हाम्रो लोकधर्म

By | March 28, 2021

नेपालमा देखिने धार्मिक दृश्य

हामी नेपालीहरुका धार्मिक गतिविधिहरु चित्रविचित्र छन् । हिन्दुहरु वर्षभरमा जे जे गर्छन्, बौद्धहरु त्यही त्यही गर्दैनन्, मुसलमान र इसाईहरुका पनि धार्मिक आचारविचार अरुसँग मिल्दैनन् । डोल्पा र हुम्ला तिर पामिर (ताजिकिस्तान) बाट आएको प्राचीन बोन धर्म मान्नेहरु पनि छन् । नेपालमा केही जैनहरु र शिखहरु पनि छन्, तिनीहरुको धर्मकर्म पनि फरक छ । अझ नेपालको माटामा लामो समयदेखि बसोबास गर्ने कुसुन्डा, थारु, राउटे, खस, मगर, किराँती, व्यासी, मेचे, धिमाल, राजवंशी, चेपाङ, हायु, थामी र नेवार, जस्ता जातिहरुले मानी आएको लोकधर्म अनुसारका आचरणहरु त आपसमा पनि अनि नेपालका अरु कुनै पनि मुख्य धर्म मान्नेहरुका आचरणसित मिल्दैनन् । तिनीहरु मध्ये धेरैको धर्म चाहिँ कोसी पूर्व ब्रह्मपुत्र बेँसी र म्यान्मा सम्मका जातिको लोकधर्मसँग मिल्छ । पुराणमा लेखिएका हिन्दुका बेहोराहरु न हिन्दु नै भनिने हुम्ला, जुम्ला र डोल्पाका खसका बेहोरासँग मिल्छन्, न नेवारहरुकै बेहोरासँग मिल्छन्, न तराई र पहाडमा पनि एकनासले मिल्छन् । तराई भित्रकै ‘हिन्दु’ हरुका धार्मिक क्रियाकलाप आपसमा पनि मिल्दैनन्, पहाडका हिन्दुसित पनि मिल्दैनन्, अनि उनीहरुका असङ्ख्य धार्मिक पूजाआजा, चाडबाड र लोकाचारका कुरा न कुनै वेदमा, न कुनै पुराणमा पाइन्छन् । बौद्धहरुमा थेरवाद र महायान भित्र मात्र होइन, महायानीहरुकै संस्कृति पनि तराई, काठमाडौँ, हिमाली भेगमा र हिमाल पारि मिल्दैन । मुसलमानहरुमा पनि पहाडे मुसलमान र मदेसे मुसलमानका चालचलनमा एकरूपता पाइँदैन । कोही देउता पुज्न भव्य मन्दिर बनाउँछन्, कोही गुम्बा र विहारमा निहुरिन्छन्, कोही थानमा पुज्छन् । हाम्रो महाद्वीपमा मन्दिर बनाउने चलन मेसोपोटामियाबाट आएको रहेछ (कुज्मिना, २००७ इ, ‘हिस्ट्री अफ इन्डो इरानियन्स’)। ढुङ्गाका देउता, पिप्पल र तुलसी जस्ता बोटबिरुवा, गाईबाच्छा जस्ता जन्तु, कुमारी जस्ता साक्षात् देवी अनि आमा, बाबु र गुरु जस्ता जिउँदा मान्छे र मरेका पितृको पनि नेपालीहरु श्रद्धाले पूजा गर्छन् अनि भूतप्रेत, जागित्र, मसान, पिसाद (पिशाच), किच्कन्नी र घाउ (बिफर र ठेउला) को पनि डराएर मानभाउ गर्छन् । नाग पूजा गर्ने हाम्रो चलन तोखारिस्तान, ताजिकिस्तान र काश्मीरबाट आए जस्तो छ । जेम्स टड (१८९५ इ, ‘एनल्स एन्ड एन्टिक्विटिज अफ राजस्थान’, भाग १) ले ताजिकिस्तानको नाउँ नै तक्षक नागको नाउँ (तक्षकस्थान) बाट बनेको ठहराएका छन् । नेपालीहरुका कुनै देउताको स्वरूप सीताराम, राधाकृष्ण, विष्णुलक्ष्मी र सरस्वतीको जस्तो सधैँ प्रसन्न देखिन्छ । शिवपार्वती र बुद्धको जस्तो कुनै देउताको स्वरूप कहिले प्रसन्न र सौम्य कहिले रौद्र र भयङ्कर, अनि भैरव र चामुण्डाको जस्तो सधैँ भयङ्कर पनि देखिन्छ । नेपालीहरुका अनेक थरी लोकधर्मको व्यापक खोजी, अनुसन्धान, प्रकाशन, प्रचार र पारस्परिक जानकारी विना हामी सिङ्गो ‘नेपाली’ हुन सक्तैनौँ ।

 

स्त्री धर्मको भूगोल

हाम्रो उपमहाद्वीपको भूगोलका आधारमा हाम्रो लोकधर्म छुट्ट्याएर हेर्दा असम र बङ्गालको लोकमा पुरुषको भन्दा महिलाको सामाजिक इज्जत बढ्ता छ । यो कुरो अरु जातिमा मात्र होइन, छेत्रीबाहुनकै समाजमा पनि लागु हुन्छ । पश्चिममा परपुरुषको मुखै हेर्न नहुने राजस्थानका महिला र असम, बङ्गाल र पूर्वी नेपालका महिला नेताहरुको धार्मिक अनुशासन तुलना गर्दा पनि यो कुरो प्रस्टै देखिन्छ । नेपाली जातिमा आफ्नो समाजमा थरुनीहरुको जति उच्च स्थान छ, त्यति उच्च स्थान आफुलाई सबै भन्दा विकसित ठानेर फुटानी गर्ने छेत्रीबाहुन र नेवारको समाजमा कहिल्यै नपुग्ला जस्तो छ । थारुहरुकै छिमेकमा बसेका मदेसका छेत्रीबाहुनका समाजमा महिलाको इज्जत त पहाडे नेपाली महिलाको सामाजिक प्रतिष्ठा बराबर पनि छैन । तराईमा जस्तो पहाडे नेपाली महिलाहरुले परपुरुषको मुख देख्ता बोल्नै नहुने अनि घुम्टो ओढेर हिड्नु पर्ने अवस्था त्यति देखिँदैन । कर्णाली र सुदूर पश्चिमका खस महिलाहरुले रजस्वला हुँदा छाउपडीमा बस्नु पर्ने जस्तो निकृष्ट अवस्था त उपमहाद्वीपको अर्को कुनै जातिमा पनि छैन होला ।

ऋग्वेदमा भगवती नै छैनन् । वैदिक धर्ममा देउताको महत्त्व छ, देवीको छैन । पुराणहरु मध्ये पनि पूर्व (बङ्गाल र असम) मा लेखिएका ‘देवी भागवत’ र ‘कालिका पुराण’ मा देवीको जति महत्त्व छ, त्यति अन्यत्र लेखिएका पुराणमा खास देखिँदैन । यी देवी पुराणहरुमा भगवती आफ्ना पति शिवजीलाई शुम्भ निशुम्भ कहाँ दूत बनाएर पठाउँछिन् अनि भैरवी (काली) रूपमा आफ्नै पति शिवजीको छातीमा कुल्चिन्छिन् । अन्यत्रका भगवती त्यस्ता छैनन् । जसले युद्ध गरेर मलाई जित्न सक्छ र जसले मेरो घमन्ड चुर गर्न सक्छ, त्यो मात्रै मेरो पति हुन सक्छ (यो मां जयति सङ्ग्रामे यो मे दर्पान् व्यपोहति, यो मे प्रतिबलो लोके स मे भर्ता भविष्यति) भनेर भगवती शुम्भनिशुम्भलाई सम्चार पठाउँछिन् । आज हामी सिंहवाहिनी भगवतीको जुन रूप देख्छौँ, यस महाद्वीपमा त्यो सबभन्दा पहिले सिन्धु उपत्यकामा देखिन्छ । सिन्धु बेँसीमा पनि भगवती पूजा गर्ने चलन मेसोपोटामियाबाट आएको बुझिन्छ (ब्ल्याक एन्ड ग्रिन, १९९२ इ, ‘डिक्स्नरी अफ गड्स, डेमोन्स एन्ड सिम्बोल्स अफ एन्सिएन्ट मेसोपोटामिया’) । नेपालका भगवान पशुपतिनाथ पनि, शिवलिङ्ग र गुह्येश्वरीको स्वरूप पनि तान्त्रिक धर्म पनि मेसोपोटामियाबाट सिन्धु बेँसी हुँदै कैलास क्षेत्र पुगेको बुझिन्छ । सिमो र अस्को पर्पोला (१९७७ इ, ‘मेलुह्हा भिलेज : हरप्पन ट्रेडर्स इन लेट थर्ड मिलेनियम मेसोपोटामिया’) ले सिन्धुको हडप्पा सभ्यतासँग मेसोपोटामियाको व्यापारिक साइनो भएको पत्तो लगाएका छन् । म्याकाल्पिन (१९८१ इ, ‘प्रोटो इलामो द्रविडियन’) ले दक्षिण भारतका द्रविडहरुको र मेसोपोटामियाकै सुमेरसँग भाषिक साइनो गाँसेका छन् ।

 

लैङ्गिक उदारता

स्त्रीपुरुष सम्बन्धका दृष्टिले हाम्रा लोकधर्मलाई हेर्दा पनि विचित्रता देखिन्छ । शिवजी र उन्मत्त भैरव नाङ्गैभुतुङ्गै छन् । नागा बाबाहरु लुगै नलगाई शिवरात्रिमा देखिन्छन् । असमकी कामाख्या र काठमाडौँकी गुह्येश्वरीमा भक्तहरु भगवतीको योनिपीठमै पूजा गर्छन् । शिवलिङ्ग पार्वतीको जलहरीमा ठडिएको हुन्छ । शैव र शाक्त मन्दिरका भित्ता र टुँडालमा मात्र होइन, काठमाडौँमा जगन्नाथको मन्दिरमा समेत अश्लील मानिने रतासनका मूर्ति र चित्रहरु उपत्यका भरि देखिन्छन् (क्याम्फाउसन, १९९९ इ)। भारतमा मध्यप्रदेशको खजुराहो, कर्णाटकको हाम्पी अनि असम र बङ्गालमा पनि मन्दिरहरुमा लाजमर्दा कामकलाका मूर्तिहरु देखिन्छन् । भक्तपुरको बिस्केट जात्रा र थानकोटको गाई जात्रामा प्रतीकात्मक रूपमा रतिक्रीडा देखिन्छ । कामाख्यामा रजस्वला भएकी भगवतीको योनिपीठ पवित्र हुन्छ, तर नेपालमा छेत्रीबाहुनका छोरीबुहारीहरु रजस्वलामा काढिन्छन्, जनजातिका महिलाहरु काढिँदैनन् । एकातिर उपत्यकाका दरबारहरुमा र कर्णाटक र महाराष्ट्रबाट सिम्रौनगढ हुँदै ल्याइएकी तुलजा (तलेजु) भवानीको मन्दिर वर्षमा एकदुई दिन मात्र खुल्छ, तर अरु दिन तुलजाकै साक्षात् स्वरूप मानेर जीवन्त कुमारीको पूजा गरिन्छ । मुक्तिनाथमा झुमा र खसानका कतिपय मन्दिरमा देवकीका रूपमा छोरी चढाउने चलन छ । भारतको सोमनाथको मन्दिरमा पनि देवदासीको चलन थियो अरे । प्राचीन मेसोपोटामियामा पनि यस्तो चलन थियो अरे (ग्रिन, १९९२ इ)। शैव, शाक्त, वैष्णव र बौद्ध वज्रयानी तान्त्रिक परम्परामा यौनको तिरस्कार देखिँदैन, अनि पुरुष र महिलामा उँचनीच छैन, बरु महिलाको सम्मान छ । चार ओटा पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) मध्ये ‘काम’ को गन्ती गरे पनि वैदिक गुरुकुलमा समेत ‘धर्मशास्त्र’, ‘अर्थशास्त्र’ र उपनिषद् (मोक्षशास्त्र) सिकाए पनि ‘कामशास्त्र’ सिकाउने चलनै थिएन (सीताराम चतुर्वेदी, १९५३ इ, ‘भारत में सार्वजनिक शिक्षा’, शिवानी यादव, २०१५ इ, ‘पुराणान्तर्गत प्राचीन भारतीय शिक्षा पद्धति’, पिएचडी प्रबन्ध, बुन्देलखण्ड विश्वविद्यालय)। मानव जीवनमा ‘यौन’ को अनिवार्यता भए पनि आजको विकसित वैज्ञानिक जगतमा पनि ‘कामशास्त्र’ (यौन शिक्षा) सिकाउने चलनै छैन । यस फाँटमा हाम्रो तान्त्रिक धर्मले अग्रता लिन सक्ला ।

भूमि, पुँजी र सङ्गठन जस्तै श्रम (जनसङ्ख्या) पनि आर्थिक उत्पादनको अनिवार्य साधन हो । सिकार र पशुचारण पछि खेतीपाती गर्न थाले पछि काम गर्ने मान्छे धेरै चाहिए । त्यो खाँचो पुरा गर्न समाजमा यौन उत्तेजना नबढाई प्रकृतिमा जनसङ्ख्या बढाउने अर्को उपायै छैन । नेपाल, चीन तिब्बत, मेसोपोटामिया र भारतका असम र काश्मीर जस्ता जाडा र जनघनत्व कम भएका ठाउँमा त्यही खाँचो पुरा गर्न प्रकृतिले शैव र शाक्त तन्त्रको विकास ग‌र्‍यो (रफस क्याम्फाउसन, १९९९ इ, ‘इन्साइक्लोपिडिया अफ सेक्रेड सेक्सुअलिटी’)। देशभरका शिवलिङ्ग, जलहरी अनि काठमाडौँ उपत्यका, भारतका खजुराहो, हाम्पी अनि असम, बङ्गाल र हिमाली भेगका हामीलाई छाडा जस्तो लाग्ने मन्दिरका मूर्ति, भित्तिचित्र र जात्राहरुको रहस्य यही हो । मानव समाजमा जातीय मर्यादा र अश्लीलताको भौगोलिक र ऐतिहासिक घेरो सर्वत्र बराबर र एकनासको हुँदैन । बालखलाई दुद चुसाउँदा आमाको स्तन अनि डाक्टरलाई जँचाउँदा कसैको कुनै अङ्ग पनि प्रदर्शन गर्नु अश्लील हुँदैन ।

 

दलित र धर्म

शूद्र, दलित र विजातीय (अन्त्यज अर्थात् सीमान्तवासी) भन्ने पर्खाल बनाएर पनि हाम्रो समाजमा ‘लोकधर्म’ बेग्लिएको देखिन्छ । भारतमा दलित बनाउने सुरुवात दक्षिण भारतका द्रविडहरुले गरेका रहेछन् । द्रविडहरुको लोकधर्म अनुसार राजा चाहिँ माथ्लो जात प्रजा चाहिँ तल्लो जात थियो अरे (जिओफ्रे समुएल, २००८ इ, ‘ओरिजिन्स अफ योग एन्ड तन्त्र’) । श्रम विभाजनमा आधारित वैदिक आर्यहरुको जात विभाजन सुरुमा मूलत: ब्राह्मण र शूद्रमा थियो । जसले वैदिक धर्म मान्थ्यो, त्यो ब्राह्मण र जसले वैदिक धर्म मान्दैनथ्यो, त्यो शूद्र । यस आधारमा विजाति मात्र होइन, आफ्नै जातिका शकहरु पनि शूद्र मानिन्थे । यस्तो विभाजनमा पछि के समस्या आयो भने, लेकाली र सीमान्त प्रदेशका आर्य त वैदिक धर्म नमान्ने गतिछाडा भए, त्यसैले त्यस्ता आर्यका लागि तेस्रो जात ‘व्रात्य’ छुट्ट्याइयो । व्रात्यहरु पनि ‘व्रात्यस्तोम’ यज्ञ गरेर ब्राह्मण हुन पाउँथे । ‘मनुस्मृति’ मा खसहरुलाई अनि ‘अथर्ववेद’ मा शिवजीलाई पनि व्रात्य भनिएको छ । जुन जुन शक्तिशाली र धनाढ्य खसहरु ‘व्रात्यस्तोम’ गरेर ब्राह्मण (वा क्षत्रिय) भए (अस्को पर्पोला, २०१५ इ, ‘रुट्स अफ हिन्दुइज्म’), ती बाहेक ‘व्रात्यस्तोम’ गर्न नसक्ने, नचाहने र चालै नपाउने खसहरु चाहिँ जनै नलाउने ‘पावै’ (पाखे) भए । आज पनि त्यस्ता जनै नलगाउने छेत्रीहरु जुम्ला, डोल्पा, हुम्ला र अछाममा सेत्थर छन् ।

 

बेउलीको जात

वेद र पुराणहरुको तुलनात्मक अध्ययन गर्दा के बुझिन्छ भने, अर्काका छोरी बिटुला हुँदैनन् । त्यहाँ अजात कन्याबाट जन्मेका थुप्रै ऋषिहरुका सन्तान चोखा बाहुन भएका उदाहरण छन् । महर्षि वेदव्यास पनि शूद्र आमाका छोरा हुन् । अर्काका छोरी बिटुला नभए पछि बाहुनका पत्नी शूद्रबाट ब्राह्मणी हुने र शूद्र कन्याका सन्तान वर्णसङ्कर भए पनि चोखा बाहुन हुने परिस्थिति देखिन्छ (डा० राजबली पाण्डेय, १९७८ इ, ‘हिन्दू धर्मकोश’)। यसबाट आफ्नै बाहुनी र आफ्नै सन्तान दलित हुने समस्या वैदिक र पौराणिक कालको सुरुमा थिएन भन्ने बुझिन्छ । पछिका स्वार्थीहरुले मात्र आर्य समाजमा दलित बनाएर काढ्ने चलन चलाएका रहेछन् । डँडेल्धुरामा उपाद्धे बाहुन बोहोरामै भातछोरी बाराबार छ अरे (आर० डी० प्रभास चटौत)। खसानमै कतै बोहोराहरु जनै नलगाने छेत्री र दलित छन् अरे । ‘शूद्रों का ब्राह्मणत्व’ भन्ने किताबमा डा० महेश्वर जोशी के लेख्तछन् भने, गोर्खालीको आधिपत्य भन्दा अघि सम्म उत्तराखण्डमा दलितका छोरी बाहुनले बिहे गर्न नहुने र दलितले छेत्रीबाहुनका घरमा पस्न नहुने चलनै थिएन ।

 

‘धर्म’ हामी केलाई भन्छौँ?

परम्पराले हामीलाई सिकाएको ‘धर्म’ को हाम्रो परिभाषा पश्चिमा ‘रिलिजन’ भन्दा धेरै फराकिलो छ । नेपालीहरुले बुझ्ने धर्म हरेक वस्तु र व्यक्तिको प्राकृतिक अथवा स्वाभाविक नियम हो, जस अनुसार चिसो हुनु हिउँको धर्म हो भने, तातो हुनु आगाको धर्म हो । त्यस्तै, वसन्त ऋतुमा वनै ढकमक्क फुल्नु र वर्षा ऋतुमा झरी पर्नु ऋतुको प्राकृतिक धर्म अथवा नियम हो । चार हप्तामा रजस्वला हुनु युवतीको ‘मासिक धर्म’ मानिन्छ र नौ महिनाकी गर्भवती सुत्केरी हुनु महिलाको धर्म हो । प्राकृतिक स्वभाव अथवा नियम जनाउने हाम्रो ‘धर्म’ भन्ने शब्दको अर्थ मानव समाजमा उपयोग गर्दा विस्तारित भएको छ । आगाको तातो हुने र हिउँको चिसो हुने धर्म (गुण) जसरी आगो र हिउँबाट छुट्ट्याउन सकिँदैन, त्यसै गरी एउटा हिन्दु, बौद्ध, जैन र अरु जातिबाट उसको धर्म छुट्ट्याउन सकिँदैन भन्ने यो उपमहाद्वीपका मानिसहरु ठान्दछन्, त्यसैले विदेशी धर्म मान्नेहरु झैँ हाम्रो लोकधर्म मान्नेहरु धर्म परिवर्तनमा विश्वास गर्दैनन् (मार्गारेट र जेम्स टट्ले, ‘डिक्स्नरी अफ हिन्दुइज्म एन्ड मिथोलोजी’, २०१९ इ०)।

 

‘रिलिजन’ चाहिँ के हो त?

हाम्रो उपमहाद्वीपका ‘धर्म’ जनाउन अङ्रेजी र अरु धेरै युरोपेली भाषामा प्रचलित ‘रिलिजन’ बाट अनुवाद गर्ने चलन भारतमा सुरु भयो । हाम्रा नेपाली विद्वानहरु पनि आँखा चिम्लेर त्यही शब्द चलाई रहेका छन् । बृहत् ‘अक्स्फोर्ड इङ्लिस डिक्स्नरी’ (दोस्रो संस्करण) मा ‘रिलिजन’ शब्दका १२०० इस्वीदेखि आज सम्म देखा परेका आठ ओटा बेग्ला बेग्लै अर्थ रहेछन् :

  • रोमन क्याथोलिक चर्चमा कसम खाएर लिएको अनुशासन, (२) जुनसुकै चर्चको अनुशासन, (३) आफ्ना परमात्मा खुसी पार्न गरिने औपचारिक (इसाई) चाडबाड मान्नु, (४) आफ्नो सम्प्रदायका विश्वास भित्रका कुरा गर्नु र देउताको पूजाविधि, (५) आफ्नो व्यक्तिगत र समुदायको भलो चिताएर आफ्नो नैतिक र मानसिक उन्नयनका लागि खास अदृश्य भाग्यविधातालाई खुसी पार्न गरिने पूजा र आस्था अनि त्यसै विश्वासका आडमा पालन गरिने व्यक्तिगत र सामुदायिक जीवनको मानक र आदर्श ठान्नु, (६) आफ्नो अनुशासनमा पूर्ण आस्था र भक्तिपूर्वक कठोर अनुशासन पालन गर्नु, (७) प्रतिज्ञा वा अठोट, (८) विशेषणका रूपमा

 

परधर्मो भयावह !

समाजका शक्तिशाली पुजारी, पुरेत, पण्डित, ठालु र शासकहरुको हात परे पछि धर्मको हाम्रो परिभाषा र त्यसका आधारमा गरिने दण्ड र पुरस्कारमा ‘न्यायमूर्ति’ हरुको स्वार्थ पनि जोडिएको पाइने हुनाले धर्मको आडमा समाजका निम्सराहरुलाई कलङ्कित र दण्डित गर्न पनि ठुलाबडालाई फाइदा हुने आचरणलाई धर्म र ठालुहरुलाई बेफाइदा हुने आचरणलाई ‘अधर्म’ र ‘पाप’ ठहराउने प्रवृत्ति मानव समाजमा सर्वत्र भए झैँ हाम्रा धर्ममा पनि पाइन्छ । यसको अनुचित फाइदा विदेशी विस्तारवादी ‘रिलिजन’ हरुले लिन बल गरी रहेका छन् ।

‘धर्म’ र ‘रिलिजन’ शब्दका अर्थलाई तुलना गर्दा के प्रस्ट बुझिन्छ भने, ‘धर्म’ भन्दा यो उपमहाद्वीपमा हामी जे जे बुझ्छौँ, ‘रिलिजन’ शब्दबाट इसाईहरु त्यति फराकिलो अर्थ बुझ्दा रहेनछन्, त्यसैले हाम्रा लोकधर्म मान्नेहरुले धर्मलाई परिवर्तन हुने कुरै ठान्दैनन्, तर विस्तारवादी विदेशी ‘रिलिजन’ मान्नेहरु कुरो नबुझेर अथवा बुझ पचाएर हाम्रा धर्ममा अतिक्रमण गर्न खोजी रहेका छन् । गीतामा भनिएको छ ‘पराईको धर्म आफ्नो भन्दा जति दरो भए पनि आजीवन आफ्नै धर्म मानेको राम्रो, किन भने अरुको धर्म डरमर्दै हुन्छ’ (श्रेयान् स्वधर्मो विगुण: परधर्मात् स्वनुष्ठितात् । स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह:)।

(नयाँ पत्रिका, झन नयाँ, २०७७ चैत ७ गते शनि बार)

 

 

Leave a Reply