शिव गतिछाडा नै हुन् त?

By | January 31, 2021

भगवान् शिवको इतिहास

(२०७६ साल असोज ४ गतेको अन्नपूर्ण पोस्टको ‘फुर्सद’ मा ‘भगवान् शिव गतिछाडा नै हुन् त?’ भन्ने शीर्षकमा प्रकाशित)

 

डा० माधव प्रसाद पोखरेल

 

भगवान शिवको आज हामीले देखेचिनेको स्वरूपमा उनका निम्न लिखित प्रागितिहासिक स्वरूप मिसिएका छन् :

  • दक्षिण मध्य एसियाको तुर्कमेनिस्तानदेखि पाकिस्तानमा पञ्जाबको रावी नदी किनारको हडप्पा र दक्षिणमा कराँची नजिकैको मोहेन्जोदडो सम्म फैलेको द्रविडहरुको प्राचीन (इपू० चौथो सहस्राब्दी) संस्कृतिले बनाएको शिवजीको स्वरूप जसलाई वैदिक आर्यहरुले कश्यप सागरको पूर्व तिर तुर्कमेनिस्तानमा, अफगानिस्तानको कान्दाहार अथव गान्धार नजिकैको सरस्वती (हेल्मन्ड) नदी किनारको वर्तमान मरुस्थलमा र पाकिस्तानको बेलुचिस्तानदेखि सिन्धु नदीको बेँसी (हडप्पा) सम्म अनेक पटक सम्पर्कमा आएर ग्रहण गरे ।
  • वैदिक आर्यहरु भन्दा अगाडि (इपू० २००० तिरै) नै दक्षिण मध्य एसिया आई पुगेका प्राग्वैदिक आर्यहरु जो पछि (इपू० १५००-१३०० तिर) आएका आफ्नै गोती वैदिक आर्यहरुले विस्थापित गरेर दक्षिण मध्य एसियाको सिरदरिया नदीदेखि सिन्धु नदी सम्म (पछि काली गण्डकी सम्मै) का हिमाली लेकहरुमा खोलै खोला उक्लेर त्यहाँका स्थानीय जातिसँग सांस्कृतिक लेनदेनबाट लेकाली सभ्यता बनाएका आर्यहरुले मानी आएको शिवजीको स्वरूप, जो अथर्व वेदको शिवजीको स्वरूपसँग धेरै मिल्छ ।
  • सिन्धु नदीदेखि गङ्गा नदीको बेँसी सम्मको मूलतः उत्तरी भेग (आर्यावर्त) मा मिथिला सम्मको क्षेत्रमा विकसित भएको आरण्यक र उपनिषद् (इपू० ८००-५००) को चिन्तन मिसिएर विकसित भएको शिवजीको स्वरूप जसलाई शिव पुराणले निकै आत्मसात् गरेको छ ।
  • गुप्त काल (तेस्रोदेखि छैटौँ शताब्दी) मा सङ्कलित, सम्पादित र रचित गङ्गा नदीको बेँसीमा सम्पादन गरिएका अधिकांश पुराणहरुले समेटेको तात्कालिक भारतीय आदर्शले निर्माण गरेको शिवको स्वरूप ।
  • शिव पुराण (११ औँ शताब्दी) मा माथि उल्लिखित सबै स्वरूपहरु अलि अलि मिसिएको पाइन्छ, तर अघिल्तिरको भन्दा पछिल्तिरको प्रभाव बढ्ता टड्कारो छ ।

नेपाल शिव भूमि हो । अहिले भारतको मैदानी भागमा बढ्ता चलेको भगवान् शिवको स्वरूप ‘शिव पुराण’ (११ औँ शताब्दी) सँग धेरै मिल्न खोज्छ । शिव पुराणमा धेरै जसो वैष्णव धर्म र वैदिक धर्मको प्रभाव देखिन्छ, तर शिव पुराणले नेपाल भारतकै छेउछाउ (हिमाली भेग, दक्षिण भारत, गुजरात, राजस्थान, बङ्गाल र असम) मा प्रचलित शैव र शाक्त धर्मलाई राम्ररी समेट्न नसके जस्तो देखिन्छ ।

शिवजी आधारभूतमा सिन्धु बेँसीका देउता रहेछन्, किन भने सिन्धु नदीले नै अरब सागर नजिकको मोहेन्जोदडो र हिमाच्छादित लेकको कैलास मानसरोवरलाई जोड्छ । जुम्लीहरुले झैँ ‘अवेस्ता’ लेख्ने इरानीहरुले पनि ‘स’ लाई ‘ह’ उच्चारण गर्ने हुनाले सिन्धुलाई नै इरानी उच्चारणमा ‘हिन्दु’ भनिएको हो । पारसीहरुको धर्म ग्रन्थ ‘अवेस्ता’ मा ऋग्वेदको ‘सप्त सिन्धु’ लाई ‘हप्त हिन्दु’ भनिएको छ । नेपाली भाषाको ‘हप्ता’ र ‘हिन्दु’ पनि इरानी (शक, खस, दरद) उच्चारणले बनेको हो । यसरी आधारभूत रूपमा सिन्धु धर्म (अर्थात्, हिन्दु धर्म) चाहिँ शैव धर्म नै रहेछ, किन भने भारतीय उपमहाद्वीपको सबभन्दा पुरानो सिन्धु बेँसीको सभ्यतामा पशुपति नाथ, योनिर्लिङ्ग र बाघमा चढेकी भगवतीका मुद्रा पाइएका छन् ।

वैदिक आर्यहरुले ऋग्वेदको मूल भाग सिन्धु उपत्यकाकै उत्तरी भेगमा लेखे । त्यति वेला (इपू० १५००-१०००) सिन्धु नदीको बेँसीमा उनीहरु भन्दा केही दक्षिण तिर कम्तीमा एक डेड हजार वर्ष अघि (इपू० चौथो सहस्राब्दी) देखि प्राचीन सभ्यता जमाएर बस्ने द्रविडहरुलाई ऋग्वेदमा ‘शिश्ने देवाः’ (लिङ्गपूजक) भनेर ऋषिहरुले गाली गरेको पाइन्छ, तर आज त उपमहाद्वीप भरिका सबै आर्य र अनार्यहरु शिव लिङ्ग (र गुह्येश्वरी) को पूजा र दर्शन गरेर पुण्य कमाई रहेका छन् । यसबाट के बुझिन्छ भने, सुरु सुरुमा मध्य एसियाबाट आएका आर्यहरुसित द्रविडहरु बिचमा वैमनस्य भए पनि कालान्तरमा सम्भवतः अन्तरजातीय बिहेले गर्दा उनीहरुका सन्तान कति अवैदिकहरुले वैदिक धर्म लिएछन्, कति वैदिकहरुले अवैदिकहरुको सिको गरेछन् । यसरी ‘शिव पुराण’ लेखेका वेलामा त ती वैदिक र अवैदिक जाति बिचमा निकै सांस्कृतिक समन्वय भई सकेको देखिन्छ ।

मोर्टिमर ह्विलर (१९५३ इ०, ‘द इन्डस सिभिलिजेसन, ९५) ले हडप्पाको पुरातात्त्विक उत्खननमा तपस्यारत र नटराज शिव, लिङ्ग पूजा गर्ने चलन, भगवती, गोरु, सर्प र त्रिशूल भेटिएको सूचना दिएका छन् । किरण कुमार थपल्याल र सङ्कटा प्रसाद शुक्ल (२००२, ‘सिन्धु सभ्यता’, ९२, ९६) ले त्यहाँ शिवको पशुपति स्वरूप पाइएको कुरो गरेका छन् । मोहेन्जोदडो र हडप्पामा सबभन्दा धेरै गोरु भेटिएको छ । सिन्ध कालमा गोरु पूजा थियो (१४९)। मोहेन्जोदडोमा जोगी र शिवजीको गलामा बेरिने नाग सँगै भेटिएका छन् (९६)। त्यहाँ भविष्यका गणेशजीसित साइनो राख्ने हात्ती (९१) र भगवतीको वाहन बाघ (९०, ९१) पनि पाइएको छ । लोथलमा (भविष्यका गणेश, नृसिंह, हयग्रीव, आदिसित साइनो राख्न काम लाग्ने) मानव धडमा पशुको टाउको जोडिएको पाइएको छ (८१)।

पश्चिम एसिया विशेषज्ञ सिमो पर्पोला र भारत विशेषज्ञ अस्को पर्पोला (१९७७ इ, ‘द मेलुह्हा भिलेज’ : हरप्पन ट्रेडर्स इन मेसोपोटामिया’) ले सिन्धु बेँसीका प्राचीन पुरातात्त्विक सूचनाको पश्चिम एसिया (सुमेर, बेबिलोन, अक्काड, सिरिया र इरान) को पुरातात्त्विक सूचनासँग साइनो गाँसेका छन् । उनीहरुले इपू० तेस्रो सहस्राब्दी (इपू० २५००-२१००) मा मध्य पूर्वको उल्लिखित क्षेत्रमा सामुद्रिक मार्गबाट मोहेन्जोदडोबाट जौ बेचिने कुराको दसी फेला पारे । सुमेरका लेखोटमा सिन्धु नदी क्षेत्रलाई ‘मेलुह्हा’ (म्लेच्छ?) लेखिएको पाइयो । क्लस कार्तुनेन (१९८९ इ०, ‘इन्डिया इन अर्ली ग्रिक लिटरेचर, ११-१५) ले त्यस सूचनालाई थप पुष्टि गर्दै ‘मेलुह्हा’ देशबाट जहाजमा सामान मध्य पूर्वका सुमेर, बहराइन, ओमान र इरानको मक्रन सम्म जान्थ्यो भन्ने सूचना थपेका छन् । सामानमा हस्तिहाड, काठ, सुन, चाँदी, तामा, मोती, मणिमाणिक्य र रङ्गिबिरङ्गी चराको उल्लेख पनि पाइन्छ भन्ने कार्तुनेनको सूचना छ । यी अनुसन्धानबाट मध्य पूर्व र हडप्पा सभ्यता बिच व्यापारिक र सांस्कृतिक सम्पर्क रहेछ भन्ने कुरो प्रमाणित हुन्छ ।

थपल्याल र शुक्ल (२००२ इ) का निम्न लिखित सूचनाहरुले सिन्धु बेँसीको शैव धर्मको साइनो पश्चिम एसिया र अफ्रिका (इजिप्ट) सँग पनि गाँसिने देखिन्छ : बेलपत्र जस्तो तिनपाते बुट्टो मिस्र, मेसोपोटामिया र क्रिटका देवमूर्तिसित मिल्छ (६६)। शिवजीका शिरको चन्द्रमा एनाटोलिया (टर्की) को अदालिया (मातृदेवी, ७६) को मूर्तिसित मिल्छ। मेसोपोटामियामा जस्तो दुई टाउके मान्छेको मूर्ति सिन्धु बेँसीको लोथालमा भेटिएको छ, जसलाई शिवजीको अर्धनारीश्वरको प्रारूप मान्न सकिन्छ (७९) । मातृदेवीका मूर्तिहरु दुवै सभ्यतामा छन् (१४१)। अनातोलियामा सिबेल देवी सिंहसँगै छिन् (१४४)। मेसोपोटामियामा देवी मूर्तिसँग सिंह भेटिएको छ भने, सिन्धु बेँसीमा देवीसँग बाघ भेटिएको छ (९३)। हित्ती देवता तेशुव पनि वैदिक रुद्र झैँ वृषभारूढ र त्रिशूलधारी छन् । उनकी पत्नी हेयत पनि त्रिशूलधारिणी र सिंहवाहिनी छिन् (१४५)। सबै वैदिक देवता मध्ये जटाजूट भनेर शिवजी नै चिनिन्छन् । इपू० २३३४ मा पश्चिम एसियामा प्रचलित राजमुकुट नै कपालको जुरो ‘कपर्द’ (यजुर्वेदमा शिवजीलाई ‘कपर्दी’ भनिएको छ) थियो, शिवजीको कपालको जुरो त्यतैबाट शिवजीमा आयो (सिमो पर्पोला र अस्को पर्पोला, १९७७ इ०, अस्को पर्पोला, २०१५ इ०, ‘संस्कृत कपर्द : एनोदर हरप्पन सिम्बोल अफ रोयल्टी सरभाइभिङ इन वेदिक व्यात्य रिचुअल्स’)।

अस्को पर्पोला (२०१५ इ०, रुट्स अफ हिन्दुइज्म) ले शिवजीको स्वरूप कसरी वैदिक संहिता (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद) देखि उत्तर वैदिक साहित्य (ताण्य ब्राह्मण, जैमिनीय ब्राह्मण, पञ्चविंश ब्राह्मण र लाट्यायन श्रौत सूत्र) सम्म आउँदा परिवर्तन भयो भन्ने समीक्षा गरेका छन् । उनको विश्लेषणमा ऋग्वेदमा रुद्र आगो, हावाहुरी, चट्याङ र मान्छेलाई रुवाउने (रुद्र) प्रकृतिका अनिष्टकारी तत्त्वहरुका प्रतिनिधि देवता थिए । क्रमशः रुद्र सबै किसिमका आपत्तिहरुका देवता मानिए ।

पर्पोला (२०१२ इ०, ‘दासज अफ ऋग्वेद एन्ड प्रोटो-शक’) के सोच्छन् भने, आर्यहरुको सबभन्दा अगाडि आउने बगाल शकहरुकै हो । तिनीहरु वैदिक आर्य भन्दा अगाडि मध्य एसियामा आए । वैदिक आर्य आए पछि तिनीहरु मध्य एसियाको छेउका हिमाच्छादित लेकमा उक्ले र त्यहाँ तिनीहरुले जुन संस्कृतिको निर्माण गरे, शिवजी तिनीहरुकै देउता हुन् । ऋग्वेदका ऋषिहरुले तिनै लेकाली शकहरुका देउतालाई रुद्र मानेका हुन् । पौराणिक कालमा मैदानी आर्यका देउता चाहिँ विष्णु भए भने, पहिले आउने लेकाली आर्यहरुका देउता शिव भए । लेकाली आर्यहरुका संस्कृतिमा स्थानीय प्रभावले जे चल्यो, त्यसलाई मैदानी (वैदिक) आर्यहरुले गतिछाडा ठाने । पहिलो बगालमा आएका आर्यहरुका त्यस्ता चलनमा आदिम बेहोराहरु पनि थिए, जस्तै, सामवेदको सोमयागमा र ताण्य ब्राह्मणमा आदिम टुनामुना र वामाचार थियो।

व्रात्यस्तोम (जैमिनीय ब्राह्मण, २: २२१-२२७, पञ्चविंश ब्राह्मण १७: १-४, लाट्यायन श्रौत सूत्र ८:६) मा यस्तो लेखिएको छ (पर्पोला, २०१५ इ०, १३४-१३६): देउताहरु स्वर्ग गए, तर रुद्रका भक्तहरु चाहिँ व्रात्य भएर यो धर्तीमै छुटे। व्रात्यहरु गरिब हुन्छन् । तिनीहरु वेद पनि पढ्दैनन्, खेतीपाती र व्यापार पनि गर्दैनन् । ती त बिखै पनि खान्छन्, खानपिनमा लाट्लुटको ख्याल गर्दैनन्, जससुकैले दिएको खान्छन् । तिनीहरु शुद्ध भाषा पनि बोल्दैनन्, वेदै पनि अशुद्ध पढ्लान्, निर्दोषलाई पनि छडीले कुट्छन्, ठुला मान्छेका अगाडि लाजभाँड पनि बोल्छन् । पोसाकका नाउँमा तिनीहरु फेटा बाँध्छन्, भाला बोक्छन्, धनुष त हुन्छ, तर वाणको ठेगान नै हुँदैन । तिनीहरुको रथ छाएको हुँदैन । ती पुर्बेली मागधहरुका रथमा घोडा र खच्चड पनि नारेको हुन्छ । ती कालो पारी भएका लुगा लगाउँछन्, गलामा चाँदीका गहना लगाउँछन्, बाख्राका छालाका लुगा र जुत्ता लगाउँछन् । सम्पत्तिका नाउँमा व्रात्यहरुसित त्यति मात्र हुन्छ । व्रात्यस्तोम गरे पछि मात्र तिनीहरु चोखिन्छन् । व्रात्यस्तोम गरेर आर्य बन्न चाहनेले आफ्नो त्यस्तो सम्पत्ति आफ्ना इष्टमित्रहरुलाई अथवा मगध देशको (मागधदेशीय ब्रह्मबन्धु) धार्मिक छात्रलाई दिनु पर्छ, बाहुनहरुलाई तेत्तिस ओटा गाई दान गर्नु पर्छ । व्रात्यस्तोम गरेर चोखिई सके पछि तिन ओटा वेद (ऋग्वेद, यजुर्वेद, सामवेद) पढ्न थाल्नु पर्छ । ब्राह्मण भई सके पछि चाहिँ त्यो त्यसै धनी हुन्छ (पञ्चविंश ब्राह्मण १७: १-४), १३५।

अथर्व वेद (१५।१) को व्रात्य प्रकरणमा के लेखिएको छ भने, प्रारम्भमा यस जगतमा भिक्षा मागेर यताउता बरालिने व्रात्य मात्र थियो । उसले सृष्टिकर्ता प्रजापतिलाई अराए पछि महादेवको ईशान रूप प्रकट भयो । अब ईशान नै एकव्रात्य (एक्ला व्रात्य) भए । ईशानले आफ्ना लागि एउटा धनुष रचे । त्यो धनुष इन्द्रधनुष भयो । इन्द्रधनुषको बैजनी रङले ईशानले आफ्नो विरोधी भतिजालाई छोपे । त्यसको रातो धनुषले महादेवले आफुलाई हेप्नेको छाती प्वाल पार्छन् । आठै दिशामा आठ ओटा धनुर्धारी व्रात्यहरु (भव, शर्व, पशुपति, उग्र, रुद्र, महादेव, ईशान र वज्र) ले ढाकेका छन् । कौषीतकी ब्राह्मण (६।१-९) मा आठ ओटा रुद्रहरुका  नाम यिनै हुन् ।

गोपीनाथ राव (१९१६ इ०, एलिमेन्ट्स अफ हिन्दु आइकोनोग्राफी, ठेली २.१) ले शैव धर्मको स्वरूप यस्तो देखाएका छन् :

  • शैव धर्म भारतीय उपमहाद्वीपको सबभन्दा व्यापक र पुरानो धर्म मुख्य हो । शैव धर्मका अनेक सम्प्रदाय थिए । अहिले तिनीहरु मध्ये केही मात्र जोगिएका छन् । कुनै कुनै शैव सम्प्रदायले वैदिक मान्यता पनि पाएका थिए, तर धेरै चाहिँ वैदिक धर्म अन्तर्गत पर्दैनथे । कुनै शैव सम्प्रदायहरु वैदिक धर्मका विरोधी पनि थिए । कुनै सम्प्रदायको शिवजीलाई खुसी पार्ने तरिका सभ्य र सामान्य थियो भने, कुनै सम्प्रदायको शिवजीलाई खुसी पार्ने तरिका एकदम भयङ्कर, विरक्त लाग्दो, अरुलाई घिन लाग्दो, असामाजिक र अश्लील जस्तो अनि उदेक लाग्दो पनि थियो । ती बेग्ला बेग्लै शैव सम्प्रदायको जीवन सम्बन्धी दृष्टिकोण, आचरण र मोक्ष प्राप्तिका धारणा पनि एकदम फरक थिए (१)।
  • शिवको भैरव रूपका उपासक तान्त्रिक भक्तहरु पञ्चमकार (मद्य, मांस, मत्स्य, मिथुन, मुद्रा) को पालना गर्ने हुनाले मासु पनि खान्छन्, रक्सी पनि खान्छन् । पाशुपत सम्प्रदाय मान्ने (पशुपतिका भक्तहरु) पहिले वैदिक थिए, तर पछि अवैदिक भए (३)।
  • पाशुपत सम्प्रदाय र अघोर सम्प्रदाय अति प्राचीन हुन् । ‘अथर्वशीर्ष’ उपनिषदमा पाशुपत सम्प्रदायको एउटा विचार के लेखिएको छ भने, यो सम्पूर्ण जगत् एक दिन खरानी हुन्छ, त्यसैले पाशुपतहरु जीवनको अन्तिम सत्य मानेर आफ्नो जिउमा खरानी घस्छन् र खरानी नघसेको आफ्नो जिउले अरुलाई छुँदैनन् (४)।
  • दक्षिणका पाशुपतहरुकै बिचमा पनि वेदान्त शैवहरुले वेदान्त र उपनिषद्लाई आफ्नो दर्शनको आधार बनाएका हुन्छन्, भने आगमान्त शैवहरु चाहिँ वेद वेदान्त मान्नेहरुलाई निम्न कोटिका ठान्छन् । यसरी दक्षिण भारतमा पशुपतिका भक्तहरु नै पनि परस्पर विरोधी पाइन्छन् । कुनै शैवहरुले चाहिँ मूर्ति पूजा गर्ने शैवहरुलाई शूद्र ठान्छन् । आगमान्तीहरुले चाहिँ महिला र शूद्रहरुलाई पनि योग्य भए, दीक्षा मन्त्र दिन्छन् (६-७)। शैवहरु के ठान्दछन् भने, जसरी जन्तुहरुमा लैङ्गिक पक्षपात हुँदैन, त्यसै गरी दीक्षा लिन पुरुष र महिलामा पनि पक्षपात हुनु हुँदैन (२४)।
  • पाशुपत सम्प्रदायका साधुहरुका आचरण (विधि) मा उदेक लाग्दा अनेक कुरा पाइन्छन् :

उनीहरु दिनको तिन पल्ट जिउमा खरानी घस्छन्, खरानीमै पसारिन्छन्, ‘हाहाहुहु’ गरेर चर्को स्वरले कराउँछन्, चर्को स्वरले शिव स्तुति भट्भट्याउँछन्, ढङ्ग पुगे पनि नपुगे पनि नाच्छन्, जिब्रो बटारेर गोरु डुक्रे झैँ ‘हुडुहुडु’ गर्छन् । पाशुपत साधुहरुलाई बौलाहा जस्तै भएर हिँड्ने उपदेश पनि गुरुले दिएका हुन्छन्, जस्तै, ननिदाएका वेलामा पनि निदाए जस्तो देखिने, मागेर खाने, लकुवा भएको मान्छे झैँ थरथर काम्दै हिँड्ने, गोडामा बाथ भए झैँ खोच्याउने र धर्‍याङ्खर्‍याङ गर्ने, आइमाई देखे पछि हुरुक्क भए जस्तो देखाउने, अर्थ-न-बर्थका कुरा बड्बडाउने । आफुलाई अरु भन्दा नीचो देखाउन अनि घमन्ड र तडकभडकबाट मुक्त हुन पाशुपतहरु मागेर पनि खान्छन्, अर्काको जुठो पनि खान्छन् (२३) । अघोरपन्थीहरु लासको खप्परमा मान्छेकै मासु पनि खान्छन् अरे । दक्षिण भारतका कति शैवहरु आफ्नै लिङ्गको पनि पूजा गर्छन् अरे ।

  • पाशुपत सम्प्रदायका यस्तै आदिम आचरणको प्रभाव अवशेषका रूपमा मन्दिरका टुँडालहरुमा अश्लील जस्ता लाग्ने रतासन र शिव मन्दिर र भगवती मन्दिर परिसरमा सर्वत्र योनिर्लिङ्गका रूपमा देखिन्छन् । क्षपणकहरुले साक्षात् योनि र त्रिकोण यन्त्रको पूजा गर्छन् अनि कापालिक र दिगम्बर शैवहरुले ती दुइटैको पूजा गर्छन् (२४)। कालामुख पाशुपतहरु निधारमा कालो टीको लगाउँछन् । तिनीहरु आफुलाई मान्छे र राक्षसका सन्तान ठान्छन् । कापालिक (अघोरी) हरु उग्रवादी, उग्रपन्थी र अतिवादी पाशुपत हुन् (२५)।
  • शैवागम अनुसार (क) शैवहरु चाहिँ शिवजीको ताण्डवभूषण स्वरूपको आराधना गर्छन्, (ख) पाशुपतहरु जिउ भरि खरानी घसेका जटाजूट शिवको उपासना गर्छन्, (ग) महाव्रतहरु हाडखोडका माला लगाएका शिवजीको भक्ति गर्छन्, (घ) कालामुखहरु स्फटिक र पुत्रदीपका दानाका माला लगाएका शिवजीको पूजा गर्छन्, (ङ) वामाचारीहरु जनै लगाएर हातमा आगो बोकेका शिवजीको उपासना गर्छन्, अनि (च) भैरवहरु चाहिँ पाउमा कल्ली लगाएका र हातमा डमरु बोकेका शिवजीको आराधना गर्छन् । उल्लिखित शिवजीका सबै स्वरूप मान्नेहरुले तिन ओटै आँखा भएका शिवको ध्यान गर्छन् (२९)।
  • बेग्ला बेग्लै शैव सम्प्रदायले मान्ने भगवान् शिवका उल्लिखित सबै स्वरूपलाई विचार गर्दा शिवजीको सबभन्दा पुरानो र मौलिक स्वरूप चाहिँ पाशुपत घोर स्वरूप नै रहेछ । यी सबै किसिमका उपासकहरुले आफ्नो स्वरूप र आचरण पनि उनीहरुले मानी आएका शिवजीको स्वरूप र आचरणसँग मिलाएका रहेछन् : मसान घाटमा बेछन्द्याइलो ढङ्गले नाच्ने र गाउने, लास डढाएको खरानी जिउमा घस्ने, मरेका मान्छेका हाडखोड र खप्परले सिँगारिने, नाङ्गैभुतुङ्गै आइमाई केटाकेटीले देख्ने गरी मान्छेका बस्तीमा घुमी दिने, पार्वतीसँग भगवान् शिव बसे झैँ बिहे गरेरै पनि बस्ने, सांसारिक सुखको परित्याग गर्ने, कपालमा लट्टा पारेर जटा बनाउने, मरेका मान्छेका खप्परमा खानपिन गर्ने, काटमार पनि गर्ने, आदि । पुराणहरुमा पाइने शिवजीका यस्ता सबै आचरण कापालिक, कालामुख र वामाचारीहरुले अहिले पनि गर्छन् । शैवहरुका यिनै र यस्तै सम्प्रदायहरु चाहिँ वैदिक आर्यहरु भारतमा पस्नु भन्दा अगाडिदेखि प्रचलित सम्प्रदाय होलान् । ती शैवहरुको मोक्षको मार्ग नै यस्तै आचरण हो (२९-३०)।
  • जब वैदिक धर्म भारतमा आयो अनि उत्तर वैदिक कालमा वैदिक, जैन र बौद्ध सबै मुख्य धर्मले जीव हिंसा, मांसाहार र पञ्चमकारको विरोध गरे अनि एकातिर केही यस्ता वामाचारी शैवहरु पाखा लागे अनि घट्तै र हराउँदै गए भने, केही वामाचारी शैवहरुले चाहिँ वैदिक धर्मको प्रभावबाट वामाचार छोडेर शुद्ध शैव धर्मको विकास गरे । अर्कातिर वैदिक धर्म मान्दै आएकाहरु पनि त्यसलाई पालन गर्नु गारो मानेर परम्पराबाट बानी परेको पञ्चमकारका स्वादले आकर्षित भए अनि गति छाडेर यस्तै वामाचारी शिवमार्गी भए (३१)।

नेपालका शैव र शाक्तहरुमा त्यस्तो वामाचारले पनि ठाउँ पाएको छ । तेजेश्वर बाबु ग्वंगको सूचना अनुसार नेपालमा शैव शाक्त वामाचार काठमाडौँ उपत्यका भरि पाइन्छ, जस्तै, (क) भक्तपुरको बिस्केट जात्रा र इन्द्रजात्राको लिङ्गो, (ख) पशुपतिमा छत्रचण्डेश्वरको उन्मत्त भैरवको लिङ्गमा योनि छुवाउने चलन, (ग) होलीमा भक्तपुरको दत्तात्रेय मन्दिर अगाडि भीमसेनको लिङ्गमा पनि योनि छुवाउन जाने चलन, (घ) योनि मुद्रा र त्रिकोण यन्त्र, (ङ) भक्तपुर र थानकोटको गाई जात्राको यौनाचार काठमाडौँ र पाटनमा पनि पहिले थियो, भक्तपुरमा अझै छ । भक्तपुरमा मकैको घोगाको लिङ्ग र भोगटेका स्तन भएको घण्टाकर्ण जात्रा, (च) नेवार भाषामा ‘ठोकौँ ठोकौँ’ भन्ने अर्थ लाग्ने नारा लगाउने चलन, (छ) चण्डेश्वरी जात्रामा उन्मत्त भगवतीको जात्रा, अनि (ज) मन्दिरका टुँडालहरुमा रतासन । अश्लील जस्तो लाग्ने यस्तो जात्राको व्याख्या गर्दै तेजेश्वरजी के भन्छन् भने,  जाडा ठाउँमा जन सङ्ख्या बढाउन यसरी युवाहरुलाई उत्तेजित पार्न यस्तो उर्वरतामुखी धर्मको विकास भएको हो ।

शिव पुराणमा त्यति नपाइने शिव स्वरूपको यो ऐतिहासिक विकास हेर्दा के देखिन्छ भने, आर्यहरुको सबभन्दा पहिलो अवैदिक आर्य समूहलाई त्यस पछि आउने आर्यहरुले विस्थापित गर्दै गए । जति पर ती आर्यहरु गए, त्यति त्यहाँका बासिन्दासँग सांस्कृतिक लेनदेन गर्दै जाँदा तिनीहरुका शिवको स्वरूपमा कति हो कति फरक पर्‍यो । गोपीनाथ रावले भने झैँ सबभन्दा पुरानो शैव धर्म असम, दक्षिण भारत, हिमालय र कुनाकाप्चामा पुगे पनि त्यसले आफ्नो आदिम स्वरूप देखाई रहेकै रहेछ, जसलाई पछि आउने आर्यहरुले अश्लील, असभ्य र गतिछाडा ठानेका रहेछन् ।

 

Leave a Reply