कुसुन्डा जातिको लोकाचार

चिनारी

 

पश्चिमाञ्‍चल र मध्य पश्चिमाञ्‍चलको पहाडी भाग र तराईमा मात्र छरिएर बसोवास गर्ने कुसुन्डा नेपालको एउटा अनौठो जन जाति हो, किन भने न यसको अग्लाइ अरू नेपाली जातिसित मिल्छ, न यसको परम्परागत पहिरन अरू नेपाली जातिसित मिल्छ, न यसको भाषा अरू कुनै भाषासित मिल्छ, न यसको परम्परागत बसोबास अरू नेपाली जातिसित मिल्छ, न यसको खान्की अरू नेपाली जातिसित मिल्छ, न पूजन सामग्री र यसको लोकाचार नै अरू कुनै नेपाली जातिसित मिल्छ । चोखा कुसुन्डाहरू सरदर नेपाली भन्दा अलिक होचा हुन्छन् । परम्परागत रूपमा कुसुन्डाहरू अल्लो र भाङ्राको गादो र घलेक लगाउँथे अरे । मूल रूपमा कुसुन्डा वनवासी यायावर जाति हो । धनुष काँड चलाएर सिकार गर्नु कुसुन्डाहरूको मुख्य परम्परागत पेसा थियो । कुसुन्डा भाषा फरर्र बोल्न सक्‍ने मान्छे पनि अहिले दुई जना मात्र छन्, तर एउटी दाङमा एउटी रोल्पामा भएकाले आफुलाई आउने भाषा बोल्न पनि बोल्न पाउँदैनन् । कुसुन्डा भाषा संसारको कुनै भाषासित पनि मिल्दैन । अच्चम्म लाग्दो कुरो के छ भने, चारै तिर सधैँ हरियो मात्र देख्‍ने वनवासी कुसुन्डाहरूका भाषामा ‘हरियो’ रङ बुझाउने शब्द नै छैन : हरियो त उनीहरूका लागि रङै होइन ।

पूर्व अध्ययन

कुसुन्डा जातिको विषयमा विश्वलाई सबभन्दा पहिले सूचना दिने व्यक्ति हज्सन (Hodgson, 1848; Hodgson, 1857) हुन् भने अस्ट्रियाका मानव शास्त्री राइन्हार्टले कुसुन्डा जाति र भाषा बारे सबभन्दा पहिले झस्काउने सूचना दिएका हुन् (Reinhard & Toba, 1970) । डोर बहादुर बिस्ट (Bista, 1972), वाटर्सहरू (Watters, Yadava, Pokharel, & Prasain, 2005) र चूडा मणि बन्धु (बन्धु, २०६९) कुसुन्डा जाति, भाषा र लोकाचारको परिचय दिने विशिष्ट अनुसन्धाता हुन्। यो लेख धेरैजसो बन्धु (२०६९) को लेखोटमा आधारित छ । त्यस लेखबाटै चूडा मणि बन्धुले रस कलेले पाल्पामा भेटेका चूडा मणि वन राजा (बन्धु, २०६९), र चूडा मणि बन्धुले १९८८ ई, १९८९ ई मा तनहुँ, गोर्खा र दाङका कुसुन्डा भेटेको सूचना दिएका छन् ।

विसं २०६८ साल माघमा यो अनुसन्धाता आफ्ना शिष्य भाषाविद् भोजराज गौतमलाई लिएर कुसुन्डा भाषा सबभन्दा जान्ने पुनी ठकुरीलाई भेट्न रोल्पा तिर हिँड्यो, तर दाङ पुग्दा नपुग्दा पुनी ठकुरी एक वर्ष अगाडि नै बिती सकेको र उनकी छोरी कमला खत्री पनि बनी गर्न कुमाउँ पुगेको थाह पाएर दाङ जिल्लाको लमही नजिकै अर्जुन खोलाको छेउको कुलमोहोर भन्ने ठाउँमा ज्ञानी मैयाँ सेनका भाषाको अभिलेख गर्न बाध्य भयो । भोजराजले ज्ञानी मैयाँको छिमेकमा ६ महिना बसेर कुसुन्डा भाषा बोल्न पनि सिके र ज्ञानी मैयाँ मात्रै बोलेको झन्डै १० घण्टाको र कुसुन्डा भाषामै भोजराज र ज्ञानी मैयाँले कुरा गरेको झन्डै १५ घण्टाको गरी झन्डै २५ घण्टाको कुसुन्डा भाषा रेकर्ड गरेका छन् ।

यस वर्षको सुरु तिर कमला कुमाउँबाट रोल्पा फर्किन् भन्ने सूचना पाएर चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गत पिएचडी गरी रहेका सुशील भण्डारीका लागि कुसुन्डा पुरुषहरूको वाई-क्रोमोजोम र कुसुन्डाका छोरीहरूको माइटोकोन्ड्रियल डिएनए परीक्षण गर्न रगतको नमुना बटुल्न सुशीललाई लिएर दाङ पुग्दा भोजराजले कमला र ज्ञानी मैयाँसँग कुरा गरेको अरू २-३ घण्टाको कुसुन्डा भाषाको पाठ बटुलेका छन् । यसरी हामीसित अब बिलाउन लागेको कुसुन्डा भाषाको झन्डै २७-२८ घण्टाको रेकर्डिङ छ, जसबाट भोजराज कुसुन्डा भाषाको शब्द कोश र व्याकरणको विश्लेषण गरी रहेका छन् । भोजराजको विश्लेषण पुरा भए पछि कुसुन्डा भाषाको लोकाचार बारे थप जानकारी बढ्ने आशा छ ।

 

बसोबास क्षेत्र

अहिले सम्मको अनुसन्धानका आधारमा कुसुन्डाहरू दाङ, रोल्पा, प्युठान, सल्यान, गोर्खा, तनहुँ, पाल्पा, सुर्खेत, कपिलवस्तु र अर्घा खाँची र सल्यानमा भएको प्रमाण पाइएको छ । आधार भूत रूपमा कुसुन्डा वनवासी भए पनि अहिले कुनै पनि कुसुन्डा वनमा भएको सूचना छैन । बाबु मरे पछि राजा मामा पनि उनका आफ्ना मामासित दमौली नजिकैको वनमा बस्थे भन्ने सूचना बन्धु (२०६९) ले दिएका छन्, तर आज राजा मामा तनहुँ दमौलीको तालघरेमा बसोवास गर्छन् । आधार भूत रूपमा वनमै बस्‍ने हुनाले कुसुन्डा पुरुषलाई वनराजा, कुसुन्डाकी श्रीमतीलाई वन रानी र कुसुन्डाका छोरीलाई वन मैयाँ भन्ने चलन छ । अरूले कुसुन्डा लोग्‍ने मान्छेहरूलाई मामा मात्रै र कुसुन्डाका श्रीमतीलाई माइजु मात्रै भनेर सम्बोधन गरेको पनि सुनिन्छ ।  मगरकी छोरी भए पनि तनहुँका राजा मामाकी रानीलाई अरूले ‘माइजु’ भन्ने सम्बोधन गरेको सुनिएको छ । कुसुन्डाहरू आफुलाई म्याक् र ‘गाउँलेलाई निउ’ (बन्धु, २०६९) भन्छन् । रमाइलो कुरो के छ भने, कुसुन्डाहरू बाघलाई पनि ‘म्याक’ भन्दछन् । बाघ पनि वनको राजा र कुसुन्डा पनि वन राजा भएकाले कुसुन्डा भाषामा दुवैको नाउँ मिलेको पनि हुन सक्छ ।

 

परिचायक भेस भूषा

कुसुन्डा आइमाईहरूले पनि फेटा बाँधेको देखिन्छ । उनीहरू अल्लो भाङ्राको गादो लगाउँथे भन्ने कुरो महानन्द सापकोटाले ‘हाम्रो साहित्य’ भन्ने एउटा पाठ्य पुस्तकमा लेखेका थिए । त्यस भन्दा बाहेक उनीहरूको पोसाकमा अरू अनौठो वा उल्लेखनीय कुरो देखिँदैन ।

 

हतियार र औजार

धनुष काँड कुसुन्डा पुरुषहरूलाई चिनाउने हतियार हो । धनुष काँड लिएर कुसुन्डा पुरुषहरू सिकार गर्थे । कुसुन्डाहरू काँड जनाउन संस्कृत भाषाको ‘शर’ शब्द प्रयोग गर्छन् । काँडलाई शर पनि भन्दछन् । शरको टुप्पामा फलाम हुन्छ । काँडले नै उड्दो चरो खसाल्थे र चितुवा नै पनि ढाल्थे । एउटा धनु र २-३ ओटा काँड बोकेर उनीहरू सिकारका लागि हिँड्थे । “कुनै वेला काँड लक्ष्यमा पुगेको नदेखेमा वा हराएमा त्यसै ठाउँबाट त्यसरी नै अर्को काँड हानी पत्ता लगाउँथे” । कुसुन्डा स्त्रीहरू खुर्पा बोक्थे र तरुल खन्न जाँदा जाबी र कोदालो बोक्थे । कुसुन्डाहरूको धनुष काँडबाट चेपाङहरू पनि डराउँथे । राउटेले कुसुन्डालाई तिरो तिर्नु पर्ने नतिरेकाले कुसुन्डाहरूले राउटेलाई देखे भने धनुष काँडले हानी हाल्छन् भन्ने किम्बदन्ती छ (बन्धु, २०६९) ।

 

पेसा, दिनचर्या र भोजन

कुसुन्डाहरूको दिन कन्द मूल, साग पात, च्याउ र सिकारको खोजी गरेर बित्थ्यो । उहिले वनमै बस्ता अघिल्लो दिनको सिकारबाट ल्याएको बासी मासु वा कन्द मूल जे छ खाएर सिकार, तरुल, कटुस, गिठा, भ्यागुर, कटुस, निगुरो, जलुको, सिप्लीगान, जामुनो, ऐँसेलु, काफल, फर्‍याँत, फल्लुक, आदि गाउँमा पुर्‍याउन जान्थे । कटुस उनीहरू हाँडीमा मकै भुटे जस्तो भुटेर खान्थे । धेरै तरुल पाइने ठाउँमा उनीहरू धेरै समय सम्म बस्थे । कुसुन्डाहरू तरुलका अनेक जात (वन तरुल, आधा मिटर जति तल पाइने सेतो रङको प्याङ्लाङ, धेरै तल खन्नु नपर्ने गिठा तरुलका लहरामै फल्ने भ्यागुर) चिन्दछन् । सिकार गरेर ल्याएको कुरो माइत लगाउन पुरुष र स्त्री दुवै गाउँ जान्थे अनि गाउँलेबाट पाएका वस्तु ल्याएर खाई सके पछि दिउँसो सिकारमा जाने उनीहरूको चलन हुन्थ्यो । लोग्‍ने मान्छे सिकार खेल्थे; स्वास्‍नी मान्छे साग पात बटुल्थे । उनीहरू पुरुष र स्त्री दुवै सिकारमा जान्थे, तर वनबाट आइमाईहरू छिटै फर्कन्थे; लोग्ने मान्छेहरू आवश्यकता परे आधा राति सम्म सिकारमै हुन्थे । उनीहरू पशु पालन र कृषि गर्दैनथे । आइमाईहरू धागो पनि बाट्ने बाट्थे र सम्भवत: भाङ्राको कपडा आफैँ बुन्थे । चूडा मणि बन्धु (२०६९) ले उल्लेख गरेका कुसुन्डाहरूका खान्कीको लगत तल लेखिए अनुसार छ :

क.     चरी भेगुरीको सिकार नै कुसुन्डाहरूको मुख्य सिकार थियो । वर्षा याममा कालिजले चल्ला काढ्छ। कुसुन्डाहरू त्यहाँ पासो थापेर ढड्डी खरको नल च्यातेर मुखले बजाएर कालिजको चल्लाको जस्तो आवाज निकाल्थे । चल्ला पासामा परेछ भनेर कालिज झुक्‍किन्थ्यो र पासोमा पर्थ्यो । कालिज उनीहरू गाउँका प्रतिष्ठितहरूकहाँ माइत लगाउन लैजान्थे । रुखको गाँजमा सुतेको लोखर्केलाई ढुङ्गाले हानेर बिच्क्याउँथे र काँडले हानेर मार्थे ।

ख.    भदौ असोजमा डम्बरे (फल विशेष) पाक्छ । वन बिरालो जस्तो देखिने भार्से (मल्साँप्रो जस्तो?) डम्बरेको फल खान आउँछ । भार्से रुखमा एक्लै बस्छ । रुखमा बसेका वेलामा ढुङ्गाले हाने पछि भार्सेले टाउको उठाउँछ; त्यसै वेला वाणले हानेर अथवा लौराले लखेटेर भार्से मारिन्थ्यो । ठुलो भार्से ५ किलो जतिको हुन्छ अरे । भार्से कुसुन्डाहरूको प्यारो खान्की हो ।

ग.     गोहोरो ३ किसिमको हुन्छ : गोब्रे, साखिनो र सुन गोहोरो । गोहोरो रुखको ध्वान्द्रो वा अप्ठ्यारा ठाउँमा बस्छ । कुसुन्डाहरू गोहोराको मासु पनि खान्थे, डिम्मा पनि खान्थे; गोहोराको बच्‍चो भेटे भने चाहिँ छोडी दिन्थे । गोहोराको पहिले पुच्छर समात्यो अनि टाउको समातेर खुट्‍टा भाँची दियो; त्यस पछि जाबीमा बेरेर लट्ठीले कुटी कुटी मारिन्थ्यो । छाला काढेर मासु खाइन्थ्यो । छाला मादल वा खैँजडी मोर्न काम लाग्थ्यो । उनीहरू गोहोराको फुल उसिनेर वा पातका खोचामा बेरेर पोलेको पनि खान्थे ।

घ.     कुसुन्डाहरू सर्पको टाउको बाहिर राखेर उसिन्छन् । त्यसो गर्दा विष जति बाहिर खस्छ अनि मासु बाफिए पछि काँढा केलाएर खान्छन् ।

ङ.     ढाँडमा बस्‍ने दुम्सीलाई पनि धनुष काँडले मारेर खाइन्छ ।

च.     आपसमा बाँडेर खानु पर्ने जन्तु काटकुट गरेर खाइन्थ्यो भने गाउँले इष्ट मित्रलाई लगिने जन्तु चाहिँ सिङ्गै लगिन्थ्यो ।

छ.     कुसुन्डाहरू धेरै किसिमको च्याउ चिन्थे : साल घारी तिर भुइँमा पाइने दुध आउने दुधे च्याउ, सल्याने च्याउमा दुध आउँदैन; चैत वैशाखको जङ्गली भुइँमा पाइने सुपाडे च्याउ वा पुड्के च्याउ, कुखुराको सिउर जस्तो रातो कुखुरे च्याउ, आदि । च्याउ पनि कुसुन्डाको भोजन थियो ।

ज.     कुसुन्डाहरू सुत्केरीलाई वनकै तरुल, अन्न र कालिज, भार्से, गोहोरो, लोखर्के र वन कुखुराको मासु खान दिन्थे, तर साग पात खान दिदैनथे ।

 

निषेध

क.     कुसुन्डाहरू खुर भएका जन्तुको मासु, दुध, दही, घिउ नखाने हुनाले गाई भैँसीको दुध, दही, घिउ र गोबर उनीहरूलाई वर्जित छ । उनीहरूले सिकार गरेर ल्याएको कुरो खोलामा धुँदा माथिबाट दुध, दही, गोबर बगाई दियो भने त्यसै छोडेर जान्थे भन्ने किम्बदन्ती पनि छ । भार्सेको ‘गुमर’ (छातीको मासु) खान चाहिँ वन रानीहरूलाई वर्जित थियो ।

ख.    गाउँले घर भित्र उनीहरू बस्तैनन्; पिँढीमा पनि बस्तैनन्; आगनमै बस्छन् । अर्घाखाँचीमा अरूका कटेरामा चाहिँ कहिले काहिँ बस्थे अरे ।

 

विनिमय मुद्रा

कुसुन्डाहरूको मुद्रा आटो पिठोको विनिमय प्रणालीमा देखिन्छ ।

 

मित लगाउने चलन

गाउँका मान्छेलाई वन राजासित मित लगाउँदा के फाइदा हुन्थ्यो भने, कुसुन्डासित मित लगाएकैले उनीहरू वनको तरुल, साग पात, कालिज र अरू चराको मासु र फल फुल खान पाउँथे ।  राजासित मित लगाएको अरे भन्ने इज्जत गाउँलेलाई हुन्थ्यो अरे । अरू जातिमा लोग्‍ने मान्छे र स्वास्‍नी मान्छे मित लगाएर कुसुन्डा र कुसुन्डीलाई मित र सैना बनाउन चाहन्थे । जन विश्वास पनि के थियो अरे भने, कुसुन्डासित मित लगायो भने, ग्रह दशाको अरिष्ट कट्छ । मित लगाउँदा टीका लगाउने, आकर्षक कोसेली साट्ने र सहभोजनको फाइदा दुवै पक्षलाई थियो ।

 

यायावर आवास  र ओढ्ने ओछ्याउने

क.     कुसुन्डाहरूका घर सेउलाका छाना भएका ससाना एक पाखे, गोला र चार पाटे, ढोका र बन्धन नभएका भित्र पस्‍ने भ्वाङ भएका छाप्रा  हुन्थे । त्यसमा एउटै परिवारका लोग्‍ने स्वास्‍नी र मसिना केटा केटी सुत्थे । बेग्ला बेग्लै परिवारका लागि ससाना छाप्रा बेग्ला बेग्लै बनाउँथे । बन्धनको साटो सेउलालाई ढुङ्गा र काठले थिच्थे । केही वा कसैका बन्धनमा नबस्‍ने उन्मुक्त जीवनको प्रतीक हो त्यो ।

ख.    एक ठाउँमा घर बनाए पछि २-३ महिना भन्दा बढ्ता बस्तैनथे (यायावर)

ग.     ठुल्ठुला पात गाँसेर बनाएका लाफाकै ओढ्ने ओछ्याउने बनाउने चलन कुसुन्डाहरूमा थियो (बन्धु, २०६९) ।

 

संस्कार

क.    क्षौर

६       वर्षको पुगे पछि मामाले भान्जाको कपाल काटी दिनु पर्थ्यो ।

ख.    छोराको उमेर पुगेको लक्षण

छोराले १४ वर्षको पुगे पछि धनुष काँड भिर्न पाउँथ्यो (उमेर पुगेको प्रतीक) । त्यस पछि उ सिकारमा पोख्त हुँदै जान्थ्यो ।

ग.     विवाह

अ.     कुसुन्डा समाजमा मामा चेली र फुपु चेलामा बिहे हुने रहेछ; बिहेमा चुरा पोते र सिन्दूर मात्र चाहिन्छ ।

आ.   अस्तित्वको सङ्कट र बिवाह : आफ्ना जातिका केटा केटी नपाएर अचेल कुसुन्डाहरूको धेरैजसो अन्तरजातीय बिहे हुने गर्छ ।

इ.      बहुपत्‍नी प्रथा? : राजा मामाकी आमा कुसुन्डाकी मैयाँ र रानी थिइन्, तर अरू २ टी आमा (गुरुङ्सेनी र भारतेनी) पनि थिए भन्ने बन्धु (२०६९) को सूचनाका आधारमा कुसुन्डा समाजमा बहुपत्‍नी प्रथा रहेछ भन्ने अड्कल काट्न सकिन्छ ।

घ.     मृत्यु संस्कार

अ.     कुसुन्डा समाजमा मरेकालाई गाड्ने चलन (रुख मुनि) हुन्छ ।

आ.   मरेका कुसुन्डाको धनुष काँड, जाबी, हात हतियार र कुटो कोदालो जस्ता औजार कि भान्जालाई दिइन्छ, कि चिहान माथि राखिन्छ । त्यहाँ बर्खी बार्ने चलन छैन ।

 

झाँक्री वाद, उपचार र टुनामुना

क.     कुनै ठाउँमा बस्‍नु पर्दा कुसुन्डाहरू जोखाना मिल्यो भने मात्र बस्थे (झाँक्री वाद); घर बनाई सके पछि वन्य जन्तु र भूत प्रेतबाट पिरपिराउ नपरोस् भनेर टुनामुनाबाट सीमा बाँधिन्थ्यो ।

ख.    धामीको भूमिका : पूजा धामी (दाङ बदई) ले गर्थ्यो । धामीले देउता बोलाउने, बिरामीको उपचार गर्ने, वन बाँध्‍ने, वन फुकाउने गर्छ । उपचारमा जरी बुटी, साग पात र फल फुलको पनि प्रयोग गरिन्थ्यो ।

ग.     बिरामी पर्दा त्यहीँ जरीबुटीको प्रयोग निकै हुन्छ ।

 

कला र गला

कुसुन्डा युवाहरू नाच गानमा सिपालु भएकाले नाचेरै जीवन साथी खोज्थे । गाउँ घरका मान्छेले ल्याएको डम्फु र मादल बजाएर कुसुन्डाहरू नाच्थे । उनीहरू खैँजडी र मादल बजाएर नाच गान गर्थे (राजा मामा, (बन्धु, २०६९)) ।

 

सृष्टिको लोक कथा र किम्बदन्ती

क.     लवकुशको कुरो जोड्दै कुसुन्डाहरू चेपाङ लवहरिका (बन्धु, २०६९) र कुसुन्डा (प्रेम बहादुर साही : कुराकानी, १९९०) कुशहरिका सन्तान हुन् भन्ने मान्छन् ।

ख.    अर्को किम्बदन्ती अनुसार एउटा राजाको (खेती गर्दा झार पात, भैँसी दुहुँदा रगत, तेल दलेर खुट्टा मल्दा कालो) जेठो छोरो  कुसुन्डा भयो, (राज्यमा फलीफाब हुने र चण्डी पूजा गरेर सुँगुर चढाउने) माइलो छोरो ठकुरी र (त्यो सुँगुर काट्न ठिक्क पर्ने) कान्छो  छोरो चाहिँ मगर (Reinhard & Toba, 1970) भयो, तर भाषा वैज्ञानिक आधारमा कुसुन्डा, चेपाङ र ठकुरी बिचमा गोरु बेचेको साइनो पनि छैन ।

 

धर्म र देउता

क.     (चूडा मणि बन्धुले राजा मामाकी आमा विष्णु मायाको भनाइ अनुसार उनीहरूको धर्म र देउता बारे लेखेका कुरा अनुसार कुसुन्डा समाजमा रुखका हाँगा र छेस्का काटेर देवीको पूजा गरिन्थ्यो अनि कुखुरा काटेर चढाइन्थ्यो । कुसुन्डा भाषामा ‘काउली’ भनेको बाघ र देउता दुवै हो । (सात दोबाटोका कुसुन्डाको भनाइ) कुल देउताका रूपमा दोबाटाको पूजा गर्दा सर्पको टाउको पनि चाहिन्थ्यो (देउरालीको पूजा) । कुसुन्डाहरूले पनि थानको चोकेमा हुक्का झन्डाएर बाईको पूजा गर्छन् ।

ख.    उनीहरू पूजा गर्दा सालको बिरुवा ल्याएर राख्छन् ।

 

कुसुन्डा भाषा  र रक्त परीक्षण

क.     २००४ को मे महिनामा कमला खत्री, ज्ञानी मैयाँ सेन र प्रेम बहादुर साहीको परस्पर भेट र चिनजान भए पछि ज्ञानी मैयाँ र कमला खत्री दाजु भाइका छोरी अर्थात् दिदी बहिनी रहेछन् । दाङका प्रेम बहादुर कुसुन्डा उनीहरू दुवैका मामा पर्ने रहेछन् ।

ख.    कुसुन्डा जातिको रगत र वंशाणुको अध्ययनका आधारमा (Rasmussen, Morten; Guo, Xiaosen; Wang, Yong; Lohmueller, Kirk E.; Rasmussen, Simon, 2011) कुसुन्डाहरू दक्षिण पूर्व एसियाका जातिसँग मिल्छन् ।

 

निष्कर्ष

          यसरी कुसुन्डा जातिको लोकाचार अरू नेपाली जातिहरूका तुलनामा धेरै कुरामा टड्कारै फरक छ ।       

Bibliography

Bista, D. B. (1972). People of Nepal. Kathmandu: Ratna Pustak Bhandar.

Hodgson, B. H. (1848). On the Chepang and Kusunda tribes of Nepal. Journal of the Asiatic Society of Bengal, 17(2), 150-158.

Hodgson, B. H. (1857). Comparative vocabulary of the broken tribes of Nepal. Journal of the Asicatic Society of Bengal, 26(5), 317-332.

Rasmussen, Morten; Guo, Xiaosen; Wang, Yong; Lohmueller, Kirk E.; Rasmussen, Simon. (2011, September 22). An Aboridginal Australian Genome Reveals Separate Human Dispersals into Asia. Science Express, 1-174.

Reinhard, J., & Toba, T. (1970). A Preliminary Linguistic Analysis and Vocabulary of the Kusunda Language. Kathmandu: TU & SIL.

Watters, D., Yadava, Y. P., Pokharel, M., & Prasain, B. (2005). Notes on Kusunda Grammar: A Linguistic Isolate of Nepal. Kathmandu: NEFDIN.

बन्धु, च. म. (२०६९). वन राजा र तिनका भाषा बारे. मिर्मिरे, ३०८, pp. ४-१८.

 

Leave a Reply