बेकामे पिएचडी !

By | July 28, 2019

(अन्नपूर्ण पोस्ट, २०७६ साउन ११ गते शनि बार प्रकाशित)

पिएचडी (डाक्टर अफ फिलोसफी) जुनसुकै विश्व विद्यालयले कुनै शोध कर्तालाई दिने सबभन्दा पहिलो सर्वोच्च उपाधि हो । विश्व विद्यालयबाट जुन शोध कर्ताले जुन कुराको अनुसन्धान गरे बापत पिएचडी उपाधि पाउँछ, त्यो कुरो संसारमा अरु कसैले पनि त्यस भन्दा अगाडि पत्तो नलगाएको कुरो हुनु पर्छ । यसरी संसारको जुनसुकै विश्व विद्यालयको पिएचडी उपाधि पाएको अनुसन्धान संसारभरकै विश्व विद्यालय, प्राध्यापक र अनुसन्धाताका लागि काम लाग्ने र गौरवको विषय हुन्छ, किन भने जुन शोध कर्ताले धेरै मेहनत गरेर विश्वभरकै ज्ञानको सरस्वती मन्दिरमा आफ्नो अनुसन्धानबाट एउटा नौलो इँट थप्छ, त्यो शोध कर्ता विश्वकै ज्ञान मन्दिरको ऋषि तुल्य गौरवमय नागरिक हुन्छ ।

            मैले ‘गुरु परम्परा’ भन्ने निबन्धमा मैले पिएचडी गर्दा पुणें विश्व विद्यालयको डेक्कन कलेजका मेरा गुरु प्राध्यापक पेरी भास्कररावले अनुसन्धानको धर्म बारे दिनु भएको गुरु मन्त्रको चर्चा गरेको छु । मैले ‘नेपाली भाषाको लिङ्ग’ विषयमा लेखेको लेख पहिलो पल्ट देखाउँदा उहाँले भन्नु भएको थियो, ‘एउटा शोध लेख लेख्नु भनेको चार ओटा किताब फिँजायो, एउटाबाट अलिकति सार्‍यो, अर्काबाट अलिकति सार्‍यो, पाँचौँ कृति तयार गर्‍यो, होइन । नेपाली भाषाको लिङ्ग बारे कुनै शोध लेख लेख्नु छ भने, तैँले विश्वभरका लेखकहरुले लिङ्ग बारे के के लेखेका छन्, त्यो पढ्नु पर्छ, अनि मात्र संसारका भाषामा लिङ्ग कति किसिमको हुँदो रहेछ, भाषिक लिङ्गको स्वभाव कस्तो हुँदो रहेछ र व्याकरणको लिङ्ग बारे खोजी गर्नेले के के पक्षमा ध्यान पुर्‍याउनु पर्दो रहेछ, अहिले सम्ममा नेपाली व्याकरणका लेखकले के के लेखेका रहेछन् अनि के के लेख्न बाँकी रहेछ भन्ने कुरो थाहा हुन्छ । त्यति पढेपछि मात्र आफुले नेपाली भाषाको लिङ्ग बारे अहिले सम्म अरुले गरेको अनुसन्धानमा नौलो कुरो थप्न सकिन्छ ।’ प्राध्यापक रावको त्यो ‘गुरु मन्त्र’ पाएपछि मैले के कुरो चाल पाएँ भने, पिएचडी उपाधि पाउने प्रबन्ध मात्र होइन, जुनसुकै शोध लेखले विश्व ज्ञानको सरस्वती मन्दिरमा एउटा नौलो इँट थप्नै पर्ने रहेछ ।

            मैले पाएको त्यही गुरु मन्त्रका आधारमा म विश्वभरको शोध प्रबन्ध र शोध लेखलाई कसी लगाउँछु । त्यसै मन्त्रका आधारमा हाम्रा शोध प्रबन्ध र शोध लेखहरु जाँच्ता मलाई धेरैजसो निराशा हात लागेको छ ।

            मेरा गुरु कुलमा जुन चेलो पिएचडी तहको शोध कार्य गर्न आउँछ, म त्यसलाई एउटा अड्को थाप्छु, ‘दुई वर्ष भन्दा बढ्ता समय नलगाउने भए मात्र म मेरा गुरु कुलमा प्रवेश दिन्छु ।’ जसले मान्यो, त्यसले मात्र मेरा गुरु कुलमा प्रवेश पाउँछ । मैले नेपालका भाषा, व्याकरण र साहित्यमा आफैँले अनुसन्धान गर्नु पर्ने थुप्रै विषय छन्, तर म ती सबै विषयमा अनुसन्धान गर्न आफैँ भ्याउँदिन । मलाई एउटा दुइटा मात्र आयुले त्यति अनुसन्धान गर्न पुग्दैन । त्यो एउटा एउटा काम म मेरा चेलालाई बाँड्छु । उसलाई यो खोज् र त्यो खोज्, यो पढ् र त्यो पढ्, यसरी मिला र उसरी मिला भनेर काम अराउँछु । म मेरा चेलालाई आफुले गर्नु पर्ने अनुसन्धान गराउँछु । चेलाको भन्दा त्यो मेरो काम बढ्ता हो भन्ने म ठान्छु, त्यसैले चेलो सँगसँगै लागेर म उसको सामग्री केलाउँछु । त्यस विषयमा लेखिएका किताबहरु अन्तरजालबाट बटुल्छु अनि चेलो भन्दा अघि अघि त्यसका सिद्धान्तहरु पढ्न थाल्छु । यसरी म चेलालाई दाउन सक्ने हुन्छु । केलाउने र विश्लेषण गर्ने काम सकेपछि चेलालाई आफैँ दरा खुट्टा टेक्न जति सिद्धान्त नजानी हुँदैन, त्यति सिद्धान्त पढ्न लगाउँछु । चेलो अङ्ग्रेजी अथवा संस्कृत पढ्न सक्तैन भने, म आफैँ पढेर सिकाउँछु । यसरी म चेलालाई खार्छु, चेलाले पिएचडीको उपाधि पाउँछ र उसले पत्तो लगाएको नौलो तथ्य मेरा गुरु कुलको धन हुन्छ । एउटा चेलाले एउटा मात्र नौलो मन्त्र भेट्छ, तर मेरा गुरु कुलको ज्ञान र मन्त्र शक्ति बढ्छ ।

            नेपालका विश्व विद्यालय र अनुसन्धान केन्द्रको सबै अनुसन्धान कमसल र ढुटो त छैन । मैले चाल पाएका सबै विश्व विद्यालयमा आदर्श अनुसन्धान भएको मैले अनेक पल्ट चाल पाएको छु, तर विश्व विद्यालयहरुको धेरैजसो पिएचडीकै अनुसन्धान पनि फोस्रो ढुटो भएको म नै पटक पटक साक्षी पनि भएको छु । विश्व विद्यालयहरुको शोध कार्य फोस्र्याउने काम अनुसन्धाता चेलाले गर्दा भन्दा पनि त्यस चेलालाई डोर्‍याएर पिएचडी उपाधि दिलाउने ‘गुरु’ र हाकिमहरुको आलस्य र अयोग्यताले गर्दा बढ्ता भएको मैले अनुभव गरेको छु । नेपालमा राजनीतिक झन्डा बलियोसँग पकडेकै भरमा पनि प्रोफेसर र पिएचडी हुन सजिलो र अनुकूल वातावरण छ भन्ने कुरो मर्मज्ञहरुले चाल पाई रहेकै कुरो हो । विश्वका कुनै पनि आदर्श विश्व विद्यालयमा यस्तो बेथिति हुँदैन ।

            जसले जीवनभरमा एउटै पनि आदर्श शोध पत्रिकामा एउटा पनि लेख प्रकाशित गरेको छैन, त्यस्तो मान्छे नेपालमा चाहिँ प्राध्यापक पनि हुन पाउँछ, विश्व विद्यालयको शिक्षाध्यक्ष र सङ्कायाध्यक्ष पनि हुन पाउँछ, अनुसन्धान परिषदको सदस्य पनि हुन पाउँछ, शोध निर्देशक, शोध विशेषज्ञ र शोध परीक्षक पनि हुन पाउँछ अनि विश्व विद्यालयका प्राध्यापकहरुको मूल्याङ्कन कर्ता पनि हुन पाउँछ । यस्तो बेथिति संसारभरका आदर्श विश्व विद्यालयमा कल्पनै गर्न नसकिने कुरो हो । यहाँ उल्लेख गरिएका सबै खालका ‘विशेषज्ञ’ ‘गुरु’ हरुले नेपालका विश्व विद्यालयमा पिएचडीको शोध प्रबन्ध फोस्र्याउने विशिष्ट योग्यता राख्तछन् ।

            अहिले सम्म नेपालका सबै विश्व विद्यालयहरुमा जति आदर्श अनुसन्धान भएका छन्, ती खास खास गुरुहरुको जाँगर, ज्ञान र गम्भीरताले मात्र भएका छन् । नेपालका विश्व विद्यालयका अनुसन्धानको गौरव र गरिमा तिनै गुरुहरु र उनीहरुको गुरु कुलका शिष्यहरुको मेहनत र गम्भीरताको फल मात्र हो । अर्कातिर नेपालका विश्व विद्यालयमा अद्वितीय योग्यता भएका केही गुरुहरु छन्, तर तिनीहरु आफ्ना गुरु कुलका अनुसन्धानको गरिमा बढाउन केही पनि मेहनत गर्दैनन् । तिनीहरु दुई चार पैसाको दक्षिणाको लोभले हो कि कुन स्वादले आफ्ना चेलाहरुले जे जे घैमल लेखेर ल्याए, त्यसैमा हस्ताक्षर मात्र गर्छन् । यस्ता ‘हस्ताक्षर-गुरु’ हरुले पनि विश्व विद्यालयका अनुसन्धान फोस्र्याई रहेका छन् र विश्व विद्यालयलाई कलङ्कित बनाई रहेका छन् ।

विश्व विद्यालयको कुल पति र सह कुल पति प्रधान मन्त्री र शिक्षा मन्त्री नै किन राख्नु पर्‍यो? विश्व विद्यालयका उप कुल पति, शिक्षाध्यक्ष, कुल सचिव, सङ्कायाध्यक्ष, अनुसन्धान केन्द्रका निर्देशक र सदस्यहरु, सेवा आयोगका अध्यक्ष र सदस्य अनि विभागीय प्रमुखहरुको नियुक्तिमा सिंहदरबारकै प्रत्यक्ष वा अप्रत्यक्ष खटन किन चाहियो? नेपालका शोध प्रबन्ध फोस्र्याउने तारतम्यमा यस्तै प्रपञ्चको अप्रत्यक्ष हात छ । जुन सिंहदरबारको शासनले सरकारी अस्पताल, सरकारी समाचार पत्र, सरकारी वायु सेवा निगम, सरकारी विद्यालय र सरकारी कार्यालयको अत्यावश्यक सेवा त ठिकसँग चलाउन सकी रहेको छैन, त्यसले विश्व विद्यालयको अनुसन्धान कसरी ठिकसित चलाउन सक्छ?

मैले देखेको अमेरिका र जापानमा सरकार र विश्व विद्यालयको अनुसन्धानको बिचमा जुन किसिमको नङमासुको सम्बन्ध पाएको छु, त्यस आदर्शको सिको गर्न सक्यो भने, सिंहदरबारले पनि नेपालका विश्व विद्यालय र अनुसन्धान केन्द्रको अनुसन्धान खँदिल्याउन सक्छ ।

विकसित देशका सरकार र विश्व विद्यालय तथा अनुसन्धान केन्द्रमा माग र आपूर्तिको सम्बन्ध हुन्छ । सरकारले आफ्नो अगाडि आई परेको कठिन समस्या कसरी समाधान गर्ने भन्ने समाधानको सूत्र विश्व विद्यालयसित माग्छ । विश्व विद्यालयले समस्याको प्रकृति अनुसार सम्बन्धित विभागलाई खटाउँछ । सम्बन्धित विभागले सम्बन्धित प्राध्यापकलाई त्यो समस्या समाधानको सूत्र खोज्न लगाउँछ । सम्बन्धित प्राध्यापकले आफ्नो गुरु कुलका चेलालाई आफ्नो निर्देशनमा सरकारको त्यो समस्या समाधानको उपाय खोज्न अनुसन्धान गराउँछ । ती शोध कर्ता र शोध निर्देशकलाई सरकारले पारिश्रमिक दिन्छ । निस्केको समाधानको सूत्र विश्व विद्यालयले सरकारलाई दिन्छ । शोध कर्ताले सम्बन्धित समस्याको समाधान गर्ने विशेषज्ञका रूपमा सरकारी जागिर पाउँछ । शोध निर्देशक प्राध्यापक सल्लाहकार बन्छ । यसरी विश्व विद्यालयको अनुसन्धानले सरकारलाई बलियो बनाउँछ र सरकार र विश्व विद्यालयको समन्वयबाट विश्व विद्यालय पनि प्रभावकारी हुन्छ । यस्तो प्रपञ्च नेपालका सङ्घीय, प्रादेशिक र पालिका सरकारले सिको गरे भने, विश्व विद्यालयको शोध खँदिलो र देश विकासमा उपयोगी र अनिवार्य हुन्छ, फोस्रो हुनै सक्तैन । त्यसो भए मात्र विश्व विद्यालयका प्राध्यापकको पनि, शोध कर्ताको पनि विदेशमा जस्तै इज्जत हुन्छ अनि पिएचडी स्तरको अनुसन्धान मात्र होइन, जुनसुकै अनुसन्धान केन्द्रको अनुसन्धान देशलाई काम लाग्ने हुन्छ ।

आज भन्दा १४ वर्ष अगाडि म अमेरिकाको एमआइटी र हार्वर्ड विश्व विद्यालयमा लिङ्विस्टिक सोसाइटी अफ अमेरिकाको लिङ्ग्विस्टिक इन्टिच्युटमा डेढ महिना पढ्न गएको थिएँ । त्यस वेला एकातिर नोम चोम्स्की जस्ता विश्व प्रसिद्ध प्राध्यापकको चेलो हुन पाएँ भने, अर्कातिर पिएचडी गर्ने फुच्चा फुच्चीहरुले पढाउने अनि विलियम लबोभ जस्ता वरिष्ठ प्राध्यापकले पढ्ने नेपाल भारतमा देख्न नपाइने दृश्य देखेँ । त्यति मात्र होइन, म्याक्सिकोकी नर्मा मेन्दोजा भन्ने फुच्चीले पढाउँदा पढाउँदै कक्षामा विद्यार्थी भएर बसेका प्राध्यापक लबोभलाई नामै लिएर (बिल) प्रश्न सोध्न पनि पाइँदो रहेछ, अनि लबोभ जस्ता समाज भाषा विज्ञानकै जन्म दाता विश्व प्रसिद्ध प्राध्यापकले मान हानि भएकै नठानी स्वाभाविक रूपले सजिलै सोधेका प्रश्नको जवाफ दिन पनि मिल्दो रहेछ । नेपालमा भए, त्यस फुच्चीलाई प्रोफेसरले जीवनभर उठ्न नसक्ने गरी दोब्र्याउँथ्यो । त्यो दृश्य देखेपछि मैले बुझेँ, अमेरिकामा जसले जान्दछ त्यसैले पढाउने, जसले जान्दैन त्यसले पढ्न बस्ने नियम रहेछ । नेपालमा चाहिँ, जो बुढो हो, उसले मात्र पढाउने, जसको उमेर कम छ, उसले जीवनभर बुढासँग सिक्ने, ‘धेर जान्ने भएर बाठो नहुने’ प्रपञ्चलाई ‘अनुशासन’ मान्ने चलन छ ।

संसारमा अमेरिका सबभन्दा बलियो देश भएको हरेक तहका सरकारले र त्यसका अङ्ग अङ्गले आफ्ना समस्याको अड्को फुकाउन र उन्नति गर्न र आफुलाई सबल र सफल बनाउन औपचारिक र अनौपचारिक अनुसन्धानकै उपयोग गरेर रहेछ भन्ने मन्त्र मैले त्यस दिनदेखि बुझेँ । नेपाल सरकारले कहिले बुझ्ला?

 

           

           

 

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply