भाषाका खोजीमा पैतालामा चक्र

डा. वल्लभ मणि दाहालले २०३५ साल तिर मलाई भाषा विज्ञान पढ्न नउकासुन्जेल म धरानमा हात्तिसार क्याम्पसका विद्यार्थीलाई नेपाली व्याकरण र रचना सिकाउनु भन्दा बढ्ता भाषामा लागेको थिइन । त्यो वेला भन्दा अघि सम्म मैले कविता, महाकाव्य, कथा, निबन्ध, समालोचना र बरु नाटक लेख्‍ने र प्रकाशित गर्ने अभ्यास गरेको थिएँ । म साहित्यिक चौतारीको मात्र बटुवा थिएँ; भाषा र व्याकरण मलाई झर्को लाग्दा विषय थिए । एक ठाउँमा पढेको थिएँ, ‘साथी बनाउन मन छ भने, भेटेका वेलामा व्याकरण र गणितका चाहिँ कुरै नगर्नु राम्रो हो, नत्र साथी बिच्किन्छन् ।‘ डा. दाहालकै प्रेरणाले मैले २०३६ सालमा नेपालमै पिएचडी दर्ता गरेँ, तर नेपालमा पुस्तकालय र आफूले रोजेको विषयलाई अनुकूल प्राज्ञिक वातावरण नभएकाले डा. दाहालकै सिफारिसले म पुणेँको डेक्‍कन कलेजमा डा. भास्कररावलाई गुरु थाप्‍न पुगेँ । पुणेँबाट फर्के पछि त म नेपाली जन विश्वासमा कमलकोटीले लगेको साङ्लो जस्तै पुरै फेरिएर भाषाको कमलकोटी भएँ । अब त साहित्यिक समालोचनामा पनि भाषा विज्ञान नजानी पोख्त होइँदैन भन्ने विचारले पो बलियो घर बनाई रहेको छ अनि भाषाकै खोजी र अध्ययनमा सपना र बिपना पनि बिती रहेको छ ।

सामुद्रिक शास्त्रमा पैतालामा चक्र भएको मान्छे फिरन्ता हुन्छ भन्ने लेखेको छ कि छैन, बिर्सेँ । पोहोर साल म बुढो भए पछि (त्रिभुवन विश्व विद्यालयको सेवाबाट अवकाश पाए पछि) त मेरा पैतालामा चक्र उम्रे जस्तो लागी राखेको छ । डुलुवा भएर खालि हिँड्नाले आफ्नै पैतालामा चक्र उम्रेको जाँच्न पनि भ्याएको छैन । रिटायर्ड हुँदा म जर्मनीमा धेरै पढ्न, थोरै पढाउन रेगेन्ज्बर्ग विश्व विद्यालय पुगेको थिएँ । कसरी लोप हुन लागेका भाषालाई जोगाउन सकिन्छ भन्ने कुरो सिक्‍न र नेपालका भाषाहरूको वर्तमान स्थिति कस्तो छ भन्ने सिकाउन म प्राध्यापक योहानसको पाहुना भएर रेगेन्ज्बर्ग पुगेको थिएँ ।

जर्मनीबाट फर्कने बितिक्‍कै म मगर भाषाको सर्वेक्षणमा तनहुँको काहुँ शिवपुर र पश्चिम स्याङ्जाको आलम देवी पुग्‍ने क्रममा पाल्पा पनि पुगेँ । त्यसै वेला बस चढ्न रुद्र वेणी पुगेकाले त्यहाँबाट रिडी सम्म गुल्मी छोएको किरिया हाल्न सम्म सक्‍ने भएँ ।

जर्मनीमा सिकेको कुरो मलाई कुसुन्डा भाषाको खोजी गर्न तुरुन्तै काम लाग्यो । अहिले अस्ट्रेलियन नेसनल युनिभर्सिटीका डा. मार्क दोनाउको प्रेरणाले कुसुन्डा भाषाको अभिलेखीकरणमा लागेको छु । यति वेला कुसुन्डा भाषा बोल्‍न जान्ने ७६ वर्षकी एक जना वक्ता (ज्ञानी मैयाँ सेन) मात्र नेपालमा छिन् । ति दाङको लमाही नजिकै कुलमोहोर भन्ने ठाउँमा बस्छिन् । मैले मेरा चेला काभ्रेका भोजराज गौतमलाई ६ महिना जति ज्ञानी मैयाँका छिमेकमा राखेर कुसुन्डा भाषाको रेकर्ड गराएँ । भोजराज अहिले कुसुन्डा भाषाको शब्द कोश र व्याकरणको विश्लेषणमा लागी परेका छन् र कुसुन्डा भाषामै पिएचडी गर्ने सुरमा छन् । अहिले भोजराज ज्ञानी मैयाँसित धेरै जसो कुसुन्डा भाषामै कुरा गर्न सक्‍ने भएकाले उनी नै ज्ञानी मैयाँको सेख पछि कुसुन्डा भाषाका अन्तिम वक्ता हुने छाँट छ । कुसुन्डा भाषा बोल्न जान्ने मान्छेसँग प्राध्यापक चूडामणि बन्धुले मलाई सबभन्दा पहिले दाङमै भेट गराई दिनु भएको हो । त्यस वेला हामीसँग प्रा. वल्लभ मणि दाहाल पनि हुनु हुन्थ्यो ।

ज्ञानी मैयाँ नै कुसुन्डा भाषा बोल्ने अन्तिम वक्ता भएको चाल पाए पछि म कुसुन्डाहरूको खोजीमा अर्घाखाँचीका पौवा र भूत डाँडो पुगेको र प्युठानबाट भाषा बोल्न नसक्‍ने लाल बहादुर कुसुन्डालाई दाङमा झिकाएको कुरो मैले ‘रचना’ पत्रिकामा लेखी सकेको छु ।

चिनियाँहरूलाई नेपाली भाषा सिकाउन म धरान क्याम्पस हात्तिसारबाट २०४२ सालमा त्रिभुवन विश्व विद्यालय, नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा सरुवा भएर आएको हुँ । म २०४६ सालमा पुणें विश्व विद्यालयमा भाषा विज्ञानमा पिएचडी गरेर फर्के पछि वैरागी काइँलाले एकेडेमीमा लिम्बु भाषाको शब्द कोश बनाउने परियोजना थाल्नु भएछ । डा. वल्लभ मणि दाहाल र डा. सुभद्रा सुब्बाले नै वैरागी काइँलासित म भाषा वैज्ञानिक भएको परिचय दिनु भएको हो । नत्र म समालोचना लेख्थेँ भन्ने कुरो मात्र वैरागी काइँलालाई थाह थियो । लिम्बु भाषाको वर्ण निर्धारण गर्न र शब्दको व्याकरण केलाउन वैरागी काइँलाले नै मलाई झापा धुलाबारीको आफ्नो घरमा १५ दिन सम्म बसाउनु भयो र लिम्बु भाषाको गोलित अकार ठम्याउन मलाई ताप्लेजुङ पुर्‍याउनु भयो । लिम्बु भाषा नै नेपाली बाहेक मैले अनुसन्धान गरेको पहिलो नेपालको भाषा हो । एकेडेमीको लिम्बु शब्द कोशको भूमिका नै मूल रूपमा मैले वैरागी काइँलाको सहयोग लिएर लेखेको हुँ । लिम्बु भाषाको अनुसन्धानका क्रममा यसरी मैले धुलाबारी र ताप्लेजुङ घुम्‍ने मौका पाएँ । लिम्बु वर्ण र त्यसको लेखनको धरानमा एकेडेमीले गरेको कार्यशालामा पनि एकेडेमीले मलाई विशेषज्ञका रूपमा धरान पुर्‍याएको थियो ।

एकेडेमीमा लिम्बु शब्द कोशको सम्पादनका क्रममा वैरागी काइँलाले लिम्बु भाषाको व्याकरण विश्लेषण गरी दिन मलाई निम्त्याउनु भयो । त्यसको प्रभाव अमृत योञ्‍जन, हर्ष बहादुर बुडा मगर र लाल रापचालाई पर्‍यो र उनीहरूले मलाई क्रमशः तामाङ, मगर र सुनुवार भाषाको वर्ण र व्याकरण विश्लेषण गराई दिन वैरागी काइँलालाई अनुरोध गरे । मेरा भाषा विज्ञानका ति कक्षाका विश्लेषण र व्याख्याबाट सबभन्दा धेरै अमृत योञ्‍जन प्रभावित भए । उनले मलाई तामाङ भाषाको व्याकरण विश्लेषण गरी दिन धेरै ओटा कक्षाहरू सामूहिक रूपमा लिए । त्रिभुवन विश्व विद्यालयमा भाषा विज्ञान विभाग खुले पछि अमृत योञ्‍जन पहिलै वर्षमा र लाल रापचा दोस्रो वर्षमा मेरा विद्यार्थी हुन आए । मेरा मूल्याङ्कनमा अमृतले भाषा विज्ञान विभागको विद्यार्थी हुँदा भन्दा गतिलोसँग अगाडि नै पढेका थिए भने लाल रापचाले चाहिँ पछि भाषा विज्ञानमै पिएचडी गरे ।

डा. वल्लभ मणि दाहाल, डा. सुभद्रा सुब्बा र वैरागी काइँलाले मलाई लगाएको प्रारम्भिक कामको धेरै दूरगामी प्रभाव पर्‍यो । त्यसैको फल स्वरूप मैले अहिले सम्ममा नेपालका झन्डै ५० ओटा अलिखित भाषाहरूको वर्ण माला बनाई दिएको छु । नेपाल आदिवासी जन जाति राष्ट्रिय प्रतिष्ठानमा चैतन्य सुब्बा, सन्त बहादुर गुरुङ र जितपाल किरात उपाध्यक्ष र लोक बहादुर थापा सदस्य सचिव भए पछि नेपालका भाषाहरूको वर्ण निर्धारण गर्ने क्रम झन थपियो । लोक बहादुर थापासित मेरो परिचय एकेडेमीमै पहिलो पल्ट भएको थियो। मगर भाषाको सर्वेक्षणका क्रममा पनि मैले लोक बहादुर थापाको निकै सहयोग लिएँ । लोक बहादुर थापालाई मगर भाषाको व्याकरण र मगर भाषाको तुलनात्मक भाषिकाको अनुसन्धानमा पनि मैले सघाएँ ।

एस.के. खालिङको सहयोगमा पनि म भाषाको अनुसन्धान गर्न दुई तिन पल्ट धरान र गोरखा जिल्लाको बार्पाक पुगेको छु । एक पल्ट म राजवंशी भाषाको वर्ण विश्लेषण गर्न धरानमा आयोजना गरिएको कार्यशालामा विशेषज्ञ भएर पुगेको थिएँ । डा. गोविन्द बहादुर तुम्बाहाङले छथरे लिम्बु भाषामा पिएचडी गर्ने क्रममा एस.के. खालिङको सहयोगमा दोस्रो पल्ट म लिम्बु भाषाका भाषिकाहरूको तुलनात्मक अनुसन्धान गर्ने कार्यशालाको विशेषज्ञ भएर धरान गएको थिएँ । तेस्रो पल्ट एस.के. खालिङ र प्रा. टङ्क न्यौपाने निम्तो पाएर म राई भाषाहरूमा सर्वनामीकरणको तुलनात्मक अनुसन्धान गर्न विशेषज्ञ भएर धरान गएको थिएँ । एस.के. खालिङकै प्रेरणाले म गोरखा जिल्लाको हिमाली क्षेत्रमा पर्ने बार्पाकमा घले भाषाको वर्ण निर्धारण गर्न पुगेँ । खालिङका निम्तामा मैले साम्पाङ र खालिङ भाषाको पनि वर्ण निर्धारण गरेँ ।

त्रिभुवन विश्व विद्यालयमा भाषा विज्ञान विभाग खुले पछि मैले दोस्रो वर्षका विद्यार्थीहरूलाई भाषिक स्थल गत सर्वेक्षणका क्रममा झापा जिल्लामा लैजाँदा आग्नेय परिवारको खडिया भाषा नेपालमा पहिलो पल्ट फेला परेको हो । त्यस वेला मैले सन्ताली र उराउँ भाषाको पनि पहिलो पल्ट अध्ययन गर्न पाएँ । अर्को वर्षका विद्यार्थीहरूलाई लिएर म थामी, शेर्पा, तामाङ, जिरेल र दोलखाली नेवारको अध्ययनका क्रममा दोलखा पुगेँ भने माझी र हायु भाषाको खोजी गर्दै मन्थली र लिखु खोलाको डिलमा रामेछापको मुढाजोर सम्म पुगेँ । त्यस्तै एक पल्ट दराई भाषाको खोजी गर्दै तनहुँको दमौली, चितवनको सुन्डी र पिपलटारे दराई खोज्दै पोखराको पृथ्वी चोक सम्म पुगेँ ।

जापान फाउन्डेसनको विद्वद् वृत्ति पाएर जापानी र नेपाली भाषाका वाक्यको तुलनात्मक अध्ययन गर्न एक पल्ट र अर्को पल्ट नेपाली र जापानी भाषाका (कोसो, दानो, पोटी, केस्रो, जस्ता) कोटिकारको तुलनात्मक अध्ययन गर्न म जापानको कोबे विश्व विद्यालयमा एक एक वर्ष गरी जम्मा दुई वर्ष बसेँ । त्यसै वेला मैले जापानी भाषा बोल्न पनि सिकेँ र जापानीहरूले चलाउने चिनियाँ अक्षर (खान्जी) पनि हजार बार सय ओटा घोकेँ । जम्मा १९४५ ओटा खान्जी घोक्‍न सक्‍नेले त अखबार नै पढ्न सक्छ भन्ने भनाइ छ, तर त्यति पुर्‍याउन नसक्‍नाले म जापानी भाषामा पुड्कै छु ।

नेपाली भाषा विशेषज्ञ भएर चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा एक वर्ष काम गर्न जाँदा मैले झन्डै पन्ध्र सय ओटा चिनियाँ अक्षर घोकेँ र चिनियाँ भाषामा सामान्य कुराकानी गर्न सिकेँ । पेइचिङमा बसेकै वेलामा दुई करोड साठी लाख ठेली भएको चिनियाँ राष्ट्रिय पुस्तकालयमा मैले पुर्बी एसियाली (चिनियाँ, जापानी, कोरियाली, थाई, भिएत्नामी, कम्बोडियाली, मलयाली, लाओसी, मङ्गोलियाली, जस्ता) भाषामा संस्कृत भाषाका शब्दहरूको अनुसन्धान गरेँ । चीनमै बसेका वेलामा मैले पश्चिम चीनको युगुर भाषाको पनि अध्ययन गरेँ ।

राष्ट्रिय योजना आयोगले त्रिभुवन विश्व विद्यालयको भाषा विज्ञान विभागलाई नेपालभरका भाषाहरूको समाज भाषा वैज्ञानिक सर्वेक्षण गर्ने जिम्मा दिएको छ । त्यस सर्वेक्षणको प्रश्नावलीको प्रभावकारिताको जाँच गर्ने पहिलो नमुना सर्वेक्षणमा झापामा पाइने मातृभाषाहरूको अध्ययन गर्दा मालपहाडे भन्ने आर्य भाषा फेला परेको छ । मगर भाषाको सर्वेक्षण गर्न तनहुँ, पाल्पा र स्याङ्जा गएको पनि त्यसै सर्वेक्षणका क्रममा हो । सर्वेक्षणको तेस्रो चरणमा सेती महाकालीका मातृभाषाको खोजी गर्ने क्रममा मेरा भागमा नेपाली भाषाका मातृभाषाहरू परेका थिए । त्यस सर्वेक्षणमा मैले डोटी, दार्चुला, अछाम, बैतडी, डँडेल्धुरा, बाजुरा र बझाङमा बोलिने नेपाली मातृभाषाहरूको तुलनात्मक सम्बन्धको अध्ययन कैलालीको धनगढी, डोटीका बुडर र दिपायल, डँडेलधुरा, अछामको मङ्गलसेन अनि कञ्‍चनपुरको महेन्द्र नगर (भीमदत्त नगर) मा गरेँ । त्यहाँ के थाह पाइयो भने, भाषामा क्रियाका रूपावली फरक भए पनि सबैले आफ्नो आफ्नै मातृभाषा बोले पनि परस्परमा कुराकानी हुने रहेछ । यसरी विकास भएको सुदूर पश्चिमाञ्‍चलको सम्पर्क भाषाको नाम डोट्याली रहेछ ।

भाषा सर्वेक्षणको पछिल्लो क्रममा म खाम (मगर) भाषाको सर्वेक्षण गर्न रुकुमको मुसीकोट (पर्वते भाषिका) र रोल्पाका सुलीचौर (गमाले भाषिका) र लिबाङ (सेसी भाषिका) को अठार मगरात प्रतिष्ठानमा पुगेँ । प्रारम्भिक सर्वेक्षण त कर्ण बहादुर बुढा मगर र बम कुमारी बुढाको सहयोगले काठमाडौँकै नयाँ बस पार्क र कलङ्कीको अठार मगरात भाषा प्रतिष्ठानमा गरियो । खाम भाषाकै निसेल र भुजेल भाषिकाको अध्ययनमा चाहिँ यो तिहार पछि बाग्लुङ जाने कार्य क्रम छ ।

लोहोरुङ भाषाको अरू किराँती भाषाहरूसँगको ऐतिहासिक साइनो बारे प्रवचन गर्न म स्विडेनको गटेनबर्ग पुगेँ । नेपाली भाषाका पाठ्य पुस्तकको विशेषज्ञ भएर भारतीय भाषा संस्थान (मैसुर) मा म ३ महिना बसेँ । उत्तर बङ्ग विश्व विद्यालयमा भारतभरका महाविद्यालयहरूमा नेपाली पढाउने गुरुहरूलाई नेपाली भाषा र व्याकरणको व्याख्यान गर्दै ६ ओटा कक्षा लिन सिलिगुडी पनि पुगेँ । विदेशीहरूलाई नेपाली भाषा सिकाउने भारतीय भाषा संस्थानको उत्तर पूर्वीय क्षेत्रीय भाषा केन्द्रमा पनि नेपाली भाषा विशेषज्ञ भएर कक्षा लिन गुवाहाटी पुगेको थिएँ । नेपाली भाषा सम्बन्धी कार्य पत्र पढ्न स्विट्जर्ल्यान्डको बर्न विश्व विद्यालयमा पुगेको, असमको ग्वालपाडामा ब्रह्मपुत्र ब्याँसीको सभ्यता सम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीमा विशिष्ट अतिथि भएर व्याख्यान दिन पुगेको पनि भाषाकै निहुँमा थियो । सिक्किमको राजधानी गान्टोकमा भारतीय नेपालीहरूले आयोजना गरेको अन्तरराष्ट्रिय गोष्ठीमा ‘नेपाली भाषाको उत्पत्ति र विकास’ भन्ने लेख पढ्न पनि पुगेको थिएँ त्यस्तै अर्को पल्ट सिआइआइएल र सिक्किम एकेडेमीले आयोजना गरेको नेपाली भाषाको मानकीकरण गोष्ठीमा भाग लिन पनि म गान्टोक पुगेको थिएँ ।

भाषा विज्ञानका बेग्ला बेग्लै विषयहरू पढ्न अमेरिकाको  एमआइटी र हार्वार्ड विश्व विद्यालयमा लिङ्‌ग्विस्टिक सोसाइटी अफ अमेरिकाले आयोजना गरेका ग्रीष्म कालीन कक्षामा बुढो विद्यार्थी भएर पढ्न जाँदा नोम चोम्स्की, मोरिस हेले, पल किपर्स्की, विलियम ल्याबोभ, जेम्स मकार्थी, जोन मेल्चर्ट र एलेन प्रिन्स जस्ता विश्व प्रसिद्ध भाषा वैज्ञानिकहरूको चेलो हुने मौका पाएको पनि भाषाको निहुँले नै हो । यो औसरलाई म कहिल्यै पनि बिर्सिन सक्तिन ।

यसरी भाषाकै निहुँले मेरा पैतालामा चक्र बसेको मैले अनुभव गरेको छु । अब त न भाषा विज्ञानले मलाई छोड्न सक्छ, न म भाषा विज्ञानलाई छोड्न सक्छु भन्ने लाग्‍न थालेको छ ।

Leave a Reply