डा. शिव प्रसाद पौड्यालले सङ्कलन र सम्पादन गरेको ‘नेपाली टुक्का कोश ‘ नेपाली टुक्काको अनुसन्धानमा उल्लेखनीय कृति किन हो भने, डा. पौड्यालले नेपाली उखानको महत्त्व पूर्ण अनुसन्धान गरे बापत नै त्रिभुवन विश्व विद्यालयबाट २०६२ सालमा विद्या वारिधिको पगरी गुतेका हुन् । त्यस बाहेक नेपाली लोकोक्तिमा उनले ‘नेपाली गाउँ खाने कथा’ (२०६१) र टुक्कामा पनि अनुसन्धानात्मक ग्रन्थ प्रकाशित (२०६१) गरी सकेका छन् । नेपाली उखानको अनुसन्धानमा डा. पौडेलले अद्वितीय ठाउँ ओगटेका छन् । नेपाली टुक्का कोश प्रकाशित गरेर उनले पछिल्लो कीर्तिमान कसरी राखेका छन् भने, यो ग्रन्थ प्रकाशित हुनु भन्दा अगाडि कसैले पनि ७०० पृष्ठ नघाउने त के कुरो २०० पृष्ठ पनि नघाएका थिएनन् । आफ्नो अनुसन्धानको अनुभव र अनुशासन प्रयोग गरेर उनले नेपाली टुक्काका विषयमा लेखेको परिचयले पनि नेपाली अनुसन्धानका फाँटमा एउटा उल्लेखनीय कोसे ढुङ्गाको काम गर्छ । truecaller gold features
टुक्का प्राय एक भन्दा धेरै शब्द मिलेर बनेको त्यस्तो भाषिक एकाइ हो जसमा प्राय आलङ्कारिकता हुन्छ । यसको अर्थ के हो भने (भिरको चिन्डो, लखन थापाको जन्ती, तोरीका फुल देखाउनु, जिब्रो टोक्नु, जस्तो कुनै) एउटा टुक्कामा जुन जुन शब्द मिलेका हुन्छन्, ती शब्द शब्दको अर्थ बटुल्दा आउने अर्थ र वाक्यमा प्रयोग र प्रसङ्गबाट आउने अर्थ अवश्य फरक पर्छ । यसको अर्को अर्थ के पनि हो भने, टुक्का एउटा यस्तो पदावली हो, जसमा प्राय लाक्षणिकता हुन्छ।
टुक्काको अर्को मुख्य विशेषता हो ‘पद साहचर्य’ । तात्पर्य के हो भने, एउटा टुक्का बनाउने घटकहरू प्राय एक ढिक्को भएर आउनु पर्छ । एउटा टुक्का भित्र भएका शब्दहरूलाई प्राय उल्टो पाल्टो पार्न (चिन्डो भिरको, जन्ती लखन थापाको, देखाउनु तोरीका फुल, टोक्नु जिब्रो, जस्तो) सकिँदैन र ती शब्दहरूका बिचमा अर्को कुनै विशेषक शब्द छिराउन (भिरको ठुलो चिन्डो, वीर लखन थापाको जन्ती, तोरीका पहेँला फुल देखाउनु, जिब्रो बेसरी टोक्नु, जस्तो) सकिँदैन । यसो गर्यो भने, त्यो पदावली टुक्का नै हुँदैन ।
टुक्का प्रयोग गर्न सक्ने क्षमतालाई एकातिर कुनै वक्ताको भाषिक सामर्थ्य जाँच्ने कसी पनि मान्न सकिन्छ भने, अर्कातिर टुक्का प्रयोग गर्ने क्षमताले भाषिक समुदायमा वक्तासँग आत्मीयता बढाउन पनि बल पुग्छ । जति भाषिक क्षमता कम भयो उति टुक्का प्रयोग गर्न सक्ने क्षमता घट्तै जान्छ । टुक्काको प्रयोगले कुनै भाषिक परिस्थितिमा भाषाको प्रभावकारिता पनि बढाउँछ । filmora crack code 2019
टुक्का बन्ने मूल प्रक्रिया रूपक (Metaphor) र लक्षणा (Metonymy) हुन् । भाषाको एउटै प्रयोग क्षेत्रमा जोडिएका दुइटा वस्तु मध्ये कम टड्कारो वस्तुको साटो टड्कारो वस्तु साट्ने प्रक्रियालाई लक्षणा भन्दछन् । दाउरा बोक्ने मान्छेलाई ‘ए दाउरा, यता आइज’ भनेर बोलाउँदा आफूलाई कम चासो भएको मान्छेलाई जनाउन (वा बोलाउन) बढ्ता चासो भएको वस्तु जनाउने ‘दाउरा’ शब्द साटिएको देखिन्छ । दाउरा बोक्ने मान्छेसँग दाउरा एउटै परिस्थिति र प्रयोग क्षेत्रमा जोडिएको हुन्छ । यसरी निकटता आदि कारणले एउटै परिस्थितिमा सँगै आउने एउटा अर्थ जनाउने शब्दको साटो अर्को अर्थ जनाउने शब्द साट्ने प्रक्रिया नै लक्षणा हो । ‘मुख सुँघ्नु’ भन्ने टुक्कामा मुखबाट निस्कने ‘कुरो’ जनाउन ‘मुख’ शब्द प्रयोग भएको देखिन्छ । यहाँ लक्षणा प्रक्रियाले काम गरेको छ ।
टुक्का बनाउने रूपक प्रक्रियामा चाहिँ कम टड्कारो उपमेय जनाउने शब्दको साटो बढ्ता टड्कारो उपमान जनाउने शब्द प्रयोग गरिन्छ । ‘फुल पार्नु’ भन्ने टुक्कामा कम टड्कारो वा अमूर्त बनाउटी कुरो वा ढाँट कुरो जनाउने उपमेयलाई जनाउन बढ्ता टड्कारो (चराको) फुल जनाउने उपमानले साटिएको छ । यसबाट एकातिर ‘बनाउटी कुरो (चराको) फुल हो’ भन्ने रूपक र ‘बनाउटी कुरा बनाउने मान्छे कुखुराको पोथी हो’ भन्ने रूपक मिलेर ‘फुल पार्नु’ भन्ने टुक्का बनेको प्रस्ट हुन्छ ।
टुक्का बन्ने मूल आधार यसरी लक्षणा र रूपक भए पनि टुक्का बन्ने वेलामा जति प्रस्ट त्यो पछि सम्म नरहन पनि सक्छ, किन भने कुनै भाषाको इतिहास धेरै पुरानो हुन्छ; जति वेला कुनै टुक्का बन्छ, त्यति वेलाका वक्ता र श्रोतालाई त त्यो लक्षणा र रूपक प्रस्ट हुन सक्छ, तर समय बित्तै जाँदा मान्छे वरिपरिको भौगोलिक र पारिस्थितिक परिवेश, बोट बिरुवा, जन्तु र मानिसको लवाइ-खवाइ र रहनसहन अथवा संस्कृति बदलिँदै जान्छ अनि जुन ठाउँमा त्यो टुक्का बनेको हो, त्यसै ठाउँमा पनि त्यो टुक्का नबुझिने हुँदै जान सक्छ भने, त्यस भाषाका वक्ताहरू बसाइँ सरेर अर्कै भौगोलिक र पारिस्थितिक परिवेशमा पुग्दा त्यो टुक्का नबुझिने सम्भावना बढ्दै जान्छ । यसरी कुनै टुक्का बन्ने वेलाको उपमान र उपमेयको सम्बन्ध अनि लक्षणाको आधार जब नबुझिने हुन्छ, टुक्काको अर्थ वा तात्पर्य नबुझिने हुनु स्वाभाविक हुन्छ । उदाहरणका लागि ‘ठाँगेले पनि नपाउनु’ भन्ने टुक्कालाई लिन सकिन्छ । कर्णाली प्रदेशको ठाँगे भन्ने लेकको जानकारी असम र बर्मा सम्म नेपाली बोल्नेहरूलाई थाह हुँदैन । यसरी ठाँगे लेकको चिसो टुक्काको अर्थमा त जोडिएको पाइन्छ, तर ठाँगेको अर्थ नबुझ्ने कारणले किन त्यो टुक्का धेरैजसो चिसो जनाउने प्रसङ्गैमा आउँछ भन्ने लक्षणा लुक्छ । यसरी टुक्काहरू रूपक र लक्षणाको आधार प्रस्ट बुझिनेदेखि ठ्याम्मै नबुझिने सम्म अनेक किसिमका हुन्छन् । see
नेपाली भाषा सुरु हुँदादेखि टुक्काहरूको पूर्ण रूपमा विकास हुने अवस्था सम्म मूलत: हिमाल मुन्तिरको पहाडी प्रदेशमा बोलिन्थ्यो । जब नेपाली भाषाका वक्ताहरू त्यो भौगोलिक र पारिस्थितिक परिवेशबाट बाहिरिन्छन्, अनि उनीहरूको टुक्का प्रयोग गर्ने र अर्थ बुझ्ने क्षमता घट्तै शून्य प्राय हुन खोज्छ । सहर, बजार, तराई र विदेशको अर्कै सांस्कृतिक र पारिस्थितिक वातावरणमा पुगेका नेपालीहरूमा टुक्का बुझ्ने र प्रयोग गर्ने क्षमता यसरी नै घटेको पाइन्छ ।
यसरी कुनै पनि भाषाका टुक्काहरू बन्ने र चलनमा आउने वेलामा त्यो भाषा बोल्नेहरूका ऐतिहासिक, भौगोलिक, पारिस्थितिक, सामाजिक, सांस्कृतिक, आदि पक्षहरूले टुक्काको प्रयोग र अर्थ बुझाइमा जीवन्तता ल्याउँछन् । उल्लिखित बेग्ला बेग्लै पक्षहरूमा फरक आउने बितिक्कै टुक्काहरू भित्र लुकेको रूपक र लक्षणाको प्रयोजन र व्यञ्जनाको अभिधासँगको साइनो धमिलो हुन थाल्छ । यसरी टुक्काहरू विश्लेषण गर्न सहज र कठिन गरी अनेक किसिमका हुन्छन् । विश्लेषण गर्न सहज हुने टुक्काहरू टुक्का भित्र भएका घटकको अर्थ जोडेर व्यङ्ग्यार्थसँग साइनो गाँस्न सकिने हुन्छन् भने, विश्लेषण गर्न कठिन टुक्का चाहिँ पूर्ण रूपले शब्दवत् भएका हुन्छन् । यसरी उखानको अर्थ लगाउन पहिले त घटकबाट अर्थ तिर जाने विधि नै अपनाउनु पर्छ; त्यसमा पार लगाउन सकिएन भने, शब्दवत् मानेर रूढ अर्थ घोक्ने बाहेक अर्को उपाय नै हुँदैन । नेपाली भाषामा पूर्ण रूपले भाषिक सामर्थ्य भएको मध्य पहाडको वक्ताले जति आफ्नो बोलचालमा टुक्काको प्रयोग गर्ने सामर्थ्य अन्यत्रका नेपाली भाषाका वक्तामा नहुन सक्छ ।
टुक्काको निर्माण, प्रयोग र अध्ययनको माथि लेखिएको पृष्ठ भूमिमा डा. शिव प्रसाद पौड्यालको यो कोशले टुक्काको अध्ययन र अनुसन्धानमा महत्त्व पूर्ण आधार सामग्रीको काम गर्छ भन्ने मेरो विश्वास छ ।