नेपाली टोपीको इतिहास

By | February 5, 2016

गुवाहाटी, असमका मेरा शिष्य एकदेव अधिकारीले एक दिन मलाई नेपाली ढाका टोपीको इतिहास सोधे । मेरो यो अनुसन्धान त्यसै खुल्दुलीको फल हो ।
कमलमणि दीक्षित एकातिर सबभन्दा धेरै नेपाली भाषाका पुस्तक (३४ हजार जति) को सङ्ग्रहालय (मदन पुरस्कार पुस्तकालय) का हर्ताकर्ता हुन्, अर्कातिर नेपालको सबभन्दा धनी संस्कृतिको खानी काठमाडौँ उपत्यकाका रैथाने हुन् । दीक्षितको तेस्रो विशेषता, उनी बाबुराम आचार्यले सुरु गरेको अनि ईश्वर बराल र सूर्य विक्रम ज्ञवालीले टेवा दिएको नेपाली साहित्यको तुलनात्मक पाठपरक समालोचनाका समसामयिक शिखर पुरुष हुन्; उनको चौथो विशेषता, उनी तिन चार पुस्तादेखि राणा दरबारसित आबद्ध मणि खलकका मणि हुन्; उनको पाँचौँ विशेषता अनुसार उनी बनारस र कोलकातामा लामो समय सम्म बसेका र व्यवसाय गरेका मान्छे हुन् । कमल दीक्षितको छैटौँ विशेषता अनुसार उनी देखी जान्ने, सुनी जान्ने, पढी जान्ने, गुनी जान्ने, घुमी जान्ने, आदि अनेक लक्षणले सिँगार्न पनि सुहाउने व्यक्ति भएकाले मैले नेपाली टोपीको इतिहास सोध्‍ने मेरो यो अनुसन्धान उनैबाट सुरु गर्ने विचार गरेँ । यो लेख कमल दीक्षितसँगको त्यसै कुराकानीका सूचनाको परिणाम हो ।
काठमाडौँ उपत्यका भित्र नेपाली ढाकाको चलन धेरै पछि (जुद्ध शमसेरका पालामा) मात्र सुरु भएको रहेछ । कमल दीक्षितको अड्कल अनुसार सम्भवत: ढाकाको चलन पाल्पाबाट काठमाडौँमा आएको हो अनि पाल्पामा चाहिँ बङ्गालबाट आयो होला । यसरी ढाकाको साइनो आजको बाङ्ला देशको राजधानीको नाउँ (ढाका) सित पनि जोडिएको रहेछ । आर.सी. मजुमदारको ‘बङ्गालको इतिहास’ का आधारमा ‘भारतीय इतिहास कोश’ का लेखक सच्चिदानन्द भट्टाचार्य (१९७६ई) अनुसार बङ्गालमा सेनहरुले एघारौँ शताब्दीको अन्त्यदेखि १३ औँ शताब्दीको प्रारम्भ सम्म राज्य गरे । बख्तियार खिल्जीका छोरा इख्तियार खिल्जीको आक्रमणले बङ्गालबाट सेन वंश विस्थापित भयो । क्यारमका गोट्टी झैँ कुनै शक्तिशाली राजवंश एउटा केन्द्रबाट विस्थापित भए पछि त्यसले त्यस केन्द्रका छेउछाउमा धक्का दिन्छ र छिमेकीलाई विस्थापित गरेर आफ्नो नयाँ केन्द्र बनाउँछ । यसरी बङ्गालका पाल र सेनहरु इतिहासका विभिन्न चरणका धक्काले विस्थापित हुँदै नेपाल सम्म पनि आई पुगे । चौधौँ शताब्दीमा जुम्लाको खस राजवंशको पतन भए पछि पृथ्वी मल्लका रजौटाहरु बेग्ला बेग्लै टुक्रे राज्यका राजा भए । मुकुन्द सेन सम्भवत: पहिले खस राजाहरुकै रजौटा थिए ।
मुकुन्द सेनले पाल्पामा सेन वंशको बलियो जग हाले । सम्भवत: ढाकाको संस्कृति सेनहरुसँगै पाल्पा आई पुग्यो । आफ्ना काका रणोद्दीप सिंहको हत्या गरे पछि श्री ३ भएका वीर शमसेरले आफ्ना भाइ खड्ग शमसेरलाई पाल्पा धपाएका थिए । खड्ग शमसेर पाल्पा धपाइए पछि राणा दरबारको ओहोरदोहोरले पाल्पा र काठमाडौँको सांस्कृतिक आदान प्रदान बढ्दै गयो । त्यसै ऐतिहासिक कारणले पाल्पाबाट काठमाडौँमा ढाकाको चलन पसेछ । भारत र पाकिस्तान नछुट्टिउन्जेल ढाका पनि बङ्गालकै एउटा सहर थियो भन्ने कुरो इतिहासको सामान्य ज्ञान भएका सबैलाई थाहा भएकै कुरो हो ।
कमल दीक्षितको भनाइ अनुसार राणाका रानीहरुले दुई पत्र मलमलले ढाकेको ढाकाको चोलो लगाउँथे र पछ्यौरा पनि ओढ्थे । सम्भवत: पाल्पामा धपाइएका खड्ग शमसेरकी रानी र उनको पाल्पा दरबारका महिलाहरुमा यो चलन पहिले बस्यो । पछि त ठुला व्यापारीका पत्नीहरुले पनि ढाकाको चोलो लगाउँथे र ढाकाको पछ्यौरा ओढ्थे । उनीहरुले लगाएको त्यो वस्त्र पुरानो भए पछि मात्र त्यो ढाकाको कपडाबाट सर्व साधारणले लगाउने टोपी बनाइन्थ्यो । यसरी सक्कली ढाकाको टोपीको संस्कृति चाहिँ राणा दरबारको परिणाम रहेछ । त्यस्तो टोपी काठमाडौँको केल टोलमा मात्र पाइन्थ्यो भन्ने दीक्षितजीको सूचना छ ।
नेपाली टोपीको चलन चाहिँ त्यो भन्दा पुरानो हो । फोटामा रण बहादुर शाहले लगाए जस्तो टोपीको बान्की कैलास पर्वतको प्रभाव हो भन्ने योगी नरहरि नाथको विचार थियो अरे । भाद्‌गाउँले (भक्तपुरे) टोपीको बान्की यस्तै टोपीसित झन्डै मिल्छ । डेभिड क्रिस्चियन (१९९८ई:१२८) को ‘हिस्ट्री अफ रसिया, सेन्ट्रल एसिया एन्ड मङ्गोलिया’ अनुसार इसा पूर्व आठौँ शताब्दी (भारतीय उपमहाद्वीपमा ‘अथर्व वेद’ र ‘शतपथ ब्राह्मण’ को रचना भई रहेको वेला) देखि युरोपका घाँसे चहुरमा घोडा माथि चढेर लडाइँ गर्ने शकहरु चुच्‍चे टोपी लगाउँथे । मानव जातिका इतिहासमा सबभन्दा पहिले घोडा चढेर लगाइँ गर्न जान्ने जाति पनि त्यही शक नै हो । ऋग्वेदमा पनि घोडाको रथमा जोत्‍ने, हलो जोत्‍ने, अश्वमेध यज्ञ गर्ने, आदि उपयोग भए पनि पिठ्युँमै चढ्ने सवारीका रूपमा घोडाको उपयोग गरिएको पाइँदैन । खसहरु पनि शकहरुकै गोती (वा एउटा समूहका सदस्य) हुन् । शक र खसहरु आधारभूत रूपले इरानी (आर्य) हरुकै बगाल हुन् । त्यसैले नरहरि नाथले जे भने पनि खसहरुले लगाउने गरेको टोपी शकहरुकै टोपीको विकसित रूप हुन सक्छ ।
दीक्षितजीको भनाइ अनुसार भानुभक्त अथवा मोतीराम भट्टले लगाए जस्तो कार्चोपी भरेको टोपी राणा कालमा सुब्बा वा त्यो भन्दा ठुला पदाधिकारीले मात्र लगाउन पाउँथे । फुर्को भएको त्यस्तो टोपी टर्कीबाट नेपालमा आएको हो । काठमाडौँका केही मुसल्मानहरुले त्यस्तो टोपी लगाएको त दीक्षितजीले पनि देखेका थिए अरे । टर्कीको अग्लो टोपी काठमाडौँमा होचो बनाइयो र फुर्काका ठाउँमा डल्लो हालियो । तुर्कीहरुले दिल्लीमा शासन गर्न थालेको १३ औँ शताब्दीमा मात्र हो । यस्तो तुर्केली टोपी दक्षिण एसियामा १३ औँ शताब्दी भन्दा अगाडिको हुन सक्तैन, तर दीक्षितको भनाइ अनुसार नेपालमा मुसल्मानहरु १५ औँ शताब्दीका राजा रत्‍न मल्लले काश्मीरबाट झिकाएका हुन् ।
त्यो तुर्केली टोपीमा सिल (माछो जस्तै) को छाला ‘सिल स्किन’ (Seal skin) ले मोरिन्थ्यो अरे । टर्कीबाट आएको त्यस टोपीलाई नेपाली उच्चारणले सिलिक्सन (वा सिल्किन) टोपी भन्थ्यो अरे । यो सिल्किन शब्दको रेसमसँग केही साइनो छैन । यसरी नेपाली टोपी तिन बान्कीमा पाइए : कैलास पर्वत जस्तो, ढाकाको र कार्चोपी भरेको । सारांशमा नेपाली टोपी मुसल्मानहरुको प्रभाव रहेछ । लबेदा (लवादा) सुरुवाल (सलवार) पनि नाउँबाटै नेपालीहरुलाई इस्लामिक संस्कृतिको देन हो ।
कमल दीक्षितजीले भर्खरै ‘मजलिस घरबाट’ भन्ने उनकै स्तम्भमा काठमाडौँ उपत्यकामा मुसल्मानहरु काठमाडौँका राजा रत्न मल्ल (१५ औँ शताब्दी) का पालामा काश्मीरबाट झिकाइका हुन् र तिनीहरु तिब्बतको बाटो नेपाल आएका हुन् भन्ने सूचना दिएका छन् । त्यसै लेखमा उनले नेपाली सधवा महिलाहरुले लगाउने चुरा र पोते पनि मुसल्मानहरुकै सांस्कृतिक प्रभाव हो भन्ने कुरो पनि लेखेका छन् । अहिले पनि चुरा र पोतेको व्यवसाय मुसल्मान व्यापारीहरुले नै गर्छन् ।
माथिको सूचना र विश्लेषणका आधारमा नेपाली ढाका टोपीको साइनो बाङ्लादेशको राजधानी ढाकासित जोडिने रहेछ र अनेक ऐतिहासिक घटनासित जोडिएर नेपाली जातिको चिनारीको आधार बन्न पुगेको रहेछ ।

Category: My Papers Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply