राष्ट्रकवि के विश्वकवि !

By | January 31, 2021

‘राष्ट्रकवि’ के ‘विश्वकवि’ !

(२०७७ भदौ ६, शनि बार, अन्नपूर्ण पोस्ट, फुर्सद)

डा० माधव प्रसाद पोखरेल

 

राष्ट्रकवि माधव घिमिरे १०२ पुग्न पाँच हप्ता बाँकी हुँदै आफ्ना कृतिमा मात्र बाँचे । उमेरले दुइटा शताब्दी छोएका घिमिरेको एक मात्र चिनारी कवित्व हो । कविता नै घिमिरेको मूल विधा हो । उन्नाइसौँ शताब्दीमा अमेरिकाली कवि वाल्ट ह्विट्मन र फ्रान्सेली कवि चार्ल्स भोद्लेयरले गद्य कविता लेख्न थाल्नु भन्दा अगाडि र पछाडि नै पनि गेयात्मकता नै कविताको टड्कारो स्वरूप हो । पद्यमयता र गेयात्मकता नै माधव घिमिरेका कविताको एकल विशेषता हो । ‘आफ्नो बाँसुरी, आफ्नै गीत’ (२०४९) का निबन्धहरु पनि ‘चारु चर्चा’ (२०५८) का  समालोचना पनि कवितात्मक र काव्यात्मक नै छन् । प्रज्ञा प्रतिष्ठानबाट उनले सम्पादन गरेको कृति (पच्चीस वर्षका खण्डकाव्य,  २०३९) पनि काव्यकै छ । घिमिरेले अनुवाद गरेको ‘नागानन्द’ (२००२) नाटक पनि संस्कृतको पद्यमय (चम्पू) नाटक नै हो । आफैँले लेखेर मञ्चन गराएका उनका गीतिनाटकहरुको गीतिमयता र गेयात्मकताको त कुरै नगरौँ ! घिमिरेका प्रौढ कविता सङ्ग्रह (‘नवमञ्जरी’ १९९४ र ‘चैत वैशाख’ २०६०) र बाल कविता सङ्ग्रह (‘घामपानी’ २०१२, ‘सुनपङ्खी चरी’ २०५३, ‘मनचिन्ते मुरली’ २०५७ र ‘बिजुले र बिजुला’ २०६३) अनि गीत सङ्ग्रह (‘किन्नर किन्नरी’ २०२१) मा पनि गेयात्मकता छुट्ने कुरै आएन !

माधव घिमिरे नेपालका मात्र होइन, अनुवाद गरेर विश्वकै पाठक सम्म पुर्‍याउनु हो भने, विश्वभरका सबै सिकारु र सिद्धहस्त कविहरुका समेत अटुट प्रेरणा स्रोत हुन सक्छन्, किन भने कवि घिमिरे ‘सिलोक’ र ‘श्लोक’ लेख्तैनन्, कविता मात्र लेख्छन् ।

‘कविता’ लेख्ने हरेक कविले आफ्नो रचना कविता भयो कि श्लोक मात्र भयो भन्ने लेखाजोखा गर्नु पर्छ । धेरैजसो तथाकथित ‘कवि’ हरु छन्दमा श्लोक मात्र लेख्छन् र ‘कविता’ लेखेँ भनेर फुरुक्क पर्छन् । गद्य कविता लेख्ने धेरै कविहरुको पनि हालत त्यस्तै छ । हरफहरु भाँचेर पढ्ने वेलामा लेग्रो तान्यो भने, कविता भई हाल्यो भन्ने ठानेर तिनीहरु भुईँमा न भाँडामा हुन्छन् ।  श्लोकलाई कविता ठान्नु हो भने, गद्यमा भन्दा पद्य (छन्द) मा ‘कविता’ लेख्नु सजिलो हुन्छ ।

कविता चिन्ने एउटा चाहिँ सजिलो सूत्र के हो भने, त्यो रचनामा प्रयोग भएका शब्दहरु बटुलबाटुल गर्दा जे अर्थ आउँछ, त्यो भन्दा बढ्ता अर्थ त्यो रचनाबाट आएन भने, त्यो कवितै होइन । कवितामा त शब्दहरुले पनि रचनामा पस्ता शब्दकोशले दिने आफ्नो अर्थ छोड्न सक्छन् र नयाँ अर्थ दिन थाल्छन्, अनि कवितामा प्रयोग भएका वाक्यले दैनिक बोलचालमा दिने अर्थ नदिएर अर्कै नचिताएको अर्थ दिन थाल्छन् ।

कविता ठम्याउने यस कसीमा विश्वभरका सिद्धहस्त कविका रचनामा कहिलेकहिँ त कविले नै आफुले कहिल्यै चिताएको अर्थ पाठकले निकाल्न सक्छ अनि बेग्ला बेग्लै पाठकले लगाएका बेग्ला बेग्लै अर्थलाई कविले नै पनि त्यो अर्थ बेठिक भयो भनेर आफुले लेखेकै कविताको अर्थमा पनि एकलौटी खटन गर्न पाउँदैन भन्ने कुरो रोलाँ बाथ जस्ता उत्तर संरचनावादी समालोचक र मिसेल फुको जस्ता उत्तर आधुनिक समालोचकहरु ठान्दछन् । गडेमा जस्ता समालोचकहरु त कवितालाई लाक्षणिक बनाउने नै कविले होइन, पाठकले हो भन्ने दृष्टिकोण राख्छन् ।  यी दृष्टिबाट माधव घिमिरेका २०-२५ ओटा  किताबमा भएका असङ्य श्लोकहरु होड गरेर कवितै ठहर्छन् भन्ने मेरो अड्कल छ ।

काव्य र अकाव्यमा के फरक छ भने, अकाव्य (जस्तै, वैज्ञानिक प्रबन्ध) मा प्रयोग भएका हरेक शब्द र वाक्यले अकाट्य रूपमा एउटै अर्थ दिनु पर्छ, तर काव्यमा चाहिँ शब्द, वाक्य र पुरै कृतिबाट जति धेरै अर्थ निक्लन सक्यो, त्यसको गुण स्तर र उच्चकोटिता त्यसै अनेकार्थताकै अनुपातमा बढ्दै जान्छ । माधव घिमिरेका रचना दोस्रा किसिममा चाहिँ पर्छन् । कृतिबाट सर्वसाधारण पाठकले एउटा अर्थ लगाउँछ, मर्मज्ञ रसिकले एउटै हरफ, श्लोक र कृतिबाट अनेक अर्थ निकाल्न सक्छ । ‘नैषधीय चरित’ मा एउटै श्लोकबाट पाँच ओटा बेग्ला बेग्लै अर्थ लागे जस्तो !

माधव घिमिरेका खण्डकाव्य (‘गौरी’ (२००४) २०१५, ‘नयाँ नेपाल’ २०१३, ‘राजेश्वरी’ २०१७, ‘पापिनी आमा’ २०२७, ‘राष्ट्र निर्माता’ २०३०, ‘इन्द्रकुमारी’ २०५७, ‘दुर्गा सप्तशती’ २०५९) र गीति नाटक  (‘शकुन्तला’ २०३७, ‘मालती मङ्गले’ २०४२, ‘विषकन्या’ २०५०, ‘अश्वत्थामा’ २०५३ र  ‘हिमाल पारि, हिमाल वारि’ २०५४) जस्ता आख्यानात्मक काव्यहरुमा पनि कथावस्तु जोड्न नभई नहुने अकवितात्मक श्लोक पनि अत्यन्त कम र सके सम्म झिना छन् ।

‘ऋतम्भरा’ महाकाव्य लेखी सकियो भनेर मैले राष्ट्रकविकी जेठी छोरी शान्तिलाई मैले सोधेको थिएँ । उनले भनिन्, ‘हाम्रा लागि त उहाँको महाकाव्य पुरा भई सक्यो, तर उहाँ त्यसलाई दिनहुँ चिल्याई रहनु हुन्छ । जब ‘ऋतम्भरा’ चाँडै प्रकाशित होला, अरु रचना भन्दा त्यो के कम होला र ! महाकाव्य लेख्ने जससुकैलाई महाकवि भन्न सकिन्छ भनेर ‘साहित्य दर्पण’ ले लेखे पनि संस्कृतमा महाकाव्य नै नलेख्ने भवभूतिलाई पनि ‘महाकवि’ भन्ने चलन छ, तर नेपालमा चाहिँ देवकोटा बाहेक अरुलाई महाकवि नभन्ने समालोचकहरुको कन्जुसी ‘ऋतम्भरा’ पढे पछि हट्ला कि !

मेलवादेवी, सेतुराम, मास्टर मित्रसेन थापा, बहादुरसिंह बराल र धर्मराज थापाले नेपाली गीतमा नेपाली लोक तत्त्व मिसाए, तर नेपाली गीतलाई काव्यात्मक लाक्षणिकता चाहिँ माधव घिमिरेले नै दिए । गीतलाई उत्कृष्ट कविता बनाउने प्रेरणा माधव घिमिरेले नै हरिभक्त कटुवाल, अम्बर गुरुङ, रत्न शम्सेर थापा, किरण खरेल, राममान तृषित, कालीप्रसाद रिजाल, क्षेत्र प्रताप अधिकारी, कृष्णहरि बराल, दिनेश अधिकारी, राजेन्द्र थापा र श्रवण मुकारुङ, जस्ता गीतकारहरुलाई दिए ।

कवि घिमिरेलाई ‘राष्ट्रकवि’ को पदवी दिने र रथयात्रा गराउने योजना नेपाल सरकारले बनाएका वेलामा घिमिरेको सम्मानमा एउटा विशेषाङ्क निक्ल्यो । त्यसका लागि मसँग पनि सम्पादक मण्डलले एउटा लेख माग्यो । म चाहिँ ‘पार्टटाइम’ समालोचक मात्र हुँ, त्यसैले मैले माधव घिमिरेजीलाई फोन गरेर भनेँ, ‘सम्पादकहरुले मसित पनि तपाईँका विषयमा एउटा लेख मागेका छन् । भाषामा धेरै भासिएको हुँदा म कुनै ठुलो कृतिमा समालोचना लेख्न भ्याउँदिन, त्यसैले तपाईँका विचारमा तपाईँको कुन चाहिँ कवितामा समालोचकको आँखै नपुगे जस्तो तपाईँलाई लाग्छ? म त्यसै कविताको अर्थ विश्लेषण गरी हेर्छु ।’ घिमिरेले भने, ‘किन्नर किन्नरी’ भित्रको ‘अचम्म हो खालि’ भन्ने गीतमा समालोचकका आँखा पुगेकै छैनन् । मैले त्यो गीतको अर्थ विश्लेषण गरेँ अनि एक प्रति सम्पादकहरुलाई दिएँ, एक प्रति कविजीलाई दिएँ । मेरो लेख  पढे पछि कविजीको फोन आयो, ‘तपाईँले मेरो त्यो गीतको कस्तो राम्रो अर्थ विश्लेषण गर्नु भएछ ! मैले तपाईँलाई सय पूर्णाङ्कमा सन्तानब्बे नम्बर दिएँ । तिन नम्बर त कविले पनि आफ्नो भाग राख्नु पर्‍यो नि !’

राष्ट्रकविले सय वर्ष टेके पछि मैले फेरि फोन गरेँ, ‘अब यो वर्ष भरि तपाईँका विषयमा मसित धेरै जनाले लेख माग्छन् । अब ‘किन्नर किन्नरी’ कै चारपाँच ओटा गीत मलाई फेरि रोजी दिनु होस् !’ कविले छोराको इमेलबाट मलाई ६ ओटा गीत पठाई दिए । त्यसबाट तिन ओटा गीतको व्याख्या मैले विभिन्न पत्रिकामा प्रकाशित गरेँ : (१) ‘राति त्यतै शिरानी होस्’ (आज भोलि देख्तिन म तिनी कता गइन्, राति त्यतै शिरानी होस् तिनी जता गइन्), (२) ‘जून एक मुठी’ (आज राति कोठाभित्र जून एक मुठी, किन पस्यो किन बस्यो किन गयो उठी !), (३) ‘तिम्रो गीत गाउँछु म’ (शीतको थोपा अल्मलियो फूलको तरेलीमा, तिम्रो आँसु छिपेको छ मेरै परेलीमा ।) । यी तिन ओटा गीत बाहेक मैले राष्ट्रकविको चौथो गीत (४) ‘गाउँछ गीत नेपाली’ (गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, जय जय जय हे नेपाल सुन्दर शान्त विशाल !) र माथि उल्लेख भएको (५) ‘अचम्म हो खालि’ (हाँगाबाट क्वैली बोल्यो कोहो  कोहो भनी, दोबाटोमा मैले बोलेँ म हो म हो भनी । प्रश्न होइन उत्तर होइन अचम्म  हो खालि, मेरो कहीँ अन्त्य छैन प्रारम्भ हो खालि।) समेत गरी जम्मा पाँच ओटा गीतको विश्लेषण गरेको छु । यस बाहेक मैले कविको (६) ‘वैशाख’ कविताको विश्लेषण पनि गरेको छु । मैले गरेका आफ्ना यी छ ओटै विश्लेषण पढेर कविजीले फोटबाट मेरो हरेक विश्लेषणको टिप्पणी गरेका छन् ।

एक दिन मैले कविजीलाई सोधेको थिएँ, ‘‘ज्योतिको पंख उचाली’ भन्ने पदावली सोच्न तपाईँलाई कति समय लाग्यो?’ कविले जवाफ दिएका थिए, ‘कुनै कुनै कविता लेख्न त मलाई दश वर्ष सम्म  लागेको छ ।’ ‘ज्योतिको पंख उचाली’ सबै नेपालीलाई कण्ठस्थ भएको पाउ हो । यसको अर्थ सोचेर बुझ्ने चाहिँ कति जना छन्, मलाई थाहा छैन । यति मात्रको मैले केलाएको अर्थ यस्तो छ : हरेक नेपाली एउटा गाइने चरो जस्तो हो । नेपालको राष्ट्रिय झन्डाका सूर्य र चन्द्रमा अङ्कित दुइटा तिनकुने कपडा त्यस चराका पखेटा (पंख) हुन् अनि नेपाली चराले सूर्य र चन्द्रको संयुक्त ज्योति भएका पखेटा फट्फटाएर (नेपाली राष्ट्रियताको गीत) गाउँछ । त्यो चरो कवि आफैँ पनि हुन् ! यो गीतको एक पाउ मात्र सोच्न माधव घिमिरे जस्ता सिद्धहस्त कविलाई त दश वर्ष लाग्दो रहेछ भने, जुनसुकै सिकारु कविले आफुलाई महाकवि देवकोटा जस्तै अतुल प्रतिभाशाली आशुकवि ठानेर तुरुन्तै कविता लेखेर आफ्नो कविता बिगार्नु र प्रकाशित गर्न हतार गर्नु हुँदैन भन्ने अर्ती मैले राष्ट्रकविबाट सिकेँ ।

राष्ट्रकविले फोन गरेरै टिप्पणी गरेका मेरा अरु दुइटा लेख हुन् ‘कान्तिपुर’ मा प्रकाशित भएका ‘संस्कृतको अशुद्ध उच्चारण’ र ‘सरस्वती नदीको रूपान्तरण’ ।

माधव घिमिरे नेपाली कविहरुमा लोक तत्त्वको अधिकतम प्रयोग गर्ने कवि हुन् । लेखनाथ र देवकोटा भन्दा बालकृष्ण सम के कुरामा फरक छन् भने, उनले नेपाललाई कहिलै पनि ‘हाम्रो भारतवर्ष’ भनेनन् । बालकृष्ण समले ‘चिसो चूह्लो’ महाकाव्यमा लोक सामग्रीको सके सम्म प्रयोग गरे, तर आफ्ना रचनामा नेपाली लोक तत्त्वको अधिकतम उपयोग गर्ने कविमा माधव घिमिरेलाई कसैले पनि भेट्न सक्तैन । घिमिरे आफ्ना गीत, बाल साहित्य र कति कवितामा पनि ‘संस्कृत नेपाली’ होइन, ‘प्राकृत नेपाली’ प्रयोग गर्छन् । सके सम्म सबैले बुझ्ने शब्द चलाएर, धेरै लोक छन्द नै प्रयोग गरेर नेपाली लोक सामग्रीको अधिकतम प्रयोग गरेर घिमिरेले नेपाली साहित्यमा सबभन्दा लामो समय सम्म उत्कृष्ट काव्य दिएका छन् । अनुवाद गरेर विश्वका पाठक सम्म पुर्‍याउन सकियो भने, माधव घिमिरे नेपालका ‘राष्ट्रकवि’ मात्र होइन, रवीन्द्रनाथ ठाकुरलाई समेत उछिन्ने ‘विश्वकवि’ बन्न सक्छन् भन्ने मेरो मान्यता छ ।

नेपाली साहित्यको त्यो विराट् प्रतिभाको यही हप्ता हामीले आर्यघाटमा चिता पखाल्यौँ, तर घिमिरेका रचनाहरुले आउँदा युग युग सम्म नेपाली पाठकहरुलाई ताजा अर्थ दिई रहने छन् भन्ने मलाई लाग्छ । काव्यमै कवि बाँच्तछ !

Leave a Reply