खसानको जातभात र प्रागितिहास

By | April 22, 2019

(‘खसानी’ जातभातको खास कुरो’ शीर्षकमा नयाँ पत्रिकामा प्रकाशित, २०७६ वैशाख ७ गते शनि बार)

 

कल्याल महलको ताम्र पत्र (१८०२) मा खसहरु बसोबास गर्ने नेपालको भू भागलाई ‘खसान’ भनिएको छ । यस लेखमा ‘खसान’ शब्दले नेपालको कर्णाली प्रदेशदेखि भारतका उत्तराखण्ड र हिमाचल प्रदेश सम्मको खस जाति बसोबास गरेको भू भाग जनाउँछ । हुन त ‘खस जातिको खास कुरो’ (अन्नपूर्ण, फागुन १३, २०७५) भन्ने लेखमा स्थान नाम, सांस्कृतिक समानता र युरेसिया, चीन तथा दक्षिण एसिया सम्मका ऐतिहासिक प्रमाणका आधारमा ताजिकिस्तानमा पर्ने विश्वको सबभन्दा अग्लो पामिरको माल भूमि वरिपरिको नेपाल, पश्चिम तिब्बतको ताक्लाकोट, सिन्च्याङको ताक्लामकान उपत्यका, किर्घिजिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, पाकिस्तान, काश्मीर, हिमाचल प्रदेश र उत्तराखण्डको हिमाच्छादित भू भागको मानव बस्तीलाई ‘खस मण्डल’ भनेर चिनाएको थिएँ, तर जातभातका आधारमा खस जातिलाई नै अनेक पत्रमा विभाजन गर्ने देश नेपाल र भारत मात्र भएकाले यस लेखको ‘खसान’ शीर्षकले चाहिँ नेपाल र भारतका त्यति क्षेत्रको जातभातलाई मात्र समेटेको छ ।

सप्त सिन्धुदेखि गङ्गाको बेँसी सम्म आर्यहरुले वैदिक साहित्य (इपू० १२ औँ शताब्दीको ‘ऋग्वेद’ को दसौँ मण्डल (९०।१२) र इपू० १० औँ शताब्दीको ‘शुक्ल यजुर्वेद’ को ३१ औँ अध्यायको ‘पुरुष सूक्त’) मा  उल्लेख गरेको चार जातको विभाजनको प्रभाव र सुइँको आर्यहरु नै भए पनि हिमाच्छादित पहाडी भेगमा गाई, भेडा, बाख्रा र घोडा पालेर बसेका खसहरुलाई थिएन, तर सुरुमा वैदिक धर्मले रचेको अनि गुप्त काल (चौथोदेखि छैटौँ शताब्दी) मा पुराणहरुमा व्यापक भएको हिन्दु धर्मको चार जातले भारतीय उपमहाद्वीपका आर्य, अनार्य सबैलाई प्रभाव नपारी छोडेन, त्यसैले खसानका खसहरु पनि वैदिक र हिन्दु धर्मको जात विभाजनको प्रभावबाट मुक्त हुन सकेनन्, तर त्यो जात विभाजन खसानमा चाहिँ बेछन्द्याइलो र अड्बङ्गे देखिन्छ ।

बझाङ (डा० लक्ष्मी पण्डित) मा चाहिँ धामी, रोकाया र कडायत छेत्रीहरु तागाधारी र मतुवाली दुवै पाइन्छन् अरे । दार्चुला (वासुदेव बिस्ट) मा जनै नलगाउने बोहोरा (कुकुडे\कुखुरा काट्ने बोहोरा) को पानी पनि चल्दैन अरे र तिनीहरुलाई घर भित्र पस्न पनि दिँदैनन् अरे । उनीहरुको लोथ्यान र बडालसित मात्र बिहे चल्छ अरे । डँडेल्धुरा (आर० डी० प्रभास चटौत) र बझाङ (डा० लक्ष्मी पण्डित) मा चाहिँ बोहोरा बाहुन पनि हुन्छन् अरे । बैतडीमा चाहिँ बोहोरा जनै लगाउने छेत्री नै छन् अरे ।

बैतडी (आत्माराम भट्ट) मा ठगुन्ना जनै लगाउने छेत्री हुन् अरे, अछाम (डा० हर्क शाही) र बझाङ (डा० लक्ष्मी पण्डित) मा चाहिँ ठगुन्ना मतुवाली हुन् अरे । त्यस्तै डोटी (शान्ति भट्ट) मा साउँद र ऐरले जनै लगाएको देखिन्छ अरे, बैतडी (आत्माराम भट्ट) मा भाट, साउँद (साउन) र राउत (राउट) ले जनै लगाउँदैनन् अरे ।

डँडेल्धुरा (आर० डी० प्रभास) र डोटी (शान्ति भट्ट) मा उपाध्याय बाहुनमा पनि चार राठ भन्दा बार राठ तल्लो जात मानिन्छ अरे, तर चार राठका बाहुनले बार राठलाई छोरी चाहिँ दिन्छन् अरे, बुहारी चाहिँ ल्याउँदैनन् अरे । डँडेल्धुरा (प्रभास) का छेत्रीहरुमा विवाहिता पत्नीले पकाएको भात पनि नखाने चलन छ अरे ।

दार्चुलामा बडु जैसी बाहुन हुन् (वासुदेव बिस्ट) अरे, तर डोटीमा बडु दलितमा पर्छन् अरे (शान्ति भट्ट)। जुम्ला (बालकृष्ण पोखरेल, बिहारी कृष्ण श्रेष्ठ) मा छेत्री मात्र ‘घिउ पोल्ने’ र ‘घिउ खाने’ दुई जातका हुन्छन् अरे, तर बाजुरा (रूपक रोउले) मा बाहुनलाई नै ‘घिउ पोल्ने’ (उपाध्याय) र ‘घिउ खाने’ (पाध्याय) भनेर छुट्याउँछन् अरे ।

बाजुरा (रूपक रोउले) का उपाध्याय पण्डितहरु पहिले राजा थिए अरे, त्यसैले उनीहरु अरु उपाध्याय बाहुनसित बिहेबारी चाहिँ गर्थे अरे, तर छोएको भात चाहिँ खाँदैनथे अरे, आफुलाई ठुला मानेर अरु बाहुनको टिको चाहिँ थाप्थे अरे, तर अरु कसैलाई पनि टिको लगाई दिँदैनथे अरे ।

बाजुरामा बाहुनका तिन जात हुन्छन् अरे । बाजुरामा खत्री बाहुन र हमाल बाहुन पनि हुन्छन् अरे । खत्री बाहुन चाहिँ तेस्रो दर्जाको बाहुनमा पर्छ अरे, हमाल बाहुन चाहिँ दोस्रो दर्जा (जैसी सरह) र तेस्रो दर्जाका हुन्छन् अरे । बाजुरामा ठकुरीहरुमा अरु भन्दा आफैँलाई ठुलो मान्ने चलन छ अरे । खसानमा धेरै तिर ठकुरीहरु छेत्री भन्दा आफुलाई माथ्लो जातका ठान्छन् अरे ।

बाजुरामा छेत्रीहरु थरैले पनि तिन दर्जाका छुट्टिन्छन् अरे । नुवाँघरी थापा पहिलो दर्जाका छेत्रीमा पनि अब्बल दर्जाका मानिन्छन् अरे । त्यहाँ पहिलो दर्जाका छेत्रीमा नुवाँघरे थापा, बुड्थापा, बिस्ट, कार्की, अधिकारी, कुँवर र  बानियाँ आउँछन् अरे, दोस्रो दर्जामा भँडारी, रौले, खँड्का, खाती, बुढाथोकी, बोगटी, ओली, कटुवाल, खडायत, ऐडी, जेठारा, राना र दानी पर्छन् अरे भने, तेस्रो दर्जाका छेत्रीमा चाहिँ बुढा, धामी, राउत, बोहोरा, डँडाल, भाट र साँउद आउँछन् अरे । रूपक रौलेको भनाइ अनुसार बाजुरामा यी तेस्रो दर्जाका छेत्रीहरु दुर्गम ठाउँमा चाहिँ जनै लगाउँदैनन् अरे, तर सुगम ठाउँमा चाहिँ जनै लगाएका भेटिन्छन् अरे । डोल्पा (जय बहादुर डसाल) को एउटा गाउँमा ८० प्रतिशत छेत्री (डसाल, महतारा, साहिला, आदि) जनै नलगाउने नै छन् अरे । हुम्ला (दीपक बुढा) का थपाल्या व्यासी पनि जनै नलगाउने छेत्री नै हुन् । बझाङमा झैँ खसानमा कतै कतै जनै लगाउने र नलगाउने छेत्री बिच बिहेबारी पनि चल्छ अरे ।

सबै भारतीय आर्य समुदायमा झैँ खसानमा पनि परम्परागत प्रविधिज्ञ (टेक्निसियन अथवा इन्जिनियर) जतिलाई दलित बनाइएको पाइन्छ, जस्तै, दार्चुलाका लावड (दलितको पुरेत), लोहार (फलाम), मउर (घर बनाउने), ओड (फलाम, सुन, घर), पार्की (बाँस), चुनारा (ठेकी), दमाईँ (लुगा, बाजा), बादी (नाचगान), भाण (गीत), भुल (छाला), आउजी (बाजा, लुगा), टमट्टा (तामा, सुन, चाँदी) । बाजुरा (रूपक रौले) मा चाहिँ सेराला (ठालुका खेतमा पानी लगाउने), सनाई (सनई बजाउने), कुमाल, कँडारा (माटाका भाँडा) र तिरुवा (तिरो तिर्न नसकेर हली भएको) जातका पनि दलित पाइने रहेछन् । रुकुम, जाजरकोट र सल्यान (मनोहर लामिछाने) मा चाहिँ तामाको काम गर्ने दलितलाई ‘ताम्या’ अथवा ‘ताउल्या’ भन्छन् अरे अनि गाइने अथवा गन्धर्वहरु गीत र कर्खाका लागि प्रसिद्ध छन् अरे । अरु तिर भुल दलित छन् अरे, तर बझाङ (डा० लक्ष्मी पण्डित) मा चाहिँ भुल बाहुन पनि छन् अरे । बझाङमा सूचना प्रसारण गर्ने ओखेडा र सरसफाइ गर्ने च्यामे पनि दलितमै पर्छन् अरे । कालीकोट (धनकृष्ण उपाध्याय) मा कामीहरु पनि मिझार (फलाम), सुनार (सुन), कसारा (काँस), टमोट्टा (तामा), लोहार (फलाम) र ओड (घर) गरी ६ किसिमका, दमाईँहरु दमाईँ (दमाहा), हुड्के (हुड्को) र आउजी (लुगा) गरी तिन किसिमका हुन्छन् अरे ।

लक्ष्मीदत्त जोशी (१९८४ इ) को अनुसन्धान अनुसार खसहरुका समुदायमा हिन्दु वर्णाश्रम धर्मको वैश्य जाति नै पाइँदैन, तर पनि मैदानी भागको भारतीय हिन्दु वर्णाश्रम धर्मसित मिलाउन खसहरुका समुदायमा पनि ठुलो जात (चोखा) र सानो जात (बिटालु) मा वर्गीकरण गरिएको पाइन्छ ।

यसरी खसानमा वैदिक धर्मले चार जात छुट्याउनु भन्दा अगाडिका मतुवाली छेत्री पनि पाइन्छन् अनि अनेक किसिमका प्राविधिक सिप भएका परम्परागत टेक्निसियन र इन्जिनियरहरुलाई नै दलित बनाएर घर र मन्दिरमा पस्न नदिने र पानी काढ्ने प्रवृत्ति पाइन्छ, तर यही समान व्यवहार आधुनिक टेक्निसियनहरुलाई गर्ने गरेको पाइँदैन ।

मानव इतिहासमा मान्छेलाई अनेक जातिमा बाँड्नु त स्वाभाविकै देखिन्छ । त्यस्तै, एउटै जाति पनि अनेक राज्यमा बाँडिएर होड गरेको पनि देखिन्छ । मानव जातिका अमानवीय युद्धहरुले राष्ट्र राष्ट्रका सीमाहरु बनाएर अनेक जातिलाई मात्र होइन, आफ्नै जातिलाई थिचेको र दास बनाइएको पनि देखिन्छ । अस्को पार्पोला (‘द रुट अफ हिन्दुइज्म’, २०१५ इ) को अनुसन्धान अनुसार स्थायी बसोबास गर्ने आर्यहरुलाई यायावर शकहरुले पटकपटक आक्रमण गरेको र कति शकहरुलाई स्थायी बसोबास गर्नेले कमारै बनाएर राखेका हुनाले ‘ऋग्वेद’ मै पनि शकहरुलाई ‘दास’ र ‘दस्यु’ भनेको पाइन्छ । इतिहासमा जित्ने देउता हुन्छ, हार्ने राक्षस मानिन्छ !

मानव इतिहासमा सबै भन्दा पहिले घोडा, भेडा र गाई पाल्नेलाई भारोपेली जाति भन्ने चलन छ । पुरातत्त्वविद्हरुले युराल पहाडको छेउछाउमा कृष्ण सागर र कश्यप सागरको सेरोफेरोलाई त्यस जातिको मूल थलो ठहराएका छन् । आर्य जाति त्यसै भारोपेली जातिको पूर्वी बगाल ठहराइएको छ । आर्यहरुसँग सबभन्दा पछाडि मूल थलाबाट छुट्टिने लिथुआनियालीहरु र त्यस भन्दा अगाडि छुट्ने ग्रिसेलीहरु मानिन्छन् । पुरातत्त्वविद्हरुले कजाखस्तान (आन्द्रोनोभो संस्कृति) लाई इरानी र दक्षिण एसियाली आर्यको साझा संस्कृति बुनिएको ठाउँ मान्दछन् (इलेना कुज्मिना, ‘द ओरिजिन अफ इन्डो इरानियन’, २००७ इ) ।

आर्यहरुकै एउटा बगालले दक्षिण तुर्कमेनिया तिर इपू० १५ औँ शताब्दी तिर ऋग्वेदको रचना गर्न थालेका पुरातात्त्विक दसी भेटिएका छन् (भिक्टर मायर र जेन हिक्मन, ‘रिकन्स्ट्रक्टिङ द सिल्क रोड’, २०१४ इ)। पछि सिन्धु नदीको बेँसीमा वैदिक सभ्यता फस्टायो । इरानमा पसेको आर्यहरुको अर्को एउटा बगाल हो, तर यी दुइटा बगाल बाहेक पुरै युरेसिया, चीन, मङ्गोलिया, सिरिया र ‘खस मण्डल’ का हिमाच्छादित मानव बस्तीहरुमा घोडा चढेर घोडा, गाई, भेडा र बाख्रा चराउँदै हिँड्ने सबै आर्यका बगाल तिनै इरानमा बस्ने र ऋग्वेद लेख्ने भारतीय आर्यहरु मात्र होइनन् । अहिले पनि त्यस हिमाच्छादित भू भागका मानव वस्ती (चित्राल, नुरिस्तान, आदि) मा सहरको मुखै नदेख्ने आर्यहरुका थुप्रै बगाल छन् । खसहरुले आर्यहरुका तिनै बगाल मध्ये एउटा बगालको प्रतिनिधित्व गर्छन् (कुज्मिना, २००७ इ)।

ऋग्वेद लेख्ने आर्यहरुका बगालमा खस र शकहरु सामेलै थिएनन्, त्यसैले वैदिक सामाजिक धर्म अनुसार मानव जातिलाई चार जातमा विभाजन गर्ने ऋग्वेदको ऋचा (‘ब्राह्मणोsस्य मुखमासीत्…’) अनुसार खसहरु त बाहुन, छेत्री र वैश्यमा पर्न सक्ने नै थिएनन्, त्यसैले खसहरुको वैदिक जात विभाजन नहुनु स्वाभाविक हो । यसरी बुझ्दा वैदिक आर्यहरु भन्दा अवैदिक आर्यका बगालहरु धेरै तिर बग्रेल्ती हुने भए । वास्तवमा खसहरु अवैदिक आर्य नै भएका हुनाले गवारियो (१९७६ इ) ले खसानका जनै नलगाउने मतुवाली छेत्रीलाई चाहिँ सक्कली खस मानेका हुन् ।

वैदिक आर्यहरुले नै पनि ब्राह्मण हुनलाई धेरै नियम र अनुशासन पुरा गर्नु पर्थ्यो, त्यसैले ‘जन्मना जायते शूद्रः कर्मणा जायते द्विजः’ (जन्म मात्रले मान्छे शूद्र मात्र हुन्छ, कर्मले मात्र ब्राह्मण हुन्छ) भन्ने उखानै चलेको थियो । क्षत्रिय र वैश्य वास्तवमा जातै नभएर पेसाका आधारका सामाजिक वर्ग मात्र थिए । यस हिसाबले वैदिक आर्यहरुले जन्मने बितिक्कै कसैलाई ब्राह्मणै ठहराउँदैनथे । ब्राह्मण हुन धर्मका निर्धारित नियम, अभ्यास र अनुशासनको अनिवार्य आवश्यकता थियो ।

उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, १७।४, शतपथ ब्राह्मण, १३।४।२।७) हरुमा कसरी अवैदिकलाई वैदिक धर्ममा प्रवेश गराउने भन्ने विधि पनि पाइन्छ, जसलाई ‘व्रात्यस्तोम’ भनिन्छ । त्यस अनुसार रहर गर्ने खसहरुलाई पनि वैदिक जात दिइयो । वैदिक धर्म अनुसार जनै लगाउन पाउने अवैदिक आर्यहरुलाई ‘व्रात्य’ भन्ने चलन थियो । पञ्चविंश ब्राह्मणमा व्रात्यहरुका बेहोरा यस प्रकार छन् : कुरो नबुझ्नेलाई कुट्ने, फेटा (उष्णीष) बाँध्ने, हातमा कोर्रा लिने (प्रतोद), अनौठो धनुष बोक्ने (ज्याह्रोड), कालो लुगा लगाउने, छालाकै पोसाक लगाउने (अजिन), फलेकका घेरा लगाउने (फलकास्तीर्ण), लक्ष्यहीन हुल (व्रात) बाँधेर हिँड्ने, तल्लो जातको सङ्गत गर्ने, थातवासको ठेगान नभएका अर्थात्, यायावर, संस्कृतको अशुद्ध उच्चारण गर्ने, आर्य भएर पनि अनार्यको भाषा बोल्ने, मगध निवासी अर्थात् पुर्बेली भाषिका बोल्ने,  दश संस्काररहित, शूद्र र छेत्रिनी आमाका सन्तान, ब्रह्मचर्य पालन नगर्ने, आदि (पञ्चविंश ब्राह्मण, मोनियर विलियम्स)। यस्ता केही बेहोरा हुने शिवजी र उनका केही भक्त पनि पर्छन्, खसहरु पनि पर्छन् ।

‘मनुस्मृति’ मा खसहरुलाई पनि ‘व्रात्य’ भनिएको छ । अथर्व वेद संहिता (१५।१।४।५) मा त शिवजीलाई पनि ‘व्रात्य’ हरुका नाइके (महादेव) भनिएको पाइन्छ । वैदिक आचरण अक्षरशः नमान्ने भएकाले शिवजीलाई पुराणहरुमा पनि गतिछाडा मानिएको छ । वैदिक अनुशासन नमान्ने हुनाले पार्वतीकी आमाले पनि दक्ष प्रजापतिले पनि शिवजीलाई ‘असभ्य’ ठहराएका छन् । शिवजी आधारभूत रूपमा हरप्पा अथवा भारतीय उपमहाद्वीपका देवता हुन् । कैलास पर्वत शिवजीको आवास भएकाले शिवजीलाई ‘यक्ष’ (‘यक्षस्वरूपाय’) अर्थात्, एट्किन्सन अनुसार ‘खस’ मानिएको छ ।

उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, आदि) हरुमा पाइने ‘व्रात्यस्तोम’ अनुसार वैदिक धर्म लिन निकै ठुलो श्रम र धन खर्च गर्नु पर्थ्यो, त्यसैले धनी मानी, राजा महाराजाहरुले त जनै लगाएर वैदिक धर्म लिँदा फाइदै देखे होलान्, तर खसानका जुन गरिबहरुसित जनै लगाउन चाहिने धन पनि थिएन र जनै लगाउँदा फाइदा पनि थिएन र जनै नलगाउँदा नोक्सानी पनि थिएन, ती खसहरुका काँधमा जनै नै पाइँदैन । यसरी नेपाल र भारतको खसानमा जनै नलगाउने अर्थात् मतुवाली छेत्री जो भेटिन्छन्, गबारियोले भने झैँ, ती चोखा खस हुन् । तिनीहरुले हिमालयका यस भेगमा खसहरुको प्रागितिहासिकताको जीवन्त परिचय दिई रहेका छन् ।

भारतवर्षमा वैदिक धर्मले राजनीतिक शक्तिको पुठ पाए पछि, त्यो धर्मको जोडदार प्रचार प्रसार हुनु स्वाभाविक हो । समाजका ‘ठुलाबडा’ ले जे गर्छन्, लोकले त्यसैको सिको गर्छ । यसरी वैदिक धर्म नमान्ने कोही भेटियो भने, त्यसको उपहास गर्ने प्रवृत्ति हुनु र उछित्तो काढ्नु पनि स्वाभाविक भयो । छान्दोग्य उपनिषद् (१।१०।७-९) मा नजान्नु नै दण्डनीय अपराध मानिने कुरो लेखिएको छ (अस्को पर्पोला, ‘रुट अफ हिन्दुइज्म’, १३९)। उत्तर वैदिक साहित्यमा त्यसको पनि दसी पाइन्छ । मैदानी भागबाट राजनीतिक शरण लिन हिमालय पसेका राजाहरुले वैदिक धर्मको प्रभाव हिमालयमा ल्याए होलान् । यसरी धेरैजसो खसहरु वैदिक धर्मको जात भित्र पसे पनि मतुवाली छेत्रीहरु मिलेनछन् । अरुको धर्मको सिको गर्दा केही ढङ्ग नपुगेको हो कि किन हो, खसान क्षेत्रको जात विभाजनमा मैदानी आँखाले हेर्दा धेरै कुरा अनौठा देखिने रहेछन् ।

मध्य काल पछि गङ्गाको मैदानका हिन्दु समाजमा जसका हातमा प्राविधिक सिप छ (कामी, दमाईँ, सार्की, गाइने), त्यसलाई चाहिँ शूद्र बनाइएको पाइन्छ (दिनकर, १९५६ इ)। त्यस स्थितिको नराम्रो प्रभाव तराई र पहाडका नेपाली समाजमा परे झैँ कर्णाली प्रदेशमा पनि नराम्रो गरी प्रचलित छ ।

ऋग्वेद र यजुर्वेदको ‘पुरुष सूक्त’ मा चार जातको जस्तो विभाजन देखिन्छ, त्यो पेसागत विभाजन मात्र थियो, भात, पानी र बिहेवारी नचल्ने आजको हिन्दु समाजको जस्तो निकृष्ट विभाजन थिएन । त्यसको प्रमाण महाभारतमा अनेक ठाउँमा देखिन्छ :

  • एउटै राजा गाधिका छोरा विश्वामित्र चाहिँ छेत्री र छोरीका छोरा नाति अष्टावक्र चाहिँ बाहुन भएका छन् ।
  • विश्वामित्र आफैँ पनि जन्मिँदा छेत्री थिए; वशिष्ठ ऋषिले बाहुन भइस् भने पछि बाहुन भए ।
  • पराशर ऋषिले माझीकी छोरी सत्यवतीबाट जन्माएका व्यास ऋषि बाहुन भएका छन् ।
  • वासुकि नाग (जन जाति) की बहिनी जरत्कारुको जरत्कारु ऋषिबाट जन्मेका आस्तिक मुनि चाहिँ बाहुन थिए।

नेपालको मुलुकी ऐनले छेत्रिनी, जन जाति, र बिहे नगरेका कन्याबाट जन्मेका बाहुनका छोरालाई बाहुन बनाउन कहिल्यै सक्थ्यो? त्यसैले नेपाल भारतका दलितहरु अन्यायपूर्वक वैदिक सनातन धर्म र हिन्दुहरुका आधारभूत ग्रन्थ (वेद, ब्राह्मण, उपनिषद्, रामायण र महाभारत) मा कतै नभएको कुरो ‘हिन्दु धर्म’ ले निषेध गरेको भनेर मध्यकालीन उत्तर भारतको जातीय स्वार्थबाट विकसित भएको छुवाछुत र समाजबाट मुलुकी ऐन समेतले काढिएका छन् ।

कुमाउँका पुरातत्त्वविद् महेश्वर जोशी (१९८४ इ) को अनुसन्धान अनुसार हिमालयको यस भेगमा त ‘शूद्र’ (डोम) हरु खसहरु भन्दा पनि पहिले आएका आर्य हुन् । महेश्वर जोशी (२०११ इ) ले ‘शूद्रों का ब्राह्मणत्व’ भन्ने शोध ग्रन्थमा के कुरो भनेका छन् भने, ‘ब्राह्मण’ शब्दको आधारभूत अर्थ ‘कर्मकाण्ड गर्न जान्ने’ मात्र हो, त्यसैले गङ्गा र सिन्धुको बेँसीमा विकसित भएको कर्मकाण्डको ज्ञान नहुने मध्य हिमालयका आर्यहरुलाई उनीहरु वैदिक कर्मकाण्ड नजान्ने हुनाले ‘शूद्र’ ठहराइयो । उनले कुमाउँका त्यस्ता ‘शूद्र’ हरुसँग बाहुनको बिहेवारी नहुने र तिनीहरुले छोएको पानी नचल्ने प्रतिबन्ध १९ औँ शताब्दी सम्म थिएन, गोर्खाली फौजले जिते पछि मात्र तिनीहरु अस्पृश्य भए भन्ने कुरो लेखेका छन् ।

जे भए पनि, ‘शूद्र’, ‘अछुत’, ‘पानी नचल्ने’, ‘दलित’ जस्ता मानव जाति भित्रका पक्षपाती र अन्यायी वर्गीकरण वैदिक सनातन र हिन्दु धर्म दुइटैका आधारभूत मानक ग्रन्थसँग मेल नखाने सामाजिक रोग हुन् । तिनीहरुको अन्त्य हुनु पर्छ, त्यसैले नेपालले दलित उत्थान अभियान कार्य क्रमका रूपमा ल्याउनु पर्छ । नेपालीहरु संस्कृत भाषामा भगवानका मुखबाट जसले जे भने पनि पत्याउँछन्, त्यसैले दलितहरुको जातभातको अन्त गर्ने यस अभियानमा नेपाल संस्कृत विश्व विद्यालय, सम्पूर्णानन्द विश्व विद्यालय अथवा पुणें विश्व विद्यालयका संस्कृतका धुरन्धर विद्वान् र अनुसन्धाताको उपयोग गर्नु पर्छ । स्व० योगी नरहरि नाथ जस्ता विद्वान् जोगी, महात्मा र साधु सन्तहरुलाई पनि दलितहरुको सम्मानपूर्ण उत्थान र जातभातको समानताको अभियानमा अघि सार्नु पर्छ ।

इतिहासको मध्य कालमा बिग्रेको जाति विभाजनको रूढि नै नेपाली दलितहरुको छुवाछुत प्रथामा देखिन्छ । भारतमा स्वामी दयानन्द सरस्वती र पूर्वी नेपालमा पण्डित छविलाल पोखरेलले हिन्दु धर्म शास्त्रका मानक ग्रन्थहरुका प्रमाण अघि सारेर दलितहरुको उत्थानमा जुन सामाजिक क्रान्ति ल्याए, त्यसलाई पूर्ण रूपमा समस्त नेपालमा लागु गर्नु पर्ने आवश्यकता छ ।

सिप नभएका दलित नै हुँदैनन् । दलितका परम्परागत सिपहरुसित नेपाली संस्कृति नङमासु भएर मिलेको छ । नेपालमा प्रचलित शिक्षा ‘उल्टो बाटो’ मा चली रहेकाले (हेर्नु ‘उल्टो बाटोमा शिक्षा’, कान्तिपुर, कात्तिक १०, २०७५) नेपाली संस्कृतिका सिक्नु पर्ने कुरा सिकाउने, अभ्यास गराउने र नेपाल र नेपाली चिनाउने कुनै पनि चलन लोप नहुने गरी नयाँ पुस्तामा कसरी शिक्षा र तालिम, अभ्यास, परीक्षा, पुरस्कार र प्रचारद्वारा सार्ने भन्ने कुरामा नेपालको शिक्षा मन्त्रालय संवेदनशील नभएकाले दलितहरु, उनीहरुको सिप र रोजगारसँगै नेपाली संस्कृति र हाम्रो राष्ट्रिय चिनारी दिनानुदिन सङ्कटमा परी रहेका छन् । नेपालको शिक्षा व्यवस्थामा प्रभावकारी रूपमा राष्ट्रिय चेत र दूरदर्शिता उच्चतम प्राथमिकतामा नपरेकाले समग्र नेपाली संस्कृति अहिले दलित र शूद्र झैँ बनाइएको छ ।

शिक्षा मन्त्रालयले हरेक दलितको सिप त्यही जात अथवा अरु जातका सिक्न चाहने विद्यार्थीहरुलाई र विदेशी विद्यार्थीहरुलाई पनि त्यसै गाउँ, ठाउँ, जिल्ला र प्रदेशका मात्र होइन, देशका अन्य प्रदेशका देशभरकै र विदेशका विद्यार्थीहरुलाई तालिम केन्द्र र पाठ्य क्रम बनाएर क्रेडिट कमाउने प्रयोगात्मक तालिम तिनै दलितहरुबाट लिने चाँजो मिलाउन सक्छ । नेपाली लोक संस्कृतिको ठुलो अंश दलितहरुका परिवारमा सीमित भएकाले उच्च सम्मानका साथ त्यसको जगेर्ना, उत्थान, विकास, प्रचार, प्रशिक्षण, प्रदर्शन र बजारीकरण गर्न सरकार सचेत र सक्रिय हुनु पर्छ ।

  • नेपाल भरिकै दलितहरुको उत्थान गर्न प्रथमतः उनीहरुको सिपलाई राज्यले राष्ट्रिय सिपका रूपमा सबै सरकारी कार्यालयमा अनिवार्य रूपले उपयोग गरेर प्रोत्साहन गर्नु पर्छ ।
  • दलितहरुलाई नै प्राथमिकता र टेवा दिएर सबै प्रदेशमा विदेशी र स्वदेशी पाहुनाहरुको सत्कार गर्ने कार्य क्रम चलाउनु पर्छ ।

त्यो सामाजिक सुधार गरेर न्यायिक समानताका आधारमा दलितहरुको वैज्ञानिक र वैधानिक सामाजिक उत्थान नगर्ने हो भने, विदेशी विस्तारवादी धर्महरुले नेपालीहरुका धर्ममा अतिक्रमण गर्ने फटाइँ मुलुकमा कायम रहन्छ । नेपालका कानुनले धर्म परिवर्तन गर्न निषेध गरे पनि थुप्रै विदेशी आइएनजिओ-हरु नेपालको सामाजिक उत्थान गर्ने निहुँ बनाएर गाउँ गाउँमा धर्म परिवर्तन गर्न डलर बाँडी रहेका छन् भन्ने कुरो नेपाल सरकारले किन देख्न सकी रहेको छैन? दलितहरुलाई विदेशी विस्तारवादी धर्ममा दीक्षित गराउने अपराध देशभरमा खुल्लमखुल्ला चली रहेको छ । त्यसमा रोक र कानुन लगाउनु पर्छ ।

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply