इतिहासको दर्शन, विज्ञान र काव्य शास्त्र

By | February 5, 2016

१. चिनारी
साहित्य र इतिहासको साइनो परस्पर सम्बन्धित भएकाले पाश्चात्य समालोचनामा इतिहास, रचना र समालोचनामा पारस्परिक साइनो बारे प्रशस्त चर्चा भएको छ । एरिस्टोटल (इपू चौथो शताब्दी) ले इतिहास र आख्यानमा फरक छुट्याउँदै इतिहास तथ्यपरक हुने काव्य चाहिँ काल्पनिक भए पनि सम्भव हुनु पर्ने विचार राखे । डेकार्ट जस्ता प्रज्ञा पन्थी दार्शनिकहरुले इतिहासलाई न्युटनका नियम जस्तै नियम बद्ध र विज्ञान जस्तै सार्वभौम ठहराए । हर्डरले इतिहास समाज सापेक्ष हुने कुरो पहिलो पल्ट अघि सारे पछि देश, जाति, लिङ्ग, संस्कृति र मानव समुदायै पिच्छे फरक फरक हुने कुरो अघि सारे । यसरी इतिहासमा प्रयोग भएको भाषाको भाष्य वैज्ञानिक अर्थ लगाउने परम्परा सुरु भयो । नित्सले इतिहासकारले आफुलाई माथि पार्न र अरुलाई दुर्बल बनाउन इतिहास लेख्ने कुरो उचाले त्यसको प्रभाव केन्द्रीय सरकार आफ्ना पकडमा नहुने देशका मार्क्स वादीहरुलाई पर्‍यो । यसरी एउटै केन्द्र हुने आधुनिकताले परिभाषित गर्न सक्ने कुनै ऐतिहासिक सत्य परिभाषै गर्न नसकिने उत्तर आधुनिक साहित्यिक सत्य बन्न पुगेको पाश्चात्य समालोचना र दर्शनको ऐतिहासिक चिनारी यस समालोचनाको लक्ष्य भएको छ ।
२. इतिहास वाद
अ. कृतिहरुको व्याख्याका लागि (तात्कालिक) समयको परिस्थितिलाई सन्दर्भ गाँस्ने विद्यालाई इतिहास वाद भन्दछन् । कार्ल पपर (Popper 109) का विचारमा अतीतका घटनाहरुका बिचमा विश्लेषणको साइनो गाँसेर भविष्य वाणी गर्ने दर्शन नै ‘इतिहास वाद’ हो ।
आ. इतिहासको पुनर्निर्माण गर्दा खास खास ऐतिहासिक परिस्थितिका विलक्षणताहरुलाई ठम्याउने पक्षपात रहित ऐतिहासिक आख्यानको रचना गर्ने नीति भन्ने परिभाषा पनि इतिहास वादको गरिएको छ (Iggers 29) ।
इ. डायोनिससले इतिहासलाई उदाहरणहरु दिएर पढाउने दर्शन शास्त्र मानेका छन् (Hamilton 18) ।

३. प्राकृतिक विज्ञान र इतिहास विज्ञानमा फरक
प्रकृति कहिल्यै नफेरिने निश्चित र शाश्वत नियमले चक्रमय रूपले चली रहने हुनाले प्राकृतिक विज्ञानका नियमहरु पनि शाश्वत र अपरिवर्तनशील हुन्छन्, तर इतिहास चाहिँ निरन्तर परिवर्तनशील मान्छेको स्वभाव, संस्कृति र समाजको अध्ययनसँग गाँसिएकाले प्राकृतिक विज्ञान र इतिहासका नियमहरु आपसमा मिल्दैनन् । प्रकृति र प्राकृतिक नियमको कुनै लक्ष्य र गन्तव्य हुँदैन, तर मान्छे र मान्छेका समाजको भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेश फरक पर्ने बितिक्कै लक्ष्य र गन्तव्य नै फरक पर्छ । अर्कातिर प्राकृतिक नियमले चल्ने घटनाहरु चाहिँ एकैनासले पटक पटक दोहोरिने चक्रमय हुन्छन्, तर मान्छे र मान्छेको ऐतिहासिक, सामाजिक तथा राजनीतिक परिस्थिति एकपल्ट बिते पछि कहिल्यै पनि उसै गरी दोहोरिँदैन, त्यसैले प्राकृतिक विज्ञानलाई नमुना बनाएर मान्छेका सामाजिक, राजनीतिक र सांस्कृतिक इतिहासको निष्कर्ष निकाल्न सकिँदैन (Iggers 4-5) ।

४. विज्ञानका रूपमा (निरपेक्ष) इतिहास
क. भिको, हेगल र क्रोचेले इतिहासलाई विज्ञान ठहराएका छन् (Hamilton 16) ।
ख. इतिहास विज्ञान : प्रकृति वादी प्रज्ञा (Enlightenment) पन्थी इतिहास दर्शन (Hamilton 32) ।
रेने डेकार्ट (Descartes 97-141) ले १७ औँ शताब्दीको पूर्वार्धमा ग्यालिलिओ (१६३२ ई) को वैज्ञानिक आविष्कारको प्रेरणाले अनुभव र इन्द्रियबाट पाएको ज्ञान भन्दा तर्क, गणित र विज्ञानबाट पाएको ज्ञानलाई पत्यारिलो र बढ्ता महत्त्वको ठहराए; मान्छेका इन्द्रिय वा जिउबाट पाएको ज्ञानबाट भन्दा दिमाग, बुद्धि र विवेकबाट अर्थात्, तर्क र गणितबाट आएको निष्कर्षलाई बढ्ता साँचो माने । डेकार्टको यस बुद्धि वादी, तर्क वादी वा विवेक वादी विचारबाट आज सम्म पनि ज्ञान विज्ञानका अनेक क्षेत्रहरु प्रभावित भएकै छ ।
विज्ञानबाट निस्केको सत्य सार्वभौम हुने हुनाले डेकार्टको प्रभावमा परेर १७ औँ शताब्दीका पफेन्डोर्फ (Pufendorf) जस्ता इतिहासकारले इतिहास विज्ञानमा प्रकृति वादको प्रवर्तन गरे । पफेन्डोर्फ (१६७३ ई) भन्दा अगाडिका इतिहासका चिन्तकहरुले बनाएको प्रकृति वादमा ईश्वर वाद मुछिएको थियो, तर डेकार्टको प्रभावमा परेर पफेन्डोर्फले इतिहास दर्शनबाट ईश्वरको भूमिकालाई बिदा गरे र प्रकृतिको शक्ति र मानिसको सामाजिक बुद्धि र विवेकका शक्तिको द्वन्द्वात्मक भूमिकाले इतिहासमा निर्णायक भूमिका लिने विचार अघि सारे । उनको विचार अनुसार प्रकृतिमा मान्छेलाई पनि अरु जन्तुलाई झैँ भोक, यौन र होडले प्रभावित पार्छ, त्यसैले जुन समाजले प्रकृतिको पाशविक प्रवृत्ति, होड र युद्धबाट जोगिन विवेकको प्रयोग गर्छ, त्यो समाज चाहिँ विकसित हुन्छ, तर जुन समाजले त्यो विवेक प्रयोग गर्न सक्तैन, त्यो समाज प्राकृतिक नियमले नै नष्ट हुन्छ, त्यसैले मानव इतिहासमा पनि प्रकृतिको नियम र निर्णयको भूमिका हुन्छ; तर पफेन्डोर्फ नकारात्मक नभएर सकारात्मक चिन्तक भएकाले इतिहासको विकासमा विवेकको विजय हुने कुरामै विश्वास गर्छन् ।
ग. अठारौँ शताब्दीका दार्शनिक भिको (Vico), मोन्टेस्क्यु (Waddicor), भोल्टेयर (Voltaire) र रुसो (Rousseau) ले लेखेका इतिहासका कुरामा पनि डेकार्ट (१६३७ ई) र पफेन्डोर्फकै प्रकृति वादी, बुद्धि वादी (अथवा विवेक वादी) र तर्क वादी प्रभाव परेर देश र जाति बदलिए पनि प्रकृति वादी सार्वभौमिक, विवेक पूर्ण र सकारात्मक सन्देश दिने आग्रहले गर्दा चर्चा, वर्णन र उदाहरणमा आएका देश र जातिका कुराले वास्तविक स्थितिको ज्ञान पाउन सकिँदैन (Hamilton) । यी दार्शनिकहरु नियमहरुका आधारमा प्राकृतिक सत्यको स्थापना गर्ने ग्यालिलिओ (१६३२ ई) र न्युटन (१६८७ ई) बाट पनि प्रभावित थिए ।
घ. भिको : इतिहासका ३ चरण (Hamilton)
भिको (Vico 67-79) को ‘चक्रमय इतिहास’ दर्शन : इटालीका दार्शनिक जम्बातिस्ता भिको (१७२५ई) ले जुनसुकै देश र जातिको इतिहास पनि तिन ओटा चक्रमय चरणमा परिवर्तनशील हुन्छ भन्ने सिद्धान्त बनाए । उनका विचारमा हरेक मान्छेका जीवनमा शैशव, यौवन र वार्धक्य भए जस्तै इतिहासमा पनि पहिले दैवी चरण आउँछ, त्यस पछि दैवी चरण मिथकीय चरणमा प्रवेश गर्छ र अन्त्यमा मानवीय चरणमा प्रवेश गर्छ; अनि मानवीय चरण अवनति र पतन तिर उन्मुख हुन्छ र इतिहास फेरि दैवी चरणमा प्रवेश गरेर क्रमशः फन्फनी घुम्छ । भिकोको यस्तो इतिहास दर्शन पनि प्रकृति वादी दर्शनबाटै प्रभावित भए पनि भिकोले पफेन्डोर्फको दर्शनलाई संशोधन गरेर के भने भने, जुनसुकै जातिले भन्ने गरेको आफ्नो इतिहासको पहिलो चरणमा देउता र दैवी शक्तिको भूमिका हुन्छ । मान्छेका पुर्खाहरु देउता हुन्छन्; समाजमा झारफुक र मन्त्र शक्तिबाट देउताका बलले (भूत, प्रेत, पिशाच र अलच्छिन पन्छाएर र मन्छाएर) रोग निको पार्ने, प्रकृति, जन्तु र मान्छेका शारीरिक लक्षण (लच्छिन र अलच्छिन) का आधारमा भविष्य वाणी गर्ने, चिन्ता बस्ने, टुनामुना गर्ने, शकुन र अपशकुनका आधारमा इतिहासका अघि पछिका घटनाहरुलाई जोड्ने चलन जुनसुकै जातिमा हुन्छ । इतिहासको त्यस पछिको चरणमा समाजमा राक्षसहरुको बिग्बिगी हुन्छ र तिनीहरुले मानव जाति र मान्छेका वीर नायकहरुका उन्नतिका बाटामा अड्का र अल्झाहरु तेर्स्याए पनि त्यस्ता सबै अल्झा र खड्गाहरुलाई पन्छाएर र जितेर जातीय वीरहरुले राष्ट्रको निर्माण गर्छन् । तेस्रो चरणमा मात्र मान्छे मात्र भएको इतिहास पाइन्छ । यसरी पफेन्डोर्फले चिताए जस्तो इतिहासमा चाहिँ मान्छेका जातीय मिथक, किम्बदन्ती, दन्तेकथा र पुराणहरुका रूपमा लुकेको इतिहास बिर्सिइएको हुनाले त्यस्तो इतिहास अधुरो हुन्छ । भिकोका विचारमा हामीले हाम्रा मिथक, किम्बदन्ती, दन्तेकथा र पुराणहरुमा लुकेका इतिहासमा भएको काव्यात्मकता (लक्षणा, व्यञ्जना र उपमान वा अलङ्कार) लाई अर्थ्याएर जातीय इतिहासको वस्तुपरक अर्थ निकाल्न जान्नु पर्छ ।
ङ. कान्ट र हेगलको प्रज्ञा पन्थी प्रकृति वाद :
i. कान्ट : कान्ट पनि इतिहासका प्रकृति वादी व्याख्याता हुन्, तर उनको ऐतिहासिक प्रकृति वाद दुई किसिमको छ : (१) विवेकहीन मान्छेहरुको समूहको इतिहास चाहिँ पूर्णतः कारण र परिणामका खटनले चल्ने प्राकृतिक नियमहरुकै वशमा हुन्छ, तर (२) विवेकशील व्यक्तिहरुका समूहले त्यस्ता प्राकृतिक नियमबाट चल्ने सामाजिक गन्तव्यलाई विवेकशील उन्नति र प्रगति तिर लैजाने हुनाले परिणाममा प्रकृतिले नै विवेकशील उन्नति तिर इतिहासलाई अघि बढाउन प्रेरणा दिन्छ । यसरी कान्टका विचारमा इतिहास एकातिर कारण-परिणाममय हुन्छ भने अर्कातिर इतिहास विवेकशील गन्तव्यनिष्ठ हुन्छ, तर कान्टले यी दुवै किसिमका इतिहासलाई परस्पर सम्बद्ध ठहराएका छन्, किन भने सर्व साधारण बहुसङ्ख्यक मान्छेको भिड त स्वार्थ, होड, युद्ध र तानातानको प्राकृतिक नियमले नै चल्छ, तर दुर्घटना र सर्व नाशमा टुङ्गो लाग्ने त्यस्तो प्राकृतिक इतिहासको दुष्परिणामलाई विवेकले छेकारो लगाउँछ र इतिहास विवेकका खटनमा प्रगति पथमा अघि बढ्छ । यसरी कान्ट (Kant, Idea for a Universal History with a Cosmopolitan Purpose 41-53) को इतिहास दर्शनमा एकातिर प्रकृति र संस्कृतिको द्वन्द्वात्मक समन्वय पाइन्छ भने, अर्कातिर प्राकृतिक नियमले चल्ने सामूहिकता र प्रबुद्ध व्यक्तिहरुका खटनमा चल्ने कला, साहित्य, दर्शन, विवेक र नैतिकताको विजय भएर विश्वभरकै इतिहास दीर्घ कालमा सधैँ अग्रगामी हुन्छ भन्ने सकारात्मक र आशा वादी प्रज्ञा पन्थी र प्रकृति वादी काव्य शास्त्र पाइन्छ (Hamilton 43-44) ।
ii. हेगल (McCarney; Hegel, Lectures on the Philosophy of History; Hegel, Hegel’s Phenomenology of Spirit [1807]) : कान्टले इतिहासलाई सार्वभौम र शाश्वत नियम अनुसार चल्ने ठहराए भने हेगलले चाहिँ इतिहासलाई द्वन्द्वात्मक एकाइका रूपमा चिनाए । हेगलको द्वन्द्वात्मकता अन्तरक्रियात्मक थियो र उनको इतिहास दर्शन समसामयिक जर्मनीमा प्रचलित तुलनात्मक भाषा शास्त्र अथवा ऐतिहासिक भाषा विज्ञानको तुलनात्मक ऐतिहासिक पुनर्निर्माणको शोध विधिबाट प्रभावित थियो । टी०एस० इलियट र अक्सटको इतिहास दर्शनमा पनि हेगलमा परेको तुलनात्मक भाषा शास्त्रको शोध विधिकै प्रभाव देखिन्छ । इतिहासले अतीतको वास्तविकतालाई समेटेको हुन्छ भन्ने मान्यताका आधारमा भाषा शास्त्रको तुलनात्मक विधिको उपयोग गरिएको हो ।
ऐतिहासिक भाषा विज्ञानमा उच्चारण र अर्थ झन्डै मिल्ने एउटै परिवारका अनेक भाषाका शब्दहरुमा ध्वनि परिवर्तनको नियमका आधारमा ती विश्लेषण गरिएका सबै भाषाहरुको तुलनात्मक पारिवारिक इतिहासको पुनर्निर्माण गरिन्छ । पहिले दुइटा शब्दको मात्र तुलना गरेर एउटामा भएको अर्कामा नभएको ध्वनिको अभिलक्षण छुट्याएर ती दुइटा शब्दको तुलनात्मक इतिहासको निर्णय गरिन्छ । त्यस शोध विधि अनुसार दुइटा शब्दको ध्वनिको अभिलक्षणमा चाहिँ व्यतिरेकी द्वन्द्वात्मकताको खोजी गरिन्छ अनि नियम फेला परे पछि ती दुइटै शब्द जुन जुन भाषाका छन्, ती दुइटै भाषाहरु एउटै परिवारका ठहर्छन् । जसरी वंशावलीका वंश वृक्षमा हाँगा व्यतिरेकी अनेकता र द्वन्द्वात्मकता तिर र फेद एकात्मकता र समन्वय तिर हुन्छ यस्तै द्वन्द्वात्मक एकता मानव दर्शनमा अर्थात् ज्ञानको बुझाइमा पनि हुन्छ भन्ने हेगलको धारणा छ । तुलनात्मक भाषा शास्त्रको अनुसन्धानमा तेस्रो शब्द भेटिए पछि त्यसलाई समेत समेट्ने गरी अघिका दुइटा शब्द जोडेर निष्कर्ष निकाल्दा थपिन आएको नयाँ शब्द दुइटा शब्द मात्रका आधारमा गरिएको निर्णयमा द्वन्द्वात्मक भएर तेर्सिन्छ । त्यस शब्दलाई नियमले समेट्ता अगाडिको नियम समेत खज्मजिन्छ र संशोधित नयाँ नियम बन्छ । नयाँ भाषा फेला पर्‍यो भने, नयाँ अभिलेख भेटियो भने, व्याख्या गर्ने नयाँ सिद्धान्त बन्यो भने, त्यसलाई समेट्नका लागि अगाडि ठडिएको निष्कर्षमा परिमार्जन हुन्छ र ज्ञान समन्वयात्मक रूपमा अघि बढ्छ ।
हेगलको इतिहास दर्शन कान्टको ”प्रज्ञा’ भनेको के हो?’ (Kant, An Answer to the Question ‘What is Enlightenment?’) भन्ने विचारबाट प्रभावित छ । कान्ट झैँ हेगल पनि इतिहास अग्रगामी र विवेकशील मार्गमा अघि बढ्ने मान्छन् । हेगल विश्वभरका मानव जातिको इतिहासलाई द्वन्द्वात्मक, अन्तरक्रियात्मक र निश्चित सार्वभौम ढाँचामा अघि बढ्ने ठान्छन् । इतिहासमा जुन मानव समुदायले विवेकशील आत्मनिर्णय गर्छ, त्यो अग्रगामी, विजयी र स्वतन्त्र हुन्छ, अनि जुन समुदाय चाहिँ आत्मनिर्णय गर्न सक्तैन, त्यो पराजित र परतन्त्र हुन्छ; यसरी इतिहास भनेको मानव समुदायका उत्तरोत्तर विवेकशील निर्णयका द्वन्द्वात्मक परिणामको एकीकृत आख्यान हो भन्ने हेगलको विचार छ (Magee 104-108)।
iii. टी०एस० इलियट (Eliot 47-59) ले हेगलको यसै विचारबाट प्रभावित भएर ‘परम्परा र व्यक्तिगत प्रतिभा’ भन्ने लेखमा के लेखेका छन् भने, कुनै कविले आज एउटा कविता लेख्ता त्यस कविताले होमरदेखि आज सम्मका ऐतिहासिक र समसामयिक सबै कविका कविताहरुसँग मिल्न र बेग्लै हुन होड गर्नु पर्छ । त्यो कविता समग्र परम्परामा नौलो हुन सकेन भने, कवितै हुन सक्तैन । यसरी आज लेखिएको एउटा नयाँ कविताले एकातिर परम्परालाई नै खल्बल्याई दिन्छ र परम्परागत र समसामयिक सबै कविताको स्थापित मूल्यलाई पुनर्मूल्याङ्कन गर्नु पर्ने अवस्थामा पुर्‍याई दिन्छ । यसो हुँदा आज लेखिएको नयाँ कविता र परम्परामा लेखिएका कवितासित द्वन्द्वात्मक र अन्तरक्रियात्मक समन्वय हुन्छ; परम्पराले आजको नौलो कविताको मूल्यको खटन गर्छ भने, आज लेखिएको नौलो कविताले पनि परम्परागत र समसामयिक समग्र आदर्श कविताहरुका मूल्यको पुनर्विन्यास गरी दिन्छ । इलियटले यसरी व्यक्तिगत प्रतिभा र परम्पराका बिचमा द्वन्द्वात्मक अन्तरक्रियात्मक साइनो हुने कुरो हेगलको इतिहास दर्शनका आधारमा स्थापित गरेका छन् । कवि र कलाकारको निर्वैयक्तिकताको सिद्धान्त पनि इलियटले यसै विचारका आधारमा प्रस्तावित गरेका छन् ।
iv. इतिहासको पुनर्निर्माणमा भाषा वैज्ञानिक विधि
मिखाइल ओक्सट (Oakeshott 52) ले पनि इतिहासको अनुसन्धान गर्ने विधिलाई ऐतिहासिक भाषा विज्ञानको ‘तुलनात्मक विधि’ अर्थात् ‘ऐतिहासिक पुनर्निर्माण विधि’ जस्तै मानेका छन् (Hamilton 17) । ओक्सटका विचारमा ऐतिहासिक घटना पनि दुई भाषाका शब्द झैँ एक्ला एक्लै हुन्छन्, इतिहास विज्ञानले कुनै प्राक्कल्पनाका आधारमा ती परस्पर असम्बन्धित घटनालाई जोडेर सम्बन्धित बनाउँछ ।
ऐतिहासिक भाषा विज्ञानको तुलनात्मक पुनर्निर्माण विधिबाट बन्ने वृक्षारेखबाट निष्कर्षका रूपमा आउने तुलनात्मक इतिहास र पुनर्निर्माण गरिएको संस्कृतिलाई अर्को भाषा वैज्ञानिकले तिनै शब्दहरुलाई लिएर त्यही विधि प्रयोग गरेरै ध्वनि परिवर्तनको फरक नियमको कल्पना गरेर फरक इतिहास र संस्कृतिको व्याख्या गर्न पनि सक्छ । यसरी अध्ययन गरिएका शब्द र प्रयोग गरिएको विधि र विज्ञान एउटै भए पनि पुनर्निर्माण गरिएको इतिहास र संस्कृति फरक फरक हुन सक्छ र ऐतिहासिक भाषा विज्ञानको तुलनात्मक पुनर्निर्माण गर्ने विधि जान्ने भाषा वैज्ञानिकले इतिहास र संस्कृतिका ती अनेक वैकल्पिक व्याख्या, यथार्थ र सम्भावनालाई पत्याउनु पर्ने हुन्छ ।
ओक्सटका विचारमा तुलनात्मक भाषा विज्ञानमा झैँ एउटा इतिहासकारले पनि परस्पर असम्बद्ध इतिहासका घटनाहरुलाई जोड्छ र सबै घटनाको व्याख्या हुने गरी इतिहास र संस्कृतिको पुनर्निर्माण गर्छ; अनि जसरी ऐतिहासिक भाषा विज्ञानको तुलनात्मक पुनर्निर्माणको विधि प्रयोग गरेर बेग्ला बेग्लै भाषा वैज्ञानिकहरुले पुनर्निर्माण गरेका भाषा र भाषा बोल्नेहरुको संस्कृतिको सत्यतालाई नकार्न सकिँदैन, त्यसै गरी इतिहासका बेग्ला बेग्लै घटनाहरुलाई जोडेर दुइटा इतिहासकारहरुले पुनर्निर्माण गरेको ऐतिहासिक तथ्यलाई नकार्न सकिँदैन । यसरी ऐतिहासिक भाषा विज्ञानमा पनि इतिहासमा पनि अनेक वैकल्पिक सत्यताहरुको अस्तित्व हुन सक्छ । इतिहास र ऐतिहासिक भाषा विज्ञानमा यसरी घटना र तथ्य एउटै भए पनि ऐतिहासिक व्याख्या भने अनेक हुन सक्छ । कला र साहित्यका समालोचनाले स्थापना गर्ने सत्यता पनि दिगो नभएर यस्तै बहुविकल्पात्मक र परिवर्तनशील हुन्छ । प्राकृतिक विज्ञानको अनुसन्धानबाट यस्ता अनेक वैकल्पिक सत्यहरु हुने सम्भावना एकदम कम हुन्छ (Hamilton 18) ।

५. हर्डर (१७७४ई) को ऐतिहासिक सापेक्षता वाद :
हर्डरले मानव इतिहासलाई शाश्वत नियमहरुका आधारमा सामान्यीकरण गर्ने बुद्धि वादी, तर्क वादी, र विवेक वादी (Rationalist) प्रज्ञा (Enlightenment) पन्थी को प्रभावमा विकसित प्रचलित बुद्धि वादी रूढिको विरोध गर्दै कस्तो दृष्टि कोण राखे भने, एउटै ठाउँमा ऐतिहासिक काल फरक परे पनि, एउटै काल खण्डमा ठाउँ फरक परे पनि, एउटै ठाउँमा जाति र संस्कृति फरक परे पनि, एउटै ठाउँ, जाति र संस्कृति भित्र व्यक्ति फरक परे पनि इतिहासको स्वरूप र मूल्य फरक फरक पर्ने हुनाले स्थायी र बनिबनाउ नियमका आधारमा इतिहासको सामान्यीकरण गर्न सकिँदैन (Iggers 30) । हर्डरका विचारमा संसारमा जति ओटा मातृभाषा, समाज र संस्कृतिको विविधता छ, मान्छेको इतिहास पनि त्यति नै किसिमको हुने सम्भावना छ ।

६. भाष्य वैज्ञानिक इतिहास दर्शन :
क. भाष्य विज्ञान (पोखरेल) ले बेग्ला बेग्लै अभिव्यक्तिको वैयक्तिकताका आधारमा कृतिको भाषिक विश्लेषण गर्छ, सबै कृतिको एक मुष्ठ वैज्ञानिक सामान्यीकरण गर्दैन । भाष्य वैज्ञानिक अर्थ विश्लेषणबाट कुनै कृति भित्र एउटै प्रसङ्गमा एउटै भाषिक एकाइको पनि पाठकले रोजे अनुसार पाठकै पिच्छे र उसको संस्कृति नै पिच्छे फरक फरक अर्थ लाग्न सक्छ (Hamilton 53-57) ।
इतिहास वा समय फेरिए पछि हिन्दुहरुको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र भौगोलिक परिवेश बदलिएकाले उनीहरुको सामाजिक, सांस्कृतिक र धार्मिक भावनासित ग्रन्थका अर्थको तालमेल राख्न वैदिक साहित्य (संहिता, उपनिषद्), धर्म शास्त्र (ब्राह्मण ग्रन्थ र स्मृतिहरु) र पुराणहरुका मीमांसा, भाष्य, टीका र व्याख्याहरुको अनेक पल्ट रचना, परिमार्जन र पुनर्व्याख्या गर्नु पर्‍यो । युरोपमा पनि परिस्थिति अनुसार समसामयिक भाष्य र व्याख्या गर्दा इतिहासले बाइबलको एउटै वाक्यको पनि फरक फरक अर्थ निकाल्नु पर्ने अवस्था आयो । धर्म ग्रन्थमा लेखिएका ईश्वरीय सन्देश प्रति आस्था जगाउन ढाकछोप गर्ने र लिउन हाल्ने अनिवार्यता तिनीहरुको मीमांसा, भाष्य र व्याख्यामा हुनु स्वाभाविक हो, तर जब धर्म ग्रन्थको व्याख्या गर्न र भक्तहरुमा आस्था जगाउने अर्थ लगाउन विकसित भएको भाष्य विज्ञानको उपयोग कृतिबाट निस्कन सक्ने जुनसुकै आफुखुसी अर्थ लगाउन नपाइने छेकबार हट्यो, अनि त धर्म निरपेक्ष र नास्तिक अनास्था जगाउन समेत भाष्य वैज्ञानिक शोध विधिको उपयोग हुन थाल्यो र परिणामतः भाष्य विज्ञानले नै आधुनिकता र उत्तर आधुनिकता जन्मायो ।
ख. स्लेयर्माखर (१८२७ ई): स्लेयर्माखरलाई पाश्चात्य भाष्य विज्ञानका प्रणेता मानिन्छ । स्लेयर्माखर (Schleiermacher) का भाष्य विज्ञानमा बाइबल जस्ता धार्मिक ग्रन्थको वास्तविक अर्थ लगाउँदा प्रभुकै अथवा देव दूत वा मूल लेखककै निजी र सम सामयिक भावना ठम्याउन भाष्यकारका अगाडि दुई ओटा प्रक्रियाहरु क्रियाशील हुन्छन् : (क). भाषिक विश्लेषण र (ख). देउता वा मूल लेखककै मनोभावको साक्षात्कार (डिभिनेसन) । यी दुई प्रक्रिया मध्ये पहिलो चाहिँ व्याकरणिक वा भाषा वैज्ञानिक हो भने, दोस्रो चाहिँ मनोवैज्ञानिक भयो । उपनिषद् र गीता जस्ता धार्मिक ग्रन्थ भित्र भेटिने दैनिक बोलचालको प्रयोगसित नमिल्ने अभिव्यक्तिको अर्थ निकाल्ने वेलामा प्रभुका इच्छाको गूढ अर्थ दूरदर्शी, हाम्रो भलो गर्ने र राम्रै हुनु पर्ने भन्ने मानेर टीका र भाष्यमा टीकाकार वा भाष्यकारले त्यसको ढाकछोप र ओर गर्नु पर्छ; त्यसका लागि दैव सहभाव (डिभिनेसन) आवश्यक हुन्छ । यसरी धार्मिक ग्रन्थबाट निस्कने अर्थमा सर्वगम्य भाव र गूढ दैव भाव छुट्याउनु पर्ने हुन्छ । लेखकले नै आफुले लेखेको कुरो जति बुझ्छ, भाष्यकार वा टीकाकारले त्यो भन्दा बढ्ता बुझ्नु पर्छ र बुझ्न सक्छ भन्ने स्लेयर्माखरको भाष्य वैज्ञानिक लक्ष्य थियो (Hamilton 64) ।
यसरी अतीतमा रचना भएका धर्म ग्रन्थका मीमांसा, भाष्य र टीकामा लगाइने ऐतिहासिक तथ्यका अर्थमा ढाकछोप र दैवी सहभाव क्रियाशील हुन्छ भन्ने स्लेयर्माखरको विचार छ ।
ग. डिल्दे (१९ औँ शताब्दी) जीवन दर्शन (लाइफ फिलोसोफी) का प्रणेता (Frolov) हुन् । डिल्दे (Dilthey) ले विज्ञानलाई प्राकृतिक र मानविकी गरी दुई प्रकारको ठहराउँदै प्राकृतिक विज्ञान र मानविकी (अथवा सामाजिक विज्ञान) को शोध विधिमा तल लेखिए अनुसारको फरक देखाउँदै के भनेका छन् भने, प्राकृतिक विज्ञान र प्राकृतिक विज्ञानकै शोध विधिबाट मात्र मान्छेको मन, चेतना, जीवन र समाजको पूर्ण अध्ययन हुन सक्तैन । मानव जीवन, मानव समाज र मानवीय मनोभावको न्याय पूर्ण अध्ययन गर्न इतिहास, कला, साहित्य र दर्शनको अध्ययन पनि अनिवार्य हुन्छ (Palmer 98-123):
अ. मानविकी र सामाजिक विज्ञानका अध्ययनमा मन र आफ्नो अनुभव नै प्रयोगशाला हुन्छ, तर प्राकृतिक विज्ञानका अध्ययनमा यस्तो ज्ञानवाद (Epistemology) को भूमिका त्यति हुँदैन;
आ. प्राकृतिक विज्ञानका अध्ययनमा इतिहासको भूमिका उल्लेखनीय हुँदैन; मानविकी र सामाजिक विज्ञानका अध्ययनमा इतिहासको महत्त्व पूर्ण र अनिवार्य भूमिका हुन्छ;
इ. प्राकृतिक विज्ञानका अध्ययनमा मान्छेको जीवन, अनुभव र अस्मिताका लागि कुनै ठाउँ हुँदैन, तर मानविकीका अध्ययनमा जीवन र अस्मिताको भूमिका महत्त्व पूर्ण हुन्छ । मानविकीमा आन्तरिक जीवनका अभिव्यक्ति (कला, साहित्य, मन, आदि) को विश्लेषण गर्दा त आफ्नै जीवनलाई उदाहरण बनाएर समेत विश्लेषण गर्नु पर्ने स्थिति आउँछ ।
ई. भौतिक र बाह्‍य जगतका तत्त्वहरूको उपयोग मानविकीमा हुन सक्छ, तर ती तथ्य र तत्त्वलाई मान्छेका भावना र इच्छासँग गाँसेर मात्रै अथवा ती तथ्य र तत्त्वहरूले मान्छेको बरव्यवहार, उन्नति र उद्देश्यमा सघाउ पुर्‍याउँछन् कि अड्को थाप्छन् भन्ने आधारमा मात्र तिनीहरूको उपयोग हुन्छ (Palmer 105) ।
उ. प्राकृतिक विज्ञान व्यक्ति निरपेक्ष हुन्छ । प्राकृतिक विज्ञानले आफ्नो सिद्धान्तमा सम्पूर्ण वस्तु र प्रक्रियाका विषयमा सामान्यीकरण गर्छ, तर मानविकीले व्यक्ति, व्यक्तिको अनुभव र वैयक्तिकतालाई प्राथमिकता दिन्छ (Palmer 105), त्यसैले व्यक्तिको अन्तर्मनमा पसेर मानव जीवनका विलक्षण अनुभूतिको आविष्कार गर्नु मानविकीले आफ्नो नयाँ आविष्कार र उपलब्धि ठान्छ, तर प्राकृतिक विज्ञानलाई यस्ता व्यक्तिगत कुरामा वास्तै हुँदैन (Palmer 115) ।
ऊ. प्राकृतिक विज्ञान बाह्‍य जगतसँग मात्र सम्बन्धित हुन्छ, तर मानविकी र सामाजिक विज्ञानले बाह्य र आन्तरिक जगत् बिचमा समन्वय गर्छ (Palmer 105) ।
ऋ. प्राकृतिक विज्ञान र मानविकी दुइटैलाई जोड्न सक्ने ठहराएर डिल्देले मनोविज्ञानलाई आधार भूत विज्ञान ठहराएका छन् (Dilthey) ।
कान्टले विज्ञान र दर्शनका निष्कर्षमा अनिवार्य रूपमा पाइने कारण र परिणामको साइनो मानवीय अनुभूति, ज्ञान, कल्पना र विवेकमा प्रयोग गरे । कान्टको यो शोध विधिको उपयोग कला र साहित्यमा सौन्दर्यको परिभाषा गर्न पनि काम लाग्यो । डिल्देले त्यसलाई इतिहासमा उपयोग गरे । कसैको रचना नौलो नभए सम्म कविता वा कला हुन सक्तैन, त्यसैले एउटै कविका दुइटा रचनाले नै पनि छुट्टा छुट्टै कविता हुन दुइटैमा एक अर्कासित नमिल्ने नौलो पन हुनै पर्छ । एकै ठाउँका दुइटा समकालीन कवि हुन् कि बेग्ला बेग्लै ठाउँ, जाति र संस्कृतिका समकालीन कवि हुन्, नौलो पन नभई उनीहरुको रचना कविता हुन सक्तैन । कला र साहित्यको यो पारिभाषिक विशेषताको उपयोग डिल्देले ऐतिहासिक आयाममा प्रयोग गरे । इतिहासको बेग्ला बेग्लै चरणका वैज्ञानिक विचार र दार्शनिक विचारका बिचको फरक वा योग दानको मूल्याङ्कन पनि काव्यात्मक वा कलात्मक नौलो पन झैँ तुलनात्मक लेखाजोखा गरेर गर्न सकिन्छ । ऐतिहासिक आयाममा तुलनाले नै एउटै कृतिका अनेक व्याख्या, टीका, भाष्य र मीमांसाको खण्डन र मण्डनबाट कृतिको अर्थ विस्तार एकीकृत र घनीभूत हुँदै जान्छ । कला र साहित्यको परिभाषाबाट डिल्देले सिकेको प्रतिभाको वैचारिक विकासको अध्ययन गर्ने ऐतिहासिक आयामको उपयोग खालि सांस्कृतिक र सामाजिक विज्ञानको वैचारिक विकासको निष्कर्षमा मात्र नभएर प्राकृतिक विज्ञान र दर्शनको वैचारिक विकासको अध्ययनमा पनि उपयोगी सिद्ध भएको छ (Hamilton 69-74)।
कुनै कृति, दर्शन वा विचारको समसामयिक ऐतिहासिक परिवेशका सन्दर्भमा जोडेर मूल्याङ्कन गर्ने परिपाटी डिल्देले विकास गरेका हुन् । डिल्देका विचारमा जसरी हामी हाम्रो आफ्नै जीवनको मूल्य, अर्थ र लक्ष्य हाम्रो आफ्नै जीवनमा घटेका अतीतका घटनाहरुलाई जोडेर बुझ्न सक्छौ, त्यसै गरी हामी हाम्रो वर्तमानलाई पनि इतिहास वा अतीतसँग साइनो गाँसेर चिन्न र बुझ्न सक्छौँ ।
डिल्देका विचारमा हामीसँग भएका परम्परागत चलन, मिथक, साहित्य, कला, लोक विश्वास, धर्म, विज्ञान, प्रविधि, विधि र निषेधलाई सहानुभूतिपूर्वक केलाउँदा हामी सहभावबाट अतीतको मर्म चाल पाउँछौँ र तिनै परम्परागत सांस्कृतिक सम्पत्तिलाई आडमा राखेर हामी कुनै संस्कृति मान्ने व्यक्तिहरुको मर्म बुझ्न सक्छौँ (Hamilton 78) ।
घ. गडेमा (ग्याडामर) को संवादात्मक भाष्य विज्ञान :
हाइडिगरका शिष्य गडेमा (Lawn and Keane) स्लेयर्माखरको जस्तै ईश्वर र मूल लेखककै अर्थमा दैवी सहभाव र सहानुभूतिबाट कला र साहित्यका कृतिको अर्थ लगाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्दैनन् अनि डिल्देले झैँ कृतिमा लुकेको अतीतको ऐतिहासिक अर्थ परम्परागत चलन, मिथक, साहित्य, कला, धर्म, विज्ञान, प्रविधि, विधि र निषेध केलाएर अचुक रूपमा फेला पार्न सकिन्छ भन्ने पनि विश्वास गर्दैनन् । गडेमाका विचारमा हामीले बुझ्ने सबै कुरा हामीले बोल्ने भाषामा आधारित हुन्छ; भाषा भित्रै हाम्रो परम्परा पनि लुकेको हुन्छ अनि भाषाका शब्द, वाक्य, धातु, उपसर्ग र प्रत्ययहरुको विश्लेषण र व्याख्या गरेर हामी हाम्रो परम्परामा लुकेको अर्थ ठम्याउन सक्छौँ । गडेमाले भाषाका त्यस्ता हरेक घटकको अर्थ लगाउँदा हरेक घटकबाट निस्कन सक्ने वैकल्पिक अर्थहरु बिच परम्परा र वर्तमानको संवाद गराएर सोक्रेटिसकै कुराकानीका विधिबाट निष्कर्ष निकाल्नु पर्छ; यसरी कृतिमा लुकेको अर्थको निष्कर्षमा अतीतको एकलौटी खटन नभएर वर्तमानको पनि सहभागिता हुन्छ भन्ने विचार राखेका छन् । डेकार्टे, लक र कान्टले पोसेको प्रज्ञा पन्थमा परम्परालाई नकारात्मक रूपमा मात्र हेरियो । परम्परासँग संवाद गराएर मात्र वैचारिक वा दार्शनिक विकास हुन्छ भन्ने त हेगल मात्र मान्दछन् र गडेमाको परम्परा सम्बन्धी धारणामा हेगलकै प्रभाव छ । प्रज्ञा पन्थीहरु पूर्वाग्रहलाई पनि नकारात्मक ठान्दछन्, तर गडेमा आफ्नै पूर्वाग्रहसँग भिडाएर संवाद नगराई कृतिमा लुकेको भाषागत अर्थ विश्लेषण गर्नै सकिँदैन भन्ने मान्दछन्, त्यसैले कृतिको अर्थ विश्लेषणमा पूर्वाग्रहको अनिवार्य भूमिका हुन्छ भन्ने गडेमाको विचार छ । मानविकी र सामाजिक विज्ञानको सत्य प्राकृतिक विज्ञानको जस्तो सार्वभौम हुँदैन भन्ने डिल्देको विचारबाट प्रभावित भएर गडेमा के भन्दछन् भने, कला र साहित्यको कुनै कृतिको अर्थ पनि सार्वभौम र चिर स्थायी हुँदैन; हरेक नयाँ परिस्थितिमा हुने संवादबाट निष्कर्षका रूपमा आउने अर्थमा परिवर्तन हुन सक्छ । गडेमाले कृतिको अर्थ विश्लेषण प्रक्रियालाई खेला जस्तै ठानेका छन् । खेल वा नाटकमा खेलाडी र पात्रको अर्थ खेल वा नाटकले नै निर्धारण गर्छ । एउटा दुइटा खेलाडी वा पात्रको भूमिकाले खेलको सम्पादनमा निर्णायक विशेष अर्थ नराखे झैँ, कुनै कृतिको अर्थ विश्लेषणमा न परम्पराले, न कृतिकारले, न समालोचकले, न पूर्वाग्रहले, न इतिहासले, न परिवेशले, कसैले पनि एकलौटी भूमिका खेल्दैनन्, तर सबैका बिचको संवाद र सहकार्यबाट कृति विश्लेषणको खेल पुरा हुन्छ ।

७. मार्क्स, नित्स, फ्रायड र लकाँ : भविष्यको काव्य शास्त्र:
मार्क्स र नित्सले वर्तमानको अनुभवका आधारमा इतिहासको विश्लेषण र व्याख्या गर्दै अतीतका सामाजिक दुर्गुण र अन्यायबाट मुक्त हुने भविष्यको काव्य शास्त्र बनाए । उनीहरुलाई भविष्यको काव्य शास्त्र बनाउन प्लेटो, एपिक्युरोस, कान्ट, फ्रान्सको राज्य क्रान्ति, रोमान्टिक आन्दोलन र सोपेन्हावरको प्रभाव परेको देखिन्छ।
क. मार्क्स : इतिहास सम्बन्धी कार्ल मार्क्सको धारणामा एपिक्युरोस (इपू चौथो-तेस्रो शताब्दी), डेकार्ट (१६३७), न्युटनका गति नियम, कान्ट (१७७३-१७९०), फ्रान्सको राज्य क्रान्ति (१७७९), रोमान्टिक आन्दोलन (१७९८-१८००) र हेगल (१८०७) को प्रभाव छ (Frolov) । एपिक्युरोस (इपू ३४१-२७०) ग्रिसका नास्तिक र भौतिक वादी दार्शनिक थिए । मार्क्स (१८४१) ले उनका विषयमा अनुसन्धानात्मक ग्रन्थ पनि लेखेका छन् । डेकार्टका शङ्का नगरी कुनै कुरो नपत्याउने, तर्क र प्रमाणका आधारमा मात्र कुनै कुराको विश्वास गर्ने, प्रकृतिको भौतिक वादी अध्ययन र विश्लेषण गर्ने अनि जुनसुकै मान्छेमा पनि जड र चेतन गरी दुई किसिमका कुरा हुन्छन् भन्ने सिद्धान्तको मार्क्समा अप्रत्यक्ष प्रभाव छ ।
जसरी न्युटन (१६८७) ले भौतिक विज्ञानमा गति सम्बन्धी नियम बनाए, त्यसै गरी मार्क्सले इतिहासको विश्लेषण र व्याख्या गर्दै ‘ऐतिहासिक भौतिक वाद’ का ‘प्राकृतिक’ नियमहरुकै रूपमा हरेक मानव समाज आदिम साम्य वादबाट वर्गमय पुँजी वाद तिर, वर्गीय द्वन्द्वले गर्दा पुँजी वाद आफ्नै पुँजी वादी अन्तरविरोधले गर्दा नासिएर सर्वहाराहरुको अधिनायकत्व तिर जाँदै अन्त्यमा साम्य वादमा रूपान्तरण हुन्छ भन्ने चरण बद्ध सूत्र बनाए । न्युटनको पहिलो नियम झैँ मानव समाज गतिमय वा परिवर्तनशील हुन्छ भन्ने अवधारणा मार्क्सले बनाए । हरेक क्रियाको बराबर बलको प्रतिक्रिया हुन्छ भन्ने न्युटनको तेस्रो नियमको प्रभाव मार्क्स र एङ्गेल्सका गुरु हेगल (१८०७) लाई नै परेको थियो र द्वन्द्वात्मकताको अवधारणा त्यसैबाट जन्मेको थियो । मार्क्सले पुँजी वादी अन्तर्विरोध र वर्गीय द्वन्द्वको अवधारणा त्यसैबाट विकास गरे । मान्छेको चेतना आधार भूत रूपमा प्रकृतिबाट विकसित हुन्छ, तर अन्तर्ज्ञान, स्मृति, तर्क र प्रतिभाले साँधेर प्रकृतिसँग प्रत्यक्ष रूपमा नमिल्ले कुराको कवि, कलाकार र प्रतिभाशालीहरुले सिर्जना गर्न सक्छन् भन्ने कान्टको विचारबाट प्रभावित भएर मार्क्सले भौतिक वस्तुका आधारमै मान्छेको चेतना र ज्ञानको विकास हुन्छ भन्ने अवधारणा बनाए । फ्रान्सको राज्य क्रान्ति (१७८९) बाट प्रभावित भएर रोमान्टिक अवधारणा बनाउने वर्डस्वर्थ र कलरिजबाट पनि मार्क्सको समाज परिवर्तनको सूत्र प्रभावित थियो । हेगलकै पनि स्वतन्त्रता र उन्नतिका लागि विवेकशील मान्छेले आत्मनिर्णय गर्ने वा गर्नु पर्ने विचार कान्टबाट प्रभावित थियो ।
ऐतिहासिक भौतिक वादको सिद्धान्त : इतिहास विवेकशील आत्मनिर्णय गर्न सक्ने मानव समुदायका मुक्तिको द्वन्द्वात्मक र अन्तरक्रियात्मक प्रगतिको समन्वित आख्यान हो भन्ने हेगल (McCarney; Hegel, Lectures on the Philosophy of History; Hegel, Hegel’s Phenomenology of Spirit [1807]) को इतिहास दर्शन बाट प्रभावित भएका उनका चेला कार्ल मार्क्सका विचारमा सामाजिक विकासको मूल आधार आर्थिक उत्पादनका गतिविधिमा निहित हुन्छ । मानव समाज आधार भूत रूपमा वर्गरहित हुन्छ; समय क्रममा भूमि र प्राकृतिक स्रोत जस्ता उत्पादनका साधनहरु थोरै मान्छे (पुँजी पति) का कब्जामा पुग्छन् अनि बहुसङ्ख्यक मानिसहरु भूमिहीन, निर्धन र हरिकङ्गाल (वा सर्वहारा) हुँदै जान्छन् । नाफा कमाउने नियतले भूमि पति र पुँजी पतिहरुले नयाँ नयाँ प्रविधि प्रयोग गरेर पुँजीको विकास गर्दै जान्छन् अनि त गरिब र हरितन्नमहरुका हातमा उत्पादनको एउटा साधन (श्रम) मात्र बाँकी रहन्छ । मुद्राको विकास भए पछि पुँजी पतिहरुलाई नाफा बढाउन झन सजिलो भयो । औजार र मेसिनमा प्रविधिको विकास भए पछि थोरै श्रमिकहरुबाट काम चल्ने भएकाले श्रमिकहरु बेरोजगार हुँदै जान्छन् । अत्यन्त धेरै सङ्ख्यामा भएका श्रमिकहरुलाई जीवन निर्वाह गर्नु नै गारो भए पछि असह्य भएर उनीहरु सङ्गठित हुन्छन्, पुँजी पतिहरुको उछित्तो काढ्छन् र समाज त्यस्तै सर्वहाराहरुको आत्मनिर्णयबाट स्थापित अधिनायकत्वबाट वर्गहीन बन्दछ । त्यस्तो वर्गहीन समाजलाई मार्क्स वादीहरु साम्य वादी समाज भन्दछन् । यसरी समाज शोषणरहित वर्गहीन, शोषण युक्त वर्गीय, वर्गीय चेतना युक्त सङ्गठित श्रमिकहरुको आत्मनिर्णय, वर्ग सङ्घर्षबाट सर्वहाराहरुको जित र वर्गहीन समाजमा रूपान्तरण भएर निश्चित चरणहरुमा मानव इतिहास विकसित र प्रगतिशील बनेको छ, बन्छ र बनाउनु पर्छ भन्ने मार्क्सको ऐतिहासिक भौतिक वादको सिद्धान्त छ (Walker and Gray) । यसरी उत्पादन र प्रविधिलाई नै मार्क्सले सामाजिक आधार मानेका छन्, भने उनका विचारमा त्यसै आर्थिक जगमा मात्र समाजको सोचाइ, दर्शन, धर्म, संस्कृति, कला र साहित्य ठडिएको हुन्छ । उत्पादनको प्रविधि र प्रक्रियामा परिवर्तन भए पछि कला, साहित्य, संस्कृति र दर्शन अर्थात् समाजको सोचाइमा पनि परिवर्तन हुन्छ । हामिल्टन (Hamilton 101-109) ले मार्क्सको इतिहास सम्बन्धी यसै दर्शनलाई ‘भविष्यको काव्य शास्त्र’ भन्ने उपनाम दिएका छन्, किन भने उनका विचारमा सर्वहाराहरुको शोषणरहित भविष्यको समाज निर्माण गर्ने मार्क्सको कल्पना कुनै उपन्यासकारले निर्माण गर्न खोजेको काल्पनिक काव्य जगत् वा कला जगत् जस्तै हो ।
ख. नित्सको इतिहास दर्शन (Burnham 170-173)
अ. प्रारम्भमा ग्रिसेली पाण्डुलिपि र भाषाको अध्ययन गरी रहेका वेलामा नित्सले त्यस्ता ग्रन्थ र पाण्डुलिपिलाई नै इतिहासको एउटा रूप ठहराए ।
आ. अतीतसँगको मान्छेको साइनालाई नित्सले इतिहास मानेका छन् ।
इ. मानिसको सोचाइ, मानव जीवनको विविधता र बेग्ला बेग्लै मानिसहरुले गर्व गर्नु पर्ने गुण वा मूल्य आफैँ विकसित भएको हो, कुनै ईश्वर वा प्रकृतिले बनाएको होइन, ती सबै कुरा ऐतिहासिक चाहिँ हुन् ।
ई. जुन वस्तुको इतिहास हुँदैन, त्यसैको मात्र परिभाषा गर्न सकिन्छ वा सजिलो हुन्छ, तर जे जेको इतिहास हुन्छ त्यसको परिभाषा गर्नु गारो पर्छ ।
उ. हरेक वस्तुमा निरन्तरता (कन्टिन्युटी) र क्रमभङ्ग (डिस्कन्टिन्युटी) अनिवार्य हुन्छ । उदाहरणका लागि, जुन कुरालाई हामी उत्कृष्ट र मूल्यवान् ठान्छौँ, त्यसको पनि इतिहास हुन्छ भने, लामो ऐतिहासिक परम्परामा गुण र दुर्गुणको मूल्यमा पनि क्रमभङ्ग भएको देखिन्छ । यस कुराको अभिलेख इतिहासले राख्छ ।
ऊ. हाम्रो अतीत मूल्य, उद्यम, संस्था र जन विश्वास जस्ता सयौँ भङ्गालामा हामीसँगै बगी रहेको हुन्छ । यसरी अनेक भङ्गालामा हामीसँगै बग्ने अतीत भित्र युद्ध जस्ता भयङ्कर र हल्लाकारी कुराले भन्दा थाहै नपाउने मसिना र मिहिन कुराहरुको ऐतिहासिक परिवर्तनमा धेरै महत्त्व र प्रभाव हुन्छ ।
ऋ. नित्सको रुचि अतीतका यस्ता मिहिन मूल्यको निरन्तरतामा भन्दा क्रमभङ्गमा धेरै छ, किन भने विचार र मूल्यमा भ्रम र मनोमालिन्य कसरी सुरु हुन्छ भन्ने कुरामा नित्सले चासो राखेका छन् ।
ऌ. इतिहास सार्वभौम हुँदैन, अर्थात् हरेक देश, जाति र व्यक्तिको एकै खालको हुँदैन ।
ऍ. इतिहास स्मारकका रूपमा (मोनुमेन्टल), पुराना दसीका रूपमा (एन्टिक्वेरियन) र आलोचनात्मक (क्रिटिकल) रूपमा गरी तिन किसिमको हुन्छ ।
ऎ. वर्तमानमा भविष्यका सम्भावनाहरु थप्न सक्यो भने मात्र, अर्थात् अतीतमा घटित र आज सम्म अघटित राम्रा कुराहरु मिसाएर इतिहासलाई समृद्ध र अर्थ पूर्ण बनाउन सकिन्छ । यसरी इतिहासको अध्ययन गरेर नै हरेक जाति र संस्कृतिको समृद्ध भविष्य चाहिँ निर्माण गर्न सकिन्छ, किन भने सुधार गर्न अतीत तिर त फर्किन सकिँदैन (Nietzsche) । नित्सको यस विचारमा सोपेन्हावर (Cartwright 79-82) को प्रभाव छ, किन भने सोपेन्हावरका विचारमा इतिहासको ज्ञानले मानिसलाई सचेत बनाउँछ (Hamilton 114)।
ए. नित्सले विजीगिषा अर्थात् हरेक मान्छेमा अरुलाई उछिन्ने र जित्न चाहने इच्छा (Will to power) हुन्छ भन्ने विश्वासका आधारमा इतिहासको व्याख्या गरे ।
ऐ. यसरी इतिहासबाट पाठ सिकेर भविष्य सपार्नु पर्छ भन्ने मार्क्सको विचारबाट नित्स पनि प्रभावित छन् ।
ग. फ्रायड (Freud) (१८९४-१९३९)
इतिहासका अनुसन्धानमा फ्रायडले नौलो आयाम जोडे । हजारौँ र सयौँ वर्षका इतिहासको त के कुरा, एउटै मान्छेले आफ्नै जीवनमा उसैले भोगेको र अनुभव गरेको कुरो जस्ताको तस्तै सुनाउन खोज्दा पनि वास्तविकतासित काट्टिकुटी मिल्दो रहेनछ भन्ने कुरो फ्रायडले पत्तो लगाए । हरेक मान्छेका जीवनमा उसैले देखे-भोगेको वास्तविक घटनाले बनेको इतिहास र तिनै बाहिरी घटनालाई अनुभव गरेर बनेको मानसिक इतिहास गरी इतिहास पनि दुई थरी हुन्छ । ती दुई थरी इतिहास काट्टिकुटी चाहिँ मिल्दा रहेनछन् भन्ने कुरो फ्रायडले अनुसन्धानबाट फेला पारे । हरेक मान्छेले सुख मात्रै खोज्छ र दुखबाट उम्कन खोज्छ, तर समाजका नियम, कानुन, धर्म र अनुशासनको निषेधले छेकारो लगाउनाले हरेक मान्छेका अचेतनका रहरहरु पुरा नभएर दमन गरिन्छन् । त्यसरी दमन गरिएका सबै रहरहरु हराउँदैनन्, कुण्ठाका रूपमा मनमा गाढिएर रहेका हुन्छन् । दमन गरिएको रहर असह्य भए पछि मान्छे बहुलाउन पनि सक्छ । त्यसरी बहुलाएको मान्छेले आफुलाई पिर परेको क्षणदेखि सुनाएको क्षण सम्म मेलैसित सिलसिला मिलाएर आफ्नै अनुभवको इतिहासको आख्यान सुनाउन जान्यो भने, उसको बहुलट्टी निको हुन्छ भन्ने फ्रायडको मनोविश्लेषणको उपचार विधि हो । यसरी उपचार गर्दा फ्रायडले के फेला पारे भने, सिलसिला मिलाएर बिरामीले भनेको इतिहास त बिरामीको जीवनमा घटेको वास्तविक घटनासित सबै कुरो ठ्याक्कै र काट्टिकुटी त मिल्दो रहेनछ । सुख पाउने इच्छा, दुखबाट उम्कने इच्छा र आफ्ना दमित रहरहरु पुरा गर्ने इच्छाहरु क्रियाशील भएर स्वैर कल्पना, दिवा स्वप्न, मानसिक तरङ्ग र मनका लड्डु घिउसित खाने प्रक्रियाहरुले वास्तविक घटनालाई आफ्नै रहर र कामना अनुसार भरिने र बङ्ग्याइने रहेछ; थिचिएका कुराका घटनाको विस्तार त मान्छेले बिर्सी सक्ने रहेछ । खालि अतीतका वास्तविक घटनाका बुच्का बुच्की मात्रै मान्छेको सम्झनामा जस्ताको तस्तै रहने रहेछ । व्यक्तिगत इतिहासको फ्रायडले फेला पारेको यस्तो तथ्यबाट मान्छेले आफ्नै जीवनमा आफैँले अनुभव गरेको र आफैँले प्रत्यक्ष भोगेको इतिहासमा त उसैले पनि थाहै नपाई कल्पना र स्वैर कल्पनाबाट आफ्नो इच्छा पूर्ति र तृप्तिको कामनाले इतिहासको आख्यान वास्तविकताबाट बहकिँदो रहेछ भने अनेक संस्कृति मान्ने मान्छेका समुदायको बारेमा हजारौँ वर्षको तथ्यको आख्यानका रूपमा पाइने इतिहासका अभिलेखमा आख्यानकारको रुचि, चासो, दुखबाट पलायन र सुखको कामना क्रियाशील भएन होला भनेर कसरी चिताउने? यसरी एउटा मनोविश्लेषक वा मनश्चिकित्सकले छोटो अवधिको आख्यानको निर्माणमा अतीत र वर्तमानका बिचमा कारण र परिणामको सम्बन्ध गाँसेर अन्तरक्रिया गराउँछ, तर इतिहासकारका अतीत र वर्तमान चाहिँ एकदम अलग्ग हुन्छन् । ऐतिहासिक तथ्यबाट कसरी मिथक पनि बन्न सक्छ भन्ने कुरो फ्रायडको यस अनुसन्धानबाट अड्कल गर्न सकिन्छ (Roussillon 748-749; Mijolla-Meller 749-750; Perron 750-751) । मान्छेको यही स्वभाव इतिहास लेखी रहेको इतिहासकारका मनमा क्रियाशील हुने हुनाले इतिहासमा काट्टिकुट्टी वास्तविक यथार्थ लेखिँदै लेखिँदैन भन्ने फ्रायड (Freud) को इतिहास दर्शन छ ।
घ. लकाँ
हरेक मान्छेको जीवनका इतिहासमा एउटा चरण आउँछ जसलाई लकाँ (Weber 9, 15) ले मनोविश्लेषणको आफ्नो सिद्धान्तमा ‘ऐनक चरण’ (१९६६, मिरर स्टेज) भन्ने नाउँ दिएका छन् । बालखमा मान्छेले जब ऐनामा आफ्नो अनुहार पहिलो पल्ट देख्छ, उ आफुलाई त्यस्तो देखेर झस्किन्छ । त्यस दिन सम्म अथवा जीवन भरि नै मान्छेले आफ्नो सक्कली अनुहार त देखेकै हुँदैन । ऐनाको प्रतिबिम्ब नै म हुँ भन्ने नमानी पनि उसले धर पाउँदैन अनि त्यो प्रतिबिम्ब साँच्चैको म चाहिँ होइन भन्ने पनि उसले नबुझी धर छैन, त्यसैले तिर्खाएको मिर्गले मृगमरीचिकामा पानी नभेटे झैँ हरेक मान्छे आफ्नै अस्मिताको खोजीमा भटारिई रहन्छ । यसरी ससुरले भने झैँ हरेक संकेतक (सिग्निफायर) को एउटै सङ्केतित (सिग्निफाइड) वा अर्थ भेटिन्छ भन्ने कुरो त के, मृगमरीचिकामा पानी खोजे झैँ खालि एउटा सङ्केतकको अर्थ खोज्दै अर्को सङ्केतक सम्म पुगेर ओहोरदोहोर गरेर अल्मलिने स्थिति मात्र मानिसका जीवनमा आई रहन्छ । लकाँको यस सिद्धान्तका आधारमा एउटै मान्छेले आफ्नै अनुभवबाट इतिहास खोज्दा पनि ऐना भित्रबाट आफ्नो अस्मिता खोजे जस्तै हुन्छ, वास्तविक इतिहास फेला पर्दैन ।
लकाँ (Nasio 21, 49-50, 78-79) ले अर्का तिर मान्छेको अचेतन पनि उसको भाषा जस्तै भएर व्यवस्थित बनेको हुन्छ भन्ने सिद्धान्त बनाएका छन् । उनका विचारमा एउटा चरणमा मान्छेले ऐना भित्र आफ्नै प्रतिबिम्ब मन पराए झैँ आफैँलाई मन पराउँछ, आफ्नै जिउको आनन्दसँग जोडिएको वस्तु वा व्यक्ति मन पराउँछ । त्यस पछि आफ्नै आनन्दसँग जोडिएको पहिलो वस्तु (वा त्यसको जिउ) सित मिल्ने सबै ऐतिहासिक वस्तु र इतिहासलाई मन पराउँछ, तर एक पल्ट हराएको त्यो प्रिय वस्तु वा व्यक्ति र ऐनामा देखिएको प्रतिबिम्बले सङ्केत गर्ने आफैँलाई फेला पार्नु चाहिँ असम्भव छ ।
लकाँले गरेको फ्रायडको व्याख्याले आधुनिकता र उत्तर आधुनिकता जोड्छ (Weber 135) ।

८. इतिहासको काव्य शास्त्र : इतिहास र आख्यानमा फरक
क. देशबाट साहित्यकारलाई निकाल्नु पर्ने विचार राख्ने प्लेटोले पनि पाठकलाई फकाउन मिथकको प्रयोग गरेका छन्; आफ्ना विचार मरी सकेका सोक्रेटिसका मुखबाट पनि बकेका छन् । प्लेटोले मिथकलाई पनि साँच्चैको इतिहास ठान्ने गल्ती गरेका छन् (Hamilton 7) ।
ख. एरिस्टोटलले इतिहास र काव्यको आख्यानमा फरक छुट्याउँदै के भनेका छन् भने, आख्यान र इतिहासमा सम्भावनाको मात्रा मात्र फरक हुन्छ : इतिहासमा वास्तविक तर असामान्य मुस्किलले युद्ध जितेका (वा हारेका) घटनाका आडमा आख्यान बुनिएको हुन्छ भने, आख्यानमा चाहिँ काल्पनिक तर सके सम्म सम्भव र सामान्य घटनाहरुलाई सम्भावनाका कसीमा बुनिएको हुन्छ । इतिहासकार होस् कि कथाकार होस्, आख्यान बुन्ने दार्शनिकता दुइटैमा हुन्छ, तर दार्शनिकताको मात्रा इतिहासमा भन्दा कथामा लेखकले स्वतन्त्रतापूर्वक उपयोग गर्न सक्छ । कथामा चाहिँ कलात्मक रूपले घटनाको आरम्भ, मध्य र अन्तलाई कुनै कुरो खेर नजाने गरी परस्पर सम्बद्ध बनाएर लेखकले पाठकमा निश्चित प्रभाव पार्न र निश्चित उद्देश्यका लागि प्रस्तुत गर्छ, तर इतिहासकार यस कलामा त्यति स्वतन्त्र हुँदैन र उसले आफ्ना पाठकलाई घटनाको बुनोटबाट तृप्त बनाउन नसकेर निराश पनि बनाउनु पर्ने हुन्छ । पाठकले नै नपत्याउने वा पत्याउन नसक्ने असम्भव र अलौकिक कुरा र घटनाहरु इतिहासमा बुनियो भने, त्यसमा एरिस्टोटलले देखाएको सम्भावनाको मात्रामा बेवास्ता गरिएको हुनाले त्यो आदर्श इतिहास हुन सक्तैन । आधुनिक पाश्चात्य इतिहासका जनक भनेर चिनिने प्राचीन ग्रिसका इतिहासकार हेरोडोटसले पनि आफ्नै समसामयिक युद्ध (जस्तै ग्रिस र पर्सिया अर्थात् इरान बिचको युद्ध) का आधारमा लेखेको इतिहास चाहिँ बढ्ता तथ्यपरक छ, तर अतीतका घटना र अन्य जाति र देश (शक, भारत, मिस्र देश) का विषयमा लेखिएको इतिहास चाहिँ मिथक र किम्बदन्तीमा आधारित छ । हेरोडोटसले भारतमा फ्याउरा जत्रा कमिला र उड्ने सर्प पाइन्छन् भनेर पनि उनको इतिहासमा लेखेका छन् । समसामयिक युद्धको घटनालाई आधारित बनाएर लेखेको इतिहास नै पनि एथेन्सका बासिन्दालाई गौरव र प्यारो लाग्ने गरी प्रस्तुत गरिएको छ (Hamilton 9-13) ।
ग. ऐतिहासिक होस् कि काल्पनिक होस्, आफुले रोजेका घटनाको पत्यार लाग्ने गरी कारण र परिणामको ऐतिहासिक काल क्रम मिलाएर व्याख्या गर्नु पर्ने समस्या इतिहासकार र कथाकार दुवैलाई पर्छ (Hamilton 13) ।
घ. जुन कुरालाई इतिहासमा ‘कारण’ भन्ने गरिन्छ, कला र साहित्यको इतिहास र समालोचनामा त्यसैलाई ‘प्रभाव’ को लेखाजोखा भन्ने गरिन्छ (Hamilton 17) ।
ङ. हेगलको सार्वभौम, वैज्ञानिक र व्यवस्थित इतिहास वादको विरुद्ध नित्स र फुकोको सापेक्षित इतिहास वाद (Hamilton 21-22) को वकालत गरे । अब इतिहास उदाहरणबाट लक्षित पाठकलाई प्रभाव पार्ने भाषा, शैली र प्रस्तुतीकरण सहितको व्याख्या मात्र भयो (जस्तै, देरिदा र हेडन ह्वाइट) । अर्को ऐतिहासिक धारले वर्तमान बिन्दुबाट प्लेटो (नर्थप फ्राई र हेरोल्ड ब्लुम), एरिस्टोटल (सिकागोको गुरु कुल) र कान्ट (नव समालोचना) को नयाँ संस्करण जन्मायो । अब इतिहास काव्य झैँ लाक्षणिक र आलङ्कारिक देखिन थाल्यो । यसरी प्रामाणिक इतिहास भन्ने कुरो साहित्यिक समालोचनाको विषय भयो ।
च. पिटर गे (Gay) ले इतिहासमा काव्य शैली प्रयोग भएको कुरो औँल्याउँदै गिबोन भन्ने इतिहासकारले पदावलीका जोडा बनाएको, राँके भन्ने इतिहासकारले वर्णनमा नाटकीय शैली अपनाएको, मेकाले भन्ने इतिहासकारको वर्णनमा विरोधाभास अलङ्कार प्रयोग भएको अनि बुर्खार्ट भन्ने इतिहासकारको वर्णनमा अनौपचारिक संरचनामा प्राथमिकता भेटिएको फेला पारे र धेरैजसो इतिहासकारले एउटा युद्ध वा घटनालाई उदाहरण बनाएर आफ्नो आफ्नो रुचि, जाति, धर्म, संस्कृति, दर्शन र राजनीतिक वा सामाजिक प्राथमिकतालाई माथि पर्ने गरी व्याख्या, विश्लेषण, तर्क, प्रमाण र निष्कर्ष तथा निर्णय गरेको सुइँको पाए (Hamilton 23) ।
छ. जुनसुकै वेला लेखिएको इतिहासमा इतिहासकारले इतिहासका नाममा अर्थात् इतिहास हो भनी ढाँटेर आफ्नै वर्तमान (उपमेय) लाई अतीत (उपमान) ले साट्छ अर्थात् वर्तमानकै मसला भरेर अतीत रूपी जन्तुको पुनर्निर्माण गर्छ अनि प्रस्तुतलाई अप्रस्तुत र अप्रस्तुतलाई प्रस्तुत बनाएर रूपक अलङ्कार बनाउने कविता लेखनको अभ्यास गरेको हुन्छ (Hamilton 28-29) ।
ज. स्टिफेन ब्यानले भने झैँ इतिहासकार एउटा ‘ट्याक्सिडर्मिस्ट’ (मरेका जन्तुमा धुस्ना खाँदेर जिउँदा जस्तै बनाउन जान्ने कलाकार) जस्तै हो; त्यो मरेको जन्तु हाम्रो समाजका जिउँदाहरुलाई काम लाग्दैन, तर हाम्रो आदर्श इतिहास हाम्रो दैनिक जिन्दगीमा हामीसित घुलमिल गर्न सक्ने हुनु पर्छ (Hamilton 26)।
झ. वर्तमानको काव्य शास्त्रका रूपमा इतिहास : वाल्टर बेन्जामिन (Benjamin 253-264) :
अ. इतिहासकारलाई चासो नभएको अतीतको जुनसुकै घटना पनि कहिल्यै नभेटिने गरी उम्किन्छ ।
आ. हरेक इतिहासकारले सङ्कटका वेलामा त्यस्तो सङ्कटबाट मुक्त हुन इतिहासको जुन काल खण्डको जस्तो व्यवस्थाले सक्ला भन्ने ठान्छ, त्यसै काल खण्डको काव्यात्मक वर्णनलाई आफ्नो इतिहासको विषय बनाउन रोज्छ । सङ्कट अनुभव गरेका वेलामै शासक वर्गले पनि आफ्नो शक्ति बढाउन र कायम राख्न इतिहास लेखाउँछन् । इतिहासकारले मात्र सङ्कटबाट मुक्ति दिने अतीतको आगाको फिलिङ्गालाई हम्केर सल्काउन सक्ने प्रतिभा पाएको हुन्छ ।
इ. इतिहासकारले जहिले पनि विजयीसित सहानुभूति राख्छ । यस्तो विजयीको अनुहार प्राय आफ्नै शासक र उसका पुर्खाहरुसित मिल्छ ।
ई. जुनसुकै राष्ट्रको परम्परामा अघिल्लो विजयीलाई कुल्चेर अघि बढ्दा जित्नेले हार्नेको सांस्कृतिक ढिकुटीलाई लुटेर आफ्नो बनाउँछ । मानव जातिको सभ्यता चिनाउने हरेक सांस्कृतिक वस्तुका निर्माणमा कलाकार, दार्शनिक र साहित्यकारहरुको प्रतिभा र मजदुरहरुको श्रम मात्र लुकेको नभएर शासक वर्गको अन्याय पनि लुकेको हुन्छ । यसरी मानव सभ्यताको हरेक अभिलेख अन्यायको पनि अभिलेख हो । यसै कारणले मार्क्स वादीहरुले ‘सांस्कृतिक क्रान्ति’ का कुरा गरेका हुन् ।
उ. जनताको पक्षमा वकालत गर्ने भनेर जनताले पत्याएका विद्वान् र प्रतिभाशालीहरुलाई शासक वर्गले आफ्नो स्वार्थ विरुद्ध चल्न नसक्ने गरी पाता फर्काएर घोप्टो पारेको हुन्छ ।
ऊ. इतिहास भनेको एउटा यस्तो भवन निर्माण हो जसको घडेरी एकनासको हुँदैन । त्यहाँ समय छिराउने ठाउँ खाली हुन्छ, जहाँ इतिहासकारले शासक वर्गले चाहेका ठाउँमा उसकै समसामयिक वर्तमान जडी दिन्छ ।
ऋ. इतिहासकारले हजारौँ वर्ष अघि पछिका भए पनि तथाकथित अतीतका घटनाहरुलाई कारण र परिणामले जोडेर परस्पर सम्बद्ध बनाउनु पर्छ । यसो गर्न उसलाई आफैँले देखेको र भोगेको वर्तमान र निकट अतीतको अनुभव र सम्झनाले सघाउँछ ।

९. शङ्काको भाष्य विज्ञान
क. मिसेल फुको
अ. फुकोका हातमा इतिहास वाद स्थिर नभएर गतिशील छ, चलायमान छ । फुकोले परम्परालाई छ्यान्नब्यान्न पार्न भाष्य वैज्ञानिक बाटो रोजे । आधुनिकतासँग गाँसिएका समस्यालाई उनले उदाङ्गो पारे । अतीत र वर्तमान बिचको अन्तर क्रिया र आदान प्रदान फुकोका हातमा धेरै टड्कारो भयो ।
आ. फुको जस्ता उत्तर आधुनिक समालोचकहरु आफु उभिएको ठाउँबाट इतिहासको सन्दर्भ लिन्छन् ।
इ. अतीत र वर्तमानको इतिहासमा इतिहासकारको चासो फेरियो । इतिहास लेखनमा ‘विल टु पावर’ ले काम गर्छ, तर सलक्क पारेर लेखेका इतिहासको ऐतिहासिक निरन्तरतामा आफ्नो चासो चाहिँ छोपिने गरी इतिहास पढ्नेहरुले सम्झौता गर्नु परेको हुन्छ । अनेक युगलाई जोड्ने इतिहासमा जसको निरन्तरता देखिन्छ, ऐतिहासिक निरन्तरताको पछिल्लो सुरमा भेटिने त्यो व्यक्तिले मात्रै इतिहासका सबै बाटा आफु सम्म जोडिएको पाउँछ (Hamilton 136)।
मानव इतिहासको भाष्य वैज्ञानिक विश्लेषण गर्दा सीमित व्यक्ति, सीमित परिवार, सीमित समूह, सीमित सम्प्रदाय र निश्चित वर्गमा मात्र टुङ्‌गिने खालको यस्तो इतिहासका विरुद्धमा मिसेल फुकोले इतिहास सम्बन्धी आफ्नो विज्ञान, दर्शन र काव्य शास्त्र बनाए । फुकोले विश्वभरका इतिहासमा पाइने सलक्क परेका आदर्श व्याख्यामा इतिहासकारले आफुलाई चाहिएको व्याख्यासित मिल्ने तथ्यहरु मात्र समेट्ने तर आफ्नो व्याख्यासित नमिल्ने तथ्यलाई बेवास्ता गर्ने आधुनिकता वादी अनुशासनले काम गरेको पाए, त्यसैले ‘अर्डर अफ थिङ्स’ भन्ने किताबमा फुको (Foucault, The Order of Things: An Archeology of Human Sciences) ले विश्वभर लेखिएको ज्ञान र विद्या (विज्ञान, राजनीति शास्त्र, अर्थ शास्त्र, नीति शास्त्र, धर्म शास्त्र, चिकित्सा शास्त्र, आदि) लाई बेग्ला बेग्लै अनेक खण्डमा काल विभाजन गरेर हेर्दा के पाए भने, त्यहाँ थोरै कुराको निरन्तरता मात्र होइन, धेरै कुराको चाहिँ क्रम भङ्ग (वा अनिरन्तरता) भेटिने रहेछ। फुको इतिहासको जमिनमा भेटिने त्यस्ता प्रस्टै देखिने अग्ला डाँडाहरुका बिचमा उल्लेख नभएर हराएका र छेलिएका असङ्ख्य भन्ज्याङ, खोल्सा, चहुर, ओढार र खाल्डाहरु समेत जोडेर विश्वको वास्तविक, न्याय पूर्ण र समग्र इतिहासको पुनर्निर्माण गर्ने पक्षमा देखिन्छन् । फुकोले त्यस्ता भन्ज्याङ, खोल्सा, खाल्डा र प्वालहरु दुइटा ज्ञान र विद्याका क्षेत्रमा पनि, एउटै ज्ञान र विद्याका दुई ऐतिहासिक काल खण्डका बिचमा पनि, एउटै काल खण्ड भित्रका टाकुरा र प्राथमिकताका बिच बिचमा पनि फेला पारे । इतिहास र वर्तमानका त्यस्ता खाल्डाहरुको बेवास्ता गरेर टाकुराहरुलाई मात्र जोडेर दाबी गरिएको ज्ञान, विज्ञान र मानव इतिहासको प्रगतिलाई फुकोले ‘प्रगति’ नै मानेनन् र पत्याएनन्, त्यसैले फुको नौला र नचिताएका समस्याहरु देखा पर्ने भए पनि मानव जातिको सक्कली इतिहासमा त्यस्ता खाल्डामा परेका, छेलिएका, हराएका, लुकाइएका र बेवास्ता गरिएकाहरुको इतिहास पनि समेट्न चाहन्छन् । फुकोका विचारमा हरेक युगका विद्यार्थी, पाठक र विद्वानहरुले विद्याका रूपमा ‘सिक्नु पर्ने’ र ‘जान्नु पर्ने’ ठहराइएका ज्ञान, विज्ञान, दर्शन र शास्त्रहरु समसामयिक शासक र शक्तिशालीहरुकै चासो र स्वार्थलाई पोस्ने र भर गर्ने खालका हुन्छन् । त्यस्ता विद्या, शास्त्र र ज्ञानका कृतिहरु भित्र लुकेका नियमको खोजी र परिभाषामै फुकोले कुनै साहित्यिक कृतिको टीका, भाष्य, व्याख्या र विश्लेषण गरे झैँ इतिहासको रचना शास्त्र वा काव्य शास्त्रको विश्लेषणमै आफ्ना समालोचनाका सिद्धान्तहरुलाई केन्द्रित गरे (Hamilton 137) ।
प्रज्ञा पन्थी र विवेक वादी दार्शनिकहरु प्रकृति र जीवनको वास्तविक यथार्थको खोजीमा भन्दा ऐतिहासिक विकासका अपवादरहित आदर्श नियम बनाउने सुरले प्रेरित थिए । आधुनिकता वादीहरुको मन्त्र तिनै प्रज्ञा पन्थी र विवेक वादी नियम बनाउने अभ्यासमा केन्द्रित थियो, तर मार्क्स, नित्स र फ्रायड जस्ता आधुनिकता वादीहरुले कृति विश्लेषण गर्ने काव्य शास्त्रका सबै प्रविधि प्रयोग गरेर त्यो प्रज्ञा पन्थीहरुको इतिहास दर्शनलाई के भनेर नङ्ग्याउँदै त्यसको उछित्तो काढे भने इतिहास लेख्ने र लेखाउनेहरुले आफ्नो फटाइँ, स्वार्थ र नियतलाई ढाकछोप गरेर आफुलाई फाइदा हुने गरी र आफ्नो पूजा हुने गरी कथाकारले झैँ इतिहासका आदर्शहरुलाई परिभाषित गर्दा रहेछन् । फुकोमा तिनीहरु मध्ये नित्सकै जिगीषा (अरुलाई उछिन्न, हैकम लडाउन र आफ्नै जित कायम गर्ने खोज्ने प्रवृत्ति) वादी दर्शनको टड्कारो प्रभाव देखिन्छ । स्वच्छन्दता वादी अनुसन्धान समानताको खोजीमा केन्द्रित थियो, तर फुकोको अनुसन्धान भिन्नताको खोजीमा केन्द्रित छ ।
ई. अन्तर्विरोध, विरोधाभास र विरोधलाई हेगलले ज्ञानको विकासका लागि आवश्यक ठाने । हेगलका चेला मार्क्सले अन्तर्विरोध, विरोधाभास र विरोध नै समाज परिवर्तनका लागि आवश्यक ठाने । नित्सले इतिहासको विश्लेषण गर्दा भेटिएका अन्तर्विरोध र विरोधाभास केलाएरै मानव समाजमा सर्वत्र जिगीषा (शक्तिशाली बन्ने रहर) ले मात्र काम गरेको सुइँको पाए अनि शक्तिशालीहरुले नै सधैँ लेख्ने र लेखाउने गरेको इतिहासको निर्माणमा हार्ने, हेपिने र निम्सराहरुको सत्यतालाई दबाउने हुनाले अतीतको इतिहासलाई नपत्याएर आफ्नो भविष्यको इतिहास आफैँ निर्माण गर्ने विचार अघि सारे । फ्रायडले हरेक मान्छेका जीवनको बाहिर प्रकट भएको सबैले देखिने इतिहासमा नभएर सामाजिक बाध्यताले दबाउनु र लुकाउनु परेका अचेतनका असन्तोष, कुण्ठा र विरोधबाटै बनेका वास्तविक इतिहास तिर सत्यता हुने कुरो प्रमाणित गरे । आफ्ना यी सबै गुरुहरुले रोजेको व्याख्या र बाटो भन्दा फुकोले रोजेको व्याख्या र बाटो नौलो र फरक छ ।
उ. फुको (Foucault, The Archaeology of Knowledge 35-44) ले चिकित्सा शास्त्र, मनोविज्ञान, व्याकरण र अर्थ शास्त्र जस्ता सबै ज्ञान र विज्ञानका विद्याहरुमा इतिहासका अनेक काल खण्डमा एउटै कुरा (पारिभाषिक शब्द, जस्तै, ‘बहुलट्टी’, ‘व्याकरण’, ‘अर्थ’) को एउटै अर्थ वा धारणा भेटिँदैन । बेग्ला बेग्लै पारिभाषिक शब्दको एउटै अर्थ पनि भेटिन्छ; एउटै पारिभाषिक शब्दको अनेक अर्थ र परिभाषा पनि भेटिन्छ । कुनै कुनै कुराको अर्थ, धारणा र परिभाषा दिगो पनि भेटिन्छ, तर धेरै ठाउँमा एउटै पारिभाषिक शब्द र वस्तुको अर्थ र परिभाषा परस्पर विरोधी पनि भेटिन्छ । फुकोले यस्तो तथाकथित ‘एउटै’ विषयका बारेमा लेखिएका समग्र नियम, प्रविधि, परिभाषा अनि लेखाइ, भनाइ, गराइ, पढाइ, सोचाइ, पत्याइ र ‘छल-फल’ गराइका गोरखधन्दाको नाम ‘डिस्कोर्स’ (वा सङ्कथन) राखेका छन् । त्यति मात्र नभएर, त्यस्तो विषय र त्यससँग सम्बन्धित सामाजिक चलन र संस्थालाई पनि फुकोले ‘डिस्कोर्स’ कै परिभाषामा समेटेका छन् (Mikics 90) । यसरी भाषा विज्ञानमा प्रयोग हुने त्यही सङ्कथन (डिस्कोर्स) शब्दलाई पनि फुकोले आफ्नै नयाँ अर्थमा प्रयोग गरेका छन् । फुकोको विश्लेषण अनुसार ज्ञान विज्ञान, जीवन, राजनीति, इतिहास र साहित्यमा पनि ठड्याइएका सत्य र गाडिएका तथ्यलाई स्थापना गर्ने सबै शास्त्र र महाविद्याहरु त्यस्तै सङ्कथन भएकाले तिनीहरु आधारभूत रूपमै विरोधाभास पूर्ण हुन्छन् । त्यस्ता डिस्कोर्सको रचना गर्ने, चर्चा गर्ने, व्याख्या गर्ने, टीका भाष्य र विश्लेषण गर्ने अनि तिनीहरुको आलोचना र समालोचना गर्नेहरुले आफ्नो चासो र स्वार्थ त्यस्ता महाविद्याका जुन कुनामा भेटिन्छ त्यसैलाई तर्क, चर्चा, विस्तार, व्याख्या, शिक्षा र अध्यापनमा विस्तार गर्छन् ।
ऊ. भाषाको सङ्कथन (१९७० ई) बारे फुकोले दिएको प्रवचनमा फुको (Foucault, The Order of Discourse) के भन्छन् भने, हरेक समाजमा डिस्कोर्सको उत्पादनमा नियन्त्रण, खटन र पजनी गरिन्छ, खास खास डिस्कोर्सहरुलाई मात्र रोजिन्छ, शासक र शक्तिशालीहरुकै चासो, इच्छा र योजना अनुसार सङ्गठित र पुनर्व्यवस्थित गरिन्छ । त्यसरी कुनै समाजमा जरो गाड्न पाएका शास्त्रहरुले स्थापित नियम र अनुशासनसँग नमिल्ने डिस्कोर्सहरुको उत्पादनमा रोक लगाउँछन् (Mikics 90) ।
ऋ. निष्कासन (डिस्कोर्स द्वारा शक्तिको पोषण गर्ने बाह्य प्रक्रिया) : यौन र राजनीतिक कुरामा शक्तिशालीहरुलाई समाजमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ; निम्सराहरुलाई ती कुरामा कुरा मिस्ने र सामेल हुने स्वतन्त्रता नै हुँदैन । मनोविज्ञान र मनोविश्लेषणको जन्म हुनु भन्दा अगाडि बौलाहाका कुरामा मानिसहरु कि ध्यानै दिँदैनथे, कि नाटकहरुमा झैँ सर्वसाधारणले चाल नपाउने रहस्यमय सत्यता त्यसमा लुकेको लुकेको विश्वास गरिन्थ्यो । आज सम्म मनोविज्ञान, मनोविश्लेषण र स्नायु विज्ञानले निकै ठुलो प्रगति गरे पनि बौलाहाको बोली डाक्टरलाई चाहिएको मात्र उसले सुन्छ, नत्र उसले बौलाहालाई चुप लगाउँछ । साँचो र ढाँट कुरो छुट्याउन सधैँ सकिँदैन; तिनीहरुलाई छुट्याउने विभाजन रेखा प्रस्ट बुझिने गरी सधैँ कोर्न सकिँदैन, किन भने हरेक समाजमा तर्कै नचल्ने आडमा साँचो र झुटो कुरो छुट्याइएको हुन्छ, समसामयिक सत्यको परिभाषा गरिएको हुन्छ र अनेक टाउके व्यक्ति र संस्थाहरुले दण्ड र पुरस्कारका माध्यमबाट तात्कालिक सत्यलाई परिभाषित गर्ने जिम्मा पाएका हुन्छन्, त्यसैले इतिहासमा शासक फेरिए पछि सत्य पनि फेरिन्छ । गाँट्ठी कुरो के हो भने, मानव इतिहासमा परिवर्तित नयाँ शक्तिले स्थापित सत्यलाई सधैँ विस्थापित गर्छ अर्थात् पन्छाउँछ, त्यसैले शक्तिका बलले टाउके व्यक्ति र संस्थाहरु लगाएर अरु सत्यलाई नलुकाई, नथिची, नपन्छाई र कतै पक्षपात नगरी इतिहासमा सत्यको स्थापनै हुँदैन । युग युगका विद्यार्थीहरुलाई आमा बाबु र गुरुको प्रेरणाबाट मेहनत गरेर उन्नति तिर लम्काउने र सामाजिक प्रतिष्ठा दिलाउने ज्ञानको भोक त्यसरी परिभाषित गरिएको सत्यबाट सन्तुष्ट हुनु पर्छ । यसरी इतिहासमा सत्य भन्ने कुरो शक्तिशालीहरुकै इच्छा र स्वार्थको भरण पोषण गर्ने शक्तिद्वारा परिभाषित र निर्धारित हुन्छ ।
ऌ. डिस्कोर्स (Foucault, The Order of Discourse) बाटै डिस्कोर्सको निष्कासन गर्ने आन्तरिक प्रक्रिया (वर्गीकरण, क्रम निर्धारण, वितरण): एउटा समाजमा प्रचलित कृति वा डिस्कोर्स (मन्त्र, तन्त्र, महावाणी, वेद, पुराण, गीता, रामायण, महाभारत, कानुन, धर्म शास्त्र, ज्ञान, विज्ञान, काव्य, साहित्य, अनि ती ग्रन्थका मीमांसा, भाष्य, टीका, व्याख्या, शिक्षा, आदि) हरुमा जेठ्कान्छी हुन्छ । समय क्रममा टीका, भाष्य, व्याख्या र समीक्षाले मूल ग्रन्थको ठाउँ लिन्छन् र कहिले त मूल ग्रन्थले कतै नभनेको कुरो पनि व्याख्या, उपव्याख्या, टीका, उपटीका र विश्लेषणमा रूढि बनेर चल्छ । लेखकको नाउँ र उपस्थितिले पनि डिस्कोर्सलाई जटिल बनाउँछ । एउटा लेखकका सबै कृतिहरुमा निश्चित सङ्गति हुन्छ भन्ने भ्रम समाजमा रूढि बनेर चल्छ र त्यस रूढिलाई जिउँदो लेखकले आफैँ गरेको टिप्पणीले पनि डिस्कोर्सको अर्थमा जटिलता ल्याउँछ । एउटै शास्त्र र ज्ञान विज्ञानको विधामा पनि समय समयमा भएको परिवर्तनले गर्दा एउटै विषयको पनि स्थायी परिभाषा हुँदैन । मेन्डलले बनाएको आनुवंशिक नियमा जीव विज्ञानको प्रचलित रूढिसँग नमिलेकाले गर्दा उनको विषयले जीव विज्ञानमा मान्यता सजिलै पाएन । सारांश के भने, ज्ञान विज्ञानका स्थापित रूढिको शैली र प्रस्तुतिको रूढिले पनि त्यो रूढि नमिलाई आएका नयाँ आविष्कारलाई पनि सहजै मान्यता नदिएर छेकारो हाल्छन् । कुनै कुनै डिस्कोर्ससँग समूह गत गोप्यता पनि गाँसिएको हुन्छ ।

ख. देरिदा :
ह्यामिल्टन (Hamilton 148) ले देरिदा (Derrida 9, 12) को किताबको एउटा उद्धरण राखेर जुनसुकै ऐतिहासिक युगको समसामयिक शक्तिले आफ्नो पूर्ववर्ती इतिहास वा अतीत माथि हैकम चलाउँछ भन्ने देरिदाको मान्यतालाई अघि सारेका छन् । त्यस किताबमा देरिदाले एउटा पुस्तकालयको किताबको गातामा भएको एउटा चित्र तिर पाठकको ध्यान आकर्षित गराएका छन्, जुन चित्रमा सोक्रेटिसले आफ्ना शिष्य प्लेटोलाई नभएर शिष्य प्लेटोले आफ्ना गुरु सोक्रेटिसलाई जसो जसो भन्यो त्यसै त्यसै लेख्न लगाई रहेका छन्, अनि सोक्रेटिस चाहिँ प्लेटो तिर फर्केका छैनन् । प्लेटो त सोक्रेटिसको पछिल्तिर बसेर लेख्नु पर्ने कुरो लेखाई रहेका छन् । देरिदालाई यस चित्रले किन आकर्षित गर्‍यो भने, सोक्रेटिसले प्लेटोको अदेखमा के के लेखे, त्यो प्लेटोले चालै पाएनन्, त्यसैले आफुले लेखेका कुराकानीमा आफुलाई जे जे भन्न मन लागेको छ, त्यही त्यही कुरा प्लेटोले सोक्रेटिसको भनाइका रूपमा लेखेका छन् । यसरी अतीतको खाली ठाउँ वर्तमानले आफुलाई फाइदा हुने गरी भर्छ र कसैले नदेखेको भविष्यको खाली ठाउँ त लेखक र दार्शनिकले आफुखुसी भरी दिँदा हुन्छ, तर कसैले लेखेको इतिहास होस् कि साहित्यिक कृति होस् त्यसको लेखकले चाहेको र एउटै अर्थ भने लाग्दैन, पाठकको चासो अनुसार अर्थ फेरिई रहन्छ र अर्को अर्थ लागी रहन्छ भन्ने आशय देरिदाले राखेको देखिन्छ ।

ग. उत्तर औपनिवेशिक इतिहास
माथिको इतिहास विज्ञान, दर्शन र काव्य शास्त्रको ऐतिहासिक सर्वेक्षणबाट के देखिन्छ भने, इतिहासको एउटा चरण पार गरेर दोस्रो चरणमा पस्ता दोस्रो चरणको ऐतिहासिक सत्यता प्रचलित इतिहास दर्शनले ठम्याउन सक्ने रहेनछ र नयाँ ऐतिहासिक तथ्यलाई समेट्न इतिहास दर्शनमा विकास हुने रहेछ । मार्क्स, नित्स, फ्रायड र फुकोले इतिहासको कथा बुनोटको विश्लेषण गरेर इतिहासको आदर्श र आकर्षक कथामा अविश्वास गरे । मार्क्सले इतिहासमा शासक, धनी र पुँजी पतिहरुले लेखाउने गरेका इतिहासमा आफुले गरिब, शोषित र पीडितहरुको शोषण गरेको र उनीहरु माथि अन्याय गरेर आफ्नो आर्थिक तथा राजनीतिक शक्ति र सत्ता कायम गरेको कुरा लुकाएको र शोषितहरुका स्वार्थको उल्लेख गर्न छुटाउने गरेको तथ्य अघि सारे । नित्सले इतिहासकार र इतिहास लेखाउने प्रायोजकहरुले आफुलाई माथि पार्ने कुरा मात्र जोडेर आफुलाई तल पार्ने तथ्य जति लुकाएर अचार अथवा काव्य साँधे झैँ साँधेर इतिहासको रचना गर्ने कुरा राखे । फ्रायडले हरेक मान्छेले आफ्नो दैनिक जीवनमा र जीवनभरमा सामाजिक र सांस्कृतिक कारणले आफुलाई मनमा लागेका रहर र यौन तथा पाशविक वृत्तिहरु मुटु मिचेर लुकाउनु र दबाउनु पर्ने हुन्छ, त्यसैले इतिहासमा सबै यथार्थ त लेखिँदैन अनि मान्छेले आफ्नो अचेतनमा भएका रहरहरु प्रकारान्तरबाट पुरा गर्ने हुनाले इतिहासकारले नै पनि आफ्ना मानसिक कुण्ठाहरु इतिहासका आख्यानका काल्पनिक बुनोटबाट पुरा गर्छ भन्ने दृष्टि राखे । मार्क्स र नित्सकै उत्तराधिकारी फुकोले त शक्तिशालीहरुले आफ्नो शक्ति, सत्ता र हैकमको सके सम्म दुरुपयोग गरेर भए पनि आफ्ना मातहतका संस्था, व्यक्ति, ग्रन्थ, किम्बदन्ती र हल्ला व्यापक गराएर, दण्ड र पुरस्कारको व्यवस्था गरेर अनि कृत्रिम घटना घटाएर भए पनि समाजमा आफुलाई माथि पार्ने र आफ्नो प्रशंसा व्यापक बनाउने जन विश्वासको निर्माण गर्छन् । शक्तिशालीहरुले आफ्नो स्वार्थ, हैकम र रुचिसित मिल्ने कुराहरुलाई मात्र समेटेर कथा र उपन्यास लेखे झैँ इतिहासको आख्यान बुन्दा रहेछन् र बुनाउँदा रहेछन् । तिनीहरुले आफुलाई माथि पार्न गर्ने माथि उल्लेख गरिएका सबै कामको साझे नाउँ फुकोले ‘डिस्कोर्स’ भन्ने दिएका छन् ।
उत्तर औपनिवेशिक समालोचना फुकोकै सिद्धान्त र शोध विधिको उपयोग र विस्तार हो । भाष्य वैज्ञानिक समालोचनाको यस सम्प्रदायका विश्लेषकहरुले के पत्तो लगाएका छन् भने, उपनिवेश बनाउने शासक र तिनीहरुका पोषक लेखकहरुले आफ्नो र आफुसित युद्धमा हार्नेहरुको सांस्कृतिक भिन्नतालाई आधार बनाएर हार्नेहरुलाई हास्यास्पद, अविकसित र अन्याय पूर्ण प्रमाणित गर्ने तर्क र जानाजान बङ्ग्याएका प्रमाणहरु ठड्याएर आफुहरुले उनीहरु माथि शासन गर्नु जायज र न्याय पूर्ण छ, त्यसैले हामीहरुले उपनिवेश नबनाएका भए, तिनीहरुको उन्नति र विकासै हुने थिएन र तिनीहरु पशु तुल्य हुने थिए भन्ने तर्क स्थापित गर्ने गरेका हुन्छन् र आफुलाई फाइदा हुने हुने आफ्नै सुविधाका कुराहरुलाई उन्नति र विकासका विशेषता ठहराएका हुन्छन्, त्यसै अनुकूल ऐतिहासिक आख्यानहरुको निर्माण गर्ने गरेका हुन्छन्; तिनै कुरालाई विद्यालयमा पढाउने पाठ्य क्रममा समावेश गर्छन् र उत्तीर्णाङ्क, दर्जा र विद्यार्थी, शिक्षक र विद्वानहरुको होडका विषय बनाएका हुन्छन् । त्यस्तै स्वार्थी तर्कका आधारमा विजेताहरु आफुसित इतिहासमा हार्ने तर वर्तमानका आफ्नै प्रजा वा नागरिक भएकाहरुसँग पनि आफुसँगै जित्ने प्रजाहरु बराबर व्यवहार गर्न सक्तैनन् र तिनीहरु माथि गरिने असमान व्यवहार अन्याय पूर्ण देखिन्छ भन्ने उत्तर औपनिवेशिक समालोचना र इतिहास दर्शनको निष्कर्ष छ (Hamilton 177-179) । रीता शर्मा र अरविन्द शर्मा (Sherma and Sharma) ले हिन्दु अवधारणाहरुलाई पश्चिमा अनुसन्धाता र लेखकहरुले कसरी जानाजात बङ्ग्याएका छन् भन्ने कुरो प्रमाणित गर्ने अनेक विद्वानका लेखहरु सङ्कलन गरेकी छिन् । यिनै कारणले गर्दा उत्तर औपनिवेशिक चिन्तनले हेपिएका र थिचिएकाहरुका गौरवमय तथ्यहरु नभेटिने विगतको इतिहासलाई नपत्याएर भविष्यको इतिहासको भर पर्ने निष्कर्ष निकाल्ने गरेको पाइन्छ (Fannon 174-181)।

घ. नारी वादी इतिहास
लेनिनले भने झैँ साम्राज्य वादी मुलुकहरुले आफु भन्दा साना देश र आफ्ना उपनिवेश र त्यसका नागरिकहरुलाई आफ्ना नागरिकहरु भन्दा साना ठहराउँछन् र तिनीहरु माथि अमानवीय व्यवहार गर्छन् । उत्तर औपनिवेशिक अनुसन्धानले साम्राज्य वादी देशका लेखकहरुले आफ्ना वा अरुका उपनिवेशका नागरिकहरुलाई आफ्ना लेखोट र आख्यानमा मान्छे नठहराएर कि लौकिक वानर (बाँदर, वन मान्छे, किन्नर) वा जन्तु बनाएर प्रस्तुत गर्छन्, कि अलौकिक राक्षस, भूत र पिशाचका रूपमा चित्रण गर्छन् भन्ने कुरो पत्ता लगाएको छ । नित्सले मान्छेको इतिहासमा ईश्वर, स्वर्ग, पाप र धर्मको भूमिकालाई पन्छाए अनि शासक र शक्तिशालीहरुले आफ्नो हैकम र प्रभुत्व कायम राख्न र बढाउनैका लागि त्यस्ता अनेक किसिमका नौटङ्की गर्छन् र हौवा सृष्टि गर्छन् भन्ने विचार अघि सारे । मार्क्सले एउटै देशका धनी र पुँजी पतिहरुले गरिब गोठाला, खेताला र मजदुरहरुको श्रमको उचित ज्याला नदिएर शोषण गर्छन् र सधैँ पैताला मनि राख्न खोज्छन् भन्ने कुरो राखे । नारी वादीहरुले एउटै परिवारकी अभिन्न सदस्य भए पनि लोग्ने मान्छेहरुले आफुले रचेका डिस्कोर्समा आइमाईहरुलाई साम्राज्य वादीहरुले विदेशी ठाने झैँ, उत्तर औपनिवेशिक अनुसन्धानमा उपनिवेश बनाउनेहरुले उपनिवेशका नागरिकहरुलाई लौकिक जन्तु र अलौकिक भूत र राक्षस ठाने झैँ, शोषक र पुँजी पतिहरुले शोषण गरेका सर्वहाराहरु झैँ बनाएको कुरो विश्वको न्याय, दर्शन, शास्त्र र साहित्यको अध्ययनबाट देखिने कुरो फेला पारेका छन् (Gardner) (Hamilton 191-206) ।

१०. निष्कर्ष
माथिको इतिहास विषयको ऐतिहासिक सर्वेक्षणमा के देखिन्छ भने, प्रज्ञा पन्थी दार्शनिकहरुले इतिहासलाई विज्ञान
माने, त्यसैले प्राकृतिक नियमको सामान्यीकरण गर्न सके झैँ इतिहासको पनि सामान्यीकरण गर्न सकिन्छ ।
एरिस्टोटलदेखि नै इतिहासमा सत्य तथ्य हुन्छ भन्ने मान्यता अघि बढ्यो । रोमान्टिकहरु मानव इतिहास पहिले
विकसित थियो, पछि बिग्रियो भन्ने मान्यता राख्ने भए । प्रज्ञा पन्थीहरु संसारभरका सबै जातिको इतिहास एउटै
नियमले चल्छ भन्ने मान्यता राख्थे । हेगल, टी०एस० इलियट र अक्सटले भाषाका इतिहासको पुनर्निमाण गर्ने
तुलनात्मक विधिको प्रयोग पनि गरे ।
हर्डरले सबभन्दा पहिले प्रज्ञा पन्थीहरुको सार्वभौम र निरपेक्ष इतिहासको विरोध गरेर इतिहास देश, जाति र संस्कृति पिच्छे फरक हुन्छ भन्ने कुरो अघि बढाए । डिल्देले प्राकृतिक विज्ञान र मानविकीका नियम र शोध विधिमा फरक छुट्याए । गडेमाले इतिहासकारले अतीत र वर्तमानको संवादबाट इतिहास लेखिन्छ भन्ने अवधारणा ल्याए । नव इतिहास वादले इतिहासका करङमा वर्तमानको मासु भरे झैँ इतिहास लेखिन्छ भन्ने विचार अघि सारे । हेगलले विवेकी र अविवेकी मान्छेको इतिहासमा फरक पर्ने विचार राखेर अविवेकीहरुको इतिहास चाहिँ प्राकृतिक नियम अनुसार चल्छ, तर विवेकीहरुले आफ्नो इतिहास आफैँ बनाउँछन् भन्ने कुरो ल्याए । मार्क्सले इतिहासको व्याख्या गरेर सर्वहाराहरुको आत्मनिर्णयबाट भविष्यको निर्माण गर्नु पर्ने कुरो ल्याए । नित्सले ईश्वरको भर नपरी मान्छेले आफुलाई शक्तिशाली बनाउन आफ्नो इतिहास आफैँ बनाउनु पर्छ भन्ने विचार राखे । फ्रायडले व्यक्तिले आफैँ सुनाएको आफ्नो पूर्व स्मृतिका आधारमा बनेको इतिहास पनि वास्तविक हुँदैन भन्ने प्रमाणित गरी दिए । वाल्टर बेन्जामिन र पिटर गेले इतिहासमा काव्यमयता र आलङ्कारिकता फेला पारेर इतिहास पनि उपन्यास जस्तै तर शक्तिशालीको औजारका रूपमा उपयोग गरिने अस्त्रका रूपमा देखे । फुकोले शक्तिशालीहरुले जानाजान आफुलाई माथि पार्न र अरुलाई तल पार्न इतिहास, कोश र कानुन जस्ता डिस्कोर्स बनाउँछन् भन्ने धारणा ल्याए । नव उपनिवेश वादीहरुले आफ्नो देशलाई उपनिवेश बनाउनेहरुले बङ्ग्याएका इतिहासमा विश्वास नगरेर आफ्नो इतिहास आफैँ बनाउने विचार राखे । नारी वादीहरुले पनि महिलाहरुलाई होच्याउन र शक्तिहीन बनाउन पुरुषहरुले लेखेको इतिहास, धर्म, न्याय, साहित्य जस्ता डिस्कोर्सलाई नङ्ग्याएर अथवा पन्छाएर आफ्नो न्याय, धर्म र इतिहास आफैँ लेख्नु पर्छ भन्ने विश्वास गरेका छन् । यसरी इतिहास विज्ञान र दर्शनका रूपमा मात्र नभएर काव्य शास्त्रका रूपमा बढ्ता स्थापित भएको छ ।

Works Cited
Benjamin, Walter. “Theses on the Philosophy of History.” Benjamin, Walter. Illuminations. Trans. Harry John. New York: Schoken Books, 1968. 253-264.
Burnham, Douglas. “History.” The Nietzsche Dictionary. London: Bloomsbury, 2015. 170-173.
Cartwright, David E. “History.” Cartwright, David E. Historical Dictionary of Schopenhauer’s Philosophy. Maryland: The Scarecrow Press, 2005. 79-82.
Derrida, Jacques. The Postcard: From Socrates to Freud and Beyond. Trans. Alan Bass. Chicago: University of Chicago Press, 1980.
Descartes, Rene. “Meditations on First Philosophy.” Descartes, Rene. Philosophical Essays and Correspondence. Ed. Roger Ariew. Cambridge: Hackett, 1641 [2000]. 97-141.
Dilthey, Wilhelm. Descriptive Psychology and Historical Understanding. Ed. R.A. Makkreel. Trans. R.M. Zaner and K.L. Heiges. The Hague: Martinus Nijhoff, 1977.
Eliot, T.S. “Tradition and Individual Talent.” Eliot, T.S. The Sacred Wood: Essays on Poetry and Criticism. London: Methuen, 1920. 47-59.
Fannon, Franz. Black Skins, White Masks. Trans. Charles Lam Markmann. London: Pluto Press, 1952 [1986]. .
Foucault, Michel. The Archaeology of Knowledge. London: Routledge, 1972 [2002].
Foucault, Michel. “The Order of Discourse.” Uniting the Text: A Post-Structuralist Reader. Ed. Robert Young. Boston, Mass: Routledge & Kegan Paul, 1981. 48-78.
—. The Order of Things: An Archeology of Human Sciences. London & New York: Routledge, 1966.
Freud, Sigmund. The Standard Edition of the Complete Psychological Works of Sigmund Freud. Ed. Strachey James. Trans. Strachey [From German] James. London: Institute of Psychoanalysis, 1966.
Frolov, I., ed. Dictionary of Philosophy. Moscow: Progress Publishers, 1967.
Gardner, Catherine Villanueva. Historical Dictionary of Feminist Philosophy. Oxford: The Scarecrow Press, 2006.
Gay, Peter. Style in History: Gibbon, Ranke, Macaulay, Burckhardt. New York: W.W. Norton & Co., 1974.
Hamilton, Paul. Historicism. London & New York: Routledge, 1996.
Hegel, G.W.F. Hegel’s Phenomenology of Spirit [1807]. Ed. J.N. Findlay. Trans. A.V. Miller. New York: Oxford University Press, 1977.
—. Lectures on the Philosophy of History. Trans. J Sibbree. London: George Bell, 1837 [1902].
Iggers, Georg G. The German Conception of History: The National Tradition of Historical Thought from Herder to the Present. Middletown: Wesleyan University Press, 1968.
Kant, Immanuel. “An Answer to the Question ‘What is Enlightenment?’.” Political Writings. Cambridge: Cambridge University Press, 1989. 54-60.
Kant, Immanuel. “Idea for a Universal History with a Cosmopolitan Purpose.” Kant : Political Writings. Ed. Raymond Geuss and Quentin Skinner. Cambridge: Cambridge University Press, 1970. 41-53.
Lawn, Chris and Niall Keane, The Gadamer Dictionary. New York: Continuum, 2011.
Magee, Glenn Alexander. “History and Philosophy of History.” Magee, Glenn Alexander. The Hegel Dictionary. Ed. Glenn Alexander Magee. London: Continuum, 2010. 104-108.
McCarney, Joseph. Hegel on History. London & New York: Routledge, 2000.
Mijolla-Meller, Sophie de. “Historical Truth.” Mijolla, Alain de. International Dictionary of Psychoanalysis. Ed. Alain de Mijolla. Detroit: Thomson Gale, 2005.
Mikics, David. “Discourse.” Mikics, David. A New Handbook of Literary Terms. New Haven & London: Yale University Press, 2007. 90.
Nasio, Juan-David. Five Lessons on the Psychoanalytic Theory of Jacques Lacan. New York: State University of New York Press, 2001.
Nietzsche, Friedrich. Beyond Good and Evil: Prelude to the Philosophy of the Future. Ed. Rolf-Peter Horstmann and Judith Norman. Trans. Judith Norman. Cambridge: Cambridge University Press, 2002.
Oakeshott, Michael. What is History? and Other Essays. Ed. Luke O’Sullivan. Oxford: Blackwell, 1983.
Palmer, Richard E. Hermeneutics: Interpretation Theory in Schleirmacher, Dilthey, Heidegger and Gadamer. Evanston: Northwestern University Press, 1969.
Perron, Roger. “History and Psychoanalysis.” Mijolla, Alain de. International Dictionary of Psychoanalysis. Ed. Alain de Mijolla. Detroit: Thomson Gale, 2005. 750-751.
Popper, Karl R. The Poverty of Historicism. Boston: The Beacon Press, 1957.
Pufendorf, Samuel. The Whole Duty of Man According to the Law of Nature. Ed. Ian Hunter and David Saunders. Trans. Andrew [1691] Tooke. Indianapolis: Liberty Fund, 2003.
Rousseau, Jean-Jacques 1712-1778. The First and Second Discourses. Ed. Susan Dunn. New Haven & London: Yale University Press, 2002.
Roussillon, Rene. “Historical Reality.” Mijolla, Alain de. International Dictionary of Psychoanalysis. Ed. Alain de Mijolla. Detroit: Thomson Gale, 2005. 748-749.
Schleiermacher, Friedrich. Hermeneutics and Criticism and Other Writings. Ed. Andrew Bowie. Trans. Andrew Bowie. Cambridge: Cambridge University Press, 1998.
Sherma, Rita D. and Arvind Sharma, Hermeneutics and Hindu Thought: Towards a Fusion of Horizons. Montreal: Springer, 2008.
Vico. The First New Science. Ed. Leon Pompa. Trans. Leon Pompa. Cambridge: Cabridge University Press, 2002 [1725].
Voltaire, 1694-1778. The Philosophy of History. Trans. Henry Wood Gandel. London: Pulborough Academy, 1829.
Waddicor, Mark H. Montesquieu and the Philosophy of Natural Law. The Hague: Martinus, 1970.
Walker, David and Daniel Gray. Historical Dictionary of Marxism. Lanham, Maryland, USA: Scarecrow Press, 2007.
Weber, Samuel. Return to Freud: Jacques Lacan’s Dislocation of Psychoanalysis. Trans. Michael Levine. New York: Cambridge University Press, 1991.
पोखरेल, माधव प्रसाद. “भाष्य विज्ञानको चिनारी.” गरिमा (n.d.).

Category: My Papers Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply