छयालीस सालमा पुना विश्व विद्यालयबाट पिएचडी गरे पछि र चवन्न सालमा त्रिभुवन विश्व विद्यालयको प्राध्यापक भए पछि सन्ताउन्न सालमा चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर काम गर्न पेइचिङ जाँदा म डाक्टर भएको एघार वर्ष र प्राध्यापक भएको तीन वर्ष पुगेको थियो, तर चीनमा पुगे पछि म निरक्षर भएँ । आफ्नो पृष्ठभूमि बिर्सेर भन्दा सम्झेर निरक्षर हुँदा बेग्लै स्वाद आउँदो रहेछ ।
चीनमा सबै तिर सूचना पाटीहरू चिनियाँ भाषामा मात्र लेखिँदा रहेछन् । अङ्ग्रेजी भाषामा पनि लेखिने भए, अन्सार पाइन्थ्यो; त्यो नहुनाले निरक्षर भइयो । चिनियाँ लिपि देवनागरी वा रोमन लिपि जस्तो स्वर र व्यञ्जन मात्र जान्दा पुग्ने कखरात्मक लिपि होइन । त्यो भाषा लेख्ता शब्दै पिच्छे छुट्टा छुट्टै अक्षर चाहिन्छ । यसरी चीनको इतिहासमा अनुसन्धान गर्न चाहनेले साठी हजार जति चिनियाँ अक्षर घोक्नु पर्छ र चिनियाँ भाषामा लेखेका अखवार पढ्न सक्ने हुन कम्तीमा तीन हजार अक्षर जान्नु पर्छ । नेपालीमा ‘क’ को अथवा ‘ख’ को केही पनि अर्थ हुँदैन, तर चिनियाँ भाषामा हरेक अक्षरको अर्थ हुन्छ, त्यसैले नेपाली भाषाको लिपि मात्र जान्न एक दुई दिन मात्र मेहनत गर्दा पुग्छ, तर चिनियाँ भाषाको अखवारमा प्रयोग हुने लिपि मात्र पढ्न सक्ने हुन झन्डै वर्ष दिन लाग्छ । नेपाली र अङ्ग्रेजी भाषाको लेखाइमा भन्दा चिनियाँ भाषाको लेखाइमा एउटा के सजिलो छ भने, त्यहाँ चाहिँ अक्षर सिक्ने बितिक्कै शब्दै समेत सिकिन्छ; नेपाली र अङ्ग्रेजी लेखाइमा त्यस्तो हुँदैन ।
ज्ञानमणि नेपालले भने अनुसार राणा शासनमा नेपाल सरकारले दुई जना नेपाली विद्यार्थीलाई चिनियाँ भाषा सिक्न चीन पठाएको थियो अरे । सरकारले आफ्ना विद्यार्थीहरूको प्रगति कस्तो छ भनेर सोध्दा चाहिँ उताबाट एकदम राम्रो छ भन्ने जवाफ आउँथ्यो अरे, तर नेपाल सरकारले अब तिनीहरू अक्षर चिन्न र लेखपढ गर्न सक्ने भए त भनेर सोध्दा दुई वर्ष पुगिसक्ता पनि त्यस्ता त अहिले सम्म भएका छैनन् भन्ने जवाफ आउँथ्यो अरे । नेपालका हाकिमलाई चिनियाँ भाषामा अक्षर सिके पछि सबै भाषा सिकिसकिन्छ भन्ने कुरो थाहै भएन । आफ्नै देवनागरी र रञ्जना लिपि जस्तो होला भन्ने ठानेर ती नेपाली विद्यार्थीहरूको योग्यता, इमान र प्रगति सन्तोषजनक भएको तिनीहरूले भेउ पाउनै सकेनन् अरे ।
चीनमा हामीलाई पेइचिङको तेस्रो चक्र पथमा पर्ने ‘योउ इ पिङ क्वान’ (फ्रेन्डसिप होटल) मा राखिएको थियो । पेइचिङ वरिपरि दश ओटा चक्र पथ बनाउने सरकारी योजना छ अरे । म त्यहाँ हुँदा पाँचौँ चक्र पथ बन्दै थियो । अरनिकोले बनाएको श्वेत चैत्य, प्रसिद्ध ‘थ्यान आन मन’ चोक, त्यक्त सहर (फर्बिडन सिटी), माओ च तुङको शव गृह र मूल बजार ‘वाङ फु चिन’ चाहिँ पहिलो चक्र पथ भित्र पर्छन् । मैले नेपालमा चीन बारे सुनेका किंवदन्तीका आधारमा चीनमा नियम सारै कडा हुन्छ; त्यहाँ खुट्टो अलिकति पनि रड्कियो भने, दण्ड हुन्छ भन्ने धारणा बनाएको हुनाले चीनमा पैदल हिडुन्जेल त ठीकै थियो; भाषा बोल्ने कुरो त परै रहोस् सूचना पाटी हेर्न सम्म पनि नजान्दा आफूबाट नजानेरै पनि गल्ती हुने सम्भावना थियो, त्यसैले ‘थ्यान आन मन’ र ‘लामो पर्खाल’ (छाङ छङ) हेर्न गइहाल्ने रहर पनि एक महिना सम्म मनैमा राख्नु पर्यो । हुन त चीनमा अङ्ग्रेजी बोल्न जान्ने मान्छे गोटागोटी पाइन्छन्, तर कुन कुन मान्छेलाई अङ्ग्रेजी आउँछ भन्ने कुरो अनुहार हेरेरै जान्न सकिने रहेनछ । पेइचिङ सहरकै पनि धेरै जसो चिनियाँलाई अङ्ग्रेजी बोल्न आउँदैन । यस परिस्थितिले गर्दा आवासमा श्रीमतीसित र सिआरआई (चाइना रेडियो इन्टर्नेस्नल) को नेपाली विभागमा नेपाली भाषा बोल्यो, अड्डा र आवासका बीचमा ओहोरदोहोर गर्दा सिआरआईको बसमा विदेशी भाषा विशेषज्ञसित अङ्ग्रेजी बोल्यो र बाँकी समय लाटो हुने आफ्नो नियति बन्न पुग्यो । त्यसै वेला मैले संसारभरका बहिराहरूलाई सहानुभूति गर्न सके जस्तो लाग्यो ।
सब भन्दा पहिले मलाई किनमेल गर्न सक्ने र ‘थ्यान आन मन’ चोक सम्म पुग्न सक्ने चिनियाँ भाषा सिक्नु परेको थियो । त्यसका लागि एउटा चिनियाँ भाषा सिक्ने किताब ल्याएर म दिनहुँ घरमा स्वाध्ययन गर्न थालेँ । चिनियाँ भाषामा तानको फरक हुन्छ, त्यसैले उच्चारण गर्न जानिएन भने, ‘आमा’ भन्न खोज्दा ‘घोडा’ भनिने डर हुन्थ्यो । चिनियाँ भाषामा रुद्र घण्टी उचालेर ‘मा’ भन्यो भने, त्यसको अर्थ ‘आमा’ हुन्छ; रुद्र घण्टी बीचबाट माथि सार्दै ‘मा’ भन्यो भने, त्यसको अर्थ ‘गाँजा’ हुन्छ; रुद्र घण्टी बीचबाट तल झारेर फेरि माथि उकालेर ‘मा’ भन्यो भने, त्यसको अर्थ ‘घोडा’ हुन्छ अनि रुद्र घण्टी माथि पुर्याएर सोझै तल झारेर ‘मा’ भन्यो भने, त्यसको अर्थ ‘गाली’ हुन्छ । हरेक चिनिया शब्दमा यस्तो चार किसिमको तान हुन्छ; त्यसलाई उच्चारण गर्दा मिलाउन जानेन भने, अनर्थ हुन्छ । मेरो विषय नै ध्वनि विज्ञान भएकाले मैले चिनियाँ भाषाको तान पनि आफैँ ऐना हेरेर सिकेँ ।
तरकारी र फलफूल बजारमा अनि सुपर मार्केटमा काम लाग्ने कुराकानी आफैँले कल्पना गरेर ती वाक्यको अनुवाद गर्दै म किनमेल गर्न दिनहुँ सिक्तै थिएँ । त्यसै गरी पहिलो पल्ट ‘थ्यान आन मन’ जाँदा पनि बसमा चाहिने कुराकानीको तयारी गरेँ । एक महिना सिकेको चिनियाँ भाषाको जाँच गर्न श्रीमती र म पहिलो पल्ट ‘थ्यान आन मन’ जाने बस चढ्न हिँड्यौँ । हाम्रो होटलकै अगाडि बस बिसौनी रहेछ भन्ने थाह पाउन पनि झन्डै तीन हप्ता लागेको थियो । बस चढ्यौँ । दुइटा बस जोडेर बनाएको लामो बस मैले पहिलो पल्ट चीनमै देखेँ । आफू पुगेको संसारको अर्को कुनै सहरमा पनि मैले त्यस्तो बस देखेकै छैन । बसमा किचाघान भिड हुँदो रहेछ । चीनमा विदेशी चढेको देखेर जापानीहरूले जस्तै सिट छोड्ने चलन रहेनछ । चीनमा ट्याक्सी चालक पनि बसका चालक पनि आइमाई धेरै रहेछन्, बसका कन्डक्टर त सबैजसो आइमाई रहेछन् भन्दा पनि होला । कन्डक्टर मसित भाडा माग्न आई । भाडा कति लाग्ने हो, मलाई थाह थिएन । एउटा सय युआनको नोट हातमा राखिदिएँ । कन्डक्टरले मलाई फिर्ता पैसा दिई र गन्न लगाई । कति पैसा लाग्छ भन्ने मलाई थाह थिएन । चार युआन मात्र लाग्दो रहेछ भन्ने पछि मात्र थाह भयो ।
चीनमा नोट पनि तीन नापका हुँदा रहेछन् । एक ‘च्याऊ’ का दश ओटा नोट जोड्दा त्यो एक ‘माऊ’ बराबर हुँदो रहेछ अनि दश ओटा ‘माऊ’ का नोट बराबर एक ‘युआन’ (वा ख्वाई) हुँदो रहेछ । अर्थात् ‘एक’ अङ्क लेखिएका पनि तीन किसिमका नोट हुँदा रहेछन् । कन्डक्टरले फिर्ता दिएको पैसा ठिक्कसित गन्न पनि म सक्तिनथेँ । मैले चीनका पैसा गन्न जानेको पनि थिइन, त्यसैले कन्डक्टरले मलाई गन्न दिएको सबै पैसा आफैँ गनेर देओस् भनेर मैले उसैका हातमा राखिदिएँ । आफू डाक्टर भएको एघार वर्ष, प्राध्यापक भएको तीन वर्ष पुगेको र विश्व विद्यालयमा पढाएको सत्ताइस वर्ष पुगिसकेका बेलामा त्यसरी निरक्षर भएको अनुभव हुँदा मलाई कम्ती आनन्द भएन । दूध उम्ले जस्तो गरी मेरा जिउका सबै अणुहरू गानिएर मलाई हाँस उठ्यो । मसँगै कन्डक्टर पनि हाँसी । नजिकैबाट कुरो बुझ्ने अरू यात्रुहरू पनि हाँसे । चीनको बसमा एकदम भिड हुँदो रहेछ । बल्ल बल्ल जब मैले सिट पाएर बसेँ अनि हेर्छु त सबै यात्रीहरू ओर्लेर बस खाली पो भयो । त्यो नै थ्यान आन मन जाने बसको अन्तिम बिसौनी छ्यान मन (‘निषिद्ध सहर’ को अघिल्लो ढोका) पो रहेछ ।
त्यस हाँसोमा मेरी श्रीमती सामेल नहुने कुरै भएन । म आफूले नचिनेकै श्रीमान् श्रीमती पनि बाटामा हिँडेका देख्ता ठ्याक्कै अड्कल गर्न सक्छु जस्तो लाग्छ । बाटामा सँगसँगै हिडेका लोग्ने मान्छे र आइमाईमा लोग्ने मान्छे अडिँदा आइमाई पनि अडिन्छे; लोग्ने मान्छे हिँड्दा आइमाई पनि हिँड्छे; लोग्ने मान्छेले देब्रे तिर हेर्दा आइमाईले पनि देब्रे तिरै हेर्छे; भरसक लोग्ने मान्छेको पछाडि हिँड्छे नत्र दायाँ बायाँ हिड्छे; लोग्ने मान्छेको अगाडि चाहिँ कहिल्यै पनि हिँडदिन भने, ती दक्षिण एसियाली श्रीमान् श्रीमती हुन् भनेर अड्कल गर्न गारो पर्दैन । यसैबाट अन्सार काटेर त्यति वेला मेरी श्रीमती पनि हाँसेको हुनु पर्ने भन्ने जसले पनि अड्कल काट्न सजिलै सक्छ ।
हामी पेइचिङ गएको पन्ध्र दिन जति भएको थियो; सन् १९७६ मा भुइँचालाले ध्वस्त भएको थाङ सान सहर हेर्न त्यो नगर पालिकाको निम्तामा जान पाइयो । थाङ सानमा उनीहरूले ‘थाङ सान होटल’ मा राखेका थिए । थाङ सान पुगेकै दिन बेलुकाको भोजन सकेर हामी कोठामा बसेका थियौँ । बेलुका घुर बालेको समारोह हेर्न जानु पर्छ भन्ने सल्लाह भएको थियो । साढे आठ नौ बजे तिर बाहिरबाट कसैले ढोका ढक्ढक्यायो । खोलेर हेरेको त, होटलकी एउटी कर्मचारी रहिछ । उसलाई अङ्ग्रेजी नआउने; आफूलाई चिनियाँ नआउने ! उसको हाउभाउबाट के बुझियो भने, हामीसँग पेइचिङबाट सँगै थाङ सान आएका साथीहरू सबै रमिता हेर्न गइसकेछन्; हामी मात्र छुटेछौँ । उसले हामीलाई पनि गाडी बन्दोबस्त गरेर पठाइदिने भई। हामी हतार हतार तयार पर्यौँ । उसले ड्राइभरलाई कता पुर्याउने हो बुझाइदिई । एउटा ठूलो मिनी बसमा मेरी श्रीमती र म मात्र चढ्यौँ । बसले हामीलाई ओपेराको अगाडि छोडिदिएको रहेछ । हामी सरासर गेटबाट छिर्यौँ । विदेशी भएकाले हामीलाई कसैले छेकेन । हामी ओपेराको मूल ढोकामा पुग्यौँ । त्यहाँ ढोकामा बसेकी प्रहरीले हामीसँग टिकट मागी । दिउँसो कसैले हामीलाई टिकट जस्तो दुइटा केही कुरा दिएको थियो । मैले त्यही निकालेर दिएँ । उसले यो होइन, अर्कै चाहियो भन्ने सान गरी । मैले आफूसँग त्यही मात्र भएको सङ्केत दिएँ । त्यो प्रहरी एक छिन कतै गई; दुइटा टिकट ल्याई र टिकट च्यातेर हामीलाई ओपेरा भित्र हुलिदिई । हामी भित्र गएर बस्यौँ । म त्यस भन्दा अगाडि जीवनमा कहिल्यै कतैको ओपेरामा छिरेको थिइन । ओपेरामा गीत र सङ्गीत खुब सुनियो । कुरो बुझ्ने चिनियाँहरू कस्तो स्वादले बेला बेलामा ताली बजाइराखेका थिए । मलाई त त्यति वेला त्यो गीत त्यसै चिच्याएको हल्ला जस्तो मात्र लागेको थियो । एक दुई पल्ट त आफूलाई पनि ताली बजाउन मन लाग्यो । कलाकारलाई प्रोत्साहन हुन्छ भनेर ताली बजाएको त ठाउँमा परेनछ । त्यस पल्ट ताली बजाउनेमा मेरी श्रीमती र म मात्र परेछौँ । छेउछाउका मान्छेले हाम्रो मुखमा हेर्दा पो अलिक लाज लागेर आयो । कुरो नबुझ्नेलाई मीठो सङ्गीत पनि त्यसै चिच्याएर हल्ला गरे जस्तो लाग्ने रहेछ । त्यसरी एक घण्टा जति त थामिइयो, त्यस पछि अडिन सकिएन । हामी होटलको चाबीमा लेखिएका अक्षर देखाउँदै पैदलै हिँडेर बीस पच्चीस मिनटमा आफ्नो होटलमा आइपुग्यौँ र वास बस्यौँ । त्यति वेला चीनको न बोली बुझिन्थ्यो, न अक्षर बुझिन्थ्यो ।
थाङ सानमै हुँदा चिनियाँ भाषा सिक्ने किताब खोज्न किताब पसल जाने विचार आयो अनि ट्याक्सी चढेर किताब पसल तिर लागियो । ट्याक्सीमा पाँच युआन पर्थ्यो । ट्याक्सी ड्राइभरले हामीलाई एउटा किताब पसल अगाडि पुर्याइदिई । हामी ओर्ल्यौँ । किताब खोजेको त, सबै चिनियाँले पढ्ने खालका रहेछन् । फेरि ट्याक्सी चढेर होटल फर्किने विचार आयो । अर्को एउटा ट्याक्सीमा चढ्यौँ । पेइचिङमा हामी बसेको ‘फ्रेन्डसिप होटल’ लाई चिनियाँ भाषामा ‘योउ इ पिङ क्वान’ भनिन्थ्यो, त्यसैले थाङ सानमा हामी बसेको ‘थाङ सान होटल’ लाई पनि ‘थाङ सान पिङ क्वान’ भन्लान् भन्ने अड्कल गरेर मैले ट्याक्सी ड्राइभरलाई ‘थाङ सान पिङ क्वान’ जाने भन्दिएँ । थाङ सान पिङ क्वान नामको अर्कै भवन रहेछ । त्यहाँ पुर्याएर ड्राइभरले हामीलाई ‘यही हो थाङ सान पिङ क्वान’ भनेर उतारिदिई । हाम्रो होटल त त्यो रहेनछ । हामी त हरायौँ ! कहाँबाट ध्यानमा आयो, हामीसँग भएको दैलाको चाबी देखाउँदा पो काम गर्छ कि ! त्यो चाबीमा भएको होटलको नाम हेरेर ट्याक्सी चालकले हाम्रो होटलमा पुर्याइदिई ।
चीनमा मलाई मेरो निरक्षरताले सारै पिरोल्यो, त्यसैले मैले त्यहाँ बस्ता झन्डै पन्ध्र सय चिनियाँ अक्षर घोकेँ । त्यस पछि अलिअलि सूचना पाटी पढेर अड्कल गर्न सकिने भइयो । मनमनै मैले त्यहाँ आफ्नो उपनाम बनाएँ, ‘प्रोफेसर डाक्टर निरक्षर’ ।