श्रीमतीको मायाँ र शक्ति

By | December 7, 2014

 

 

 

बिहे हुँदा म अठार वर्षको मात्र थिएँ र मेरी श्रीमती (शारदा) पन्ध्र वर्षकी मात्र । बिहे हुनु भन्दा धेरै वर्ष अघि मैले केटा र केटी फरक फरक किसिमका हुन्छन् भन्ने चाल पाई सकेको थिएँ । जिउ फरक भएको पहिले चाल पाएँ होला, संस्कृति फरक भएको पछि चाल पाएँ, अहिले म त्यो ठ्याक्क सम्झिन्न । केटा र केटी बेग्लै किसिमका लुगा लगाउँथे, घर भित्र र बाहिर बेग्ला बेग्लै किसिमको काम गर्थे । यति कुरा मैले छिटै चाल पाएँ होला । अलिक पछि केटा केटीहरु खेल्दा पनि बेग्ला बेग्लै किसिमको खेल खेल्दा रहेछन् भन्ने थाह पाएँ । सँगै खेल्दा केटाहरु सधैँ बाबु भएको अभिनय गर्थे र केटीहरु सधैँ आमा भएको अभिनय गर्थे । केटा र केटी सँगै खेल्दा त्यो अभिनय साटेको म सम्झिन्न । मैले कहिल्यै पुतली खेलिन अनि आमा भएको अभिनय कहिल्यै पनि गरिन । केटीहरुसित गट्टी खेल्दा अरु केटाले देखेर गिज्याउलान् भन्ने डर चाहिँ मलाई लाग्थ्यो । मेरा केटा र केटी साथी दुवै थिए, तर मेरो आत्मीयता चाहिँ केटी साथीहरुसित थियो ।

सानामा मेरा आत्मीय साथी केटा भन्दा केटी भएकाले मैले नेपाली चलनले केटीलाई दिएका सांस्कृतिक काम गर्न होड गरेर सिकेको थिएँ । म केटीले जस्तो काखीमा गाग्री बोक्थेँ, भात पकाउँथे, फुल टिप्थेँ अनि चुलो लोटाउने पोत्ने, पात गाँस्ने, भाँडा माझ्ने, घर लिप्ने र भित्तो लिम्सिने गर्थेँ । यसैले गट्टी पनि खेल्थेँ, तर पुतली खेलेको सम्झिन्न । केटी साथी भएकै कारणले होला कि कुन मनोवैज्ञानिक कारणले हो, मैले लुकेर आमाको सारी चोलो लगाई हेरेको चाहिँ सम्झिन्छु । मलाई यसरी चालै नपाई म फ्रायडको सिद्धान्तमा चुर्लुम्म डुबी सकेको रहेँछु : म केटा साथीलाई भन्दा केटी साथीलाई मन पराउँदो रहेँछु । मेरो बिहे हुँदा मेरा सबै केटी साथीहरुको बिहे भई सकेको थियो ।

मेरा ठुल्दाजु बालमुकुन्द (पछि आफैँ राखेको स्वयंप्रकाश) जेठी फुपु (फुपुका छोरा छोरीले लगाएकै माताजी साइनो दाजु लगाउनु हुन्थ्यो) सित पाँच वर्षकै उमेरदेखि हरिद्वारमा बस्नु हुन्थ्यो र मेरा माइला दाजु पनि म तिन वर्षकै हुँदा खसी सक्नु भएकाले र धेरै साना भाइ बहिनी भएकाले मैले घरको जेठो बाठो हुनु परेको थियो । आमा अलिक धेरै बिरामी हुनु हुन्थ्यो, त्यसैले पनि मलाई मेरा केटी साथीहरुले दिएको सांस्कृतिक तालिमले घर मझेरीमा काम दिएको थियो । म बार वर्षको हुँदा एक दिन साइँली काकीले आफ्नी एउटी भतिजी ‘यो माधवलाई बिहे गरी दिउँ; ठुली छे; घरको सबै काम गर्छे’ भनेर आमासित कुरो चलाउनु भयो । मलाई काकीको त्यो कुरो मन पर्‍यो; म मुसुक्क हाँसेँ; त्यो ठाउँबाट मस्केर उठेँ र लुकेर आमा र काकीका कुरा सुनेँ । ‘त्यो केटी माधव भन्दा दुई महिना कान्छी त हो, तर अलिक अग्ली छे कि’ भनेर काकीले कुरा गर्नु भयो । केटी मेरी अन्तरी ठुल्यामा कहाँ आएकी रहिछ; भाउजुकी भतिजी रहिछ । नेपाली समाजमा अग्लाइमा पनि बेउलाले बेउलीलाई जित्नै पर्ने ! यो समस्या समाधान गर्न म आफैँ कुनै बहानामा ठुल्यामा कहाँ गएँ; केटीलाई देखेँ; केटी भित्र बाहिर गर्दा दैलामा मनै मन चिनो लगाएँ; एक छिन पछि गएर आफु उभिएर केटीको अग्लाइ नापेँ । केटी म भन्दा होची नै रहिछ; तर त्यो केटीसित मेरो बिहे भएन; पछि मेरो एउटा भतिजासित बिहे भएकाले त्यो केटी मेरी बुहारी परी ।

‘मन परेकी केटी’ भन्ने निबन्धमा वर्णन गरेकी केटी त यो घटना भन्दा दुई वर्ष पछाडिको हो । संवत् २०२४ साल भर्खर लागेको थियो; म साढे अठार वर्षको मात्र भएको थिएँ; आमाले सुनसरीको चकरघट्टीमा खोटाङका वम प्रसाद ओझाकी छोरी मेरा लागि मन पराएर रोजेर आउनु भएछ । त्यसको केही दिनमा ‘केटो’ हेरेर वाग्दान गरेर मलाई छोरी दिन छोरीका बा मेरा छिमेकमा (उहाँका साइँला दाजुकी छोरीका घरमा) आउनु भएछ । आमा पिताजीले कुरो छिनी सक्नु भएछ । सबै कुरो टुङ्गो लागे पछि उहाँले एक पल्ट ‘केटो’ हेर्न माग्नु भएछ । बोलावट पाएर म पुगे पछि उहाँले वाग्दान दिनु भयो । असारको पन्ध्र गतेलाई कुरो छिनियो ।

त्यति वेला टेलिफोन सुविधा आजको जस्तो थिएन । धरानबाट जन्ती पन्ध्र गते चत्रा पुग्दा परिवारमा कोही रजस्वला भएर बिहे सोर गतेलाई सरी सकेको चत्रा पुगे पछि मात्र थाह भयो । अघिल्लो दिन रातिको लगन थियो; भोलि पल्ट दिउँसोको लगन भएकाले धरानका अरु इष्टमित्रले किन जन्ती फर्किन ढिलो भयो भन्ने सुइँकै पाएनन् । बेलुका बेरोजगार भएर त्यति फरक पनि परेन; फरक के मात्रै पर्‍यो भने, बेउलीले झ्यालबाट लुकेर बेउलो देखिछ, तर बेउलाले चाहिँ भोलि पल्ट बिहान स्वयंवरका वेलामा मात्र देख्न पायो । उमेर, लाज, चलन र वातावरणले गर्दा बेउलीलाई राम्ररी हेर्न त धेरै समय लाग्यो ! हिजो आज पनि अनुहार हेर्दा कतै न कतै नौलो जस्तै र जति पल्ट हेरे पनि केही कम्ती देखिए जस्तै र कतै न कतै केही देख्न छुटे जस्तो लाग्छ ! बेउला बेउलीले जीवनभर जति लामो समय सम्म हेराहेर गरे पनि पुरै चाहिँ देखी सिद्ध्याउने रहेनछन् ! त्यति जान्दा जान्दै पनि प्रकृतिको यस्तो मिठासमा छेकारो लगाउने सामाजिक चलन कति दुष्ट भएर प्राण घातक रोग झैँ पछि लाग्ने रहेछ !

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा बेउली अन्माउँदा देखि आफ्नो घरमा भित्र्याउँदा सम्म बेउलालाई आफैँ राजा भएर युद्ध जिते जस्तो लाग्ने रहेछ ! बेउली पट्टिका लागि चाहिँ जन्ती आफ्नो आङनमा आएदेखि बेउली अन्माई सके सम्म एउटा युद्ध हारे जस्तो लाग्ने रहेछ । जन्तीलाई पनि बेउलीका आङनमा हुँदा हार्ने राजाका आङनमा आफु जित्ने राजाकै सेना र सैनिक भए जस्तो लाग्ने रहेछ । जन्ती लैजाने चलन पनि समाजले विजयाकाङ्क्षी र विजिगीषु राजाहरुबाटै सिकेको रहेछ!

मायाँ कहाँ नेर लाग्छ? मायाँ पहिले बोक्रामा लागेर बिस्तारै गुबो र गुदीमा पस्तै जाने रहेछ । पहिले मलाई आफ्नी बेउली अर्काको बोटबाट टिपेर ल्याएको बेलौती जस्तै लागेको थियो । अर्काको बोटबाट चोरेर खाएको फल कस्तो मिठो हुन्छ ! कुनै वेला मलाई बेउली मेरी सम्पत्ति जस्तो पनि लाग्थ्यो । पहिले त मलाई मेरी बेउली अर्काकी छोरी आफ्नी बनाएको जस्तो मात्र लाग्थ्यो ! समय बित्तै जाँदा बिस्तारै अरुले मेरी बेउलीलाई गाली गर्दा वा वचन लगाउँदा मलाई आफैँलाई दुख्न थाल्यो; अरुले मेरी बेउलीको प्रशंसा गर्दा मैलाई प्रशंसा गरे जस्तो लाग्न थाल्यो । त्यस पछि एउटा समय आयो जब मैले आफुलाई र उसलाई फरक मान्छे नै ठान्न छोडेँ । मेरो जीवन यात्रामा मेरा सबभन्दा प्यारा र बहुमूल्य मान्छेहरुलाई क्रमश: छोड्दै म निर्णयका हरेक अप्ठ्यारा पाइला र फड्का टेक्ता मैले श्रीमतीलाई चाहिँ रोजेँछु । पहिले पहिले यस्ता कठिन निर्णय लिँदा मलाई आफु कृतघ्न र अपराधी भए जस्तो पनि लाग्थ्यो, तर जब अरु अरु आत्मीयहरुलाई छोडेर पनि मैले श्रीमतीलाई रोजेँ, अनि मलाई प्रकृतिको भल बग्ने कुलेसाको गन्तव्य नै यतै तिर रहेछ जस्तो लागी रहेको छ । मेरा आत्मीय दाजुभाइसँग चुलो छुट्याउँदा अथवा आत्मीय बहिनीहरुलाई बिहे गरेर पठाउँदा मलाई श्रीमती रोज्नु पर्ने समस्यै थिएन, तर जब म सगोलमा दाजुभाइ भएका वेलामा मेरा अनन्य आत्मीय आमा र पिताजीलाई छोडेर श्रीमती र आफ्ना छोराछोरी लिएर काठमाडौँ आएँ, मलाई केही अपराध बोध र कर्तव्यच्युतिको अनुभव भएको थियो । छोरीहरुलाई बिहे गरेर पठाई सकियो; आज मेरा छोराहरु पनि मैले आफ्नो परिवार लिएर आमा पिताजीलाई छोडे जस्तै बेग्ला बेग्लै घरमा बस्छन्, तर श्रीमती र म सँगै बेग्लै ओतमा बस्छौँ । संसारमा प्रकृतिको धर्म भन्दा शक्तिशाली र दिघो धर्म छैन ।

झन्डै दशबार  वर्षदेखि म स्वामी रामदेवको एकलव्य शिष्य भएर दिनहुँ एक दुई घण्टा योगाभ्यास गर्छु । रामदेवको उपदेश अनुसार पाँच पाँच घण्टाको फरक पारेर खायो भने, जे पनि पच्छ; दिउँसो र बेलुकाको खान्कीका बिचमा चाहिँ सात घण्टा फरक परेको राम्रो ! बुहारीहरुका खटनमा भान्सा होउन्जेल त योगाभ्यासमा मेरो नियम लाग्यो, तर बुहारीहरुलाई बिदा गरे पछि चाहिँ म मोटाएको छु । कारण के पर्‍यो भने, बुहारीहरुलाई कुनै खाने कुरो यति मात्र खान्छु भनेको लाग्थ्यो, तर श्रीमतीलाई लाग्दैन । पाँच कक्षामा पढ्दा पढ्दै गाउँका कान्छा मुखियाकी छोरीले किन पढी रहनु पर्‍यो र भन्ने ज्ञान आएर पढ्न छोडेको भए पनि श्रीमती भन्दा ठुलो श्रीमानको स्वास्थ्य बारे जान्ने र फैसला गर्ने अर्को कुनै डाक्टर वा वैज्ञानिक हुन सक्तैन भन्ने कुरो विश्व विद्यालयका  सिल्पट प्राध्यापकलाई के थाह ! अहिले मैले ‘धेर बाठो नभइकन’ श्रीमतीले दिए जति पाकेकै वेलामा पाँच मिनट पनि ढिलो नगरी खाई दिनु पर्ने भएको छ । अब मझेरीमा मान्छे थोरै छन्, त्यसैले श्रीमतीलाई भोक लागेका वेलामा मलाई भोक लागेकै हुनु पर्ने भएको छ; श्रीमतीले भ्याएकै वेलामा मात्र मलाई भोक लाग्नु पर्ने भएको छ । यस धर्म संकटले गर्दा दिनको दुई घण्टा योगाभ्यास गरे पनि मेरो जिउ नै मेरा खटनमा हिँड्न नपाउने र नसक्ने भयो । अहिले विश्व विद्यालयको जागिरबाट अवकाश पाई सके पछि म मेरी श्रीमतीको विकासे पति भएको छु ।

मैले अब श्रीमतीले रोजेकै लुगा भन्दा राम्रो मलाई सुहाउने लुगा अर्को हुन सक्तैन भन्ने तथ्य पत्याएर मान्नु पर्ने भएको छ; घरमा थोरै मान्छे भएकाले मैले लेखपढ गरेकै वेलामा पनि सपना सुनेर त्यसको अर्थ तात्तातै नलगाई दिँदा श्रीमतीको चित्त दुख्ने डरले आफ्नो ढङ्ग, ज्ञान र पत्यार भए पनि नभए पनि ठिक्क पर्नु पर्ने भएको छ; दुध धेरै खाँदा अथवा दहीको छाली बटुकामा नदेखिने गरी तल परे पनि बोसो बढ्छ भन्ने विज्ञानलाई श्रीमतीको मायाँले वास्तै गर्दैन; श्रीमान् अस्वस्थ होस् भनेर मायै नगरी खान दिएको कुरो भए पो गङ्गालाल अस्पताल पुग्नु पर्ला भन्ने डराउनु ! कान्टले पढाएको एन्लाइटेन्मेन्टको अक्षरश: पालन गर्नेलाई पनि श्रीमतीको मायाँले फन्फनी घुमाउँछ । विश्व विद्यालयमा होक्काँ गरे पनि श्रीमतीलाई बोलेर जित्न सकिँदैन । बिहे गरेको भए हिट्लरको पनि श्रीमतीसित केही पनि चल्ने थिएन ! यसरी हिँड्न, बस्न, उठ्न, घर फर्किन, सुत्न, खान, नुहाउन, दारी काट्न, पाहुनालाई समय दिन र साइत पारेर हिँड्न श्रीमतीको खटन हुन्छ ।

झन्डै दश वर्ष अगाडि भारतको ‘विश्व विद्यालय अनुदान आयोग’ ले ‘उत्तर बङ्ग विश्व विद्यालय’ मा भारत भरिका महाविद्यालय र विश्व विद्यालयमा नेपाली पढाउने गुरुहरुलाई नेपाली भाषा र व्याकरण विषयमा छ ओटा व्याख्यान दिन मलाई बोलाइएको थियो । श्रीमतीले पनि साथ लाग्ने रहर गरेकाले म लिएरै सिलिगुडी गएको थिएँ । दिउँसो म व्याख्यान दिन जाँदा श्रीमतीलाई कोठामा एक्लै के छोड्नु भनेर मैले कक्षामै लगेको थिएँ र अरु सहभागीसितै राखी दिएको थिएँ । मेरो प्रवचन सकिए पछि सिक्किम विश्व विद्यालयकी डा.पुष्प शर्माले मेरी श्रीमतीलाई ‘मेडमले कति पढ्नु भएको छ’ भनेर सोधिन् अरे । उसले जवाफ दिई अरे, ‘सरका छोराछोरी र घर हेरी दिएर मैले सरलाई पढाएकी !’

कहिले काहिँ त मेरो सिद्धान्तलाई गोली ठोकेर भए पनि श्रीमतीको मन राख्न मैले तम्तयार हुनु पर्छ । श्रीमती चाहिँ विशेष चाड पर्वमा ढोग्न र गोडाको पानी खान नदिए, स्वर्ग जाने बाटैमा मैले छेकारो र तघारो तेर्स्याई दिएको ठहराउँछे; म यस्ता नखरालाई पितृसत्तात्मक समाजको दास मनोवृत्ति ठान्छु, तर म आफुले जानेको, जस्तै अप्ठ्यारो कुरो पनि विश्व विद्यालयका विद्वान्‌हरुलाई नै पनि सजिलै बुझाउन सक्छु भन्ने अहङ्कार पाले पनि मेरी श्रीमतीको ज्ञानका अगाडि परास्त हुन्छु । यसरी पहिले बेउली भित्र्याउँदा बाहिरिया र शक्तिहीन, बुहारी हुँदा अरुका खटनमा लत्रिने एउटै महिला श्रीमती भए पछि श्रीमानले पनि मायाँ र इज्जत गर्छ भने, चक्रवर्ती हुने रहेछन् ।

 

 

 

 

 

 

 

Category: My Papers Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply