्सो टबमा लत्रेर पोको परेका सेतो हो कि प्याजी रङका…घर अघिल्तिरको सेतो भित्तामा पोतिएर मास्तिर चढेका हरिया लहराहरु…भित्तामा देखिएका चहकिलो उज्यालो र छायाका चोक्टाहरु…नजिकै देखिएका पर सम्म लस्कर लागेर आई रहेका अँध्याराले बिच बिचमा छुट्ट्याएका अनेक वस्तुबाट लय मिलाएर निस्केका नजिकै चर्को सुनिने अनि पर पुग्दा बिलाउँदै जाने आवाजहरु… (हनिकम, १९१७, पृ १२५) (Bowling)

२. चेतन प्रवाह प्रविधिको किसिम
क. लेखकका हस्तक्षेप विनै पात्रका मन (वा चेतना) को प्रत्यक्ष अभिव्यक्तिको प्रयास :
डोरोथी रिचार्ड्सनको यो जस्तो वर्णन शैलीलाई मनोवाद (इन्टर्नल मोनोलग) भन्नु भन्दा ‘इन्द्रिय जन्य प्रभाव’ (सेन्सरी इम्प्रेसन) भन्नु उपयुक्त होला, किन भने मनोवादमा चाहिँ सोच्ने अथवा तरङ्‌गिने मान्छे होसमै अर्थात् चेतनको नजिकै हुन्छ भने, ‘इन्द्रिय जन्य प्रभाव’ मा चाहिँ मान्छेले सपना देखे जस्तै अथवा दिवा स्वप्न (स्वैर कल्पना) मा तरङ्‌गिए जस्तै जे जेको प्रभाव जसरी जसरी दिमागमा आयो, त्यसरी नै निष्क्रिय भएर चाल पाउँदै जान्छ । माथिका उदाहरणमा आँखाले चाल पाएको रङ, उज्यालो र अँध्यारो अनि कानले चाल पाएको आवाज, आदिको संवेदनालाई वाक्य मिलाउन तिर नलागेर नकेलाई तिन तिन थोप्लाका बिचमा छरिएका भाषांशका रूपमा राखिएको पाइन्छ । मान्छेको चेतना (वा मन) ले चाल पाएका कुराले अचेतन र पूर्व चेतन वा अवचेतनमा कस्तो साङ्ली परेर तरङ्ग चल्छ, त्यसलाई जस्ताको तस्तै भाषाका रूपमा अभिलेख गर्न विकास गरिएको ‘इन्द्रिय जन्य प्रभाव’ को यस्तै प्रस्तुतिलाई रिचार्ड्सनले ‘चेतन प्रवाह प्रविधि’ भन्ने नाम दिएकी हुन् । रिचार्ड्सनकै जस्तो चेतन प्रवाह प्रविधिको मात्रामा सफलता दोस्तोएब्स्की, हेन्री जेम्स, दुजार्दिन, हेमिङ्वे, र भर्जिनिया उल्फका वर्णनमा पाइँदैन (Bowling) । भर्जिनिया उल्फ र विलियम फाक्नर वेला वेलामा टिप्पणी गर्न झुल्किन्छन्, तर ज्वायस झुल्किँदैनन् (Schultz) ।
रिचर्ड्सनकै वर्णनमा पनि सर्वत्र लेखकको हस्तक्षेप ठ्याम्मै नपाइने चाहिँ होइन । हामीले दिमागमा एकै चोटि चाल पाई रहेका सबै संवेदनाहरुलाई भाषामा जस्ताको तस्तै अनुवाद गर्न सकिँदैन, त्यसैले आख्यानकारहरुले आफ्ना पात्रहरुको मनस्थितिलाई भाषामा अनुवाद गर्दा केही न केही सम्झौता गर्नै पर्छ भन्ने दोस्तोएब्स्कीको भनाइ छ (Bowling) । भाषा त एक आयामिक र रेखात्मक अर्थात् सिधा हरफमा लेखिने हुन्छ, तर पात्रका मनका चेतनाको भलका किनारामा तँ छाड् म छाड् गरेर आएका अचेतन, अर्ध चेतन र चेतनका बहु आयामिक दृश्य र कुरालाई भाषाका एक आयामिक हरफहरुमा अनुवाद गरेर पाठकका मनमा पात्रकै मनमा जस्तो बहु आयामिक अनुभूतिका रूपमा चेतनाको भल बगाउन सक्नु कम गारो कुरो होइन (Steinberg) । ज्वायसका ‘युलिसिज’ (१९२२) र ‘फिनेगन्ज वेक’ (१९३९) भन्ने उपन्यासमा वाक्य व्याकरण र तर्कको बेवास्ता गरेर पात्रका विचार, भावना, स्मृति र प्रभावलाई जोडेर मानसिक भलका रूपमा यो शैली प्रयोग गरिएको छ । पूर्व चेतन मनका जटिलतालाई जस्ताको तस्तै अभिव्यक्ति दिने प्रयत्न र लक्ष्यबाट यो प्रविधिको विकास भएको हो (Heaney) ।
चेतन प्रवाह प्रविधिमा लेखकले पाठकलाई कुनै पात्र विशेषको मानसिक चेतनाका भलमा सोझै डुबाई दिन सक्छ, तर ज्वायसले उनको ‘युलिसिज’ उपन्यासमा चाहिँ के गरेका छन् भने, जब सम्म उनले पाठकलाई आफ्ना पात्र र तिनीहरुको पारस्परिक साइनो, परिवेश, परिस्थिति र कथा जगत्‌को राम्ररी चिनारी गराई सक्तैनन् (जस्तै, ‘युलिसिज’ उपन्यासको ४-५ पृष्ठ सम्म), तब सम्म सर्वज्ञ दृष्टि भएको लेखकले झैँ चेतन प्रवाह प्रविधिको प्रयोग नै थाल्दैनन् । पहिलो अध्यायका ८४० ओटा हरफ मध्ये १०० ओटा हरफमा मात्र ज्वायसले आफ्नो मूल पात्रका मन भित्र पाठकलाई पसाउन प्रयत्न गरेको देखिन्छ अनि ती १०० ओटा हरफ मध्ये स्वगत कथन (Soliloquy) को प्रयोग तिन भागमा एक भागमा मात्र गरिएको छ । बिच बिचमा त्यहाँ पनि ज्वायस सर्वज्ञ लेखकका रूपमा झस्याकझुलुक आई रहन्छन्, तर त्यसरी झुल्किने लेखकले नाटकको निर्देशक वा सूत्रधारले झैँ खालि वस्तु स्थितिको परिचय मात्र दिने अथवा घटनाको सार भन्ने मात्र काम गर्छ अर्थात् लेखकको भूमिका नगण्य वा लघुतम बनाउँछ; त्यहाँ लेखकले आफ्नो मन्तव्य भन्न पाउँदैन । त्यहाँ उपस्थित हुने सर्वज्ञ लेखक पनि जुन पात्रको मनमा चेतनाको भल बगी रहेको छ, उसैका शैलीमा प्रस्तुत हुन्छ, आफ्नो शैलीमा प्रस्तुत हुँदैन (Steinberg) ।
ख. चेतन प्रवाह प्रविधि, मनोवाद र आन्तरिक विश्लेषण :
अ. मनको प्रत्यक्ष उद्धरण (डाइरेक्ट कोटेसन अफ द माइन्ड) का रूपमा चेतन प्रवाह प्रविधि (स्ट्रिम अफ कन्सस्नेस टेक्निक) : कुनै पात्र विशेषका मनमा जानी जानी अथवा सोच्तै नसोची अर्थात् होसै नगरी, चेत वा अचेतका जे जे कुरा जसरी खेल्छन्, तिनीहरुलाई जस्ताको तस्तै, थप थप, भाषा र वाक्य मिलाउने तिर वास्तै नगरी, लेखकले हस्तक्षेपै नगरी पात्रका ‘मनको प्रत्यक्ष कथन’ अथवा अभिव्यक्तिको उद्धरण आख्यानमा देखाउन अथवा पुरै आख्यान (कथा वा उपन्यास) रचना गर्ने प्रयत्न गरेर आख्यानकारले विकास र प्रयोग गरेको प्रविधिको नाम ‘चेतन प्रवाह’ (स्ट्रिम अफ कन्सस्नेस) हो । यो प्रविधि कि पुरै कृति भरि अथवा आंशिक रूपमा दुवै तिर तिन तिन थोप्लाले छेकेका छोटा भाषांश (वा वाक्यांश) का रूपमा सजाएर देखाउने चलन छ । यसको मूल लक्ष्य लेखकको कुनै प्रकारको व्याख्या, चिनारी र टिप्पणी जस्तो मध्यस्थता वा हस्तक्षेप विनै पाठकलाई पात्रका मन र चरित्र सम्म सोझै पुर्‍याउनु हो (Bowling) ।
आ. मनोवाद (इन्टेरियर मोनोलग) : तिन थोप्लाले छेकिएका तिनै भाषांश, भाषाका टुक्रा वा भाषाका झुर्का हेरेरै पाठकले मन मनै वाक्य आफैँ बनाउन सकोस् भन्ने लक्ष्य राखेर गरिने प्रस्तुतीकरणलाई पनि मोटामोटी रूपमा त ‘चेतन प्रवाह’ प्रविधि नै भन्न सकिने भए पनि यस प्रविधिलाई ठिक्क मिल्ने नाम चाहिँ ‘मनोवाद’ (इन्टेरियर मोनोलग) हो । दुजार्दिनले परिभाषा गरेको मनोवादले चाहिँ पात्रको अचेतन मात्र नभएर पुरै होसमा गरिएको पात्रको एकालाप पनि समेट्छ, त्यसैले दुजार्दिनको मनोवाद आदर्श चेतन प्रवाह प्रविधिमा पर्न सक्तैन । दुजार्दिनले प्रयोग गरेका यस्ता वर्णनमा धेरै जसो त सके सम्म घटाइएका व्याकरणात्मक वाक्य नै पनि पाइन्छन्; तर वास्तवमा मान्छेको मनमा खेल्न आउने धेरै कुराहरु त भर्तृहरि (Coward; Bhartrihari) ले भने झैँ बैखरी अथवा प्रकट व्याकरणात्मक वाक्य वा भाषाका रूपमा अनूदितै नभएर मन भित्रै (परा, पश्यन्ती, मध्यमा अवस्थामा) हुन्छन् । तिन तिन थोप्लाले छेकिएका शब्द र पदावलीका रूपमा पाठकको ध्यानमा आउने खालका सम्झौटे बिम्बहरु सजाएर ज्वायसले पाठकका मनमा प्रभावकारी बिम्बहरुको बग्रेल्तीबाटै चेतनाकै भल बगाउने प्रयत्न गर्छन् (Steinberg) । भर्जिनिया उल्फ, दोस्तोएब्स्की र जेम्स ज्वायसका पात्रको मनोवादमा पनि आदर्श यही एउटै भए पनि पात्रको मनस्थितिलाई भाषामा अनुवाद गर्दा सफलताको मात्रामा कमबेसी पाइन्छ (Bowling) ।
इ. आन्तरिक विश्लेषण : माथिका दुई किसिमको चेतन प्रवाह प्रविधिबाट सन्तुष्ट नभएर केही गरी लेखक आफैँ पात्र र पाठकका बिचमा व्याख्या, टिप्पणी र विश्लेषणका लागि (पटकपटक) उपस्थित हुन्छ भने, त्यो प्रविधि चाहिँ सक्कली चेतन प्रवाह प्रविधि नभएर ‘आन्तरिक विश्लेषण’ (इन्टर्नल एनालिसिस) को प्रविधि हो (Bowling) ।
ग. आख्यानमा चार किसिमले चेतन प्रवाहको उपयोग :
रोबर्ट हम्फ्रे (Dobie; Humphrey) को भनाइ अनुसार आख्यानमा चेतन प्रवाह प्रविधि मुख्य रूपले ४ किसिमले प्रयोग गरिएको हुन्छ :
पात्रका निजी चेतनाको अपरिमार्जित अभिव्यक्ति नै चेतन प्रवाह प्रविधिको मूल चासाको विषय हो । पात्रको भाषाका रूपमा अनभिव्यक्त (परा, पश्यन्ती, मध्यमा) चेतनाको खोजी र आविष्कार गर्नु नै यस प्रविधिको लक्ष्य हो । हम्फ्रेले भने झैँ, चेतन प्रवाह प्रस्तुतिले पात्रका मानसिक अनुभूति (संवेदना, स्मृति, कल्पना, अवधारणा, अन्तर्ज्ञान, आदि) र आत्मिक (स्पिरिचुअल) अनुभूतिलाई सके सम्म यथार्थ रूपले व्यक्त गर्न प्रतीक निर्माण (वा सिम्बोलाइजेसन) गर्ने प्रक्रिया, खाली ठाउँ भर्ने (वा फिलिङ) प्रक्रिया र मुक्त साहचर्य अन्तर्गत आउने प्रक्रिया (वा प्रोसेस अफ एसोसिएसन्ज) सँग पनि साइनो राख्छ ।
अ. प्रत्यक्ष आन्तरिक मनोवाद (Direct internal monologue): यसमा पात्रको वैखरी (उच्चारण गरिने भाषा) भन्दा अगाडिको मनका वस्तु र प्रक्रियालाई अपरिमार्जित अर्थात् प्राकृतिक वा स्वाभाविक अवस्थामै खर्लप्प जस्ताको तस्तै अभिव्यक्त गर्ने लक्ष्य राखिएको हुन्छ । यस्तो आन्तरिक मनोवादमा कथा वाचक अदृश्य हुन्छ ।
आ. अप्रत्यक्ष आन्तरिक मनोवाद (Indirect internal monologue) : यस किसिमको चेतन प्रवाह प्रस्तुतिमा लेखक पात्रका मन भित्र मात्र सीमित नभएर वेला वेलामा वर्णन र टिप्पणी गर्न पात्रका मनबाट बाहिर निस्किन्छ, त्यसैले पाठकले आख्यान पढ्दा पात्रका मनबाट भित्र बाहिर गरी राख्नु पर्छ । लेखकले गरेको पात्रका मन बाहिरका वस्तुको वर्णनबाट पनि पात्रकै मनोभावसँग प्रतीकात्मक साइनो राखिन्छ । उल्फ परम्परागत कथा वाचन प्रविधिमै अप्रत्यक्ष आन्तरिक मनोवादको प्रयोग गर्छिन् (Sang) ।
इ. अचेतनकै नाटकीकरण (Dramatization of Unconscious): जेम्स ज्वायसको ‘युलिसिज’ उपन्यासमा पाइने पात्रका अचेतनको नाटकीय प्रस्तुति जति जटिल रूपमा नभए पनि ‘ग्रेट एक्स्पेक्टेसन्स’ मा पनि प्रयोग भएको देखिन्छ । डिकेन्सको यस उपन्यासमा त हरेक पात्रको आफ्नो आफ्नो एक्लो मनोलोक मात्र छ अनि पात्र पात्रका बिचमा संवादहीनता पाइन्छ । अचेतनको त्यस्तो नाटकीय प्रस्तुतिमा पात्रले आफ्नो अतीतका दु:ख सुख र भविष्यका सुखद सपना दुवैको कल्पना गर्न सक्छ (Dobie) ।
ई. सर्वज्ञ (Omniscient) लेखकको वर्णन : चेतन प्रवाहको यस किसिममा लेखक आफैँ हरेक पात्रका मनको दशालाई सर्वज्ञ भएर वर्णन गर्छ ।
३. चेतन प्रवाह प्रविधिमा प्रस्तुतिको विविधता :
क. बिम्ब, प्रतीक र अलङ्कारको उपयोग :
चेतन प्रवाह प्रविधिबाट कथा वाचन गर्ने लेखकले कथामा सके सम्म कम देखा पर्नु पर्ने समस्या समाधान गर्न पात्रका मनका आँखाबाट बाहिरी वस्तु वा व्यक्तिको वर्णन गर्दा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्छन् । यो प्रविधि पनि डिकेन्सले नै ‘ग्रेट एक्स्पेक्टेसन्स’ मा प्रयोग गरेका छन्, जस्तै :
१. उपमानको प्रयोग : ज्यागरजीका कोठामा आकाशको उज्यालो मात्र आउने हुनाले त्यो विरक्त लाग्दो थियो ।
२. बिम्ब र प्रतीकको उपयोग : जेल र त्यहाँका ठिँगुरा (स्वतन्त्रताको अभाव), घडी (समय), मैन बत्तीको उज्यालो (भ्रम), दिउँसोको उज्यालो (यथार्थता) (Dobie); ज्वायस पनि पात्रको मनोभाव व्यक्त गर्न प्रतीकको पनि प्रयोग गर्छन् (Robinson) ।
ख. बिम्बहरुको सहविन्यास (Juxtaposition):
ज्वायसले मनको एउटा भावसित प्रतीक हुने गरी दृश्यावलीमा आएका एक एक ओटा बिम्बलाई कुम जोडेर राख्ने किसिमले सह विन्यास (जक्स्टापोजिसन) गरेका छन् (Parsons 61) । टी.एस. इलियट (१९१९ई) को ‘अब्जेक्टिभ कोरिलेटिभ’ पनि एक किसिमले ‘स्ट्रिम अफ कन्सस्नेस’ नै हो (Pope and Singer 3) ।
ग. बिम्ब र पदावलीको पुनरुक्ति :
ज्वायसले चाहिँ पदावली र बिम्बहरुलाई पटक पटक दोहोर्‍याएर पनि मनमा दोहोरिने बिम्बहरु जनाएका छन् (Parsons 61) ।
घ. उत्तम पुरुष र अन्य पुरुषको प्रयोग :
प्रत्यक्ष आन्तरिक मनोवादमा उत्तम पुरुष (म) को प्रयोग हुन्छ भने, अप्रत्यक्ष आन्तरिक मनोवादमा अन्य पुरुष (उ) को प्रयोग हुन्छ (Sang) ।
ङ. तिन थोप्लाको उपयोग :
डोरोथी रिचार्ड्सनको ‘पिल्ग्रिमेज’ भन्ने उपन्यासमा मरियम भन्ने पात्रका मनमा बोर्डिङ स्कुलको आफ्नो सुत्ने कोठामा पुग्दा एकै चोटि अनेक पत्रमा चेतनाका मुल्काहरु गाँसिएर आउँछन् : आँखै अगाडिका परिचित वस्तुहरुको गहिरो संवेदना, अन्तर्ज्ञानबाट मात्र मनले चाल पाएका कुरालाई छरिएका वाक्यहरुबाट व्यक्त गरिएको देखाइएको हुन्छ; वर्णनबाट व्यक्त गरिएका आँखैले देखिएका कोठाका दृश्यहरु, पात्रलाई गर्न मन लागेका कुराहरु उत्तम पुरुषमा व्यक्त गरिएका छन्, तर ‘उसले सोची’ जस्तो मूल उपवाक्य विनै पात्रले सोचेका कुराहरु व्यक्त गरिएको पाइन्छ; तिन ओटा थोप्लाले पात्रको मनको मुक्त साहचर्यले गाँसिएर वा लुँडिएर आउने विचारहरुको प्रवाह अथवा भाषाका वाक्यका माध्यमबाट व्यक्त गर्न वा अनुवाद गर्न नसकिने विचार र मन बाहिरका बिम्बहरु जनाइएको पाइन्छ (Parsons) (५९) ।
च. उद्धरण चिन्हको प्रयोग :
चेतन प्रवाह प्रविधिमा वर्णनीय कुरालाई लेखकका तर्फका टिप्पणीबाट नभएर पात्रका मनमा जे छ, त्यो जस्ताको तस्तै लेखकको हस्तक्षेप विनै आउनु पर्छ । यस्तो प्रत्यक्ष सोचाइलाई प्रत्यक्ष कथनलाई उद्धरण चिन्ह भित्र राखे झैँ राख्ने चलन छ (Bowling) ।
छ. कोष्ठहरुको प्रयोग :
आफ्नो मन्तव्य, टिप्पणी, व्याख्या, प्रसङ्गमा परिवर्तन, फरक विचार, अन्यमनस्कता र एकै चोटि आएका अनेक प्रभाव व्यक्त गर्न भर्जिनिया उल्फ पात्रको आन्तरिक मनोवादमय वर्णनका बिच बिचमा थुप्रै कोष्ठहरुको प्रयोग गर्छिन् । सर्वज्ञ लेखकको उपस्थितिबाट आन्तरिक मनोवाद तिर पाठकलाई लैजान पनि उल्फ त्यस्ता कोष्ठहरुको प्रयोग गर्छिन् (Sang) । यसरी निर्देशक पदावली, अर्ध विराम र कोष्ठहरुका बुट्टा सजाएर उल्फ पात्रको आन्तरिक मनोवादका माध्यमबाट उसको चेतनामा पाठकलाई प्रवेश गराउँछिन् (Sang) ।
ज. अर्ध विरामको प्रयोग :
अप्रत्यक्ष आन्तरिक मनोवादमा चेतनाको निरन्तरता जनाउन भर्जिनिया उल्फ पूर्ण विरामको साटो अर्ध विराम (Semicolon) को प्रयोग गर्छिन् (Sang) ।
झ. अक्षरका फरक फन्टको उपयोग :
‘युलिसिज’ उपन्यासमा पहिलो पल्ट पात्रको मन भित्र पाठकलाई पसाउँदा ज्वायसले आफुले भनेका कुरा चाहिँ सामान्य फन्टमा अनि पात्रको स्वगत कथनलाई चाहिँ इटालिक फन्टमा लेखेर छुट्याएका छन् (Steinberg) ।
४. चेतन प्रवाहका सर्त :
रोबर्ट रिफ (१९६६ई) ले ज्वायसका उपन्यासको अध्ययनका आधारमा चेतन प्रवाहका तिन ओटा सर्तको गन्ती गरेका छन् (Robinson) :
क. चेतन प्रवाह प्रविधिमा प्रस्तुति अन्तर्मुखी वा आन्तरिक हुन्छ (Robinson) ।
ख. पात्रको अनुभूति सलल्ल बग्ने तरलको भल (फ्लक्स) जस्तो हुन्छ, जसमा मुक्त साहचर्यका जटिल प्रक्रिया र विचार तथा गोचर र अगोचर वस्तुका बिम्बहरुको निकटवर्ती विन्यास (जक्स्टापोजिसन) समेत लुँडिएर वा लट्पटिएर आउँछ; यसलाई समष्टिमा आन्तरिक मनोवादका रूपमा वर्णन गर्न सकिन्छ (Robinson) ।
ग. प्रस्तुति तात्कालिक हुन्छ; उत्तम पुरुषमा हुन्छ; अनि त्यहाँ लेखकका तर्फबाट कतै कुनै हस्तक्षेप नभएको भ्रम पारिएको हुन्छ (Robinson) ।
५. चेतन प्रवाह प्रविधिका विशेषता :
क. अन्तर्मुखिता :
उल्फका उपन्यासमा सर्वज्ञ कथा वाचक अल्पे जस्तो देखिन्छ; बाह्य जगत् घटाएर लघुतम बनाइएको हुन्छ अनि झन्डै सबै जसो वर्णन पात्र विशेषको मन (चेतना) मा आएका दृश्य जगत्‌का बिम्ब, प्रतिबिम्ब, तरङ्ग र पात्रकै मन भित्र चेतन वा अचेतनमा गाढिएका अथवा सम्झनाका रूपमा साँचिएका कुरा र पात्रले कल्पना गरेका कुरा साँधिन्छन् । ‘टु द लाइटहाउस’ भन्ने उनको उत्कृष्ट उपन्यास चेतन प्रवाह प्रविधिको नमुना मानिन्छ । उपन्यासमा पात्र विशेषको मनोजगत् (अर्थात् पात्रको चेतना) नै प्रत्यक्ष रूपमा देखाइएको हुन्छ, जसमा निरन्तर रूपमा आई रहेका बाह्य प्रभावहरु समेटिन्छन् र खोला किनारका पात पतिङ्गर, वस्तु, व्यक्ति र दृश्यावली पानीको भलमा बगे झैँ अथवा समेटिएर बगे जस्तो देखिए झैँ भल जस्तै चेतना पनि अघि बढ्छ (Sang) । अन्तर्मुखी वर्णनमा रमाउनेहरु ध्यानमा आएका वस्तुहरुले व्यक्तिको मन वा चेतनामा पारेका प्रभावका विविधताको आविष्कार गर्न खोज्छन् (Schneiderman) ।
ख. स्वगत कथन (Soliloquy):
स्वगत कथनको प्रविधि परम्परागत रूपमा नाटकमा प्रयोग गरिने प्रविधि हो, तर चेतन प्रवाह प्रविधिमा चाहिँ त्यो आख्यानमा विशेष प्राथमिकता साथ प्रयोग हुन थाल्यो (Steinberg) ।
ग. अतीतको सम्झना :
चेतन प्रवाह प्रविधि प्रयोग गरिएका आख्यानमा पात्रको अतीतको सम्झनाका माध्यमले पनि लेखकको मध्यस्थतालाई सीमित गराइन्छ । उदाहरणका लागि, ज्वायसको ‘पोर्ट्रेट अफ द आर्टिस्ट एज अ योङ म्यान’ भन्ने उपन्यासको धेरै जसो ठाउँमा स्टिफेन ड्याड्लस आफ्नै अतीत सम्झी रहेको हुन्छ (Robinson) ।
घ. फ्रायड र युङका मनोविज्ञानको पनि उपयोग :
काफ्का, टोमस मान र अल्वेयर कामु जस्ता लेखकहरुले फ्रायडका मोटिफहरुलाई अभिव्यक्ति दिन पनि चेतन प्रवाह प्रविधिको प्रयोग गरेका छन् । ज्वायसले पनि पूर्व चेतन (वा अवचेतन) मनका जटिल साहचर्य र वास्तविक जीवनका जटिल यथार्थलाई समेटेका छन् । ज्वायसका मूल पात्रहरुका जीवनमा आई परेका अड्का र अड्चनले उनीहरुको अवचेतन वा पूर्व चेतन प्रभावित हुन्छ । मूल पात्रका अवचेतन मनमा प्रवाहित हुने चेतनाको भलमा कसरी छिन छिनमा आई पुग्ने बाह्य जगत्‌का ध्वनि, गन्ध र दृश्यहरु समेत मिसिन्छन् र तिनीहरुले कसरी पात्रको अवचेतनलाई नयाँ आकार, बान्की र घुम्ती दिन्छन् भन्ने देखिन्छ । यसरी ज्वायसले चेतन प्रवाहका माध्यमबाट फ्रायड र युङको मनोविश्लेषणमा झैँ पात्रका अवचेतनको धेरै हद सम्म चित्रण गर्न सकेका छन् । ‘फिनेगन्ज वेक’ मा त फ्रायडले झैँ ज्वायसले सपनाको विस्तृत वर्णन गरेका छन् । फ्रायड र युङका विचारको आफुलाई कुनै प्रभाव नपरेको कुरो ज्वायसले लेखेका चाहिँ छन्, तर उनको वर्णनमा प्रभाव देखिन्छ (Heaney) । व्यक्ति वा पात्रको चेतनामा इन्द्रिय जन्य प्रभावहरु पर्छन् र त्यस्तो चेतनाबाट मान्छेले आफ्ना इच्छाहरु पुरा गर्न खोज्छ (Schultz) ।
ङ. मुक्त साहचर्य (Mizolla; पोखरेल) को उपयोग :
हाम्रो मन एक खालको अर्थबाट अर्कै खालको अर्थ तिर सलल्ल बग्दै जान्छ (Heaney) । आख्यानमा चेतन प्रवाह प्रविधि प्रयोग गर्दा चेतनाका भलको गतिलाई खटन गर्न मुक्त साहचर्य भन्ने मनोवैज्ञानिक प्रक्रियाको उपयोगले सहयोग गरेको पाइन्छ । मुक्त साहचर्यको उपयोगले लेखकलाई सीमित स्थान र समयमै पात्रको निजी अनुभवसँग सके सम्म धेरै खेलाउन सजिलो पर्छ । मुक्त साहचर्यका प्रविधिको उपयोग मात्रले नै पनि लेखकले परम्परागत आख्यानको कथा वाचन संरचनालाई भत्काउँछ । मुक्त साहचर्यले गर्दा पात्रले एउटा कुरो देखेर त्यस कुरासँग सम्बन्धित अर्कै कुरामा वा अर्कै मान्छेमा मन डुलाउन वा पुर्‍याउन सक्छ; परिचित दृश्य देखेर पुरानो कुरो, मान्छे वा घटना सम्झन सक्छ; पात्रको मन (चेतना) बेरोकटोक एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छ; वर्तमानबाट अतीतको सम्झनामा अथवा भविष्यको कल्पनामा सजिलै पुग्न सक्छ । मुक्त साहचर्य क्रियाशील भएका वेलामा वास्तविक समय र मानसिक समय गिजोलिन्छ; अतीतको सम्झना, भविष्यको कल्पना र वर्तमानको चेतना सबै छ्यासमिस हुन्छ । यसरी ठाउँ र समयको भेउ हराउँछ अनि घटना क्रम खज्मजिन्छ । बेग्ला बेग्लै समय र बेग्ला बेग्लै ठाउँलाई भेट गराएर लेखकहरुले मुक्त साहचर्यलाई वर्तमान परिस्थितिको व्यङ्ग्य गर्न पनि उपयोग गर्न सक्छन् । उल्फको कथा वाचन प्रविधिमा आन्तरिक मनोवाद र मुक्त साहचर्य मुख्य रूपमा पर्दछन् (Sang) ।
मुक्त साहचर्यका सर्त : साङ (Sang) ले आख्यानमा मुक्त साहचर्यको प्रयोग गर्दा निम्न लिखित सर्तहरु पुरा हुने ठहराएका छन् :
अ. कसैका मनमा खेली रहेको कुरो (चेतना) उसैको एकलौटी हुन्छ, अरुसित मिल्दैन पनि बाँडिँदैन पनि ।
आ. कसैका मनमा खेली रहेको कुरो (चेतना) अडिँदैन, स्वाल्ल बगी हाल्छ ।
इ. बगी रहेको चेतना अचेतनको छेउछाउमै हुन्छ ।
ई. चेतनाको भललाई बाह्य जगत्‌ले अल्झाउँछ अथवा प्रभावित पार्छ ।
उ. चेतनामा पस्ने हरेक कुरो वर्तमानमा हुन्छ ।
ऊ. स्मृति, अर्थ र कल्पनाले मुक्त साहचर्यको खटन गर्छन् ।
च. स्वैर कल्पना (पोखरेल)(Fantasy/ Fancy) को प्रयोग :
बिसौँ शताब्दीका मनोवैज्ञानिक आख्यानमा मान्छेको अचेतनमा कुनै कुराले कस्तो स्वाभाविक प्रक्रियाले तरङ्ग ल्याउँछ, त्यसलाई सम्पूर्णत: जस्ताको तस्तै भाषामा व्यक्त गर्ने लक्ष्य राखिएको हुन्छ (Bowling) । डिकेन्सका उपन्यास (खास गरी ‘ग्रेट एक्स्पेक्टेसन’) मा भर्जिनिया उल्फ र जेम्स ज्वायसको जस्तो विकसित रूप नभए पनि चेतन प्रवाह प्रविधिको पूर्व रूप पाइन्छ । ह्यारी स्टोनले ‘ग्रेट एक्स्पेक्टेसन’ जस्ता डिकेन्सका रचनामा बरालिएका विचार, स्वगत कथन, कथानकको विच्छेद, टड्कारा बिम्बहरुसँग हतार हतार जोडिने अर्थहरु अनि एउटै पात्रका चेतनामा ठोक्किन आउने अनुभूतिहरु चेतन प्रवाह प्रविधिसित मिल्छन् । ‘ग्रेट एक्स्पेक्टेसन्स’ चेतन प्रवाह प्रविधिमा लेखिएको उपन्यास हो, किन भने यस उपन्यासमा तथ्य र बाह्य जगत् एउटा पात्र विशेषको फ्यान्सी वा स्वैरकल्पनाका माध्यमबाट पाठक सामु प्रस्तुत हुन्छ । यसरी मनोजगत् र बाह्य जगत् नछुट्टिने गरी एउटै पात्रका निजी चेतनामा एकाकार हुन्छन् (Dobie) ।
छ. क्षण र पात्रको चलचित्रीकरण (Time and Character Montage):
चेतन प्रवाहका लेखकहरुमा पाइने पात्रको व्यक्तिगत चेतनामा रुचि राख्तै विकसित भएको मनोवाद, क्षण र पात्रको चलचित्रीकरण, आदि प्रविधि डिकेन्सले नै प्रयोग गरेका पाइन्छन् (Dobie) । चलचित्रीकरण डिकेन्सका कथा वाचनको अर्को उल्लेखनीय प्रविधि हो । एउटै दृश्यका बेग्ला बेग्लै क्षणका चित्रहरुलाई जोड्दै छिटो कुदाएर चलचित्रको आविष्कार गर्ने ग्रिफिथले मोन्टाज नामको यो प्रविधि आफुले डिकेन्सको ‘ओलिभर ट्विस्ट’ उपन्यासमा प्रयोग भएको मोन्टाज प्रविधिबाट सिकेको अथवा प्रेरणा लिएको मानेका छन् । मोन्टाज प्रविधि डिकेन्समा पात्र र समय गरी दुई किसिमले प्रयोग भएको पाइन्छ । डिकेन्स एकै समयमा अनेक पात्रको आन्तरिक मनोवाद पनि प्रस्तुत गर्छन् भने एउटै पात्रका मन भित्र चलचित्रमा झैँ अनेक समय निरन्तर जोडेर पनि पात्रका मनोदशाको चित्रण गर्छन् । डिकेन्सले आविष्कार गरेका यी दुवै किसिमका मोन्टाज चेतन प्रवाह प्रविधिमा प्रयोग भएको पाइन्छ (Dobie) ।
ज. एक वा अनेक पात्रको अन्तश्चेतनामा केन्द्रित चेतन प्रवाह :
डिकेन्सले गरे झैँ, डोरोथी रिचार्ड्सनले ‘पिल्ग्रिमेज’ मा जसरी एउटै पात्र विशेषमा चेतन प्रवाह केन्द्रित गरिन्, ज्वायसले चाहिँ त्यसो नगरेर अनेक पात्रमा चेतन प्रवाह सीमित गरेका छन् (Parsons 61) ।
झ. ध्रुव सत्यमा नभएर तात्कालिकतामा विश्वास :
चेतन प्रवाहमा लेखिएको उपन्यासले ध्रुव सत्यमा विश्वास गर्दैन; कथा वाचकको गतिशील मस्तिष्कमा तात्तातै जगत् जसरी परिवर्तनशील देखिई रहेको छ, त्यसै गरी जस्ताको तस्तै प्रस्तुत गरिन्छ (Clark) । पात्रको छिन छिनको (Moment-to-moment) मानसिक स्थिति र परिवर्तनको लेखाजोखा र परिवर्तनले आख्यानका पात्रको यथार्थ फेला पार्न र व्यक्त गर्न सक्छ । पात्रका मनमा परेका प्रभावहरुलाई तात्तातै समातेर अभिलेख गर्ने उल्फको चेतन प्रवाह प्रविधि हो । पहिल्याउनु (पर्सेप्सन), ध्यान दिनु (अटेन्सन), ठम्याउनु वा चिन्नु (कोग्निसन) र रस लिनु (इमोसन): उल्फको चेतन प्रवाहका चार चरण । जीवनका सतहमा हेर्दा उल्फ ध्यानमा आएका वस्तुको बान्कीमा तल्लीन हुन्छिन्; त्यहाँ देखेका अथवा सुनेका कुरा समातेर उनी सतह मुनि घोत्लिन पुग्छिन् र उनी जीवनका तिता मिठा कुरा अभिव्यक्त गर्छिन् (Schneiderman) । उल्फ भन्छिन्, ‘हाम्रो दिमागमा खस्ता खस्तैको परमाणुलाई जुन क्रममा परमाणुहरु खस्छन्, त्यसै क्रममा हामी सजाऔँ; हाम्रा चेतनामा आई पुग्ने हरेक दृश्य र घटनाले जस्ता किसिमका तरङ्गका बुट्टा बनाउँछ, ती बुट्टाहरु परस्पर असम्बद्ध लागे पनि, ती सबै बुट्टाहरुलाई हामी सजाउँदै जाऔँ (Sang) ।
ञ. क्वान्टम फिजिक्सको प्रभाव :
भर्जिनिया उल्फको ‘टु द लाइटहाउस’ (१९२७ई) भन्ने उपन्यासका चेतन प्रवाह प्रविधिको विश्लेषण गर्दै म्याक्स प्ल्याङ्क (१९००ई) र अल्बर्ट आइन्स्टाइन (१९०९ई) ले विकास गरेको क्वान्टम मेकानिक्समा जसरी पानीका अणुहरु तरङ्गमा चल्छन्, त्यसै गरी प्रकाश पनि अणु (क्वान्टा) र तरङ्गले बनेको तरल स्वरूपमा प्रस्तुत हुन्छ भन्ने सिद्धान्त स्थापित भयो, त्यसै गरी उपन्यासमा पात्रहरुको मन (चेतना) मा खेल्ने कुराहरु पनि अणुमय र तरङ्गमय हुन्छन् भन्ने उपमान लिएर त्यसकै नमुनामा भर्जिनियाँ उल्फले नारी र पुरुष पात्रको चेतन प्रवाह व्यक्त गरेकी हुन् भन्ने निस्कर्ष क्लार्क (Clark) ले निकालेका छन् ।
ट. अति यथार्थ वादसित साइनो :
आख्यानमा प्रयोग हुने चेतन प्रवाह प्रविधिको अति यथार्थवाद (सर्रियलिज्म) सित साइनो छ, किन भने दुवै (चेतन प्रवाह र अति यथार्थ वाद) अवचेतन वा पूर्व चेतन मन:स्थितिका सङ्घारमा हुन्छन् । चेतन प्रवाह प्रविधिको लेखकले पात्रको अवचेतन अवस्थाकै चित्रण गर्न खोज्छ (Dobie) ।
ठ. आधुनिकता वाद, चेतन प्रवाह प्रविधि र उत्तर आधुनिकतामा उपयोग :
चेतन प्रवाह प्रविधिलाई पहिले पहिले आधुनिकता वादसित जोड्ने चलन थियो (Schultz) । आधुनिकता वादी आख्यानकारहरु एक क्षणबाट अर्को क्षणमा बद्लिँदा बद्लिँदै गरी रहेको चेतनाका अवस्थाको आणविक विश्लेषणमा रमाउँछन् (Schneiderman) । नयाँ उपन्यास लेख्ता सार्वजनिक जीवनको जटिलतालाई समृद्ध कलाका रूपमा उतार्न लेखक त्यस जीवनबाट अलग्ग बस्छ । ज्वायस, रिचार्ड्सन र उल्फले सिर्जना गर्न खोजेको यस्तो कला स्वरूपमा नौलो, सबैलाई वास्तविक लाग्ने, सौन्दर्य आफ-से-आफ प्रकट हुने, वर्तमानले अतीतसँग सम्बन्ध विच्छेद गरे जस्तो लाग्ने, अनुभव गरेका कुरा पनि अनगिन्ती र असीमित मात्रामा तर छरपस्ट भएर आउने अनि यो अवस्था आउनु भन्दा अघिको वस्तु जगत्‌को अनुभव र त्यस जगत्‌मा म को र कस्तो थिएँ भन्ने निश्चित ज्ञान सबै बिलाउँछ । भर्जिनिया उल्फले उपन्यास लेख्ने परम्परागत प्रविधि छोडेर आफ्नै शैलीको विकास गरिन् । आधुनिकता वादी उपन्यासकार उल्फका उपन्यासले बाह्य जगत्‌को यथार्थको साटो पात्रको मनोजगत्‌को यथार्थसँग बढ्ता चासो राख्छन् (Sang) ।
यसरी आधुनिकता वादी, मनोवैज्ञानिक अथवा चेतन प्रवाह प्रविधिको उपन्यास लेखिन्छ ( (Parsons 3) । उल्फका उपन्यास पढ्ने पाठकलाई ‘अब के होला?’ भन्ने खुल्दुलीका आधारमा कथा अघि बढ्दैन; बरु मनको बेग्ला बेग्लै स्थिति अनुसार सजाइएका बिम्ब र दृश्यावलीका आधारमा कथा बढ्छ (Sang) । ओल्सनले चाहिँ चेतन प्रवाह प्रविधिलाई मार्क्स वाद र नारी वादमा प्रयोग गरेर उत्तर आधुनिकता वादमा उपयोग गरेकी छिन् (Schultz) ।
६. चेतन प्रवाह प्रविधिको इतिहास :
आफ्नो किताबमा सबभन्दा पहिले विलियम जेम्सले ‘स्ट्रिम अफ कन्सस्नेस’ भन्ने उपमानको प्रयोग गरेको मात्र पाइन्छ (James, The Principles of Psychology), तर बिसौँ शताब्दीको आख्यानमा महत्त्व दिएर प्रयोग गरिएको भए पनि ‘चेतन प्रवाह’ (स्ट्रिम अफ कन्ससनेस) प्रविधि भनेको के हो, कहाँ सुरु भयो अनि कसले थाल्यो भन्ने विषयमा समालोचकहरु बिचमै सहमति छैन । कसैले यसलाई डोरोथी रिचार्ड्सनले सुरु गरेको मानेका छन् भने, कसैले हेन्री जेम्सले थालेको मानेका छन् अनि कसैले चाहिँ एड्वार्ड दुजार्दिन (१८८७ई) लाई त्यो जस दिएका छन् । दुजार्दिनकै परिभाषा हेर्दा चेतन प्रवाहले चिनाउन खोजेको मानसिक स्थिति चेतनदेखि अचेतन सम्म के के हो बुझ्न सकिँदैन; अनि त्यसमा बिम्ब र संवेदना समेत मिसाउनु हो भने, कथा वाचनको यस प्रविधिलाई दुजार्दिनले पर्याय मानेको मनोवाद (इन्टर्नल मोनोलग) भन्न चाहिँ सकिँदैन, किन भने मनले सोच्न सक्ने सबै कुरा भाषामा व्यक्त गर्न सकिँदैन भन्ने कुरो दस्तोएब्स्कीले पनि विचार गरेका छन् र भाषामै व्यक्त नभएका र हुन नसक्ने मानसिक प्रक्रियालाई कसरी मनोवाद भन्न सकिएला त ! दुजार्दिनले भने जस्तै आदर्श वर्णन त जेम्स ज्वायसले ‘युलिसिज’ मा प्रयोग गरेका छन् । एक ठाउँमा त ज्वायसले ४५ पृष्ठ लामो मनोवादको पनि प्रयोग गरेका छन् अनि ज्वायसले आफ्नो वर्णनमा दुजार्दिनको प्रेरणा लिएको स्वीकार गरेका छन् (Bowling) । डिकेन्सकै उपन्यास (खास गरी ‘ग्रेट एक्स्पेक्टेसन’) मा भर्जिनिया उल्फ र जेम्स ज्वायसको जस्तो विकसित रूप नभए पनि चेतन प्रवाह प्रविधिको पूर्व रूप पाइन्छ (Dobie) ।
७. सैद्धान्तिक आधार :
आधुनिकता वादले रूप र शैलीमा नौलो पनको खोजी गर्ने प्रयोग वाद र अनुभूतिलाई महत्त्व दिने विशेषता बोकेको हुन्छ, त्यसैले उल्फको कथा वाचन शैली हार्डी, एच.जी. वेल्स, गल्ज्वर्दी र अर्नोल्ड बेनेटको जस्तो यथार्थ वादी सामाजिकताको बहिर्मुखी खोजी थिएन (Schneiderman) । उन्नाइसौँ शताब्दीको अन्त र बिसौँ शताब्दीको प्रारम्भमा मनोविज्ञानका फाँटमा भएका अनुसन्धानको प्रभाव चेतन प्रवाह प्रविधिमा परेको होला भन्ने अड्कल गर्न सकिन्छ (Parsons 55) । जुन समयमा भर्जिनिया उल्फ, हेन्री जेम्स, मार्सेल प्राउस्ट, जेम्स ज्वायस, डी.एच. लरेन्स, काफ्का, फाक्नर र बेकेट जस्ता आख्यानकारहरु चेतन प्रवाह प्रविधिमा आफ्नो ध्यान समेटी रहेका थिए, त्यति वेलै टिच्नर, वर्दाइमर, गेस्टाल्ट वादी, फ्रायड र उनका चेला जस्ता मनोवैज्ञानिकहरु अनि संरचना वादीहरु अन्तर्मुखी विधि र प्रक्रियाहरुको खोजी गरी रहेका थिए । अन्तर्मुखी विधिको उपयोग गर्ने आख्यानकारहरुले नै आख्यानमा मनोवैज्ञानिक आयामको विस्तार गरेका हुन् (Schneiderman)।
मनोविज्ञानको काम नै ‘चेतनाका तत्त्वहरु’ को खोजी गर्नु मात्र हो भन्ने टिच्नरको मान्यता थियो (Schneiderman) । टिच्नरले ध्यानको मनोवैज्ञानिक अध्ययन (Psychology of attention) मा आफ्नो ध्यान केन्द्रित गरेका थिए । उनले के पनि फेला पारे भने, कामुकता, क्रोध, करुणा जस्तो कुनै आवेगमा आफ्नो ध्यान केन्द्रित गर्‍यो भने, त्यो आवेग नै बिलाउँछ । उल्फमा टिच्नरको यस ध्यानको मनोविज्ञानको प्रभाव परेको टड्कारै नदेखिए पनि कुरो दुइटैको मिल्छ । माथि क्वान्टम फिजिक्सको प्रसङ्गमा उल्लेख गरे झैँ अनुभवका तत्त्वहरुलाई अणु र परमाणु नै प्रस्ट देखिने गरी नजिकै पुगेर केलाउने प्रवृत्ति उल्फमा देखिन्छ (Schneiderman) ।
मनोविज्ञानको अनुसन्धान गर्न चार्को र ब्रिउअर जस्ता फ्रायडका गुरु र विलियम जेम्स जस्ता मनोवैज्ञानिकले १८८०ई तिर गर्न थालेका थिए । विलियम जेम्स (James, The Principles of Psychology) ले नै मनोविज्ञानमा ‘चेतन प्रवाह’ को अवधारणा ल्याएका हुन् र पात्र विशेषको दृष्टि बिन्दुमा सीमित गरेर लेखिने अन्तर्मुखी उपन्यासका जन्म दाता चाहिँ उनकै भाइ हेन्री जेम्स हुन् (Parsons 55) । हाम्रो चेतना खोलो वा भल जस्तै भएर बग्ने हुन्छ (James, The Principles of Psychology 239) भन्ने विलियम जेम्सले चिताएको हाम्रो चेतना वा अर्ध चेतनाको बगाइमा हाम्रो विचार चाहिँ कहिल्यै पनि नटुङ्गिने र साङ्ली परेर एउटा कुरासँग अर्को कुरो जोडिँदै र लहरिँदै जाने हुने रहेछ र चेतनाको त्यस भल, खोलो वा प्रवाहमा हाम्रो ध्यानमा आएका वा देखा परेका कुराहरु, चाल पाएका कुराहरु र मनमा खेली रहेका कुराहरु जोडिँदै, लुँडिँदै र समेटिँदै बग्छन् । साहित्यिक समालोचनामा चाहिँ चेतन प्रवाह शब्दले खालि आख्यानमा प्रयोग गरिएको आन्तरिक मनोवाद भन्ने प्रविधि मात्र जनाउँछ । यस प्रविधिमा भाषाको प्रतीकात्मक रूपको माध्यम प्रयोग गरेर आन्तरिक मनोवादबाट लेखकले पात्र विशेषको सक्रिय वैयक्तिक जीवनलाई अभिव्यक्त गर्ने प्रयत्न गर्छ (Parsons 56) ।
उल्फ र उनका पतिले फ्रायडको मनोविश्लेषणको चिनारी गराउने किताब लेखेका भए पनि फ्रायडको अचेतनमा नभएर उल्फको रुचि चेतनमा थियो । अचेतनको विश्लेषण फ्रायडको प्राथमिकता थियो भने, उल्फले चाहिँ चेतन वा चेतनाको वर्णनलाई आफ्नो प्राथमिकता बनाएकी थिइन् (Schneiderman) । बढ्दो सहरीकरणले गर्दा हुस्सेलका पालादेखि नै कृतिको विश्लेषणमा मनोरचना विज्ञान (पोखरेल, पाश्चात्य समालोचनामा मनोरचना विज्ञान) को प्रयोग हुन थाल्यो । उल्फलाई पनि हुस्सेलको प्रभाव परेर आख्यानमा चेतन प्रवाहको अन्तर्मुखी प्रविधि प्रयोग गर्न प्रेरणा मिल्यो (Schneiderman) ।
आधुनिकता वादी आख्यानको चेतन प्रवाह प्रविधि फ्रायड (१८५६-१९३९ई) का ‘मनोविश्लेषण’ को सिद्धान्तबाट प्रभावित भयो होला भन्ने अड्कल गरिन्छ, त्यो तर फ्रायडको सिद्धान्तबाट प्रभावित नभएर हेन्री बर्ग्साँ (Bergson) (१८५९-१९४१ई) को दर्शनबाट प्रभावित भएको हो । बर्ग्साँका विचारमा हामीले आफ्ना मनमा खेली रहेका विचारलाई भाषाका रूपमा जस्ताको तस्तै रूपान्तरण गर्न खोज्दा चेतनाको गुणात्मक पक्ष चाहिँ हराउँछ वा नष्ट हुन्छ; त्यति वेला मनमा तात्तातै आउने शब्दैले मात्र हाम्रा चेतनामा छिट्छिटो आई रहने क्षणिक र कोमल प्रभावलाई व्यक्त गर्न सकिन्छ । बर्ग्साँ के भन्दछन् भने, कुनै दिन कुनै उपन्यासकारले केही गरी तर्क र विसङ्गति भन्दा तलै पर्ने अनि हाम्रो ध्यानमा आई सक्ने बितिक्कै बिलाउने असङ्ख्य अनुभूतिहरुलाई चित्रण गर्न सक्यो भने, हामीले आफुलाई जति चिन्छौँ त्यो भन्दा पनि बढ्ता उसले हामीलाई चिन्न सक्छ । डोरोथी रिचार्ड्सनले बर्ग्साँको यसै हाँकलाई स्वीकार गर्दा उपन्यासमा चेतन प्रवाह प्रविधिको जन्म भएको हो (Parsons 57-58) ।
८. पूर्वीय दर्शनमा चेतन प्रवाहको अवधारणा
चेतन प्रवाहको अवधारणासित तुलना गर्न लायकको अवधारणा चिनिया, भारतीय र जापानी दर्शनमा पनि भएको विचार व्यक्त गरिएको पनि पाइन्छ (Taylor) ।
सन्दर्भ सामग्री
Bergson, Henri. Time and Free Will: An Essay on the Immediate Data of Consciousness. New York: Dover, 1910 [2001].
Bhartrihari. Vakyapadiya. Ed. K. Raghavan Pillai. Delhi: Motilal Banarasidass, 1971.
Bowling, Lawrence Edward. “What is the Stream of Consciousness Technique?” PMLA 65.4 (1950): 333-345.
Clark, Miriam Marty. “Consciousness, Stream and Quanta in ‘To the Lighthouse’.” Studies in the Novel 21.4 Bronte, Cary, Dickens, Fielding, Gaskell, Melville, Woolfe (1989): 413-423.
Coward, Harold G. Bhartrhari. Boston: Twayne, 1976.
Dainton, Barry. Stream of Consciousness: Unity and Continuity in Conscious Experience. London & New York: Routledge, 2000.
Dobie, Ann B. “Early Stream-of-Consciousness Writing: Great Expectations.” Nineteenth-Century Fiction 25.4 (1971): 405-416.
Dyer-Smith, Martyn. “Stream of Consciousness and Experience.” Psychologist 11.12 (1998): 572.
Heaney, Liam F. “Freud, Jung and Joyce: Conscious Connections.” Contemporary Review 265.1542 (1994): 28.
Humphrey, Robert. Stream of Consciousness in the Modern Novel. Berkeley: University of California Press, 1954.
James, William. The Principles of Psychology. Vol. I & II. Cambridge, Mass.: Harvard University Press, [1890] 1981.
Mizolla, Alain de. “Free Association.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mizolla. Detroit: Thompson Gale, 2005. 615-617.
Parsons, Deborah. Theorists of the Modernist Novel: James Joice, Dorothy Richardson, Virginia Woolf. New York: Routledge, 2007.
Perron, Roger. “Fantasy.” International Dictionary of Psychoanalysis. 2005. 550-553.
Pope, Kenneth S and Jerome L Singer, The Stream of Consciousness: Scientific Investigations into the Flow of Human Experience. New York & London: Plenum Press, 1978.
Robinson, K.E. “The Stream of Consciousness Technique and the Structure of Joyce’s Portrait.” James Joyce Quarterly 9.1 (1971): 63-84.
Sang, Yanxia. “An Analysis of Stream-of-Consciousness Technique in To the Lighthouse.” Asian Social Science 6.9 (2010): 173-179.
Schneiderman, Leo. “Virginia Woolf: Twentieth Century Psychology and Modern Fiction.” Imagination, Cognition and Personality 22.2 (2003): 181-200.
Schultz, Lydia A. “Flowing against the Traditional Stream: Consciousness.” Melus 22.3 (1997): 113-131.
Steinberg, Erwin R. “Introducing the Stream-of-Consciousness Technique in Ulysses.” Style 2.1 (1968): 49-58.
Taylor, Eugene. “Asian Interpretations: Transcending the Stream of Consciousness.” Pope, Kenneth S and Jerome L Singer. The Stream of Consciousness: Scientific Investigations into the Flow of Human Experience. New York & London: Plenum Press, 1978. 31-54.
Werth, Lee F. “The Banks of the Stream of Consciousness.” History of Philosophical Quarterly 3.1 (1986): 89-105.
पोखरेल, माधव प्रसाद. “मनोविश्लेषणको चिनारी.” मिर्मिरे (२०७१ फागुन चैत): प्रकाशोन्मुख.

Category: My Papers Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply