नेपाली किताब डाउनलोड नगर्ने?

By | February 18, 2021

(कान्तिपुर, असार २०, २०७७)

 

संसारका धेरै भाषाका पाठकहरुले सित्तैँमा अथवा पैसा तिरेर आफ्नो भाषाका किताबहरु अनलाइन पढ्न पनि पाउँछन् र आफ्नो कम्प्युटरमा डाउनलोड गरेर थन्क्याउन पनि पाउँछन् । म अहिले अङ्ग्रेजी, संस्कृत र हिन्दी भाषाका किताब डाउनलोड गरेर कम्प्युटरमा थन्क्याएर रोजी रोजी पढ्न पल्केको छु, तर मलाई दुःख के कुराको छ भने, म नेपाली भाषाका किताबहरु चाहिँ अनलाइन पनि अनि सित्तैँमा अथवा पैसा तिरेर पनि पढ्न पाउँदिन । म कमल दीक्षितका झन्डै ८० ओटा किताबहरु त सित्तैँमा डाउनलोड गरेर पढ्न पाउँछु, तर अरु नेपाली किताब चाहिँ ‘ह्लासामा सुन छ, कान मेरो बुच्चै’ भएको छ ! आफ्नो कम्प्युटरमा म खालि मदन पुरस्कार पुस्तकालयको पुस्तक सूची पढ्न पाउँछु र त्यति मात्रैले पनि मलाई आफ्ना शोध लेखमा नेपाली कृतिका सन्दर्भहरु खोज्न सजिलो भएको छ । आज संसारभरमा छरिएका नेपाली पाठकले चाहिँ नेपाली भाषाका किताब अरु भाषाका पाठक सरह पढ्न नपाउनु? हामीलाई चाहिँ आफ्नो भाषाका जुनसुकै कुनामा प्रकाशित भएका किताब पढ्न मन लाग्दैन?

अद्यावधिक किताब, शोध पत्रिका, शोध ग्रन्थ र विद्वानहरुले समृद्ध पुणें सहरको ‘डेक्कन कलेज’ मा ‘विद्यावाचस्पति’ को उपाधि लिएर २०४६ सालमा नेपाल पसे पछि आजको समसामयिक विश्वमा मलाई काम लाग्ने कुन कुन विषयमा कस्ता कस्ता किताब छापिएका छन् र छापिँदै छन् अनि विश्वका कुन कुन कुनामा प्रकाशित भएको कुन कुन शोध पत्रिकामा मलाई पढ्न मन लाग्ने कुन कुन शीर्षकमा कस्ता कस्ता लेख छापिएका र छापिँदै छन् अनि विश्वका कुन कुन विश्व विद्यालयमा आफ्नो विषयमा कुन कुन शीर्षकमा अनुसन्धान भएको छ भन्ने कुराको केही पनि सुइँको नपाइने ‘नेपाल खाल्डो’ मा पसेको चस्को एक दुई दशक सम्म भई रह्यो । दुई पल्ट जापान बस्ता र एक वर्ष चीनको राष्ट्रिय पुस्तकालयमा अध्ययन गर्न पाउँदा मैले त्यो खाँचो धेरै पुर्तल गरेँ, तर आफ्नो देश फर्के पछि भने, देशमा अद्यावधिक सघन अध्ययन गर्ने वातावरणै नपाएर मलाई कुटुकुटु भई रहेको थियो ।

झन्डै डेढ लाख ग्रन्थ भएको डेक्कन कलेजको पुस्तकालय (१९८७-१९८९ इ०) संस्कृत, भाषा विज्ञान र इतिहास तथा पुरातत्त्वको अद्यावधिक अध्ययन अनुसन्धान गर्नेलाई उपयुक्त थियो । पहिलो पल्ट (१९९४ इ०) जापानको कोबे विश्व विद्यालयमा अतिथि प्राध्यापक भएर जाँदा त्यहाँको पुस्तकालयमा नेपालमा आज सम्म पनि चिताउन नसकिने एउटा थिति बाँधिएको देखेँ । त्यहाँ पुस्तकालय सञ्जालमा जापान भरिका सबै पुस्तकालयमा भएका जम्मै किताबहरुको एकीकृत सूची हेर्न पाइने रहेछ । आफुलाई चाहिएको किताब पहिले कम्प्युटरको सूचीमा खोज्यो, अनि त्यो किताब जापानका कुन कुन पुस्तकालयमा कति कति नम्बरमा परेका छन् भन्ने चाल पायो, अनि आफ्नै पुस्तकालयमा छ भने, निकालेर पुस्तकालयमा अथवा घरमा ल्याएर पढ्यो, होइन भने, जापानको अर्को पुस्तकालयमा रहेछ भने, पुस्तकालयमा माग गर्‍यो भने, तिनचार दिनमा पुस्तक आई पुग्थ्यो । त्यस पछि कोठामा ल्याएर पढेर फर्काउँदा हुन्थ्यो ।

नेपालमा केन्द्रीय पुस्तकालयका किताब नफर्काउने थुप्रै ‘देश बनाउने’ नेता र वरिष्ठहरुका नाममा दर्ता भएका किताब फिर्ता गर्न जति सूचना पठाए पनि पुस्तकालयले हार खाएका अनेक घटना थाहा भएकाले जापानमा जस्तो थिति नेपालमा बाँध्न आज पनि सकिँदैन होला जस्तो मलाई लाग्छ । त्यति वेला जापानमा इन्टर्नेट र इमेलको सुविधा पनि थियो, तर मेरो इमेल ठेगाना चाहिँ नेपालमा चलन नभएकाले एकै पल्ट नचलाई बासी भयो ।

चीनको राष्ट्रिय पुस्तकालयमा म पुगेका वेला (२०००-२००१ इ०) मा त्यहाँ २ करोड ६० लाख ठेली किताब थिए । त्यति धेरै पुस्तक भएको पुस्तकालयमा म अन्यत्र पुगेको छैन । संसारको सबभन्दा धेरै किताब भएको भनेर नाम चलेको अमेरिकाको ‘लाइब्रेरी अफ कङ्ग्रेस’ मा आज पनि १ करोड ६० लाख ठेली मात्र किताब छन् । चीनको राष्ट्रिय पुस्तकालयमा धेरै किताब त चिनिया भाषामै थिए, तर अङ्ग्रेजी भाषाका किताब पनि सन १९९२ देखि २००० सम्म छापिएका मात्र पनि हाम्रो केन्द्रीय पुस्तकालयको सन्दर्भ खण्डमा अटाउने जति नै थिए । त्यहाँ बसेर वर्ष दिन खस जातिको पुरातत्त्व, भाषा विज्ञान, युरेसियाको इतिहास र पूर्वी एसियाली भाषामा संस्कृत शब्द खोजी गर्दा, सर्व साधारणले अड्कल गरे भन्दा बेग्लै, मैले के अनुभव गरेँ भने, त्यस पुस्तकालयमा चीनको विरोधमै लेखेका किताब पनि पढ्न पाइने रहेछ । अरु पुस्तकालयबाट किताब सापट माग्न पाउने सुविधा पनि चीनको त्यस पुस्तकालयमा रहेछ ।

दोस्रो पल्ट अनुसन्धान गर्न जापान जाँदा अन्तर्जालको सुविधाले गर्दा मैले के पाएँ भने, पुस्तक चाहिँ होइन, पुस्तकालयले पैसा तिरेका शोध पत्रिकामा संसारभर प्रकाशित लेखहरु अनलाइन पढ्न र पिडिएफ डाउनलोड गरेर आफ्नो कम्प्युटरमा साँचेर मन लागेका वेलामा पढ्न पाइँदो रहेछ ।

अन्तर्जालको सुविधाले गर्दा आज म नेपालमै घरै बसेर आफुलाई पढ्न मन लागेदेखि एकदम नयाँ र एकदम पुराना अङ्ग्रेजी भाषाका लाखौँ किताब अनि संस्कृत र हिन्दी भाषाका हजारौँ किताब पनि सित्तैँमा डाउनलोड गरेर पढ्न पाई रहेको छु । अङ्ग्रेजी भाषाका जर्नलहरुमा प्रकाशित धेरै लेख पनि त्यसरी बटुल्न सकी रहेको छु र संसारका थुप्रै विश्व विद्यालयका थेसिसहरु पनि डाउनलोड गरेर पढ्न पाई रहेको छु, त्यसैले अहिले म ‘नेपाल खाल्डो’ मा छैन !

अङ्रेजी, संस्कृत र हिन्दी भाषाका किताब डाउनलोड गरेर पढ्न पाए पनि मलाई एउटा खुड्को चाहिँ के भएको छ भने, म आफ्नै नेपाली भाषाका किताब चाहिँ अनलाइन पनि, डाउनलोड गरेर पनि पढ्न पाउँदिन । डाउनलोड गरेर अथवा अनलाइन पढ्न नपाइने हुनाले ‘मदन पुरस्कार पुस्तकालय’ का किताबको पनि नाम र विवरण मात्र अन्तर्जालमा हेर्न पाइने भएकाले टाढा भएका नेपाली पाठकलाई ती पनि ‘आकाशको फल आँखा तरी मर्’ भई रहेका छन् ! पच्चिस-छब्बिस वर्ष अगाडि नै जापानका सबै पुस्तकालयहरुमा पाइने एकीकृत सूची मात्र पनि अन्तर्जालमा हेर्न पाउने सुविधा नेपाली पाठकलाई दिन आज सम्म त नेपालमा सम्भव भएको छैन भने, सबै नेपाली किताब संसारभर छरिएका नेपाली पाठकले कहिले पढ्न पाउलान्? के मेरो यो कल्पना साकार गर्नु आजको यान्त्रिक सुविधा र समृद्धिका बिचमा पनि असम्भव छ?

अहिले विश्वभर छरिएका ५०-५५ जना लेखकहरु मिलेर लेखिएको ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ को तेस्रो ठेली सम्पादकहरुका हातमा छ । त्यसमा पूर्वोत्तर भारत (डा० खेमराज नेपाल), दार्जिलिङ-डुवर्स (डा० राजकुमारी दाहाल), सिक्किम (दीपक तिवारी) र नेपाल (दोस्रो ठेली, बलराम अधिकारी) को अनुवाद साहित्यको इतिहास हेर्दा के देखिन्छ भने, नेपाली भाषाका डिजिटीकृत किताब पढ्नबाट नेपाली पाठकहरु वञ्चित भएकाले विदेशी भाषाको एउटै किताब बेग्ला बेग्लै ठाउँमा बेग्ला बेग्लै पल्ट नेपाली भाषामा अनुवाद भएको पाइन्छ, तर त्यति हुँदा पनि नेपाली भाषाका पाठकलाई त्यो सुविधा टाकुरीको पार भएको छ !

त्यसै ठेलीमा कोरियाको नेपाली साहित्यको इतिहासको परिचय दिँदै जीवन खत्री के भन्दछन् भने, त्यहाँ पुगेका नेपालीहरुले विज्ञापनमा देखेको नेपाली किताब कुनै साथी आएका वेलामा नेपालबाट मगाउनु पर्छ, तर पढ्नलाई चाहिँ निकै पालो पर्खिनु पर्छ । अर्कातिर म्यान्मा (बर्मा) को नेपाली साहित्यको इतिहासको परिचय दिँदै डा० दुबसु क्षेत्री के लेख्छन् भने, त्यहाँ तिनचार पुस्ता अगाडि नेपालबाट गएका नेपालीका परिवारहरुले नेपाली मातृभाषा जोगाउन भेटेका किताब र नेपाली फिल्म अनेक पल्ट हेर्न लगाउनु परी रहेको छ । विदेशमा पुगे पनि आफ्नो भाषा र संस्कृतिको मोह भएका त्यस्ता नेपालीहरुको मायाँ गरेर कसरी होला सके सम्म छिटो नेपाली किताब डिजिटाइज गरेर विश्वभरमा छरिएका नेपाली भाषीहरुलाई नेपाली किताब डाउनलोड गरेर अथवा अनलाइन पढ्न पाउने सौभाग्य जुटाउने?

आज भन्दा १७ वर्ष अगाडि म ‘भारतीय भाषा संस्थान’ मैसुरमा नेपाली भाषा विशेषज्ञ भएर केही महिना बसेको थिएँ । त्यति वेला संस्थानका निर्देशक थिए मेरा मित्र प्रसिद्ध भाषा वैज्ञानिक प्राध्यापक उदय नारायण सिंह । एक दिन कुरैकुरामा डा० सिंहले मलाई के भने भने, नेपाली भाषामा जति किताब छन्, ती जम्मै म दुई सेट किनेर एक सेट मैसुरमा, एक सेट गुवाहाटीको संस्थानको शाखामा राखी दिन्छु । कसले त्यसको आपूर्ति गर्छ, बुझी दिनु होस् न ! मलाई कस्तो हर्क लाग्यो ! मैले नेपाल र भारतका नाम चलेका केही नेपाली पुस्तक व्यवसायीलाई त्यो काम गर्न सक्छौ भनेर सोधेँ, तर नेपाली पुस्तक व्यवसायीहरु त्यस उँचाइमा पुगेकै रहेनछन् भन्ने चाल पाउँदा मन कुटुकुटु भयो । प्राध्यापक सिंहको त्यो महानता र सौजन्यको हामीले उपयोग गर्न सकेनौँ । मलाई त्यसको खुनखुन आज सम्म पनि भई रहेको छ ।

पाँचछ वर्ष अगाडि म उत्तर वङ्ग विश्वविद्यालयमा अतिथि प्राध्यापक भएर केही समयका लागि पुगेको थिएँ । त्यहाँ मैले प्राध्यापक घनश्याम नेपाललाई उदय नारायण सिंहको कुरो सुनाएँ, ‘अहिले म त्यस संस्थानका निर्देशकलाई चिन्दिन, तपाईँको चिनजान होला, त्यसैले समग्र नेपाली किताब डिजिटाइज गर्न चाहिने पैसा दिन्थ्यो कि बुझी दिनु होस् न !’ पछि मैले सोचेँ, ‘‘सिआइआइएल’ (सेन्ट्रल इन्स्टिच्युट अफ इन्डियन लेङ्वेजेज) सित माग्नु भन्दा त डाक्टर पवन चाम्लिङसित माग्नु राम्रो हो, किन भने उनी नेपाली भाषाका लेखक पनि हुन्, अनि सिक्किमका मुख्य मन्त्रीलाई त्यति गारो पनि नहोला ।’

नेपाल आए पछि मैले यो कुरो कमल दीक्षितजीलाई सुनाएँ । दीक्षितजी एकदम खुसी भए । हामीले समग्र नेपाली किताब डिजिटाइज गर्न कति खर्च लाग्ला भन्ने मोटामोटी अड्कल गर्‍यौँ । अहिले मदन पुरस्कार पुस्तकालयमा ४२ हजार ठेली किताब सूचीमा चढाएको देखिन्छ । दीपक अर्यालले दिएको सूचना अनुसार अरु ५ हजार जति किताबको नाम चढाउन ठिक्क छ । यस हिसाबले मपुपु मा अहिले ४७ हजार ठेली जति किताब रहेछन् । त्यति वेला त्यहाँ चौँतिस पैँतिस हजार ठेली मात्र थिए । हामीले मपुपु मा नभएका अरु १५ हजार जति किताब होलान् भन्ने हिसाबले जम्मा नेपाली किताब ५० हजार ठेली होलान् भन्ने अड्कल्यौँ । एउटा किताबको सरदर १०० पृष्ठ र एउटा पृष्ठको डिजिटाइज खर्च १० रुपिया अड्कल गर्दा ५० हजार किताब डिजिटाइज गर्न जम्मा ५ करोडले पुग्ला भन्ने हिसाबले हामीले त्यो सहयोग पवन चाम्लिङसित मागेर सिक्किम विश्वविद्यालयकी गुरु डा० पुष्प शर्माका हातमा एउटा निवेदन पठायौँ । पवन चाम्लिङले त्यो सहयोग दिने कुरा गरेको अनि अर्को भेटमा ‘उहाँहरुले काम थाल्नु भयो त’ भनेर प्रश्न गरेको सम्म सूचना आयो, तर कुनै लिखितम् आएन, त्यसैले समग्र नेपाली पाठकहरुलाई समग्र नेपाली किताब पढ्न पाउने सुविधा जुटाउने सपना त्यसै ढक्रियो । आज मपुपु का झन्डै ५० हजार ठेली र त्यहाँ नभएका जम्मा २५ हजार ठेली जोड्दा झन्डै ७५ हजार नेपाली किताब पुग्लान् अनि दर पनि केही बढ्ला ।

यस परिस्थितिमा हाम्रो यो सपना कसरी साकार पार्ने होला !

 

 

Leave a Reply