कैलास मानसरोवर जाने प्रागितिहासिक नेपाली बाटो

By | March 20, 2019

(अन्नपूर्ण, २०७५ चैत २ गते शनि बार)

 

कैलास पर्वत र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरुको तीर्थ स्थल हो । घनश्याम आचार्य (२०६७) को सूचना अनुसार वाल्मीकि रामायण, विष्णु पुराण, वायु पुराण, श्रीमद्भागवत, देवी भागवत, भविष्य पुराण अनि स्कन्द पुराणका केदार खण्ड, मानस खण्ड र हिमवत्खण्डमा कैलास मानसरोवर क्षेत्रलाई उच्चतम महत्त्व दिइएको छ । सातौँ शताब्दीका चिनियाँ यात्री स्वेन चाङले कैलास पर्वतलाई नै पुराणहरुमा ‘मेरु पर्वत’ भनिएको कुरो ठहर गरेका छन् । महाकवि कालिदासले पनि उनको ‘मेघदूत’ खण्ड काव्यमा राजहाँसहरु जाडो र गर्मीमा मानसरोवर सम्म ओहोरदोहोर गर्छन् भन्ने कुरो लेखेका छन् । साँच्चै नै, आज पनि कालिकोट र अछाम छेउछाउका मानिसहरुले राजहाँसहरु मानसरोवर ओहोरदोहोर गरेको देख्छन् र राजहाँसको बहुमूल्य दिसा (पुलिक) सिलो गर्ने सांस्कृतिक कुरा सुनाउँछन् ।

भारतीय उपमहाद्वीपका सबै प्राग्वैदिक र अवैदिक जातिहरुले अत्यन्त श्रद्धा गरेर मान्ने भगवान शिव कैलास पर्वतमै बस्छन् भन्ने कुरो पुराणहरुमा लेखिएको छ । काश्मीरदेखि पूर्व नेपालको ‘गण्डकी सम्म’ को भूभागलाई महाभारत र पुराणहरुमा ‘खसमण्डल’ (केदार खण्ड र मानस खण्ड) भनिएको पाइन्छ (योगी नरहरि नाथ)। खसहरुलाई पहिले ‘यक्ष’ भनिन्थ्यो भन्ने कुरो एट्किन्सनले ‘हिमालयन गजेटियर’ मा लेखेका छन् । शिवजीलाई नै ‘यक्ष स्वरूप’ (यक्षस्वरूपाय) भनिएको पनि पाइन्छ । नेपालदेखि काश्मीर सम्म शिवजी र नागको पूजा धुमधामसित हुन्छ, किन भने नागहरुका राजा वासुकिलाई शिवजीले गलामा गहना लगाउँछन् भन्ने उल्लेख पाइन्छ ।

कैलास मानसरोवर क्षेत्रको आर्थिक व्यापारिक महत्त्व पनि छ । महाभारत (इपू० नवौँ शताब्दी) सभा पर्वमा खसहरु युधिष्ठिरको राजसूय यज्ञमा कैलास मानसरोवर क्षेत्रबाट राजालाई बुकी सुन (पिपीलिका सुवर्ण) चढाउन लाम लागेका थिए । इपू० पाँचौँ शताब्दीका युनानी इतिहासकार हेरोडोटसले कैलास मानसरोवरको कमिलाले उत्पादन गरेको बुकी सुनको चर्चा गरेका छन् । ह्यामिल्टन (१८१९ इ) ले मानसरोवरको उत्तर तिर करिब २० दिनको बाटो हिँड्दा थोक्लाजुङ, मुनाकथोक, रुङमार आदि ठुल्ठुला सुनखानी क्षेत्र भएको सूचना दिएका छन् ।

सत्यमोहन जोशी (२०२८, कर्णाली लोक संस्कृति, ५५-५६) ले मानसरोवर क्षेत्रको आर्थिक महत्त्व बढाउने वस्तुमा नुन खानी, कस्तूरी, जरीबुटी, असल जातका घोडा, चौँरी, झोपा, भेडा, च्याङ्रा, आदिको उल्लेख गरेका छन् । स्नेल्ग्रोभले पनि तिब्बतको इतिहासमा मानसरोवर उत्तर तिरको जङ्गलमै पाइने वन चौँरी, वन गधा, वन कुकुर र मिर्गहरुलाई पनि प्रागितिहासिक आकर्षणका आधार मानेका छन् । प्रागितिहासिक कालदेखि नै कमिलाले धुल्याएर उत्पादन गरेको बुकी सुन (पिपीलिका सुवर्ण) पाइने क्षेत्र भएकैले होला इतिहास र पुराणमा पनि यस क्षेत्रलाई ‘सुवर्ण भूमि’ र ‘सुवर्ण गोत्र’ भनिएको पाइन्छ । कर्णाली प्रदेशका खसहरु प्राचीन कालदेखि घोडा पाल्थे । घोडा व्यापार कर्णाली प्रदेशका खसहरुको एउटा मुख्य व्यवसाय नै थियो । मानसरोवर जाने प्रागितिहासिक बाटाले त्यस व्यवसायलाई पन सघाएको थियो ।

बुकी सुन पाइने हुनाले नै विकट प्रदेश भए पनि खसहरुले त्यो क्षेत्र ओगटेका होलान् । मध्य एसियाको पुरातात्त्विक अन्वेषणले के देखाएको छ भने, प्रागितिहासमा सबभन्दा पहिले सुन चलाउने जाति नै शक हो । मैले ‘खस जातिका खास कुरा’ (अन्नपूर्ण, २०७५ फागुन ११ गते शनि बार) भन्ने लेखमा के लेखेको छु भने खसहरु पनि पामिरको ओरिपरि हिमाच्छादित क्षेत्रमा बसोवास गर्ने शकहरुकै एउटा बगाल हो, त्यसैले मानसरोवर क्षेत्रको बुकी सुनको सुइँको पाउने जाति पनि मानव इतिहासमा यही हो । ताक्लाकोटका सुन खानीले नै ताक्लामकान उपत्यकाका शक (खस, कुषाण, तोखार) हरु खुनलुन खोलाको गड्तिरै गड्तिर मध्य एसियाबाट पश्चिम तिब्बतको पाखापाखै मानसरोवर क्षेत्रमा आई पुगे होला । यस क्षेत्रको त्यसै व्यापारिक महत्त्वले पुराणहरुमा यक्षराज कुबेरले पनि यसलाई आफ्नो राजधानी बनाएका थिए होलान् । खसहरुका कब्जामा भएको यसै क्षेत्रको बुकी सुन युधिष्ठिरको राजसूय यज्ञमा मात्र चाहिएन, संभवतः भारत सरकारले इरानका इसा पूर्व छैटौँ शताब्दीका सम्राट् दारिउसलाई पनि थैलामा हालेर यसै क्षेत्रको सुन सिर्तो बुझाउने गरेका होलान् ।

इपू० छैटौँ शताब्दीको इरानले र इपू० पाँचौँ शताब्दीको युनानले समेत सुइँको पाएको बुकी सुनकै कारणले इपू० तेस्रो शताब्दीदेखि पन्ध्रौँ शताब्दी सम्म चीनको सिआनदेखि मध्य एसिया, लघु एसिया, पश्चिम एसिया र युरोप सम्म रेसमको सङ्गठित व्यापार गर्न चीनले बनाएको रेसम मार्गको एउटा हाँगो ताक्लामकानमा कासगरको काशीदेखि खोतान हुँदै पश्चिम तिब्बतको ङरी सम्म र ङरीबाट सम्भवतः नेपाल हुँदै भारत जाने रेसम मार्गको पहाडी हाँगो भेटिएको छ । ङरीमा हालसालै भेटिएको १८०० वर्ष अगाडिको एउटा भव्य चिहानमा फेला परेका चिनियाँ व्यापारिक सर्दाम (चिनियाँ अक्षरमा ‘वाङ होउ’ ‘राजा र राजकुमार’ लेखेर बुट्टा काढेको एउटा रेसमी लुगा, सुनको मुखुन्डो, चिनियाँ माटाका भाँडा र काँसका सर्दाम, चियाका मुना, आदि) ले यो कुरो सङ्केत गरेको छ । यो मात्र तिब्बतको पहाडलाई रेसम मार्गले जोड्ने पहिलो दसी हो (जेन छिउ, २०१६ ई, साइन्टिफिक अमेरिकन)।

दक्षिण एसियाबाट मानसरोवर जाने प्राचीन राजमार्गको पनि तीर्थ यात्रा बाहेक चिनियाँ रेसम मार्गसित जोडिनु प्राथमिकता हुन सक्छ, जसबाट यसको धार्मिक महत्त्व मात्र नभएर अन्तरराष्ट्रिय व्यापार तथा रणनीतिमा समेत उल्लेखनीय उपयोग भएको हुन सक्छ । चीनको सिआनबाट पेइचिङ हुँदै रेसम मार्गको अर्को एउटा हाँगो म्यानमार तिर पनि लागेको थियो भने, त्यसको भारतीय हाँगो विक्रमशिला (बिहार), वैशाली, कुशिनगर, श्रावस्ती, अहिच्छत्र (उ०प्र०) सम्म पनि जोडिन्थ्यो (जेन छिउ)। त्येन सान र अल्ताई पहाडका सुन खानी अनि सिन्च्याङ क्षेत्रको फलाम खानीका साथै मानसरोवर क्षेत्रको बुकी सुनको समृद्धिले गर्दा नै सातौँ शताब्दीमा स्रङ चन गम्पोले मानसरोवर क्षेत्र (चाङचुङ\साङसुङ) का (खस) राजालाई आफ्नी बहिनी बिहे गरेर पनि दिए र विश्वासघात गरेर बहिनीद्वारै मराए (स्नेल्ग्रोभ), तर आठौँ शताब्दी लाग्दा नलाग्दा पश्चिम तिब्बतको त्यो क्षेत्रमा आधिपत्य जमाउन चीन, तिब्बत र तुर्कहरुको लडाइँ चली रह्यो र त्यो क्षेत्र अस्थिर भयो भन्ने सूचना ताक्लाकोटदेखि ताक्लामकान सम्मको इतिहास लेख्ने बेक्विथ (१९८६ इ) ले लेखेका छन् ।

मानसरोवर क्षेत्रको समृद्धिले गर्दा नै खसहरुले भारत (श्रावस्ती, नैमिषारण्य र कान्यकुब्ज) बाट कैलास मानसरोवर तीर्थ यात्रा गर्न जाने बाटामा पर्ने दुल्लु, सिंजा र पश्चिम तिब्बतको ताक्लाकोटको ङरी (कैलासको पश्चिम तिरको गुगे र कैलासको दक्षिण तिरको पुराङ) कब्जा गरेको देखिन्छ । कन्नौजमा हर्षवर्धनले शासन गर्दा (६४७ इ) त्यहाँबाट नेपाल हुँदै तिब्बत पुगेर मध्य एसिया पुग्ने चल्तीको बाटो थियो भनेर राहुल सांकृत्यायन (‘तिब्बत में बौद्ध धर्म’) र स्नेल्ग्रोभ (इन्डो-टिबेटन बुद्धिज्म) ले पनि लेखेका छन् ।

आज कर्णाली प्रदेशको डोल्पा र अरु ठाउँमा तिब्बती मूलकै भक्तहरुले मानी आएको ‘बोन धर्म’ आधारभूत रूपमा ताजिकिस्तानबाट आएका खस\शक जातिको धर्म हो भन्ने कुरो स्नेल्ग्रोभ (‘इन्डो-टिबेटन बुद्धिज्म’, १९८७ इ, ‘नाइन वेइज अफ बोन’, २००२ इ) ले लेखेका छन् । स्नेल्ग्रोभको भनाइ अनुसार बोन धर्म कैलास मानसरोवर क्षेत्रमा बुद्ध धर्म पुग्नु भन्दा अगाडिको धर्म हो । तिब्बत बाहेक आज यो धर्म नेपालको डोल्पो र सम्भवतः कर्णाली प्रदेशको हिमाली भेगमा मानिन्छ । यो धर्म पश्चिम तिब्बतको कैलास मानसरोवर क्षेत्र, ताजिकिस्तान, अफगानिस्तान, तुर्कमेनिस्तान, इरान र मध्य एसियामा पालन गरिन्थ्यो । बोनहरुको तिब्बती परम्पराले पनि यसलाई ताजिकिस्तान (अर्थात्, काश्मीर पश्चिमका देश) बाटै आएको मान्दछ । टुची (१९५६ इ) ले कैलास मानसरोवरको उत्तर तिर बोन धर्मका मन्दिरहरुका चित्र पनि दिएका छन् भने, स्नेल्ग्रोभले डोल्पोमा यसको व्यापकता भएको देखाएका छन् ।

स्नेल्ग्रोभले के लेखेका छन् भने, ‘चाङ्चुङ’ (राहुल, ‘शाङशुङ’) अर्थात्, कैलास मानसरोवर क्षेत्रमा दसौँ शताब्दी सम्म बोन धर्म मान्ने शक, कुषाण र तोखारहरु नै बस्थे । टुचीको भनाइ अनुसार चाङ्चुङ भन्नाले कैलास मानसरोवर क्षेत्र मात्र नभएर मध्य एसियाको ताक्लामकान उपत्यकामा पर्ने खोतान सम्मको व्यापक क्षेत्र थियो, जसको सिमाना पूर्वमा तिब्बत, पश्चिममा उत्तर प्रदेश, उत्तरमा ताक्लामकान उपत्यकाको खोतान र दक्षिणमा कुमाउँको बैजनाथ धाम नजिकको ब्रह्मपुर थियो । ताक्लामकान उपत्यकालाई नै राहुल सांकृत्यायन (मध्य एसिया का इतिहास, पहिलो भाग) ले खसहरुको मूल थलो घोषित गरेका छन् ।

शक, कुषाण र तोखारहरुको भाषा (बेइली, १९७९ इ) बेग्लै भारोपेली थियो । जुन वेला चाङचुङमा बोन धर्म मान्ने शक, कुषाण र तोखारहरुको आधिपत्य थियो, त्यति वेला तिब्बती जातिको मानसरोवर क्षेत्रमा प्रवेश नै भएको थिएन भन्ने कुरो स्नेल्ग्रोभले नै लेखेका छन् । वाटर्स (१९०४-१९०५ इ) ले पनि के लेखेका छन् भने, जुन वेला चिनियाँ यात्री स्वेन चाङ कन्नौजको स्थानेश्वरमा हर्षवर्धनको दरबारमा पुगेका थिए, त्यति वेला सम्म पश्चिम तिब्बतको कैलास मानसरोवर क्षेत्रमा स्रोङ चन गम्पोको तिब्बती आधिपत्य भएकै थिएन । स्नेल्ग्रोभको भनाइ अनुसार बोन धर्म मान्नेहरु सूर्यको प्रतीक ‘स्वस्तिक’ को प्रयोग गर्थे । शकहरु सूर्यका उपासक थिए । जनकलाल शर्मा (‘शक सूर्य’, २०१२) ले शकहरुका बुट लगाएका सूर्य मूर्तिहरु शक, शुङ्ग, कुषाण कालीन (इपू० पहिलोदेखि तेस्रो शताब्दी) भारतका विभिन्न भागमा पाइन्छन् भन्ने लेखेका छन् ।

पुराणहरुमा उच्च महत्त्व दिएर वर्णन गरिएको कैलास मानसरोवर क्षेत्र जाने चल्तीको बाटो सातौँ शताब्दीदेखि भारतका कन्नौज र श्रावस्तीबाट सुरु भएर सुर्खेतमा जोडिँदै दुल्लु, सिजा, सिमकोट र हिल्सा हुँदै मानसरोवर जान्थ्यो । योगी नरहरि नाथले पनि त्यस तीर्थ मार्गका पुरातात्त्विक चिनो धेरै ठाउँमा देखाएका छन् । हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरुको साझे तीर्थ स्थल कैलास जाने अन्तरराष्ट्रिय बाटो बनाउन नेपालले प्राथमिकतामा राख्यो भने, दक्षिण एसिया, पूर्वी एसिया  र दक्षिण पूर्वी एसियाका असङ्ख्य हिन्दु र बौद्ध धर्मावलम्बीहरुको कल्याण हुन्थ्यो । त्यो बाटो चीनको रेसम मार्गको पनि एउटा हाँगो भएकाले त्यो बाटाको पुनर्निर्माण चीन सरकारको प्राथमिकतामा पनि पर्छ । कर्णाली प्रदेशको समृद्धिको सबभन्दा ठुलो फड्को यसै अन्तराष्ट्रिय तीर्थ मार्गले गर्न सक्छ ।

पेइचिङको अल्पसङ्ख्यक विश्व विद्यालयका तिब्बत विशेषज्ञ प्राध्यापक वाङ याउसित लिएको अन्तर्वार्ता अनुसार रेसम मार्ग चीनको सिआनबाट पश्चिम तिर सिलिङ पुगे पछि त्यसको हाँगो फाट्छ र एउटा हाँगो ह्लासा तिर लाग्छ । ह्लासा पुगे पछि त्यो सिगाचे तिर लाग्छ । सिगाचेमा फेरि दुइटा हाँगा फाट्छ । एउटा हाँगो चाहिँ केरुङ हुँदै काठमाडौँ तिर लाग्छ भने, अर्को हाँगो चाहिँ न्यालुम तिर लाग्छ । चीनमा छिङ वंशले शासन गरेका वेलामा (सातौँ शताब्दी) खुनलुन नदीको गड्तिरै गड्तिर मन्चुहरु खोतानबाट तिब्बत छिरेको सूचना पनि प्राध्यापक वाङ याउले दिएका छन् ।

सत्यमोहन जोशी (२४) ले ताक्लाकोटदेखि सुर्खेत सम्म ओहोरदोहोर गर्ने कैलास मानसरोवर क्षेत्रको बाटामा निम्न लिखित ठाउँ पर्ने उल्लेख गरेका छन् : ताक्लाकोट, खोचरनाथ, मुचु, सिमकोट, छिब्रा, दोर्पा, कुटिकलाँस, राहदेउ फुचा, भुवाभैला, रिमी, गुम, चहट्टा, हाटसिँजा, नाग्म, जुफिथा, हाउडी, दुल्लु हुँदै सुर्खेत । जोशी के भन्दछन् भने त्यो बाटाको डोब र दसी आज पनि विद्यमान छ । अझै त्यस राजमार्ग छेउछाउमा रोपिएका विशाल देवदारुका रुखहरु तथा अनेक धार्मिक सूत्र, कला कृति र ऐतिहासिक अभिलेख भएका शिला स्तम्भहरु तथा चैत्य, देवल, ढुङ्गे धाराहरु पनि घाम पानी पचाएर आज सम्म भग्नावशेषका रूपमा ठडिएर रहेकै छन् ।…सिँजा खोला उपत्यकाको राजमार्ग (अहिले अवशेषका रूपमा विद्यमान मूल बाटो) त्यस वेलाको समृद्धि र उन्नतिको प्रतीक भई रहेको छ ।

हुम्ला राहदेउमा जन्मेका र आफैँ अनेक पल्ट पैदल यात्रा गरेका डा० दीपेन्द्र रोकायाले दिएको सूचना अनुसार नेपाल भारतको सिमानाबाट कैलास मानसरोवर क्षेत्र सम्म पुग्ने प्रागितिहासिक बाटामा पर्ने मुख्य ठाउँहरु यी हुन्,  (१) बाँकेको रुपेडियाबाट चिसापानी, (२) सुर्खेत, (३) दैलेखको घोडावासबाट दुल्लु हुँदै राकम, (४) कालिकोटको मान्म हुँदै नाग्म, (५) जुम्लाको सिजा, (६) मुगुको गमगढीबाट वाम, (७) हुम्लाका दार्मदेउली हुँदै क्रमशः ह्याप्सा (पुमा), पङ्खा (राहदेउ), दुर्पा (घट्टया), सिमकोट, यौवनफया, केर्मी (सल्लिसल्ला\यालबाङ), यारी, हिल्सा, (८) तिब्बतको ताक्लाकोट हुँदै मानसरोवर र कैलास पर्वत । डा० रोकायाले कालिकोटको जितेगाडबाट रास्कोट हुँदै बाजुराको पिलु हुँदै हुम्लाको सल्लिसल्ला जोडिने वैकल्पिक बाटाको पनि सूचना दिएका छन् ।

टेकनाथ गौतम (२०५०) के लेख्छन् भने, सातौँ शताब्दीदेखि १३ औँ शताब्दी सम्म (सम्भवतः कर्णाली प्रदेशका खस राजाहरुका पाला सम्म) वर्तमान भारतको उत्तर प्रदेशको फर्रुखावाद जिल्लामा पर्ने कन्नौज (कान्यकुब्ज) को प्रभाव उत्तर भारतमा रहँदा ५०० वर्ष सम्म तिब्बतबाट गुगे, मानसरोवर, सिजा, दुल्लु, सुर्खेत र श्रावस्ती हुँदै एउटा चल्तीको बाटो साकेत (अयोध्या) भएर जान्थ्यो, अर्को नैमिषारण्य (हालको सीतापुर जिल्ला भित्र पर्ने नेमसर) भएर कन्नौजमा जोडिन्थ्यो ।

भारतका तीर्थ यात्रीको मानसरोवर जाने सबभन्दा छोटो र सजिलो बाटै त्यही थियो, तर पृथ्वी मल्लको पाला (१४ औँ शताब्दी) पछि खस राज्य टुक्रिनाले अथवा अलाउद्दिनको आक्रमणले कन्नौज ढले पछि त्यस बाटाको प्रयोग किन कम हुँदै गएछ, त्यो कुरो बुझ्न सकिएन ।

नेपाल सरकारले अहिल्यै उच्च प्राथमिकता दिएर त्यो बाटो बनाउन सके हिन्दु, बौद्ध र बोनधर्मीहरुको तीर्थ कैलास मानसरोवर ओहोरदोहोर गर्न त्यो नै चीन र भारत जोड्ने सबभन्दा सजिलो र छोटो अन्तरराष्ट्रिय मूल बाटो हुन्थ्यो । त्यो बाटाको पुनर्निर्माण नेपालले नगरेकाले भारतको पिथौरागढबाट ठुलो कष्ट सहेर तीर्थ यात्रीहरु अहिले कैलास मानसरोवरको तीर्थ यात्रा गरी रहेका छन् । यसमा नेपाल सरकारले भारत र चीनको (अथवा नेपालकै कर्मचारी सञ्चय कोशको) संयुक्त लगानी निम्त्याउन पनि सक्छ । नेपाली तीर्थ यात्रीहरुलाई पनि त्यहाँ पुग्न मन छ, तर सस्तो र सजिलो बाटै छैन । मानसरोवर जाने त्यो प्रागितिहासिक बाटो फेरि जीवन्त बनाउन सके, त्यस बाटाले पनि नेपालको आन्तरिक पर्यटन र त्यस क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा दिने थियो ।

पहिले मानसरोवर क्षेत्र नेपालकै थियो, २०१८ तिर मात्र नेपालले सम्हाल्न नसकेर चीनको भयो भन्ने कुरो सत्यमोहन जोशी (२०२८) ले लेखेका छन् ।

मानसरोवर क्षेत्रसित भौगोलिक रूपमा नेपाल जोड्ने कर्णाली नदीले हो । मानसरोवरबाट ब्रह्मपुत्र, कर्णाली, गङ्गा र सिन्धु नदीहरु बग्छन् । ब्रह्मपुत्र नदी मात्र राक्षस तालमा नमिसिइकन पूर्व तिर बग्छ, तर गङ्गा, सिन्धु र कर्णालीको पानी त राक्षस तालमा मिसिएर मात्र बग्छ, किन भने राक्षस तालमा पानीको सतह मानसरोवरको सतह भन्दा ५० मिटर तल छ । भारतले चाहिँ राक्षस तालमै मिसिएर पानी बग्ने ती सबै नदीहरुलाई मानसरोवरबाट बगेको पवित्र पानी मानेर तीर्थको विकास गरेको छ र आफ्ना तीर्थवासीहरुको आय आर्जनको स्रोत बनाएको छ, तर कर्णाली (जस्तै, हुम्ला) का मानिसहरु चाहिँ कर्णाली नदी चाहिँ राक्षस तालबाट निस्केकाले त्यसका किनारका मान्छे दुख्याहा भएका हुन् भन्ने अन्धविश्वास मानेर बसेका छन् र कर्णालीको पानी अपवित्र मान्छन् ।

कर्णाली नदीको विस्तृत चिनारी सत्यमोहन जोशी (२०२८) ले दिएका छन् । मानसरोवरको दक्षिण तिर ‘माप्चा चुङ्गो’ (मुजुरको टाउको) नामक पानीको मूलबाट कर्णाली उम्रिन्छ । माप्चा चुङ्गोबाट हिमाल छेडेर मुख्य कर्णालीमा त्यो पानी मिसिँदा मुजुरको घाँटी जस्तो हरियो झ्याउ भएको पानी देखिन्छ । यसैले कर्णालीको नाउँ ‘मुजुर मुखे’ भएको हो । लाम्पिया घाटीबाट कर्णाली तिब्बतबाट निस्किन्छ (४-५)। कर्णालीले हिमालयलाई ‘यादाङ्ग्री’ र ‘सियार’ बिचको घाटीबाट छिचोल्छ । त्यही कर्णाली नदीले हुम्ला पुगे पछि ‘हुम्ला कर्णाली’ नाउँ पाउँछ । त्यसैमा मुगुबाट आएको ‘मुगु कर्णाली’ मिसिन्छ । सिँजा खोलामा बग्ने हिमा नदी र जुम्ला उपत्यकाबाट बग्ने तिला नदी पनि यसैमा मिल्छन् । तल पुग्दा त्यसैमा व्यास हिमालबाट निस्केको सेती र कागमाराबाट निस्केको भेरी पनि मिसिन्छन् । भारतको उत्तर प्रदेशमा भगवान रामको जन्म थलो अयोध्या पुग्दा यही नदी भगवान रामको थाङ्ना धुने ‘सरयू’ नदीका नामले प्रसिद्ध भएर त्यस मनि गङ्गा नदीमा गएर मिल्छ (६-७)।

यसरी कर्णालीका बासिन्दाको कर्णाली नदी बारेको अन्धविश्वास हटाएर उनीहरुलाई कर्णाली पनि मानसरोवरबाटै बगेको र अझ भगवान रामचन्द्रलाई समेत नुहाएर पवित्र बनाउने पानी हो भन्ने कुरो बुझाएर ‘मानसरोवरको पानी’ भनेर कर्णालीको पानी बोतलमा हालेर नेपालका तीर्थहरुमा बेच्यो भने पनि भक्तहरुले सङ्ग्रह गर्छन् । सबै नेपाली भक्तहरु १।१ बोतल मानसरोवरको पानी घरमा राख्‍न तयार छन् । मानसरोवरको पवित्र पानी हरेक धर्मप्राण नेपालीको सुलभ पहुँच सम्म पुर्‍याउन सचेत हुनु पर्छ ।

मानसरोवर जाने नेपाली बाटो धेरैजसो त्यही पवित्र कर्णाली नदीको गड्तिर हुँदै उकालो लाग्छ ।

 

 

 

 

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply