१. नेपाली भाषा सिक्ने कठिनाइका समाज भाषा वैज्ञानिक कारण
नेपाली विषय पढ्नु पर्ने विद्यार्थीलाई कहाँ कहाँ अप्ठ्यारो पर्छ? के के कारणले नेपाली पढ्नु पर्ने विद्यार्थीहरूलाई नेपाली पढ्नु त्यति सजिलो हुँदैन? नेपाली पढ्ने विद्यार्थीहरूलाई पढ्दा खेरि कस्ता कस्ता आपत्ति आई लाग्छन्? नेपाली पढ्ने सिकारुहरूका कठिनाइ घटाई दिन अथवा निमिट्यान्न पार्न सकिएला त? नेपाली पढ्नेहरूलाई सघाउने उपायहरू के कस्ता होलान्?
१.१ बहुभाषिकता (नेपालका मातृभाषाहरू)
नेपालमा १०० ओटा जति मातृभाषा छन् । ति भाषाहरू पाँच ओटा महापरिवारमा पर्छन् । (क) कुसुन्डा भाषा संसारको कुनै भाषासित मिल्दैन, (ख) द्रविड परिवारको एउटा भाषा दक्षिण भारतका भाषासित मिल्छ, (ग) आग्नेय परिवारका दुइटा भाषा भारतको उडिस्सा र झारखण्ड अनि दक्षिण पूर्वी एसियाका मलेसियाली, इन्डोनेसियाली, कम्बोडियाली, भिएत्नामी अनि प्रशान्त महासागरका टापुहरूमा बोलिने भाषाहरूसित मिल्छन्, (घ) भोट चिनियाँ परिवारका भाषाहरू चीन, तिब्बत, म्यान्मार र भारतको उत्तर पूर्वका भाषाहरूसित मिल्छन् भने, (ङ) भारोपेली परिवारका भाषा एकातिर उत्तर भारतका भाषासित, अर्कातिर पाकिस्तान, अफगानिस्तान, इरान, मध्य एसिया र युरोपका भाषाहरूसित मिल्छन् ।
कुसुन्डा भाषा बोल्न जान्ने अहिले नेपालमा एक जना मात्रै पाइन्छ, द्रविड परिवारको भाषा र आग्नेय परिवारका भाषा नेपालको आग्नेय कोणमा बोलिन्छन्, भोट चिनियाँ परिवारका भाषाहरू नेपालको उत्तर पूर्वी भागमा बोलिन्छन् अनि भारोपेली परिवारका भाषाहरू नेपाली भाषाका रूपमा देशभरमै बोलिए पनि विशेष गरी नेपालको दक्षिण र पश्चिम तिर बोलिन्छन् ।
१.२ नेपाली भाषा सिकाइमा विविध मातृभाषाका व्याकरणको प्रभाव
नेपालमा बोलिने ति अनेक मातृभाषाका वक्ताहरूले नेपाली बोल्न सिक्ता तिनीहरू आफ्नै मातृभाषाका व्याकरणमा नेपाली भाषाका शब्दहरू जडेर बोली हेर्छन् । यस प्रक्रियाले तिनीहरूले बोलेको नेपाली भाषामा उनीहरूकै मातृभाषाका वर्णहरू उनीहरूकै मातृभाषाका वर्ण सन्धि र संवर्ण सन्धिका नियम र वर्ण व्याकरणका अरू नियम लगाउने प्रवृत्ति भएकाले तिनीहरूले बोल्ने नेपालीको उच्चारण उनीहरूकै मातृभाषाको वर्ण व्याकरण अनुसार निर्दिष्ट हुन्छ । उच्चारण मात्र होइन, उनीहरूले नेपाली भाषाका लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, कारक, विभक्ति र पद सङ्गति, जस्ता शब्द व्याकरण र वाक्य व्याकरणका हरेक प्रकरणमा आफ्ना आफ्नै मातृभाषाका व्याकरणका नियम लगाएर बोल्ने हुनाले उनीहरूले सुन्ने, बोल्ने, बुझ्ने, पढ्ने र लेख्ने नेपाली भाषामा पनि उनीहरूका आफ्ना आफ्नै मातृभाषाका नियम झल्किन्छन् । यसरी नेपालमा जति थरी मातृभाषाका पृष्ठ भूमिबाट नेपाली भाषा सिक्ने विद्यार्थीहरू विद्यालयमा आउँछन्, नेपाली भाषाको सुनाइ, बोलाइ, पढाइ, बुझाइ र लेखाइमा त्यति किसिमको विविधता हुने सम्भावना छ ।
१.३ नेपाली पढाइमा भाषिकाको व्याकरण
नेपालीका १२ ओटा भाषिका छन् । ति भाषिकाका व्याकरण पनि मानक नेपालीसँग ठ्याक्कै चाहिँ मिल्दैनन् । यसले गर्दा नेपाली भाषाका अनेक भाषिकालाई मातृभाषाको रूपमा बोल्ने नेपाली विषयका विद्यार्थीले पनि नेपाली भाषा बोल्दा र लेख्ता आफ्ना आफ्नै भाषिकाका व्याकरणको प्रयोग गर्छन् ।
१.४ अनिवार्य नेपाली विषयका समस्या
नेपाली भाषा नेपालका अनेक मातृभाषा हुने नेपालीहरूको सम्पर्क भाषा, सार्वजनिक सञ्चारको भाषा, सरकारी काम काजको भाषा, नेपालको राष्ट्र भाषा, विश्व विद्यालय र विद्यालयको अनिवार्य पठन पाठनको भाषा भएकाले नेपालका हरेक शैक्षिक तहमा नेपाली भाषा कि त अनिवार्य विषयका रूपमा कि त कक्षामा पठन पाठनको माध्यमका रूपमा चलेको देखिन्छ । पञ्चायती व्यवस्थाको अन्त्य तिर लिइएको जन गणना अनुसार झन्डै ५८% नेपालीहरूको मातृभाषा, अघिल्लो जन गणना अनुसार झन्डै ४८% नेपालीहरूको मातृभाषा र सबभन्दा धेरै नेपालीहरूले दोस्रो भाषाका रूपमा बोल्ने भाषा भएकाले नेपाली भाषा नेपालको सबभन्दा महत्त्व पूर्ण भाषा हो । त्यसो भए पनि नेपाली विषयको पठन पाठन प्रभावकारी भएको देखिँदैन ।
अनिवार्य नेपाली विषयको सिकाइका निम्न लिखित समस्या देखिन्छन् :
(क) अनिवार्य नेपालीको पाठ्य क्रम, पाठ्य वस्तु, पाठ्य सामग्री, शिक्षण विधि, शिक्षकलाई दिइएका तालिम, विद्यालयका कक्षा, विद्यार्थीको सहभागिता, विद्यालयको व्यवस्थापन, मूल्याङ्कनका ढर्रा र परीक्षा फल हेर्दा अहिले सम्म अनिवार्य नेपाली विषयको पठन पाठनले पहिलो भाषाका रूपमा नेपाली भाषा बोल्ने विद्यार्थीका सिकाइका समस्या सरह नै नेपालीका भाषिकालाई मातृभाषाका रूपमा बोल्ने र अन्य भाषालाई मातृभाषाका रूपमा बोल्ने विद्यार्थीका सिकाइका समस्या ठानेको देखिन्छ ।
(ख) बेग्ला बेग्लै मातृभाषाको पृष्ठ भूमि भएका विद्यार्थीहरूले नेपाली भाषा सिक्ता कस्ता कस्ता गल्ती गर्छन्, त्यसको लगत राख्ने चलन छैन; त्रुटिहरूको संरचनात्मक विश्लेषण गर्ने चलन छैन र त्यस्ता त्रुटिहरूको निराकरण गर्ने अतिरिक्त पाठ्य क्रम बनाएर समानान्तर रूपमा विशेष कक्षाको चाँजो मिलाएर उनीहरूलाई (उच्चारणमा, वर्ण र संवर्णका नियममा, व्याकरणमा अनि सुनाइ-बोलाइ-पढाइ-लेखाइमा) मूल धारमा नेपाली मातृभाषी विद्यार्थीसँग होड गर्न सक्ने बनाएर पुर्याउने अतिरिक्त व्यवस्था नेपाली सिकाइमा छैन ।
(ग) माथि लेखिएका बिचाँजाले गर्दा विश्व विद्यालयको उच्चतम डिग्री पाई सकेको मान्छेले पनि आफ्ना मातृभाषा र भाषिकाका उच्चारण र व्याकरणका नियम अनुसार नेपाली भाषा प्रयोग गरेको देखिन्छ । नेपाली विषय प्रभावकारी रूपमा सिकाउने व्यवस्था सुरु नहोउन्जेल शिक्षा मन्त्रालयका सबै तहका कर्मचारी र प्रशासकमा मात्र नभएर प्राध्यापक र शिक्षकहरूमै पनि माथि उल्लेख गरिएका गल्ती भेटिनु अस्वाभाविक होइन ।
(घ) यो बिचाँजो रोक्न विश्व विद्यालय र शिक्षा मन्त्रालय कहिले सचेत र समर्थ होलान्, नेपाली विषयका पढाइको आदर्श त्यसै दिन सम्म थान्को लागेको देखिन्छ ।
(ङ) नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूलाई मानक नेपालीको उच्चारण र व्याकरण सिकाउने सामर्थ्य दिन नसक्नामा मात्र नेपालका विश्व विद्यालय र शिक्षा मन्त्रालयहरू असफल भएका होइनन्, नेपाली भाषालाई मातृभाषाका रूपमा अर्थात् पहिलो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूको पढाइ र लेखाइमा पोख्त बनाउन पनि विद्यालय र विश्व विद्यालय प्रभावकारी भएको देखिँदैन भन्ने कुरो आज विश्व विद्यालयका उच्चतम तहका उत्तर पुस्तिकाहरू जाँच्ता पनि थाह हुन्छ ।
(च) नेपाली लेखाइमा विद्यार्थी र लेखकहरूको आत्मविश्वासमा भाँजो हाल्ने बिथितीका जन्म दाता चाहिँ नेपाली लेखाइलाई नेपाली वर्ण व्याकरण अनुसार नलेखेर अनेक तथाकथित ‘नियम’ का आधारमा अनियमित गर्न रमाउने व्याकरणकारहरू हुन् । (अ) नेपाली वर्ण व्याकरण अनुसार नेपाली लेखन व्यवस्थित गरेको भए, सर्वोत्तम समाधान हुन्थ्यो; (आ) त्यो सर्वोत्तम समाधान नरोज्ने हो भने केही सीमित नियमका आधारमा नेपाली हिज्जेलाई व्यवस्थित गर्न सकिन्छ भन्ने भ्रमलाई चटक्क छोडेर अङ्ग्रेजी र संस्कृत भाषाको हिज्जे सिकाए झैँ अभ्यासबाट मात्रै हिज्जे सिकाउने चाँजो मिलाउनु पर्ने हो । नेपाली हिज्जेका समस्यालाई स्थायी समाधान गर्ने अचुक विकल्प यिनै दुइटा मात्र हुन् ।
(छ) नियमबाट नेपाली हिज्जे सिकाउने अस्थिरीकरणमा रमाउने नेपाली भाषाका विद्वानहरूले गर्दा आज नेपाली विषयका १०० जना विद्वानहरूलाई एकै ठाउँमा बटुलेर एउटै अनुच्छेद श्रुति लेखन गर्न लगायो भने १०० थरी विविधता पाइन्छ, तर त्यसको विपरीत, अभ्यासबाट हिज्जे सिकाउने चलनले गर्दा पहिलो कक्षाका १०० जना विद्यार्थीहरूलाई उनीहरूले बुझ्ने शब्द मात्र भएको अङ्ग्रेजी भाषाको एउटै अनुच्छेद श्रुति लेखन गरायो भने, एकै किसिमको हिज्जे लेख्ने सम्भावना हुन्छ ।
(ज) लेख्नु संस्कृत भाषा जस्तो पर्ने अनि आफ्ना आफ्नै मातृभाषा जस्तो बोल्नु पर्ने थिती कायम गराउने नेपाली लेखाइको यस्तो भाँडभैलो चली रहेका वेलामा सर्व साधारण शिक्षक र विद्यार्थीहरूलाई नेपाली विषयमा पोख्त हुन निकै सकस परेको छ ।
२. देवनागरी लिपिले गर्दा पढाइमा गारो परेका ठाउँ
२.१ निरपेक्ष स्वर (अ) को उपस्थिति :
देवनागरी लिपिमा व्यञ्जनको सूचीमा सधैँ व्यञ्जन पछि निरपेक्ष अकारको उपस्थिति हुन्छ, जस्तै :
१. क (क्+अ), ग (ग्+अ), ङ (ङ्+अ) ।
व्यञ्जन पछि ‘अ’ स्वरको उपस्थिति नभए, त्यसमा खुट्टो काट्ने नियम छ, जस्तै,
२. लेख (le.kʰʌ), लेख् (le.kʰ) ।
तर यो नियम क्रिया बुझाउने शब्दका अन्तमा मात्र पूर्ण रूपले लागु हुन्छ, अक्रिया छ भने लागु हुँदैन, जस्तै :
३. तँ एउटा लेख (lekʰ) लेख् (lekʰ) ।
४. तँ एउटा लेख (lekʰ) लेख् (lekʰ) लेख् (lekʰ) ।
५. तिमी एउटा लेख (lekʰ) लेख (lekʰʌ) ।
यी वाक्यहरूमा कतै लेखाइ एकै नासको (५) भए पनि पढाइ (अर्थात् उच्चारण) बेग्ला बेग्लै खालको छ अनि कतै लेखाइ बेग्ला बेग्लै खालको (३ र ४) भए पनि पढाइ (वा उच्चारण) एकै नासको छ ।
वीरेन्द्रकेसरी अर्ज्याल (१९५७-१९६२), चक्रपाणि चालिसे (१९६३) र राल्फ लिली टर्नर (१९३१ ई) चाहिँ जस्तो बोलिन्छ, त्यस्तै लेख्नु पर्छ भन्ने पक्षमा थिए भने, राममणि आदी (१९६५) चाहिँ नेपाली शब्द लेख्ता खुट्टा काट्ने चलनकै विरोधी थिए । हेमराज पण्डित (१९६९) ले क्रियामा चाहिँ वीरेन्द्रकेसरी अर्ज्याल, चक्रपाणि चालिसे र टर्नरको सिको गरेर उच्चारण अनुसार लेख्ने, अक्रियामा चाहिँ राममणि आदीको सिको गरेर खुट्टो नकाट्ने थिती बाँधे । ‘नेपाली कसरी शुद्ध लेख्ने?’ (१९९२) ले हेमराज पण्डितको बाटो समातेकाले नेपाली सिक्ने विद्यार्थीहरूलाई पढ्न अप्ठ्यारो र अल्मलिनु पर्ने भयो ।
व्यञ्जन पछि अरू स्वर आयो भने पनि लेख्ता निरपेक्ष अकार हुँदा व्यञ्जनको बान्की जस्तो थियो, त्यो बान्की चाहिँ फेरिँदैन, जस्तै :
६. म (म्अ), मा (म्अआ? म्आ?), मि (म्अइ? म्इ?), मी (म्अई? म्ई?), मु (म्अउ? म्उ?), मू (म्अऊ? म्ऊ?), मे (म्अए? म्ए?), मै (म्अऐ? म्ऐ?), मो (म्अओ? म्ओ?), मौ (म्अऔ? म्औ?)
२.२ पदान्त व्यञ्जनको पढाइ र लेखाइ (हलन्त कि हलन्त बहिष्कार?)
माथि (३-५) का उदाहरण हेर्नु हो भने, सुन्दा, बोल्दा र पढ्दा पदान्तमा व्यञ्जन हुने भए पनि लेख्ता सधैँ पदान्तमा व्यञ्जन नहुने रहेछ । यसरी एकनासको उच्चारण हुने शब्दहरूलाई दुई थरीको लेखाइ शुद्ध हुने हेमराज पण्डितले चलाएको (अ)व्यवस्थाले पदान्तको नेपाली व्यञ्जन शुद्ध हुने गरी पढ्नु सजिलो छैन ।
२.३ नेपाली अक्षरको बनोट
तल लेखिएको चित्र (१) मा नेपाली अक्षरको बनोट (संरचना) देखाइएको छ । एक मुल्को सासमा जति वर्ण वा (ध्वनि) हरूको माला वा समूहको उच्चारण गर्न सकिन्छ, वर्णहरूको त्यस गुच्छालाई नै अक्षर (Syllable) भनिन्छ । नेपाली अक्षरको अन्तमा एउटा मात्र व्यञ्जन आउन सक्छ, हिन्दी र अङ्ग्रेजीमा जस्तो दुई तिन ओटा व्यञ्जन आउन सक्तैनन् ।
- नेपाली अक्षरका अन्तमा (अर्थात् नेपाली शब्दका अन्तमा) ‘य,व,ह’ बाहेक अरू जुनसुकै व्यञ्जन आउन सक्छन् ।
- नेपाली अक्षरका आरम्भ (वा सुरु) मा अधिकतम तिन ओटा सम्म (जस्तै, ब्ल्याङ्ङ, प्ल्यात्त) व्यञ्जन आउन सक्छन् । यसरी नेपाली शब्दको सुरुमै तिन ओटा व्यञ्जन आए भने स्वरको देब्रे पटि आउने तेस्रो व्यञ्जन ‘य’ मात्र हुन्छ, दोस्रो व्यञ्जन ‘र,ल’ मात्र हुन्छ र पहिलो व्यञ्जन चाहिँ जुनसुकै हुन्छ ।
चित्र १: नेपाली अक्षरको संरचना
- नेपाली अक्षरको (वा शब्दको) सुरुमै दुइटा व्यञ्जन आए भने, पहिलो व्यञ्जन त जुनसुकै हुन सक्छ, तर दोस्रो व्यञ्जन चाहिँ ‘य,र,ल,व’ बाहेक हुनै सक्तैन ।
नेपाली मातृभाषाका वक्ताले चाल पाउने अक्षरको संरचना यही भएकाले :
- नेपाली मातृभाषीहरू अक्षरान्तमा ‘य,व,ह’ भएका नेपालीमा प्रचलित संस्कृत शब्द पढ्न सक्तैनन्, अर्थात् हकार अगाडि ‘इकार’ छिराएर त्यस हकारलाई त्यस पछाडि आउने अक्षरको आरम्भ स्थानमा पुर्याउँछन् र मात्र त्यस्ता शब्दका उच्चारणको नेपालीकरण हुन्छ, जस्तै : बाह्य, असह्य
- ‘प्रह्लाद, आह्वान, चिह्न, मध्याह्न’ जस्ता शब्दमा हकार अक्षरान्त स्थानमा आउने हुनाले त्यस्ता ‘य,व,ह’ को कि उच्चारणै हुँदैन, कि व्यञ्जन उल्टाएर उच्चारण गरिन्छ, कि कुनै स्वर छिराएर उच्चारणमा नेपालीकरण गरिन्छ (प्रलाद्, पर्लाद्, प्रल्लाद्, आउहान्, चिन्ह, चिन्न, मद्ध्यान्न) ।
- नेपाली अक्षरको आरम्भमा दोस्रो व्यञ्जन ‘य,र,ल,व’ मात्र हुने भएकाले अङ्ग्रेजीका ‘school, stop, speed, smile, snake’ जस्ता दोस्रो आरम्भ स्थानमा ‘क,त,प,म,न’ भएका शब्दहरूको उच्चारणमा नेपालीकरण गर्दा सुरुमा इकार हालिन्छ (इस्कुल्, इस्टप्, इस्पिड्, इस्माइल्, इस्नेक्) ।
- नेपाली अक्षरको विराम स्थानमा एउटा मात्र व्यञ्जन भएकाले विराम स्थानमा दुइटा व्यञ्जन हुने अङ्ग्रेजीका ‘first, bank, cement’ जस्ता शब्दको उच्चारण नेपालीकरण गरेर पछाडि अकार वा इकार छिराइन्छ, जस्तै : फस्ट, बङ्क, ब्याङ्क, सिमन्टी ।
२.४ अन्तस्थ (यरलव) अगाडिको अक्षरान्तको व्यञ्जन द्वित्व हुने नियम
- अक्षरको विराम स्थानमा भएको व्यञ्जन प्राय त्यस पछि आउने अक्षरको सुरुमा ‘य,र,ल,व’ आयो भने, द्वित्व हुन्छ, जस्तै :
७. भाग्य (भाग्.ग्य), कन्या (कन्.न्या), हत्या (हत्.त्या), शुक्र (सुक्.क्र), शुक्ल (सुक्.क्ल), पक्व (पक्.क्व, पक्.को), सत्व (सत्.त्व, सत्.तो) ।
- ‘य,र,ल,व’ अगाडि केही गरी विराम स्थानमा महाप्राण (ख,छ,ठ,थ,फ; घ,झ,ढ,ध,भ) व्यञ्जन भयो भने, यसरी द्वित्व हुँदा ग्रास्मनको नियम लागेर महाप्राण वर्णको अघिल्लो जोडा (अर्थात् अघिल्लो अक्षरको विराम स्थानको व्यञ्जन) अल्पप्राण (क,च,ट,त,प; ग,ज,ड,द,ब) हुन्छ, जस्तै :
८. मुख्य (मुक्.ख्य, मुक्.खे), ओछ्यान (ओच्.छ्यान्), पाठ्य (पाट्.ठ्य), कथ्य (कत्.थ्य, कत्.थे), अध्याय (अद्.ध्या.य, अद्.ध्या.ए), सभ्य (सब्.भ्य, सब्.भे)
- महाप्राण वर्ण द्वित्व हुने जुनसुकै ठाउँमा ग्रासमनको नियम लागेर अघिल्लो जोडा अल्पप्राण उच्चारण हुन्छ, जस्तै :
९. बाख्रो (बाक्.ख्रो), माछो (माच्.छो, मा.छो), व्याघ्र (ब्याग्.घ्र), अझ (अज्.झ, अ.झ), स्वाँट्ठ, कत्था, आधा (आद्.धा, आ.धा), उभिनु (उब्.भि.नु, उ.भि.नु), सफा (सप्.फा, स.फा)
२.५ ‘र’ (वा ‘रेफ’) व्यञ्जनका अनेक संलेख
- पदान्तमा आएको ‘र’ व्यञ्जन (रेफ) का अन्तमा, माथि उल्लेख भए झैँ, क्रिया भए विराम चिन्ह (हलन्त) लगाइन्छ, क्रिया नभए व्यञ्जनकै उच्चारण भए पनि लेख्ता खुट्टो काटिँदैन, जस्तै :
१०.क्रिया : चर्, खार्, घुर्, चोर्, जोर्, झार्, तर्, तार्, दर्, दार्, पिर्, फेर्, बार्, भर्
११.अक्रिया (नाम): चर (चर्), खार (खार्), घुर (घुर्), चोर (चोर्), जोर (जोर्), झार (झार्), तर (तर्), तार (तार्), दर (दर्), दार (दार्), पिर (पिर्), फेर (फेर्), बार (बार्), भर (भर्)
- शब्दका बिचमा अक्षरान्त (विराम) स्थानमा आएको ‘र’ (रेफ) त्यसको लगत्तै पछाडि आएको अक्षरका टाउकामा फुर्को भएर लाग्छ, जस्तै :
१२.धर्म (धर्.म), धार्मिक (धार्.मिक्), मूर्ति (मुर्.ति), गर्ला (गर्.ला)
- अक्षरको आरम्भ स्थानमा कुनै व्यञ्जन पछाडि (अर्थात् दोस्रो व्यञ्जनका रूपमा) आएको ‘र’ (रेफ) ध्वनि तल लेखिए अनुसार अनेक किसिमले व्यक्त हुन्छ :
१३.व्यञ्जनको दाहिने तिर ठाडो धर्को छ भने, त्यस ठाडो धर्काको बिचबाट देब्रे तिर तल तल जाने तेर्सो धर्काबाट त्यस्तो रेफ (‘र’ ध्वनि) व्यक्त गरिन्छ, जस्तै : शुक्र (सुक्.र), उग्र (उग्.र), तिम्रो (तिम्.रो), हाम्रो (हाम्.रो),
१४.‘छ, द’ मा तलको सानो पुच्छरलाई नै दाहिने तिरको ठाडो धर्को जस्तो व्यवहार गरेर (१३) कै परिस्थिति जस्तो व्यवहार गरिन्छ, जस्तै : पुछ्रे (पुछ्.रे), भद्रो (भद्.रो)
१५.‘ह’ मा दाहिने तिरको फुर्कालाई नै तल तिर झर्ने धर्को समान व्यवहार गरिन्छ, जस्तै : ह्रास (ह्.रास्)
१६.‘ङ,ट,ठ,ड,ढ’ जस्तो ठाडो धर्कै नभएका व्यञ्जन पछाडि आउने रेफ तल तिर गुलेली जस्तो चिन्हले व्यक्त गरिन्छ, जस्तै : नङ्रा (नङ्.रा), ट्रली (ट्र.लि), ड्रामा (ड्रा.मा)
१७.‘श्र (श्र), त्र (त्र)’ पछाडिको ‘र’ पनि (१३) कै उदाहरणको विस्तार हो ।
आक्षरिक रेफ (ऋ) बाट पढाइमा समस्या : संस्कृत भाषामा अक्षरको केन्द्रमा (अर्थात् स्वर हुने ठाउँमा) ‘र’ (ऋ) र ‘ल’ (लृ) आउन सक्छन् । ‘लृ’ भएको शब्द संस्कृतमा पनि एउटा मात्रै (क्लृप्त ‘कल्पित’) छ र त्यो शब्द नेपाली वाङ्मयमा चल्दैन, तर ऋकार भएका शब्द नेपाली वाङ्मयमा दुइटा अनुहार लिएर आउँछन् । यो ऋकार शुद्धसँग पढ्न संस्कृतको कुनै पण्डितलाई पनि आउँदैन, जस्तै :
१८.ऋषि, कृषि (क्ऋ.षि), कृदन्त
१९.ऋषि (नेपाली उच्चारण ‘रिसि’, मराठी उच्चारण ‘रुसि’, उत्तर पश्चिम भारतको उच्चारण ‘रसि’)
२०.कृषि (नेपाली उच्चारण ‘क्रिसि’, मराठी उच्चारण ‘क्रुसि’, उत्तर पश्चिम भारतीय उच्चारण ‘क्रसि’)
- कति नेपाली लेखकहरू ‘शृ’ लेख्नु पर्ने ठाउँमा ‘श्रृ’ लेखेर द्विरेफ (भमरो) बनाउँछन् ।
२.६ ‘द्’ व्यञ्जन पछि आउने ‘य,र,व,म,द,ध’
‘द’ व्यञ्जन पछि जोडिएर आउने यी ६ ओटा व्यञ्जनहरू अनौठा बान्कीमा लेखिन्छन् पनि छापिन्छन् पनि, जस्तै :
२१.पद्य (पद्.य), दरिद्र (द.रिद्.र), द्वितीया (द्वि.ति.या), पद्म (पद्.म), रद्द (रद्.द), बुद्ध (बुद्.ध)
२.७ ‘त्’ पछि आउने ‘त,र’ अनि ‘त’ अघि आउने ‘क’
२२.हात्ती (हात्.ति), कत्रो (कत्.रो), भक्त (भक्.त)
२.८ अघिल्लो अक्षरको विराम र त्यस पछिको अक्षरको आरम्भ स्थानमा आउने केही अनौठा द्वित्व
२३.छक्क, उच्च, सज्जा, प्याट्ट, अड्डा, गत्ता, रद्दी, अन्न, शय्या, भुर्र, खुल्ला
२.९ ठाडो धर्को नभएका व्यञ्जनसँग ‘क,ख,ग,घ’ खप्टिएर पनि आउने समस्या
२४. खड्ग, अङ्खोरा, सङ्गत, सङ्घ, शङ्ख,
२.१० ‘ह’ पछाडि आउने ‘र,ल,व’ हकार भित्र पस्ने स्थिति र ‘ह’ पछाडि ‘य’ को अनौठो बान्की
‘ह’ पछाडि आउने ‘र,ल,व’ हकार भित्र पसेका देखिन्छन् भने, ‘ह’ पछाडि ‘य’ अनौठो बान्कीमा देखिन्छ, जस्तै :
२४.ह्वाल्ल, प्रह्लाद, बाह्र
२.११ हकार पछाडिको यकारको बान्की
‘ह’ को पछाडि ‘य’ आयो भने, ‘ह’ को दाहिने गोडो ‘य’ को देब्रे थुतुनासँग जोडिन्छ, जस्तै :
२५.ह्याउ, बाह्य
२.१२ ठाडो धर्को नभएका व्यञ्जन पछि आउने ‘य’ को बान्की
ठाडो धर्को नभएका व्यञ्जन पछि आउने यकारको पनि देब्रे थुतुनो नेप्टिएर देब्रे तिरको व्यञ्जनमा जोडिन्छ, जस्तै :
२६.ङ्याउ, ट्याम, ठ्याक, ड्याम्म, ढ्याक
२.१३ वकार अघिल्तिर जोडिएर आउने ‘क,छ,ट,ठ,ड,ढ,ङ,द,ह’ को बान्की
‘व’ अघिल्तिर जोडिएर आउने ‘क,छ,ट,ठ,ड,ढ,ङ,द,ह’ को तल तिर वकार झुन्डिन्छ, जस्तै :
२७.पक्व, छ्वाली, द्वार, ह्वाल्ल, ट्वाक, ठ्वाक्क, खट्वा, ड्वाङ्ङ
२.१४ तिन किसिमले ओंकार
तिन किसिमले ‘ओं’ लेखिन्छ, जस्तै :
२८.ओम्, ओं, ॐ
२.१५ स्वरको बान्कीमा अनियमितता
- देवनागरी वर्णमालामा स्वरहरू नियमित (अ,आ,ओ,औ,अं,अः) र अनियमित (इ,ई,उ,ऊ,ए,ऐ) गरी दुई प्रकारका छन् ।
२९.नियमित बान्की हुने स्वर (अ,आ,ओ,औ,अं,अः)
३०.अनियमित बान्की हुने स्वरहरू (इ,ई,उ,ऊ,ए,ऐ)
नियमित बान्की हुने स्वरमा व्यञ्जन पछाडि लागे जस्तो गरी (क,का,को,कौ,कं,कः) मात्रा लाग्छ ।
३१.नियमित बान्की हुने स्वर : अ,आ,ओ,औ,अं,अः
३२.व्यञ्जन पछाडि लागे जस्तो मात्रा :क,का,को,कौ,कं,कः
तर अनियमित बान्की हुने स्वरहरू (इ,ई,उ,ऊ,ए,ऐ) मा चाहिँ व्यञ्जन पछाडि लागे जस्तो गरी (कि,की,कु,कू,के,कै) मात्रा लाग्दैन ।
३३.अनियमित बान्की हुने स्वर : इ,ई,उ,ऊ,ए,ऐ
३४.व्यञ्जन पछाडि लागे जस्तो मात्रा : कि,की,कु,कू,के,कै
त्यसमा पनि ‘ए,ऐ’ ले त झन अल्मल्याउँछन्, किन भने व्यञ्जन पछाडि ‘एकलख’ दिँदा एकार आउँछ (जस्तै, के), तर स्वरमा त एकारमा ‘एकलख’ नै हुँदैन; अर्का तिर ऐकारका लागि व्यञ्जन पछि ‘दोलख’ (जस्तै, कै) दिनु पर्छ, तर स्वरमा त ‘एकलख’ ले नै ‘ऐ’ हुन्छ ।
२.१६ नेपाली भाषाका वक्ताले उच्चारण गर्न नसक्ने ध्वनि
उच्चारणको लघुतम व्यतिरेक (लघुतम युग्म) का आधारमा स्थापित हुने नेपाली भाषाको वर्णमालामा पर्न नसक्ने भएकाले नेपाली मातृभाषा हुनेहरूले ‘ह्रस्व र दीर्घ इकार उकार’ फरक उच्चारण गरेर छुट्याउन सक्तैनन्, तर नेपाली विद्यार्थीहरू ह्रस्व र दीर्घ छुट्याएर लेख्ने गोरखधन्दाबाट मुक्त हुन सकेका छैनन् । उच्चारणबाट छुट्याउनु नपर्ने तर लेखाइबाट नछुट्याई धर नपाइने यस्ता लेख्य चिन्हहरूले नेपाली विद्यार्थीलाई तर्साई रहेका छन् र अनावश्यक रूपले उनीहरूको प्राप्ताङ्क घटाई रहेका छन् ।
३५.नेपाली भाषाका वक्ताले उच्चारण गर्न नसक्ने स्वर : इ-ई, उ-ऊ, ऋ, लृ, अं, अः
३६.नेपाली भाषाका वक्ताले उच्चारण गर्न नसक्ने व्यञ्जन : ञ,ण,य,व,श,ष
२.१७ ‘य-ए, व-ओ, व-ब, क्ष-क्छ्य-छ्य-छे, ज्ञ-ज्यँ-ग्यँ’ मा भ्रम र अलमल
नेपाली मातृभाषा बोल्नेहरू ‘य’ को उच्चारण खालि ‘आ,उ,ओ’ अघि मात्र गर्न सक्छन् । उनीहरू ‘य’ को उच्चारण खालि ‘ए’ गर्छन्, जस्तै :
३७.यसले (एस्ले), त्यसको (तेस्को), मयल (मएल्), सय (सए), भाग्य (भाग्गे), सत्य (सत्ते)
‘य’ को उच्चारण गरे झैँ नेपालीहरू ‘क्ष’ र ‘ज्ञ’ को उच्चारण पनि ‘छ्य’ अथवा ‘छे’ गर्छन् भने, ‘ज्ञ’ को नेपाली उच्चारण पनि ‘ग्यँ’ अथवा ‘गेँ’ गर्छन्, जस्तै :
३८.क्षत्रिय (छेत्रि), क्षेत्रीय (छेत्रिए), पक्ष (पक्छे, पच्छे), अभक्ष (अभक्छे, अभच्छे)
३९.विज्ञ (बिग्गेँ), अल्पज्ञ (अल्पग्गेँ)
- नेपाली युनिकोड फन्टमा ‘ज्ञवाली’ थर भएका मान्छेले पनि ‘ज्ञ’ छाप्न ‘ज्ञ’ थिच्नु पर्छ, भने थुप्रै नेपाली विद्यार्थीहरू नेपाली बृहत् शब्द कोशका ‘ज्ञ’ बाट उठेका शब्द भेट्न सक्तैनन् ।
- युनिकोड फन्टमा ‘क्ष’ छाप्न पनि ‘क्ष’ थिच्नु पर्ने भएकाले थुप्रै नेपाली भाषाका पाठकहरू ‘क्ष’ बाट सुरु भएका शब्दहरू पनि शब्द कोशमा सजिलै भेट्न सक्तैनन् ।
‘व’ को उच्चारण पनि नेपालीअरू ‘आ’ अगाडि मात्र गर्न सक्छन्, नत्र प्राय नेपालीहरू ‘व’ को उच्चारण ‘ओ’ गर्छन्, जस्तै :
४०.वजन (ओजन्), वर (ओर)
२.१८ ‘ङ’ का लेखपढको समस्या
नेपाली लेखकहरूलाई अङ्रेजी शब्द लेख्ता ‘ङ’ र ‘ङ्ग’ मा भ्रम भएको देखिन्छ । अङ्ग्रेजी शब्दको हिज्जेको प्रभाव नेपालीमा परेर थुप्रै नेपालीहरू नेपाली लेख्ता ‘ङ’ नलेखेर ‘ङ्ग’ लेख्छन् र त्यसको असर पढाइमा पनि पर्न सक्छ, जस्तै :
४१.गुरुङ्ग (गुरुङ्), दार्जिलिङ्ग (दार्जिलिङ्)
३. निष्कर्ष
३.१ समाज भाषा वैज्ञानिक समस्याको समाधान
माथिको विश्लेषणका आधारमा नेपाली भाषा सिक्ने विद्यार्थीहरूले आफ्ना आफ्नै मातृभाषाका वर्ण माला र उच्चारणका नियम लगाएर नेपाली सुन्ने, बोल्ने, बुझ्ने, पढ्ने र लेख्ने भएकाले हरेक मातृभाषाको पृष्ठ भूमि हुने विद्यार्थीको नेपाली सिक्ताका त्रुटि विश्लेषण गरेर त्यस्ता त्रुटिहरूको छुट्टा छुट्टै निराकरण नगरी नेपाली सिकाउँदा उनीहरूले सिक्ने नेपालीमा शब्द चाहिँ नेपाली व्याकरण चाहिँ उनीहरूकै हुने सम्भावना रही रहन्छ ।
३.२ देवनागरी लिपिले गर्दा उब्जेका समस्याको समाधान
देवनागरी लिपिको संरचनामै केही असङ्गति भएकाले र विद्यालयमा देवनागरी लिपि शुद्ध पारेर पढ्ने र लेख्ने अभ्यास काँचो र अध्कल्चो भएकाले कति गुरुहरूमै पनि पढाइ लेखाइका समस्यामा त्रुटिको निराकरण बाँकी रहेको देखिन्छ । त्यसै हुँदा अभ्यासकै कमीले विद्यार्थीहरूलाई नेपाली पढ्नु र लेख्नु अप्ठ्यारो देखिन्छ ।