श्रीमती विष्णु देवी श्रेष्ठ सुब्बा रत्न प्रसाद श्रेष्ठकी छोरी हुनु हुन्छ । धरानको सामाजिक विकासमा उहाँका परिवारको ठूलो हात छ । सुब्बा रत्न प्रसादको नाम मैले सबभन्दा पहिले दन्तकाली मन्दिरको ढोकैमा ओच्छ्याइएका सङ्गमर्मरमा देखेको थिएँ । पिण्डेश्वर मन्दिरमा पनि उहाँले सङ्गमर्मर ठोके जस्तो लाग्छ । धरान पुरानो बजारको सडकमा माथिदेखि तल सम्म उहाँले ढुङ्गा छपाउनु भएको थियो । अहिलेको पिचरोडले उहाँको ऐतिहासिक योगदान पनि उक्काएर फालेको हुनाले धरानको नयाँ पुस्तालाई त्यस बारे कुनै हेक्का नहुनु स्वाभाविक छ । जुन घरमा विष्णु देवी श्रेष्ठ जन्मिनु भयो, त्यस घरसँग मेरी आमाको अत्यन्त आत्मीय साइनो थियो अरे । त्यसको कारण के थियो भने, मेरी आमा आदौरत्न दाहालकी कान्छी छोरी हुनु हुन्छ । भोजपुरको जरायो टार पुर्ख्यौली थलो हुने आदौरत्न दाहाल धरानका नेवारहरूका पुरोहित हुनुहुन्थ्यो ।
विष्णु देवी श्रेष्ठका दाजु काली प्रसाद श्रेष्ठको पनि धरानको शिक्षा विकासमा निकै ठूलो योगदान छ । उहाँले नै महेन्द्र कलेज (वा महेन्द्र क्याम्पस) लाई जग्गा दिनु भएको हो, त्यसैले म जस्ता धरान महेन्द्र कलेजका विद्यार्थीहरू उहाँका सधैँ ऋणी छौँ । काली प्रसाद श्रेष्ठको नाम पनि मैले दन्तकाली मन्दिरको सङ्गमर्मरमा पढेको थिएँ । छोराहरूलाई जत्तिको छोरीलाई मान्यता नदिने परम्परागत नेपाली पक्षपाती संस्कारले गर्दा त्यहाँ रत्न प्रसाद सुब्बाका विष्णु देवी र नारायण देवी जस्ता छोरीहरूको नाम भए जस्तो लाग्दैन । धान कुट्ने, पीठो पिस्ने र तेल पेल्ने मिल खोलेर पनि काली प्रसाद श्रेष्ठले धरानका जनताको सेवा गर्नु भएको थियो । भागवत काजी र गोपाल कायस्थ जस्ता उहाँका भाइहरूको पनि धरानका सामाजिक विकासमा उल्लेखनीय योगदान छ ।
विष्णु देवी श्रेष्ठकी बहिनी नारायणी श्रेष्ठ मेरा गुरु महेन्द्र मोहन पलिखेकी श्रीमती भएकाले मेरी गुरु आमा पर्नु हुन्छ, तर उहाँहरूका छोरा छोरीसँग मेरो आत्मीय साइनो भए पनि र मेरी आमासित उहाँहरूको नजिकैको साइनो भए पनि उहाँहरू दुवै जनासित मेरो प्रत्यक्ष परिचय म धरानमै हुँदा पनि कहिल्यै भएन, तर म उहाँहरूलाई टाढैबाट चिन्दथेँ ।
विष्णु देवी श्रेष्ठका ससुरा कृष्णमान श्रेष्ठको परिवार पनि धरानको सामाजिक विकासमा निकै सक्रिय देखिन्छ । कृष्णमान श्रेष्ठले नै अहिलेको तीन धारेमा धारा लगाउनु भएको हो । अहिले सम्म पनि त्यसै परिवारले तीन धारेको जीर्णोद्धार गरिरहेको छ । पछिल्लो पल्टको जीर्णोद्धार पनि त्यसै परिवारका इन्जिनियर वेणु गोविन्द श्रेष्ठले गर्नु भएको हो । विष्णु देवी श्रेष्ठका श्रीमानलाई मैले देखिन, त्यसैले मलाई उहाँको नाउँ पनि थाह छैन, उहाँको सामाजिक योगदान केही भएको थाह पनि छैन । त्यसै कुलका भागवत गोविन्द श्रेष्ठको योगदान भने धरानको सामाजिक र शैक्षिक विकासमा उल्लेखनीय छ ।
विष्णु देवी श्रेष्ठकी भाइ बुहारी (गोपाल काजीकी श्रीमती) सरला कायस्थले पनि नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका रूपमा सुनसरी जिल्लाकै महिला नेतृत्व लामो समय सम्म सम्हाल्नु भएको प्रत्यक्ष इतिहास छ ।
विष्णु देवी श्रेष्ठका छोरा श्याम गोविन्द श्रेष्ठ धरान नगर पञ्चायतका उपप्रधान पञ्च सम्म भएको मलाई थाह छ । उहाँ मेरा पिताजी गङ्गाधर पोखरेलका चेला पनि हुनु हुन्छ । त्यस साइनाले उहाँ मेरो गुरु दाइ पर्नु हुन्छ । भलादमीपनका साक्षात् प्रतिमूर्ति श्याम गोविन्द दाइले विभिन्न राजनीतिक र सामाजिक दायित्व लिएर धरानको सेवा गर्नु भएको छ ।
धरानको शिक्षा विकासमा विष्णु देवीकी सम्धिनी अर्थात् श्याम गोविन्द दाइकी सासू शारदा देवी श्रेष्ठको नाम पनि अद्वितीय रूपमा जोडिएको छ । धरानको शारदा बालिका विद्यालयले उहाँकै नाममा ‘शारदा’ नाम पाएको हो । शारदा देवी श्रेष्ठ कमै उमेरमा देहान्त भएकाले उहाँकी आमा (काइँली साहुनी) ले शारदा बालिका विद्यालय खोल्नलाई धरान सिंहदेवीको जग्गा दिनु भएको हो । संयोग कस्तो परेको थियो भने, शारदा बालिकाको स्वीकृतिका लागि प्रस्ताव लिएर जाँदा सम्बन्धित हाकिम पनि शारदा शमसेर नै थिए अरे र उनकै पालामा प्रस्तावित भएकाले उनकै नामबाट त्यो विद्यालय खोल्न लागिएको भ्रम उनलाई पर्न गएको थियो भन्ने पनि किंवदन्ती छ । राणा शासनमा जनताका नामबाट कुनै संस्थाको नाम राख्न नपाइने अड्को फुकाउन विद्याकी देवी शारदा (सरस्वती) का नाममा त्यो विद्यालयको नाम राख्न खोजिएको तर्क बलियो भएको थियो अरे । यथार्थमा चाहिँ त्यो विद्यालयको नाउँ विद्यालय खोल्ने जग्गा दिएकाले विष्णु देवीकी सम्धिनी शारदा देवी श्रेष्ठका नाउँमा राखिएको हो ।
विष्णु देवीकी बुहारी (अर्थात् श्याम गोविन्द दाइकी धर्म पत्नी र शारदा देवी श्रेष्ठकी छोरी) रेवा श्रेष्ठको पनि धरानको सामाजिक विकासमा उल्लेखनीय योगदान छ । नेपाल परिवार नियोजन सङ्घ जस्ता अनेक सामाजिक संस्थाहरूमा सक्रिय भएर उहाँले धरानको सेवा गरिरहनु भएको छ ।
धरानका धेरै सामाजिक संस्थामा विष्णु देवी श्रेष्ठको संलग्नता थियो र अहिले पनि होला भन्ने ठान्दछु । राणा शासनमा उहाँको सामाजिक व्यक्तित्वसँग म त्यति परिचित छैन, तर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी बने पछि, विष्णु देवी श्रेष्ठ धरानमा वामपन्थी महिला सङ्घकी सक्रिय सदस्य हुनुहुन्थ्यो ।
मेरा मावलका हजुरबा आदौरत्न दाहालका ७ बहिनी छोरी र ४ भाइ छोरा थिए । मेरी आमा (कृष्णा देवी) सबै भन्दा कान्छी हुनु हुन्छ । जेठी ठूल्यामा (जानकी देवी बराल) को घर सिंह देवी मन्दिर नजिकै थियो । छविलाल खनाल र सुशील खनालकी आमा साइँली ठूल्यामा (होमा देवी), सूर्य प्रसाद उपाध्याय र पिङ्गला नेउपानेकी आमा अन्तरी ठूल्यामा (सावित्री देवी) हुनु हुन्थ्यो । मेरी जन्तरी ठूल्यामाकी छोरी शकुन्तला दिदीको बिहे थुप्रै छोराछोरीका बाबु र श्रीमती पनि भएका उमेरले धेरै पाका नारायण प्रसाद गौतमसँग भएको थियो । सामाजिक दृष्टिले त्यो बिहे धेरै अन्याय पूर्ण थियो । नारायण प्रसाद गौतम (भिनाजु) शालिग्राम पोखरेल (दाजु) का जेठान हुनु हुन्थ्यो । मेरी जन्तरी ठूल्यामा धेरै वर्ष सम्म रोगले थलिनु भएको थियो, त्यसैले मर्नु भन्दा अगाडि आफ्नी १२ वर्षको उमेरकी शकुन्तला छोरीलाई कन्या दान गरेर स्वर्ग जाने योजना उहाँले बनाउनु भएछ । ठूलाबा (बालकृष्ण पोखरेल) चाहिँ घर व्यवहार त्यति सम्हाल्न नजान्ने र मन पनि नगर्ने हुनु हुन्थ्यो, त्यसैले जन्तरी ठूल्यामाले त्यो इच्छा आफ्नै भतिजा शालिग्राम पोखरेल दाइलाई सुनाउनु भएछ अनि शालिग्राम दाइले चाहिँ आफ्नै बूढा जेठानसँग आफ्नै काकाकी छोरी शकुन्तला दिदीलाई सौता र धेरै सौतिने छोराछोरी माथि मागिदिनु भएछ । नारायण प्रसाद भिनाजु धनी चाहिँ हुनु हुन्थ्यो । खालि आमाको रोग र बेहुलाको पैसा मात्र हेरेर त्यो अनमेल बिहेको योजना काकी भतिजाले गरेका रहेछन् । बिहेको दिन विष्णु देवी श्रेष्ठ आफ्नो वामपन्थी महिला सङ्घको जुलुस लिएर त्यो बिहे रद्द गराउन पुग्नु भएको रहेछ ।
मेरी शकुन्तला दिदी सन्तोषी र सन्त जस्ती हुनु हुन्छ । उहाँले जीवनमा धेरै दु:ख पाउनु भयो, तर आमालाई पिर पर्ला भनेर आफ्नो दु:ख उहाँले कहिल्यै कसैलाई सुनाउनु भएन । सौता र सौतिने छोराछोरीसँग त उहाँले धेरै समय सम्म बस्नु परेन होला, तर उमेर नमिल्ने बूढासँग दाम्पत्य जीवन बिताउन बाध्य हुने कुण्ठाबाट उहाँ कति पिरोलिनु भयो होला, त्यसको अड्कल मात्र गर्न सकिन्छ । उमेर नमिल्ने दम्पत्तिको रुचि र प्राथमिकतामा कति हो कति फरक पर्छ । आफ्ना सबै रहरहरूको उहाँले कसरी एक एक गरी वलिदान दिनु पर्यो होला ! भिनाजु सोर्गे भएको एक दशक त पक्कै नाघ्यो होला । अहिले शकुन्तला दिदी एक्लै डुलेर सन्तोक गरिरहनु भएको छ । अनमेल बिहे भएका संसारभरका केटीहरूको कथा सुन्दा र सिनेमामा देख्ता म मेरी शकुन्तला दिदीलाई सम्झिन्छु । शकुन्तला दिदीको दु:ख सम्झेर मन भरी हुँदै मेरा आँखा रसिला भएका वेलामा म सधैँ के कल्पना गर्छु भने, श्रीमती विष्णु देवी श्रेष्ठले नेतृत्व गरेको नेपाल महिला सङ्घ त्यो दिन बिहे रद्द गर्न सफल भइदिएको भए कस्तो राम्रो हुन्थ्यो !