नेपालका मातृभाषाको अनुभव

            नेपालमा जम्मा पाँच महापरिवारका भाषा पाइन्छन् । मैले नेपालका निम्न लिखित ५७ ओटा भाषाका मातृभाषीहरूसँग अन्तरक्रिया गरेर ‘स्वादेस शब्दावली’ बटुलेको छु र केही सामान्य ध्वनि वैज्ञानिक, वर्ण वैज्ञानिक, रूप वैज्ञानिक, वाक्य वैज्ञानिक र सामाजिक तथा ऐतिहासिक भाषा विज्ञानका सूचनाहरू बटुलेको छु :

 

१. अज्ञात परिवार (१) : कुसुन्डा

२. द्रविड परिवार (१) : उराउँ (कुडुख, कुणुख, झाँगड)

३. आग्नेय परिवार (२) : खडिया, सन्ताल (सन्थाल, सतार)

४. भारोपेली आर्य (१७) : सदना, राजवंशी (ताजपुरिया, गन्गाई, सुरजपुरा, केवर्त), माझी, चुरौटे (मियाँ),             दराई, नेपालीका १२ ओटा भाषिका, दनुवार

५. भोट बर्मेली (३६) :

(क). हिमाली शाखा (३१) :

चाम्लिङ, उम्बुले, खालिङ, साम्पाङ, मेवाहाङ, कुलुङ, दुमी, बाहिङ, याम्फु, दुङ्‍माली, रकोङ (पुमा), बान्तावा, लिम्बु (पाँचथरे र छथरे), याक्खा, सुनुवार, सुरेल, हायु, चेपाङ, थामी, व्यासी, वनकरिया, भुजेल, राजी, राउटे, मगर (खाम र ढुट), नेवार (काठमाडौँ र दोलखा), पहरी, मेचे (बोडो), धिमाल (पूर्वीय र केन्द्रीय)

(ख). भोटवत् वा तिब्बतीवत् शाखा (८) :

शेर्पा, ह्लोमी, जिरेल, तामाङ, गुरुङ, घले, थकाली, मगर काइके

 

मैले ती पाँचै ओटा परिवारका भाषाहरूमा वर्ण निर्धारण गरिदिएको छु र झन्डै ५० ओटा जति भाषामा मातृभाषीहरूसँगको अन्तरक्रियाबाट वर्णमाला बनाइदिएको छु र लेख्य परम्परा सुरु गरिदिएको छु ।

 

सामग्री सङ्कलन :

(क). अभिलेखीकरणबाट : कुसुन्डा भाषाको सामग्री सङ्कलन मैले सब भन्दा पहिले अम्बापुर दाङमा गरेको हुँ । कुसुन्डा भाषाको वक्तासँग मलाई प्राध्यापक चूडामणि बन्धुले परिचय गराइदिएका हुन् । कुसुन्डा भाषा लोप भइसक्यो भन्ने सूचना राइन्हार्ट र तोबा (१९७० इ) बाट पाइसके पछि फेला परेका कुसुन्डा भाषाका वक्ता प्रेम बहादुर शाहीले आफ्नो मातृभाषा धेरै जसो बिर्सिसकेका रहेछन् । उनले आफ्नो मातृभाषाका आधारभूत (स्वाडेस) शब्दावली ६४% मात्र सम्झन सके । मूल रूपमा जङ्गलमै बस्ने आफ्नो कुसुन्डा परिवार छोडेर दश वर्षको उमेरमा गाउँ पसेका प्रेम बहादुर शाहीले आफ्नो मातृभाषा फेरि कहिल्यै पनि प्रयोग गर्न नपाएकाले भुसुक्कै बिर्सिसकेछन् । त्यस पछि जनजाति प्रतिष्ठानले तनहुँ दमौलीका राजामामा भन्ने कुसुन्डालाई काठमाडौँमा ल्याएर सार्वजनिक गर्‍यो । राजामामालाई त आफ्नो मातृभाषाका आधारभूत शब्दावली २२% मात्र आउँदो रहेछ; वाक्य बनाउन चाहिँ आउँदो रहेनछ । चूडामणि बन्धुले राजामामाकी आमालाई भेटेका रहेछन् र केही भाषिक तथ्याङ्क सङ्कलन गरेका पनि रहेछन् । कुसुन्डा भाषाका शब्द राजामामाले पनि आफ्नी आमासित सुनेका रहेछन् । मैले कुसुन्डा भाषाका पहिला वक्ता भेट्ता राजामामाकी आमा बितिसकेकी थिइन् ।

बी के रानाले मलाई रोल्पा टुनी बोटकी पुनी ठकुरी र देउखुरीकी ज्ञानी मैयाँ सेनको ठेगाना टिपाइदिएका थिए । नेपाल आदिवासी जन जाति राष्ट्रिय प्रतिष्ठानलाई मैले ती ठेगाना दिए पछि नेपाल आदिवासी जन जाति महिला मञ्चले ज्ञानी मैयाँ सेन र पुनी ठकुरीकी छोरी कमला खत्रीलाई काठमाडौँमा ल्याएर सार्वजनिक गर्‍यो । तिनीहरू दुवै जना दाङका प्रेम बहादुर शाहीका भान्जी साइनो पर्दा रहेछन् । एकै पेटका दाजु भाइका छोरी भए पनि तिनीहरूका बीचमा चिनजान नै रहेनछ । जन जाति महिला मञ्चले प्रेम बहादुरकै सहायताले ज्ञानी मैयाँ सेन र कमला खत्रीलाई फेला पारेको रहेछ । ज्ञानी मैयाँ सेन र कमला खत्रीलाई कुसुन्डा भाषा फरर्रै बोल्न आउँदो रहेछ ।

जन जाति प्रतिष्ठान र त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभाग मिलेर ती तीनै जना वक्ताहरूलाई कीर्तिपुरको एउटै डेरामा राखेर कुसुन्डा भाषाको अभिलेखीकरण गरियो । त्यस अभिलेखीकरणको एउटा खण्ड डेविड वाटर्स (२००२ ई, २००५ ई) ले प्रकाशित गरेका छन् ।

 

(ख). स्थलगत सर्वेक्षणबाट :

अ. त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागका दोस्रो वर्षका विद्यार्थीहरूलाई लिएर स्थलगत सर्वेक्षणमा झापा गएका वेलामा साद्री, मेचे, खडिया, सन्ताल, राजवंशी, धिमाल र उराउँ समेत सात ओटा भाषाको तथ्याङ्क सङ्कलन गरिएको हो ।

आ. अर्को साल दोस्रो वर्षका विद्यार्थीहरूलाई लिएर जाँदा, दोलखामा थामी, दोलखा नेवार, शेर्पा, तामाङ र जिरेल भाषाको सामग्री बटुलियो भने रामेछाप जिल्लामा हायु, सुनुवार र माझी भाषाका सामग्री बटुलियो । त्यसै वेला बसमा एउटा विदेशी पर्यटकको भरिया भएर त्यहाँ पुगेका सङ्खुवा सभाको तोम्याङ (चाङ्खा, याम्फु?) राई भाषाका वक्ता फेला पारेर हिँड्दा हिँड्दैका बसमा त्यस भाषाको सामग्री सङ्कलन गरिएको हो ।

 

(ग). सूचकसँग प्रत्यक्ष सम्पर्क गरेर :

भाषा विज्ञान एमएको अनुसन्धानका लागि चुरौटे भाषाको अध्ययन गरिरहेका भरत नेउपानेले चुरौटे भाषाका वक्तालाई मेरो घरमै ल्याएका वेलामा मैले त्यस भाषाको सामग्री सङ्कलन गरेँ । आफ्नो घरमै मातृभाषाका वक्ताहरूसित आंशिक रूपमा सामग्री सङ्कलन गरिएका भाषाहरू निम्न लिखित हुन् :

 

सन्ताल (सन्थाल, सतार),  चाम्लिङ राई (र त्यसका भाषिकाहरू), उम्बुले राई, मेवाहाङ राई, कुलुङ राई, लिम्बु (पाँचथरे र छथरे), याक्खा, हायु, व्यासी, राजी, मगर (पाङ र ढुट), शेर्पा र थकाली

 

(घ). प्रतिनिधि सूचकहरू पाइने  एउटै ठाउँ ठम्याएर :

यमनाथ तिमिल्सिना, यज्ञेश्वर निरौला, सखि शरण सुवेदी, भागवत आचार्य र लावण्य प्रसाद ढुङ्गानालाई एमए तहका लागि नेपालीका भाषिकाहरूको अनुसन्धान गराउँदा काठमाडौँकै कीर्तिपुर क्याम्पस, महेन्द्र रत्न क्याम्पस, सर्वोच्च अदालत र संसद सचिवालयमा भेटिने विद्यार्थी, शिक्षक, झगडिया, सांसद र सांसदको सम्पर्कमा आउने पचहत्तरै जिल्लाका वक्ताहरूबाट नेपालीका भाषिकाहरूको सामग्री बटुलियो ।

 

(ङ). मातृभाषीहरूकै समाज द्वारा आयोजित भेलामा अन्तरक्रिया गरेर :

लिम्बु, तामाङ, चाम्लिङ, उम्बुले, दुमी, भुजेल र मगर (ढुट) भाषाका सामग्रीहरू मातृभाषीहरूकै समाजद्वारा आयोजित अन्तरक्रियाबाट गरियो ।

 

(च). नेपाल आदिवासी जन जाति राष्ट्रिय प्रतिष्ठानको आयोजनाबाट :

नेपाल आदिवासी जन जाति राष्ट्रिय प्रतिष्ठानले जन जातिका अनेक संस्थाहरूसित आबद्ध मातृभाषीसित संम्पर्क गराइदिएर पनि सामग्री सङ्कलनका लागि सुगम बनाइदियो ।

 

(छ). राष्ट्रिय भाषाहरूको संरक्षण संस्थाको आयोजनाबाट :

राष्ट्रिय भाषाहरूको संरक्षण संस्थाले घले, साम्पाङ, राजवंशी र खालिङ भाषाको वर्ण निर्धारण गर्ने र छथरे लगायत लिम्बु भाषाका भाषिकाहरूको तुलनात्मक अध्ययन गर्ने अन्तरक्रियाका लागि कार्यशालाहरूको आयोजना गरेर सामग्री सङ्कलन गर्न सघाउ पुर्‍यायो ।

 

(ज). चाइनिज एकेडेमी अफ साइन्सेजका शोधकर्ताको प्रयोजनबाट

गएको महिना (२०७० साउन) चाइनिज एकेडेमी अफ साइन्सेजको खुन्मिङ अनुसन्धान केन्द्रमा पिएचडी गरी रहेका शोध कर्ता सुशील भण्डारीलाई साथ लगाएर मैले दाङमा रोल्पा, प्युठान, अर्घा खाँची, कपिलवस्तु, सुर्खेत, दाङ र तनहुँका कुसुन्डाहरूको वाई-क्रोमोजम र माइटोकोन्ड्रियल डिएनएको परीक्षणबाट कुसुन्डाहरूको प्रशान्त महासागरका टापुहरूमा बोलिने आग्नेय परिवारका कुनै भाषा बोल्नेहरूसित वंशानुगत साइनो छ कि भन्ने कुरो केलाउने अनुसन्धानका लागि रक्त सङ्कलन गर्ने व्यवस्थापन गर्न पनि पुगेको थिएँ ।

 

ठाउँको छनोट :

स्थलगत सर्वेक्षणमा गए पछि मुख्य ठाउँको छनोट गर्नु पर्छ । जुन ठाउँमा सब भन्दा धेरै वक्ता छन्, प्राय त्यसै ठाउँमा भाषिक सामग्री बटुल्नु पर्छ । यस सिद्धान्तका आधारमा उदाहरणका लागि मेचे भाषाको सामग्री बटुल्न झापाको धाइजन, खडिया भाषाको सामग्रीका लागि झापाको मेची नगर नगर पालिकाको खडिया टोल, सन्ताल भाषाका लागि झापाको तोप गाछी, घले भाषाको सामग्रीका लागि गोरखाको बार्पाक, पहरी भाषाका लागि ललित पुरको बडिखेल र जिरेल भाषाका लागि दोलखाको जिरी रोजियो ।

ठाउँको छनोट गर्दा दुइटा कहिले काहिँ परस्पर विरोधी जस्ता लाग्ने आधार अघिल्तिर आउन सक्छन् । त्यो ठाउँ मातृभाषाका वक्ताहरूको मूल थलो हुन पनि सक्छ, बसाइँ सरेर आएको थलो पनि हुन सक्छ । दराई भाषाको उदाहरण लिनु हो भने, उनीहरू गण्डकीको किनारै किनार तनहुँ सम्म पुगे जस्तो लाग्छ । तनहुँको विकट पीपल टार भन्ने गाउँमा दराई भाषाका मौलिक विशेषताहरू धेरै टड्कारो रूपमा पाइन्छन् । दराईहरूको त्यो सब भन्दा पर पुग्ने हुल होला । त्यहाँका बासिन्दाले दराई भाषाका मौलिक बेहोराहरू जोगाइराखेका छन् । तनहुँ दमौलीका दराईहरूका भाषामा नेपाली भाषाको प्रभाव केही बढ्ता छ । चितवनका दराईहरूका भाषामा नेपाली लगायत अरू भारोपेली आर्य परिवारका भाषाको प्रभाव बढ्ता छ। यसरी दराई भाषाका मौलिक बेहोरा चाहिँ पीपल टारमा पाइने, तर जन सङ्ख्या चाहिँ चितवनमा बढ्ता हुने परिस्थितिले आदर्श ठाउँ रोजाइमा समस्या तेर्स्याउँछ ।

 

सूचकको छनोट :

ठाउँ रोजिसके पछि सूचक रोज्नु पर्छ । सूचक आफ्नो मातृभाषा राम्रो बोल्न जान्ने परिपक्व मान्छे हुनु पर्छ । उमेर नपुगेको मान्छेको भाषिक क्षमता पूर्ण रूपले विकसित भइसकेको हुँदैन । दाँत फुक्लेका मान्छेको उच्चारण ठीकसित सुनिँदैन । कुरो ढिलो बुझ्ने मान्छे त्यति काम लाग्दैन । वक्ता भरसक आफ्नो जन्म थलाबाट पाँच वर्ष भन्दा बढ्ता बाहिर गएको नहोस् ।

 

मानकको खोजी : भाषिक अभिवृत्तिको जाँच :

मातृभाषाका वक्तासँग अन्तरक्रिया गर्दा गर्दै मानक भाषिकाको पनि खोजी गर्न सकिन्छ । चाम्लिङ राई भाषाका वक्ताहरूसँग अन्तरक्रिया गर्दा के थाह भयो भने, उदय पुरको बलम्तामा बोलिने चाम्लिङ राई भाषामा धेरै तालव्य ध्वनि पाइँदा रहेछन् । अरू ठाउँमा बोलिने चाम्लिङ राई भाषामा तालव्य ध्वनि त्यति छैन । यसबाट मलाई के लाग्यो भने, बलम्ताली चाम्लिङलाई मानक मान्न सकिन्छ होला । जन सङ्ख्याका दृष्टिले त बलम्तालीहरू अरू भाषिका बोल्नेहरू भन्दा कम्ती छैनन्, तर ठाउँका दृष्टिले बलम्ता बीच चाम्लिङ गाउँ त पर्दैन । चाम्लिङ राई भाषा त खोटाङका रतन्छा, बुइपा र दोर्पामा पनि बोलिन्छ र बुइपाको चाम्लिङ चाहिँ भौगोलिक दृष्टिले बीच तिर बोलिन्छ । चाम्लिङ राईका यी चारै ओटा भाषिकालाई तुलना गर्दा चाहिँ बुइपा र बलम्ता मध्ये कुनै एउटालाई मानक मान्न सकिने देखिन्छ । चाम्लिङहरूको अन्तरक्रियाबाट चाहिँ बुइपालीलाई मानक बनाउनु पर्ने जस्तो देखिन्छ ।

 

भाषा फेला पार्दाको अनुभव :

मैले पश्चिम झापामा खडिया भाषा फेला पारेको हुँ । भाषा विज्ञानको स्थलगत सर्वेक्षणमा झापा जिल्लाको लाफातीमा खडिया भाषाका वक्ताहरू आफूलाई ‘झाँगड’ (वा उराउँ) भनेर चिनाउँदा रहेछन् । किन त्यसो गरेको भनेर सोध्दा खडिया भाषीहरूले भने, ‘हामी झाँगड होइनौँ, खडिया हौँ भन्दा पनि यहाँका मान्छेले हामीलाई ‘झाँगड’ नै भनेर बोलाउँछन्; जनगणना लिन आउनेहरूले पनि हामीलाई ‘झाँगड’ भनेरै लेखिदिने गरेका छन्, त्यसैले आजित भएर हामीले पनि आफूलाई ‘झाँगड’ भनेर चिनाउन थालेका हौँ । झाँगड भाषा द्रविड परिवारको भाषा हो, तर खडिया भाषा चाहिँ आग्नेय परिवारको भाषा हो, तर अरूले गर्दा बिचराहरू आफ्नो परिचय नै लुकाउन बाध्य भएका रहेछन् । हामीले २०५५ साल पुसमा फेला पारे पछि मात्र २०५८ सालदेखि जन गणनामा खडिया भाषाको गणना सुरु भएको हो ।

 

यसरी नेपालका अनेक मातृभाषाको अनुसन्धानको मिश्रित अनुभव भएको छ ।

 

 

Leave a Reply