जापानमा नेपालको स्वाद

जापान फाउन्डेसनको विद्वद्वृत्ति दोस्रो पल्ट पाएर म एक वर्षलाई जापान आएको एक महिना नाघ्यो, तर जापानमा नेपालको स्वादै आएन । नेपालको जस्तो मनपरी, भाँड भैलो र लथालिङ्ग देख्‍न र भोग्‍न नपाएर सारै नियास्रो लाग्‍न थालेको छ । मलाई त एकदम मनै कोक्याएर आइरहेको छ । एक वर्ष यहाँ कसरी पो टिक्‍नु होला !

 

मीठो बोल्न र नम्र तथा शिष्ट बन्न पनि पैसा चाहिँदो रहेछ भन्ने त जापानमा आएर पो बुझेँ त ! पैसाले मात्र होइन, अरू कोनि केले गरिब भएका नेपालीहरूलाई मीठो बोल्न पुग्दैन । जुनसुकै जापानी कर्मचारीहरू भने, कुदाकुद गरेर हाँसेरै काम गरिदिइसकेर आफैँ धन्यवाद भन्न भ्याउँछन् । मीठो बोल्न सधैँ ती कर्मचारीलाई पुगेको देख्‍ता नेपाल भरिका साना ठूला सरकारी र निजी सार्वजनिक संस्थाका कर्मचारीहरूको आलस्य र पर्पर्‍याउँदो व्यवहार झल्झली सम्झेर मलाई त नेपाल भेट्न कहिले पुगिहालूँ जस्तो लागिरहेको छ ! यी जापानीहरूको बानी ती सभ्य नेपालीहरूको जस्तो बन्ने छाँट देखिँदैन । गर्न पनि मनपरी अनुशासनले गर्दा नेपालीहरूले आफ्नो मुलुक जस्तो बनाउन सकेका छन्, त्यस्तो प्रकारको राष्ट्र निर्माणको सोच यी जापानीहरूको बुद्धिका भाँडामा कहिल्यै पनि भरिँदैन होला ! यी आफूले आफैँलाई कोनि के के जाति ‘वादी’ भन्ने घोषणा गरेर देशलाई बर्बादी तिर लग्‍न जान्दा रहेनछन् । ‘वर’ भनेको श्रेष्ठ हो र बर्बादी भनेको श्रेष्ठवादिता हो भन्ने सामान्य ज्ञान लिन यिनीहरूले लुम्बिनी, स्वयम्भू र बौद्ध भएको मुलुक तिरै जानुपर्छ भन्ने मेरो ठम्याइ छ !

 

नेपालमा जति देशको मायाँले पिरोलिएका र देशको उन्नतिका लागि जुर्मुराएका टोलै पिच्छेका चार पाँच सय नेता उत्पादन नगरिकन जापानले राष्ट्रियता र आर्थिक विकासमा यति सारो उन्नति कसरी गर्‍यो होला कोनि ! अच्चम्म छ ! यी जापानीहरू पाइलै पिच्छे हड्ताल पनि गर्दैनन्, झगडा र रोड्याइँ गरेको पनि देखिँदैन । मलाई यहाँ अच्‍चम्म लाग्‍ने कति कुरा छन् छन् । झगडै नगरी यिनीहरूले आफ्नो हक के गरी पाउँदा हुन् ! नेपालबाट एक डेड लाख गुरु पैठारी गरे मात्र जापानीहरूको चरित्रमा नेपालीहरूको जस्तो सुधार होला कि जस्तो देखेँ मैले त ! नेपालमा आफूलाई रहर नलागे पनि जताततै सित्तैँमा झगडा गर्न पाइन्थ्यो अनि जहाँसुकै सित्तैँमा झगडा गरेको रमित हेर्न पाइन्थ्यो । यी जापानीहरू त रोबोट जस्ता एकोहोरा रहेछन् । जति आँखा च्याते पनि यहाँ झगडा गरेको रमित चाहिँ हेर्न पाइएन । होइन, नेपालमा त झगडा गर्न राम्रो नजान्ने मान्छे ठूलै हुँदैनन् त ! नेपालको चाहिँ मूल राष्ट्रिय उत्पादन भनेकै झगडा भएकाले होला, झगडिया र जिराहाले आफ्नो उन्नति जति छिटो गर्छन्, नेपालमा भए, यी जापानी जस्ता सोझा र एकोहोराले त पेटपालो पनि गर्न सक्तैनन् भन्ने तत्त्व यिनीहरूलाई कसले बुझाइदेओस् !

 

जापानमा सामान किनेर ल्यायो; चोखो छ, मिसावट छैन, ट्याक्सीमा चढ्यो; मिटर बिगारेको छैन, बाटो हिँड्यो : बजार गयो; बन्द छैन । अनुशासनहीनता नभएकाले सडक जाम हुँदैन, सवारी दुर्घटना एकदमै कम सुनिन्छ, पैसामा अविश्वास छैन, चोरी डकैती र लुटपाटले समाचार बन्ने मौका कमै पाउँछ, मान्छेलाई देखेर मान्छेले डराउनु पर्दैन, देशका जात जातिमा फुट र घृणाको बिउ उमार्न नेताले जानेको छैन, सबै तिर समन्वय र व्यवस्था छ : जताततै बिचाँजो देख्‍न पाइएन, जङ्गलका रूख चोर्दा र रक्त चन्दन जस्ता तस्करी माल ओसार्दा पैसा कमाउन सकिन्छ भन्ने बुद्धि पनि यिनीहरूलाई कसले सिकाइदेओस्  ! अरूलाई चाहिँ कहिले विदेश जाऊँ भइरहँदो हो । नेपालमा जस्तो सहज नपरेर मलाई चाहिँ विदेशमा आयो कि जहिले पनि यस्तै छट्पटी हुन्छ ।

 

नेपालमा जनता भन्दा नेतै बढ्ता छन् ! जो हेर्‍यो नेतै जस्तो लाग्छ, जससँग बोल्यो नेतासँगै बोले जस्तो लाग्छ । जापानमा पहिले एक वर्ष बस्ता पनि एउटै नेतासँग भेट भएको थिएन, अहिले पनि भेट हुने छाँट छैन । नेपालमा जस्तो बग्रेल्ती नेता नपुगेकैले हो कि किन हो, यहाँ अनेक किसिमको निहुँ र खोचे थापेर बाटो र बजार बन्द भएको देख्‍नै पाइएन । यत्रो उन्नति र विकास गरेको मुलुकका नेतालाई बरु गाडी र बजार बन्द गर्ने बुद्धि आइदिए हुन्थ्यो नि ! मुलुकका जनताको हित कसरी गर्ने भन्ने कुरो चाहिँ जापानका मलुवा नेताहरूले नेपालका गनेर र चिनेर नभ्याइने फुच्चे र घागडान नेताहरूसँग सिके हुन्थ्यो ! तोडफोड, कुटाकुट, मारामार, बन्द र हड्ताल गर्ने कुरामा राजनीतिक दृष्टिले नेपालका च्याउ सरी नेताहरूको जति सचेतता यी जापानी नेताहरूलाई किन नभएको होला !

 

नेपालमा जति बन्द, अड्को, कुटाकुट र हानाहान अहिले विश्वमा कतै पनि हुँदैन होला । गएका आठ दश वर्षमा गिनिज बुकमा नाम लेखाउन पुग्‍ने थुप्रै कीर्तिमान हाम्रो मुलुकले राखिसकेको छ । नेपालले राखे जति कीर्तिमानमा पश्चिमाहरू धेरै चासो दिँदैनन् र पो थुप्रै कीर्तिमानको लेखो नै भएको छैन, त्यसै छुटिरहेको छ । नत्र गिनिज बुकका कीर्तिमानमा नेपालमा अरू धेरै मुलुकलाई ढिम्किन दिन थिएन भन्ने कुरामा मलाई एक रत्ति पनि शङ्का छैन ।

 

जापानका पत्रकारको पनि त्यति चेतनामा नेपालको जति विकास भएको देखिँदैन । एउटा एउटा पार्टीको चम्चागिरी गरेर अरू पार्टी र नेताको मान हानि र आलोचना नै नगर्ने पत्रकारहरूले पत्रिकामा के लेखेर छाप्‍ने होला र पैसा कसरी कमाउने होला ! यी पत्रकारले उन्नति कसरी गर्न जान्लान् ! गाली र झगडा, भ्रष्टाचार र तोडफोड, बन्द र अड्को, कुटपिट र हत्या नै नभए खालि राम्रो मात्रै कुरो लेखेर पाठकलाई केले खोराक दिने होला अनि पत्रिका कसरी चलाउने होला ! नेपालमा एक जना वरिष्ठ पत्रकारले नै मसँग भनेका थिए, ‘पत्रकारिता जापानको त्यति विकसित छैन ।‘ तिनको कुरो ठीकै होला ! मुलुक उँभो लगाउन जापानीहरूले नेपालीहरूसँग सिक्‍नुपर्ने कति हो कति कुरा देखेँ मैले त !

 

जापानमा नेपालमा जस्तो नियमित लोड सेडिङ नभएर पनि; नारा, जुलुस र राजनीतिक रडाको सुन्न नपाउँदा पनि, धारामा पानी सधैँ ख्वालाल्ल आइदिएर पनि, जताततै फोहोर देख्‍न नपाउँदा पनि, सडक र खोला किनारमा नाक थुनेर हिँड्न नपाउँदा पनि, अखबारमा झगडा, भ्रष्टाचार र अनुशासनहीनता मात्रको खबर पढ्न नपाउँदा पनि यहाँ आफ्नो राष्ट्रियता नै बिर्सिएला जस्तो भइरहेको छ । मलाई त जापान मन परेन !

 

नेपालमा विद्यार्थीहरूले विश्व विद्यालयका कुल गुरुलाई कालो मोसो लगाए जस्तो उन्नतिशील विचार यहाँका विद्यार्थीमा देखिएन । यहाँका विद्यार्थीहरू गुरु मात्र होइन गुरु जनलाई समेत देख्ता जति पल्ट भेटे पनि टाउको निहुराउँछन् । विज्ञान र प्रविधिमा विश्वका विकसित देशहरूसँग सेखासेख गर्न सकेर के भो ! गुरुलाई कालो मोसो धस्‍ने र धम्की दिने कुरामा यहाँका विद्यार्थीले नेपालका विद्यार्थीसँग सिकेको भए जापान अझ विकासको धुरीमा कहाँ पुग्थ्यो होला, म त कल्पिन पनि सक्तिन ।

 

धाराको पानी त्यसै कलकल खाँदा पेट नबिग्रेकाले पनि यहाँ नेपालमा बसेको स्वादै आएन । यहाँका नेताहरूले आफू कुर्सीमा नहुँदा आफ्ना कार्य कर्ताहरूलाई प्रहरीलाई शत्रु ठान्ने महान शिक्षा दिन जानेका रहेनछन्, त्यसैले प्रहरी र आन्दोलनकारीका बीचमा ढुङ्गा हानाहान भएको रमित हेर्न नपाएर मलाई त कहिले पो नेपाल पुग्‍नु जस्तो भइरहेको छ !

 

यहाँका राजनीतिक पार्टीहरूले आफ्ना पछौटेहरूलाई सरकारको आज्ञा नटेर्न, देशको कानुन र संविधान नमान्न अनि आफूलाई अड्डाले लगाएको काममा अनुशासित नहुन सिकाएका रहेनछन् । कर्मचारीहरू समय भन्दा अगाडि नै अड्डा पुग्‍ने, अड्डाको काम आफ्नै ठानेर खुसी भएर हतारिएरै गर्ने र अड्डाको समय बिते पछि मात्र घर जाने गर्दा रहेछन् ।  नेपालका कर्मचारीहरूले जस्तो गरेका भए यिनीहरूको के जान्थ्यो होला ! आफ्नो र मुलुक (भर्सेलै परोस् !) को उन्नति कसरी छिटै गर्ने भन्ने कुरामा यिनीहरूले नेपालीसँग सिक्‍नु पर्ने धेरै कुरा देखेँ मैले त ! मलाई त यस्तो देखेर सहजै भएन । के गर्ने होला !

 

नेपालमा जस्तो यहाँ योग्यताको होडमा कतै छेकारो छैन । नेपालको राजनीतिमा जस्तो उद्योग धन्दा र व्यापार बन्द (बन्द व्यापार होइन) गराउने कुरामा मात्र सक्रिय हुनुको साटो यहाँको राजनीति र जनताको गतिविधिले चाहिँ त्यसैलाई उच्चतम प्राथमिकता दिएको देखियो । ‘बन्द व्यापार’ र ‘व्यापार बन्द’ भन्ने उही उही शब्दको पनि नेपाल र जापानमा अर्थै उल्टो लागेको देखेँ मैले त ! नेपालको जस्तो हाकिम र भ्रष्टाचारी नेतालाई पुरेत बनाएर सबै खर्च सरकारले भर्नु पर्ने सामाजिक स्थिति देशमा कायम नगरेर जापान पुजीवादी राष्ट्रहरू मध्ये सबभन्दा समाजवादी मुलुक भएको देखेर मलाई आफ्नो देश सम्झेर कहाली लागिरहेको छ । मलाई  जापानमा स्वादै परेन । म त कबोल गरेको एक वर्ष नघाएर त एक सेकेन्ड पनि यो मुलुकमा बस्तिन । मलाई त सम्पूर्ण बिचाँजो र बेथितीहरू व्यवस्थित भएको आफ्नो नेपालै मन पर्छ ।

Leave a Reply