देवनागरी लिपि उत्तरी ब्राह्‍मीबाट विकसित भएको हो । नेपाली र हिन्दी (मराठी, डोगरी र अरू केही) मा प्रयोग हुने देवनागरी लिपिको मूल स्रोत एउटै हो । सातौँ आठौँ शताब्दीमा देवनागरी लिपि आधारभूत रूपमा भारतको महाराष्ट्रमा विकसित भएको हो । गुर्जर प्रतिहार वंशी राजाहरूले त्यसलाई उत्तर भारतमा ओसारे ।

आधारभूत रूपमा गुर्जर प्रतिहारवंशी राजाहरूको मूल साइनो भारतको गुजरातसित थियो । ‘गुजरात’ शब्द नै ‘गुर्जर’ शब्दबाट विकसित भएको हो । ग्रियर्सन (१९१६ ई) को भनाइ अनुसार गुर्जरहरू पाँचौँ शताब्दीमा मध्य एसियाबाट भारतीय उपमहाद्वीपमा छिरेका हुन् । ती गुर्जरका वंशजहरू आज मूल रूपमा गुजरात र राजस्थानमा गुजराती र राजस्थानी भाषा बोल्दछन् । गुर्जर प्रतिहार वंशी राजाहरू नवौँ शताब्दी तिर कन्नौजका राजा थिए ।

सातौँ शताब्दीमा इस्लाम धर्मको विकास अरबमा भएको थियो, तर आठौँ शताब्दीको दोस्रो दशकमा नै त्यो धर्म भारतको सिन्ध सम्म आइपुग्यो । त्यसको परिणाम स्वरूप केरलाको कालाडीमा जन्मेका शङ्कराचार्यले हिन्दु राष्ट्रवादको उत्थान गरे । दसौँ शताब्दीदेखि अफगानिस्तानका शासक महमुद गजनीले भारतमा सोमनाथको मन्दिर नै अनेक पल्ट सम्म लुटे । उनले गुजरातमा सोमनाथको मन्दिर समेत ध्वस्त गरे । मुसल्मान शासकहरू १२ औँ शताब्दी अगाडि सम्म त अफगानिस्तानबाटै लुटिरहेका थिए, तर मोहम्मद गोरी चाहिँ भारतमै शासन गर्न छिरे । त्यस पछि दिल्लीलाई मुसल्मानहरूले शासन केन्द्र बनाए । उनीहरूले आफ्ना विधर्मीहरूका विरुद्ध अत्याचार गरे; त्यसको सिकार कन्नौजका गुर्जर प्रतिहार वंशी राजाहरू पनि भए । मुसल्मान शासकहरूको अत्याचार विरुद्ध राजस्थानका शासकहरूले धेरै ठूलो प्रतिरोध र वलिदान गरे पनि अन्त्यमा तिनीहरू मुसल्मान  शासकहरूद्वारा बढारिए ।

कन्नौजदेखि नेपालको सुर्खेत र जुम्ला हुँदै कैलास मानसरोवर क्षेत्र सम्म तीर्थ यात्रा गर्ने प्रागितिसिक बाटो प्रयोग गरेर उत्तर भारतबाट विस्थापित भएका शासकहरूका अनेक बगाल आफ्‍नो धर्मको समेत रक्षा गर्न पश्चिम नेपालमा शरण लिन आए । कैलास मानसरोवर क्षेत्रको गुगे र पुराङमा शासन गर्न पुगेका त्यस्तै पाल वंशी र नाग वंशी राजाहरू नै १२ औँ १३ औँ शताब्दीमा पश्चिम नेपालको कर्णाली क्षेत्रमा समेत राज्य गर्थे । देवनागरी लिपिमा नेपाली भाषामा आफ्‍ना ऐतिहासिक अभिलेखहरू प्रयोग गर्ने तिनै राजाहरू हुन् । यसरी १२ औँ १३ औँ शताब्दीमा जारी भएका तिनै अभिलेखहरू नै नेपाली भाषाका पनि सबभन्दा पुराना अभिलेखहरू भएकाले नेपालमा राष्ट्र भाषा नेपाली र देवनागरी लिपिको इतिहास गाँसिएको देखिन्छ ।

 

नेपाली र हिन्दीमा प्रचलित देवनागरी लिपिको हिज्जेमा केही फरक

१.    स्पर्श वर्ण अगाडिका पञ्‍चम वर्णको उच्‍चारण स्थान

क.    हिन्दी भाषामा ‘ङ’ वर्ण छैन, किन भने हिन्दी भाषामा ‘ङ, न, म’ को लघुतम युग्म भेटिँदैन, तर नेपाली भाषामा ङ वर्ण भएकाले लघुतम युग्म भेटिन्छ, जस्तै :

 

१.     (क) सुङ्ला [suŋla] (सुँघ्ला; सुँग्ला, सुङ्ला),

(ख) सुन्ला [sunla],

(ग) सुम्ला [sumla]

२.     (क) नाङ्लो [naŋlo]

(ख) नाम्लो [namlo]

 

यस फरकले गर्दा हिन्दी भाषामा ङ वर्ण नलेखे पनि हुन्छ, नेपालीमा चाहिँ ङ वर्ण नलेखी हुँदैन।

 

३. (क) मुङ्‍ग्रो [muŋro] ‘bat’

(ख) मुन्रो [munro] ˈearrinɡˈ

 

ख.    हिन्दी भाषामा नेपालीमा जस्तै सुरुमै ङ भएको शब्द भेटिँदैन, तर नेपालीमा भेटिन्छ :

 

४. ङ्‍याक्‍नु [ŋyaknu]

५. ङ्‍याङ्रो [ŋyaŋro]

 

ग.     हिन्दी भाषाको सन्धि नियम अनुसार पछाडिको स्पर्श वर्णको उच्‍चारण स्थान हेरे पछि त्यस अगाडिको पञ्‍चम वर्ण (ङ, ञ, ण, न, म) को उच्‍चारण स्थान अड्कल गर्न सकिन्छ, जस्तै :

 

६. अंक, पंत, संपूर्ण

 

नेपालीमा यस्तो स्पर्श वर्णको उच्‍चारण स्थान अनुसार पञ्‍चम वर्णको उच्‍चारण स्थान अड्कल गर्न सकिँदैन, जस्तै :

 

७. चिम्टा [tsimʈa], बाङ्ठो [baŋʈho], फन्को [phʌnko], भाङ्पाली [b̤aŋpali], ज्याम्ते [dzyamte], चम्को [tsʌmko], चम्चा [tsʌmtsa], बुङ्चो [buŋtso], थङ्‍थिलो [tʰʌŋtʰilo], कन्चो [kʌntso], कान्छो [kantsʰo], भान्टो [b̤̤anʈo]

 

घ.     माथि उल्लेख गरिएका दुइटा वर्ण वैज्ञानिक फरकले गर्दा हिन्दीमा जसरी संयुक्त व्यञ्‍जनका परिस्थितिमा स्पर्श वर्ण अगाडि पञ्‍चम वर्णका ठाउँमा अनुस्वार लेख्‍न सकिन्छ, त्यसरी नै नेपालीमा अनुस्वारले पञ्‍चम वर्णको काम लिन सकिँदैन ।

 

८. *सुंला (सुङ्ला? सुन्ला? सुम्ला?)

९. *कांलो ‍ (कान्लो? काम्लो?)

१०. *मांरो (माम्रो? मान्रो?)

११. *झंके  (झन्के? झम्के?)

१२. *संचार  (सम्चार? सञ्‍चार?)

१३. *नांलो (नाम्लो? नाङ्लो?)

 

हलन्त बहिष्कारको समस्या

ङ.     हिन्दी शब्दका पदान्तमा पूर्ण रूपले अकारको लोप हुन्छ ।

 

१४. अब [ʌb], मुकुन्द [mukund], कमल [kʌmʌl]

 

नेपालीमा त्यसको फरक फरक उच्‍चारण हुन्छ ।

 

१५. अब[ʌbʌ], मुकुन्द [mukundʌ], कमल [kʌmʌl]

 

हिन्दी र नेपाली वर्ण विज्ञानको यस्तो फरकले गर्दा हिन्दीमा हलन्तको प्रयोगै नगर्दा पनि काम चल्छ, तर नेपालीमा चल्दैन ।

 

१६. तँ एउटा चिठी लेख् [lekh]।

१७. तिमी एउटा चिठी लेख [lekhʌ] ।

 

आगन्तुक शब्दको वर्ण विन्यासमा सकार

च.    प्रचलित हिज्जे अनुसार नेपालीमा चाहिँ संस्कृत तत्सम शब्दमा मात्र ‘श, ष’ को प्रयोग गरिन्छ; संस्कृत बाहेक अन्य स्रोतका आगन्तुक स्रोतबाट आएका शब्दमा यी सकारको प्रयोग गरिँदैन, तर हिन्दीमा चाहिँ आगन्तुक शब्दमा पनि ‘श, ष’ को प्रयोग भेटिन्छ ।

 

अनुस्वार र चन्द्र बिन्दुमा फरक

छ.    हिन्दी भाषाका अनुस्वारमा चन्द्र बिन्दु र शिरोबिन्दुको फरक नपारे पनि काम चल्छ, तर नेपाली भाषामा काम चल्दैन, त्यसैले नेपालीमा चाहिँ स्वरको अनुनासिकता व्यक्त गर्न चन्द्र बिन्दु प्रयोग गर्ने चलन छ, हिन्दीमा त्यसलाई शिरोबिन्दुबाटै काम चलाइन्छ ।

 

१८. भान्जो, भाँजो ≠ *भांजो

२०. बान्की, बाँकी ≠  *बांकी

२१. जाँदै, जान्दै, जाम्दै ≠ *जांदै

२२. छिँके, छिन्के, छिम्के ≠ *छिंके

 

निष्कर्ष

ज.    माथिको बेलिबिस्तार हेर्दा लिपि एउटै चलाए पनि हिन्दी र नेपाली भाषामा देवनागरीको प्रयोगमा एकरूपता देखिँदैन । त्यति मात्र होइन, त्यो भेद खालि रोजेको शैलीमा मात्र नभएर भाषा वैज्ञानिक अर्थात् वर्ण वैज्ञानिक तहमै आधारित देखिन्छ ।

Leave a Reply