नेपाली भाषाको उत्थान र विकासमा गोपाल पाँडे ‘असीम’ को योगदान अद्वितीय छ, किन भने त्यस मार्गमा उनले जे जे गरे, त्यस्तो अरू कसैले गरेन । उनका योगदानको बेलिविस्तार यसरी लगाउन सकिन्छ :
(क) विसं १९९० को भुइँचालाले धेरै नेपालीको घर र बस्ती ध्वस्त पार्यो । गोपाल पाँडेको जीवनमा चाहिँ त्यसले आईएको परीक्षा दिने योजना सधैँका लागि अन्त्य गरिदियो, तर आफ्नो पढाइलाई उनले सामाजिक, शैक्षिक र भाषिक उत्थान गर्ने सङ्कल्पका रूपमा साटे । यसरी प्रवेशिका परीक्षा सम्म मात्र उत्तीर्ण भएका गोपाल पाँडेले १९९२ सालमा निजामती एघार पास गराउने स्रेस्ता पाठशालामा गुरु भएर प्रवेश गरे । स्रेस्ता पाठशालामा नेपालका विभिन्न अड्डा अदालतमा काम गर्ने अनेक तहका जागिरेहरूले जान्नुपर्ने चिठी पत्र, स्याहा, टिप्पणी, तोक, आदेश, जस्ता कार्यालय सञ्चालनका अनेक किसिमका लेखोटमा पोख्त बनाइन्थ्यो । पछि गोपाल पाँडे दरबार हाई स्कुलका नेपाली विषयका शिक्षकमा पनि नियुक्त भए । यसरी चार दशक भन्दा धेरै समय सम्म उनी दरबार हाई स्कुलमा नेपाली सिकाउने गुरुका रूपमा प्रतिष्ठापित भए । गोपाल पाँडे ‘असीम’ को नेपाली भाषामा योगदानका लागि पूर्ण समर्पणको मूल कारण त्यही स्रेस्ता पाठशालाको नेपाली पढाउने गुरुको पद हो । तिनै विद्यार्थीलाई शुद्ध र प्रभावकारी नेपाली भाषामा नेपाली अड्डाका कर्मचारीले जान्नु पर्ने नेपाली भाषाका अनेक विधाहरूमा पोख्त बनाउन नै गोपाल पाँडेले आफ्नो गुरु व्यक्तित्वलाई उत्तरोत्तर रूपमा तिखारेका हुन् । दरवार हाई स्कुलका विद्यार्थीलाई पनि नेपाली सिकाउन थाले पछि गोपाल पाँडेको गुरु व्यक्तित्व सर्व साधारण नेपाली पढ्ने विद्यार्थीका लागि पनि लक्षित हुँदै विस्तारित भयो ।
(ख) नेपालीमा पाठ्य पुस्तक लेख्न थाल्ने पहिला लेखक जयपृथ्वीबहादुर सिंह भए पनि आफ्ना माथि उल्लेख गरिएका विद्यार्थीहरूलाई नेपाली भाषाको रचना सिकाउन गोपाल पाँडे (१९९४) ले नै सबभन्दा पहिले पाठ्य पुस्तक (पोखरेल, २०७०) लेखेको देखिन्छ । यस बाटामा ‘रचना दर्पण’ (१९९४) र त्यसको पूरक कृति ‘रचना केशर’ (२०००) नेपाली रचना सिकाउने शिक्षाका इतिहासको नौलो पाइलो हो । ‘नेपाली रचना दर्पण’ को लक्ष्य नै मूलत: सरकारी अड्डाका कर्मचारीले लेख्न जान्नु पर्ने नेपाली भाषाका विभिन्न विधामा विद्यार्थीहरूलाई पोख्त बनाउनु नै हो । दरबार हाई स्कुलमा पढाउन थाले पछि मात्र त्यही सिपको लक्ष्य अरू सर्व साधारण विद्यार्थीमा विस्तारित भएको हो ।
(ग) स्रेस्ता पाठशाला र दरबार हाईस्कुलका तिनै विद्यार्थीहरूलाई नेपाली भाषाको हिज्जे सिकाउन उनले ‘ह्रस्व-दीर्घ आदिको सबाई’ (१९९७) लेखे । नेपाली भाषाको हिज्जे सिकाउन नेपाली लोक छन्द सबाईको प्रयोग गर्ने अर्को कुनै पनि व्याकरणकार अहिले सम्म देखिएको छैन । हेमराज पण्डितको ‘गोरखा भाषा व्याकरण चन्द्रिका’ (१९६९) को प्रभाव ‘नेपाली कसरी शुद्ध लेख्ने?’ (१९९२) मा परेको थियो भने, ‘नेपाली कसरी शुद्ध लेख्ने?’ भन्ने पुस्तिकाकै अनुसार हिज्जे सिकाउन गोपाल पाँडेले यो पुस्तक लेखेका थिए । सवाई छन्दमा लेखिएको नेपाली हिज्जेको त्यो नियम विद्यार्थीहरूलाई घोक्न सजिलो थियो र यस प्रकारको अद्वितीय नौलो पाइलो भयो ।
(घ) लगातार दश वर्ष नेपाली पढाउँदा पहिले काशीमा क्विन्स कलेजका कक्षा ९ का विद्यार्थी श्यामसुन्दर दास, राम नारायण मिश्र र शिव कुमार सिंहहरूले आफ्नो छात्रावासमा सल्लाह गरेर बीजाधान भएको, पछि १९८३ ई. मा स्थापना भएको र मदनमोहन मालवीयले प्रचार र उत्थान गरेको ‘नागरी प्रचारिणी सभा’ ले भारतीय राष्ट्र भाषा हिन्दीको उत्थान र त्यसका माध्यमबाटै अङ्ग्रेजी सिक्न नसक्ने असङ्ख्य विद्यार्थीहरूलाई ‘हिन्दी विशारद’ र ‘हिन्दी भूषण’ जस्ता समान स्तरका उपाधि दिलाएर अङ्ग्रेजी पढ्ने विद्यार्थी सरह नै सेवा आयोगबाट निजामती सेवाका लागि रोजिने परिपाटिबाट प्रेरणा र प्रभाव लिएर नेपाली भाषाकै माध्यमबाट निजामती सेवामा उक्लिन पाउने एउटा संस्था खोल्न पाए हुन्थ्यो भन्ने गोपाल पाँडेलाई लाग्यो । ‘नेपाली शिक्षा परिषद्’ गोपाल पाँडे ‘असीम’ को त्यसै प्रेरणा र सपनाको साकार रूप हो । त्यसै विचारले विसं २००२ देखि उनले तत्कालीन सरकारलाई नेपाली माध्यमबाटै प्रवेशिका परीक्षा दिलाउने माग गर्न थाले । संवत् २००४ मा ‘राष्ट्र भाषा शिक्षा प्रणाली’ को पाठ्यक्रम माग भए अनुसार शिक्षा विभागमा प्रस्तुत भयो, तर २००८ साल असारमा मात्र शिक्षा मन्त्रालयबाट ‘राष्ट्र भाषा शिक्षा प्रणाली’ को पाठ्य क्रम स्वीकृत भयो । विसं २००९ मा प्रवेशिका परीक्षा चलाउने स्वीकृति पाए पछि ‘नेपाली शिक्षा परिषद्’ ले नेपालको इतिहासमा ऐतिहासिक फड्को हाल्यो । त्यस पछि २००९ साल भदौ १५ गतेदेखि दरबार हाईस्कुलकै उत्तर पट्टिको लङमा साँझ पढाउने गरी ‘नेपाली उच्च शिक्षालय’ खुल्यो । गोपाल पाँडे प्रधानाध्यापक भए । (शर्मा, २०३७) ।
(ङ) ‘साढे छ मिनट’ को चन्दा गोपाल पाँडेको अर्को नौलो योजना हो । नेपाली माध्यममा शिक्षा दिने स्वीकृति पाए पछि अत्यन्त कम खर्चमा योग्यतम शिक्षक नियुक्त गर्न गोपाल पाँडेले ‘साढे ६ मिनट’ को चन्दा सहयोग लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा र बालकृष्ण सम जस्ता अनेक विद्वानसित मागे । त्यस्तो खालको चन्दा दिने विद्वानले दिनको साढे ६ मिनटका दरले हप्ताको झन्डै ४५ मिनट अर्थात् एक पिरियड कक्षाको पढाई दिनु पर्ने रहेछ । यसरी नेपाली माध्यममा पढाउने योग्यतम गुरुहरूको आपूर्ति गोपाल पाँडेले गरेका थिए । त्यस विद्यालयमा लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मी प्रसाद देवकोटा जस्ता अनेक गुरुहरूले पढाए ।
(च) विसं २०१० देखि २० पल्ट सम्म नेपाली शिक्षा परिषद्ले प्रवेशिका परीक्षा सञ्चालन गर्यो । यसरी नेपाली माध्यमबाटै एसएलसी, आईए, बीए र एमए सरहको शिक्षा दिलाउने गोपाल पाँडेको सपना एसएलसी सम्म मात्र पूरा भयो, तर नेपाली माध्यमबाटै जाँच पास गराएको अङ्ग्रेजीका अन्ध भक्तहरूले विरोध गरिरहेकै थिए । अनेक विरोध र अड्का तेर्स्याउने र गोपाल पाँडेका काममा भाँजो हाल्नेहरूको सरकारी उच्च ओहोदामा पुगेकाहरूमै पनि कमी थिएन । अन्त्यमा नेपालमा तथाकथित ‘नयाँ शिक्षा योजना’ लागु भए पछि नेपाली माध्यमबाट प्रवेशिका परीक्षा दिने परिपाटिको नेपालको इतिहासबाट सधैँका लागि अन्त्य भयो । त्यस पछि नेपाली माध्यममै आईए, बीए र एमए सरहको परीक्षा दिलाउने गोपाल पाँडेको कल्पनामा साथ दिने सहयोगी र उत्तराधिकारी नपाएर त्यो योजना गर्भैमा सधैँका लागि तुह्यो, तर आज पनि त्यस योजनाको सान्दर्भिकता छ ।
(छ) आज पनि नेपालमा अनेक तहमा अनुत्तीर्ण हुने विद्यार्थीहरू अङ्ग्रेजीकै छन् । विसं २०६६ मा एसएलसी परीक्षा दिने विद्यार्थीहरूमा अङ्ग्रेजी विषयमा मात्र आधा भन्दा बढ्ता (झन्डै ५५%) विद्यार्थीहरू अनुत्तीर्ण भएका थिए (गोरखापत्र ११०.१०१:१) ।
(ज) आज अङ्ग्रेजी माध्यममै पढाइने मानिएका त्रिभुवन विश्व विद्यालयका उच्च शिक्षाका अधिकांश कक्षाहरू नेपाली माध्यममै पढाइन्छन् । यो चलन विज्ञान, चिकित्सा शास्त्र र इन्जिनियरिङमा केही कम छ, तर त्यहाँ पनि विद्यार्थीले नबुझेका ठाउँमा धेरैजसो नेपाली माध्यमकै सहायता लिइन्छ । यसरी सरकारी नीतिमा नेपाली उच्च शिक्षामा नेपाली माध्यमको विरोध भए पनि व्यवहारमा भने अङ्ग्रेजीमा मात्र प्रश्न पत्र सोधिने त्रिभुवन विश्व विद्यालयका अधिकांश कक्षा नेपाली माध्यममा पढाइन्छन् । यसरी गोपाल पाँडेको नीतिको कागजी र बोक्रे विरोध भए पनि व्यवहारमा भने गोपाल पाँडेकै नीतिको अवलम्बन त्रिभुवन विश्व विद्यालयले गरेको देखिन्छ ।
(झ) त्रिभुवन विश्व विद्यालयको ऐन बनेका वेलामा नेपाली शिक्षा परिषद्कै प्रेरणाले विश्व विद्यालय खुलेको १५ वर्ष सम्ममा अङ्ग्रेजी विषय बाहेक सम्पूर्ण पठनपाठनको माध्यम नेपाली बनाउने भन्ने राखियो । झन्डै ८० प्रतिशत कक्षाहरूमा नेपाली माध्यम चलाएर विश्व विद्यालयले त्यो लक्ष्य व्यवहारमा पूरा गरे जस्तो छ, तर प्रश्न पत्र चाहिँ गल्ती भए पनि अङ्ग्रेजीमै छापिन्छन्, नेपालीमा सोधिँदैनन् । खालि अधिकांश विद्यार्थीहरूले अङ्ग्रेजी भाषाका ती प्रश्न पत्रहरूमा के सोधिएको छ भनेर जान्नेहरूलाई नेपालीमा सोध्छन् । कोही जान्ने भेटिए, प्रश्न बुझेर नेपालीमा उत्तर लेख्छन्; जान्ने नभेटिए अप्ठ्यारामा पर्छन्, तर कसैले पनि जुन जुन विषयको उत्तर नेपाली माध्यममा लेख्न पाइन्छ, ती ती विषयका प्रश्न पत्रहरू नेपालीमा पनि सोधिनुपर्छ भन्ने कुरो उठाउँदैनन् । यसरी धेरै तिर गोपाल पाँडेका उत्तराधिकारीहरूको खाँचो परेको देखिन्छ ।
(ञ) गोपाल पाँडेले जन्म दिएको ‘नेपाली शिक्षा परिषद्’ नै बहुभाषिक नेपालको आदर्श भाषा नीति कस्तो हुनु पर्छ भन्ने कुरो सार्वजनिक गर्ने नेपालको इतिहासको सर्व प्रथम चौतारो बनेको इतिहास पनि छ । काशी नागरी प्रचारिणी संघले बृहत् सम्मेलन गरे झैँ नेपाली शिक्षा परिषद्ले पनि २००९ साल माघमा नेपाली लेखकहरूको बृहत् सम्मेलन गरेको थियो । त्यसै समारोहमा भाग लिन राहुल सांकृत्यायन पनि नेपाल आएका रहेछन् भन्ने कुरो राहुल सांकृत्यायनको ‘मेरी जीवन यात्रा’ भन्ने ग्रन्थको पाँचौँ ठेलीमा लेखिएको छ । सांकृत्यायन लेख्छन् :
शाम को ५ बजे माहिला गुरु की अध्यक्षता में ‘नेपाली शिक्षा परिषद्’ की सभा में मैनें शिक्षापर भाषण दिया । मेरे भाषा-सम्बन्धी विचारों के लिए गलतफहमी होने की गुंजाइश न रहे, इसलिए भाषा-नीति के बारे में मैने विशेष तौर से कहते हुए बतलाया, कि सारे नेपाल मेंनेपाली (गोरखाली) भाषा का वही स्थान है और रहेगा, जो कि भारत में हिन्दी का । पर, नेपाल बहुभाषिक देश है । यहां के लोगो को यदि जल्दी से जल्दी साक्षर और शिक्षित करना है, तो प्रारम्भिक शिक्षा का माध्यम उनकी भाषाओं को रखना होगा । नेवार भाषा का अपना पुराना लिखित साहित्य है । उसमें बच्चों के लिए पाठावली तैयार करना मुशकिल नहीं है । पर, गुरुंग, मगर आदि उन भाषाओं को भी नागरी लिपि में शिक्षाका माध्यम बनाना चाहिए, जो अभी तक लिखी नहीं गई है । कुछ लोगों का ख्याल था, कि मैं नेपाली भाषा का पक्ष कमजोर करुंगा, लेकिन मैने कमजोर करने की बात तो दूर, इसे और सबल करते हुए कहा, कि जिस राष्ट्र में बहुत सी भाषाएं हैं, वहां एक सम्मिलित भाषा की अत्यन्त आवश्यकता है, और सौभाग्य से नेपाल में वह भाषा पहले ही से मौजुद है । इसलिए हमें उसे छोडना नहीं है । नेपाल अपना विशव विद्यालय कायम करे, जिस में उच्च शिक्षा का माध्यम नेपाली हो ।
राहुल सांकृत्यायन (२७ जनवरी १९५३): नेपाल में. मेरी जीवन यात्रा ५: १६०-१८९.
यसरी नेपालको भाषा नीति बारे पहिलो आदर्श विचारका रूपमा राहुल सांकृत्यायनको विचार पनि गोपाल पाँडेले नेतृत्व गरेको ‘नेपाली शिक्षा परिषद्’ ले आयोजना गरेको बृहत् सम्मेलनमा नै सार्वजनिक भएको रहेछ ।
(ट) गोपाल पाँडेको नेतृत्वको परिणाम स्वरूप नेपाली शिक्षा परिषद्ले आज पनि त्यस्ता अनेक काम गरिरहेको छ, जस्ता कामहरू अरू विकसित देशहरूमा सरकार आफैँले गर्छ । त्यस्ता केही काम यसरी गन्न सकिन्छ :
- २०११ देखि स्वर्गीय साहित्यकारहरूको सामूहिक जयन्ती मनाउने काम
- २०११ पुस शुक्ल एकादशी : लेखनाथको अभिनन्दन र रथयात्रा
- २०१६ देखि भानुभक्त, मोतीराम, सम र लेखनाथ जस्ता साहित्यकारको प्रतिमाको स्थापना
- २०३३ देखि: मोती स्मारक भवन (२०३३) र लेखनाथ साहित्य सदन प्रतिमाको उद्घाटन (२०४६)
- २०४२ देखि लेखक र साहित्यकारका नाममा पुरस्कार स्थापना: मोतीराम (२०४२), गोपाल पाँडे ‘असीम’ (२०४९-५०), भानुभक्त (२०५१)
- २०४६ साहित्यिक सङ्ग्रहालयको स्थापना
- २०५६ : समको प्रतिमा स्थापना
- २०५८ असार १० : ल्हासामा देवकोटा प्रतिमाको स्थापना
- त्यस्तै साहित्यकारहरूका नाउँमा टोल र बाटाको नाम राख्ने प्रयत्न
नेपालमा थुप्रै संस्थाहरूको आचरण चाहिँ दुर्भाग्यवश व्यक्तिको जस्तो देखिन्छ अनि गोपाल पाँडे ‘असीम’ जस्ता केही व्यक्तिहरूको आचरण चाहिँ संस्थाको जस्तो देखिन्छ । राष्ट्र र राष्ट्रियतालाई माथि उचाल्न चाहिँ त्यस्ता व्यक्तिको जस्तो आचरण गर्ने संस्थाहरूको भन्दा कति हो कति धेरै योगदान गोपाल पाँडे जस्ता ‘संस्था व्यक्ति’ हरूबाट हुन्छ । गोपाल पाँडेको अध्ययन नेपालका थुप्रै समकालीन विद्वानहरूका तुलनामा अत्यन्त सामान्य हो, तर दूरदर्शी कल्पना, अठोट, परिश्रम, उद्योग, लगनशीलता, निरन्तरता, निश्चित लक्ष्य र अनुशासन जस्ता कुरामा गोपाल पाँडेले आफ्ना पूर्ववर्ती, समकालीन र थुप्रै उत्तरवर्ती विद्वान् र विदुषीहरूलाई उछिनेर नेपाली भाषाको उन्नयनमा अनेक नौला पाइला टेकेको भेटिन्छ ।
सन्दर्भ सामग्री
‘असीम’, गोपाल पाँडे. १९९४. रचना दर्पण. (भाग १-३). काठमाडौँ : नेभाप्रस.
‘असीम’, गोपाल पाँडे. १९९७. ह्रस्वदीर्घको सबाई. काठमाडौँ : नेभाप्रस.
‘असीम’, गोपाल पाँडे. २०००. रचना केशर. काठमाडौँ : नेभाप्रस.
गोरखापत्र वर्ष २०६७ साल साउन ३० गते आइतबार, पृ. १
पण्डित, हेमराज. १९६९. चन्द्रिका गोरखा भाषा व्याकरण. काठमाडौँ : लेखक.
पोखरेल, माधव प्रसाद. २०७०. नेपाली शिक्षामा रचना दर्पण र रचना केशरको मौलिकता. गोष्ठी पत्र, गोपाल पाँडे ‘असीम’ शतवार्षिकी प्रवचन. नेपाली शिक्षा परिषद्, काठमाडौँ.
शर्मा, रमा. २०३७. आदरणीय भाषासेवी. असीम संस्मरण ग्रन्थ. काठमाडौँ : नेपाली शिक्षा परिषद्
सांकृत्यायन, राहुल. १९६७ ई. नेपाल में. मेरी जीवन यात्रा ५: १६०-१८९.