अनुसन्धानको बेवास्ता

मैले पिएचडी गरेको बाइस वर्ष भएछ । पिएचडी सके पछि मैले त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभागमा आठ वर्ष र भाषा विज्ञान केन्द्रीय विभागमा तेर वर्ष पढाएँ । आंशिक रूपमा आरआर क्याम्पस र पद्‍म कन्या क्याम्पसमा पनि धेरै वर्ष पढाएँ, तर आज सम्म त्रिभुवन विश्व विद्यालयको कुनै विभाग र क्याम्पसले पनि मुलुकको अर्को कुनै व्यक्ति र संस्थाले पनि ‘तैँले पिएचडी गरेर के नयाँ कुरो पत्ता लगाइस्, नेपाली भाषामा के नौलो योगदान दिइस् र विश्वको ज्ञान मन्दिरका गारामा कस्तो नौलो इँट थपिस् भनेर आज सम्म सोधेन । यसलाई मैले मुलुकले मेरा अनुसन्धानको बेवास्ता गरेको अर्थ लगाएको छु ।

‘गुरु परम्परा’ भन्ने निबन्धमा मैले मेरा गुरु प्राध्यापक भास्कररावले मलाई कुनै पनि अनुसन्धानात्मक लेख लेख्ता लेखकले के के कुरा ख्याल राख्‍ने मर्यादा विश्वका विद्वानहरूमा छ भन्ने उपदेश दिनु भएको छ भन्ने बेलिविस्तार लगाएको छु । मेरा गुरुले दिएको उपदेश अनुसार जुनसुकै नयाँ लेख लेख्ता लेखकले त्यस विषयमा संसारभरका लेखकहरूले के के लेखी सकेका छन्, त्यसको अध्ययन गर्नु पर्छ; अनि मात्र अरूले लेखेका अनुसन्धान र आविष्कारका आडमा आफूले नयाँ कुरो लेख्‍न सकिन्छ । हरेक नयाँ लेखमा विश्वमा अरू कसैले लेखी नसकेको नयाँ कुरो हुनै पर्छ । अरूका कुरा जोडजाड गरेर मात्र नयाँ लेख बन्दैन अनुसन्धानका मर्यादामा । गुरुको अर्ती अनुसार हरेक नयाँ लेखमा एउटा न एउटा नौलो कुरो हुनै पर्छ । गुरुको उपदेश पाए पछि मैले हरेक नयाँ लेखमा एउटा न एउटा नौलो कुरो हाल्नै पर्ने अनुशासनलाई पालन गरेको छु । मेरा लेखका नियमित पाठकहरूले त्यसको सुइँको पाएका छन् कि छैनन्; अथवा यस लेखकीय मर्यादामा मेरो खुट्‍टो चिप्ली रहेको छ कि छैन त्यसको हेक्‍का राखेका होलान् ।

मेरो लेखकीय अनुशासन अरू नेपाली लेखकहरूसित मिल्छ कि मिल्दैन, त्यो खोतल्ने काम मेरो होइन, मर्मज्ञ पाठकको हो । नेपाली लेखक र पाठकले मेरा गुरुका उपदेशको मर्मलाई ध्यानमा राखेर कुनै लेख लेख्छन् लेख्तैनन् अथवा पढ्छन् पढ्दैनन्, मेरा चासाको विषय त्यो पनि होइन, तर नेपालमा अनुशासनको बेवास्ता गर्ने चलन व्याप्‍त छ कि जस्तो चाहिँ मलाई लागेको छ । यो कुराको सुइँको मैले ‘गार्गीको गाँठो’ भन्ने निबन्धमा नेपाली विषय समितिले मेरा ‘नेपाली वाक्य व्याकरण’ र ‘ध्वनि विज्ञान र नेपाली भाषाको ध्वनि परिचय’ भन्ने किताब कुनै पनि तहको पाठ्य पुस्तक अथवा सन्दर्भ पुस्तकका रूपमा राख्‍न नसकेको प्रसङ्ग कोट्याएर दिएको छु । अरूले अनुसन्धान गरेको कुरो आफैँले गम्भीर रूपले अध्ययन, मनन र अभ्यास नगरी पढाउन सकिँदैन । त्यसो गर्न आँट नगर्नेले अनुसन्धानको मर्मै बुझ्न सक्तैन । आफैँले अनुसन्धानको मर्म नबुझी पाठ्य क्रममा राख्‍नु पनि भएन । मेरा किताब किन पाठ्य क्रममा राखिएनन् भनेर बुझ्न त मलाई गारो भएन, तर गारो मलाई के बुझ्दा भयो भने, नेपालका विश्व विद्यालयको सर्वोच्‍च तहमा त अनुसन्धानको मर्म नबुझेर बेवास्ता गरिन्छ भने, मर्म बुझेर त्यसको मूल्याङ्कन र उपयोग गर्ने अर्को निकाय मुलुकमा कहाँ खोज्न जाने?

मेरा ती किताब प्रकाशित भएको पनि दशबिस वर्ष भई सकेको छ । नेपालीमा लेखिएका अनुसन्धानात्मक कृतिलाई त विश्व विद्यालयको सर्वोच्‍च प्राज्ञिक निकायले नै लत्याउँछ भने अधिकांश विद्यार्थी, पाठक र गुरुले अङ्ग्रेजी बुझ्न नसक्‍ने नेपालका परिस्थितिमा अङ्ग्रेजी भाषामा लेखिएका अनुसन्धानात्मक कृतिलाई पाठ्य क्रममा सामेल गर्ने सम्भावना कति पातलो होला, त्यो जससुकैले पनि अड्कल गर्न सक्छ । नेपालीमा लेखिएका अनुसन्धानात्मक कृति त विश्व विद्यालयको सर्वोच्‍च तहको पाठ्य क्रममा हाल्न खुट्‍टा कमाउने वर्तमान परिस्थितिमा अझै नेपालीमा नलेखिएका वल्लभमणि दाहाल, चूडामणि बन्धु, साउथवर्थ, अबादी, अभ्दुल्की र वाल्यासका अनुसन्धानको सार पाठ्य क्रममा आउने कुराको कल्पना गर्न सकिँदैन । खालि भाषा, साहित्य र व्याकरण विषयमा मात्र होइन, अनुसन्धानलाई पन्छाउने र लत्याउने परम्परा सबै विषयका अनुसन्धानमा बराबर भाग लाग्ला । विश्व विद्यालयको सर्वोच्‍च तहमा समेत अनुसन्धानको बेवास्ता भई रहुन्जेल, नेपालका अनेक विषयमा भएका अनुसन्धानबाट पत्तो लागेको नयाँ कुरो विद्यालयका पाठ्य क्रममा र विद्यार्थीहरूका पढाइमा कहिले र कसरी पुग्ला, त्यो चिताउनै सकिँदैन । अझै पनि विश्व विद्यालयका अनेक सङ्कायमा पिएचडीको डिग्री भिराउने गोरखधन्दा चली रहेको छ; त्यस डिग्रीले शोधार्थीको पदोन्नतिलाई केही मात्रामा सघाएकै छ, तर आफ्नो अनुसन्धान विश्व विद्यालय र विद्यालयको भविष्यको पठन पाठनमा कतै पनि काम लाग्दैन भन्ने कुरो चाहिँ शोधार्थीलाई थाह छ कि छैन, मलाई थाह छैन ।

‘आत्मौपम्येन पुरुष: प्रमाणमधिगच्छति’ (मान्छेले आफैँलाई उदाहरण बनाएर प्रमाण पाउँछ) भन्ने भनाइलाई समातेर मैले विश्व विद्यालय र विद्यालय तहका पाठ्य क्रममा, परीक्षाका प्रश्न पत्र र उत्तर पुस्तिकाहरूमा अनि अरू विद्वानहरूका प्रवचन र कार्य पत्रमा मेरा अनुसन्धानको असर खोजेको छु । मलाई बालुवामा पानी पोखे जस्तो भएको छ । ‘बालुवामा पानी’ भन्ने निबन्धमा लेखे अनुसार मैले नेपालका सय ओटा अलिखित मातृभाषा मध्ये झन्डै आधाजसो मातृभाषाहरूको वर्ण माला बनाइदिएको कुरो उल्लेख गरेको छु । मैले नेपालका धेरै अलिखित र अल्पलिखित मातृभाषाहरूमा व्याकरण र शब्द कोश बनाउन सिकाई दिएको छु अनि आफ्नै गुरु कुलका झन्डै एक दर्जन र अरूको गुरु कुलका झन्डै आधा दर्जन चेलाचेलीहरूलाई पिएचडी डाक्टर बनाएको छु । अरू त्यस्तै झन्डै बिस जना चेलाचेलीलाई एमए तहको अनुसन्धान गराएको छु । आफ्नै मूल्याङ्कनमा मैले यी कामलाई मुलुकलाई आफूले दिएको उल्लेखनीय योगदान ठानेको छु, तर ती चेलाहरूले पत्तो लगाएको कुरो पनि पाठ्य क्रम र कक्षामा पुर्‍याउने काम चाहिँ कतै पनि भएको थाह छैन ।

नेपालका धेरै विद्वानहरूको आफ्नो मात्रै लेख पढ्ने बानी हुन्छ । अरूका लेखमा आफूलाई काम लाग्‍ने कुरो हुँदैन भन्ने तिनीहरूलाई पक्‍का विश्वास हुन्छ । यस्ता परिस्थितिमा आफूले लेखेको खोस्टो पनि अनुसन्धानात्मक लेख लाग्‍नु, अरूले लेखेको अनुसन्धानको गहक पनि फोस्रो लाग्‍नु स्वाभाविकै हो । अनुसन्धान लत्याउने एक थरी पण्डितहरू यसै क्लबका सदस्य हुन्छन् । नेपालमा एक थरी वरिष्ठका अनुसन्धानात्मक लेखमा त्यो लेख लेख्‍न कस कसको लेख पढेर लेखिएको हो भन्ने लेखिएकै हुँदैन । सन्दर्भ सूची नै नहुने त्यस्ता अनुसन्धान पत्रहरू नेपाली बाहेक अरू भाषामा कहिल्यै पनि अनुवाद गरिँदैनन्, किन भने अन्तरराष्ट्रिय अनुसन्धानात्मक लेखमा त अरूका विचार जस्ताको तस्तै राखे पनि आफ्ना भाषामा रूपान्तर गरे पनि प्रतिलिपि अधिकार हनन भएको कानुन लाग्छ । विद्यार्थीहरूको जाँचको उत्तर मिल्यो भने पनि विकसित मुलुकमा प्रतिलिपि अधिकारको कानुन लाग्छ । अङ्ग्रेजीमा अनुवाद हुन नसक्‍ने र अन्तरराष्ट्रिय शोध पत्रिकामा नछापिने त्यस्ता अनुसन्धानात्मक लेखहरूको उत्पादन नेपालका प्राज्ञिक क्षेत्रमा भएको छ कि छैन होला, त्यसको लेखाजोखा कसैले गरेको छैन होला ।

अर्का थरी अनुसन्धानात्मक लेख र ग्रन्थ लेख्‍नेहरू चाहिँ किताबका आखिरमा आफूले धेरै ग्रन्थ पढेर त्यो किताब लेखेको हो भन्ने भ्रम फैलाउन थुप्रै त्यस्ता कृतिहरूको सूची छपाउँछन्, जसको उल्लेख ग्रन्थ भित्र कतै भेटिँदैन ।

अर्का एक थरी अनुसन्धानात्मक लेखमा चाहिँ अनुसन्धानको सुइँको चाल नपाउने पाठकहरूलाई आफ्नो पाण्डित्यको भ्रम फैलाउन पादटिप्पणीहरूको औधि प्रयोग गरिएको हुन्छ । त्यस्ता धेरै ‘अनुसन्धानात्मक लेख’ मा अरू विद्वानको विचार त प्रसङ्ग मिले पनि नमिले पनि पढ्न पाइन्छ; त्यसमा खालि लेखकको आफ्नो विचार चाहिँ हुँदैन । वास्तवमा त्यो अनुसन्धान पत्र नै होइन ।

विश्व विद्यालयको सेवा आयोगमा पदोन्नतिका लागि रातारात अनुसन्धान ग्रन्थ तयार गर्ने अर्को उद्योग पनि मुलुकमा चलेको रहेछ । यस्ता ग्रन्थ नेपालीमा भन्दा अङ्ग्रेजीमा उत्पादन गर्नु सजिलो होला, किन भने अहिले सूचना सञ्जालमा जे पनि ‘कपी-पेस्ट’ गर्न पाइन्छ । मूल्याङ्कन कर्ताहरू कृपालु भए भने, विश्व विद्यालयमा प्रोफेसर हुनै पनि गारो नपर्न सक्छ । एउटै अनुसन्धानात्मक लेख प्रकाशित नगरे पनि सेवा आयोगको फारम मात्र रीत पुर्‍याएर भर्न जान्यो भने पनि विश्व विद्यालयमा पदोन्नति हुन सक्‍ने खतराबाट जोगिन सेवा आयोगले केही सतर्कता अपनाएको छ कि छैन मलाई थाह छैन ।

हाम्रो मुलुकमा अनुसन्धानको यस्तो मलिलो उत्पादन प्रक्रिया चली रहन पाउने वातावरणमा सक्‍कली अनुसन्धातालाई नक्‍कली अनुसन्धाताले पछार्न सक्छ कि सक्तैन होला ? यस्ता कुरामा मेरो चाहिँ सामान्य ज्ञान दुब्लो छ ।

मैले अनुसन्धानबाट पत्तो लगाएका जुन कुरा विश्वका विद्वानहरूसित छलफल र परामर्श गर्नु छ, ती कुरा म अङ्ग्रेजीमा लेख्तछु, अन्तरराष्ट्रिय गोष्ठीमा कार्य पत्रका रूपमा प्रस्तुत गर्छु र अङ्ग्रेजी भाषामा छपाउँछु, तर मेरा निष्कर्षमा मेरा अनुसन्धानमा पत्तो लागेका जुन कुरा म नेपाली विद्यार्थी, शिक्षक र पाठकका लागि उपयुक्त ठान्छु, ती कुरा म नेपालीमा लेख्छु, तर मेरा अनुसन्धानका कुरा पहिले त प्राध्यापक, शिक्षक, अनुसन्धाता र विद्वानहरूले हेरेर मनन गर्नु पर्छ अनि विभिन्न तहका विद्यार्थीलाई सुहाउने गरी पढाउने पाठ्य क्रममा हालेर सिकाउनु पर्छ । मेरो मुलुकको पठनपाठन उद्योगले त्यसो गरेको मैले चाल पाइन । त्यति हुँदा पनि नेपालीमा ती किताब लेख्‍ने आफ्नो निर्णय आफूलाई गलत लागेको छैन । नेपाली विद्वान् र पाठकले पचाउन नसक्‍ने कुरा मैले नेपालीमा लेख्‍न बन्द गर्नु ठिक होला त ! मेरो निर्णयमा ताल्चा लागेको छ । जे भए पनि अब म अङ्ग्रेजीमा अलिक धेरै लेख्‍न थाल्छु होला ।

म साहित्यिक समालोचना लेख्थेँ । डा. वल्लभमणि दाहालले मलाई भाषा विज्ञान तिर तान्नु भयो । अब मेरो विश्व विद्यालय छोड्न केही समय मात्र बाँकी छ । भाषा विज्ञानले त मलाई नमरुन्जेल छोड्दैन होला, तर अब म समालोचना तिर फर्किन्छु । भाषा विज्ञान नजान्ने मान्छे पाश्चात्य समालोचनाको पण्डित हुन सक्तैन कि भन्ने कुरो बुझेर गएका दुई वर्षदेखि निरन्तर पाश्चात्य समालोचनाको अध्ययन र अभ्यास गरी रहेको छु । भाषा वैज्ञानिक समालोचनाले मेरो बाटो पर्खी रहेकै होला । नेपालमा त्यो पाटामा बाटो शून्य शून्य नै छ । बिसौँ शताब्दीको दोस्रो दशकदेखि पाश्चात्य समालोचनामा भाषा विज्ञानले कति गहिरा जरा हालेको छ भने, जसले भाषा विज्ञान बुझ्दैन, त्यसले समसामयिक पाश्चात्य समालोचना बुझेको छु भनेर फुटानी नलडाए हुन्छ, यसैले समालोचनाको फाँट मैले बिस पच्चिस वर्ष छोडे पनि नेपाली समालोचना मैले भेट्नै नसक्‍ने गरी पर पुगेको छैन होला भन्ठानेको छु । मेरा अनुसन्धानका बेवास्ताको बोधले मैले समालोचनाको आफ्नो पुरानै हाँगामा फाल हान्ने विचार गरेको छु ।

हाम्रो जस्ता एसियाली देशमा जाने पनि नजाने पनि खालि बूढाले युवालाई पढाउने, पढाउन नसके पनि उपदेश दिने चलन छ; अमेरिकामा चाहिँ बूढो भए पनि युवा भए पनि जान्नेले नजान्नेलाई सिकाउने चलन छ । यो देख्ता कस्तो लाग्छ भने, ‘अनुसन्धानको कदर गर्ने देश अमेरिका जस्तो हुन्छ, अनुसन्धानको बेवास्ता गर्ने देश नेपाल जस्तो हुन्छ।’

अनुसन्धानको कदर नगर्ने देशले विकास कसरी गर्ने? अहिले नेपालमा जे भइरहेको छ, नेपाल त विदेशसित सिक्तैन, बरु आफ्नो सूत्र विश्वलाई निर्धक्‍क सिकाई रहेको छ !

 

Leave a Reply