खुकुरी दर्शन !

By | August 6, 2014

त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागले मलाई ‘खाम भाषा’ को सर्वेक्षण गर्न टोली नेता बनाएर खटाएको हुनाले म रुकुम र रोल्पाका मगर भाषाको भाषा वैज्ञानिक सर्वेक्षण गरेर फर्केँ । रुकुमका बेग्ला बेग्लै गाउँमा बोलिने त्यस भाषामा भौगोलिक मात्र होइन ऐतिहासिक दृष्टिले पनि परस्पर नमिल्ने र मौलिक केही विशेषता देखिएका थिए । काठमाडौँबाट रुकुम तिर लाग्‍नु भन्दा पहिले बाग्लुङको बुर्तिबाङ छेउका निसी र भुजी खोलाका किनारमा बोलिने त्यही भाषाका वक्ताहरुसितको अन्तरक्रियामा त्यस क्षेत्रमा बोलिने मगर भाषाका भाषिक बेहोरा नौला र मौलिक पाइएकाले रुकुम र रोल्पाको स्थलगत सर्वेक्षण सकेर काठमाडौँ आए पछि दुइटा चेला लिएर म बुर्तिबाङ तिर जाने तयारीमा लागेँ ।

बिहान अकस्मात् एउटा नौलो केटाको फोन आयो, ‘सर, तपाईँहरु बाग्लुङ कहिले जानु हुन्छ?’

‘आइत बार’

‘सरलाई एक पल्ट भेट्नु थियो ।’ केटो उतैको रहेछ ।

‘उताबाट फर्के पछि भेट्ता हुँदैन?’

‘होइन, त्यसै विषयमा कुरा गर्नु छ ।’

स्थलगत अध्ययनमा जाने मान्छेलाई अनेक किसिमका सूचना काम लाग्छन् । नौलो ठाउँको मौसम सम्बन्धी जानकारीले बाक्लो पातलो लुगा, ओढ्ने, छाता बोक्‍नु पर्ने कि नपर्ने भन्ने थाह हुन्छ । होटल वा वास बस्‍नु पर्ने घर, सम्पर्क गर्नु पर्ने मान्छेका नाउँ र फोन नम्बर, सबारी साधन, बस चढ्नु पर्ने र ओर्लिनु पर्ने ठाउँको जानकारी पहिले नै बटुलेर गयो भने, नौला ठाउँमा होलो हुन्छ, त्यसैले मैले मेरो घर नजिकै वाग्मती किनारको बाटामा गएर फोन गर्ने केटो र उसको साथीलाई घरमा ल्याएँ र चिया खुवाएँ । त्यस पछि मैले केटाहरुलाई मलाई भेट्न खोज्नाको कारण सोधेँ ।

दुई जना मध्ये एउटा केटो त साथी मात्रै रहेछ; केही पनि बोलेन । मलाई फोन गर्ने केटाले डेभिड वाटर्सले लेखेको ‘अ ग्रामर अफ खाम’ र समर इन्टिच्युट अफ लिङ्‌विस्टिक्स (एसआइएल) ले प्रकाशित गरेको ‘एथ्नोलग’ भन्ने किताबको ‘नेपालका भाषा’ भन्ने त्रिवि भाषा विज्ञान विभागका प्राध्यापक डा. योगेन्द्र यादव र डा. दानराज रेग्मीहरुसँग नेपालीमा अनुवाद गराएर एसआइएलले प्रकाशित गरेको खण्डका ठाउँ ठाउँमा साइनपेनको हरियो मसीले टड्कारो बनाएका किताब फिँजायो । त्यहाँ लेखेको कुरो नबुझेर केटाहरु मसित सोध्‍न आएछन् भन्ने मैले ठानेँ । मैले फेरि सोधेँ, ‘के भन्न आउनु भयो त तपाईँहरु?’

डेभिड वाटर्स एउटा अमेरिकाली भाषा वैज्ञानिकको नाउँ हो । उनी एसआइएलका प्रतिभाशाली भाषा वैज्ञानिक थिए । सन ८० का दशकमा उनले रुकुमको तकसेरामा धेरै वर्ष बसेर त्यहाँका मगरहरुले बोल्ने मातृभाषा बोल्न सिके, त्यसै भाषाको अध्ययन र अनुसन्धान गरे र उनले अमेरिकाको ओरेगन विश्व विद्यालयबाट त्यसै भाषामा पिएचडी गरे । भाषा विज्ञानका फाँटमा उनको ‘ग्रामर अफ खाम’ भन्ने शीर्षकमा प्रकाशित भएको कृति प्रशंसनीय छ । एसआइएलले संसारभरका जम्मै सात हजार मातृभाषाको लगत ‘एथ्नोलग’ भन्ने ठुलो ठेलीमा प्रकाशित गर्छ; बिच बिचमा नौला सूचना आए भने, त्यसमा समय समयमा संशोधन पनि गर्छ । कुनै दुइटा मातृभाषा फरक ‘भाषा’ हुन् कि एउटै भाषाका भाषिका (स्थानीय भेद) हुन् भन्ने कुरो कसी लगाउन एसआइएलको सजिलो आधार ति दुई ठाउँका केटा केटीले बोल्ने भाषामा बाइबलको फरक फरक अनुवाद चाहिन्छ कि एउटै बाइबलले पुग्छ भन्ने हुन्छ । एसआइएल संसारभरका सबै मातृभाषामा बाइबलको अनुवाद गराउन चाहने अन्तरराष्ट्रिय संस्था हो । नेपालमा झन्डै पचास वर्षदेखि एसआइएल सक्रिय भएर नेपालका मातृभाषा र मानव शास्त्रमा अनुसन्धान गराई रहेको संस्था हो ।

मेरो पाहुना केटाको पहिलो सिकायत रुकुम, रोल्पा र बाग्लुङका मगरहरुले बोल्ने मातृभाषालाई डेभिड वाटर्सले ‘खाम भाषा’ भन्ने नाउँ दिए भन्ने रहेछ । डेविड वाटर्सले त्यस किताबमा भाषाको पनि जातिको पनि नाम ‘खाम’ राखेका छन् । उनले भाषाको नाम ‘खाम’ राखे पनि जातिको नाम ‘खाम’ राख्‍नु हुँदैनथ्यो भन्ने उसको सिकायत रहेछ । यो कुरो धेरै पहिलेदेखि बम कुमारी बुढाले उठाई आएको कुरो हो । बम कुमारीको भनाइ अनुसार मगरातमा नेपाली भाषालाई ‘खस’ भाषा र अरु भाषालाई ‘खाम’ भाषा भन्ने चलन छ, त्यसैले यस क्षेत्रको मगर भाषालाई ‘खाम’ भाषा भनेको ठिक भएन । तेज गौचनले पनि बम कुमारीको कुरामा सही थापेका थिए । म भन्दा बुढा भए पनि बम कुमारी बुढा पनि तेज गौचन पनि त्रिविको भाषा विज्ञान विभागमा मेरा विद्यार्थी हुन् । दुवै जनाले यो कुरो विश्व विद्यालयमा भाषा विज्ञानको कक्षामै मलाई सुनाएका थिए । त्रिभुवन विश्व विद्यालयमा भाषा विज्ञान विभाग खुले पछि बम कुमारी बुढाले नाम लेखाएकी थिइन् । उनी कक्षामा पनि सक्रिय सहभागी भएर छलफलमा भाग लिन्थिन् । विश्व विद्यालयको विद्यार्थी भए पछि उनले बसमा परिचय पत्र देखाएर कन्सेसन माग्दा खलासीले ‘अब त हजुरआमाहरु पनि पुरा भाडा तिर्नका गाराले विश्व विद्यालयको परिचय पत्र बनाएर हिँड्न थाले छन्’ भनेर गिज्यायो भनेर सुनाउँथिन् । बम कुमारीले भाषा विज्ञानमा एमए पुरा नगरी छोडी दिइन्, तर डेभिड वाटर्सको रोल्पा रुकुमका मगरलाई ‘खाम’ भनेकामा आफ्नो असहमति भेट भएका वेलामा प्रकट गर्थिन् । कर्ण बहादुर मगरले त्यस क्षेत्रका मगर भाषाको दुई पल्ट सम्म शब्द कोश बनाउँदा मेरो सहयोग लिएका थिए । बम कुमारी बुढाकै असहमति उ पनि मसँग प्रकट गर्थे ।

डेभिड वाटर्सले उनका किताबमा एउटा युरोपेली लेखकले रोल्पा रुकुमका मगरहरु मगरै होइनन् भन्ने कुरो लेखेको पनि उद्धरण गरेका रहेछन् । मलाई भेट्न आउने केटाले त्यसमा पनि आपत्ति जनायो । एसआइएलले एथ्नोलगमा ‘खाम भाषा’ को परिचय दिँदा डेभिड वाटर्सकै परिचयलाई आधार बनाएको थियो । एथ्नोलगको नेपाली संस्करणमा पनि त्यसको अनुवाद नेपाली पढ्न सक्‍ने सबैले बुझ्ने गरी राखिने नै भयो । त्यो नेपाली अनुवादमा पनि केटाले चिनो लगाएको थियो ।

केटाले डेभिड वाटर्सको कुरो उनका किताबमा, एसआइएलको एथ्नोलगमा र त्यसको नेपाली अनुवादमा छरिएको देखाए पछि के भन्यो भने, ‘सर, यो कुरो नसच्याए सम्म सर बाग्लुङ नआई दिनु होस् !’ मैले उसलाई भने, ‘यो कुरो डेभिड वाटर्सले लेखेका हुन् । उ मरी सके । म डेभिड पनि होइन, एसआइएलको मान्छे पनि होइन, भाषा विज्ञानको प्रमुख पनि होइन अनि यो कुरो मैले के आधारमा सच्याउने त ?’ केटाले भन्यो, ‘नेपाली जात जातिका भाषा तपाईँले नै बिगार्नु भएको हो भनेर धेरै मान्छेले भन्छन्, त्यसैले तपाईँले नै सच्याउनु पर्‍यो !’

‘मैले नेपालका पचास साठी ओटा लेख्य परम्परा नै नभएका मातृभाषाको वर्णमाला बनाई दिएको छु । नेपालका त्यस्ता धेरै भाषाको व्याकरण बनाउने, कोश बनाउने र आफ्नो मातृभाषाको विकास गर्न लागी परेकाहरुलाई मैले सघाई दिएको छु, कर्ण बहादुरलाई नै पनि रोल्पा रुकुमको मगर भाषाको शब्द कोश बनाउन मैले सहयोग गरेको छु; लोक बहादुर थापालाई उनको मगर भाषाको व्याकरण बनाउन मैले सघाएको छु; हीरा सिंह थापालाई उनको मगर भाषाको कोश बनाउँदा पनि मैले सघाई दिएको छु । डोल्पाका मगरहरुले बोल्ने काइके भाषाको पनि वर्ण माला बनाई दिएको छु । लिम्बु भाषामा थुप्रै काम गरेको छु, त्यसैले माधव पोखरेलले नेपालका भाषा बिगार्‍यो भनेर कसैले पनि भन्दैन ।’

‘भन्छन् ।’

‘कसले भन्छ? एउटा मात्रै मान्छेको नाउँ लिनु होस् न !’

‘सबैले भन्छन् !’

‘उदाहरणका लागि एक जनाको मात्र नाम लिनु होस् त !’

‘बम कुमारी बुढा’

‘बम कुमारी मेरी चेली हुन्; उनले त्यसो भन्दै भन्दिनन् ।…लु, अब मैले के गर्नु पर्‍यो त?’

‘अब हामी योगेन्द्र यादवलाई पनि, दानराज रेग्मीलाई पनि, लोक बहादुर थापालाई पनि, गौ बहादुर आलेलाई पनि भौतिक कारवाही गर्छौँ; एसआइएलमा आगो लगाउँछौँ; डेभिड वाटर्सको किताबमा पनि आगो लगाउँछौँ; त्यस किताबको प्रकाशकलाई पनि लेखेर पठाउँछौँ, तर सर, तपाईँ चाहिँ नेपालका राष्ट्रिय सम्पदा हुनु हुन्छ; हामी जस्ता दुई चार जना मरे पनि हुन्छ, तर तपाईँले चाहिँ मर्नु हुँदैन, त्यसैले सरलाई हामी अनुरोध गर्न आएका ! जब सम्म डेभिड वाटर्सले लेखेको आपत्तिजनक कुरो सच्याइँदैन, तब सम्म सर बाग्लुङ नआई दिनु होस् ! नत्र सर, हामी त इ यसरी भौतिक कारवाही गर्न खुकुरी नै बोकेर हिँड्ने गरेका छौँ ।’ केटाले झोला भित्रबाट तौलियाले बेरेको खुकुरी दापबाट बाहिर निकालेर देखायो ।

यसरी मलाई नेपालका मातृभाषाहरुलाई बराबर मायाँ गरेर सबै मातृभाषाको विकासमा लागी परेर अध्ययन अनुसन्धान र सहयोग गर्ने अद्वितीय नेपाली भाषा वैज्ञानिक भए बापत उच्‍च मूल्याङ्कन स्वरूप खुकुरी दर्शन भयो । महानन्द सापकोटाले लेखेका थिए, ‘बोट दिन्छ सबैलाई ढुङ्गा हान्दा मिठो फल; मान्छेले कसरी झर्नु वृक्ष भन्दा पनी तल !’

त्यो दिन मलाई अपूर्व रसानुभूति भयो । भोलि पल्ट मैले सोचेँ, ‘यस्ता घरैमा आएर नाङ्गो खुकुरी देखाउनेहरुबाट आफुलाई जोगाउने के उपाय छ?’ मैले प्रहरीलाई खबर गर्नु उचित ठानिन । हाम्रो प्रहरीको भर सङ्कटका घडीमा मैले किन गर्न सकिन हँ ? मैले मगर सङ्घका उपाध्यक्ष कर्ण बहादुर मगरलाई फोन गरेँ, ‘फलानो भाइले म कहाँ आएर यसो यसो भन्यो र यसरी खुकुरी देखायो । अब मेरो प्रतिरक्षा त मगरहरुले नै गर्नु पर्छ ।’ कर्ण बहादुरले भने, ‘सरलाई केही हुँदैन; सरको सुरक्षा हामी गर्छौँ ।’

त्यस पछि मैले कर्ण बहादुरलाई भनेँ, ‘डेभिड वाटर्सले लेखेको कुराले बिझेको बम कुमारी बुढा पनि तपाईँ पनि मलाई सुनाउनु हुन्थ्यो, तर म डेभिड वाटर्स पनि होइन, एसआइएलको मान्छे पनि होइन, भाषा विज्ञान विभागको प्रमुख पनि होइन भनेर तपाईँहरुका चित्त दुखाइको कुरालाई म मेरो चासाको कुरै ठान्दिनथेँ, तर आज त्यसै निहुँमा मैले खुकुरी दर्शन गर्नु परे पछि अब यो कुरो मेरो चासाको विषय भयो । अब तपाईँहरु डेभिड वा एसआइएल का अरु कसैले लेखेका तपाईँहरुलाई बिझ्ने कति कुरा छन्, ति सबै स्रोत खुलाएर टिप्‍नु होस्; म एसआइएलका प्रतिनिधि र मगरहरुका प्रतिनिधिको त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागमा त्यहाँका प्राध्यापकहरुका उपस्थितिमा सम्झौता गराई दिन्छु ।’ कर्ण बहादुरले माने ।

त्यस पछि मैले त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागका प्रमुख डा. दानराज रेग्मीलाई फोन गरेँ र सबै कुराको बेलिबिस्तार लगाएर एसआइएल र मगर प्रतिनिधिहरुका बिचमा भाषा विज्ञान विभागका प्राध्यापकहरुका रोहवरमा सम्झौता गराई दिउँ भन्ने प्रस्ताव राखेँ । दानराज रेग्मीले मेरो प्रस्ताव माने । एक दिन बिस पच्‍चिस जना मगर प्रतिनिधि र एसआइएलका प्रमुखका बिचमा भाषा विज्ञान विभागमा प्राध्यापकहरुका रोहवरमा बम कुमारी बुढा, कर्ण बहादुर मगर लगायत मगर प्रतिनिधिहरुले डेभिड वाटर्सले लेखेका आफुलाई बिझेका कुराहरुको लगत सुनाए; एसआइएलका प्रमुख कर्टिस वुङले मगरहरुले टिपेर दिएका कुराहरु एसआइएलको अमेरिकाको केन्द्रीय कार्यालयमा पठाई दिने र त्यहाँबाट जे लेखिएर आउँछ त्यसको प्रतिलिपि मगरहरुलाई र भाषा विज्ञान विभागलाई एक एक प्रति उपलब्ध गराउने वचन दिए । यसरी मैले खुकुरी दर्शनको तर्पण गरेँ ।

त्यसको बेलुका कर्ण बहादुरले र भोलि पल्ट बिहान बम कुमारी बुढाले फोन गरेर अल्लारेले मलाई खुकुरी देखाएकामा मसित माफी मागे । मैले भनेँ, ‘जससित जे छ, त्यही देखाउने हो, तर तपाईँहरुले एउटा कुरामा होस पुर्‍याउनु पर्‍यो : तपाईँहरुका आँखामा मात्र एउटा अल्लारेले मलाई खुकुरी देखायो, तर डोल्पा, पाल्पा, स्याङ्जा, तनहुँ र अन्यत्रका मगरहरुले यो कुरो सुने भने, उनीहरुले अठार मगरात (रुकुम रोल्पा र बाग्लुङ) का मगरहरुले माधव पोखरेललाई खुकुरी देखाएछन् भन्लान्, अरु जनजातिले यो कुरो सुने भने, मगरहरुले माधव पोखरेललाई खुकुरी देखाएछन् भन्लान् र बाहुन छेत्री जस्ता अरु जातले यो कुरो सुने भने, जनजातिले माधव पोखरेललाई खुकुरी देखाएछन् भन्लान् । नेपालका मातृभाषामा यति धेरै समर्पित भएर काम गर्ने माधव पोखरेललाई खुकुरी देखाएको ठिक भएछ भनेर कसैले भन्दैनन्; खालि नेपालमा नेपाली बाहेक अरु भाषाको विकास भएको सहन नसक्‍नेहरुले मात्र माधव पोखरेललाई ठिक्‍क परेछ भनेर काखी बजाउलान् । यस्ता कुरामा तपाईँहरुले रोक लगाउनु पर्छ ।’

यसरी रोल्पा, रुकुम र बाग्लुङका मगरको प्रतिनिधित्व गर्ने एउटा केटाको मर्यादालङ्घनले गर्दा त्यताका मगरहरुलाई फाइदा भयो कि बेफाइदा भयो, मैले खुट्याउन सकिन । नेपालमा अचेल मुटु छिप्पिएर नाङ्गो खुकुरी देखाउँदै हिँड्नेहरुको न्याय गर्ने शैलीले यसरी मलाई पनि केही दिन हल्लाएको छ ।

(प्रकाशोन्मुख ‘मधुपर्क’, २०७१)

 

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University

Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project)

President: Nepal Development Research Institute (NDRI)

Japan Foundation Fellow (1994-95 and 2009-2010)

President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply