प्रोफेसरले ल्याप्चे लगाएको दिन

झन्डै सतासी वर्षकी भए पछि मेरी आमाले हामी चार भाइमा हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशवण्डा गरी दिने फैसला गर्नु भएछ, त्यसैले सुनसरी मालपोत कार्यालयमा मैले जीवनमै सबभन्दा धेरै ल्याप्चे लगाएको दिन म झन्डै पैँसट्ठी वर्ष पुगी सकेको थिएँ । नेपाली परम्परा अनुसार जग्गा र पैसाको लेनदेनमा गाउँ ठाउँमा सर्वत्र निरक्षरहरूलाई कागत पत्रमा ल्याप्चे ठेसाएर सम्झौता र कबोल पक्का गरिन्छ । मालपोत कार्यालयमा असङ्ख्य ल्याप्चे ठेसाएको दिन मैले भाषा विज्ञानमा पिएचडी गरेको झन्डै पच्‍चिस वर्ष भई सकेको थियो अनि त्रिभुवन विश्व विद्यालयको प्रोफेसर भएको पनि पन्ध्र वर्ष नाघी सकेको थियो । चीनमा एक वर्ष बसेका वेलामा चिनिया अक्षर पढ्न नसक्‍ने हुँदा आफु निरक्षर भएको अनुभव मैले ‘प्राध्यापक डाक्टर निरक्षर’ भन्ने निबन्धमा व्यक्त गरे जस्तै विश्व विद्यालयबाट रिटायर्ड भएको पनि झन्डै डेढ वर्ष नाघे पछि मैले अनगिन्ती पल्ट हरेक ल्याप्चेमा आफु निरक्षर भएको अनुभव गरेँ । मलाई त्यो भन्दा धेरै ग्लानि चाहिँ हाकिमका अगाडि कागजमा फोटो टाँसिएको मान्छे मै हुँ भनेर चिनाउन आफ्नो अनुहार देखाउन उभिँदा भएको थियो । त्यति वेला मैले भनेको पनि थिएँ, ‘मैले त आफ्नो बिहे गर्ने वेलामा पनि बेहुली पट्टिकालाई आफ्नो अनुहार देखाउनु परेको थिएन ।‘

मेरा विचारमा, वास्तवमा, बिहेमा केटाकै अनुहार हेरेको पनि केटाको प्रशंसनीय गुणमा अविश्वास गरेकै हो । त्यहीँ माथि हेरेर केटी वा केटालाई नरोज्नु त जाँचमा फेल गर्नु जस्तै हो । छयालिस वर्ष अगाडि मेरा ससुराले मलाई छोरी दिएका वेलामा सबै कुरा सिध्याएर कुरा टुङ्ग्याउने वेलामा एक पल्ट ‘केटो’ हेर्न माग्‍नु भएको थियो अरे । त्यस वेला म अनुहार देखाउन पुगेको चाहिँ थिएँ, तर मैले कुनै प्रश्नको उत्तर दिनु परेको थिएन । कोही विद्वान् होस् कि निरक्षर होस्, कसैलाई दु:ख लागोस् कि सुख लागोस्, अड्डाले ल्याप्चे नठेसाई छोड्ने रहेनछ ।

माल पोत अड्डामा ल्याप्चे ठोक्‍नु अगाडि खेत बारीको कमाइ खान पाए पनि नपाए पनि आमा र हामी चार भाइ सगोलमा थियौँ । दाजुको चुलो घरबाट छुट्टिएको झन्डै पचास वर्ष भई सकेको थियो; साइँलो भाइको चुलो छुट्टै बलेको पनि तिस बत्तिस वर्ष भई सकेको थियो; मेरा चुलामा छुट्टै आगो बलेको पनि झन्डै तिस वर्ष भई सकेको थियो । मैले धरान छोडे पछि आमा भाइसितै बस्‍नु हुन्थ्यो । दाजु धरानमा बेग्लै कटेरो बनाएर बस्‍नु हुन्थ्यो । त्यति भएर पनि हामी सगोलमै थियौँ ।

आमा काठमाडौँ आएका वेलामा म आमालाई भन्थेँ, ‘तपाईँ छ जना मध्ये चार जना छोरा छोरी काठमाडौँमा छौँ; तपाईँ किन धरानमा बस्‍नु हुन्छ? काठमाडौँ नै आउनु होस् ।‘ आमा जवाफ दिनु हुन्थ्यो, ‘भो, म काठमाडौँ बस्तिन । यहाँ मलाई मानिसहरूले तिमीहरूकी आमा भनेर चिन्छन्; धरानमा मान्छे म भनेरै भेट्न आउँछन् ।‘ आमाको यस्तो विचारले पनि भाइ धरानमा बाँधियो । एक दिन आमासँग घुर्की लगाउन भाइले भनेछ, ‘मेरा दाजुहरू काठमाडौँ गएर मोज गरी रहेका छन्; म चाहिँ त्यसै धरानमा बाँधिई रहेको छु । अब म पनि काठमाडौँ जान्छु ।’ आमाले जवाफ दिनु भयो अरे, ‘न तेरा इच्छाले म तँसँग बसेकी हुँ, न मेरा इच्छाले तँ मसँग परेको होस्; उपियाँ फड्के, जुम्राको घान !’

त्रिभुवन विश्व विद्यालयको अनुगमनमा भाइ पहिले मनोनीत भएर कीर्ति पुर आई पुगेको थियो, तर त्यसका सदस्यको दैनिकी देखेर हो कि किन हो, आजित भएर धरानै फर्क्यो । हामी छ जना दाजु भाइ, दिदी बहिनीमा भाइ सबै भन्दा बाठो र प्रतिभाशाली छ । म सबै भन्दा कम प्रतिभाशाली हुँ भन्ने मलाई लाग्छ । भाइ भन्दा केही कम प्रतिभा दाजुको हो कि साइँलो भाइको हो, म अड्कल गर्न सक्तिन । भाइले पिएचडी दर्ता गर्‍यो, तर पुरा गरेको छैन । छोडी दियो कि, समाएकै छ; थाह छैन । आमाको र भाइको पारस्परिक परिस्थितिले भाइले धरानलाई नै आफ्नो सफलताको कार्य क्षेत्र बनायो । यसैले पनि आमा र भाइ, नङ र मासु; माटाको भर ढुङ्गो, ढुङ्गाको भर माटो हुने अवस्था चली रहेको छ ।

आमालाई पातलो आङको मान्छे मन पर्दैन, त्यसैले आमाले कसैलाई विशेष मायाँ गर्नु हुन्छ कि गर्नु हुन्न भन्ने चाल पाउने एउटा सूत्र छ : आमाको कुनै सन्तान वा आफन्तलाई आमाले जहिले पनि दुब्लाएकै देख्‍नु भयो भने, आमाले त्यसलाई एकदम मायाँ गर्नु हुँदो रहेछ भन्ने र कसैको जिउ ठिकै छ, अरू मोटाएको राम्रो हुँदैन भन्ने आमाको मन्तव्य आयो भने, हामी त्यो आफन्तलाई आमा त्यति मन पराउनु हुँदो रहेनछ भन्ने बुझ्छौँ । जुनसुकै मान्छेले आफुलाई जति कसैलाई मन पराउँदैन भन्ने कुरो दोहोर्‍याई राख्‍नु पर्दैन । यसबाट पनि आमा किन मोटै जिउकी हुनु हुन्छ भन्ने प्रश्‍नको उत्तर आउँछ । पुग न पुग पाँच फुट अग्लाइमा सत्तरी पचहत्तर किलो ओजन छ, तर वेला वेलामा म दुब्लाएँ भनी रहनु हुन्छ । जुन डाक्टरले ओजन धेर भयो भनेर अलिक घटाउन सुझाउ दिन्छ, त्यो डाक्टरलाई नजान्ने डाक्टर घोषित गरी दिनु हुन्छ, अनि जुन डाक्टरले यत्तिको ठिकै छ भन्छ, त्यो डाक्टरलाई मात्र जान्ने मान्नु हुन्छ । ओजनको भारले हो कि किन हो; घुँडा खिइनाले अचेल आमा लट्ठी टेकेर भित्र बाहिर गर्नु पर्ने हुनु भएको छ । दिमाग शक्तिशाली कम्प्युटर जस्तै चल्छ । दुइटा अखबार हेर्नु हुन्छ; टिभीमा समाचार हेर्नु हुन्छ; गाउँ भरिको बिहेबटुलो र मराउ पराउमा परामर्श लिन मानिसहरू आई रहन्छन् । अचेल त मोबाइल फोनबाटै ‘आर्जे’ हेर्न थाल्नु भएको छ ।

पछिल्लो पल्ट म धरान गएका वेलामा आमा केही महिना बिरामी भएर गल्नु भएछ; सुत्‍ने खाटै छेउमा भाइले एउटा अस्थायी कमोड राखी दिएछ । त्यो सबै सरसफाइ कान्छी बुहारी गर्दी रहिछन् । मैले उनलाई भनेँ, ‘तिमीले हामीलाई रिन लगायौ ! यो काम सबै हामीले गर्नु पर्ने हो । जसले दिसा पिसाब सोहोर्छ, त्यो आमा हो। पूर्व जन्ममा तिमी आमाकी पनि आमा अर्थात् हाम्री हजुर आमा थियौ होला; तिमीलाई धन्यवाद !’ कान्छी बुहारी आमा र भाइका कार्यालयकी योग्य सचिव जस्ती छिन् । धेरै पल्ट उनले दिएको सुझाउ र सतर्कताको आमा प्रशंसा गर्नु हुन्छ ।

आमाले फोनमा मलाई भन्नु भएको थियो, ‘मैले विजय पुरको जग्गा चार ओटा छोरालाई बाँडी दिने; पान्माराको खेत दुइटी छोरी र कान्छी बुहारीलाई एक एक कट्ठा पास गरी दिने र बक्लौरीको खेत मेरा सेख पछि छोराहरूमा जाने गरेर पास गरी दिने फैसला गरेकी छु ।’ आमाका न्यायका तराजुको बराबरी गर्न सक्‍ने संसारमा कुनै त्यस्तो न्यायालय छ र ! अचेल असङ्ख्य आमाहरू गर्भ तुहाई रहेका छन्; कति आमाहरू जन्मने बितिक्‍कै सन्तानको घिच्रो निमोठी रहेका छन्; कति आमाहरू जन्म दिएर सन्तानलाई त्यसै फाली दिई रहेका छन् । त्यस्ता आमाहरूले त आफ्ना सन्तानका विषयमा गरेका फैसलाको विरुद्ध संसारको कुनै न्यायालयले केही लछारपाटो लगाउन सक्तैन भने, मेरी आमाको फैसलामा मैले नतमस्तक नहुने कुरै छैन । बरु मलाई के दु:ख लाग्यो भने, बिहे गरेका छोरीलाई आमा बाबुले बराबरी अंश दिने कुनै कानुनै रहेनछ ! आमाले छोरी बुहारीलाई बकस पत्र दिनु पर्दो रहेछ । सोक्रेटिसले आफ्ना छोरा र छोरीमा पक्षपात गर्ने गाउँलेहरूलाई आफ्ना छाउरा र छाउरीलाई बराबर मायाँ गरेर चाटी रहेको कुकुर्नी देखाएर भनेका थिए अरे, ‘कुकुरले जति पनि आफ्ना सन्तानमा बराबर न्याय गर्न नसक्‍ने तिमीहरू कसरी कुकुर भन्दा सभ्य भयौ त !’

आमाको इच्छा अनुसार मेरा बहिनीहरू केही दिन अगाडि नै धरान पुगी सकेका थिए । पास गर्ने दिन दुइटा छोरा लिएर म इनरुवामै ओर्लेँ; साइँलो भाइ सोझै विराट नगरबाट इनरुवै पुग्यो । आमा, दाजु, भाइ, दुइटी बहिनी र कान्छी बुहारीसित मालपोत कार्यालयमै मेल र ढोगभेट भयो । आमाले अंश दिँदा मेरा दाजु त्रियहत्तर वर्षको भई सक्‍नु भएको थियो । मैले सोचेँ, ‘मेरा जेठा छोराले पनि अंश पाउन किन त्रियहत्तर वर्ष पर्खिनु पर्‍यो ! मलाई पैसाको कामै छैन । मैले पैसा फलाउने बाटै रोजिन । विश्व विद्यालयले दिएको पेन्सनले मलाई र मेरी श्रीमतीलाई बाँच्‍न पुगी हाल्छ । धरानको जग्गा म सम्हाल्न पनि सक्तिन, आमाले दिएको अंश छोड्न पनि सक्तिन, त्यसैले आमाले मलाई दिएको अंश दुइटै छोरालाई पास गरी दिएर आउन मैले छोराहरूलाई पनि लिएर गएको हुँ ।

केटाकेटीदेखि नै भाइ बाठो र प्रतिभाशाली थियो; चौध वर्षकै उमेरमा एसएलसी पास गर्‍यो; अङ्क गणितका हिसाब मुख मुखै मिलाउँथ्यो; कुरामा छुरा थियो; जुनसुकै खेल समात्यो, च्याम्पियन भई हाल्थ्यो; चेस खेलमा अनेक पल्ट पुरस्कार जित्थ्यो; बालखदेखि बुढा सम्मलाई साथी बनाउन खप्पिस थियो । भाइ जिम्मा लिएका ठुल्ठुला काम एकदम कुशलतापूर्व व्यवस्थापन गर्छ; व्यवस्थापन विज्ञानको सक्कली गुरु हो । कुरा र तर्क गर्नमा अद्वितीय भएकाले धरानको बुद्धिजीवी समाजमा भाइले केन्द्रीय र अद्वितीय ठाउँ ओगटेको छ । कूट नीतिमा खप्पिस भएकाले धरानमा उसले ‘चाणक्य’ भन्ने नाम कमाएको छ भन्ने म वेला वेलामा सुन्दछु । भाइको बुद्धि र व्यवस्थापनबाट आमा एकदम मक्ख हुनु हुन्छ । आमाको इच्छा अनुसार मालपोत कार्यालयमा सके सम्म कम समयमा अंश बण्डाको काम सकिने गरी भाइले व्यवस्थापन गरेछ; काम र कागज मिलाउने ओकिल पनि ठिक्क, मान्छे पनि ठिक्क, सबै चाँजो मिलाएको !

भाइको व्यवस्थापनले मलाई एउटा मात्र अप्ठ्यारो भयो : मेरा छोराहरूको चाहिँ अंशबण्डाको नभएर बकस पत्रको कागज बनाई दिएछ । त्यसले गर्दा छ सात हजारमा पुग्‍ने मेरो काम झन्डै पैँतिस छत्तिस हजार तिर्नु पर्ने खण्ड आयो । हामी तिनै जना बाबु छोराको खल्ती छाम्दा पनि त्यति पैसा पुग्‍न सकेन, त्यसैले हामी बाबु छोरा चाहिँ त्यो दिन धरान वास बस्‍न जान पाएनौँ । भोलि पल्ट मैले छोरालाई आफ्नो जग्गा बाँडी दिएँ, आमाको अंश बण्डा पत्र र बकस पत्रको फोटो कपी पनि बनाएँ । यस पल्ट म धरान जान भ्याइन; अब धरानमा मेरो जग्गा जमिन छैन । यसरी अंश नपाउँदा भन्दा आमासँग अंश पाउँदा म दु:खले फतक्‍क भएँ ।

मालपोत कार्यालयमा असङ्ख्य पल्ट ल्याप्चे लगाएको दिन म आमा र भाइ बहिनीको सुझबुझबाट कति सम्म प्रभावित भएँ भने, मैले त्यसै दिनदेखि मेरा भाइ बहिनीहरूलाई गुरु ऋणबाट मुक्त गरी दिएँ । बण्डा पत्रको कागजमा सही ठेसेको भोलि पल्ट मात्र फोटो कपी गरेर मैले के के कुरा कबोल गरेँछु भनेर पढ्ने म जस्ता प्रोफेसरलाई पटकपटक ल्याप्चे ठेस्‍न लगाएको माल पोत कार्यालयको प्रतीकात्मक अर्थ म अहिले पो बुझी रहेको छु । ल्याप्चे ठोक्‍ने चलनको इतिहास र प्रागितिहासका जग्गा बेचैपिच्छेका घटनाहरू अब कहिले पालै पालो कहिले तँ छाड् म छाड् गरेर आउँछन् अनि अड्‍डाहरूमा म जस्ता सिल्पट प्रोफेसरहरूलाई निल्ल बनाउँछन् ।

Leave a Reply