कमल दीक्षितका पाँच प्रकरण

By | February 4, 2017

कमल दीक्षितसँग जोडिएका नेपाली भाषा र साहित्यका पाठकहरुलाई एकदम काम लाग्ने मेरा पाँच ओटा ज्यादै महत्त्व पूर्ण प्रकरणको चिनारीमा मात्र मैले यो लेख सीमित गरेको छु ।

१. ‘भानुभक्तको महाभारत’
कमल दीक्षितलाई नचिन्ने नेपाली भाषाको पाठक को होला र, त्यसैले उनलाई म चिन्थेँ भनी रहनु परेन, तर उनले मलाई चिनेको चाहिँ ‘भानुभक्तको महाभारत’ ले गर्दा हो । नेपाली भाषाको व्युत्पत्तिमूलक कोश बनाउने राल्फ लिली टर्नर (१९३१ ई) ले आफुले उपयोग गरेका ग्रन्थहरुको सन्दर्भ सूचीमा ‘भानुभक्तको महाभारत’ पनि लेखेका रहेछन् । यो कुरो जनकलाल शर्माले र मैले टर्नरको शब्द कोश हेरी रहेका वेलामा फेला पार्‍यौँ । टर्नरले भानुभक्तको रामायण लेख्न खोज्दा महाभारत लेख्ने गल्ती गरेछन् । त्यस कुराले मलाई त त्यति छुने थिएन, तर जनकलालजीले कमल दीक्षितलाई फोन गरेर मदन पुरस्कार पुस्तकालयमा ‘भानुभक्तको महाभारत’ छ कि छैन भनेर सोधे । कमलमणिले आफ्नो ग्रन्थ सूची हेर्दा ‘भानुभक्तको महाभारत’ फेला नपरे पछि ‘नेपाली’ पत्रिकालाई ‘लौ एउटा लेख लेखी दिनु पर्‍यो’ भने । त्यसै वेलामा जनकलाल शर्माले लेखकका रूपमा मेरो नाम सिफारिस गरे पछि मैले ‘नेपाली’ पत्रिकामा ‘भानुभक्तको महाभारत’ भन्ने शीर्षकको लेख लेखेँ । यसरी हुँदैन नभएको ‘भानुभक्तको महाभारत’ ले कमल दीक्षितसँग मेरो अटुट साइनो गाँसियो । फोन गरागर पनि चल्यो । धेरै फोन त उतैबाट आउँथ्यो ।

२. जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास
धेरै फोन गरागरले कमल दीक्षित र मेरो साइनो अनौपचारिक भयो । त्यस्तै अनौपचारिक फोनमा एकदिन मैले ‘तपाईँलाई गुरु ऋण लागेको छ’ भनेँ । यो कुरो मैले उनको ‘झुसी कि निम्ठो?’ भन्ने किताबको भूमिकामा पनि लेखेको छु । मैले आफ्नो कुरो व्याख्या गर्दै भने, ‘नेपाली भाषाको सबभन्दा ठुलो पुस्तकालय तपाईँसित छ, त्यसैले जब सम्म तपाईँ लाग्नु हुन्न र जब सम्म मदन पुरस्कार पुस्तकालयका किताब र पत्र पत्रिकाको उपयोग लेखकहरुले गर्न पाउँदैनन्, तब सम्म नेपाली साहित्यको प्रामाणिक इतिहास लेखिँदैन ।’ यो कुरो मैले धेरै पल्ट भने पछि एक दिन त उनलाई पनि झ्वाँक चलेछ । त्यसै झ्वाँकमा उनले भने, ‘लु, म गुरु ऋण तिर्न तयार छु, तपाईँ भन्नु होस्, म के गरुँ? प्रधान सम्पादक तपाईँ नै बस्नु पर्छ । तपाईँ कस कसलाई जोड्नु हुन्छ, कस कसलाई कसरी लेखाउनु हुन्छ, तपाईँ जान्नु होस् ! कति खर्च लाग्छ, त्यसको अड्कल गरेर ल्याउनु होस् । म लेखकलाई विद्वद् वृत्ति दिन चाहिँ सक्तिन । किताब छपाई दिन्छु, रोयल्टी दिन्छु ।’
मैले नेपाली साहित्यको इतिहासलाई निम्न लिखित पाँच ओटा ठेलीमा तर्जुमा गरेँ । हरेक ठेलीमा १२०० पृष्ठका हिसाबले जम्मा छ हज्जार पृष्ठ जतिको यो इतिहास हुने अड्कल गरिएको छ । आज सम्म नेपाली साहित्यको इतिहास यति ठुलो र विस्तृत नभएकाले यस इतिहासको नाममा ‘बृहत्’ शब्द जोडिएको हो ।
१. पहिलो ठेली : नेपाली भाषा, व्याकरण, अनुवाद र अभिलेख
२. दोस्रो ठेली : लोक साहित्य, प्राथमिक काल र माध्यमिक काल
३. तेस्रो ठेली : कविता, खण्ड काव्य, महाकाव्य र नाटक
४. चौथो ठेली : कथा, उपन्यास, निबन्ध र समालोचना
५. पाँचौँ ठेली : भारतीय नेपाली साहित्य, समसामयिक विश्वको नेपाली साहित्य, बाल साहित्य र पत्र पत्रिका
यस परियोजनाको नाम मैले नै प्रस्ताव गरेँ, ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’, किन भने मलाई के लाग्छ भने, इतिहासले कमल दीक्षित र रानी जगदम्बाको भेट नगराएको भए, न कमल दीक्षितले बालखदेखि नै आफुलाई अरुले टीको लगाएर दिएका पैसा बटुलेर नेपाली किताब सङ्ग्रह गरेर पढ्ने बानीले बनेको ‘कमलको नेपाली किताब सङ्ग्रह’ आजको सैँतिस हज्जार नेपाली किताबहरुको सबभन्दा ठुलो सङ्ग्रहालय (नेपाली किताबको ‘लाइब्रेरी अफ कङ्ग्रेस’) ‘मदन पुरस्कार पुस्तकालय’ बन्न सक्थ्यो, न कलकत्तामा प्रेस चलाएर बसेका कमल दीक्षित, न चन्द्र शमसेरका कान्छा छोरा जँड्याहा, भङ्ज्याहा र मदन शमसेर, न विलासी मदन शमसेरसित बिहे भएकाले माइती र दाम्पत्य मायाँले टाढा हुनाले समेत दुःख पोख्ने भाँडो नभएकी देहरादूनका ठाकुर चन्दन सिंहकी छोरी रानी जगदम्बा, कोही पनि व्यक्तिबाट उचालिएर प्रसिद्ध संस्था हुने थिएनन् । नेपाली भाषामा रानी जगदम्बाको नाम र काम कुनै त्यागी तपस्विनीको भन्दा कम नभएकाले मैले परियोजनाको नाममा जगदम्बा जोड्न आग्रह गरेँ । हाम्रो कुरो मिल्यो ।
मैले हरेक ठेलीका लेखकहरु भरसक त्यसै विषयमा पिएचडी गरेका, त्यस्ता नभेटिए सम्बन्धित विषयमा किताब वा अनुसन्धानात्मक लेख प्रकाशित गरेका, र त्यस्ता पनि नभेटे त्यस विषयमा लेख्ने उ भन्दा जान्ने अर्को कोही नभेटिने मान्छेलाई बनाएँ । यसरी देश भित्र र बाहिरका चौरासी जना लेखकहरुको सञ्जाल तयार भयो । कमल दीक्षितले ती चौरासी लेखकहरुलाई ‘चौरासी सिद्ध’ भन्ने उपनाम दिए ।
पहिलो ठेली पुरा भएर प्रेसमा छापिने क्रममा छ । कुनै पनि भाषाको साहित्यको इतिहाससित भाषाको सामाजिक इतिहास जोडिएको हुन्छ, त्यसैले नेपाली भाषाको सामाजिक इतिहास त्यसै विषयमा पिएचडी गर्ने (डा० शैलजा पोखरेल) अनुसन्धातालाई दिइयो । नेपाली भाषाको इतिहास पछि त्यस भाषामा लेखिएका अभिलेखहरुको इतिहास राख्नु आवश्यक हुन्छ । अभिलेखहरुको काल निर्णय इतिहासकारहरुको काम भएकाले इतिहासकारहरुले नेपाली भाषाका अभिलेखहरुको मिति जस्तो निर्णय गरेका छन्, त्यसमा शङ्का नगरिकन ती अभिलेखहरुलाई ऐतिहासिक क्रममा राखिएको छ । नेपाली प्राचीन अभिलेखहरुका आधारमा मेरा गुरु कुलमा दुई जनाले पिएचडी गरेका छन् । अभिलेखलाई ऐतिहासिक क्रममा मिलाउँदा नेपाली भाषाका नियमहरुमा क्रमशः परिवर्तन भएको देखिन्छ । डा० विदुर चालिसेको पिएचडीको अनुसन्धानको विषय त्यही भएकाले ‘अभिलेखीय नेपाली व्याकरणको इतिहास’ उनले लेखेका छन् । डा० यमनाथ तिमिल्सिनाले नेपाली अभिलेखका अप्ठ्यारा शब्दहरुको कोश बनाउने काम पिएचडीमा गरेकाले यहाँ सङ्कलित प्राचीन अभिलेखको शब्द कोश उनले लेखेका छन् ।
डा० सुकुम शर्माले मेरै गुरु कुलमा एमए र पिएचडीमा नेपाली लिखित व्याकरणको इतिहास विषयमा अनुसन्धान गरेकाले नेपाली व्याकरणको इतिहास लेख्ने जिम्मा उनैले पुरा गरेका छन् । अर्का तिर अनुवाद विज्ञानमा पिएचडी गर्ने नेपालका अद्वितीय विद्वान् डा० गोविन्दराज भट्टराईका अद्वितीय शिष्य बलराम अधिकारीलाई नेपाली अनुवादको इतिहासको पुस्तक लेख्न किन लगाइएको छ भने, उनले अनुवाद विज्ञान र अनुवादको इतिहासमा अनुसन्धान गरेर इतिहासकै पनि अनुसन्धान गरेका छन् । यसरी पाँच ओटा किताब जोडेर ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ को ‘भाषा, व्याकरण, अभिलेख र अनुवाद खण्ड’ पुरा गरिएको छ ।
दोस्रो ठेलीमा तिन ओटा किताब जोडिएका छन् । यस ठेलीको पहिलो किताब ‘नेपाली लोक साहित्य र त्यसको अनुसन्धानको इतिहास’ डा० चूडामणि बन्धुले सम्पादन गरेका छन् । यसमा लोक साहित्यकै बेग्ला बेग्लै विधामा पिएचडी गर्ने बार जना विद्वानहरुलाई डा० बन्धुले जोडेका छन् : डा० गोविन्द आचार्य (सामान्य लोक गीत), डा० कुसुमाकर न्यौपाने (विशेष लोक गीत), डा० ध्रुव प्रसाद भट्टराई (लोक कविता), डा० जयराज पन्त (लोक काव्य), डा० होमनाथ सापकोटा (लोक गाथा), डा० मोतीलाल पराजुली (लोक नाटक र लोक नृत्य), डा० जीवेन्द्र देव गिरी (लोक कथा), डा० कुल प्रसाद कोइराला र डा० शिव प्रसाद पौड्याल (उखान), डा० ध्रुव घिमिरे र डा० सखि शरण सुवेदी (टुक्का) अनि डा० कपिल लामिछाने (गाउँ खाने कथा) ।
दोस्रो ठेलीको दोस्रो किताब डा० दयाराम श्रेष्ठ (प्राथमिक कालीन नेपाली साहित्यको इतिहास) भने तेस्रो किताब (माध्यमिक कालीन नेपाली साहित्यको इतिहास) का सम्पादक भने, एक जना कमल दीक्षित नै थिए, अर्का सम्पादक डा० नारायण गड्तौला छन् । माध्यमिक कालमा डा० नारायण गड्तौला (पद्य) बाहेक अरु छ जना लेखक छन् : डा० चन्द्रमान श्रेष्ठ (आख्यान), डा० अशोक थापा (नाटक), डा० रजनी ढकाल (निबन्ध र प्रबन्ध), साधना प्रतीक्षा (पत्रकारिता), गीता त्रिपाठी (अन्य साहित्यिक गद्य) र डा० काशीनाथ न्यौपाने (पुराण, दर्शन, धर्म, आदि) ।
दोस्रो ठेलीका सबै किताबहरु आई सकेका छन् । यिनीहरु मध्ये प्राथमिक र माध्यमिक कालको इतिहासका पाण्डुलिपि पढेर कमल दीक्षितले टिप्पणी गरी सकेका छन् । त्यस अनुसार अहिले माध्यमिक कालको किताब चाहिँ परिमार्जन, पुनर्लेखन र सम्पादनको चरणमा मस्काइँदै छ । जगदम्बा प्रेसले पहिलो ठेली माघ भरिमा र दोस्रो ठेली चाहिँ आउँदो भानु जयन्तीमा छापी सक्ने वचन दिएको छ ।
तेस्रो ठेलीमा नेपाली पद्य (कविता, खण्ड काव्य, महाकाव्य) र नाटकको इतिहास राखिएको छ जस मध्ये डा० कृष्णराज अधिकारीले ‘नेपाली महाकाव्यको इतिहास’ लेखी सकेका छन् र डा० रामचन्द्र पोखरेलले ‘नेपाली नाटकको इतिहास’ लेखी सकेर परिमार्जन गरी रहेका छन्, डा० लक्ष्मण प्रसाद गौतमले ‘नेपाली कविताको इतिहास’ र डा० देवी प्रसाद नेपालले ‘नेपाली खण्ड काव्यको इतिहास’ सिध्याउनै लागेको सूचना दिएका छन् ।
चौथो ठेलीको प्रगति सबै भन्दा ढिलो भएको सङ्केत आई रहेको छ । त्यस ठेलीका लेखकहरु छन् डा० नेत्र एटम (कथा), डा० दुर्गा बहादुर घर्ती (उपन्यास), रमेश भट्टराई (निबन्ध) र ज्ञानु अधिकारी (समालोचना) ।
पाँचौँ ठेलीमा भारतीय नेपाली साहित्यको इतिहासको दार्जिलिङ, सिक्किम र डुवर्स खण्डकी सम्पादक डा० कविता लामाले १७-१८ जना लेखकहरुलाई संयोजन गरेकी छिन् । सिक्किमको नेपाली साहित्यको इतिहास लेख्ने अरु लेखकहरुमा डा० पुष्प शर्मा (कविताको इतिहास), डा० राजेन्द्र भण्डारी र सविता तामाङ (कथाको इतिहास) र दीपक तिवारी (उपन्यास, नाटक, निबन्ध र अनुवादको इतिहास), देवचन्द्र सुब्बा (कविताको इतिहास), छन् भने, कृष्णमाया पुलामीले सिक्किममा नेपाली भाषाको सामाजिक इतिहास बारे लेखेकी छिन् । डा० कविता लामाले दार्जिलिङ डुवर्स तिरको नेपाली साहित्यको इतिहास लेख्नेमा डा० नवीन पौड्याल (उपन्यासको इतिहास), डा० राजकुमारी दाहाल (अनुवादको इतिहास), वासुदेव पुलामी (कविताको इतिहास), सुमन बान्तवा र बलराम सापकोटा (कथाको इतिहास), भुपेन तामाङ (नाटकको इतिहास), दीपक तिवारी (निबन्धको इतिहास), डा० योगेश पन्थ र विक्रम राई (नेपाली भाषाको सामाजिक शक्ति), पारसमणि दङ्गाल (सिक्किम, दार्जिलिङ र डुवर्सका पत्र पत्रिकाको इतिहास) लाई संयोजन गरेकी छिन् भने, देवचन्द्र सुब्बा (समालोचनाको इतिहास), सुमन बान्तवा (आधुनिक गीत र गजलको इतिहास), रेमिका थापा (समकालीन भारतीय कविता), सरस्वती मिश्र (भारतीय नेपाली साहित्यिक सङ्घ संस्थाको इतिहास) र डा० कविता लामा (बाल साहित्यको इतिहास) ले सबै भारतीय नेपाली साहित्य समेटेका छन् ।
पाँचौँ ठेलीमै उत्तर पूर्वी भारत (असम) को नेपाली साहित्यको इतिहासका सम्पादक छन् डा० खगेन शर्मा । डा० शर्माले पनि निम्न लिखित १३-१४ जना लेखकहरुलाई संयोजन गरेका छन् : डा० देविका तिम्सिना (कविताको इतिहास), नव सापकोटा (काव्यको इतिहास), डा० शान्ति थापा (कथाको इतिहास), डा० जमदग्नि उपाध्याय (निबन्धको इतिहास), डा० खेमराज नेपाल (अनुवादको इतिहास), डा० इन्दु प्रभा देवी (उपन्यासको इतिहास), ज्ञान बहादुर छेत्री (समालोचनाको इतिहास), भविलाल लामिछाने र पूर्ण कुमार शर्मा (नाटकको इतिहास), मुक्ति उपाध्याय र एकदेव अधिकारी (बाल साहित्यको इतिहास), रुद्र बराल (पत्रकारिताको इतिहास) अनि डा० टेकनारायण उपाध्याय (मेघालयको नेपाली साहित्यको इतिहास) ।
भारतीय नेपाली साहित्यको इतिहास यसरी डा० कविता लामा र डा० खगेन शर्माको संयोजन र सम्पादनमा लेखिएर आई सकेको छ । त्यसको सम्पादन मात्र हुन बाँकी छ । वाराणसीको नेपाली साहित्यको इतिहास लेख्न डा० सञ्जय बान्तावालाई भर्खर दिइएको छ अनि भाक्सुको नेपाली साहित्यको इतिहास भूपेन्द्र अधिकारीलाई दिइएको छ, तर त्यसको प्रगति विवरण थाहा भएको छैन ।
नेपाली साहित्यको अनुसन्धान गर्नेहरुमा अचेल समसामयिक सामग्रीको उपयोग गर्दा मेची नकटाउने रोग लागेको छ । भारतीय नेपाली साहित्यको यो इतिहासले त्यो भत्केको पुल बलियो बनाएर अनुसन्धानमा स्वस्थ आदान प्रदानको वातावरण सुरु हुने विश्वास छ । भारतीय नेपाली साहित्यको इतिहास लेखाउँदा अर्को के कुरो पत्तो लागेको छ भने, नेपाली साहित्यको प्रचलित काल विभाजन भारतीय नेपाली साहित्यको इतिहासमा केही नमिल्ने देखिएको छ । डा० कविता लामा लगायत दार्जिलिङ, सिक्किम र डुवर्सको नेपाली साहित्यको इतिहासका लेखकहरुलाई डा० घनश्याम उपाध्यायले संयोजन गरी दिएका हुन् र डा० मोहन पी दाहालले पूर्वाञ्चल भारतको नेपाली साहित्यको इतिहासमा कविता लामालाई आवश्यक निर्देशन गरेका छन् ।
पाँचौँ ठेलीमा बाल साहित्यको इतिहास प्रमोद प्रधानले लेखी रहेका छन् भने, नेपाली पत्रकारिताको इतिहास डा० खेमनाथ कोइरालाले लेख्ने सङ्कल्प गरेका छन्, तर प्रगति विवरण पाई सकिएको छैन ।
पाँचौँ ठेलीमै समसामयिक विश्वमा छरिएको नेपाली साहित्यको विवरण पनि रहन्छ । त्यस ग्रन्थको सम्पादन डा० गोविन्दराज भट्टराईले निम्न लिखित १३ जना लेखकहरुलाई जोडेर संयोजन गरी रहेका छन् : डा० दुवसु क्षेत्री (बर्मा), कृष्ण प्रकाश श्रेष्ठ (रुस), शिव प्रसाद दाहाल (भुटान), गोपी सापकोटा र विकल आचार्य (बेलाइत), होमनाथ सुवेदी (अमेरिका र क्यानाडा), कृष्ण बजगाईँ (युरोप), राजकुमार राई (हङ्कङ), देवेन्द्र सुर्केली (मलयेसिया), विश्वास दीप तिगेला (सिङ्गापुर), तीर्थ सङ्गम राई (पश्चिम एसिया), निष्प्रभ सजी (अस्ट्रेलिया), पुरण राई (नेपाली सैनिक साहित्यको इतिहास) अनि बालाकृष्ण अधिकारी (नेपाल) ।
पाँचै ओटा ठेलीमा भएका पारिभाषिक शब्द र लेखकहरुको अणुक्रमणिका मात्र भएको एउटा परिशिष्ट खण्ड पनि प्रकाशित गर्ने योजना छ ।
प्रस्तावित जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासका कार्यकारी सम्पादकहरु डा० चूडामणि बन्धु र डा० दयाराम श्रेष्ठ छन् । यस परियोजनामा जम्मा तिस लाख रुपियाँ लाग्ने अड्कल गरिएको छ, जस मध्ये कमल दीक्षितले जगदम्बा प्रेसलाई अग्रिम पच्चिस लाख रुपियाँ तिरी सकेका छन्, किन भने मैले उनलाई भने, ‘तपाईँ ८६-८७ वर्ष पुगेका मान्छेको के भर? त्यसैले जगदम्बालाई पैसा तिरेको रसिद मलाई दिनु पर्‍यो ।’ कमलजीले त्यो पैसा तिरेको रसिद पनि मलाई बुझाई सकेका छन् । यो इतिहास प्रकाशन गर्नकै लागि उनले कमलमणि प्रकाशन भन्ने बेग्लै प्रकाशन पनि दर्ता गरेका छन् । इतिहासमा भएको प्रगति विवरण राख्न सगुन धाख्वालाई वेबसाइट बनाउन पनि लगाइएको छ ।

३. राममणिको ‘मणि कोश’
नेपाली भाषाको सबै भन्दा धेरै शब्द भएको कोश राममणि आ०दी० को कोश हो, तर राममणिका नाति कमल दीक्षितको आफ्नै जगदम्बा प्रेस भए पनि र कमल दीक्षित नेपाली किताबका अद्वितीय प्रेमी भए पनि राममणिको कोश अझै प्रकाशित भएन । राममणि आ०दी० को ‘व्यक्ति र कृति’ बारे एमए को शोध पत्र लेखाउँदा शैलेन्दु प्रकाश नेपालका बाह्य परीक्षक भएर त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभाग पुगेका कमल दीक्षितसित कुरो गर्दा त्यस कोशमा ‘गर्छु, गर्छस्, गर्छ, गर्छे, गर्छिन्, गरोस्’ जस्ता सबै शब्द राख्नाले त्यो कोश ठुलो भएको हो भन्ने जवाफ पाएको थिएँ ।
एक दुई वर्ष अगाडि एक दिन कमल दीक्षितले मलाई भने, ‘त्यो मणि कोश एक पल्ट तपाईँ हेरी दिनु होस् न ! मैले मेरा काछुबाबु केशवमणि दीक्षितसित तपाईँको कुरो गरेको छु, तपाईँ जान भ्याउने भए, काछुबाबुको फोन आउँछ । मलाई त्यो कोश हेर्न एकदम मन थियो । मलाई केशवमणिजीको फोन आयो । कमल दीक्षितजी र म केशवमणिजीको गैरीधाराको घरमा गयौँ ।
मैले कोश हेरेँ । त्यस कोशमा त शब्दावली मात्र रहेछ, अर्थ पनि छैन, शब्द वर्ग छैन, केही छैन । केशवमणिजीले ती शब्दको अर्थ लेखेर कोश झन्डै पुरा गर्न लागेका रहेछन् । कोश हेरेर मैले के भने भने, यो कोश राममणिले अर्थ लेख्न बनाएको कोश नै होइन रहेछ । राममणिले नेपाली भाषाको हिज्जेमा ‘हलन्त बहिष्कार’ को नियम ल्याएका थिए । यस कोशमा राममणिको हिज्जेको व्याकरण अनुसार कुन नेपाली शब्द कसरी लेखिनु पर्छ भन्ने मात्र देखाउन खोजिएको हो, त्यसैले यो राममणिको नेपाली भाषाको हिज्जे कोश हो । नेपाली भाषाको यो एक मात्र हिज्जे कोश रहेछ, त्यसैले यस कोशको नाम ‘राममणि शब्दार्णव’ राखी दिउँ र जस्ताको तस्तै छपाई दिउँ, तर कोश युनिकोड फन्टमा छापियोस् । केशवमणिजीले मेरो सुझाव खुसी भएर मान्नु भयो, कमलमणिजीले युनिकोड छाप्न सक्ने टाइपिस्ट जुटाई दिनु भयो । कोश छाप्न त छापियो, तर टाइपिस्टले नबुझेर होला अशुद्धिहरु निकै रहेछन् । ती अशुद्धि हेर्न केशवमणिजीले भ्याउनु भएको छैन, त्यसैले राममणिको ‘मणि कोश’ प्रकाशनमा आएको छैन । केशवमणिजीको कोश चाहिँ आउने बाटामै होला।

४. समग्र नेपाली किताबको डिजिटाइजेसन गर्ने योजना
सन २००३ तिर म मैसुरको भारतीय भाषा संस्थानमा नेपाली भाषा विशेषज्ञ भएर तिन महिना बसेको थिएँ । त्यति वेला मेरा मित्र प्राध्यापक उदय नारायण सिंह त्यसका निर्देशक थिए । उदय नारायण सिंहले मलाई भने, ‘नेपाली भाषाका जति किताब छन्, ती सबै किताब दुई सेट म किनी दिन्छु, एक सेट मैसुरको पुस्तकालयमा एक सेट असमको पुस्तकालयमा राखी दिन्छु ।’ नेपाल आएर मैले नेपालका र भारतका नेपाली पुस्तक व्यवसायीहरुलाई त्यो काम गर्न प्रेरित गरेँ, तर नेपाली पुस्तक व्यवसायीहरु त्यति शक्तिशाली भएका रहेनछन् । भारतीय भाषा संस्थान (सिआइआइएल) का निर्देशकको त्यत्रो उदारताको हामीले उपयोग गर्न सकेनौ ।
दुई तिन वर्ष अघि म उत्तर बङ्ग विश्व विद्यालय गएका वेलामा मैले प्राध्यापक घनश्याम नेपाललाई उदय नारायण सिंहको त्यही पुरानो कुरो सम्झाउँदै भने, ‘तपाईँहरु सिआइआइएल का डाइरेक्टरलाई भेटी रहनु हुन्छ । उदय नारायण सिंहले दुई सेट नेपाली किताब किनी दिने उदारता देखाए जस्तै अहिलेका डाइरेक्टरले समग्र नेपाली किताब डिजिटाइज गर्ने खर्च दिए त, अरु भाषाका पाठकहरुले झैँ नेपाली भाषाका पाठकहरुले पनि नेपाली किताब अनलाइन पढ्न पनि पाउँथे, डाउनलोड गरेर पनि राख्न पाउँथे । मदन पुरस्कार पुस्तकालयका सबै किताब निःशुल्क डिजिटाइज गर्न अनुमति म कमल दीक्षितजीसित माग्छु ।’
नेपाल फर्के पछि कमल दीक्षितजीलाई मैले यो कुरो सुनाएँ । उनी एकदम खुसी भए । त्यो काम कसरी सम्भव होला भन्ने चिन्ता हामीलाई लागी रह्यो । एकदिन मेरो विचारमा अर्को कुरो आयो । मैले त्यो कुरो पनि दीक्षितसँग राखेँ, ‘समग्र नेपाली किताब डिजिटाइज गर्ने माग सिक्किमका मुख्य मन्त्री डा० पवन चाम्लिङसित नराखेर किन हामी सिआइआइएल सित राखौँ ? पवन चाम्लिङ नेपाली भाषाका लेखक पनि हुन् । मेरो प्रस्ताव दीक्षितजीलाई मन पर्‍यो ।
हामीले खर्चको अड्कल गर्‍यौँ । म०पु०पु० मा त्यति वेला तेत्तिस चौँतिस हज्जार किताब थिए । मपुपु मा नभएका किताब पन्ध्र हज्जार जति होलान् भन्ने अड्कल गर्‍यौँ । यसरी नेपाली किताब जम्मा पचास हज्जार रहेछन् भने, एउटा किताबको सरदर एक सय पृष्ठ भएको मानेर एक पृष्ठको डिजिटाइज गरेको दश रुपियाँका हिसाबले जम्मा पाँच करोड भारु लाग्ने अड्कल भयो । पवन चाम्लिङलाई त्यति पैसा निकाल्न गारो पनि हुँदैन ।’ हामीले त्यो प्रस्ताव हुलाकबाट डा० चाम्लिङलाई पठाउने विचार गरेकै वेलामा नइ को महिला लेखक सम्मेलनमा भाग लिन सिक्किम विश्व विद्यालयबाट डा० कविता लामा र डा० पुष्प शर्मा काठमाडौँ आए । पुष्प शर्माका श्रीमानको पवन चाम्लिङसित नजिकको सम्पर्कमा भएको सुइँको कसैले हामीलाई दिएको थियो । हामीले मदन पुरस्कार पुस्तकालयको प्याडमा मुख्य मन्त्रीसित एउटा अनुरोध प्रस्ताव पठायौँ । फोनमा कुरा गर्दा चिठी पवन चाम्लिङको हात लागेको र डा० चाम्लिङ त्यति पैसा दिन राजी भएको कुरो पनि आयो । हामीले पवन चाम्लिङका कुनै सचिवसित फोनमा कुरो गरेर पनि सम्झायौँ, तर सिक्किमका मुख्य मन्त्रीको अड्डाबाट कुनै चिठी र फोन पनि नआएकाले हाम्रो समग्र नेपाली किताब डिजिटाइज गर्ने योजना चाहिँ अधुरै रह्यो ।

५. कमल दीक्षितका समालोचना बारे पिएचडी
पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक चूडामणि खनाल मेरा गुरु कुलमा ‘नेपाली समालोचनामा कमल दीक्षितको योगदान’ भन्ने शीर्षकमा नेपाल संस्कृत विश्व विद्यालयमा पिएचडी गरी रहेका छन् । चूडामणि खनालले कमल दीक्षितका ७५-७६ ओटा किताब र उनका फुटकर लेख सबै पढेका छन् । कमल दीक्षित बारे चूडामणि खनाल भन्दा बढ्ता जान्ने अर्को कोही छैन होला । नेपाली साहित्यको प्राथमिक कालको नाम ‘वीर काल’ भन्ने राख्ने समालोचक नै कमल दीक्षित हुन् । यसरी कमल दीक्षितको अनुसन्धानले गर्दा नै नेपाली साहित्यमा प्राथमिक काल र माध्यमिक कालको सीमा रेखा कोरियो । मोतीराम भट्ट, डम्बरुवल्लभ पोखरेल, बाबुराम आचार्य, सूर्य विक्रम ज्ञवाली, यदुनाथ खनाल र ईश्वर बरालले नेपाली ऐतिहासिक समालोचनामा हात हालेका छन्, तर ‘यस्तो पनि’ को भूमिकामा रामकृष्ण शर्माले भने झैँ त्यस मार्गमा कमल दीक्षितलाई भेट्ने कोही पनि छैन । चूडामणि खनाल यति वेला आफ्नो शोध प्रबन्धका अध्यायहरु लेख्तै छन् । कमल दीक्षितको बरखी नसकिँदै चूडामणि खनाल डा० चूडामणि खनाल होलान् भन्ने मैले आशा गरेको छु ।

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply