नेपाली भाषामा बालकृष्ण पोखरेलको योगदान

By | February 18, 2021

बालकृष्ण पोखरेल नजन्मेका भए नेपाली भाषाको विकासका चार पाटा अँध्यारै हुन्थे कि उज्यालै हुन्थे भन्ने अड्कल काट्न म सक्तिन ।

  • नेपाली भाषामा “झर्रो वाद” को प्रवर्तन (२०१३-२०४०)
  • नौलो पाइलो (२०१३):

बिए पढ्न बालकृष्ण पोखरेल काशी बस्ता एकै दामलका उनका मित्र (कोशराज रेग्मी, बल्लभमणि दाहाल, चूडामणि रेग्मी, पोषराज निरौला, गणेश भण्डारी, विपिनदेव ढुङ्गेल, आदि) सँग मिलेर ‘नौलो पाइलो’ (२०१३) भन्ने पत्रिका चलाए । त्यस पत्रिकाले नै नेपाली भाषामा ‘झर्रो वादी आन्दोलन’ ल्यायो । नेपाली भाषा आज पनि विदेशी भाषा (अङ्ग्रेजी, हिन्दी) र संस्कृतकै पनि अनावश्यक शब्द र व्याकरणबाट बिटुलिई रहेको छ । यस कुराले बालकृष्ण पोखरेल (र उनका साथीहरु) लाई कोक्यायो । त्यसो हुँदा संस्कृत अथवा कुनै पनि विदेशी भाषा (अङ्ग्रेजी र हिन्दी) बाट नबिटुलिएको ‘झर्रो’ नेपाली भाषा लेख्ने र लेख्न प्रेरणा दिने अनि बिटुलो नेपाली लेखाइ र लेख्नेहरुको धतुरो झार्ने सङ्कल्प ‘नौलो पाइलो’ पत्रिकाबाट पोखरेल र उनका मित्रहरुले गरे । पोखरेल नै त्यस भाषा मण्डलीका मियोँ थिए ।

  • आगन्तुक शब्दको नेपालीकरण (२०१३-२०३४)
  • पोखरेललाई श्याम प्रसाद शर्माको प्रभाव :

नेपाली भाषामा झर्रो वादसितै जोडिएर नेपाली आगन्तुक शब्दको ‘नेपालीकरण’ पनि बालकृष्ण पोखरेलकै नेतृत्वमा आएको हो । भेटघाटमा कुरा गर्दा पोखरेल के भन्थे भने, नेपाली हिज्जेलाई नेपालीकरण गर्ने प्रेरणा उनले २०१५-२०१६ साल तिर वीरगन्जमा श्याम प्रसाद शर्माबाट पाएका हुन् । जुन वेला शशीकला शर्मा र श्याम प्रसाद शर्मा वीरगन्जमा ‘स्वास्नी मान्छे’ पत्रिका चलाएर बसेका थिए, त्यस वेला बालकृष्ण पोखरेललाई नेपाली आगन्तुक शब्दको नेपालीकरण गर्न श्याम प्रसाद शर्माको गहिरो प्रेरणा र प्रभाव परेको थियो ।

  • साझा प्रकाशनको प्रयास (२०२५ तिर):

साझा प्रकाशनले पनि नेपाली हिज्जेको नेपालीकरणमा सहमति बनाउन खोज्यो । त्यस अभियानमा पनि बालकृष्ण पोखरेल अग्रणी थिए । बालकृष्ण सम, तारानाथ शर्मा र वासुदेव त्रिपाठी समेत त्यस अभियानमा संलग्न थिए, तर तारानाथ शर्माको भनाइ अनुसार पुरातन पन्थी र परम्परावादीहरुले त्यो गोष्ठीको सहमति भाँडे ।

  • ‘अनिवार्य नेपाली’ को राष्ट्रिय अधिवेशन (२०३४-२०४८):

त्रिभुवन विश्व विद्यालयमा २०३० सालदेखि ‘नयाँ शिक्षा योजना’ लागु हुँदा बालकृष्ण पोखरेल नेपाली केन्द्रीय विभाग छोडेर विराटनगर गई सकेका भए पनि गोष्ठीमा सक्रिय सहभागी थिए, वासुदेव त्रिपाठी विभागीय प्रमुख थिए भने, बल्लभमणि दाहाल पुणें विश्व विद्यालयबाट पिएचडी भर्खर सक्तै थिए । नयाँ शिक्षाको पहिलो नौलो पाइलो थियो विश्व विद्यालयमा ‘अनिवार्य नेपाली’ विषयको जन्म । त्यसका अध्यक्ष बल्लभमणि दाहाल भएका वेलामा २०३४ मा अधिराज्यभरका क्याम्पसमा अनिवार्य नेपाली विषय पढाउने गुरुहरुको पढाइमा एकरूपताका लागि ‘पहिलो राष्ट्रिय अधिवेशन’ भयो । त्यसै अधिवेशनमा सहभागीहरु बिच नेपाली आगन्तुक शब्दहरुको नेपालीकरणमा सहमति भयो। प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्द कोश’ (२०४०) त्यसै सहमतिको फल हो ।

  • नेपाली बृहत् शब्द कोश (२०४०):

नेपाली बृहत् शब्द कोश (२०४०) त्रिभुवन विश्व विद्यालयमा अनिवार्य नेपाली पढाउने गुरुहरु बिच नेपालीमा आगन्तुक शब्दहरुको नेपालीकरण गर्ने व्यापक सहमतिको आदर्श दस्तावेज हो  । हिज्जेको नियम बनाएर मात्र पुग्दैन । ‘नेपाली कसरी शुद्ध लेख्ने?’ (१९९२) देखि नै नियम बनाउने चलन छँदै थियो । पुष्कर शमसेरले शब्द कोशहरु प्रकाशित गरेर ती नियमहरुको उदाहरण कोशका रूपमा प्रस्तुत गरे । त्यसै गरी त्रिभुवन विश्व विद्यालय पाठ्य क्रम विकास केन्द्रले गरेका गोष्ठीहरुमा आगन्तुक शब्दको नेपालीकरण गरेर मात्र पुग्दैनथ्यो। त्यसका लागि एउटा आदर्श कोशको खाँचो थियो । बालकृष्ण पोखरेल संयोजक र सम्पादक भएर अनि बल्लभमणि दाहाल सम्पादक मण्डलको एउटा सदस्य भएर ‘नौलो पाइलो’ (२०१३) देखि थालिएको झर्रो वादी आन्दोलनको आगन्तुक शब्दलाई नेपालीकरण गर्ने लक्ष्य ‘नेपाली बृहत् शब्द कोश’ मा आएर पुरा भयो । त्यस पछि त्रिभुवन विश्व विद्यालयको पठन पाठनमा ‘नेपाली बृहत् शब्द कोश’ (२०४०) लाई नै आदर्श बनाइयो ।

  • नयाँ ने०क०शु०ले (२०६९) मा बालकृष्ण पोखरेल :

आज नेपाली भाषाको हिज्जे कस्तो हुनु पर्छ भनेर किचोलो भई रहेको छ । त्यस किचोलामा पनि बालकृष्ण पोखरेल मुछिएका छन् । ‘आगन्तुक शब्दको नेपालीकरण’ भन्ने मन्त्र जुन बालकृष्ण पोखरेलले बनाए, जगाए र ‘नेपाली बृहत् शब्द कोश’ मा स्थापित गरे यो दशक लागे पछि उनै बालकृष्ण पोखरेल नै आफ्नो त्यसै मन्त्रको विरोधी मोर्चामा उभिएका देखिए। यसरी बालकृष्ण पोखरेल नै बालकृष्ण पोखरेलको विरोधी मोर्चामा देखिने उत्तर आधुनिक नाटकलाई निम्न लिखित ढङ्गले व्याख्या गर्न सकिएला कि !

  • ‘नेपाली कसरी शुद्ध लेख्ने?’ र ‘नेपाली बृहत् शब्द कोश’ (२०४०):

संस्कृतकै जस्तो वर्णका आधारमा मात्र लेखिने परम्परा हुनु चाहिँ जुनसुकै भाषालाई भाषा वैज्ञानिक रूपले लेख्न सकिने बलियो आधार हो, तर नेपाली जस्तो अर्थमा फरक पार्न सक्ने वर्णलाई बेवास्ता गरेर नेपालीको अर्थ परिवर्तनसँग साइनै नभएको संस्कृतको चाहिँ वर्णमाला प्रयोग गरेर लेख्ने चलन भएको भाषामा सहमति कहिल्यै पनि हुन सक्तैन । यस्ता भाषामा हिज्जेको व्यवस्था वर्ण वैज्ञानिक र अर्थ वैज्ञानिक तर्कका आधारमा स्थापित हुँदैन, खालि लौराका बलले मात्र स्थापित हुन्छ । ‘नेपाली कसरी शुद्ध लेख्ने?’ (१९९२) लाई सर्वमान्य बनाउने काममा सफलता त्यसको वर्ण वैज्ञानिक शक्तिको आधार नभएर जुद्ध शमसेरका लौराका डरले मात्र व्यवस्थित भएको हो । बरु ‘नेपाली बृहत् शब्द कोश’ को आगन्तुक शब्दको नेपालीकरण नेपाली वर्ण व्याकरणको छेउमा नेपाली हिज्जे ल्याउने प्रयास हो, त्यसैले ‘नेपाली कसरी शुद्ध लेख्ने?’ भन्दा ‘नेपाली बृहत् शब्द कोश’ नै पूर्ण रूपले ओर गर्न लायकको नभए पनि नेपाली वर्ण व्यवस्थाको नजिक छ ।

  • ‘नेपाली बृहत् शब्द कोश’ (२०४०) को हिज्जे पनि त्यसको वर्ण वैज्ञानिक बलले भन्दा पञ्चायती व्यवस्थाको लौराको बलले व्यवस्थित भएको थियो । अहिले पटकपटकका राजनीतिक जन आन्दोलनहरुले केन्द्र सरकारलाई झन झन दुब्लो बनाउँदै गएकाले त्यसको कुनै वर्ण वैज्ञानिक कमजोरी बढेको नभएर ‘नेपाली बृहत् शब्द कोश’ को हिज्जे विरोधको भाँडो भएको हो । अबको उत्तर आधुनिक नेपालमा शिक्षा मन्त्रालय अथवा पाठ्य क्रम विकास केन्द्र अथवा प्रज्ञा प्रतिष्ठान अथवा विश्व विद्यालयको ‘नेपाली केन्द्रीय विभाग’ कै अथवा कुनै वरिष्ठ प्राध्यापककै ठुलो आड लिए पनि संस्कृतकै जस्तो वर्ण वैज्ञानिक आधार नहोउन्जेल (अनि त्यस्तो हुने छाँट कतै छैन !) नेपाली भाषाको हिज्जे राजनीतिक आक्रमण र विरोधको अचानो बन्दैन भन्न सकिँदैन ।
  • नेपाली हिज्जे अस्थिर बनाउने नाटक :

नेपाली हिज्जेको परिवर्तन ‘नेपाली बृहत् शब्द कोश’ (२०४०) मै अन्त गर्नु पर्थ्यो, तर त्यसो नगरेर नेपाली हिज्जेलाई क्रमिक रूपमा सामयिक परिवर्तन गर्दै सीमित नियम र अभ्यासले पूर्ण रूपले सरल, वैज्ञानिक र व्यवस्थित बनाउन सकिन्छ भन्ने भ्रममा नेपाली हिज्जेको परिवर्तनमा दिलोज्यानले लाग्ने व्यक्ति र संस्थाहरुले आफ्ना पाइला थामेनन् । त्यस्ता हरेक परिवर्तनमा एकेडेमीले त्यस कोशका प्रधान गुरु बालकृष्ण पोखरेललाई पनि सामेल गर्नु आवश्यक ठानेन । एकेडेमीमा जो जो सदस्य बने, भाषा विभाग थाम्ने ती मध्ये धेरैजसोले नेपाली बृहत् शब्द कोशको हिज्जेमा परिवर्तन गरी रहे । यसरी परिवर्तन गर्ने गोरखधन्दामा लाग्नेले के बुझ्न सकेनन् भने, जुनसुकै मान्छेले पनि आफुले बडो मेहनत गरेर सिकेको कुनै शब्दको हिज्जेलाई पछि आउने ‘केटाकेटी’ ले अशुद्ध बनाएको मन पर्दैन । ‘नयाँ ने०क०शु०ले० (२०६९) त्यसै मनोभावको परिणाम हो ।

  • परिवर्तन गर्ने लहडीहरु मध्ये एउटा समूहले त पहिलो संस्करणमा दिइएको हिज्जेको विकल्प नै हटाई दियो । त्यस उरन्ठेउल्याइँले के दुर्घटना भयो भने, एकातिर नेपाली विषयका पाठकहरुले पहिलो संस्करण निस्किनु (२०४०) भन्दा अगाडि छापिएका सबै नेपाली किताबको हिज्जे भएका आगन्तुक शब्दको अर्थ खोज्न ‘नेपाली बृहत् शब्द कोश’ काम नलाग्ने भयो । अर्को दुर्घटना के भयो भने, लक्ष्मी प्रसाद देवकोटाको ‘गरीब’ शीर्षक भएको कविता पाठ्य क्रममा राख्नै नमिल्ने भयो । कालान्तरमा नेपाली संयुक्त व्यञ्जन छुट्ट्याउन रहर गर्नेहरुका हातमा परे पछि ‘नेपाली बृहत् शब्द कोश’ ले सबभन्दा ठुलो विरोध खेप्नु पर्‍यो ।

बालकृष्ण पोखरेललाई आफुले रोपेको त्यो बिरुवालाई आफुलाई एक वचन सम्म पनि नसोधी पटक पटक छासेर कुरूप पारेको मन परेन, त्यसै झ्वाँकले उनले आफ्नै ‘नेपाली बृहत् शब्द कोश’ का विरुद्ध ब्रह्मास्त्र हाने । कालिदासले लेखेका छन्, ‘विषवृक्षोऽपि संवर्ध्य स्वयं छेत्तुमसाम्प्रतम्’ (बिखकै बोट भए पनि आफैँले हुर्काएको बोट काट्नु हुँदैन) ।

  • हिन्दीमा जस्तो आगन्तुक शब्दको हिज्जे :

आगन्तुक शब्दको हिज्जे हिन्दीको जस्तै राख्ने कि बेग्लै राख्ने भन्ने मानसिकताले पनि आगन्तुक शब्दको नेपालीकरणलाई प्रभावित पारेको देखिन्छ । ‘नौलो पाइलो’ (२०१३) पत्रिका निकाल्दा बालकृष्ण पोखरेल र उनका ‘झर्रो वादी’ दौँतरीहरु सबै वामपन्थी थिए । दक्षिण एसियालीहरुमा आफ्नो छुट्टै चिनारी खोज्दा भारत र भारतीय भन्दा हामी के के कुरामा फरक छौँ भन्ने तत्त्वको खोजी गर्ने चलन छ । ‘नौलो पाइलो’ र नेपाली भाषामा ‘झर्रो वाद’ त्यसै उद्योगको फल हो । कम्युनिस्टहरु ‘भोलि’ (नौलो पाइलो) का कुरा गर्न धेरै मन पराउँछन् अनि काङ्ग्रेसीहरु ‘हिजो’ का कुरा गर्न धेरै मन पराउँछन् । नेपाली भाषामा ‘झर्रो वादी’ आन्दोलन (‘नौलो पाइलो’) चलाउँदा बालकृष्ण पोखरेल क्रान्तिकारी कम्युनिस्ट थिए, ‘नयाँ ने०क०शु०ले०’ लाई समर्थन गर्दा उनले काङ्ग्रेस पार्टीमा सदस्यता लिई सकेका थिए । यसरी २०१३ सालका बालकृष्ण पोखरेल पनि काशीका विद्यार्थी हुन्, त्यसैले कम्युनिस्ट भएकाले आगन्तुक शब्दमा काशीमा प्रचलित हिज्जे बदलेर त्यसको नेपालीकरण गर्न तम्सिए, तर २०६९ मा उनी एकातिर काशीमै पढ्ने शरच्चन्द्र वस्तीले प्रस्ताव गरेको आगन्तुक शब्दको काशीमै प्रचलित हिज्जेको वकालतबाट प्रभावित भए भने, अर्कातिर आफुले दरबार हाई स्कुलमा पढ्दा आगन्तुक शब्दको जस्तो हिज्जे थियो, त्यस्तै हिज्जे देख्न रमाउने कमल दीक्षितले मागेको समर्थनलाई पनि वचन हार्न सकेनन् ।

  • नेपाली भाषाको ऐतिहासिक भाषिका विज्ञान (२०१९-२०५५)
  • नेपाली भाषाको कथा (२०१९):

बालकृष्ण पोखरेलले कलकत्ता विश्व विद्यालयबाट २०१६-१७ सालमा भाषा शास्त्रमा एमए गरे । नेपालमा भाषा शास्त्र (फिलोलोजी) पढ्ने बालकृष्ण पोखरेल मात्र हुन्, अरु जति भाषा विशेषज्ञ छन्, ती सबै भाषा विज्ञान (लिङ्ग्विस्टिक्स) पढ्ने मात्र छन् । बालकृष्ण पोखरेलको भाषा शास्त्र अचेल ऐतिहासिक भाषा विज्ञान अन्तर्गत पर्छ । डा० सुनीति कुमार चटर्जीको गुरु कुल नै उनको विशेषज्ञता क्षेत्र हो, त्यसैले नेपाली भाषाको इतिहासको खोजी गर्नु बालकृष्ण पोखरेलको स्वाभाविक धर्म थियो । त्यसो हुँदा कलकत्ता विश्व विद्यालयबाट फर्के पछि बालकृष्ण पोखरेलले मदन पुरस्कार पुस्तकालयबाट प्रकाशित हुने ‘नेपाली’ पत्रिकामा ‘नेपाली भाषाको कथा’ (२०१९) भन्ने लामो अनुसन्धानात्मक लेख लेखे । त्यस लेखमा पोखरेलले नेपाली भाषाका तिन ओटा ऐतिहासिक भाषिका भएको पत्तो लगाए । धवकर्मठको अभिलेख (१५५५) भन्दा अघिका नेपाली भाषाका अभिलेखको भाषालाई ‘प्राचीन नेपाली’, १५५५ सालदेखि पृथ्वी नारायण शाह भन्दा अघि सम्मका ऐतिहासिक सामग्रीको भाषालाई ‘मध्यकालीन नेपाली’ र त्यस पछिका लेखोटको नेपाली भाषालाई ‘आधुनिक नेपाली’ भन्ने वर्गीकरण नेपाली भाषालाई बालकृष्ण पोखरेलको योगदान हो । विदुर कुमार चालिसेले अभिलेखीय व्याकरणको क्रमिक ऐतिहासिक विकासमा पिएचडी गरे पनि उनले ‘नेपाली भाषाको कथा’ (२०१९) मा बालकृष्ण पोखरेलको ऐतिहासिक वर्गीकरणका मान्यतालाई त्यति धेरै चलाएका छैनन् ।

  • पाँच सय वर्ष (२०२०):

बालकृष्ण पोखरेलले त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभागमा २०२० सालदेखि २०२४ साल सम्म पढाए । विश्व विद्यालयमा पढाउन थाल्नु भन्दा अगाडिदेखि नै ‘नेपाली भाषाको कथा’ मा नेपाली भाषाको ऐतिहासिक काल विभाजन गरेका कुराको प्रमाणका रूपमा नेपाली भाषाका अभिलेखहरुलाई काल क्रममा मिलाएर पाठकहरुलाई प्रमाणका रूपमा देखाउनु आवश्यक भयो । त्यही खाँचो पुरा गर्न उनले नेपाली भाषाका पाँच सय वर्ष अघि सम्मका अभिलेखहरुको सङ्कलन गरेर ‘पाँच सय वर्ष’ (२०२०) भन्ने किताब प्रकाशित गरे। त्यस किताबका भूमिकामा ‘नेपाली भाषाको कथा’ का स्थापनाहरुलाई प्रमाणित पनि गरिएको छ । त्यसका साथै नेपाली भाषालाई ‘खस भाषा’ का रूपमा चिनाउँदै खस जातिको परिचय पनि ठुलै भूमिकामा दिइएको छ । त्यस भूमिकामा राहुल सांकृत्यायनका किताबहरुको प्रभाव थियो । त्यसै कुरालाई आधार बनाएर पुष्कर लोहनीले ‘पाँच सय वर्ष सुन हो कि घुन हो?’ भन्ने पुस्तिका प्रकाशित गरे । त्यसले गर्दा ‘पाँच सय वर्ष’ को दोस्रो संस्करणदेखि त्यो भूमिका झिकियो, तर बालकृष्ण पोखरेलको खस जाति बारेको अनुसन्धान गर्ने तलतल रोकिएन । त्यसको परिणाम के भयो भने, पछि उनले ‘खस जातिको इतिहास’ (२०५५) भन्ने ठुलै किताब प्रकाशित गरे । यसरी पुष्कर लोहनीको आलोचनालाई बालकृष्ण पोखरेलले वरदानका रूपमा चरितार्थ गरे ।

  • नेपाली भाषाका भौगोलिक भाषिका (२०२०-२०२२):

बालकृष्ण पोखरेलले २०२१ सालमा ‘नेपाली भाषा र साहित्य’ भन्ने किताबका लागि मदन पुरस्कार पाए । त्यसै किताबमा उनको ‘नेपाली र क्षेत्रीय भाषाहरुको सम्बन्ध’ (२०२०) भन्ने लेख पनि सङ्कलित छ । बालकृष्ण पोखरेलको यो लेख नै नेपालीका भौगोलिक भाषिका सम्बन्धी अध्ययनको आरम्भ हो । नेपाली भाषाका भौगोलिक भेदहरुलाई परिभाषित गर्न बालकृष्ण पोखरेलले नेपालीका पश्चिमी मातृभाषा क्षेत्रमा पैदल यात्रा गरेर गुरु प्रसाद मैनालीको ‘नासो’ कथाको अंश अनुवाद गरेका आधारमा पाइएको सामग्रीको भाषिक विश्लेषण गरेका हुन् । पहिले पोखरेलले नेपालीका तिन ओटा (पुर्बेली, माझाली र पच्छिमा) भाषिका भएको घोषित गरे । त्यसको दुई वर्ष पछि ‘राष्ट्रभाषा’ (२०२२) लेखेर नेपालीका तिन ओटा भौगोलिक भाषिका छन् भन्ने आफ्नै पहिलेको मान्यतालाई संशोधन गर्दै नेपाली भाषाका पाँच ओटा भाषिका भएको कुरो पोखरेलले घोषणा गरे । आज यज्ञेश्वर निरौलाले नेपालीका भाषिकामा पिएचडी समेत गरेर नेपाली भाषामा १२ ओटा भौगोलिक भाषिका छन् भन्ने प्रमाणित गरी सके पछि पनि बालकृष्ण पोखरेलको प्रभाव कति बलियो छ भने, विश्व विद्यालयका गुरुहरु नेपाली भाषामा पाँच ओटा भाषिका मात्र भएको कुरो कक्षामा पढाई रहेका छन् ।

यसरी बालकृष्ण पोखरेल नेपाली भाषामा ‘झर्रो वादी’ आन्दोलनका लागि, नेपालीमा आगन्तुक शब्दको नेपालीकरणका लागि, ‘नेपाली बृहत् शब्द कोश’ को संयोजन र सम्पादनका लागि, नेपाली भाषाको काल विभाजन अथवा ऐतिहासिक वर्गीकरणका लागि, नेपाली भाषाका भौगोलिक भाषिकाको अनुसन्धानका लागि, नेपाली अभिलेखको कालक्रमिक अनुसन्धानका लागि र खस जातिको अनुसन्धानका लागि नेपाली भाषाका पाठकहरु बिच अविस्मरणीय योगदानले अमर भएका छन् ।

Leave a Reply