खस जातिको भूगोल, इतिहास र चिनारी

By | March 20, 2019

 (अन्नपूर्ण पोस्टमा ‘खस जातिका खास कुरा’ शीर्षकमा प्रकाशित, फागुन ११ गते, २०७५)

नेपाली भाषालाई मगर, नेवार र पश्चिमका केही जन जातिहरु खस भाषा भनेर चिनाउँछन् । त्यस्तै नेपाली मातृभाषा हुने पहाडे बाहुन, छेत्री, ठकुरी, सन्यासी, कामी, दमाईँ, गाइने र (सम्भवतः) बादीहरुलाई खस जाति भनेर प्राय आफुले भन्दा अरुले अलिक तल खसालेर चिनाउने चलन थियो । हिजो आज चाहिँ विशेष गरी कर्णाली प्रदेश र सुदूर पश्चिमका नेपाली मातृभाषीहरुले आफु र आफ्नो मातृभाषालाई गर्व साथ खस भनेर चिनाउने चलन चलेको पाइन्छ । आफुलाई ‘खस आर्य’ भनेर चिनाउने राजनीतिक आन्दोलन पनि केही वर्ष अघि चलेको थियो । वास्तवमा खसहरु को हुन् र तिनीहरुको प्रागितिहासिक, ऐतिहासिक, भौगोलिक र सामाजिक चिनारी के हो भन्ने कुरो अत्यन्त छोटकरीमा दिन यो लेख लेखिएको हो ।

महाभारत, विष्णु पुराण, मार्कण्डेय पुराण, वायु पुराण, आदि पुराणहरुमा खस जातिको वर्णन पाइन्छ । इपू० पाँचौँ शताब्दीका युनानी इतिहासकार हेरोडोटस, इपू० तेस्रो शताब्दीका रोमन इतिहासकार प्लिनी, सातौँ शताब्दीका चिनियाँ यात्री स्वेन चाङ, बारौँ शताब्दीको काश्मीरको इतिहास ‘राजतरङ्गिणी’, आदि ग्रन्थहरुमा खस जातिको सामान्य चर्चा छ । युधिष्ठिरको राजसूय यज्ञमा खसहरु कैलास मानसरोवर क्षेत्रबाट कमिलाले धुल्याएको बुकी सुन कोसेली लिएर पुगेका थिए ।

एड्वार्ड एट्किन्सन (१८८४ इ) ले ‘हिमालयन गजेटियर’ मा खसहरुको विस्तृत परिचय दिएका छन् । राहुल सांकृत्यायनले खसहरुका वर्णन तिन चार ओटा किताबमा गरेका छन्, तर इटालीका पुरातत्त्वविद् जिउसेप्पे टुची (१९५६ इ) र योगी नरहरि नाथले २०१२-१३ साल तिर कैलास मानसरोवर क्षेत्र र जुम्लामा खसहरुको सिँजा खोला उपत्यका फेला नपारुन्जेल नेपालीहरुलाई काठमाडौँको इतिहासलाई मात्र नेपालको इतिहास भन्ने बानी परेको थियो ।

टुचीले कैलास मानसरोवर क्षेत्रदेखि जुम्लाको सिँजा खोला उपत्यका हुँदै दैलेखको दुल्लु सम्म खस राज्यका कीर्ति राख्ने बलिया प्रमाणहरु प्रस्तुत गरे । योगी नरहरि नाथ (२०१३, २०२२) ले ‘इतिहास प्रकाश’ का तिन ओटा किताब मात्र निकालेनन्, खस प्रदेशका थुप्रै अभिलेखहरु पनि प्रकाशित गरे । त्यस पछि मात्र इतिहासको अध्ययन गर्नेहरुले अशोक चल्लका अभिलेखहरु भारतको गयामा अनि गढवाल र कुमाउँमा क्राचल्ल र अशोक चल्लका अभिलेख भएको कुरो प्रकाशित भई सकेको कुरो खोजेर बटुले । अब चाहिँ खस राजाहरुको कीर्ति दुल्लुमा भएको पृथ्वी मल्लको कीर्ति स्तम्भ (१४१३) ले मात्र देखाएन पृथ्वी मल्लका पुर्खा अशोक चल्लले त गयाको अभिलेखमा आफुलाई ‘सपादलक्ष प्रदेश’ र ‘दानव भूतल (कुमाउँको ‘दानापुर’ र बर्दियाको ‘दानव ताल’ छेउ) का राजा’ भनेर चिनाएका रहेछन् । तेरौँ शताब्दीमै जुम्लाका आदित्य मल्लले काठमाडौँ उपत्यका जितेको कुरो धनवज्र वज्राचार्य (२०२२) ले प्रकाशमा ल्याए ।

कलकत्ता विश्व विद्यालयबाट भाषा शास्त्रमा एमए गरेर फर्के पछि बालकृष्ण पोखरेलले खसानमा पैदल यात्रा गरेर ‘नेपाली’ पत्रिकामा ‘नेपाली भाषाको कथा’ (२०१७) भन्ने लेख लेखेर ऐतिहासिक भाषा विज्ञानका आधारमा ध्वनि परिवर्तनका नियम बनाएर कर्णाली प्रस्रवण क्षेत्रको ‘खस’ भाषा नेपाली भाषाको माउ हो भन्ने प्रमाणित गरे, अनि पनि ‘पाँच सय वर्ष’ (२०२०) का अभिलेखहरु काल क्रम मिलाएर प्रकाशित गर्दै खस जातिको परिचय दिने विस्तृत भूमिका लेखे । बालकृष्ण पोखरेलको त्यो भूमिका राहुल सांकृत्यायनका ग्रन्थबाट प्रभावित थियो । यसरी त्रिभुवन विश्व विद्यालयका नेपाली विषयका विद्यार्थीहरुलाई पढाउँदा पोखरेलले नै खस जातिको परिचय दिए ।

चूडामणि बन्धु उनकै विद्यार्थी हुन्, जसले ‘नेपाली भाषाको उत्पत्ति’ (२०२६) भन्ने किताबमा खस भाषा र नेपालीको विस्तृत परिचय दिए । सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भए पछि सिँजा खोला उपत्यकाको ‘लोक संस्कृति’ को परियोजना बनाएर पाँच जना बेग्ला बेग्लै शोध कर्ता (भाषामा चूडामणि बन्धु, मानव शास्त्रमा बिहारीकृष्ण श्रेष्ठ, भूगोलमा स्थिरजङ्गबहादुर सिंह, लोक साहित्यमा प्रदीप रिमाल र इतिहासमा आफैँ) लिएर स्थलगत अनुसन्धान गर्न २०२७ सालमा जुम्ला पुगे । झन्डै डेढ महिनाको स्थलगत अध्ययन पछि प्रकाशित भएको पाँच ठेलीको ‘कर्णाली लोक संस्कृति’ भन्ने किताबले २०२८ सालको मदन पुरस्कार पायो । त्यस पछि मोहन बहादुर मल्ल, सूर्यमणि अधिकारी, पूर्णप्रकाश नेपाल ‘यात्री’ आदि अनुसन्धाताहरु खसको खोजीमा कर्णाली प्रस्रवण क्षेत्र तिर आकर्षित भए ।

नेपालमा खसहरु बारे केही भ्रमहरु प्रचलित छन् । पहिलो भ्रम चाहिँ खस जाति ‘खस्’ धातुबाट विकसित भएको हो कि भन्ने भ्रम । तर ‘संसारको छानो’ भन्ने विश्वको सबभन्दा अग्लो ताजिकिस्तानमा पर्ने पामिरको पठार वरिपरि (नेपाल, कुमाउँ, गढवाल, पञ्जाब, काश्मीर, पाकिस्तान, अफगानिस्तान, ताजिकिस्तान, चीनको सिन्च्याङ र पश्चिम तिब्बत) हिमाच्छादित पर्वतमालाको वरिपरि ‘खस मण्डल’ बनाएर एक ढिक्को भएर आज पनि अनुहार, भाषा, भेस, संस्कृति र स्थान नाममा दसीका रूपमा देखिने खस जातिको नामको व्युत्पत्ति कसरी नेपाली भाषाको ‘खस्’ धातुबाट हुनु सम्भव छ ?

खसहरु बारे दोस्रो भ्रम हो तिनीहरु नेपालमा बाहिरबाटै आए भन्ने भ्रम । माथि भर्खरै उल्लेख गरिएको हिमाली भूभागमा एक ढिक्को भएर पनि कतै बाहिरबाट आउन सकिन्छ ? खसहरुसित अनुहार मिल्ने मानिस माथि उल्लेख गरिएको ताजिकिस्तान, तुर्कमेनिया, उज्बेकिस्तान, इरान, ककेसस, रुस लगायत पुरै युरोप सम्म लगातार रूपमा जोडिएको नदेखेर खसहरु बाहिरबाट आए भन्नु भ्रम र पूर्वाग्रह बाहेक केही पनि होइन । खस जनता जहाँ जहाँ छन्, त्यहीँकै आदिवासी हुन् भन्ने अनेक प्रमाणहरु छन् ।

महाभारत र माथि उल्लेख गरेका पुराणहरुमा खसहरु मानसरोवर क्षेत्रमा भएको उल्लेख छ । महाभारत काललाई प्राध्यापक बी० बी० लाल (१९५५ इ) ले खैरो रङका माटाका भाँडा चलाउने समय (इपू० नवौँ शताब्दी) को ठहराएका छन् । महाभारतको घटना नवौँ शताब्दी भए पनि पुराणहरु इपू० दोस्रो शताब्दी भन्दा अघि लेखिएनन् । धेरैजसो पुराणहरु त गुप्त काल (चौथो-छैटौँ शताब्दी) मा लेखिए । विष्णु पुराण र मार्कण्डेय पुराणलाई सबै भन्दा पुराना मानिएको छ । एट्किन्सनले ती पुराणमा पनि खसहरुको उल्लेख भेटेका छन् ।

इपू० पाँचौँ शताब्दीका युनानी इतिहासकार हेरोडोटसले कैलास मानसरोवरको कमिलाले उत्पादन गरेको बुकी सुनको चर्चा गरेका छन् । अलेक्जान्डर कनिङ्घमले इपू० छैटौँ शताब्दी सम्म भारतमा सुनको सिक्का बनाउने चलनै थिएन, त्यसैले भारतीय राजाहरु इपू० छैटौँ शताब्दीका इरानी सम्राट् दारिउसलाई बुकी सुन नै थैलामा राखेर चढाउँथे भन्ने लेखेका छन् । खसहरुले मानसरोवर क्षेत्रको त्यही कमिलाले उत्पादन गर्ने बुकी सुन (पिपीलिका सुवर्ण) नै आफ्नो खटनमा राख्न नै मानसरोवर क्षेत्र रोजेका रहेछन् । इरानका सम्राट्लाई भारत सरकारले चढाउने बुकी सुन पनि मानसरोवर क्षेत्रमै उत्पादन भएको होला ।

इटालेली लामा तारानाथले बुद्ध धर्मको इतिहासको परिशिष्टमा ‘दिव्यावदान’ र ‘अशोकावदान’ शीर्षकका दुइटा लेख दिएका छन्, जस अनुसार इपू० तेस्रो शताब्दीमा पाटलीपुत्र (पटना) मा अशोकका बाबु बिन्दुसारको मृत्यु भए पछि अशोकलाई राज्यको उत्तराधिकार नदिन राज्य विप्लव भएका वेलामा अशोकलाई गद्धीमा चढाउन पश्चिम नेपालका दुइटा खसहरुले सघाएका थिए भन्ने कुरो देखिन्छ । पछि अशोकले पश्चिम नेपालको खस प्रदेश जितेको कुरो पनि बौद्ध साहित्यमा पाइने सूचना सेलुप्स्की (१९६७ इ) ले दिएका छन् । रोमन इतिहासकार प्लिनी (इपू० पहिलो शताब्दी) ले पनि हिमालयको यस भेगमा खसहरुको बसोवासको चर्चा गरेका छन् ।

बालकृष्ण पोखरेलले ‘खस जातिको इतिहास’ मा युरेसियामा भेटिने खसका सबै गोती (शक) हरुलाई खस घोषित गरेका छन्, तर समग्र भित्री र बाहिरी युरेसियाको ऐतिहासिक र पुरातात्त्विक अनुसन्धानको अध्ययन गर्दा राहुल सांकृत्यायनले भने झैँ, खसको उपवर्ग शक नभएर शकको उपवर्ग मात्र खस भएको देखिन्छ । ‘खस’ शब्दसित मिल्ने ठाउँहरु ताक्लामकान, अफगानिस्तान, पाकिस्तान, आदि ठाउँमा पाइने भए पनि (खोअस, खोअस्पेस, खोफेने, खसमीर, खसघर, खो, आदि) यस जातिलाई खालि भारतको कुल्लुदेखि नेपाल सम्म मात्र खस नामले बोलाउने गरेको पाइन्छ । यी तथ्यले पनि खसहरुलाई ‘खसमण्डल’ सँग मात्र जोड्छ, बाहिर पुर्‍याउँदैन । कैलास पर्वत शिवजीको मूल थलो मानिन्छ ।

शिवजीलाई ‘यक्षस्वरूपाय जटाधराय’ (जटाधारी यक्ष स्वरूपका) भनिएको छ । एट्किन्सनले खसहरुलाई पहिले ‘यक्ष’ भनिन्थ्यो भन्ने लेखेका छन् । खसहरु शिव भक्त हुन्छन् । खसहरु बसेको ठाउँमा शिवजीकै पूजा बढ्ता हुन्छ । वासुकि नाग शिवजीको गहना मानिन्छ । खसहरु वासुकि नागलाई धेरै मान्दछन्। खसहरुका बसोबास क्षेत्रमा नाग पञ्चमी, नाग पूजा, नाग लाग्ने, नागको शिर, जस्ता अनेक लोकाचार पाइन्छन् ।

तेस्रो भ्रम खस राजाहरु भोटे हुन् कि भन्ने पनि छ, किन भने पहिलो त तिब्बतबाटै आएर नागराजले जुम्लालाई आफ्नो केन्द्र बनाएको कुरो कीर्ति स्तम्भमा छ । दसौँ शताब्दी पछि तिब्बतका राजा स्रङ चन गम्पोका सन्तानले तिब्बतलाई तिन ओटा राज्यमा बाँडे । त्यस पछि पूर्वको केन्द्र ह्लासा भयो, बिचको केन्द्र मानसरोवर क्षेत्र भयो र पश्चिमको केन्द्र चाहिँ लद्दाख भयो । त्यस पछि ह्लासाबाट मानसरोवर क्षेत्र (गुगे र पुराङ) तिब्बती संस्कृतिको केन्द्र भयो । एघारौँ शताब्दीका भोटे राजाले थोलिङ गुम्बा बनाए अनि काश्मीर र बिहारमा विद्यार्थीहरुलाई संस्कृत पढ्न पठाए, तर काश्मीरकै गर्मी पनि तिब्बती विद्यार्थीले सहन सकेनन् । धेरै विद्यार्थी मरे पछि राजाले विक्रमशिला महाविहारबाट धेरै प्रयत्न गरेर गुरु दीपङ्करलाई बोलाए । एघारौँ शताब्दीमा दीपङ्कर नेपालको बाटो थोलिङ गुम्बा पुगे, त्यहाँका विद्यार्थी पढाउने जिम्मा लिए, तिब्बती पनि सिके र संस्कृतका सयौँ ग्रन्थ अनुवाद गरे । जुन राजाले दीपङ्करलाई बोलाए, ती चाहिँ दुई जना छोरा सहित भिक्षु भए । ती राजाको संस्कृत नाम ज्ञानप्रभ थियो र उनका एउटा छोराको नाउँ नागराज थियो ।

पृथ्वी मल्लको दुल्लुको कीर्ति स्तम्भमा दुइटा वंशावली छन् । पृथ्वी मल्लका बाबु पुण्य मल्ल जन्मिँदा पाल थरका थिए, तर राजा हुँदा ससुराली मल्ल राजाहरु अपुता भएकाले ‘मल्ल’ थर लिएर घर ज्वाइँ तथा पुण्य मल्लका उत्तराधिकारी धर्मपुत्र भए । यसरी दुइटा वंश जोडिएर मल्ल भएको देखिन्छ । मल्ल थर भएका मानिसहरु त बुद्धकै पालामा पनि कुसिनगरमा बस्थे । राजाहरुको पाल वंश आठौँ शताब्दी तिर बङ्गालमा थालियो । ठिक त्यसै वेला गुजरातमा गुर्जर प्रतिहारवंशी राजाहरु बलिया भए, तर नवौँ दसौँ शताब्दीमा गुर्जर प्रतिहारवंशी राजाहरुले कन्नौज हत्याउँदा उनीहरुको थर पाल भई सकेको थियो । मध्य एसियाका राजा मुहम्मद गजनीले एघारौँ शताब्दीमा कन्नौज हत्याए पछि आफ्ना आसेपासे लिएर उनीहरु मानसरोवर पुगे र सम्भवतः उनीहरुले तिब्बती राजवंशबाट राज्य हत्याए । यसरी गुगेका पाल थर भएका राजाहरु भोटे राजाका उत्तराधिकारी भएका देखिन्छन् अनि कालान्तरमा तिनीहरुकै मल्ल थर हुन्छ ।

यसरी प्रागितिहासिक आप्रवासको परिणाम स्वरूप खस जाति दुई किसिमले क्रमशः सर्दै कर्णाली प्रदेश आई पुगेको देखिन्छ । खस शासकहरु चाहिँ पामिरको फेरो मारेर पश्चिम चीनको ताक्लामकान उपत्यकाबाट ताजिकिस्तान, ताजिकिस्तानबाट अफगानिस्तान, अफगानिस्तानबाट पाकिस्तान, पाकिस्तानबाट काश्मीर, काश्मीरबाट गढवाल, गढवालबाट कुमाउँ र कुमालबाट नेपाल आएको इतिहासले देखाउँछ भने, गुगल-अर्थ हेर्दा खस जनता चाहिँ ताक्लामकान उपत्यकाबाट पाखै पाखा पश्चिम तिब्बतको ताक्लाकोट हुँदै नेपाल मात्र होइन, काश्मीर, ताजिकिस्तान, किर्घिजिस्तान र मङ्गोलिया सम्म त्यसै पुग्न सक्ने देखिन्छ । यसरी खस जनता चाहिँ पामिरको मालभूमि वरिपरिको भौगोलिक मण्डल बनाएर एक ढिक्को भएर फैलेको देखिन्छ; यस भूभाग भित्र बिचमा अर्को जाति नै छैन । भारतमा आई पुगेका खस शासकहरु पनि नेपालमा शासन गर्न आई पुगेकै देखिँदैन । मानसरोवर क्षेत्रबाट नेपालमा शासन गर्न कर्णाली प्रदेश आएका ‘खस राजा’ हरुको थर ‘पाल’, ‘चल्ल’ र ‘मल्ल’ देख्ता तिनीहरु एघारौँ शताब्दीमा भारतको बङ्गाल, बिहार र काश्मीरमा शक्ति खिएर पश्चिम तिब्बत पुगेर शक्ति सञ्चय गर्दै तिब्बती राजवंशलाई विस्थापित गरे पनि तिब्बती संस्कृतिको संरक्षण गर्ने भारतीय शासकहरुहरुका रक्त मिश्रित वंशज होलान् भन्ने अड्कल गर्न सकिन्छ, तर उनीहरुका जनतालाई पनि भारतीय नै ठान्नु इतिहासको बहु आयामिक स्वरूपसित परिचित नहुनु हो । यसरी खस राजाहरुका रगतमा त भारतीय र तिब्बतीहरुको रक्त मिश्रण भएको हुने सम्भावना भए पनि खस जनतालाई पनि त्यस्तै ठान्न सकिँदैन।

यसै आधारमा जब जब गङ्गा सिन्धुको मैदानमा मध्य एसियाबाट विदेशी आक्रमण भयो, तब तब पुराना शासकहरु विस्थापित भएर गढवाल, कुमाउँ र नेपालका हिमाली र पहाडी प्रदेश तिर भाग्न बाध्य भए । क्यारमका गोट्टी सरे झैँ त्यस्ता शासकहरु उनीहरुका सेनामेना तथा आशामुखीहरु लिएर हिमाली र पहाडी प्रदेश तिर विस्थापित हुँदै गए होलान् । त्यसरी विस्थापित हुने अनेक सभ्यताका पत्र पत्र गढवाल, कुमाउँ र नेपालका हिमाली र पहाडी प्रदेशमा भेटिन सक्छन् । यसरी कर्णाली प्रदेशका खसहरुको सभ्यता भित्र अनुसन्धान गरे, अनेक सभ्यताका पत्र पाइन सक्छन् ।

खसहरुका धेरै चलनहरु भारतका हिन्दुका चलनसँग मिल्दैनन् । आज पनि हुम्ला र डोल्पामा ४०% परिवारमा द्रौपदी प्रथा पाइन्छ । यो चलन तिब्बती मूलका जनतामा मात्र होइन, खसहरुमा पनि पाइन्छ । बादीहरुको बहुपति प्रथा हिमाली क्षेत्रको ‘द्रौपदी प्रथा’ भन्दा फरक छ । पितृसत्तात्मक समाजले धेरै दरबारका राजा महाराजाहरुमा प्रचलित एउटै पुरुषले बेलुकै पिच्छे अर्का अर्कै महिलासित रात बिताएको धेरै अस्वाभाविक मान्दैन । अरुकै छोरी बुहारी र पत्नीहरुसित एकै चोटि रास लीला मनाउने पुरुषलाई भगवान् कृष्ण मानेर पूजा गर्न समाजले केही पनि अप्ठ्यारो मानेको छैन, कृष्णजी र राजा महाराजाहरुलाई समाजले चरित्रहीन ठहराएर कलङ्कित गरेको छैन, तर मातृसत्तात्मक समाजमा त्यसै गरी एउटै महिलाले बेग्ला बेग्लै पुरुषसित रात बिताएको पनि स्वाभाविक हुन्छ भन्ने कुरो हाम्रो पितृसत्तात्मक आँखाले बुझ्न सक्तैन । बादीहरुको समाजमा मातृसत्तात्मक समाजको त्यही अवशेष छ, जहाँ श्रीमतीहरु गाउँका राजा, रजौटा र ठालुहरु कहाँ नाचगान गरेर रात बिताउन पुग्छन् र उनीहरुका पतिहरु चाहिँ मादल र बाजा बजाएर सहजकर्ता हुन्छन् ।  बादीहरुले खस जातिको प्रागितिहासिक चलन साँचेको देखिन्छ । चीन, ग्रिस, संस्कृत र मध्य एसियामा ‘स्त्री राज्य’ को वर्णन पाइन्छ । महाभारत र हेरोडोटसले पनि कुमाउँको ब्रह्मपुर मास्तिरको खसहरुको स्त्री राज्यको  उल्लेख गरेका छन् । खसहरुका परिवारमा सौता अंश लाग्छ, भारतमा जस्तो छोरा अंश लाग्दैन । पाञ्चाल (कुमाउँ) की राजकुमारी द्रौपदीको बहुपतित्वको उपहास महाभारतमा पनि गरिएको छ ।

कर्णाली प्रस्रवण क्षेत्रमा कुनै पुराणमा पनि उल्लेख नभएका असङ्ख्य देउताहरुको पूजा हुन्छ । कुमाउँमा कुम्भ निकुम्भको पूजा हुन्छ । डोटी र बैतडीमा घटाल (घटोत्कच) देउताको पूजा हुन्छ । खसहरु हिन्दु धर्मशास्त्र बन्नु भन्दा अगाडिदेखि नै यस भूभागमा बसोबास गरेकाले र गङ्गा सिन्धुको मैदानमा वेद, ब्राह्मण र हिन्दु पुराणहरु लेखिएकाले ब्राह्मण धर्म (वर्णाश्रम धर्म) बन्नु भन्दा अगाडि नै हिमालयको यस भेगमा बसी रहेका आदिवासी खसहरुलाई मनुस्मृतिमा पनि जातमा काढेको देखिन्छ । कुमाउँ, बैतडी, डोटी, अछाम, हुम्ला र जुम्लामा अझै पनि जनै नलगाउने (मतवाली) छेत्रीहरु पाइन्छन् । गबारियोले यस्तै छेत्रीलाई चाहिँ सक्कली खस मानेका छन् । पछि बनेको हिन्दु वर्णाश्रम धर्मले यस्ता छेत्रीहरुलाई अछाममा पानी नै काढेको पनि देखिन्छ भने, कतै कतै चाहिँ बिहेबारी चल्ने सूचना पनि पाइएको छ ।

‘संस्कृति के चार अध्याय’ भन्ने किताबमा दिनकरले के लेखेका छन् भने, हिन्दु समाजले प्रविधिज्ञहरुलाई चाहिँ जातकट्टा गरेर पानी काढेको देखिन्छ । नेपालका कामी, दमाईँ, सार्की, गाइने, आदि त्यस्तै प्रविधिज्ञ हुन्; नेपालका प्राचीन इन्जिनियर हुन् । डा० महेश्वर जोशी (२०११ इ) ले ‘शूद्रों का ब्राह्मणत्व’ भन्ने किताबमा के लेखेका छन् भने, कुमाउँमा गोर्खालीहरुले नजितुन्जेल त्यहाँका शूद्रलाई पानी काढिएको पनि थिएन, बाहुनसँग बिहेबारीमा पनि बन्देज थिएन । यसरी नेपालमा चाहिँ मैदानी हिन्दु धर्मको प्रभावले आफ्नै सिप भएका केही खस जातिलाई अन्यायपूर्वक दलित बनाइएको रहेछ ।

जुम्लामा नारायणको पूजा गर्दा पनि बोको वलि गर्ने चलन छ । यो चलन हिन्दु धर्मसित मिल्दैन ।

यसरी खसहरुका चलन नै हिन्दुहरुसँग धेरै मिल्दैनन् ।

 

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply