के अचम्मका नेता !

सके सम्म कम मेहनत गरेर सके सम्म धेर काम देखाउने सामानलाई विज्ञानमा मेसिन भन्दछन् । हाम्रो नेपालले मेसिन बनाउने कुरामा केही पनि उन्नति गर्न सकेन भनेर मेरो निम्सरो राष्ट्र वाद सारै पिरोलिएको थियो, तर भर्खरै मलाई के ज्ञान खुल्यो भने, नेपालले जत्तिको मेसिनको उत्पादन गर्न सक्‍ने उद्योग त विश्वका कुनै देशले पनि गर्न सकेको देखिएन ! मैले आफ्नो सामान्य ज्ञान खर्लप्पै रित्याएर यसो गमेको त नेपाली नेता जत्तिको शक्तिशाली मेसिन संसारमै अरू कुनै चिज भेटिन ।         कतै मेरो यो सोचाइ नै पक्षपाती त भएन ! किन हुन्थ्यो ! विश्वमा नेपाली नेताले जति काम गरेर देखाएको अरू कसैले छ ! नेपाली नेताले जति सहमति शब्दको प्रयोग विश्वमा कुनै देशको नेताले गर्न सकेको छ! आफ्नो ज्ञान नपुग्दा नेता र कविमा के फरक भन्ने मैले बुझेको थिएँ भने, कविले चाहिँ एउटै वाक्य अनेक अर्थ लाग्‍न बोल्न जान्दछ अनि कविलाई जत्तिको अनेकार्थक कुरा गर्ने ह्‍याउ कसैको पुग्दैन । नेपाली नेता चाहिँ सबै कवि जस्ता लाग्छन् । कुमति, दुर्मति, विमति, असहमति, बेसोमती, आदि सबैको नाम तिनीहरूले सहमति राखेका छन् ।

विनोद खनालको एउटा हँस्यौली यस्तो छ । एउटा प्रदर्शनीमा नेताहरूको घडी राखेको थियो अरे । एक पल्ट ढाँट्यो भने, त्यो घडी एक पल्ट घुम्थ्यो अरे । एउटा झ्याउ दारीपाला नेताको घडी वर्षमा दुई चार फन्का मात्र घुम्थ्यो अरे; एउटा बाम पुड्के नेताको घडी वर्षमा एक डेढ सय फन्का घुम्थ्यो अरे; अहिलेको मुलुकका सर्वोच्‍च नेताको घडीलाई त टेबुल फ्यान बनाएर पो प्रदर्शनीमा राखिएको थियो अरे ! एउटा तालु खुइले नेता साँधेर कति मिठोसँग ढाँट कुरा गर्छन् । मलाई तिनको ढाँट कुरो औधि मन पर्छ । ढाँट कुरा नगरी नेता हुनै नसकिने मुलुकको गौरवमय परम्पराले हामी सम्मानित भएकै छौँ !

कुन नेताले अघिल्लो संविधान सभाको भत्ता पचाउन्जेल संविधान बन्दैन भन्थ्यो र ! निम्सरो आडमा कुल्चिने अपराधीलाई चाहिँ अघिल्लो पल्ट कहिल्यै झुक्‍किएर बोलेको कुरो पनि खोस्री खोस्री सँगसँगै नारेर वा भिडाएर अपराधी प्रमाणित गरेरै छोड्ने चलन छ, तर एउटै नेताले दुई पल्ट बोलेको कुरो एउटै हुँदैन र पनि, उसले अनेक पल्ट बोलेको दुई जिब्रे हो कि पिपल पाते हो कि दही चिउरे कुरो कसैले पनि भिडाएर उससित पुर्पच्छे गर्दैन । उल्टै सोझा मात्र होइन बाठा र ‘मै हुँ’ भन्ने जनता पनि तिनै नेतालाई भोट हालेर चुवाउ जिताउन लाम लागेर उभिन ठिक्‍क छन्, तिनै नेताको भाषण मुख मिट्ठ्याएर सुन्न धाएरै चहुरमा खत्तेरिन्छन् अनि तिनै नेताले आफ्नो विपक्षी वा सरकारको विरुद्ध आगो लगाएका वेलामा दियालाको दाउरो हुन पुग्छन् । नेताले जनतालाई कस्तो मुहुनी लगाउन लट्ट्याउन जानेका हुँदा रहेछन् ! म पनि कुन ड्याङको मुला हुँ र ! कुन ढँटुवालाई भोट हालेर जिताउन काम लाग्छ भनेर मैले पनि अस्ति नै फोटो सहितको मत दाता परिचय पत्रको माग फारम भरी सकेँ ।

नेताको स्वभाव र रक्सीको कि जुवा केको स्वभाव ठ्याक्‍कै मिल्छ जस्तो लाग्छ । एउटा जँड्याहाले रक्सी भट्‍टी त देख्‍नै नहुने अरे ! देख्यो कि एक बटुको धोकुँ कि जस्तो लागी हाल्थ्यो अरे । बिचरालाई भट्‍टीमा जान बैरागै चल्दा पनि भट्‍टी छेउमा पुगे पछि त्यता तिर मुन्टै नफर्काई आफु चाहिँ घर पुगी हालुँ भन्यो, मनले त मान्छ अरे तर एक बटुको नधोकी घर फर्किन खुट्‍टै मान्दैन अरे । यस्ता जँड्याहाको जीवन त्यही चौबिस घण्टाको हुन्छ अरे । जँड्याहा मात्र होइन, जुवाडेहरूको जीवन पनि चौबिस घण्टा हुन्छ अरे ! नेपाली जनता पनि नेता देखे पछि भट्टी र खालको छेउमा पुग्ने जँड्याहा हो कि जुवाडे जस्ता हुने रहेछन् । वर्षै भरि नेतालाई गाली गर्छन्; अखवारमा नेताकै कार्टुन बनाउँछन्, नेताकै उपहास गर्छन्, नेताकै कुरा काट्छन् । नचिनेकै नेतालाई भेटे पनि मेरा हात समेत नमस्ते गर्न उचालिई हाल्छन् । त्यस्ता नेतालाई गरेको नमस्ते र हालेको भोट दुइटै खेर मात्र गएको नेता ओझेल हुने बितिक्‍कै थाह हुन्छ । म चाहिँ नेतालाई किन गाली गरुँ !

वास्तवमा नेताको भाषणले मत्याउँदो रहेछ, नमस्ते गरुँ गरुँ लाग्‍ने अनुहारले मत्याउँदो रहेछ । एक पल्ट आर्य घाटमा कसैको मलामी गएका वेलामा एउटा नेता भेटिए । नेताले सबैलाई चिने जस्तो अनुहार लगाउनु पर्दो रहेछ । चिन्नु न जान्नु, मलाई हेरेर पनि ती नेता किच्‍च हाँसे । नेताजीले मसँग यो नमस्तेको झोली थापेर चन्दा उठाए जस्तो मलाई लाग्यो । मेरो सस्तो नमस्ते ! उचालेर बजाई दिएँ । जोगीले एउटा दैलामा भिक्षा पाए झैँ मसँग सन्तुष्ट भए पछि नेताले मलाई हेर्न चटक्‍कै छोडेर मेरा छेउमा उभिएका मान्छे तिर नमस्तेको कतारो थापे । जँड्याहालाई रक्सी र जुवाडेलाई खेल जस्तै मलाई पनि नेताको मात लागेछ भन्ने अनि चाहिँ मलाई पक्‍कै भयो । सिनेमा र टिभीका पर्दामा देखेका मान्छे मलाई आफ्नै मझेरीमा चिने जस्ता लाग्छन् । धेरै पल्ट म सिनेमा र टिभीका कलाकारसित चिन्नु न जान्नु बोल्न तम्सिएको छु । नेता देख्ता पनि मलाई त्यस्तै हुन्छ । नेतालाई गरेको त्यो नमस्ते त्यसै खेर गएको ठानेर पछि मेरो मासु नै अमिलो भयो ।

नेता भेस बदली रहन सक्‍ने बहुरूपी अभिनेता वा कलाकार हो । वेश्या र व्यापारीको जस्तै नेताको पनि कोही स्थायी शत्रु पनि हुँदैन, स्थायी मित्रु पनि हुँदैन भन्न मन थियो, तर अचेल वेश्या शब्द प्रयोग गर्नै पाइँदैन भन्ने सुनेकाले नेताको यो उपमान मैले चलाइन । खालि नेताको महान र उदार हृदयको मात्र चिनारी दिने मन थियो । विरोधी पार्टीका कार्य कर्ताहरू टाउको फोराफोर गरी रहन्छन्, नेताहरू चाहिँ गलो जोडी रहेका छन् । एउटा मान्छे मार्ने चाहिँ अपराधी ठहरिएर जेलमा थुनिँदै छ, हजारौँ मान्छे मार्ने नेताहरू चाहिँ ठुलै मान्छे हुन पाएका छन्, र उनीहरू बाटो हिँड्दा जनताले सडकबाट पन्छिएर ताली ठोक्‍न ठिक्‍क पर्नु पर्छ । संविधान नमान्ने निम्सरालाई थुन्न जुनसुकै लुते कर्मचारीलाई आउँछ, छातीमा मुड्की बजारेर ‘म संविधान मान्दिन’ भन्नेलाई त अस्ति पनि संविधान सभामा सभासद् बनाएर संविधान बनाउन लगाइयो । देश फोर्न खोज्‍नेलाई अरू देशमा मारिन्छ; कुन चाहिँ देश होला त्यो जहाँ नेता पारिन्छ !

नेताहरू त्यागी हुन्, किन भने जहान, छोरा छोरी, साली, साढु र सासु अलबल्ले धनी हुँदै गए पनि नेताका नाउँमा सम्पत्ति नै हुँदैन । नेताहरू मैले सर्वहारा मात्र देखेको छु । देश र जनताको सेवामा हर्दम लागी पर्नाले न खानको टुङ्गो छ, न बोल्नको टुङ्गो छ, न सुत्‍नको टुङ्गो छ, न बस्‍नको टुङ्गो छ ! त्यसैले नेता बस्‍ने घर जनताले हो कि सरकारले नै बनाई दिनु पर्छ, भाँडामा चामल सरकारले नै हाली दिनु पर्छ, त्यसैले सरकारी क्वार्टर खाली गर्दा केही खान नपाएका बिचरा नेताले कुर्सी टेबुल झ्यालको पर्दा र सोफा सम्म खाएको कुरो अखबारले लेख्छन् । अखवार मोराले त के के लेख्छन् लेख्छन् नि ! को को हन्तकालीसित मिलेर फलाना नेताले देशको सिमानै खाई दिए अरे, ढिस्काना नेताले कैलास मानसरोवर क्षेत्र नै खाई दिए अरे, अम्का नेताले नहर खाई दिए अरे, चम्का नेताले पुल खाई दिए अरे !  कति नेताले पिचरोड खाई दिए अरे, कति नेताले अस्पताल खाई दिए अरे ! देशले जनतालाई त भोकभोकै राखेकै छ, त्यत्रो जन सेवामा निरन्तर राख्‍ने नेतालाई पनि भोकै राख्‍ने हो त ! भोकभोकै के गरी देश सेवा गर्ने ! पत्रिका र अख्तियार मोराले खेदो किन गर्नु नि त्यस्ता त्यागी सर्वहाराहरूको ! बरू कति सरकारी अड्डा, संस्थान, प्राधिकरण र प्रोजेक्टहरू ज्ञानी रहेछन् । तिनीहरूले नेतालाई आफ्नो नाउँमा किनेका नयाँ, महँगा र टल्किने गाडी पनि चढ्न दिने र तेल हाली दिने र मरम्मत पनि गरी दिने चलन चलाएका छन् । यसरी नेताले जनताको सेवामा आफ्नो सर्वस्व सिध्याएको उचित कदर गर्ने परम्पराको बेलिविस्तार पनि तिनै अखवारले वेला वेलामा लेख्छन् ।

त्यसरी चौबिसै घण्टा के खाउँ के लाउँ भई राख्‍नु पर्ने, जुनसुकै सानातिना आन्दोलन र ढुङ्गा हानाहानमा सहिद हुने योग्यता राखेका जिउँदा देउताहरूको शक्तिमा मलाई पुरा विश्वास छ, किन भने खानपिनको टुङ्गो नभए पनि तिनीहरूको अनुहार चाहिँ केले भर्भराउँदो र रातो पिरो भएको ! खाए पनि बाघको मुख रातो, नखाए पनि बाघको मुख रातो ! नेताले कर्मचारीले जस्तो सरकारसँग तलब पनि लिँदैनन्; सित्तैँमा काम गर्छन्; आफ्ना लागि केही माग गर्दैनन्; खालि गरिब जनताकै लागि मरिहत्ते गर्छन्; अरूकै लागि लडाइँ गर्छन्; त्यागका जिउँदा औतार लिए जस्ता छन्, तर पनि केका तपोबलले जनता भन्दा राता पिरा र खाई लाग्दा उनीहरू नै छन् । उनीहरूकै स्वास्‍नी छोरा छोरी, साढु, साला साली र जेठी सासुहरूको सर्वत्र हालिमुहाली छ । जनताहरू जनताकै सार्वजनिक अस्पतालमा हन्डर, अपमान र बिखर्चको मार परेर सडेमरेका छन् । नेताहरू सित्तैँमा सरकारी खर्च र दैनिक भत्तामा जहानै लिएर विदेशका अस्पतालमा उपचार गराएर किनमेल गरेर फर्कन सकेकै छन् । हाम्रा राजदूतावास समेत विदेशमा उनीहरूकै धुपौरे धन्दामा लाग्‍न समेत भ्याउँछन् भन्ने सुनिन्छ ।  त्यस्तै केही त्यागी नेता चाहिँ अकुत सम्पत्ति कमाएर भ्रष्टाचारमा परेर थुनिएका छन् भन्ने सुनिन्छ । थुनिएर निस्केका दिन अरू भ्रष्टाचारी चाहिँ मुख लुकाउन पस्छन्, तर नेताहरू चाहिँ फुल माला र अबिर जात्रा गरेर थुनाबाट निस्किन्छन् र चौकीमा उक्लेर आफु अन्याय र पूर्वाग्रहमा परेको ताली खाने भाषण गर्छन् । मैले यो नेता नाउँको मोहिनी औतारलाई पटक्‍कै बुझ्न सकिन ।

Leave a Reply