उल्टो बाटोमा शिक्षा

By | December 24, 2018
  • नेपालको प्रचलित शिक्षाको फल\ हाम्रो शिक्षाको समस्या

 

हामीले नेपालमा प्रचलित ‘शिक्षा’ को परिभाषा नै उल्टाउनु पर्ने अथवा नफेरी नहुने भएको छ, किन भने हामीले लिएको शिक्षा हामीलाई आदर्श नेपाली हुन काम लागी रहेको छैन । मेरै परिवारका सदस्य उत्कृष्ट नम्बर ल्याएर पास भए, तर उनीहरुले पाएको त्यो उत्कृष्ट दर्जा उनीहरुलाई नेपालको भूगोल, इतिहास, जात, जाति र संस्कृति चिन्न अनि नेपालकै विकासमा हात मिसाउन र बुद्धि लगाउन काम लागी रहेको छैन । उनीहरुले पाएको जुन शिक्षाले उनीहरुलाई ‘उत्कृष्ट’ योग्यता दियो, त्यो योग्यता नेपालमा काम लाग्दैन अरे, नेपालमा भन्दा शक्तिशाली विदेशमा उनीहरुको योग्यताले उचित ठाउँ पाउँछ अरे, अनि उनीहरुको ‘उन्नति’ विकसित विदेशमै मात्र हुन सक्छ अरे ।

यसरी नेपाली आमा बाबुले सकी नसकी दुःख गरेर कमाएको पैसाले किनेको छोरा छोरीको योग्यता विदेशलाई मात्र काम लाग्ने भई रहेको छ भने, नेपालको शिक्षा मन्त्रालय चाहिँ बजारमा बिक्ने बिरुवाका बेर्ना हुर्काउने बियाड र नर्सरी फारम मात्रै हो कि बजारमा सप्लाई गर्न चल्ला कोरल्ने कुखुरा फारम अथवा पाठा हुर्काउने खोर मात्रै हो? हाम्रो शिक्षा मन्त्रालयले उच्चतम अङ्क दिएर नेपाललाई नै काम नलाग्ने र विदेश तिरै सप्लाई गर्ने ‘उत्कृष्ट योग्यता’ भएका विद्यार्थीहरुको उत्पादन किन गरी रहेको छ? राष्ट्रको ठुलो लगानी गरेर हाम्रो शिक्षा मन्त्रालयले नेपालको श्रम शक्तिको उन्नयन गरी रहेको छ कि विदेशको हितमा जन शक्ति उत्पादन गर्न क्रियाशील छ? के यसैलाई ‘नेपाली शिक्षा विकास’ भन्ने?

शिक्षा मन्त्रालय (विश्व विद्यालय र विद्यालय) ले बनाएकै पाठ्य वस्तु ‘सिकेका’ र ‘उत्तीर्ण भएका’ मानिने हाम्रा अधिकांश विद्यार्थीहरुमा पाठ्य वस्तु सिकेर आउनु पर्ने योग्यता र सिप चाहिँ किन आई रहेको छैन भन्ने अर्को एउटा प्रश्न छ । शिक्षा व्यवस्थाले राष्ट्रलाई चाहिने ‘योग्यता’ भनेकै नेपाललाई नभएर विदेशलाई काम लाग्ने ‘योग्यता’ बुझेको देखिन्छ, तर व्यवहारमा के देखिन्छ भने, विदेशका लागि काम लाग्ने पाठ्य क्रम सिकाए पनि जापान, अस्ट्रेलिया, युरोप र अमेरिकालाई जस्तो योग्यता भएको जन शक्ति चाहिएको हो, त्यस्तै ‘योग्यता’ भएका विद्यार्थीहरु नेपालले बर्सेनि थोरै मात्र उत्पादन गर्न सकी रहेको छ । यसरी शिक्षा मन्त्रालयको अधिकांश उत्पादन (पाठ्य क्रमको यथार्थ उद्देश्यमै नभएको) राष्ट्रलाई काम लाग्ने त कुरै भएन, अति विकसित विदेशलाई पनि काम नलाग्ने भई रहेको छ। न देशलाई काम लाग्ने न अति विकसित विदेशलाई काम लाग्ने नेपाली युवाहरुले पाएका ‘प्रमाण पत्र’ का खोस्टाहरु उनीहरुलाई द्रुत आर्थिक विकासमा ठुल्ठुला फड्का हाली रहेका एसियाली देश दक्षिण कोरिया, मलयेसिया र अरब मुलुकहरुमा पाखुरे मजदुर हुन ‘काम’ लागी रहेका छन् । तिनीहरु धेरै म्यानपावर कम्पनीहरुका ठगीमा पनि परेका छन् । शिक्षा मन्त्रालयको पहुँच नपुगेका विद्यालयको शिक्षाबाटै वञ्चित र शोषित थुप्रै नेपालीहरु नेपालका सहर बजार र ‘स्वतन्त्र’ भारतमा ऐच्छिक र अनिवार्य ‘शारीरिक’ ‘श्रम’ गरी रहेका छन् ।

बहत्तर सालको महाभूकम्पमा देशमा विध्वंश भएका वेलामा पनि ‘नेपालमा कामै छैन’ भनेर ग्वार्ग्वार्ती थुप्रै नेपाली युवाहरु विदेश जान जेट चढी रहेको व्यङ्ग्य चित्र शिक्षा मन्त्रालयले पढ्न सकेन र यो देश चलाउनेहरुले बुझ्न सकेनन् । हामीले शिक्षाका नाउँमा पाई रहेको ‘ज्ञान’ हाम्रो सम्पदा, इतिहास, जात, जाति, परम्परा, संस्कृति, साहित्य, भाषा, भेस र अस्मितालाई बेवास्ता गरेर अथवा खसालेर तल्लो दर्जाको र कामै नलाग्ने ठहराउने क्षमतालाई हामी हाम्रो विशेष योग्यता ठानेर गजक्क परी रहेका छौँ। नेपालका विद्यालय र विश्व विद्यालयमा विदेशमा बिकाउ हुने योग्यताले पुरस्कार पाई रहेको छ; कहिले काहिँ त नेपाली हुन काम लाग्ने योग्यताले दण्ड पाई रहेको पनि देखिन्छ । नेपाली अथवा आफ्नो मातृभाषा बोल्यो भने, नेपालका विद्यालयहरुमा दण्ड दिने बेथिति चलेकै छ । नेपालको अनिवार्य शिक्षाले चाहिँ विदेश र विदेशीलाई काम लाग्ने अर्दलीहरुको उत्पादन गरी रहेको छ।

 

  • विकसित देशको शिक्षा

 

जापान फाउन्डेसनको विद्वद् वृत्ति दुई पल्ट पाएर जापानको कोबे सहरमा जम्माजम्मी दुई वर्ष बस्ता मैले जापानी शिक्षा र पढे लेखेको अथवा शिक्षित जापानीको योग्यता र बानी बेहोरा आत्मीय भावले गहिरोसँग नियालेँ । म जापान र जापानी बेहोरा देखेर तिनछक परेको छु । म भारतको पुणें सहरमा पिएचडी गर्न दुई वर्ष बसेँ, चीनको पेइचिङमा चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर एक वर्ष बसेँ, अमेरिकाको बोस्टन म्यासाचुसेट्सका एमआइटी र हार्वर्ड विश्व विद्यालयहरुमा लिङ्ग्विस्टिक सोसाइटी अफ अमेरिकाले चलाएका ग्रीष्मकालीन कक्षामा पढ्न डेड महिना बसेँ अनि भाषा वैज्ञानिक गोष्ठीहरुमा भाग लिन जर्मनी, स्विट्जर्ल्यान्ड र स्विडेन पाँच दश दिन बसेँ । यसरी विदेशमा बस्ता मैले विदेशको चाँजो र विदेशीहरुको आनीबानी धेरथोर मात्रामा अध्ययन गर्ने मौका पाएँ । अरुसँग भिडिए पछि अथवा तुलना गर्न पाए पछि मात्र मान्छेले आफ्नो पन पनि टड्कारो रूपमा चिन्ने रहेछ । विदेशीहरुलाई नेपाली नपढाएको भए, म नेपाली भाषाको मर्म पनि ठिकसित बुझ्न सक्ने रहिनछु भन्ने चाल पाए पछि मात्र मैले भाषा विज्ञानमा पिएचडी गरेको हुँ ।

मैले आफु पुगेको र बसेको हरेक विदेश र सम्पर्कमा आएको हरेक विदेशीबाट नेपाल र नेपालीलाई काम लाग्ने केही न केही नौलो कुरो सिकेको छु, तर शिक्षाका कुरामा म जापानीहरुको आदर्शबाट जति गहिरोसित प्रभावित भएको छु, त्यति अरुबाट प्रभावित भएको छैन ।

 

  • मेकालेले भारतका लागि प्रस्ताव गरेको ‘कुटिल’ शिक्षा

 

बेलाइती उपनिवेश बनाए पछि दिगो र अखण्ड शासन गर्न भारतमा संस्कृतको साटो अनिवार्य अङ्ग्रेजी शिक्षा लाद्‍नु पर्ने विचार अघि सार्दै लर्ड थोमस मेकालेले बेलाइती संसदमा (२ फरबरी १८३५) यस्तो प्रस्ताव राखेका थिए अरे, “मैले भारतवर्षमा सर्वत्र चाहार्दा एउटै माङ्ने पनि देखिन, एउटै चोर पनि फेला परेन । त्यहाँका मान्छेको कस्तो उच्च नैतिकता ! कस्तो महान चरित्र ! त्यहाँको कस्तो समृद्धि ! अहँ ! मलाई त के लाग्यो भने, त्यहाँको आध्यात्मिक र सांस्कृतिक सम्पदा अनि प्राचीन शिक्षा प्रणालीलाई हटाएर (अर्थात्, तिनीहरुको अस्मिताको ढाड भाँचेर) त्यसका ठाउँमा हाम्रो लगाएनौं भने, मरी गए, हामी त्यस देशलाई जित्न र त्यहाँ दिगो शासन गर्न सक्तैनौँ । त्यति गरे पछि (अर्थात्, संस्कृत माध्यमको उनीहरुको शिक्षाको साटो अङ्ग्रेजी माध्यमको हामीले योजना गरेको शिक्षा लाद्यौँ भने) मात्रै, बल्ल, भारतीयहरुलाई जे जे बेलाइती र विदेशी हो, त्यो नै आफ्नो भन्दा उन्नत हो भन्ने पर्छ । त्यति भए पछि चाहिँ तिनीहरुले आत्मसम्मान र जातीय संस्कृति गुमाउँछन्, अनि मात्र हामी पराजित राज्यका नागरिकलाई झैँ तिनीहरुलाई हामीले जे भन्यो त्यही मान्ने बनाउन सक्छौँ ।”

मेकालेको त्यो प्रस्ताव मानेर बेलाइतले भारतमा संस्कृत शिक्षाको साटो अनिवार्य अङ्ग्रेजी शिक्षा लादेको चार वर्ष पछि (१८३९ ई० मै) भारतमा चलेका अङ्ग्रेजी इस्कुलको प्रभाव कस्तो मेकालेले चिताए जस्तो देखिन थाल्यो अरे भने, मेकालेले आफ्ना बाबुलाई रमाएर लेखेको चिठीको भाका यस्तो छ :

मेरा प्यारा बा,
हाम्रा अङ्ग्रेजी इस्कुलहरु उदेक लाग्ने गरी सप्री रहेका छन् । हिन्दुहरुमा अङ्ग्रेजी शिक्षाको असर अच्चम्म लाग्दो गरी देखिन थालेको छ । अबदेखि अङ्ग्रेजी पढेको कुनै हिन्दु पनि आफ्नो धर्ममा इमानदार हुन सक्तैन । अब कतिले हाम्रै नीतिको पालन गरी रहन्छन्, अनि कति त, धर्म परिवर्तन गरेर इसाई नै हुन्छन् । मलाई त के विश्वास छ भने, हाम्रो शिक्षा योजना यसै गरी सफल भएर चल्यो भने, अब आजको ३० वर्ष पछि बङ्गालका छेत्री बाहुनका घरमा मूर्ति पूजा गर्ने मान्छे एउटै पनि भेटिँदैन । यो सबै काम धर्म परिवर्तन गराउने कुनै प्रयास नगरे पनि, धार्मिक स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरे पनि उनीहरुले पाएको ज्ञान र त्यसले जन्माउने सोचबाटै स्वतः सम्भव हुन्छ । यो कुराले म कस्तो गदगद भएको छु!

यहाँलाई सदा मायाँ गर्ने
टी०बी० मेकाले
कलकत्ता
१२ अक्टोबर १८३९

[My dear father ,
Our English Schools are flourishing wonderfully . The effect of this education on the Hindus is prodigious. No Hindoo who has received English Education , ever remains sincerely attached to his religion , some continue to profess it as a matter of policy and some embrace Christianity ., . It is my belief that, if our plans of Education are followed up, there will not be a single idolator among the respectable castes in Bengal, thirty years hence, and this will be affected without any effort to proselytise , without the smallest interference with religious liberty by natural operation of knowledge and reflection . I heartily rejoice in the prospect.

Ever yours most affectionately,
T. B. Macaulay.
Calcutta 12 October 1839]
मेकालेले आफ्ना बाबुलाई यसरी चिठी लेखेका थिए ।

 

  • जापानमा शिक्षाको मूल मन्त्र

 

मेइजी युग (उन्नाइसौँ शताब्दी) मा जापानलाई सबल बनाउन पाश्चात्य शिक्षा विधि र प्रणाली नै भित्र्याइयो । त्यसका लागि एकातिर जापानी विद्यार्थीहरुलाई पाश्चात्य विश्व विद्यालयमा तालिम लिन पठाइयो भने, अर्कातिर विदेशी विद्वान्‌लाई नै जापानमा पढाउन निम्त्याइयो ।  यसरी पाश्चात्य शिक्षाको विधि र प्रणाली अपनाउँदा विद्यार्थीलाई विदेशी जस्तो होइन, झन दरो जापानी जस्तो बनाउने नीति लिइयो । आज जापानमा झन्डै शत प्रतिशत शिक्षित छन् । दोस्रो विश्व युद्धले तहसनहस भएको जापानलाई पाश्चात्य शिक्षा र प्रविधिकै माध्यमबाट एकदम छिटो आर्थिक रूपले सबल र समृद्ध बनाउने लक्ष्य राखियो ।

जापानी विद्यार्थीहरुलाई पाश्चात्य शिक्षा दिँदा कसरी झन दरो आत्मबल भएका जापानी नै बनाउने भन्ने लक्ष्य पुरा गर्न तिनीहरुलाई जापानी अनुशासन (हान्सेई) अनिवार्य बनाइयो । यसरी हरेक शिक्षित जापानीले देश विदेशमा जता पुगे पनि आफ्नो ‘जापानी अनुशासन’ बिर्सन सक्तैन र उ जापानीको जापानी नै हुन्छ । मेकालेको शिक्षा प्रणालीको बिख लागेका भारत र भारतको सिको गर्ने दक्षिण एसियाका विद्यार्थीहरु जति मात्रामा आफ्नो राष्ट्रिय र जातीय अस्मिता गुमाउँछन् र युरोप अमेरिकाका बेहोरा सिक्छन्, त्यत्तिकै मात्रामा मेकालेको बिख नलागेका अरु नेपाली भन्दा आफुलाई बढ्ता जान्ने, बढ्ता उन्नतिशील, बढ्ता प्रगतिशील, बढ्ता आधुनिक, बढ्ता बुज्झकी र बढ्ता विकसित ठान्छन् ।

दुई वर्ष जापानमा बस्ता मैले आफुलाई जापानी हुँ भन्ने बिर्सेर जापान र जापानी परम्पराको आलोचना र विरोध गर्ने एउटै जापानी पनि भेटिन । जापानीहरुको यो बेहोरा विद्यार्थीलाई शिक्षित बनाउँदा आफ्नो परम्परागत अनुशासन अनिवार्य रूपमा सिकाउन अल्छी नगर्ने र जापानीले बढ्ता सिकेको नै जापान र जापानीलाई नै बढ्ता समृद्ध र बढ्ता विकसित बनाउन र हरेक जापानीलाई झन बढ्ता ‘जापानी’ बनाउने नीतिले नै भएको हो भन्ने मलाई लाग्छ ।

हरेक जापानी बालखलाई आदर्श जापानी र आदर्श मान्छे बनाउन एकै छिन पनि आमाले बिर्सिँदैनन्, परिवारका हरेक सदस्यले बिर्सिँदैनन्, छरछिमेक र जापानी समाजले बिर्सिँदैनन्, विद्यालयहरुले बिर्सिँदैनन्, साथीहरुले बिर्सिँदैनन् र पुरै राष्ट्रले बिर्सिँदैन । जापानी समाजका यी हरेक गुरुसँग सबै जापानी बालखले अनिवार्य रूपमा अनुशासन सिक्छन् ।

त्यस अनुशासनमा हरेक जापानी बालखलाई आफ्नो काम सके सम्म आफैँ गर्न सिकाइन्छ, भ्याए सम्म आमा, बाबु र परिवारलाई घरको काम सघाउन सिकाइन्छ, छरछिमेक र समाजमा अभर परेको मान्छे देखियो भने, भ्याए सम्म आफ्नो काम छोडेर पनि सघाउन सिकाइन्छ, विद्यालयमा र अन्यत्र साथीहरुलाई र अरु नचिनेको परचक्रीलाई नै पनि भेटे सम्म र जाने सम्म मद्दत गर्न सिकाइन्छ । बालखलाई आदर्श जापानी बनाउन आमा, बाबु, परिवार र विद्यालय लगायत सबैले आफ्नो जिम्माको काम र कर्तव्य जसरी भए पनि पुरा गर्नु आफ्नै उत्तरदायित्व ठान्न सिकाउँछन् । यसरी परिवार, विद्यालय र समाज सबैले कसैले गल्ती गरेको देख्ने बितिक्कै आदर्श जापानी, आदर्श नागरिक र आदर्श मानव बन्न समाज, परम्परा र राष्ट्रले ठहराएका अनुशासन, चलन, नैतिकता र कानुनको सम्मान र पालन गर्न अल्छी नमानी सिकाउनु आफ्नो कर्तव्य ठान्छन् । यी सबै सामाजिक गुरुहरुले जुनसुकै जापानी केटा केटीलाई आफ्नो लक्ष्यमा पुग्न जति कडा मेहनत गर्नु परे पनि कसै गरी नछोड्नु, किन भने कोसिस गर्‍यो भने, पुग्न नसकिने कुनै लक्ष्य पनि हुँदैन (यारेबा देकिरु) भन्ने मन्त्र सिकाएका हुन्छन् ।

नेपालमा भन्दा जापानमा पारिवारिक घनिष्ठता कस्सिलो छ भन्ने मलाई लाग्छ । जापानमा पारिवारिक घनिष्ठताको जुइनो नै महिलाका हातमा हुन्छ । जापानी परिवारमा शिक्षित आमा (क्योउइकु ओखाःसान) को नै आफ्ना हरेक सन्तानलाई आदर्श जापानी बनाएर समाजलाई नै आदर्श बनाउने मूल भूमिका हुन्छ । आफ्ना हरेक सन्तानलाई मायाँको वातावरण दिनु, निरन्तर आँट र उत्साह दिनु, निश्चित लक्ष्य दिनु, चौतर्फी सुरक्षा दिन कान ठाडा पार्नु, सन्तानले पाउने शिक्षाको गुण स्तरमा चनाखो हुनु, पढाइ बिग्रिन्छ कि भनेर सतर्क हुनु, गृह कार्य गर्न सघाउनु, सन्तानको पढाइमा घरको वातावरणले कतै बाधा गर्छ कि भनेर होस गर्नु अनि सन्तानको पढाइको विषयमा उनीहरुका विद्यालयमा निरन्तर सम्पर्क राख्नु सबै जापानी आमाहरु आफ्नो परम कर्तव्य सम्झिन्छन् र आफ्नो कर्तव्यबाट विचलित हुँदैनन् ।

हाम्रो नेपाली र दक्षिण एसियाली शिक्षामा यी सामाजिक गुरुहरुको भूमिकाको अत्यन्त बेवास्ता (र अनादर) गर्ने चलन छ, तर जापानमा जब बालखको नाउँ विद्यालयमा लेखिन्छ, त्यहाँ उसले घरमा कहिल्यै नसिकेका नौला अनुशासनका पाठ सिक्नु पर्छ । जुनसुकै जापानी प्राथमिक विद्यालयमा ‘हामीले लक्ष्य तिर अघि बढ्न कडा मेहनत गर्नु (गाम्बारु) पर्छ’, ‘हामीले अरु सबैलाई दया मायाँ गर्नु (यासासिई) पर्छ’, ‘हामी सबै स्वस्थ र दरा हुनु (ज्योबुना) पर्छ’ अनि ‘हामीले मन लगाएर पढ्नु (सुसुन्दे बेङ्क्योउ) पर्छ’ भन्ने लेखिएका शिक्षाका मन्त्रहरु टाँसिएका हुन्छन् । हरेक जापानी विद्यालयको मूल लक्ष्य नै ‘आदर्श मान्छे’ (निङ्गेनरासिई) बनाउने हो, त्यसैले हरेक विद्यार्थीलाई अरुलाई मायाँ र सहानुभूति गर्ने (ओमोइयोरी), शिष्ट, सभ्य र भद्र (यासासिई) बन्ने, सामाजिक (स्याकाइसेई) हुने अर्थात् सबैसँग मिल्ने र अरुलाई सहयोग गर्न (क्योचोउसेई) सदा सर्वदा तत्पर रहने अनि नियमको पालना नगरेको देख्ने बितिक्कै साथीले नै आलोचना गर्ने (स्यामे) अर्थात् साथीले पनि शिक्षा र तालिमको अभ्यास गराउने अनुशासन पाइन्छ ।

विद्यालयको मूल कर्तव्य भनेको नै विद्यार्थीहरुलाई समाजमा अरुको अगाडि हँसिलो र मिजासिलो हुने, स्वस्थ हुने, बहुमुखी प्रतिभाको विकास गर्ने, समाजका सबैलाई आफ्नै परिवारको मान्छे झैँ ठानेर व्यवहार गर्ने, सिर्जनात्मक प्रतिभाको विकास गर्ने र सही निर्णय गर्न सक्ने क्षमताको विकास गराउने हो । विद्यालयको यो दर्शन अनुसार नै कक्षामा विद्यार्थीहरुले गर्ने आचरण र व्यवहार, विद्यार्थी र शिक्षकको सम्बन्ध र गतिविधि अनि राष्ट्रिय पाठ्य क्रम सञ्चालित हुन्छन् ।

जापानी विद्यार्थीहरुलाई यी सांस्कृतिक नैतिक शिक्षा पालन गराउन पढाउने गुरुहरुले मात्र होइन, सहपाठी साथीहरुले र विद्यालयका कर्मचारीहरुले पनि सतर्क बनाउँछन् । हरेक विद्यार्थीले सिनिक्क भएर विद्यालय आउनु पर्छ, किताब, कापी र पाटीमा पनि कतै फोहोर लाग्नु हुँदैन । विद्यार्थीले कक्षामा ध्यान दिएर सुन्ने, एकाग्र भएर सिक्ने, सिकाएको हरेक कुरो जसरी सिकाएको छ त्यसै गर्ने र विद्यालयका अनुशासन कसै गरी नबिर्सिने कुरामा पढाउने शिक्षकले चनाखा भएर निगरानी गर्छन् ।

प्राथमिक तहको जापानी पाठ्य क्रम नै विद्यार्थीहरुलाई जापानी समाज चिनाउन र समाजसित मिलाउने र विद्यार्थीलाई समाजमा आदर्श जापानी हुन कसरी सहयोग र भर गर्ने भन्ने लक्ष्यबाटै निर्धारित हुन्छ । जापानी विद्यालयमा आदर्श जापानी बन्न काम लाग्ने नैतिक शिक्षा अनिवार्य रूपमा पढाइन्छ । त्यस नैतिक शिक्षामा अरुको स्वतन्त्रताको सम्मान गर्ने र हनन नगर्ने अनि आफ्नै उत्तरदायित्व चाहिँ कहिल्यै निबिर्सने दुइटा कुरा मूल रूपमा सिकाइन्छ, त्यसैले हरेक जापानीले आफ्नो कर्तव्य र जिम्मेवारीको मात्रै ख्याल राख्छ, अर्काको चियोचर्चो र आलोचनामा धेरै समय खेर फाल्दैन । यसरी जापानी नैतिक शिक्षामा हरेक जापानीले आफ्नो परिवार, आफ्नो विद्यालय, आफुले जागिर खाएको संस्था, आफ्नो राष्ट्र, आफ्नो राष्ट्रिय संस्कृतिमा सर्वत्र पारस्परिक सहयोग, जाँगर र उत्साह, लिन सिक्छ ।

सबै जापानी केटा केटीलाई आफ्नो राष्ट्र आफ्नै परिवार हो भन्ने सिकाइएको हुन्छ । जापानमा केटा केटीलाई माथि उल्लिखित गुरुहरुले जे जे सिकाउँछन्, त्यो सबै कुरो आमा, बाबु, परिवार, छिमेक, विद्यालय, समाज र राष्ट्रका हरेक नागरिकले अचुक रूपमा पालन गर्दछन् । सिकाउनेले नै पालन गर्न नसक्ने कुराले केटा केटीमा उल्टो असर पर्छ भन्ने हरेक जापानीलाई थाहा छ । त्यसैले पाइलैपिच्छे ढाँट्ने आमा बाबुले आफ्ना छोरा छोरीलाई ‘ढाँट्नु हुँदैन’ भनेर सिकाउने चलन जापानमा पाइँदैन । जापानमा केटा केटीलाई जे जे सिकाइन्छ, समाजमा कसैले पनि त्यसको उल्टो आचरण गरेर केटा केटीलाई देखाउँदैन, त्यसैले केटा केटीलाई ‘यसो गर्नु हुँदैन, यसो पो गर्नु पर्छ त’ भन्ने अर्ती जापानमा खालि आमा, बाबु, परिवार, साथी, छिमेक र विद्यालयले मात्र दिँदैनन्, बिराएको देख्ने बितिक्कै जुनसुकै पराईले पनि अर्ती दिई हाल्नु आफ्नो कर्तव्य ठान्छ, र केटा केटी अथवा जोसुकै गल्ती गर्नेले त्यसरी सतर्क बनाउनेलाई निहुरेर ‘गोमेन नासाई’ (मैले बिराएँ; माफ गर्नु होस्) भन्ने माफी मागी हाल्ने चलन छ । यसरी जापानी केटा केटीलाई सामाजिक र सांस्कृतिक शिक्षा दिन अनि हेरविचार र मद्दत गर्न पुरै समाज लागी परेको हुन्छ । जुनसुकै जापानी केटा केटीले जापानी परम्परा र संस्कृतिमा आदर भाव राखोस् भन्ने नै सबै किसिमका औपचारिक र अनौपचारिक जापानी शिक्षाको लक्ष्य हुन्छ । यसरी सबै केटा केटीलाई आफु अरु भन्दा फरक हुन होइन, आफु अरु जस्तै कसरी बन्ने भन्ने सिकाइन्छ । सांस्कृतिक शिक्षाको मर्म नै यही हो ।

हरेक जापानी बालख अनुशासित, नम्र, शिष्ट, सभ्य र आदर्श जापानी बनोस् भनेर पुरै देश एक मत भएर लागेको हुन्छ । यसरी जापानी शिक्षाले हरेक विद्यार्थीलाई जति धेरै पढ्यो, उति धेरै जापानी बन्न सिकाउँछ भने, हामीहरु कहाँ चाहिँ पढेको मान्छे आमा, बाबु, परिवार र समाज भन्दा आफुलाई बढ्ता जान्ने, बढ्ता सभ्य, बढ्ता बाठो र बुज्झकी भएको ठान्दछ । अर्थात्, पढेको नेपाली चाहिँ नेपाललाई कामै नलाग्ने भई रहेको छ । यसरी पढेको नेपाली चाहिँ बेग्लो, स्वार्थी र आफ्नै समाज, संस्कृति र परम्परालाई घृणा गर्ने अथवा मन नपराउने र सके सम्म बिर्सन खोज्ने र रात दिन विदेशकै सिको गरेर, विदेशकै भाषा, भेस, अभ्यास र सपनाको जप गरेर सभ्य हुने अन्धविश्वासमा डुबेको हुन्छ । मेकालेले भारतीय प्रजाका लागि चाहेको ‘विशिष्ट योग्यता’ ले सम्पन्न बनाउनु र विदेशकै खुल्ला बजारमा आफ्ना ‘उत्कृष्ट’ उत्पादनलाई विसर्जन गर्नु नै आफ्नो देशको शिक्षा योजनाको मूल मन्त्र र शिक्षा विकासको सफलता मान्ने चलन छ ।

 

  • नेपालले रोज्नु पर्ने शिक्षाको मूल मन्त्र

 

बेलाइती भारतका प्रजालाई सधैँ दिगो शासन गर्ने कुनियतले मेकालेले (विदेशी शासकले आफ्नो राष्ट्रिय स्वार्थवश) डिजाइन गरेको पाश्चात्य शिक्षा र मेइजी युगमा जापानले आफ्नै देशको विकास, समृद्धि र सामर्थ्य बढाउन डिजाइन गरेको पाश्चात्य शिक्षाले भारत, पाकिस्तान र नेपाल जस्ता दक्षिण एसियाली मुलुक र जापानमा फरक फरक स्वादको फल फलाई रहेको छ ।

आफ्नो संस्कृति, सभ्यता, र परम्परागत अनुशासन नछोडी त्यसलाई पनि विकास गर्दै जापानले त्यही पाश्चात्य शिक्षाको उपयोग गरेर आफ्नो देशलाई झन सबल, झन झन आत्मनिर्भर,  र एसियाकै सबभन्दा विकसित र समृद्ध देश बनाउन सक्यो, तर भारतलाई बेलाइतले दिएको पाश्चात्य शिक्षाको नियत भारतीय विद्यार्थीहरुलाई उनीहरुकै इतिहास चिनाउन होइन, उनीहरुकै जात जातिहरुको विविध संस्कृति र परम्पराको जानकारी गराउन होइन, उनीहरुकै लोक धर्मको ज्ञान बढाउन होइन, उनीहरुकै साहित्य र भाषा बारे गहिरो ज्ञान दिन होइन अनि उनीहरुलाई उनीहरुकै सांस्कृतिक शक्ति र सामर्थ्य चिनाउन र विकास गराउन होइन । बेलाइतले भारतका विद्यार्थीलाई संस्कृत र लोक भाषाहरुमा शिक्षा दिलाउनुको साटो अङ्ग्रेजी माध्यम लाद्यो; वैदिक, पौराणिक र संस्कृत वाङ्‍मयको समृद्ध परम्परा र भारतकै महानता र महापुरुषहरुको परिचय दिने साटो आफ्नो महानता र आफ्ना महापुरुषको जानकारी दिने कुरा पाठ्य क्रममा अनिवार्य बनाएर पढायो । भारतको महानताको जानकारी भएका विद्यार्थीले कुनै अङ्क पाएनन्, बेलाइतको महानताको जति राम्रो जानकारी विद्यार्थीले देखायो, त्यति धेरै प्राप्ताङ्क र पुरस्कार दिएर त्यस्ता विद्यार्थीहरुको बुद्धि र प्रतिभा तिखो ठहराइयो । यसरी भारतीयहरुलाई थाङ्नामा सुताइयो र भारतीय शिक्षित तथा विद्वान्‌हरुका बुद्धिमा गोवर भरियो ।

हामी नेपालीहरुले त्यही कुटिल गोरखधन्दालाई धेरै मेहनत गरेर सिक्नु पर्ने, धेरै अङ्क ल्याउन होड गर्नु पर्ने शिक्षा र विद्या ठान्यौँ । यसरी हाम्रा पाठ्य क्रममा नेपाल र नेपालीका बारेमा सके सम्म कम मूल्य दिइन्छ, विदेश र विदेशीका बारेमा सके सम्म धेरै मूल्य दिइन्छ; विद्यालयहरुमा नेपाली बोल्यो भने कुटाइ खाइन्छ, अङ्ग्रेजी बोल्यो भने योग्यता बढेको ठहराइन्छ; ‘मलाई नेपाली आउँदैन’ भन्यो भने, इज्जत बढेको मानिन्छ, तर ‘मलाई अङ्ग्रेजी आउँदैन’ भन्यो भने सामाजिक प्रतिष्ठा नै घटे जस्तो लाग्छ; मकालु र तिलिचो कता पर्छन् भन्ने थाहा पाएर कुनै योग्यता बढे जस्तो लाग्दैन, ह्युस्टन र  डब्लिन कहाँ पर्छन् भन्न सक्यो भने आफ्नो योग्यता बढे जस्तो लाग्छ । गेहेन्द्र शमसेर र योगमाया नेउपाने बारे हामीले जान्नु पर्दैन, तर जोन अफ आर्क र माइकल फ्याराडे बारे हामीले पढ्नै पर्छ ।

नेपालकै वनवासी कुसुन्डाहरुका भाषामा ‘हरियो’ रङ बुझाउने शब्द नै हुँदैन, चेपाङहरुका भाषामा सुसेलेर पनि कुराकानी हुन्छ, सातौँ शताब्दीदेखि मानसरोवर जाने बाटो सुर्खेत र जुम्लाबाट थियो, ‘वराह पुराण’ मा भगवान विष्णुले ‘म यो वराह क्षेत्र एक छिन पनि छोड्न सक्तिन’ भनेको कुरो, सम्राट् अशोकलाई पाटलीपुत्रको षड्यन्त्रमा सघाउने पश्चिम नेपालका दुइटा खस थिए (‘अशोकावदान’) भन्ने कुरो, चिनियाँ भाषामा पालुङ्गालाई ‘नेपाली साग’ (पो छाई) भन्छन् भन्ने कुरो नेपाली विद्यार्थीहरुले पढेर केही फाइदा छैन जस्तो पारिएको छ । यसरी भारतका लागि विदेशी शासक (शत्रु) ले ‘शिक्षा’ भन्ने नाउँ राखेर लादेको प्रपञ्चलाई हामी नेपालीले पनि सिक्यौँ र आफ्नो माल पाएर चाल नपाउने मन्द विषलाई पुरै सरकारी शक्ति लगाएर निरन्तरता दियौँ । यसै हुँदा हामीले नेपालमा प्रचलित ‘शिक्षा’ को परिभाषै उल्टाएर जापानीले झैँ समग्र राष्ट्र र त्यसका जातजातिहरुका संरचक संस्कृतिको अनुसन्धान, उत्थान, जगेर्ना र विकास गर्दै विदेश र विदेशीको होइन, आफ्नै वैज्ञानिक, आर्थिक र औद्योगिक विकास समग्र रूपमा कसरी गर्ने भन्ने नयाँ ढङ्गले सोच्नु पर्ने र योजनाबद्ध रूपमा अघि बढ्नु पर्ने राष्ट्रिय शिक्षाको आवश्यकता छ ।

(केही सम्पादनका साथ ‘कान्तिपुर’ दैनिकमा २०७५ साल कात्तिक १० गते प्रकाशित)

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply