मनोविश्‍लेषणको चिनारी

By | March 19, 2015

 

डा. माधव प्रसाद पोखरेल

 

  • मनोविश्लेषण

मान्छेको मन भित्र कस्ता प्रक्रियाहरुले काम गर्छन् भन्ने कुरो पत्तो लगाउने विधिलाई मनोविश्लेषण भन्दछन् । मनोरोग लागेका मान्छेका बिरामीको उपचार गर्ने विधिको नाम पनि मनोविश्लेषण हो । अर्का तिर मानसिक उपचार गर्ने क्रममा चिकित्सकहरुले फेला पारेका समस्त सूचनाहरुको सङ्ग्रहलाई पनि मनोविश्लेषण भन्ने चलन छ । मनोविश्लेषणको इतिहासको जानकारी राख्‍नु नै मनोविश्लेषणको परिचय चाल पाउने सर्वोत्तम उपाय हो भन्ने फ्रायडको भनाइ थियो (Mizolla, Psychoanalysis)।

  • मनोविश्लेषणको विकास क्रम

फ्रायडले १९०४ई देखि १९४०ई सम्म मनोविश्लेषणका विषयमा लेखे । मनोरोग (न्युरोसिस) लागेका बिरामीका मनमा गाढिएर रहेका बिर्सी सकेका कुरा फेला पार्न र उपचार गर्न सम्मोहन (‘चुम्बकीय निद्रा’ अथवा मोहनी लगाउने) विधिको प्रयोग कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरो फ्रायडका गुरु चार्को (१८७८ई) ले छारेरोग लागेका बिरामीको उपचार गर्दा जाँचे । चार्कोले बिरामीलाई बिजुलीको झड्का दिएर, एक्ल्याएर, मुहुनी लगाएर अनि चार्को र फ्रायडका गुरु जोसेफ ब्रिउअरले अन्ना ओ भन्ने बिरामीको उपचार गर्ने क्रम (१८८०-१८८२) मा विकास गरेको ‘विरेचन विधि’ (‘cathartic method’) अपनाएर बिरामीको मनोरोग निको पार्न चार्कोले गरेका जाँचमा फ्रायडले पनि साथ दिएका थिए ।

ब्रिउअरले विकास गरेको ‘विरेचन विधि’ अनुसार मनोरोग लागेका बिरामीले देखाएका लक्षणलाई केलाएर बिरामीको रोग अचेतनको कुन मनोद्वन्द्वले गर्दा लागेको रहेछ भन्ने चाल पाउन डाक्टरले बिरामीसितै कुरा गरेर प्रकट गर्न नपाउनाले बिरामीका कुन कुन मानसिक इच्छा पुरा हुन सकेनछन् र बिरामीले ती इच्छा अचेतनमा दबाउनु र लुकाउनु पर्दा मनोरोग लागेछ भन्ने पत्तो लागे पछि उपचार गर्ने विधि हो । विरेचन विधि अनुसार बौलाहाले जुन घटनाले उसलाई बहुलट्टी सुरु भएको हो, त्यो घटना सिलसिला मिलाएर सुनाउन जान्यो अथवा सक्यो भने, उसको बहुलट्टी कुरा गरेर निको पार्न सकिन्छ भन्ने विश्वास थियो । त्यस्ता दबाइएका कुण्ठामा कुनै कुनै कुण्ठा चाहिँ बाल्य कालदेखि कुँडिएर बनेका यौन इच्छा हुन्छन् भन्ने मानिएको थियो ।

उपचार गर्दै जाँदा विस्तारै फ्रायडलाई बिरामीले आफ्ना सपना पनि सुनाउन थाले । त्यस्ता सपना केलाउँदा बिरामीको अचेतनमा दबिएका यौन इच्छा र रहरहरु सन्तुष्ट हुँदै गएको व्याख्या फ्रायडले गरे । यसरी बिरामीसित कुरा गरेर उसको मानसिक अवस्था चाल पाउन फ्रायडलाई के अप्ठ्यारो भयो भने, सबै बिरामीले त आफ्ना गोप्य कुरा डाक्टरसित खुलस्त पारेर भन्न नचाहने र नसक्‍ने रहेछन् । यस समस्याको समाधान गर्न फ्रायडले ‘मुक्त साहचर्य’ को विधि अपनाए, जस अनुसार बिरामीले बसको झ्यालमा बसेर यात्रा गर्ने मान्छेले भित्र पट्टि बसेको मान्छेलाई जे जे देख्यो त्यही त्यही वर्णन गरे जस्तो आफ्नो अनुभवको कुरो नकेलाई सुनाउँदै जानु पर्छ । त्यस्ता कुरामा बिरामीका अचेतनमा दबिएका कुराहरुको दसी फेला पर्न सक्छ र डाक्टरलाई उपचार गर्न सजिलो पर्छ भन्ने मान्यता थियो । बिरामीलाई मनोवैज्ञानिक नाटक देखाएर पनि उसको अचेतनको कुण्ठा खुस्काउन सकिन्छ भन्ने मान्यता पनि विकसित भयो । समस्या परेका वेलामा फ्रायड आफ्ना अरु डाक्टर मित्रहरुसँग चिठी लेखेर अथवा कुराकानी गरेर पनि बिरामीको उपचार गर्थे ।

यस क्रममा ब्रिउअरले आफुले उपचार गरी रहेकी अन्ना ओ भन्ने बिरामी फ्रायडको जिम्मा लगाए; फ्रायडका चेला भएर युङ र एड्लर पनि आए र केही समय काम गरेर फरक मत राख्तै छोडेर गए । मनोविज्ञानमा ‘चेतन प्रवाह’ (स्ट्रिम अफ कन्ससनेस) शैलीका जन्म दाता विलियम जेम्सले प्रशंसा गरेर फ्रायडले छारेरोग बारे लेखेको लेखको सारांश अमेरिकाको ‘साइकोलोजिकल रिभ्यु’ भन्ने पत्रिकामा प्रकाशित गरे । यसरी अनेक मनोवैज्ञानिकहरुले फ्रायडका विचार र पद्धतिको प्रयोग, प्रशंसा, आलोचना र विकास गर्दै मनोविश्लेषणका फाँटमा योग दान गरे । यसमा ज्याक लकाँ (१९५४-१९८१ई) ले भाषा वैज्ञानिक ससुर र कार्ल मार्क्सका सिद्धान्तलाई जोडेर मनोविश्लेषणका फाँटमा नौलो पाइलो हाले ।

फ्रायड (Freud, On aphasia (A critical study)) ले १८९१ई मा ‘अफाजिया’ विषयमा उनको पहिलो किताब प्रकाशित गरेर मनोविज्ञानका लेखकका रूपमा प्रवेश गरे । दिमागको देब्रे भागमा चुक भएर मान्छेको बोली बिग्रिने रोग बारे लेखेको फ्रायडको यो पहिलो किताब थियो । मनोविश्लेषणका फाँटमा फ्रायडले पाइला हाल्नु भन्दा अघि सम्म उनका गुरुहरुकै र प्रथमत: उनकै पनि बिरामीका मनमा लुकेका र दबिएका कुण्ठाहरु पत्तो लगाउने विधि सम्मोहन (हिप्नोटिज्म) थियो, तर फ्रायडले १८९२ई मा सम्मोहन विधिको आलोचना गरे ।

  • मनोदमन

मनोदमन (रिप्रेसन) को अवधारणा फ्रायडका विचारमा १८९३ई मा सबभन्दा पहिले देखा परेको हो । समाज र मनको चेतनालाई अस्वीकार्य हुने विचार, कल्पना, दृश्य र स्मृतिलाई चेतनाबाट अलग्याउने अथवा चेतनामा आउनै नदिने मानव मनको प्रतिरक्षा गर्ने स्वाभाविक विधिलाई मनोदमन (Rabin) भन्दछन् । छारेरोगले आक्रमण गरेका वेलामा अथवा बहुलाएका वेलामा मनोदमनले नै काम गरेको हुन्छ, किन भने त्यति वेला बिरामीलाई होसै हुँदैन । मान्छेका अचेतनमा भएका कामुकता जस्ता पाशविक वृत्तिहरुलाई र मन दुख्‍ने र मनमा बिझाउने कुराहरुलाई प्रकट हुन चेतनले नदिने हुनाले अन्तर्मनका पाशविक वृत्ति र चेतन बिचको द्वन्द्व तर्काउन प्रकृतिले मनोदमनको बाटो रोज्छ ।

फ्रायडका सिद्धान्तमा मनोदमनको अवधारणा अनेक चरणमा विकसित भएको छ : (क). १८९५ई सम्म मान्छेले किन बिर्सिन्छ भन्ने कुरामा फ्रायडको ध्यान केन्द्रित भएका वेलामा उनले मनमा भएको जुन जुन कुरो मान्छे बिर्सिन चाहन्छ, त्यही त्यही कुरा मात्र बिर्सिन्छ भन्ने सिद्धान्त बनाउँदा मनोदमनले गर्दा नै मान्छेले बिर्सिन्छ भन्ने विचार प्रकट गरेका थिए । छारेरोग भएका अथवा बहुलट्टी भएका बिरामीहरुलाई सम्मोहन (हिप्‍नोटिज्म) गराएर उनीहरुले बिर्सी सकेका कुराहरु मनमा ल्याउन वा फर्काउन सकियो भने, बिरामी निको हुन्छ भन्ने फ्रायडले यसै वेला चाल पाए । (ख). १८९५ पछि फ्रायडले बालखमै यौन भावना हुन्छ भन्ने सिद्धान्त र इडिपस वृत्तिको आविष्कार गरेकाले बालख र जुनसुकै मान्छेका मनमा गाढिएर वा लुकेर रहेका यी वृत्तिहरुलाई समाजमा प्रकट हुन नदिन मनोदमन प्रक्रियाले नै मुख्य भूमिका खेल्छ भन्ने भन्ने फ्रायडको धारणा विकसित भयो ।

  • मान्छेले किन बिर्सिन्छ?

मान्छेले किन कसैको नाउँ वा कुरो बिर्सिन्छ भन्ने विषयमा १८९४ई देखि नै फ्रायडले मनोविकारका प्रसङ्गमा चिन्तन गर्न थालेका भए पनि बिर्साइ बारे फ्रायड (Freud, The psychical mechanism of forgetfulness) को पहिलो लेख १८९८ई मा मात्र प्रकाशित हुन्छ (Richard)

फ्रायडका विचारमा मान्छेका बिर्साइको साइनो उसका मनका चेतन, पूर्वचेतन र अचेतन भन्ने तिनै ओटा खण्डसित गाँसिएको हुन्छ । कसैको नाउँ वा कुनै कुरो बिर्सनु एउटा सामान्य प्रकारको मानसिक समस्या हो । नाउँ बिर्सने प्रक्रिया मनले एक थोक भनुँ भन्दा मुखले अर्कै थोक भन्न पुगे जस्तै हो । दुइटै प्रक्रियाले मनमा चली रहेको कुनै आँधी र त्यस अन्तर्द्वन्द्वलाई दबाउन मनले गरी रहेका कोसिसको सूचना दिन्छन् । कसैको नाउँ बिर्सेर जति सम्झन खोज्दा पनि सम्झन नसकेको अवस्थालाई उदाहरणका रूपमा लिन सकिन्छ । मनमा बिझ्ने जुन कुरो मान्छे आफ्नो मनैमा ल्याउन चाहँदैन, मान्छेले त्यही कुरो बिर्सिन्छ भन्ने फ्रायडको सिद्धान्त छ । यस दृष्टिले बिर्सिनु पनि एक किसिमको मनोदमन (Repression) हो । कसैको बिर्सेको नाउँ मान्छेका मनको चेतन खण्डबाट पूर्व चेतन खण्डमा गएर लुकेको हुन्छ र छिटै चेनत खण्डमा फर्किन्छ पनि । पहिले पहिले मनमा अचेतनको बेग्लै खण्ड हुन्छ भन्ने कुरो प्रमाणित गर्न फ्रायड यस्तै नाउँ बिर्सिने कुराको उदाहरण दिन्थे । समाजले स्वीकारै नगर्ने अचेतनको यौन रहर लुकाउने प्रयत्‍न गर्दा नै छारेरोग लाग्छ भन्ने व्याख्या गर्दादेखि नै फ्रायडले बिर्सिने प्रक्रियाको कुरो उठाउन थालेका हुन् । बिर्सेको कुरो सम्झन खोज्दा आंशिक रूपमा सफल भइन्छ, आंशिक रूपमा असफल भइन्छ, त्यसैले यसको साइनो चेतन र पूर्व चेतनसित पनि हुन्छ ।

आफुले बिर्सेको सपना सम्झिन खोज्यो भने, सबै प्वाल अथवा खाली ठाउँ सपनैबाट टाल्न सकिँदैन र बिपनाका कुरा पनि मिसाउनु पर्छ । त्यस्तै, बिर्सेको नाउँ तुरुन्त सम्झन खोज्यो भने, सफल भइँदैन र त्यो नाउँसँग जोडिने अनेक प्रसङ्ग जोडेर कोसिस गर्नु पर्छ ।

कुरा गर्दा गर्दै सिग्नोरेल्ली (Signorelli) नाउँ भएको एउटा प्रसिद्ध चित्रकारको नाउँ जति कोसिस गर्दा पनि फ्रायड आफैँले सम्झन नसकेको उदाहरण दिएर त्यस नाउँको साइनो आफ्नै चेतन, पूर्व चेतन र अचेतनमा बिझेका कुरासँग जोडिएकाले आफुले सम्झन नसकेको हो भन्ने मनोरचनात्मक (Phenomenological) अथवा भाष्य वैज्ञानिक (Hermeneutic) विश्लेषण फ्रायडले गरेका छन् । फ्रायडको यो विश्लेषण एकातिर मनोविज्ञान पढाउने गुरु र विद्यार्थीहरुलाई आदर्श अभ्यास भएको छ भने, अर्कातिर ज्याक लकाँ (Rabate 5) ले त्यसै विश्लेषणलाई आधार मानेर मान्छेको अचेतन उसैको मातृभाषाको संरचनाबाट बनेको हुन्छ भन्ने सिद्धान्त विकसित गरेका छन् ।

‘सिग्‍नोरेल्ली’ नाउँ सम्झन बल गर्दा फ्रायडका दिमागमा बरु ‘बोट्टिसेल्ली’ र ‘बोल्ट्राफियो’ नाउँ भएका इटालीका दुइटा चित्रकारका नाउँ मनमा आए । ‘सिग्‍नोरेल्ली’ र ‘बोट्टिसेल्ली’ दुइटै नाउँका अन्तमा ‘एल्ली’ छ । त्यसै ‘एल्ली’ ले ‘सिग्‍नोरेल्ली’ को साटो ‘बोट्टिसेल्ली’ सम्झायो । ‘बोट्टिसेल्ली’ र बोल्ट्राफियो’ भन्ने दुइटै नाउँ ‘बो’ अक्षरबाट सुरु भएकाले फ्रायडको अचेतनमा ‘बोस्‍नियाँ हर्जगोबिना’ को सम्झना भयो । बोस्‍नियाँ हर्जगोबिनाले फ्रायडको मनमा त्यहाँ बस्‍ने तुर्केलीहरुको सम्झना भयो । तुर्कहरु यौन सम्बन्ध नराखी मर्ने मान्छेले जीवनको वास्तविक आनन्दै पाउँदैन भन्ने विश्वास राख्‍ने हुनाले तुर्केलीहरुको सम्झनाले फ्रायडलाई यौन आनन्दको सम्झना भयो । यौन आनन्दको सम्झना हुने बितिक्‍कै फ्रायडलाई आफ्नै बाबुले खसी पार्ने डर (क्यास्ट्रेसन कम्प्लेक्स) ले सतायो । ‘बोल्ट्राफियो’ भन्ने कलाकारको नाउँ फ्रायडका मनमा इटालीको ‘ट्राफोई’ भन्ने सहरको नाउँसित जोडियो, जहाँ उनकी एउटी बिरामीले हालसालै आत्महत्या गरेकी थिई । यसरी एकै चोटि फ्रायडका मनमा यौन र मृत्युको परस्पर विरोधी भावनाले घेरे । यसरी फ्रायडका मनमा पहिलेदेखि कुजिएर रहेका कुराले छेकारो हाल्नाले आफुले ‘सिग्‍नोरेल्ली’ भन्ने कलाकारको नाउँ सम्झन नसकेको हो भन्ने फ्रायडले आफ्नै मनोविश्लेषण गरेका छन् ।

  • सपनाको मनोविज्ञान र मनोविश्लेषण

आफ्नै सपनाको विश्लेषण गर्दा (१८९४ई) फ्रायडले के चाल पाए भने, मान्छेका बिपनामा पुरा हुन नसक्‍ने र नसकेका रहरहरु पुरा गर्न नै मान्छेको मनले सपनाको रचना गर्दो रहेछ । फ्रायडको यो विचार पाक्‍न अरु ४-५ वर्ष लाग्यो, जसको फल स्वरूप उनले ‘सपनाको विश्लेषण’ (Freud, The Interpretation of Dreams) भन्ने किताबै लेखे । बिरामीहरु आफ्नो मनको भित्री गोप्य कुरो डाक्टरलाई पनि लुकाउँछन्, त्यसैले बिरामीको अचेतनमा लुकेका थिचिएका रहरहरु चाल पाउन डाक्टरले बिरामीको मनोविश्लेषण गर्दा बिरामीले सुनाएका सपनाको विश्लेषण गर्दा ठुलो सघाउ पुग्छ । आफ्नै मन र सपनाको विश्लेषण गर्दा फ्रायड के निष्कर्षमा पुगे भने, बिरामीलाई छारेरोग अथवा अरु कुनै मनोरोग लाग्‍दा, बिरामी बहुलाउँदा र बिरामीले सपना देख्‍ता उस्तै उस्तै किसिमका लक्षण देखिन्छन्; अर्थात् एउटै किसिमको मानसिक प्रक्रियाले सबै तिर काम गर्छ । त्यसैले बिरामीको मनमा के कुराले काम गरी रहेको छ भन्ने कुरा चाल पाउन र व्याख्या गर्न बिरामीले देखेका सपनाको विश्लेषण डाक्टरका लागि एउटा शक्तिशाली र उपयोगी विधि हो ।

फ्रायडको विश्लेषणका आधारमा मान्छेको मनले सपनाको रचना काव्यात्मक ढङ्गले गर्छ : बिरामीले देखेको सपना केलाएर बिरामीको अचेतनमा कस्तो मानसिक आन्दोलन भई रहेको छ भन्ने चाल पाउन डाक्टरले बिरामीका सपना सुन्नु पर्छ र ती सपना केलाएर त्यो बिरामीको सपना कसरी बुनिएको रहेछ भन्ने कुराको आविष्कार गर्दै बिरामीको अचेतनको पीडा थाह पाउँछ । केही सपना मात्रै संसारभरका मान्छेले एउटै देख्छन्, नत्र धेरैजसो सपनाहरु बिरामीकै मानसिक समस्यासँग ठाडै गाँसिएका हुनाले फरक फरक हुन्छन्, त्यसैले सबै बिरामीले सपनामा देखेको एउटै वस्तु वा घटनाको एउटै अर्थ निस्किँदैन । यसै कारणले फ्रायडले उनकै सिद्धान्तमा आधारित अभिव्यञ्जना वादी र अति यथार्थ वादी कलाको समर्थन गरेनन् ।

सपनाको बुनोटमा जस्तै मान्छेका मनमा कस्ता प्रक्रियाहरु चल्छन् भन्ने कुराको खोजी गर्ने केही विधिहरु फ्रायडले प्रस्तावित गरेका छन् । ‘मुक्त साहचर्य’ तिनीहरु मध्ये एउटा विधि हो । मान्छेका मनमा एउटा कुरो आयो भने, त्यस कुरासँग साङ्ली परेर मन अर्कै तिर बरालिन्छ; यसरी एउटा कुरो सोच्न वा भन्न थाल्दा साङ्ली परेर मन र कुरो कता पुग्छ पुग्छ । यस प्रक्रियालाई मुक्त साहचर्य भन्दछन् र बिरामीको मनोविश्लेषण गर्दा डाक्टरले बिरामीलाई जे जे कुरो मनमा आयो, त्यो नढाँटी र नलुकाई सुनाउन लगाउँछन् । बिरामीले सुनाएका त्यस्ता कुराबाट फुत्केर वा कुरा कुरैमा लुँडिएर आएका दसीलाई केलाएर डाक्टरले बिरामीको मनोदशा चाल पाउँछन् ।

फ्रायडले सपनामा काव्यात्मक बुनोटमा जस्तै दुइटा मुख्य प्रक्रियाले काम गर्ने व्याख्या गरे । फ्रायडले तिनीहरुको नाउँ ‘सङ्घनन’ (Condensation) वा ‘संक्षेपण’ र ‘विस्थापन’ (Displacement) वा ‘स्थानान्तरण’ भन्ने दिएका छन् । पछि ज्याक लकाँ (Lacan) ले याकोब्सन (Jakobson) ले व्याख्या गरेका भाषिक संरचनाका दुइटा प्रक्रिया ‘रूपक’ र ‘लक्षणा’ सँग क्रमश: ‘सङ्घनन’ र ‘विस्थापन’ लाई जोडे (Homer) । जुन शब्दले सादृश्यका आधारमा अर्कै शब्दको अर्थ दिन्छ, त्यस शब्दलाई काव्य शास्त्रमा ‘उपमान’ भन्दछन्, अनि उपमानबाट उपमेयको अर्थ जनाउने प्रक्रियालाई संस्कृत साहित्यमा रूपक अलङ्कार भन्दछन् । बोलचालमा रूपक अलङ्कार वा प्रक्रियाबाट ‘गोरु’ शब्दले ‘मूर्ख मान्छे’ जनाउँछ । सपनामा पनि रूपक प्रक्रियाबाट मूर्ख मान्छे जनाउन गोरु देखिन सक्छ, लिङ्ग जनाउन सर्प, खाँबो, मुरली र रुख जस्तो डोलो वस्तु देखिन सक्छ ।

भाषा वा साहित्यमा एउटै परिस्थितिमा सँगै जोडिएको वा सम्बन्धित दुइटा शब्द मध्ये एउटा शब्दले अर्को शब्द जनाउने लक्षणा नाउँको अर्को प्रक्रिया हुन्छ । ‘दारी’ शब्दबाट दारी पाल्ने मान्छे, ‘दाउरा’ शब्दबाट दाउरा बोक्‍ने मान्छे जनाउने चलन समाजमा भए झैँ सपनामा पनि वीणा शब्दले सरस्वती अथवा विद्या जनाउन सक्छ । यसरी रूपक र लक्षणा जस्ता काव्यात्मक प्रक्रियाहरु मिलेर मान्छेका मनका गहिराइमा गाढिएको वास्तविक कुरो रूपक र लक्षणाले साटिएर सपना देख्‍नेले नै पनि चाल नपाउने गरी सपनाको रचना हुन्छ, जसका हरेक केस्राको मनोविश्लेषण गरेर मनोविश्लेषकले सपनाको अर्थ लगाउँछ र त्यसबाट बिरामीको अचेतनको वास्तविकता चाल पाउँछ । यसरी वास्तविकताबाट सपनाको रचना बन्दा लक्षणा र रूपक क्रियाशील हुन्छन् भने, मनोविश्लेषण गरेर मनोविश्लेषकले सपनाका रूपकबाट शृङ्खला बद्ध रूपले उपमानलाई उपमेयले साट्तै बिरामीको मनमा थिचिएको वास्तविक तथ्य फेला पार्छ अनि अर्कातिर बिरामीसित गरेका कुराकानीको मुक्त साहचर्यबाट लक्षणा प्रक्रिया बन्दा साटिएका हरेक वस्तुका शृङ्खलाको आविष्कार गर्दै बिरामीका अचेतनको वास्तविकता फेला पार्छ ।

फ्रायडको सपनाको सिद्धान्त अनुसार मान्छेले आफ्नो मनको अचेतनको गहिराइमा भएका पीडालाई बगाएर फाल्न अथवा आनन्दको अनुभव गर्न नै सपना देख्छ; सपनामा मान्छेका अचेतनका गाँठा शिथिल हुन्छन् अथवा फुस्किन्छन् र थिचिएका रहरहरु पुरा हुन्छन् । मान्छेको अचेतनमा भएका पाशविक प्रवृत्तिहरु र सामाजिक प्रतिबन्धको द्वन्द्वबाट सपनाको रचना हुन्छ भन्ने फ्रायडको विचार छ ।

  • मनका तिन खण्ड : अचेतन, पूर्व चेतन र चेतन
  • अचेतन :

फ्रायडले मनोविश्लेषणलाई नै ‘अचेतनको विज्ञान’ भनेर परिभाषा गरेका छन् । १८९४ई देखि नै फ्रायडलाई अचेतन (Mizolla, The Unconscious) को आभास र महत्त्वको ज्ञान बिरामीहरुको उपचार गर्दा, मनोदमनको सिद्धान्त र यौनको सिद्धान्त बनाउँदै जाँदा हुन थालेको थियो । फ्रायडका विचारमा अचेतन भनेको एकातिर मनोदमनका वेलामा मनमा उब्जिने कुरा र प्रक्रिया हो; अर्कातिर अचेतन भनेको मनको एउटा कोठालाई खटन गर्ने शक्ति वा संयन्त्र हो । फ्रायडले मान्छेको मनमा अचेतन, पूर्व चेतन र चेतन नाम दिन सकिने तिन ओटा तला हुन्छन् भन्ने सिद्धान्त बनाएका छन्, जस अनुसार अचेतन मानव मनको पहिलो र सबभन्दा ठुलो, शक्तिशाली र महत्त्व पूर्ण तलो, कोठो वा खण्ड हो । अचेतन सम्बन्धी फ्रायडले गरेका अनुसन्धानका आधारमा जुनसुकै मान्छेको मनोलोक द्वन्द्व, पीडा र सङ्घर्षले भरिएको हुन्छ । सहन नसकिने, रोक्‍न नसकिने, सम्झौता गर्न नसकिने, दबिएका, धेरै समय अघिका, बिर्सी सकेका, अनि दु:ख, पीडा, घृणा, डर, कामुकता, रिस र ईर्ष्या लाग्‍ने  विचारहरु अचेतनमा थुप्रिन्छन् । मान्छेका कहिल्यै ननासिने इच्छा र रहरहरु, समाजले प्रकट गर्न छेकारो हालेका पाशविक प्रवृत्तिहरु र सुखेच्छा पनि अचेतनमै थुप्रेका हुन्छन् । अचेतनमा ­दिवा स्वप्‍न अर्थात् स्वैर कल्पनाहरु पनि क्रियाशील हुन्छन् अर्थात् अचेतनमा मान्छे आफ्नै मनको लड्‍डु घिउसित खान्छ; जुन वस्तु, व्यक्ति, व्यक्तिको अङ्ग र जुन क्रिया सम्झिँदा वा कल्पिँदा (स्वैर कल्पना, हलुसिनेसन) मान्छेलाई आनन्द आउँछ, मान्छेका अचेतनमा त्यस्तै स्वैर कल्पनाहरु चली रहेका हुन्छन् र मान्छे अचेतनले कल्पेका त्यस्तै इच्छाहरु तृप्त गर्न चाहन्छ । फ्रायडका विचारमा अचेतन र सपनाको संरचना उस्तै उस्तै हुन्छ । अचेतनको निर्माणमा पनि सपनाको निर्माणमा झैँ काव्यात्मक लक्षणा र रूपकको भूमिका हुन्छ । मान्छेका अचेतनको यथार्थ हँस्यौली, साहित्य र कलामा पनि प्रकट हुन्छ ।

  • चेतन

चेतन (Cahn) का विषयमा फ्रायडले सुरुमा चाहिँ दर्शन शास्त्रमा अथवा दैनिक बोलचालमा चेतना भन्दा जे बुझिन्छ, त्यो भन्दा खासै फरक नभएको धारणा राखे पनि अचेतनका विषयमा उनको धारणा र सिद्धान्तमा परिमार्जन हुँदै गए पछि चेतन र पूर्व चेतनको परिभाषामा पनि केही परिमार्जन आयो । कुनै क्षणमा आफ्नो मनमा के भई रहेको छ भन्ने कुरो चाल पाउने अवस्थालाई मनोविज्ञानमा चेतना भनिन्छ । चेतन शब्द त्यसै चेतना शब्दकै विशेषणबाट बनेको हो । फ्रायडका विचारमा चेतना भन्ने कुरो अचेतन जस्तो प्रकृति वा प्राकृतिक नभएकाले अचेतनको जसरी वैज्ञानिक विश्लेषण गर्न सकिन्छ, त्यत्तिकै वैज्ञानिक विश्लेषण गर्न चेतना र चेतनको सकिँदैन । मानसिक प्रक्रिया भनेकै आधारभूत रूपमा अचेतनकै प्रक्रिया हो भन्ने फ्रायडको मान्यता भएकाले फ्रायड के ठान्दछन् भने, मनोविश्लेषण गर्नु भनेकै अचेतनमा चली रहेका प्रक्रियालाई चेतन प्रक्रियामा अनुवाद गर्नु हो । चेतनाको काम चाहिँ जिउ बाहिर र जिउ भित्रबाट आएका सूचनाहरुलाई जिउकै बाहिरी सतहमा चाल पाउनु हो । कान्टले भने झैँ बाह्य जगत्‌बाट आएका सूचनाहरु त आत्मपरक रूपले मात्र थाह पाइन्छन् अनि अचेतनबाट आएका सूचनाहरु चाहिँ कि स्मृतिका रूपमा कि सुख वा दु:खका रूपमा मात्र चेतनामा आई पुग्छन् ।

  • पूर्व चेतन

पूर्व चेतन (Bauduin) का विषयमा फ्रायडले १८९६ई देखि नै सोच्न थालेका हुन् । मनको अचेतनमा भएका कुरालाई नकेलाई सोझै चेतनमा छिर्न नदिनु नै पूर्व चेतनको मुख्य काम हो । सामाजिक मर्यादालाई अचेतनले स्वीकार गर्दैन, तर पूर्व चेतन भने अचेतन खण्ड र चेतन खण्ड दुइटैको सँधियार भए पनि चेतनसँग बढ्ता मिल्ने हुनाले सामाजिक मर्यादाको पालन गर्नु पर्छ भन्ने मान्यता राख्छ । अचेतनका रहर र आवेगहरुलाई मर्यादामा राख्‍न खोज्ने भएकाले पूर्व चेतन नै मनोदमनको प्रत्यक्ष दूत हो । पूर्व चेतनमा भएको कुरो चेतनले चाहिँ चाल पाउँछ । बिरामीसितै कुरा गरेर बिरामीको पूर्व चेतनमा फेला परेका दसीहरुलाई केलाएर डाक्टरले पूर्व चेतनमै अचेतनको आविष्कार गर्छ । मान्छेले सम्झन नसकेका नाम र भर्खर बिर्सेका कुराको मनोविश्लेषण गरेर अचेतनको आविष्कार गर्ने काम पनि पूर्व चेतनमै हुन्छ ।

  • मनका तिन व्यवस्थापक : इद, इगो र सुपरइगो

अचेतन, चेतन र पूर्व चेतन भन्ने तिन ओटा मानसिक प्रान्तमा हरेक मान्छेको म(न) बाँडिएको हुन्छ भन्ने फ्रायडको विश्लेषणलाई फ्रायड (Id, Ego and Superego, 1923) ले १९२३ई मा संशोधन गरेर अचेतनलाई खटन गर्ने मानसिक शक्तिलाई ‘इद’ (Porte), पूर्व चेतनलाई खटन गर्ने मानसिक शक्तिलाई ‘इगो’ र चेतनलाई खटन गर्ने मानसिक शक्तिलाई ‘सुपरइगो’ भन्ने नाउँ दिए । अब ‘अचेतन’ को अर्थ ‘मनोदमित’ (रिप्रेस्ट) मात्र भयो । अचेतनका सबै मनोदमित कुरा र तिनीहरुको शक्तिलाई समेटेर इगो भन्दा अलग्गै कोठामा इद बस्छ र इगोले चाहिँ इदका असामाजिक तत्त्वहरुलाई निरन्तर छेक्छ अथवा रोक्‍न खोज्छ भन्ने फ्रायडको विचार छ । फ्रायडका सिद्धान्तमा यो संशोधन भए पछि कुनै मान्छेको सम्पूर्ण मानसिक व्यक्तित्व भनेको नै आफ्नो विषयमा बेखवर र अचेत उसको इद मात्र हो, जसलाई इगोले हरदम खरखटन गरी राख्‍नु पर्छ भन्ने कुरो स्थापित भयो । त्यही इदबाट नै समय क्रममा त्यसैलाई खटन गर्ने इगो र ति दुइटैलाई मार्ग दर्शन गर्ने सुपरइगो जन्मन्छ भन्ने फ्रायडको विचार छ । कामेच्छाको मूल भण्डार भएकाले इद मूर्ख हुन्छ; इदले समाजको कुनै नियम, कानुन र तर्क बुझ्दैन; ‘नाइँ’, ‘छैन’ र ‘हुँदैन’ भनेको मनै पराउँदैन; अनि आफुलाई जे मन लाग्यो, त्यही गर्न पाएन भने थामी नसक्‍ने गरी रिसाउँछ, त्यसैले इगो र सुपरइगो भएन भने दुर्घटित भएर इद नै नष्ट हुन्छ, किन भने सुपरइगोले इगोलाई सामाजिक आदर्श र गन्तव्य देखाउँछ भने, सुपरइगोले देखाएको सामाजिक आदर्शलाई ध्यानमा राखेर इगोले नै इदलाई नियन्त्रित गरेर दुर्घटित हुनबाट जोगाउँछ । इद नै स्मृतिमा झल्याकझुलुक देखा पर्ने अवशेषहरुको भण्डार हो । बाल्य कालदेखि पुरा नभएर इदमै जमेका आवेगहरु र इगोले दमन गरेर इदमा थान्को लागेका रहरहरु सधैँ अमर हुन्छन्; कहिल्यै बिलाउँदैनन् । इदमा मानव जातिको प्रागितिहास र वंशानुगत सांस्कृतिक बिम्बहरु पनि प्रतीक बनेर रहेका हुन्छन्, आदिम स्वैर कल्पनाहरु पनि साँचिएका हुन्छन् र पितृहत्याको आदिम दृश्य पनि साँचिएको हुन्छ भन्ने फ्रायड विश्वास गर्छन् । फ्रायडका उत्तराधिकारी मनोविश्लेषकहरु मध्ये ज्याक लकाँ (Lacan) ले त इदको उल्लेखै गरेका छैनन् ।

  • स्वैर कल्पना

आफ्ना वास्तविक वा सुषुप्त इच्छा र रहरहरु पुरा गर्न काल्पनिक रूपमा मान्छेले बुनेको आख्यान वा बनावटी कुरो नै स्वैर कल्पना (Perron, Fantasy) हो । सचेत भएर पनि मान्छेले स्वैर कल्पनाको निर्माण गर्न सक्छ । दिवा स्वप्‍न पनि मान्छेले आफ्नै यौन सन्तुष्टिका लागि, रिस उठेका मान्छेसँग मन मनै रिस पोख्‍नका लागि, मनमा आफ्नै प्रशंसा गर्नका लागि अथवा आफुलाई कुनै विशेषतामा अरु भन्दा बेजोड मान्नका लागि मनमा उब्जाएर खेलाएको एक किसिमको स्वैर कल्पना नै हो । यस्तो दिवा स्वप्‍नलाई रात्रि स्वप्‍न अथवा बहुलट्टीसित तुलना गर्न पनि सकिन्छ, किन भने यस्ता सबै मानसिक प्रक्रियाहरु अचेतनमा भएका स्वैर कल्पनाबाटै प्रकट हुन्छन् । छारेरोगका रोगीलाई पनि स्वैर कल्पनाले नै चाप्छ भन्ने फ्रायड (१८९५ई) को विचार थियो । अचेतनमा भएको जुन समस्या वा कुण्ठाले गर्दा मान्छे मन मनै तरङ्‌गिन्छ, त्यो समस्या चाहिँ स्वैर कल्पना वा दिवा स्वप्‍न देखी रहेका वेलामा ओझेल हुन्छ । अचेतनमा भएका स्वैर कल्पनाले गर्दा नै मान्छे छँटाउँछ, दिवा स्वप्‍न देख्छ, एक थोक बोल्न खोज्दा अर्को थोक बोल्न पुग्छ, एक थोक लेख्‍न खोज्दा अर्कै थोक लेख्‍न पुग्छ; अनि स्वैर कल्पनाले अभिभूत भएका वेलामा मान्छेले वास्तविक र अवास्तविक कुराको भेद नै चाल पाउँदैन । धेरै जसो यस्तो स्वैर कल्पना वास्तविकतामा आधारित नभएर पुरै काल्पनिक मात्र पनि हुन सक्छ ।

  • मुक्त साहचर्य

मनोविश्लेषण गर्न ‘मुक्त साहचर्य’ (Mizolla, Free association) को विधि फ्रायडले १८९८ई देखि थाले र यस विधिको चर्चा उनले १९२०ई सम्म पनि गरी रहे । डोरा जस्ता मनोरोगीहरुले जति इमान्दार भएर आफ्ना भित्री कुरा डाक्टरलाई सुनाए पनि लाज, डर र मन मैलिने डरले गर्दा धेरै कुरा सुनाउन र डाक्टरले मनोविश्लेषण गरी दिएर ‘तिम्रो मनमा यस्तो छ’ भन्दा गारो मानेर अस्वीकार गर्दा रहेछन्, त्यसैले फ्रायडले ‘मुक्त साहचर्य’ को मनोविश्लेषण विधिको आविष्कार गरे, जस अनुसार बिरामीले हिँडी रहेको रेलगाडीको झ्यालमा बस्‍ने यात्रीले डब्बा भित्र बसेका यात्रीहरुलाई आफुले जे जे जस्तो जस्तो देख्यो, त्यो श्रोतालाई काम लाग्ला कि नलाग्ला भन्ने विचारै नगरी सुनाउँदै जाओस् भन्ने विधि निकाले । फ्रायडले किन यस्तो विधि प्रयोग गरेका हुन् भने, मनोरोगीले विचारै नगरी मनमा जे जे कुरो जस्तो जस्तो आयो, त्यस्तै त्यसरी नै सुनाउँदै जाँदा सुनाएका कुनै कुनै कुरासँग गाँसिएर बिरामीको अचेतनमा थिचिएर अथवा लुकेर रहेको पिर, आतेस, र कुण्ठा फेला पर्न सक्छ । आफ्नो मनोविश्लेषण गर्ने तरिकामा पहिलेको सम्मोहन विधि र त्यस पछि कुराकानीबाट उपचार गर्ने विधिलाई छोडेर पछि फ्रायडले मुक्त साहचर्यको विधि प्रयोग गरे । यसरी मुक्त साहचर्यमा लुँडिएर आएका कुनै वस्तु, व्यक्ति, घटना र परिस्थितिबाट सपनामा देखिएका वस्तु, व्यक्ति, घटना र परिस्थितिको विश्लेषण गरेर बिरामीको अचेतनमा लुकेको वास्तविकता चाल पाउन सकिन्छ भन्ने फ्रायडको विचार थियो ।

  • स्‍नायु विकार

फ्रायडले १८९४ई देखि १९२४ई सम्म स्‍नायु विकार बारे लेखेको पाइन्छ । यहाँ ‘स्‍नायु विकार’ (न्युरोसिस) बारे ड्रोजार्ट (Drossart) ले लेखेको परिचय दिइएको छ । कुनै शारीरिक कमीले नभएर ‘इडिपस वृत्ति’ भन्ने मनोग्रन्थीले गर्दा उब्जेका ‘स्वैर कल्पना’ (फ्यान्टासी) अथवा मनका तरङ्गहरुसित जुध्‍ने सामाजिक र मानसिक द्वन्द्वले गर्दा उब्जिने मनोरोगलाई मनोविकार भन्दछन् । मान्छेको अहम् अथवा अस्मिता (इगो) ले एकातिर पराहम्‌ अथवा आदर्श (सुपरइगो) द्वारा निर्दिष्ट सामाजिक यथार्थका नियमको कडाइका साथ पालन गर्ने महत्त्वाकाङ्क्षा र अर्कातिर कामतत्त्व (इद) ले चाहेको उत्कट पाशविक सुखेच्छाको दोहोरो थिचाइ वा द्वन्द्वबाट सधैँ च्यापिनु पर्छ; मनोविकार उब्जिने एउटा कारण यही हो । फ्रायडका विचारमा हरेक छोराले आफ्नै आमालाई सबभन्दा धेरै मन पराउँछ; यसबाट ग्रिसेली दन्ते कथाको राजा इडिपसले झैँ हरेक आमालाई आफ्नी बनाउन छोरो र उसको बाबुमा होड हुन्छ । सामाजिकताले गर्दा बाबुसँगको होडमा छोराले आमालाई पाउन सक्तैन; त्यसैले फ्रायडका विचारमा बाबुले आफुलाई खसी पारी देला भनेर हरेक छोरो बाबुसित डराउँछ र उ मनोविकारले ग्रस्त हुन्छ । यसै यौन कुण्ठालाई फ्रायडले ‘इडिपस वृत्ति’ (इडिपस कम्प्लेक्स) भन्ने नाम दिएका छन् । यसरी हरेक मान्छेको सुखेच्छा र कामेच्छाको समाजमा दमन (रिप्रेसन) हुन्छ र मानिस मनोरोगी बन्छ ।

  • छारेरोग वा मृगी

छारेरोग बारे फ्रायड र उनका गुरु जोसेफ ब्रिउअर (Freud and Breuer, Studies on hysteria) को लेख १८९५ई मा प्रकाशित हुनु भन्दा अघि नै आपसी चिनजानले गर्दा मनोविज्ञानमा ‘चेतन प्रवाह’ (स्ट्रिम अफ कन्ससनेस) शैलीका जन्म दाता विलियम जेम्सले छारेरोगका मानसिक प्रक्रिया विषयमा फ्रायडले उल्लेख गरेका विचारको सारांश अमेरिकाको ‘साइकोलोजिकल रिभ्यु’ भन्ने शोध पत्रिकामा प्रकाशित गरेका थिए (Mizolla, International Dictionary of Psychoanalysis)। फ्रायड  का विचारमा छारेरोग (हिस्टेरिया) मा सपनामा जस्तै प्रतीकात्मकता हुन्छ; छारे रोग (मृगी) ३-४ किसिमको हुन्छ; छारे रोगको कारण बेहोस भएर भर्‍याकभर्‍याक गरेको यौन तुष्टि हो र भर्‍याकभर्‍याक प्रतीकात्मक रति क्रीडा हो । प्राय आइमाईलाई लाग्‍ने भए पनि यो रोग लोग्‍ने मान्छेलाई पनि लाग्छ । सुषुप्त यौनेच्छा, प्रतिकूल सामाजिक द्वन्द्व र मानसिक असन्तुष्टिले नै छारेरोग लाग्छ भन्ने मनोविश्लेषणले देखाएको छ । सन १९०५ मा फ्रायड (Freud, Fragment of an analysis of a case of hysteria (Dora/Ida Bauer)) ले डोरा भन्ने गोप्य नाम दिइएकी एउटी १८ वर्षे केटी (इदा बावर) को जम्माजम्मी ७० घण्टा लागेको मानसिक उपचारको बयान गरेका छन् । डोराको मानसिक वा शारीरिक सिकायत के थियो भने उ वेला वेलामा छारेरोगले मूर्च्छा पर्थी र एक पल्ट चाहिँ आत्महत्या गर्ने प्रयास पनि गरेकी थिई । फ्रायडले डोराको बेथा र दुइटा सपनाको लक्षणका आधारमा मनोविश्लेषण गर्दै के निष्कर्ष निकाले भने, डोरा आदिम दृश्य कल्पेर हस्तमैथुन गरेर बिरामी परेकी हो । डोरालाई मनोरोग लाग्‍नाको कारण चाहिँ डोराको बाबु अर्कै आइमाईसँग सल्केको डोराले चाल पाउनाले हो । डोरालाई दोस्रो पल्ट पनि मनोरोगले आक्रमण गरेको थियो : त्यो चाहिँ जुन आइमाईसँग उसको बाबु सल्केको थियो, त्यसको लोग्‍नेले डोरालाई आफ्नो कामुकताको सिकार बनाउन खोजेकाले थियो । फ्रायडको यस विश्लेषणलाई डोराको बाबु र उसकी मायालुका दम्पत्ति दुवैले डोराको बनावटी आरोप भनेर अस्वीकार गरे । डोराकी आमालाई पनि लोग्‍नेको चर्तिकला र आफ्नो कुनै इलम नभएको पिर थियो । त्यसले गर्दा पनि डोरा आफ्नै परिवारमा एक्लिएकी र निराश भएकी थिई । फ्रायडले डोराले आफ्नो बाबुलाई लगाएको आरोप बाबुकी मायालुको पतिको मायाँलाई आफैँले स्वीकार गर्न नसकेको हुनाले डोराले आफैँ माथि लगाएको आरोप ठहराउँदै उसको मायाँलाई स्वीकार गर्‍यौ भने, तिम्रो व्यथा निको हुन्छ भन्ने सुझाउ दिए । फ्रायडको सुझाउ सुनेर डोराले फ्रायडको उपचारै छोडी । फ्रायडले गरेको डोराको यो मनोविश्लेषण मनोविज्ञानका विद्यार्थीहरुलाई मनोविश्लेषणको एउटा आदर्श नमुना भएको छ ।

  • आफ्नै मनोविश्लेषण र इडिपस वृत्तिको आविष्कार

विलियम फ्लिसलाई लेखेको चिठी अनुसार फ्रायडले १८९७ई देखि आफ्नै मनोविश्लेषण गर्न थाल्दा ‘इडिपस वृत्ति’ (Oedipus Complex) अथवा ‘इडिपस ग्रन्थी’ को आविष्कार गरेछन् । चिठीमा फ्रायडले आफुलाई आफ्नै आमासित उत्कट माया र आफ्नै बाबुसित ईर्ष्या र पिरो साइनो भएको चाल पाए । आफ्नो यस्तै अनुभवलाई आधार मानेर फ्रायडले मानव जातिका हरेक छोराले बाबुलाई भन्दा आमालाई मन पराउँछ र हरेक छोरीले आमालाई भन्दा बाबुलाई मन पराउँछे भन्ने सिद्धान्त बनाए र त्यसै सिद्धान्तको नाम ‘इडिपस वृत्ति’ हो । फ्रायडका विचारमा इडिपस वृत्ति नै सबै किसिमका मनोरोगको मूल हो ।

आमा र बाबुलाई लक्षित गरेर जोडिने मान्छेका रहर र विरोधको मानसिक जटिलता र त्यस्तो मानसिक अल्झाबाट जोगिने मानसिक प्रवृत्तिलाई फ्रायडले इडिपस वृत्ति, इडिपस ग्रन्थी, इडिपसको समस्या वा इडिपसको अल्झो भन्ने नाम दिएका छन् (Perron, Oedipus Complex) । प्राचीन ग्रिसका नाटककार सोफोक्लिजले लेखेको ‘राजा इडिपस’ (Roman and Roman, Oedipus the King) भन्ने ग्रिसेली मिथकमा आधारित नाटक अनुसार भर्खर जन्मेको इडिपसले आफ्नो बाबुलाई मारेर आफ्नै आमासित बिहे गर्छ भन्ने भविष्य वाणीबाट जोगिन बाबुले छोरालाई मार्न पठायो, तर मार्न खटाएका कर्मचारीले चाहिँ नमारेर केटालाई वनमै छोडी दिएका थिए । सन्तान नभएको एउटा राजाले केटालाई छोरो बनाएर पाल्यो । पाल्ने राजा मरे पछि राजा भएको इडिपसले नचिनेर आफैँलाई जन्म दिने बाबुलाई युद्धमा मार्‍यो; आफैँलाई जन्म दिने आमालाई बिहे गर्‍यो र आफ्नै आमाका गर्भबाट आफ्नै छोरा छोरी हो कि भाइ बहिनी जन्मायो । यसै ग्रिसेली कथालाई आधार बनाएर फ्रायडले ‘इडिपस वृत्ति’ भन्ने मनोविश्लेषणको पारिभाषिक शब्द बनाएका हुन्, जस अनुसार चालै नपाइकन हरेक छोराले आफ्नै आमालाई पत्‍नी बनाउन चाहन्छ र आफ्नै बाबुलाई युद्ध गरेर मार्न चाहन्छ । यसरी आमा हरेक छोराको रहर र कामुकताको प्रतीक हो र बाबु हरेक छोराको वैमनस्य, विरोध र नियन्त्रणको प्रतीक हो । इडिपस वृत्तिको विस्तार अनुसार हरेक विपरीत लिङ्गीहरु बिच स्वाभाविक आकर्षण हुन्छ र समान लिङ्ग हुनेहरु बिच शत्रुता, होड र वैमनस्य हुन्छ । दाजु भाइ र दाजु बहिनी बिचमा पनि इडिपस वृत्ति अनुसार यही नियम लाग्छ । मान्छेका सपना, संस्कृति र मिथकमा पनि इडिपस वृत्तिले काम गर्छ ।

‘टोटम एन्ड ट्याबु’ (१९१२-१३) भन्ने किताबमा फ्रायड के लेख्छन् भने, आदिम समुदायको नाइके (गणनायक) वा राजाले सबै आइमाई एक्लै उपभोग गर्थ्यो; अरु पुरुषलाई कि खसी पार्थ्यो कि प्रतिबन्ध लगाउँथ्यो, त्यसैले यौन सुखबाट वञ्चित उसका प्रजा (सन्तान) हरुले बाबु समानको त्यस नायकलाई मारेर उसकै मासुको भोज लगाउँथे र आफ्नो पिता तुल्य नायकलाई मारेको र उसको मासु खाएकामा प्रजाहरुले पछुतो गरेर चाड मनाउने गर्छन् । यस व्याख्याका आधारमा पनि हरेक छोरालाई आमासित मायाँ लगायो भने, बाबुले खसी पारी दिन्छ भन्ने डर (क्यास्ट्रेसन एङ्जाइटी) ले सताउँछ र हरेक छोरीले बाबुको लिङ्गको लोभ गर्छे । यसरी बाबु छोरीमा मायाँ बस्छ भन्ने व्याख्या पनि फ्रायडले निकालेका छन् ।

फ्रायडले अनेक पल्ट इडिपस वृत्तिको पुनर्व्याख्या गर्दै अन्त्य (१९२३ई) मा बालखमा यौन भावनाको कसरी विकास हुन्छ भन्ने विचार यसरी राखेका छन् (Freud, The infantile genital organization): बालखले लैङ्‌गिक आनन्द पाउन थाल्नु भन्दा पहिले आमाको लाम्टो चुस्ता पाउने (मुखबाट आउने आनन्द) आनन्द र दिसा रोकेर (मल द्वारबाट आउने आनन्द) अथवा दिसा खेलाएर आनन्द लिन्छ । लैङ्‌गिक आनन्द पाउनु भन्दा अगाडि पाउने यस्तो आनन्दलाई फ्रायडले पूर्व लैङ्‌गिक (प्रिजेनिटल) आनन्द भन्ने नाउँ दिएका छन् । लैङ्‌गिक आनन्द वा कुण्ठाको चरण चाहिँ बालखलाई तिन वर्षदेखि पाँच वर्षको उमेरमा हुन्छ । पहिले बालखले केटा र केटीको यौनाङ्ग फरक फरक हुँदो रहेछ भन्ने चाल पाउँछ । यस चरणलाई फ्रायडले लैङ्‌गिक (फ्यालिक वा इडिपल) चरण भन्ने नाउँ दिएका छन् । यति वेलादेखि केटालाई चाहिँ आफ्नी आमासित यौन आकर्षण राखियो भने, बाबुले लिङ्ग काटी देला भन्ने डर सुरु हुन्छ र केटीलाई चाहिँ आमाले मेरो लिङ्ग काटी दिइछे भन्ने कुण्ठा र लिङ्गको आकर्षण सुरु हुन्छ । त्यस पछि आफ्नो रहर दबिनाले केटा र केटी दुवैलाई आफुसित लिङ्ग भएको नभएको वास्तै नहुने सुषुप्त चरण सुरु हुन्छ; अनि वयस्क भए पछि मात्र यौन आनन्द र तृप्तिका लागि केटाहरुले आफ्नै आमाको साटो परचक्री केटी खोज्न थाल्छन् र केटीहरुले आफ्नै बाबुको साटो परचक्री केटा खोज्न थाल्छन् (Cournut) ।

  • आनन्दको सिद्धान्त

आनन्दको सिद्धान्त (Cornillot) का अनुसार कुनै मानिसले पाई रहेको आनन्द चरम सीमा (आनन्दातिरेक) मा पुग्यो भने, त्यही अनुभव दु:खमा बदलिन्छ । सुख र दु:ख नै मनोदमनका कारण हुन् भन्ने फ्रायड र ब्रुअर (१८९५ई) सोचेका थिए । बाहिरी जगत्‌को अनुभूति बाहेक मान्छेको आन्तरिक जगत् सुख र दु:खको अनुभवमा मात्र सीमित हुन्छ भन्ने कुरो फ्रायडले मानेका थिए । चरम सुख र चरम दु:खले उत्तेजित हुने कुरो कल्पँदा मनमा एक तमासको तनाउको अनुभव हुन्छ र मान्छे दु:खको तनाउबाट मुक्त हुन चाहन्छ । इच्छाले गर्दा नै मान्छे सुखबाट दु:ख र दु:खबाट सुख तिर लम्कन्छ । मन मनै कल्पेर नै मान्छेले धेरैजसो आनन्दको अनुभूति गर्छ र तनाउबाट मुक्त भएर “निर्वाण” को अवस्थामा पुग्छ भन्ने कुरो फ्रायडले लेखेका छन् ।

  • नार्सिसस वाद (नार्सिसस वाद)

नार्सिसस वाद (Vincent) भन्ने पारभाषिक शब्द फ्रायडले ग्रिसेली मिथकबाट लिएका हुन् । नार्सिसस (Roman and Roman, Encyclopedia of Greek and Roman Mythology) ग्रिसेली मिथकको एउटा सुन्दर केटाको नाउँ हो । त्यसकी एउटी राम्री जम्ल्याही बहिनी थिई; तर त्यो सानैमा मरी, त्यसैले नार्सिसस सधैँ खोलाको किनारमा बसेर जमुवा पानीमा बहिनी जस्ती राम्री देखेर आफ्नै अनुहारको छायाँ हेरी रहन्थ्यो । उसलाई अरु कति अप्सराहरुले मन पराउँथे, तर उ सबैको बेवास्ता गरेर आफ्नै छायाँलाई सबभन्दा राम्रो मानेर हेरी रहन्थ्यो, त्यसैले मरे पछि उ त्यसै खोलाको किनारमा सुकुन्दराज (रातकी रानी, वा हाडे लसुन) फुल भएर जन्म्यो । सुकुन्दराज फुललाई ग्रिसेली र अङ्ग्रेजी भाषामा नार्सिसस नै भन्दछन् । फ्रायडले नार्सिसस वाद भन्ने पारिभाषिक शब्द बनाउँदा नार्सिससको बिम्बबाट एकातिर हरेक मान्छेले आफैँलाई सबभन्दा मन पराउँछ भन्ने सिद्धान्त स्थापित गर्न खोजेका छन् भने, अर्कातिर दाजु बहिनी र दिदी भाइमा यौन आकर्षण हुन्छ भन्ने इडिपस वृत्तिको विस्तारित सिद्धान्त पनि स्थापित गर्न चाहेका छन् । बालखमा यौन भावनाको कसरी विकास हुन्छ भन्ने विषयमा फ्रायड के भन्छन् भने, पहिले त बालखले आफ्नै अङ्ग प्रत्यङ्गबाट यौन आनन्द पाउँछ । दोस्रो चरणमा उ नार्सिसस वादको प्रभावमा हुन्छ । नार्सिसस वाद भनेको मान्छेले आफैँलाई सबभन्दा मन पराउनु हो । त्यसमा पनि अनेक चरण हुन्छन् : आफैँलाई मन पराउने अनि आफ्नै आमा जस्ता कुनै कालमा आफ्नै अभिन्न अङ्ग भएका मान्छे मन पराउने । इडिपस वृत्ति पनि नार्सिसस वादकै एउटा परिणाम हो । तेस्रो चरणमा मान्छेको यौन भावना सुषुप्त हुन्छ अनि बैँसालु भए पछि परिवार बाहिरका विपरीत लिङ्गी मन पर्न थाल्छन् ।

  • लिबिडो

लिबिडो (Mizolla, Libido) सम्बन्धी धारणा १८९७ई देखि फ्रायडलाई आएको हो, तर लिबिडो बारे फ्रायडले पहिलो लेख १९१५ई मा लेखे अनि क्रमश: त्यसलाई १९४०ई सम्म पनि संशोधन गर्दै गए । लिबिडोलाई फ्रायडले यौन उत्तेजना गराउने अथवा मायाँ लगाउने प्रक्रियामा उत्तेजनाको मात्रा जनाउने शक्ति अथवा छुद्‍दे (क्षुधा) भनेर चिनाएका छन् । फ्रायडले यौन छुद्‍दे अनेक चरणमा विकसित हुन्छ भन्ने मानेका छन् : बालखले पहिले आमाको दुध चुसेर मुखबाट त्यो छुद्‍दे मेट्छ; त्यस पछि दिसा रोकेर मलद्वारबाट (स्याडिस्टिक) छुद्‍दे मेट्छ; त्यस पछि केटाको पनि केटीको पनि लैङ्‌गिक चरण आउँछ, जहाँ केटाले आफ्नो लिङ्गका माध्यमबाट छुद्‍दे मेट्छ भने केटीले चाहिँ अरुको लिङ्गबाट आकर्षित भएर छुद्‍दे मेट्छन्; अनि अन्त्यमा मात्र मान्छेले जननेन्द्रियका माध्यमले छुद्‍दे मेट्न सिक्छ ।

१९१४ई मा नार्सिसस वाद बारे लेख्‍ता फ्रायडले छुद्‍दे पनि दुई किसिमको माने : एउटा नार्सिसात्मक छुद्‍दे (नार्सिसिस्टिक लिबिडो) अथवा आत्माभिमुखी छुद्‍दे (इगो लिबिडो) र अर्को पराभिमुखी छुद्‍दे । आत्माभिमुखी छुद्‍दे चाहिँ मौलिक छुद्‍दे हो; एउटा उमेर पुगे पछि त्यही आत्माभिमुखी वा नार्सिसात्मक छुद्‍देकै केही अंश चाहिँ आत्मपरक छुद्‍देलाई नै केन्द्र बनाएर अमिबाका नक्‍कली खुट्टा झैँ पराभिमुखी छुद्‍दे अथवा वस्तुपरक छुद्‍देमा बदलिन्छ ।

  • स्याडिज्म, म्यासोकिज्म र प्रदर्शन वाद
  • स्याडिज्म र म्यासोकिज्म

अर्कालाई दु:ख दिँदा आउने आनन्दलाई फ्रायडले ‘स्याडिज्म’ (Ribas, Sadism; Ribas, Sadomasochism) भन्ने नाम दिएका छन् । विपरीत लिङ्गीलाई दु:ख दिँदा खुसी लाग्ने र एउटै लिङ्ग हुनेलाई दु:ख दिने प्रवृत्ति गरी स्याडिज्म पनि दुई किसिमको हुन्छ । आफैँलाई दु:ख दिँदा आउने आनन्दलाई चाहिँ फ्रायडले ‘म्यासोकिज्म’ भन्ने नाउँ दिएका छन् ।

  • प्रदर्शन वाद (१९२०ई)

अर्काको अपमान गर्न आफ्नो जननेन्द्रिय देखाउने प्रवृत्तिलाई फ्रायडले ‘प्रदर्शन वाद’ (Schilton) (एग्जिबिसनिज्म) भन्ने नाम दिएका छन् । बाल्य कालदेखि नै विपरीत लिङ्गीको जननेन्द्रिय हेर्न लाग्ने रहर पुरा हुन नसकेको कुण्ठाले मानिसमा प्रदर्शन वादको प्रवृत्ति आउँछ भन्ने फ्रायडको विचार छ ।

  • कला, साहित्य र अन्यत्र मनोविश्लेषण

मनोविश्लेषणको सिद्धान्त प्रयोग गरेर फ्रायडले मिथक (१९०७ई, जस्तै, मेड्युसाको टाउको, १९४०ई) हरु, कला र कलाकार (जस्तै, लियोनार्दो, १९१०ई र माइकलेन्जेलो, १९१४ई) हरु, साहित्यकार (१९०८ई, दस्तोएब्स्की, १९२८ई, रोमा रोलाँ, १९३६ई), राजनीतिक नेता (जस्तै, विल्सन, १९३०ई) साहित्यका हँस्यौली (१९२७ई) आख्यान र नाटक जस्ता विधाहरु र आख्यानका पात्र (जस्तै ह्याम्लेट र इडिपस) हरुको मनोविश्लेषण गरेका छन् । फ्रायडको सिको गरेर अरु समालोचक (Ellman) हरुले पनि मनोविश्लेषणपरक समालोचना गरेका छन् । मनश्चिकित्सकहरुले नै पनि उपचारमा प्रयोग भएका आख्यानहरुको अध्ययन र विश्लेषण (Rudnytski and Charon) गरेका छन् ।

  • मनोविश्लेषण र पौर्वात्य दर्शन
  • शिव लिङ्गको अवधारणा

फ्रायड र लकाँको मनोविश्लेषणमा मातृचिन्ह योनिलाई भन्दा पितृचिन्ह ‘लिङ्ग’ लाई बढ्ता महत्त्व दिइएको छ । वास्तवमा संस्कृतमा ‘लिङ्ग’ शब्दको अर्थ नै ‘चिन्ह’ मात्र हो । लिङ्गलाई इडिपस वृत्तिको सर्वोपरि शक्तिशाली सङ्केतक मान्ने प्रेरणा पनि फ्रायडलाई हिन्दुहरुको शिव लिङ्गबाट आएको हुन सक्छ (Vallet) ।

  • आत्माको अवधारणा

फ्रायडले ‘इगो’ सम्बन्धी अवधारणा प्राचीन हिन्दु दर्शनको ‘आत्मा’ सम्बन्धी अवधारणाबाट विकास गरेका हुन्; उनले रामकृष्ण परमहंस र विवेकानन्दका दर्शनको उल्लेख गरेका छन्, तर वैदिक साहित्यको ‘ब्रह्‍म’ सम्बन्धी अवधारणाको उल्लेख गरेका छैनन्; यो जगत् आत्माबाटै विकसित भयो भन्ने कुरो बृहदारण्यक उपनिषद्‌मा पनि लेखिएको छ (Nicolidis) । हुन त आत्मा सम्बन्धी अवधारणा यजुर्वेदमै पाइन्छ ।

  • आनन्दको सिद्धान्त

फ्रायडको आनन्द सम्बन्धी सिद्धान्त बुद्ध दर्शनको ‘निर्वाण सिद्धान्त’ (“Nirvana principle”) बाट प्रभावित भएको हो भन्ने कुरो  निकोलाइडिस  (Nicolidis) ले लेखेका छन् ।

  • कुण्डलिनी योग

मनोविज्ञानसँग कुण्डलिनी योगको साइनो भएको कुरो कार्ल युङले आफ्ना प्रवचनहरु (Shamdasani) मा व्यक्त गरेको ग्रन्थ प्रकाशित भएको छ, जसको चौथो परिशिष्टमा ‘षट्चक्रनिरुपण’ पनि संलग्न छ । युङको मनोविज्ञानमा योग दर्शन, बुद्ध दर्शन र चीनको ताओ दर्शनको पनि प्रभाव परेको छ (Clarke) ।

  • वात्स्यायन सूत्र

उन्नाइसौँ शताब्दीको अन्त्य र बिसौँ शताब्दीको पूर्वार्धमा फ्रायडले यौन मनोविज्ञानको सिद्धान्त बनाउनु भन्दा झन्डै डेड दुई हजार वर्ष अगाडि भारतमा वात्स्यायन (Vatsyayana) ले ‘कामसूत्र’ नामको यौन विज्ञान बनाएका थिए । यौन जीवनमा तृप्‍ति नभए मान्छेको जीवन पूर्ण रूपले सुखमय हुन सक्तैन भन्ने कुरो चाहिँ फ्रायडसँग वात्स्यायनको मिल्छ ।

सन्दर्भ सामग्री

Bauduin, Andree. “The Preconscious.” International Dictionary of Psychoanalysis. 2005. 1300-1301.

Cahn, Raymond. “Consciousness.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mizolla. 2005. 333-334.

Clarke, J.J. Jung and Eastern Thought. London and New York: Routledge, 1994.

Cornillot, Michele Pollak. “Pleasure/unpleasure principle.” International Dictionary of Psychoanalysis. 2005. 1290-1291.

Cournut, Jean. “Castration complex.” International Dictionary oa Psychoanalysis. Ed. Allain de Mizolla. 2005. 251-256.

Drossart, Francis. “Neurosis.” International Dictionary of Psychoanalysis. 2005. 1138-1140.

Ellman, Maud, ed. Psychoanalytic Literary Criticism. London and New York: Longman, 1994.

Freud, Sigmund and Josef Breuer. “Studies on hysteria.” The Standard Edition of Complete Psychological Works of Sigmund Freud. Ed. & R. Steiner S. Freud. Vol. 2. 1895. 48-106.

Freud, Sigmund. “Fragment of an analysis of a case of hysteria (Dora/Ida Bauer).” The Standard Edition of Complete Psychological Works of Sigmund Freud. Ed. & R. Steiner S. Freud. 1905.

—. On aphasia (A critical study). Trans. E. Stengel. New York: International Universities Press, 1891 [1953].

—. “Some general remarks on hysterical attacks.” SE 9 (1909): 229-234.

Freud, Sigmund. “The infantile genital organization.” Freud, Sigmund. The Standard Edition of Complete Psychological Works of Sigmund Freud. Ed. Riccardo Steiner. Vol. 19. 1923. 141-145.

—. The Interpretation of Dreams. Reprint 1996. New York: Random House, 1900 .

Freud, Sigmund. “The psychical mechanism of forgetfulness.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mizolla. Vol. 3. 1898. 287-297.

Homer, Sean. Jacques Lacan. London & New York: Routledge, 2005.

Jakobson, Roman. “The metaphoric and metonymic poles.” Jakobson, Roman and Morris Halle. Fundamentals of Language. The Hague: Mouton, 1956. 76-82.

James, William. “Review summary on “Psychic mechanisms of hysterical phenomena: Preliminary communications” (1893).” Psychological Review (1894).

Lacan, Jacques. Le Séminaire, Livre III: Les psychoses [English version, The Seminar of Jacques Lacan, Book III: The Psychoses 1955–1956. Ed. J.-A. Miller. Trans. R Grigg. Paris [London]: Routledge, 1981 [1993].

Mizolla, Alain de. “Free association.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mijolla. Detroit, New York: Thompson Gale, 2005a. 615-617.

—. International Dictionary of Psychoanalysis. Ed. Alain de Mizolla. Detroit, New York: Thompson Gale, 2005.

Mizolla, Alain de. “Libido.” International Dictionary of Psychoanalysis. Detroit, New York: Thompson Gale, 2005c. 967-971.

Mizolla, Alain de. “Psychoanalysis.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mijolla. Detroit, New York: Thompson Gale, 2005b. 1362-1366.

Mizolla, Alain de. “The Unconscious.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mizolla. Detroit, New York: Thompson Gale, 2005d. 1818-1820.

Nicolidis, Nicos. “Mythology and psychoanalysis.” International Dictionary of Psychoanalysis. Detroit, New York: Thompson Gale, 2005. 1095-1098.

Perron, Roger. “Fantasy.” International Dictionary of Psychoanalysis. 2005a. 550-553.

Perron, Roger. “Oedipus Complex.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mijolla. Thomson Gale, 2005b. 1183-1187.

Porte, Michele. “Id.” International Dictionary of Psychoanalysis. 2005. 776-780.

Rabate, Jean-Michel. Jacques Lacan: Psychoanalysis and the Subject of Literature. New York: Palgrave, 2001.

Rabin, Jean-François. “Repression.” International Dictionary of Psychoanalysis. 2005. 1481-1485.

Ribas, Denys. “Sadism.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mizolla. Detroit, New York: Thompson Gale, 2005a. 1525-1526.

Ribas, Denys. “Sadomasochism.” International Dictionary of Psychoanalysis. Detroit, New York: Thompson Gale, 2005b. 1526-1527.

Richard, Francois. “Forgetting.” International Dictionary of Psychoanalysis. Ed. Alain de Mizolla. 2005. -597.

Roman, Luke and Monica Roman. Encyclopedia of Greek and Roman Mythology. New York: Facts on File, 2010a.

—. Oedipus the King. New York: Facts on File, 2010b.

Rudnytski, Peter L. and Rita Charon. Psychoanalysis and Narrative Medicine. Albany, New York: State University of New York Press, 2008.

Schilton, Delphine. “Exhibitionism.” International Dictionary of Psychoanalysis. Detroit, New York: Thompson Gale, 2005. 535.

Shamdasani, Sonu, ed. The Psychology of Kundalini Yoga: Notes of the seminar given in 1932 by C.G. Jung. New Jersey: Princeton University Press, 1996.

Vallet, Odon. “Mother goddess.” International Dictionary of Psychoanalysis. Detroit, New York: Thompson Gale, 2005. 1097-1080.

Vatsyayana, Mallanaga. Kamasutra. Ed. Wendy Doniger and Sudhir Kakar. Trans. Wendy Doniger and Sudhir Kakar. New York: Oxford University Press, 2002.

Vincent, Michel. “Narcissism.” International Dictionary of Psychoanalysis. 2005. 1104-1109.

 

 

 

 

Category: My Papers Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply