वीरेन्द्रकेसरी पोखरेल नेपालका पानी पोखरेलहरूका कुलको एउटा प्रसिद्ध र अद्वितीय नाम भएकाले मैले उहाँसँग प्रत्यक्ष परिचय हुनु भन्दा धेरै अगाडिदेखि नै चिनेको थिएँ ।

            उहाँ मेरी खाम्तेल्नी दिदीका ज्वाइँ हुनु हुन्थ्यो । खाम्तेल्नी दिदी (इन्दिरा) कमला (नेउपाने) दिदी र भोजराज (खनाल) दाइकी ठुल्यामा हुनु हुन्थ्यो । खाम्तेल्नी दिदी जुन कोइरालाकी छोरी हुनुहुन्थ्यो, ती कोइराला मेरा हजुरबा (रामचन्द्र पोखरेल) का मामाका छोरा थिए  । त्यस साइनाले खाम्तेल्नी दिदी मेरी फुपु पर्नु हुन्थ्यो र वीरेन्दकेसरीजीकी एउटी श्रीमती मेरी दिदी पर्नु हुन्छ, तर मैले उहाँकी श्रीमतीलाई त मावली पुगेका वेलामा कहिल्यै दिदी साइनो लगाउन भ्याएँ होला, वीरेन्द्रकेसरीजीलाई चाहिँ मैले भिनाजु साइनो लगाउनु कहिल्यै पनि परेन । हाम्रो यो साइनो उहाँलाई पनि थाह भए जस्तो लागेन ।

            वीरेन्द्रकेसरी पोखरेल खार्पाली पोखरेल हुनु हुन्थ्यो । खार्पाली पोखरेलहरू गोरखाको छोप्राक, स्याङ्जाको ओरस्टे र दोलखाका पानी पोखरेलको नजिकै पर्छन् भन्ने मैले सुनेको छु । म चाहिँ धन्कुटे पोखरेल हुँ। कन्नौजबाट नेपाल पसेका नेपालका सबै आत्रेय र अत्रि गोत्र हुनेहरूका पुर्खा काशीदास जोशीदेखि वंशावलीमा धन्कुटे पोखरेलहरू ५३ औँ पुस्तामा पुगेका छन् भने, खार्पाली पोखरेलको हाँगाबाट धन्कुटे वा सिम्पाने पोखरेलहरू ३८ औँ पुस्तादेखि छुट्टिन्छन् । यस दृष्टिले वीरेन्द्रकेसरी पोखरेलसित मेरो पुर्ख्यौली साइनो त्यति नजिकको थिएन ।

            उहाँ सांसद भएका वेलामा उहाँले संसदमा बोलेका कुरा रेडियोमा सुन्न पाइन्थ्यो । खार्पाली पोखरेल र उहाँलाई चिन्ने सबैले उहाँको नाउँ श्रद्धा साथ मात्रै लिएको पाइन्थ्यो, यसैले चिनजान नभए पनि उहाँको नाउँ सुनेर मेरो टाउको निहुरिन्थ्यो । पूर्व पश्चिम राजमार्गको डिजाइन गर्ने इन्जिनियर उहाँ नै हुनु हुन्थ्यो भन्ने पछि मैले सुने पछि मेरा हृदयमा उहाँको छवि झन टल्की रह्‍यो ।

            श्रीमान् वीरेन्द्रकेसरी पोखरेलसँग मेरो प्रत्यक्ष चिनाजानी रेवामणि पोखरेलले पानी पोखरेलको वंशावली बनाउने निर्णय गरे पछि मात्र भयो । प्राध्यापक डाक्टर जीवराज पोखरेलले रेवामणि पोखरेलजीसित मेरो परिचय गराई दिनु भएको हो । रेवामणि पोखरेल वीरेन्द्रकेसरी पोखरेलका भतिजा पर्नु हुँदो रहेछ । डा. जीवराज पोखरेलले वंशावली बनाउन रेवामणि पोखरेललाई सघाई दिन मलाई अनुरोध गर्नु भएको थियो । रेवामणि पोखरेलसँग मेरो चिनजान जीवराज पोखरेलजीकै आवासमा भएको हो ।

            रेवामणि पोखरेललाई भेट्नु भन्दा अगाडि मैले टुचीले प्रकाशित गरेको सम्पूर्ण अत्रि गोत्र हुने र आत्रेय गोत्र हुने नेपाली र संभवत: कुमाउँ र गढवालका खसहरूसँग जोडिने वंशावली पढेको थिएँ । खस जातिको अनुसन्धान गर्दै मैले एट्किन्सनको ‘हिमालयन गजेटियर’ (र पुस्तकाकार रूपमा छुट्‍टै प्रकाशित भएको ‘कुमाउँ हिल्स’ भन्ने किताब), बद्रीदत्त पाण्डेको ‘कुमाउँ का इतिहास’, राहुल सांकृत्यायनका ‘गढवाल’, ‘कुमाउँ’, ‘मध्य एसिया का इतिहास’, ‘तिब्बत में बौद्ध धर्म’, टुचीका दुइटा किताब, डा. लक्ष्मीदत्त जोशीको ‘खसज फेमिली ल’, डा. डी.डी. शर्माका एक दुई ओटा किताब, लामा तारानाथको ‘हिस्ट्री अफ बुद्धिज्म’, जस्ता अनेक किताब पढेको थिएँ । टुची (१९५९ ई) ले लेखेको एउटा किताबमा ‘पोखरेल बाहुनहरू जुम्लाका खस राजाहरूका लामा थिए’ भनेर लेखेका थिए । यी किताबहरूको अध्ययनले मलाई पोखरेलहरूको इतिहास बारे अनुसन्धान गर्न मन लागेको थियो ।

            म चाहिँ पोखरेलहरूको वंशावलीमा इतिहासको खोजी हुनु पर्छ भन्ने ठान्थेँ, तर वंशावली बनाउनेहरूको सिलोकमा वंशावली लेख्‍ने घिड्घिडो देख्ता मलाई विरक्त लागेको थियो । मेरो त्यसै घानमा रेवामणिजी पर्नु भयो । कृष्ण चन्द्र पोखरेलले प्रकाशित गरेको पोखरेलको वंशावली पनि सिलोकमा लेख्‍नाले कति मान्छेको नाउँ बिगारिएको, अनावश्यक रूपमा छन्द मिलाउन अक्षर थपघट गर्ने समस्या, आदिले मेरो मन खिहिर्‍याएको थियो । मैले जीवराजजीलाई भने, ‘म त वंशावली पद्यमा होइन, गद्यमा लेखिनु पर्छ; अलौकिक होइन, ऐतिहासिक हुनु पर्छ भन्ने खालको मान्छे परेँ, त्यसैले ऐतिहासिक बनाउने मन भए, म सघाउँछु, नत्र सघाउँदिन ।‘ मैले टुचीका किताबको पनि उल्लेख गरेँ, रेवामणिजीले त्यो किताब कहाँ छ भनेर सोध्‍नु भयो; मैले कीर्तिपुर पुस्तकालयको नाम लिएँ ।

            मैले रेवामणिजीलाई पत्याएको थिइन, तर उहाँ त मैले भेटेको एक हप्ता पनि नबित्तै एउटा फाइल बोकेर आउनु भयो । त्यस फाइलमा अनेक ऐतिहासिक सामग्री थिए : टुचीको मैले भनेको किताबबाट वंशावलीको फोटो कपी, मोहन बहादुर मल्लको ‘सिंजा इतिहासको डोरेटो’, ओंकार प्रसाद गौचनले लेखेको खसहरू सम्बन्धी लेखोट, सोम वंशावली, जाजरकोटे राजाको वंशावली, सल्यानी राजाको वंशावली, चापागाईँको वंशावली, अर्जेलहरूको वंशावली, गोतामेहरूको वंशावली, मेचीदेखि  महाकालीका अत्रि र आत्रेय गोत्र हुनेहरूका सूचना र त्यस्तै अरू सामग्री । रेवामणिजीसँग म परास्त भएँ; मैले उहाँलाई सघाउने वचन दिएँ ।

            मैले ‘पानी पोखरेलको इतिहास तिर’ र ‘काशीदासको ऐतिहासिकता’, जस्ता ३-४ ओटा लेखहरू लेखेको थिएँ । त्यो पनि वंशावलीमा छापिएछ, तर रेवामणिजीको प्राविधिक तालिम र सचेतता ग्रन्थको सम्पादन गर्न पर्याप्त भएनछ भन्ने कुरो किताब प्रकाशित भएर मेरा हात परे पछि मैले थाह पाएँ । वीरेन्द्रकेसरीजीसित मेरो पहिलो भेट हुँदा उहाँले भन्नु भयो, ‘रेवामणिले वंशावली बिगारेछन् ।’ मैले सहमति मात्र जनाएँ ।

            ग्रन्थ पढे पछि मैले थाह पाएँ, त्यो वंशावली बनाउन वीरेन्द्रकेसरी पोखरेलजीले रेवामणिजीलाई धेरै ठुलो सहयोग दिनु भएको रहेछ । वंशावलीमा छापिएको एउटा लेखमा मैले लेखेको थिएँ, ‘रमेश पोखर्‍याल उत्तराञ्‍चल भारतका मुख्य मन्त्री थिए; यसबाट उत्तराञ्‍चल भारतमा पनि पोखरेलहरू रहेछन्, अनुराधा पोड्वालको साइनो पनि नेपाली पौडेलहरूसँग हुन सक्छ, त्यसैले अत्रि गोत्र र आत्रेय गोत्र हुने पोखरेलका गोतीहरू महाकाली पारि पनि हुन सक्छन्; यो कुरो बुझ्‍न हामीले उत्तराञ्‍चल सम्मको यात्रा गर्नु पर्छ । वीरेन्द्रकेसरी पोखरेल र गणेश पोखरेलहरू आफ्नो वंशावली र मस्टो जस्ता कुल देवताको खोजी गर्न पश्चिम नेपालको निकै पर सम्म पनि पुग्‍नु भएछ । मलाई पनि साथमा लगाएर उत्तराञ्‍चल सम्मको यात्रा गर्ने वीरेन्द्रकेसरी पोखरेलजीको इच्छा उहाँ दिवङ्गत भएकाले अधुरो भयो, तर उहाँको इच्छा साकार गराउन पनि नेपालका पानी पोखरेल अथवा अत्रि र आत्रेय गोत्र हुनेहरूले आफ्नो पुर्ख्यौली खोज्न एउटा अनुसन्धान टोली उत्तराञ्‍चल तिर पठाउनु पर्छ भन्ने मलाई लागेको छ ।

            श्रीमान् वीरेन्द्रकेसरी पोखरेलजीको दिवङ्गत आत्माको चिर शान्ति र मोक्षको हार्दिक कामना गर्दछु ।

MX Player Ativador Windows 11 

snaptube pc minecraft download pc