मगरातको फेरो

राष्ट्रिय योजना आयोगले त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागलाई नेपालका भाषाहरूको समाज भाषा वैज्ञानिक सर्वेक्षण गर्ने जिम्मा दिएको छ । यस पालि मैले मेरा भागमा मगर भाषासँगै रमेश खत्री र इन्द्रेश ठाकुर भन्ने दुइटा चेला साथी रोजेँ । रमेशले जति अङ्क ल्याएर भाषा विज्ञानमा एमए उत्तीर्ण हुने मान्छे अर्को छैन भन्ने मैले बुझेको छु भने, इन्द्रेशलाई चाहिँ कम्प्युटरको प्राविधिक ज्ञान अलिक बढ्ता छ भन्ने मलाई लागेको हुनाले मैले ती दुइटा चेला नै रोजेको हुँ । यी दुइटै चेला कुरा कम काम धेरै गर्छन् भन्ने मलाई लागेकाले पनि मलाई ती चेलाहरू मन पर्‍यो । म धरानमा जन्मेको, इन्द्रेश जनकपुरमा र रमेश दैलेख हो कि सुर्खेतमा जन्मेकाले हाम्रो सङ्गतमा भौगोलिक विविधता पनि थियो ।

नेपालमा तीन किसिमको मगर भाषा छ । डोल्पाका मगरहरूले काइके भाषा बोल्छन्; रुकुम र रोल्पाका मगरहरू खाम (अठार मगराती) भाषा बोल्छन् भने, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका मगरहरू ढुट (बाह्र मगराती) भाषा बोल्छन् । यी तीनै किसिमका मगर भाषा भोट चिनिया परिवारकै भए पनि, मगर नाउँ बाहेक ती भाषामा धेरै कुरो मेल खाँदैन । काइके मगर तिब्बती भाषासित मिल्छ; खाम मगर किराँती (राई, लिम्बु) भाषासित मिल्छ भने पुर्बेली मगर भाषासँग धेरै मिल्ने अर्को कुनै भाषा नेपालमा छैन भने पनि पुग्ला । मेरा भागमा स्थलगत अध्ययनमा चाहिँ त्यही पूर्वी (ढुट) मगर परेको थियो ।

जसलाई मैले अहिले पूर्वी मगर भन्ने नाउँ दिएँ, वास्तवमा सबभन्दा बढ्ता छरिने मगर भाषा नै त्यही हो । यो ढुट मगर भाषा त पश्चिममा दैलेख र सुर्खेतमा पनि बोलिँदो रहेछ, पूर्वमा उदयपुरमा ठुलो सङ्ख्यामा बोलिन्छ । तान समेत प्रस्ट छुट्याउने गरी खोटाङका मगरहरू पनि मगर भाषा बोल्दा रहेछन् भन्ने मैले भर्खरै चाल पाएँ । मेची पारि सिक्किममा र केही मात्रामा असम सम्म पनि यो मगर भाषा बोलिन्छ । मध्य कालमा यसै मगरले धेरै राजनीतिक शक्ति बटुलेको थियो । मगरहरूको जमोट वस्ती भएको क्षेत्रलाई मगरात भनिन्छ ।

मैले मगर भाषाको वर्ण निर्धारण २०५० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गरेको थिएँ, याक्सन एइडमा लोक बहादुर थापालाई मगर भाषाको वर्ण वैज्ञानिक आलेखन बारे सिकाएको थिएँ, नेपाल मगर सङ्घमा मगर भाषाका तानको विश्लेषण गरी दिएको थिएँ, हिरा सिंह थापालाई मगर शब्द कोश बनाउने काममा प्राविधिक सल्लाह दिएको थिएँ र लोक बहादुर थापाको मगर भाषाको व्याकरणका सम्पादन तथा परिमार्जनमा विशेषज्ञ भएर सल्लाह दिएको थिएँ । त्यति मात्र नभएर मगर भाषा र मग्यार (हङ्गेरियाली) भाषामा १६ प्रतिशत शब्द मेल खाने विश्लेषण पनि गरेको छु । मेरा अनुभवको यसै पृष्ठ भूमिका भरमा मैले मगर भाषाको सबभन्दा पुरानो अथवा मौलिक स्वरूप पश्चिम स्याङ्जाको भाषिकामा भएको टुङ्गो लगाएको थिएँ ।

मगर भाषाको स्थलगत सर्वेक्षण गर्नु गारो छ, किन भने मेरा जानकारीमा मगर भाषा दैलेख र सुर्खेतमा पनि बोलिन्छ, बिचमा स्याङ्जा, पूर्वी पाल्पा, नवलपरासी, तनहुँ, गोरखा अनि पूर्वमा सिन्धुली र उदयपुरमा पनि बोलिन्छ । त्यस भन्दा पूर्व तिर पनि मगर भाषा फाटफुट बोलेको सुनिन्छ । यति फराकिलो क्षेत्रमा बोलिने भाषाका अनेक भाषिका हुनु स्वाभाविक हो, त्यसैले मैले सबै क्षेत्रका मगर भाषाको नमुना सर्वेक्षण गर्ने सुर गरेँ ।

जुनसुकै भाषा ओरिपरि अरू भाषाले घेरिएको हुन सक्छ; अर्थात् जुनसुकै भाषाका भाषिकाको एउटा निश्चित क्षेत्र हुन्छ । अरू भाषा बोल्ने क्षेत्रसित जोडिएका ठाउँमा भाषामा पारस्परिक प्रभाव हुन्छ । अरू भाषाको पारस्परिक प्रभाव नभएका क्षेत्रको वक्ता खोज्नु पर्‍यो भने, त्यस्तो क्षेत्र खोज्नु पर्छ, जुन क्षेत्र भित्र भरसक अरू भाषा बोल्ने मान्छे नहोऊन् । सके सम्म ठूलो जन सङ्ख्या भए, त्यस भाषिक क्षेत्रको बीच तिर कुनै भाषाको चोखो रूप पाइन सक्छ । भाषाको आदर्श वक्ताले भरसक आफ्नो जन्म थलो पाँच वर्ष भन्दा बढ्ता नछोडेको होस् ।

भाषा सर्वेक्षण गर्ने आदर्श थलो चिन्ने आधार बनाएर मैले लोक बहादुर थापासँग सम्बन्धित क्षेत्रका मर्मज्ञहरूसँग बुझेर स्याङ्जा, पाल्पा, नवलपरासी, तनहुँ, सुर्खेत, दैलेख, उदयपुर र सिन्धुलीका आदर्श गाउँका नाउँ मागेँ । लोक बहादुर थापाले मैले रोजेका हरेक जिल्लाको मगर मात्र बस्‍ने, मगर भाषा मात्र बोलिने आदर्श गाउँको नाउँ, ती गाउँ सम्म पुग्‍ने बाटो, सम्बन्धित क्षेत्रका सम्पर्क राख्‍नु पर्ने सहजकर्ताहरूको मोबाइल फोन सबै नम्बर बटुली दिए ।

मैले यात्राको तयारी पूरा गरेँ; चेलाहरूलाई साथ लगाएँ र पश्चिम स्याङ्जाको आलम देवी गाविसलाई लक्ष्य बनाएँ । जानु भन्दा अगाडि मैले अर्को कुरो विचार गरेँ; काठमाडौँबाट पश्चिम स्याङ्जा पुग्ने बाटैमा तनहुँ पर्छ, त्यसैले पश्चिम स्याङ्जाको भाषिकाले मगर भाषाको मौलिक रूप दिन्छ भन्ने थाह हुँदा हुँदै पनि मैले पहिले तनहुँ जाने विचार गरेँ । लोक बहादुर थापाले मलाई तनहुँका मगर भाषा बोलिने आदर्श गाउँमा नाजुङ र सेटाङको नाउँ दिएका थिए भने पोखराका मेरा शिष्य चूडामणि खनालले कोर्लाङ, मोचालाङ, मानुङ, गुणादी र खैरिनी टारको नाउँ टिपाई दिएका थिए । सेटाङको नाउँ चाहिँ लोक बहादुर थापा र चूडामणि खनालको मिलेकाले मैले कि सेटाङ कि नाजुङ जाने मन बनाएँ । चूडामणि खनालको घर पनि गुणादी भएकाले मलाई सघाउन उनी पोखराबाटै गुणादी सम्म उसै दिन आएर पर्खी रहेका थिए। हामी गुणादीमा ओर्ल्यौँ, चूडामणि खनाल भेटिए; उनले हामीलाई सेटाङका मगरहरूसित भेट गराई दिए । सेटाङका मगरसित कुरा गर्दा हामीले दमौलीबाट सेटाङ जाने जिप पाइने सूचना पायौँ र हामी दमौली तिर लाग्यौँ । एउटी थकाल्नी कहाँ काँसका थाल बटुकामा मीठो दाल भात खायौँ अनि बीसघरेको सेती र मादी खोलाको पुल तरेर झापुटारमा जिप चढ्न पुग्यौँ। हाम्रा सौभाग्यले जिप पाइएन, किन भने त्यो उकालो काट्न हामीलाई सजिलो पर्छ कि गारो पर्छ भन्ने कुरो नहिँडी थाहै पाइने थिएन अनि दामी अनुभव भनेको कुरो नै लिई रहेका वेलामा गारो हुने, पछि सम्झेर ल्याउँदा आनन्द आउने न हो !

सेटाङ पुग्‍न कति घण्टा लाग्छ भनेर बाटामा भेटेका मान्छेलाई सोध्दै उकालो लाग्यौँ; ती मान्छेले पहिले डेढ घण्टा लाग्छ भने; जति हामी बाटो काट्तै गयौँ, उति उनीहरूको जवाफमा समय बढेर दुई घण्टादेखि पाँच घण्टा सम्म पुग्यो । हामी काहुँ शिवपुर गाविसको गैराखुँदी पुग्दा घाम डुब्‍न आँट्यो । हामीले सेटाङ नपुग्‍ने निर्णय गर्‍यौँ । खुँदी गाउँका डाँडाखुँदी र गैराखुँदी भन्ने दुइटा बस्ती रहेछन् । कुन चाहिँ गाउँ रोज्‍ने भन्ने निर्णय माथिकै आधारले गर्‍यो; डाँडाखुँदीमा छेत्री बाहुन र कामी दमाईका घर रहेछन्, गैराखुँदीमा मगरका घर मात्र रहेछन्; डाँडाखुँदी भन्दा गैराखुँदीमा घरहरू पनि धेरै रहेछन्; गैराखुँदीमा दैनिक बोलचालमा मगर भाषा मात्र बोलिने रहेछ । यिनै कारणले गर्दा हामीले झन्डै पचास साठी ओटा घर भएको गैराखुँदी रोज्यौँ ।

एउटा स्थानीय नेता (दीपक) लाई हामीलाई वास खोजी दिन लगायौँ; उनले इस्कुल जस्ता सार्वजनिक भवन रोज्न खोजेको देखेर मैले भने, “हामी त बरु मगरकै सिकुवा (दलान) मा वास बस्‍न पाए, मगरकै घरमा गाँसवासको खर्च तिर्न पाए रमाउँथ्यौ ।“ दीपकले हामीलाई  पहिलेका वार्ड अध्यक्ष लोक बहादुर थापाकै घरमा उनकी श्रीमतीसित कुरा गरेर चाँजो मिलाई दिए ।

गैराखुँदीकै मगरको सिकुवा रोजेकाले हामीलाई धेरै प्रश्नको जवाफ कसैलाई नसोधे पनि थाह भयो, वक्ताले धक मानेर भन्न सजिलो नमान्ने प्रश्नको जवाफ बटुल्न पनि गारो भएन, प्रश्नावलीमा नभएका संस्कृति र मानव शास्त्रसित सम्बन्धित कुराको जानकारी त्यसै थपियो; त्यसले गर्दा हाम्रो काम छिटो भयो । गैराखुँदीमा दुई वास बसेर पश्चिम स्याङ्जा ताकेर हामी पोखरा तिर लम्क्यौँ । जुनसुकै ठाउँको जिआइएस (अक्षांश, देशान्तर र उँचाइ) नाप्‍तै हिँड्ने बानी बसाएर हामी नुहाइ धुवाइ गर्न र भात खान दमौली पुग्यौँ ।

दमौलीबाट पोखरा जान चढेको हाम्रो बस गुणादी पुगेर रोकियो, किन भने त्यहाँ कुनै मान्छेलाई अगाडि कुनै गाडीले ठोक्‍काएको रहेछ र स्थानीय आमा समूहले चक्‍काजाम गरी दिएको रहेछ । चक्‍काजाम ‘नयाँ नेपाल’ को विकासे संस्कृति भएकाले आफ्नो काममा भाँजो हालेका वेलामा पनि विकासप्रिय नेपालीले रमाउन सिक्‍नु पर्छ भन्ने हालाबादी राजनीतिक संस्कारलाई पचाएर हामी पनि पिचका बीचमा बस राखेर छेउका घाँसमा पलेँटी मार्न बाध्य भयौँ । केही घण्टाको अड्को सकेर यात्रा टुङ्ग्याउँदा त्यो वास पोखरामा डा. यमनाथ तिमिल्सिनाका घरमा पाहुना लागेर टुङ्ग्याउन हामी बाध्य भयौ र भोलि पल्ट सखारै स्याङ्जाको गल्याङ ताकेर हिँड्यौँ । गल्याङमा आलमदेवी जाने जिप पर्खिँदा हामीले भात खान भ्यायौँ । बाटाका छेउमा स्याङ्जाको रमणीय खेती हेर्दै आलमदेवी पुग्दा साँझ पर्‍यो ।

आलमदेवीमा देउराली प्राविका प्रधानाध्यापक थमानसिंह रानाको फोन सम्पर्कले मलाई सघायो । रानाजीले हाम्रो वासको चाँजो आलमदेवीका पुजारीका घरमा मिलाई दिए । त्यहाँ सासु पाल्पाकी बुहारी स्याङ्जाकी रहिछन् । मगर गाउँमा ज्वाइँलाई भान्जा र बुहारीलाई भान्जी साइनो लगाउँछन् भन्ने कुरो तनहुँमा पनि यहाँ पनि बिर्सेकाले म अलिकति अल्मलिएँ । हामीले त्यहाँको मगर भाषाको सामग्री सङ्लन गरे पछि के थाह भयो भने, हामीले ताकेको आदर्श मगर गाउँ चाहिँ लसर्घा रहेछ जहाँ मगर भाषा मात्र बोल्ने झन्डै दुई सय घर रहेछन् । मेरा हिसाबमा मगर भाषाको सामग्री बटुल्न लसर्घा भन्दा आदर्श गाउँ अरू हुँदैनन् र छैनन् पनि। लसर्घा पनि आलमदेवी गाविसमै पर्ने भएकाले हामी झुक्किएर आलमदेवी पुगेका रहेछौँ, त्यसैले आलमदेवीका पुजारीका घरमा एक वास बसेर हामी लसर्घाका नर बहादुर राना र रिम बहादुर थापाको फोन नम्बर लिएर भोलि पल्ट बिहान आलमदेवीबाट लसर्घा तिर ओर्ल्यौँ ।

नर बहादुर राना आलमदेवी गाविसका पूर्व अध्यक्ष पनि रहेछन्, उनको घर गाउँको झन्डै बीच तिर पर्दो रहेछ । नर बहादुर रानाका घरमा हामी दुई वास बस्यौँ । नर बहादुरजीले हामीले भने जस्ता आदर्श वक्ता उनकै आङनमा पनि बटुली दिए, आदर्श वक्ताको घरै सम्म पनि पुर्‍याई दिए र गाउँको भोजनालयमा हाम्रो खाने चाँजो पनि मिलाई दिए । लसर्घाको मगर भाषा मलाई सबभन्दा आदर्श र ऐतिहासिक भाषा विज्ञानका आधारमा सबभन्दा मौलिक लाग्यो । लसर्घाको मगर भाषामा ‘म आएँ’ भन्न ‘ङार्‍हाङ्’, ‘तपाईँ आउनु भयो’ भन्न ‘नार्‍हास्’ र ‘ऊ आयो’ भन्न ‘र्‍हाहा’ भन्नु पर्छ भने, अन्यत्रको मगर भाषामा ‘र्‍हाहा’ भने पछि सबैलाई पुग्छ । लसर्घाकै बेहोरा पाल्पाका पिपलडाँडा र आरेभन्ज्याङमा पनि पाइन्छ भन्ने लोक बहादुर थापाको भनाइ छ ।

आलमदेवीको डाँडाको उचाइ झन्डै १२५० मिटर रहेछ । असोजकै साँझमा पनि त्यहाँ पुग्दा जाडै भएको अनुभव भएर आफूसित भएका बाक्ला लुगा थप्‍नु परेको थियो । त्यस डाँडाबाट हेर्दा पश्चिम स्याङ्जाको त्यो भेग तीन तिरबाट काली गण्डकीले घेरेको देखियो । काली गण्डकी वारि स्याङ्जा, पारि एकातिर गुल्मी र अर्कातिर पाल्पा रमणीय देखिए । यसरी काली गण्डकीले तीन तिर छेकेकाले पनि पश्चिम स्याङ्जाको यस भेगमा मगर भाषाको मौलिकता जोगिएको रहेछ भन्ने बुझियो । लसर्घाको काम सकेर हामी पैदल हिँडेरै काली गण्डकीको पुल तरेर बस चढ्न गुल्मीको रुद्रवेणी पुग्यौँ । त्यहाँ डा. पारसमणि भण्डारीकी एउटी बहिनीको पसलमा बस पर्ख्यौँ र जिउ पूरै झाङ्गलझुङ्गल पार्ने बस यात्रा गरेर गुल्मीको रिडी हुँदै फेरि काली गण्डकी तरेर पाल्पा पस्यौँ र तानसेनको अमृत होटलमा वास बस्‍न पुग्यौँ ।

पश्चिम पाल्पाका मगरहरू मगर भाषा बोल्न जान्दैनन्; पूर्वी पाल्पा (सिद्धार्थ राजमार्ग पूर्व) का फोक्सिङकोट, पिपलडाँडा, सरापकोट, आदि गाउँका मगरहरू मात्र मगर भाषा बोल्न जान्दछन् । पूर्वी पाल्पाको कुन गाउँलाई हाम्रो अध्ययनको थलो बनाउने भन्ने कुरो तानसेन रैथानेहरूसँग कुराकानी गरेर फोक्सिङकोट जाने निधो गर्‍यौँ, तर दुर्भाग्यवश भोलि पल्ट गाडी फोक्सङकोट गएन अनि मैले रमेश र इन्द्रेश दुवै जनालाई नवलपरासीको अरुणखोलामा ओर्लेर भेडाबारी जस्तो कुनै आदर्श मगर गाउँमा अध्ययनका लागि पुग्‍ने, अरुणखोलामै फोक्सिङकोटका मगरहरूसित एउटा अन्तरक्रिया गरेर प्रश्नावली भर्ने र त्यस पछि सुर्खेत र दैलेखको मगर भाषाको लगत बटुल्न रमेश खत्रीलाई अनि सिन्धुली र उदयपुरको  मगर भाषाको लगत बटुल्न इन्द्रेश ठाकुरलाई पठाएर म चाहिँ तानसेनबाटै काठमाडौँ फर्केँ ।

मगरातको यो फेरो मार्दा के कुरो थाह भयो भने, मगर गाउँमा त्यति चोरी लाग्दो रहेनछ अनि मगरहरू गीत गाउनु पर्दा र चिठी लेख्‍नु पर्दा नेपाली भाषा नै रोज्दा रहेछन् । लसर्घामा बाटो हिँड्दा एउटी अधबैँसेलाई मैले भने, “मगर गाउँका कुकुर पनि कति भलाद्‍मी ! भुक्तैनन् !” उनले प्रत्युत्पन्नमति जवाफ दिइन्, “सोझो होला नि, मगर जस्तो !”

Leave a Reply