‘ज्योतिको पङ्ख उचाली’ को अर्थ विश्लेषण

By | February 5, 2016

मैले आफु तिन चार कक्षामा पढ्दा पहिलो पल्ट गाउन सिकेको र गाउँदा गाउँदै कण्ठस्थ भएको मनका गहिराइमा जरा हालेर बसेको नेपालको राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली’ का रचनाकार कवि माधव घिमिरे रहेछन् भन्ने मैले धेरै पछि मात्र चाल पाएँ । गीतको ‘पङ्ख’ शब्दको अर्थ ‘पखेटा’ रहेछ भन्ने अलि अलि संस्कृत जाने पछि मात्र निकै पछि थाह भयो, नत्र मैले घोकेको र राम्ररी चिनेको शब्द त ‘पङ्खा’ थियो । मेरो बाल्य कालमै लय हालेर पढ्दा पढ्दै मलाई कण्ठस्थ भएका धेरै गीतहरुको अर्थ जति समय बित्तै गयो, उति झन झन बढ्ता बुझिँदै गए जस्तो मलाई लाग्छ । जसरी चौथो कक्षामा कण्ठस्थ भएको ‘कोठा छ सानो दिनको थकाइ; नानी निदायो बुबुमाम खाई…’ भन्ने ‘खेलौना’ शीर्षकको गीत मैले झन झन बढ्ता बुझ्दै आएँ, त्यो भन्दा ढिलो चाहिँ मैले ‘ज्योतिको पङ्ख उचाली’ भन्ने गीतको पदावली बुझेँ ।
अहिले म पाश्चात्य समालोचनाको ‘इतिहास वाद’, ‘नव इतिहास वाद’ र ‘इतिहास विज्ञान’ हो कि ‘इतिहास शास्त्र’ पढी रहेको छु । इतिहासको त्यो ‘काव्य शास्त्र’ पढ्दा मलाई के थाह भई रहेको छ भने, कुनै पनि साहित्यिक कृति होस् कि लिखित इतिहास होस्, त्यसको अर्थ दिगो र स्थायी हुँदैन; समय फरक पर्ने बितिक्कै, पाठक फरक पर्ने बितिक्कै अर्थात् लक्षित पाठकको भन्दा वास्तविक पाठकको जात, जाति, धर्म, लिङ्ग, क्षेत्र, राष्ट्रियता र संस्कृति फरक पर्ने बितिक्कै एउटै साहित्यिक कृतिले नै पाठकै पिच्छे र परिवेश फरक पर्ने बितिक्कै फरक फरक अर्थ दिन सक्छ । ‘ज्योतिको पङ्ख उचाली’ भन्ने गीतको पदावलीको अर्थ पनि मेरा अँजुलीमा अटाई नअटाई छताछुल्ल भएर बगी रहेको छ ।

१. गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली ।
जय जय जय हे नेपाल सुन्दर, शान्त, विशाल

गीतको पहिलो श्लोकले चन्द्रमा र सूर्य भएको विश्वमा अद्वितीय देखिने राष्ट्रिय झन्डा बोक्ने नेपाली जातिलाई एउटा गाइने चरो जस्तो मानिएको छ, अर्थात् गाइने चरासित तुलना गरिएको छ। गीतको भाव अनुसार हरेक नेपाली आफ्नो राष्ट्रिय झन्डाको दुइटा तिन कुने पखेटाका बलले शक्तिशाली भएर उड्दछ अनि जुन चराको एउटा पखेटामा सूर्य अर्को पखेटामा चन्द्रमा छ, त्यो नेपाली चरो समग्र मानव जातिसँग होड गर्न आफ्नो दुवै तिर ज्योति नै ज्योति अर्थात् सूर्य र चन्द्रमा दुइटैको ज्योतिले बनेका पखेटा उचालेर नेपालको राष्ट्रिय गीत गाउँछ ।

२. गण्डकी, कोसी, कर्नाली, मेची र महाकाली
लेक र बेँसी बिउँझाउँछन् लहर लाखौँ उचाली ।

यस राष्ट्रिय गीतको दोस्रो श्लोकमा नेपाललाई पाँच ओटा भौगोलिक प्रदेशहरुमा बाँड्ने नदीहरुका नाम लिएका छन् । यिनीहरु मध्ये दुइटा नदी (मेची र महाकाली) ले नेपाल राष्ट्रको प्राकृतिक सिमाना बनाएका छन् । नाम लिएका बाँकी तिन ओटा नदीहरुले पहाडमा समग्र नेपालको नक्सामा रक्त सञ्चार वा प्राण सञ्चार गर्ने धमनी र नसाको जस्तो जालो बनाएका छन् भने, नेपालको समग्र तराई क्षेत्र आधार भूत रूपमा यिनै तिन ओटा नदीहरुले मलिलो माटो थुपारेर बनाएको मैदान हो । यसरी गण्डकी, कोसी र कर्नाली नदीले समग्र नेपाललाई एकताको प्राकृतिक सूत्रमा बाँधेका छन् । कवितामा देशको सबै भन्दा बिचमा पर्ने गण्डकीको नाम पहिले किन आयो होला भन्ने प्रश्नको अलिकति उत्तर माधव घिमिरेको जन्म थलो गण्डकी क्षेत्र भएबाट पनि मिल्छ भने अलिक धेरै चाहिँ विश्वभरका समग्र हिन्दुहरुलाई शालिग्राम शिला दिएर नेपालको चिनारी दिने काली गण्डकी नेपालमै भएको महत्त्व देखाउन पनि कविले गण्डकी नदीको नाम पहिलो पल्ट लिएका हुन् । नेपालको राष्ट्रिय गीत बनाउने शक्ति आफुलाई मिलोस् भनेर भगवान विष्णुकी आमा अदिति स्वरूपा (काली) गण्डकीलाई प्रणाम गर्न पनि कविले गण्डकीको नाम पहिले लिएको सुइँको पाइन्छ।
कविले नेपालको राष्ट्रिय गीत गाउने नेपाली जातिहरु मात्र छैनन्, नेपालका पवित्र पञ्च महानदी समेत त्यसमा सामेल छन् भन्ने अर्थ यस दोस्रो श्लोकको दोस्रो हरफबाट दिएका छन् । यस हरफमा नेपालीहरु आफ्नो राष्ट्रको हित बिर्सेर भुसुक्क ननिदाउन् भनेर लाखौँ लहर र छालहरु उचालेर रात दिन सुसाएर नेपालका यी पञ्च महानदीहरुले लेक (पहाड) र बेँसी (तराई) मा बस्ने समस्त नेपालीहरुलाई हरदम बिउँझाई रहेका छन्; सजग बनाई रहेका छन् भन्ने भाव व्यक्त गरिएको छ ।

३. हिमाल चुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिलो नेपाली ।

दोस्रो (गड्विन अस्टिन) बाहेक झन्डै दश ओटा सर्वोच्च हिमाली टाकुराहरुले समृद्ध भनेर विश्वमा चिनिने नेपाल देशको सर्वोच्च सगरमाथाको चुली भएको देशान्तर रेखा मध्ये सबभन्दा पहिले सगरमाथामै घामको झुल्को देखिन्छ । यसरी छिमेकमा अँध्यारै भएका वेलामा अर्थात् छिमेकीहरु निदाई रहेका वेलामा हिमालचुली सगरमाथाले बत्ती बाल्ने पानसको काम गर्छ र नेपालीहरुलाई पहिले बिउँझाउँछ । त्यसै कारणले नै सगरमाथाको शिखरमा पहिले नेपाली पुग्न सकेको हो भन्ने फलोत्प्रेक्षाको ध्वनि (अर्थ) कविले यस श्लोकमा दिएका छन् ।

४. सीताले सारा भिजाइन् दक्षिण लङ्का, भारत
भृकुटी तारा उदाइन् उत्तर चीन, तिब्बत ।

राष्ट्रिय गीतको चौथो श्लोकको पहिलो हरफमा विश्वभरमा नेपाललाई चिनाउने रामायण महाकाव्यकी नायिका सीताको नाम लिइएको छ र त्यसमा सीताले आफ्नो दुःख, तपस्या र आदर्श कथाले भारत र लङ्कालाई समेत आँसुले अथवा करुण रसले अनि विश्वभरका रामायणका रसिक पाठकहरुलाई परिणाममा वीर रसले भिजाइन् भन्ने अर्थ व्यक्त गरिएको छ । त्यसको अर्को अर्थ के हो भने, सीता आफ्नो आदर्श चरित्रले भारत र लङ्का सम्म प्रसिद्ध भइन् भन्ने हो । दोस्रो हरफमा चाहिँ कविले सातौँ शताब्दीका नेपालका महासामन्त अंशुबर्माकी छोरी भृकुटीको इतिहास सम्झेका छन् । नेपालको इतिहासमा त भृकुटीका विषयमा केही पनि लेखिएको थिएन । चीनियाँ र तिब्बती इतिहासले सातौँ शताब्दीमा तिब्बतको एकीकरण गर्ने सम्राट् स्रङ चन गम्पोलाई नेपालले आफ्नी छोरी भृकुटी दिएको र चीनले पनि आफ्नी छोरी दिएको सूचना दिएको छ । चीनियाँ र तिब्बती इतिहासले त भृकुटी (छि चन) लाई तिब्बती संस्कृतिले ‘तारा’ भन्ने भगवतीका रूपमा पूजा गर्छ ।
वर्तमान भारतको बिहार राज्यमा पर्ने नालन्दामा नवौँ शताब्दी सम्म एउटा बौद्ध विश्व विद्यालय थियो । त्यसको प्रभाव नेपालमा पनि थियो । तिब्बती स्रोतका आधारमा भृकुटीले नै बुद्ध धर्म तिब्बत लगेकी थिइन् । भृकुटीसँग नेपालको कला र संस्कृति पनि तिब्बत र चीन सम्म पुग्यो भन्ने किम्बदन्ती पनि छ । हुन त चीनमा बुद्ध धर्म तेस्रो शताब्दीमै पुगी सकेको प्रमाण पनि भएकाले बुद्ध धर्मको सबै खालको सम्प्रदायको स्रोत नेपाल होइन भन्ने बुझिन्छ, तर बुद्ध धर्मको जुन सम्प्रदाय र संस्कृति नेपालसँग मिल्छ, त्यो चाहिँ पूर्वी एसियालाई भृकुटीको देन हो भन्ने बुझिन्छ ।
राष्ट्रिय गीतको यस श्लोकको दोस्रो हरफमा नेपालकी छोरी भृकुटी तिब्बतमा ‘तारा’ नामले झुल्किइन्, चम्किइन् र प्रकाशित भइन् भन्ने कुराको सम्झना गरिएको छ ।

५. बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान ।

गीतको पाँचौँ श्लोकमा कविले बुद्ध र शिवको सम्झना गरेका छन् । सम्पूर्ण पूर्वी एसिया, दक्षिण पूर्वी एसिया र मध्य एसियामा फैलिएको बुद्ध धर्मका प्रणेता र मूल गुरु भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सम्झना गर्दै बुद्धले बुद्ध धर्मका ज्ञानको पहिलो मुहान नेपालमै पाएका थिए भन्ने कुरो सम्झाएका छन् ।
यसै श्लोकको दोस्रो हरफमा दक्षिण एसियाको अद्वितीय पशुपति नाथको मूर्तिलाई नमन गरेका छन् । ‘शिव पुराण’ अनुसार सृष्टि, स्थिति र संहार गर्ने ब्रह्मा, विष्णु, महेशले ब्रह्म रूप शिवकै आदेश अनुसार सृष्टि, स्थिति र प्रलय ल्याउँछन् । शिवको पूजा दक्षिण एसियामा मोहेन-जो-दडो र हरप्पाको सभ्यतामा अर्थात् ऋग्वेदको रचना हुनु भन्दा पनि अघिदेखि नै हुन्थ्यो भन्ने पुरातात्त्विक प्रमाणहरु छन् ।
पुराणहरुमा कैलास पर्वतलाई शिवको वास स्थान मानिएको छ । गएको पचास वर्ष उता कैलास मानसरोवर क्षेत्र नेपालकै भूभाग थियो । पछि हाम्रा शासकहरुले तिब्बत चीनमा गाभिए पछि त्यस भूमिलाई आफ्नो बनाउन सकेनन् । शिवलाई ‘यक्षस्वरूपाय’ अर्थात् यक्षका स्वरूप मानिएको छ । एट्किन्सनले ‘हिमालयन गजेटियर’ मा खसहरुकै पुरानो नाउँ मानेका छन् । नेपाल, कुमाउँ, गढवाल, काश्मीर, अफगानिस्तान र चीनियाँ मध्य एसियाको सिन्च्याङ प्रान्तलाई ‘खशभूमि’ मानिएको पनि पुरातात्त्विक प्रमाणहरुले देखाएका छन् । यसरी हिमालयदेखि हिन्दुकुश पर्वत सम्म शिव भूमि मान्न सकिन्छ । यी प्रमाणहरुका आधारमा कवि माधव घिमिरेले ‘शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान’ भन्ने गरेको कल्पना साँचो र सम्भव प्रतीत हुन्छ ।

६. पश्चिम किल्ला काङ्गडा, पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ?

राष्ट्रिय गीतको यो छैटौँ श्लोकमा कविले पृथ्वी नारायण शाहको नेतृत्वमा सुरु भएको नेपालको राष्ट्रिय एकीकरणको अभियानका नेपाली सिपाहीहरुले कायम गरेका पल्ला सीमा रेखाको उल्लेख गरेर विश्वको मान चित्रमा नेपाली सिपाहीहरुले देखाएको वीरता र विश्व युद्ध जस्ता अनेक युद्धमा गरेको दिग्विजय र पाएको विजय र सम्मानको उदाहरण दिएर नेपालीहरुको बहादुरीको लेखो गरेका छन् ।

७. हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता वास बसेथ्यो आएर यहीँ साँझमा ।

नेपाल र नेपालीको चिनारी हिमाल र हिमाली सभ्यतासित पनि जोडिएको छ । नेपालीहरुलाई बोकेर हिमाल पनि उचालिएको छ, अनि हिमाल, अनेक हिमाली चुचुरा र सगरमाथालाई तेन्जिङ शेर्पा जस्ता अनेक नेपाली छोरा छोरीहरुले गौरव बढाएर उचालेका छन् । हिमाल एसियाको मुटु हो । जर्ज भ्यान ड्रिम र बाल्थाजार बिकेल जस्ता हिमाली भाषाहरुमा अनुसन्धान गर्ने भाषा वैज्ञानिकहरुले हिमाली भाषाका केही बेहोराहरु विलक्षण भएको र संसारको अन्यत्र कतै पनि ती बेहोरा नपाइएको कुरो लेखेका छन् । यसबाट हिमाली सभ्यताको सृष्टिको बिहान यसै भेगमा सुरु भएको सम्भावनाका वैज्ञानिक अनुकल्पनाहरु बनी रहेका छन् । हिमाली सभ्यताले यसै ठाउँमा वास बसेको कुरो कविले विश्वास गरेका छन् ।

Category: My Papers Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply