नेपालका चन्द्रवंशी राजाहरुको अलिखित इतिहास

By | January 31, 2021

नेपालका चन्द्रवंशी राजाहरुको अलिखित इतिहास

(अन्नपूर्ण पोस्ट, २०७६ साउन ३२ गते शनि बार, फुर्सद, ‘ग’)

डा० माधव प्रसाद पोखरेल

 

  • अत्रि र आत्रेय गोत्र हुने नेपाली राजा प्रजा :

वंशावलीहरु भिडाउँदा अत्रि गोत्र र आत्रेय गोत्र हुने सबै नेपालीहरु अनि ३४ ओटा बाइसी चौबिसी राज्यका ‘चन्द्रवंशी’ राजाहरु एउटै बाबुका सन्तान देखिन्छन् ।

  • ‘सेती अञ्चलको दिग्दर्शन’ भन्ने किताब (पृष्ठ ३०१) मा पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले यी चन्द्रवंशीहरु अनेक जात (बाहुन, छेत्री, खस ठकुरी, नेवार, मगर, सन्यासी, कामी, दमाईँ, सार्की, दराई, राजी, गाइने, माझी, आदि) मा र अनेक थर र अनेक गोत्रमा विभाजित भएका पाइन्छन् भन्ने लेखेका छन् ।
  • डा० राजाराम सुवेदीले लेखेका बाइसी (कर्णाली प्रदेशको मध्यकालीन इतिहास, १३६-१३७) चौबिसी राज्यका इतिहास अनुसार तेत्तिस चौँतिस ओटा बाइसी चौबिसी राज्य (दुल्लु, दैलेख, जुम्ला, खाँडाचक्र, रुकुम, जाजरकोट, सल्यान, गोताम, मुसिकोट, बाँफी, सान्नी, जहारी, अछाम, फलाबाङ, धुलिकोट, झ्याकोट, माल्नेटा, गल्कोट, दार्मा, दाङ, छिल्ली, दुनै, गजुल, थलारा, बझाङ, रास्कोट, डोटी, प्युठान, आदि) का राजाहरु मलय बमका सन्तान देखिन्छन् र एउटै बाबुका सन्तान ती सबैजसो अत्रि र आत्रेय गोत्रमा बाँडिएका पाइन्छन् ।
  • मैले अध्ययन गरेका त्यस्ता चन्द्रवंशी राजाहरुका वंशावलीमा अत्रि र आत्रेय गोत्र हुने छेत्री (बगाले थापा), बाहुन (पानी पोखरेल, गोतामे) का वंशावली भिडाउँदा पनि काशीदास पछाडि दश पुस्ता धेरैजसो खुरुखुरु मिलेको पाएको छु ।
  • मोहन बहादुर मल्ल (‘सिजा इतिहासको डोरेटो’, २०३३: ३६) को विश्लेषण अनुसार देवचन्द्र समाल (१३८४-८६) आदित्य मल्ल (१३५६-८४) का ज्वाइँ काशीदास (१३६४-१३८४) का छोरा, ‘गजेभीम’ (अर्थात्, राजा गगनिराज, १४१७) काशीदासका नाति र मलय बम (१४२९-१४३५) काशीदासका पनाति देखिन आउँछन् अनि बाइसी चौबिसी राज्यका सबैजसो राजाहरु मलय बमका सन्तान देखिन्छन् ।

 

  • चन्द्र वंश, अत्रि गोत्र र आत्रेय गोत्र :

नेपालका वंशावलीहरुमा एउटै व्यक्ति (काशीदास) का सन्तानहरु मध्ये राजाहरुले चाहिँ आफुलाई चन्द्रवंशी (पर्वतका मल्ल राजा, कुमाउँका चन्द), अथवा सोमवंशी, अथवा बुधवंशी (गोपाल राजवंशावली अनुसार जयस्थिति मल्ल, मोहन बहादुर मल्ल, २०३३: ४०-४१) भनेको पाइन्छ भने, अरु छेत्री (बगाले थापा, कालिकोटे खँड्का) बाहुनहरुले चाहिँ आफुलाई अत्रि (गोतामे, खतिवडा, चापागाईँ, ओझा, आदि) अथवा आत्रेयगोत्री (जस्तै, पानी पोखरेल, पौडेल)  मात्र भनेको पाइन्छ ।

  • वंशावली बनाउनेहरुमा आफुलाई पुराणका देउता अथवा ऋषिमुनिका वंशज घोषित गर्ने चलन हुन्छ, त्यसैले प्रमाणित गर्न नसकिने भए पनि काशीदासका नेपाली सन्तानहरुमा पनि यस्तो प्रवृत्ति पाइन्छ ।
  • पुराण अनुसार चन्द्रमा अत्रि ऋषिका जेठा छोरा भएकाले चन्द्रमा अत्रि गोत्रका आत्रेय हुन् । यसै कारणले आफुलाई अत्रि गोत्र भन्नेहरु पनि अत्रि ऋषि त होइनन् नि, त्यसैले ‘आत्रेय’ (अर्थात्, अत्रिका सन्तान) नै हुन् । यसैले चन्द्रवंशी भन्नु, आत्रेय भन्नु र अत्रि गोत्रको भन्नु एउटै कुरो हो ।
  • यस प्रमाणका आधारमा एउटै बाबु (काशीदास) का सन्तानले आफुलाई आत्रेय गोत्र हुने र अत्रि गोत्र हुने भनेर दुवै किसिमले चिनाएको पाइन्छ ।
  • देउता र ऋषिसित आफ्नो वंश जोड्ने यस्तो मोहले गर्दा वंशावलीहरुमा रमाइलो के पाइन्छ भने काशीदासकै वंशज अरु राजाहरुले आफुलाई चन्द्रवंशी घोषित गरे पनि जाजरकोटे राजा (विश्वनाथ भट्टराई, २०३१) हरुले चाहिँ आफुलाई सूर्यवंशी घोषित गरेको पाइन्छ ।

 

  • कन्नौजसँग चन्द्रवंशी राजाहरुको साइनो :

नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने बाहुन छेत्री र चन्द्रवंशी राजाहरुको वंशावली कन्नौज (कान्यकुब्ज) सँग जोडिन्छ । भारतको उत्तर प्रदेश राज्यमा गङ्गा किनारमा पर्ने कन्नौज नैमिषारण्य (नेमसर) नजिकैको प्राचीन सहर हो ।

  • मुसलमानहरुको आक्रमण (मु० गजनी १०१८-१९ इ०, मु० गोरी ११९४, अलाउद्दिन खिल्जी १३०३) भन्दा अगाडि पनि बङ्गालका पालहरु (आठौँ-नवौँ शताब्दी) ले, आफुलाई सूर्यवंशी घोषित गर्ने गुर्जर प्रतिहारवंशी राजाहरुले अनि चन्द्रवंशी ‘राष्ट्रकूट’, ‘राठौड’, ‘राइठोर’ अथवा ‘गाहडवाल’ (१२ औँ शताब्दी) राजपुतहरुले कन्नौजमा आफ्नो आधिपत्य जमाए ।
  • एघारौँ शताब्दीमा मु० गजनीले कन्नौजबाट गुर्जर प्रतिहारवंशी राजाहरुलाई धपाए, १२ औँ शताब्दी (११९४ इ०) मा मु० गोरीले गाहडवाल वंशको अन्त्य गरे भने १४ औँ शताब्दी (१३०३ इ०) मा अलाउद्दिन खिल्जीले काशीदास पाध्याका बाबु मठिमल्ल राइठोरलाई मारे (सच्चिदानन्द भट्टाचार्य, ‘भारतीय इतिहास कोश’, १९६७ इ०)।
  • कन्नौज हत्याउने सूर्यवंशी गुर्जर प्रतिहारहरु पनि, चन्द्रवंशी गाहडवाल राइठोरहरु पनि जब जब कन्नौजबाट विस्थापित भएछन्, तब तब मानसरोवर जाने बाटो समातेर दुल्लु र जुम्ला हुँदै पश्चिम तिब्बत पुगेछन् भन्ने अड्कल गर्न सकिन्छ, किन भने सूर्यवंशी गुर्जर प्रतिहारहरुको थर पनि अन्त तिर पाल भई सकेको थियो । जुम्लाका राजा पुण्य मल्ल पनि जन्मिँदा सूर्यवंशी पाल नै थिए ।
  • मु० गजनीले हराए पनि कन्नौजबाट गुर्जर प्रतिहारहरुलाई गाहडवालवंशी राठोडहरुले विस्थापित गरे । त्यस्तै, मु० गोरीले चन्द्रवंशी गाहडवालका शासक जयचन्द्रलाई मारे पनि १४ औँ शताब्दीमा अलाउद्दिन खिल्जीले मठिमल राठोडलाई मारेर राठोडहरुलाई ‘शर्मा पाध्य’ थर लिन बाध्य बनाए पछि ती सबै मानसरोवर जाने बाटो समातेर जुम्ला नै पुगेछन् भन्ने देखिन्छ ।
  • ठिक्क एघारौँ शताब्दीको मध्य तिर पश्चिम तिब्बतमा लाङ्दार्माका सन्तानहरुबाट ‘पाल’ थर भएका भारतीय शासकहरुले शासन हत्याउँछन् (जिउसेप्पे टुची, ‘नेपाल : द डिस्कभरी अफ द मल्ल’, १९६० इ०)। सम्भवतः ती शासकहरु मु० गजनीले हराएका गुर्जर प्रतिहारवंशी राजा नै थिए ।
  • त्यस्तै १२ औँ शताब्दी र १४ औँ शताब्दीमा क्रमशः मु० गोरी र अलाउद्दिन खिल्जीबाट युद्ध हारेका चन्द्रवंशी राजपुतहरु पनि सम्भवतः पृथ्वी मल्लको शेष पछि बाइसी चौबिसी राज्य हत्याउन सफल भएछन् भन्ने अड्कल गर्न सकिन्छ (डा० रामनिवास पाण्डेय, ‘मेकिङ अफ मोडर्न नेपाल’, १९९७ इ०)।

 

  • पानी पोखरेलको वंशावलीका सूचना :

आत्रेय गोत्र हुने पानी पोखरेलका वंशावली (कृष्णचन्द्र पोखरेल, २०४२) को परिशिष्ट (पृष्ठ ६५४) मा के लेखिएको छ भने,

  • पानी पोखरेलका पुर्खा काशीदास जोशीका कुल देवता मस्ट थिए,
  • काशीदासले सबै विद्या (षट् शास्त्र) पढेका थिए, जस मध्ये ‘भास्वती’ भन्ने ज्योतिष ग्रन्थ पनि पर्थ्यो,
  • काशीदास गङ्गा किनारको कन्नौज र हरियाणाका बाहुन थिए ।
  • कन्नौजबाट काशीदास म्लेच्छहरुका पिरले दुल्लेश्वर (दुल्लु) आए ।
  • दुल्लेश्वर (दुल्लुका राजा) ले काशीदासलाई बोलाएर सम्मान दिए । काशीदासले राजाका अगाडि केही चमत्कार गरेर देखाई दिए : (अ) उनले ज्वाला प्रकट गराई दिए । उनको त्यो चमत्कार देखेर राजाले उनलाई प्रतिष्ठा दिए अनि दुइटा पोखरी खनाए । काशीदासले ती दुइटा पोखरी मध्ये एउटालाई दुधले, अर्कालाई पानीले भरी दिए । (ज) त्यो चमत्कार देखेर राजाले उनलाई ‘पोखर्‍याल’ थर दिए ।
  • वंशावलीमा काशीदासबाट उनका सन्तान दरसन्तानको १३ पुस्ते नामावली (कासीदास, विसनदास, देउदास, ब्रह्मदास, देवाकर, स्यवाकर १, श्रीकर, इन्दीकर, उदयानन्द, भास्कर, स्यवाकर २, रघुनन्दन, निबु) आउँछ । पानी पोखरेलको वंशावलीमा देखिने काशीदास पछाडिका दश पुस्ता सम्म पाइने यी नामहरु नेपालका चन्द्रवंशी राजाहरुका धेरैजसो वंशावलीसँग खुरुखुरु मिल्छन् ।
  • पानी पोखरेलको वंशावलीमा नै के देखिन्छ भने अत्रि गोत्र हुने गोतामेहरु, आत्रेय गोत्र हुने पोखरेलहरु र समाल ठकुरीहरु काशीदासका सन्तान ‘निबु’ नाम गरेका एउटै व्यक्तिका चार ओटा छोरा (चेला) रहेछन्, जस्तै, (अ) जेठा गोलस्यका सन्तान समाल ठकुरी भए, (आ) माइला छोरा कबेडीका सन्तान गोतामे भए, (इ) साइँला छोरा सैगुणका सन्तान पोखरेल भए भने, (ई) कान्छा केदारुका सन्तान मारुल्याका दुलाल भए।
  • साइँला सैगुणको नाउँ ‘चाभा’ र ‘केलु’ पनि देखिन्छ । लाभु (खोलो?) पार बस्ने यिनका सन्तान ‘लाभुल्याल’ भनिन्छन् भने, पहरी गाउँमा बस्ने तिनका सन्तान ‘पहाडी’ भनिन्छन् । सैगुणका जेठा छोराको नाउँ ‘मभी’ थियो, माइला छोराको नाउँ ‘चाचल्या’ थियो भने, साइँलाको नाउँ चाहिँ जगतानन्द थियो । कान्छा छोराको नाउँ लेखिएको छैन ।
  • पानी पोखरेलको वंशावलीमा लेखिए झैँ सबै चन्द्रवंशी राजाहरुका पनि कुल देवता मस्ट हुन् ।
  • चन्द्रवंशी राजा लगायत अत्रि र आत्रेय गोत्र हुने सबै नेपालीहरुका पुर्खा काशीदास षट्शास्त्र जान्ने ज्योतिषी रहेछन् । वाणीविलास ज्योतिर्विद्ले पनि लेखेका छन्, ‘काशीदास इति प्रभाकरसुतः षट्शास्त्रवेत्ता सुधीः (प्रभाकरका छोरा काशीदास षट्शास्त्र जान्ने थिए) । कर्णाली प्रदेश सरकारको योजना आयोगका उपाध्यक्ष डा० पुण्य प्रसाद रेग्मी दैलेखका प्रसिद्ध ज्योतिषी धर्मराज रेग्मीका छोरा हुन् । उनका घरमा काशीदास जोशीले लेखेको ज्योतिषको ‘रत्नकोश’ भन्ने पुरानो ग्रन्थ पाइएको छ । पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले पनि एउटा अप्रकाशित ग्रन्थमा दैलेखमा धर्मराज रेग्मीका घरमा त्यो ‘रत्नकोश’ आफुले केही अंश पढेको सूचना दिएका छन् । डा० रेग्मीले मलाई त्यस ग्रन्थका केही पृष्ठ पठाई दिएका छन् । यसबाट काशीदास जोशी ज्योतिषी रहेछन् भन्ने कुरो प्रमाणित हुन्छ ।

 

  • इतिहासका थप प्रमाण :
  • ओंकार प्रसाद गौचन (२०२६) के लेख्छन् भने, जुम्लाका राजाले आफ्नी छोरी काशीदास पाध्यालाई दिए र दाइजोमा उनलाई ठाकुरजी लेकको दक्षिण सम्म फैलेको फाँटको शासक बनाई दिए अनि ज्वाइँलाई खुसी पार्दै के भने भने, नाति जन्म्यो भने, म उसलाई राजा नै बनाई दिन्छु । केही समय पछि जन्मेको नातिको नाउँ ‘देवचन्द्र’ (इतिहास प्रकाश, २.३: २३७-२९९), ‘देवदास’ (इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह, ६०९-६११) वा ‘देवसिंह’ राखियो । वचन अनुसार राजाले देवदासलाई गण्डकी र सेती नदी बिच उत्तरमा ठाकुरजी लेक र दक्षिणमा चुरे पहाड सम्मको भूभागको राजा बनाई दिए (इतिहास प्रकाश २.३: ३८७-३९९)। फलतः राजस्थानको राजवंश इतिहासमा पहिलो पल्ट पहाडी प्रदेशको राजा हुन पाएकाले तिनीहरुलाई मानिसहरुले ‘पहाडी राया’ पनि भन्दथे (पृ० २२१)। यसरी काशीदास, रत्नसिंह वा रत्नज्योतिले नेपाल पसेर थोरै समयमा अनेक चमत्कार र चिताई नसक्नु उन्नति गरेकाले मानिसहरुले उनलाई ‘जालन्धरी’ राजा अथवा ‘औतारी राजा’ भन्ने नाउँ राखे (इतिहास प्रकाश १.१: ६९-११९)।
  • ओंकार प्रसाद गौचन (पर्वते मल्ल राजाहरुको वंशावली, २०२६) के पनि लेख्छन् भने, दिल्लीका बादशाहले नै उनीहरुलाई राइठोर पदवी दिएका थिए । वास्तवमा ‘राइठोर’ थर ‘राष्ट्रकूट’ बाट अपभ्रंश भए जस्तो छ । काशीदासले त्यो पदवी छोडेर आफ्नो बाहुन थर ‘शर्मा पाध्य’ राखे अनि एउटी आचार्य बाहुनकी छोरी बिहे गरेर बाटो लागे ।
  • राजा गगनिराज, मलय बम र डिम्ब पनि काप्रियकै सन्तान हुन् (ओंकार प्रसाद गौचन, २०२६)।
  • धनवज्र वज्राचार्य (२०२८) ले ‘कर्नाली प्रदेशको ऐतिहासिक रूपरेखा’ भन्ने लेखमा काशीदास जोशी नेपाल पस्ता जुम्लामा आनन्द मल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासलाई स्वागत गर्ने तिनै दुइटा राजा मध्ये एउटा हुनु पर्छ भन्ने विचार राखेका छन् ।
  • वंशावली अनुसार काशीदासका एउटा वंशजको नाम ‘निमु’ (पन्ध्रौँ शताब्दीका पर्वतका राजा ‘डिम्ब’, रामनिवास पाण्डेय) छ र उनका एउटा छोराको नाउँ ‘काप्रिय’ छ । ओंकार प्रसाद गौचन (२०२६) को सूचना अनुसार काप्रियले तिब्बतका बादशाहबाट ‘शाही’ थर पाएर उनी ‘काप्रिय शाही’ भए । मोहन बहादुर मल्ल (२०३१) का विचारमा चाहिँ काप्रियले ‘शाही’ पद पृथ्वी मल्लबाट पाएका हुन् ।
  • मोहन बहादुर मल्ल (सिंजा इतिहासको डोरेटो, २०३३: ३७-३८) चाहिँ के लेख्छन् भने, काशीदास मानसरोवर जान भनेर जुम्ला आई पुग्दा पूर्वी जुम्लामा चाहिँ आदित्य मल्ल (जाव पाल) राज्य गर्थे भने, पश्चिमी जुम्लामा चाहिँ उनका छोरा पुण्य मल्ल राज्य गर्थे, जसले प्रताप मल्लकी राजकुमारी शकुनमालालाई बिहे गरेर ससुरालीको मल्ल थर लिएका थिए । मोहन बहादुर मल्लका विचारमा काशीदासलाई छोरी (हरमता) दिने राजा आदित्य (आजित) मल्ल नै हुन्, जसले काठमाडौँ उपत्यकामा आक्रमण गरेको कुरो ‘गोपाल राजवंशावली’ मा लेखिएको छ । आदित्य मल्लले नै काठमाडौँ उपत्यका आक्रमण गरेर जुम्ला फर्के पछि आफ्ना नाति देवचन्द्र समाललाई सामाचौरका राजा बनाई दिएका हुन् । आदित्य मल्ल पनि रिपु मल्ल पनि अशोक चल्लकै बेग्ला बेग्लै छोरा (जितारि मल्ल, १३३५ र आनन्द मल्ल) तिरका नाति हुन्।
  • डा० रामनिवास पाण्डेय (१९९७ इ०) ले ‘मेकिङ अफ मोडर्न नेपाल’ भन्ने आफ्नो पिएचडीको प्रकाशित शोध प्रबन्धमा काशीदास जोशीका विषयमा धेरै महत्त्व पूर्ण सूचना दिएका छन्, जस्तै :
  • काशीदासका पुर्खा लक्ष्मीचन्द्र दिल्लीका सुल्तानले समस्त उत्तर भारत जितेका वेलामा भागेर कन्नौजमा ‘समाल’ हरुकहाँ लुकेका थिए । उनका छोरा मित्रसेनले त ‘समाल’ थर नै लिएका थिए (पृ० २१७) । यो सूचनाका आधारमा समाल थर कन्नौज तिरै प्रचलित रहेछ भन्ने बुझिन्छ ।
  • जर्ज टडले राजस्थानको इतिहास (एनल्स एन्ड एन्टिक्विटिज अफ राजस्थान, १९५० इ०) मा लेखे अनुसार १३०३ इ० मा अलाउद्दिन खिल्जीले जयमल फत्तालाई दिल्लीमा आक्रमण गरेकाले उनलाई सहयोग दिन कन्नौजका अन्तिम राजा मठिमल राइठोड गए, तर आफुलाई आक्रमण गरेको बदला लिन अलाउद्दिनले राईठोर थरकै उन्मूलन गर्ने निर्णय गरेकाले उनका युवराज काशीदास (रत्नसिंह अथवा रत्नज्योति) ले आफ्नो थर राइठोरबाट बदले अनि आफुलाई ‘देव शर्मा पाध्य’ (काका देवदत्त राइठोर) को वंशज घोषित गरेर ‘शर्मा पाध्य’ थर लिई एक हुल साथमा लिएर नै हिमालय तिर लागे भन्ने लेखेका छन् (पृ० २२०) ।
  • सुदूर पश्चिम र पश्चिम तिरका धेरै लोक साहित्यमा पनि काशीदासको प्रसङ्ग आउँछ । जुम्ला र दुल्लुका वंशावली (इतिहास प्रकाश १.१: ६९-११९) हरुमा काशीदासकी रानी कालिकालाई स्थानीय जनताले देवीकै रूपमा मान्दछन् र मन्दिरमै पूजा गर्छन् (पृ० ३२३)।
  • पानी पोखरेलको वंशावलीमा काशीदासका एउटा सन्तान तिब्बतका राजा भए भन्ने पनि लेखिएको छ । त्यसको प्रमाणका लागि सत्यमोहन जोशी (कर्णाली लोक संस्कृति, खण्ड १, पृ० १४) यस्तो लेख्छन्, “सिजा खोला उपत्यकाबाट पनि कर्णालीको हाराहारी हुँदै उँभो लागेका सिंजालहरु (अरुहरु पनि) जाड (भोटे) हरुको रहनसहन र भाषा अपनाई जाडले झैँ नै बसोवास गरी बसेको पनि विदित हुन्छ । जन कथन अनुसार, जाडका संस्कृति र आकृतिले ढालिसकेका एक थरी मानिसहरु अझै पनि आफूहरुलाई ‘हामी ठकुरी हौँ’ भनी टोपल्ने गर्छन् ।”

 

  • निष्कर्ष :
  • यसरी नेपालका चन्द्रवंशी राजाहरुको वंशावली र धेरै छेत्री बाहुनको वंशावली कसरी मिल्छ भने, तिनीहरु एउटै बाबुका सन्तान हुन् भन्ने प्रस्ट देखिन्छ ।
  • अत्रि र आत्रेय गोत्र हुने यी चन्द्रवंशी राजाहरु र अनेक जात र थरका नेपालीहरु भारतको कन्नौजमा १२-१४ औँ शताब्दीमा शासन गर्ने ‘गाहडवाल’ अथवा ‘राठोड’, ‘राइठोर’ थर हुने शासकहरुका सन्तान देखिन्छन् ।
  • कन्नौजका शासकहरु त्यहाँ ११ औँ शताब्दीदेखि १४ औँ शताब्दी सम्म आक्रमण गर्ने मुसलमान शासकहरुबाट आजित भएर आफ्नो जिउ, धन र धर्म रक्षा गर्न मानसरोवर जाने बाटो पक्रेर कर्णाली नदीको गड्तिर समाएर दुल्लु, जुम्ला र पश्चिम तिब्बत पुगेर शक्तिशाली भएका रहेछन् ।
  • कन्नौजका यी राजपुतहरु खस जाति चाहिँ होइनन्, टडले तिनीहरुलाई खसका गोती शक जाति भनेर चिनाएका छन्, तर तिनीहरु अनादि कालदेखि पामिर, हिन्दुकुश र हिमालयको पश्चिमी भेगमा प्राग्वैदिक कालदेखि आफ्नो छुट्टै सांस्कृतिक चिनारी जोगाएर बसेका खस (र अरु ) जातिका शासक भएर कसरी नङमासु मिले झैँ मिलेर बसे भने, उनीहरु नै खस राजा भन्ने नामले प्रसिद्ध भए ।
  • माथि उल्लेख गरिएका अत्रि र आत्रेय गोत्र हुने चन्द्रवंशी राजाहरुका सूचनाले अनेक प्रश्नहरु उमार्छन्, ती प्रश्नहरुको चित्त बुझ्दो उत्तर खोज्न अनेक पक्षमा अनुसन्धान गर्नु आवश्यक छ ।

Leave a Reply