उन्मत्त भैरवको भोजन

जन्मने बितिक्‍कैका बालखलाई पनि दूध खान लाम्टो चुस्‍नु पर्छ भनेर कसैले सिकाउनु पर्दैन । आफ्नो भोजनको खोजी गर्न सक्‍ने बुद्धि जन्तुलाई कसैले दिई राख्‍नै पर्दैन । जन्तु जगतमा सबै जन्तुहरू खाने कुरा र यौनले आफैँ तानिन्छन् । सबै जन्तुहरू डर लाग्यो भने आफैँ डर लाग्दो वस्तुबाट पर भाग्‍न जान्दछन् । खाने कुरा र इन्द्रिय सुख पुगी रहेको छ भने, अनि कुनै कुराको डर छैन भने जन्तुहरू आफ्नो ठाउँबाट चट्पटाउन मन गर्दैनन् । अजिङ्गर एकै ठाउँमा सुखसँग गुँडुल्किई रहन्छ । जन्तुमा पाइने यो प्रवृत्ति वनस्पतिमा पनि पाइन्छ । यसरी इन्द्रिय सुखको खोजीमा जेले सुख हुन्छ भन्ने विश्वास छ, त्यता पटि लम्किनु र आफूलाई जुन कुराबाट खतरा छ भन्ने लाग्छ, त्यताबाट भाग्‍नु अनि इन्द्रिय सुख र डर दुइटै छैनन् भने, आफ्ना ठाउँबाट चट्पटाउन मन नगर्नु सबै जीवहरूको स्वभाव रहेछ । सबै नेपालीहरूमा यो प्राकृतिक बेहोरा पाउनु कुनै अच्‍चम्मको कुरै भएन । देशका सबै जनता, कर्मचारी र नेताहरूले पनि यस्तै बेहोरा देखाए भने, हामीले किन अच्‍चम्म मान्ने? सबैलाई प्राकृतिक धर्म मान्ने बराबर अधिकार छ ।

झुसिल्किरा र लार्भाले जुनसुकै वेला पनि खाई रहनु पर्छ । अघि दरबार र दरबारियाहरूको हैकम चलेका वेलादेखि नै देशको लाम्टो जता जता फर्केको छ, त्यता त्यता आफ्नै मान्छे रोप्‍ने चलन चलेको छ । राजतन्त्र, प्रजा तन्त्र, लोक तन्त्र, गण तन्त्र, गन तन्त्र र मन परी तन्त्र जुनसुकै सामाजिक व्यवस्थामा गहिरो आस्था राख्‍नेहरूले पनि खानु चाहिँ परेकै रहेछ । फरक के देखिन्छ भने, दिवाचरहरू देखिने गरी खान्छन्, निशाचर र किराहरू लुकेर खान्छन् । आफ्नै भाग खोजेर खानु पनि प्राकृतिक धर्ममै पर्छ भने, अर्काको लुटेर खानु पनि प्राकृतिक धर्ममै पर्छ । कुकुर, स्याल, हुँडार र ढाडेहरू आफ्नो पेट भर्न अर्काको खोसेर खान्छन् । यसरी जबर्जस्ती अर्काको खोसेर वा लुटेर खानु पनि प्राकृतिक धर्ममै पर्छ । यसै सूत्र अनुसार नेपालको र संसारकै इतिहासमा भेटिएका जबर्जस्ती र बलजफ्ती गरेर अर्काको भाग खोसेर खाने ढाडे नरभक्षी वीरहरू वास्तवमा प्राकृतिक धर्ममा दीक्षित धर्मात्माहरू रहेछन् । अरू नेपालीहरूलाई जस्तो मलाई पनि धर्मात्माको चाहिँ नाम लियो कि नमस्ते गरी हाल्न मन लाग्छ ।

प्रकृतिका जन्तुहरू र इतिहास र वर्तमानका लुटी खाने र लुकी खाने जन्तुहरूमा एउटा तात्त्विक फरक छ । प्रकृतिका जन्तु चाहिँ आफू र आफ्नो परिवारको भाग पुगे पछि लुट्न र लुछ्न छोड्छन्, हाम्रो समाजका लुटी खाने र लुकी खाने जन्तुहरू चाहिँ हन्तकाली छन् : जति खाए पनि अघाउँदैनन् । सात पुस्तालाई पुग्‍ने गरी थुपारे पनि अघाउँदैनन् । दिउँसो पनि खान्छन्, राति पनि खान्छन् । कुनै कुनै जन्तु चाहिँ अरूले देख्‍ने गरी खाँदैनन् । अरूले देख्‍ने गरी नखाने जन्तुहरूलाई थुप्रै सोझासाझाहरूले ठुला महात्मा ठान्छन् । तिनीहरूको पोसाक पहिरन र छाला ओढेर भए पनि अरूले तिनीहरूकै देखासिकी गर्न पनि खोज्छन् । यस्ता महात्माहरूको पछाडि ठुलो भिड लाग्छ । मिर्गको छाला ओढेका बाघ र ब्वाँसाहरू अन्न पानी माछा मासु केही पनि नछोई अहिले सम्म आफू बाँचेको दन्ते कथा अरूलाई सुनाउँछन् । उनीहरूका भक्तहरू उनीहरू भन्दा तिन बित्ता माथि उफ्रेर उनीहरूका चमत्कारका कथाहरू सुनाउँछन् । जिउँदा भगवानहरूलाई भन्दा बढ्ता भगवानका चमत्कारका कुरा अन्ध भक्तहरूलाई हुन्छ ।

भक्ति मार्ग मोक्ष प्राप्तिको अत्यन्त सजिलो बाटो हो । त्यसका लागि विद्या र अध्ययन चाहिँ पटक्‍कै चाहिँदैन । चाहिने कुरो हो अन्ध विश्वास । जिउँदा भगवानहरूले भक्तहरूको त्यसै गुणको प्रशंसा गर्छन् । गीतामा भनिएको छ, ‘परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ’ (एउटाले अर्काको अस्तित्वको रक्षा र भलो गर्छन्)। नेपालमा विद्याको भन्दा भक्ति मार्गको ठुलो बजार छ । विद्यालयहरू नै पनि पसल हुन् कि भजन मण्डली हुन्, छुट्‍याउन गारो हुन्छ । विद्यालयका सञ्‍चालकहरू पनि सबैले देख्‍ने गरी उज्यालामा खाँदैनन्; खालि अँध्यारामा महालक्ष्मी आफैँ प्रसन्न हुन्छिन् र धोक्रो खन्याई दिन्छिन् । विद्यालय खोल्न पसेका गुरुहरू सरस्वती पूजाबाट लोकको सेवा गर्दा गर्दै ब्याङ्क र फाइनान्स कम्पनी खोलेर लक्ष्मी पूजा गरी रहेका भेटिन्छन् । पढ्ने र पढाउनेहरूको शोषण त्यहाँ भएको देखिँदैन । नेपालमा सेवा गर्नेहरू सेवामा भन्दा मेवामा बढ्ता जोड दिन्छन् । यसरी भोजनका नयाँ नयाँ रूप र परिकारहरू एकातिर बनी रहेका छन् ।

हाम्रो समाजका प्रकृति वादीहरूले चाहिँ प्राकृतिक धर्ममै नयाँ आयाम दिएर संशोधन गरेका छन् । त्यसैले आफ्नो मात्र भाग खानेको नाउँ इतिहासमा चल्दैन, लुटी खाने र लुकी खानेको नाम मात्र इतिहासमा धेरै चल्छ । भोजन प्रकृतिको अत्यन्त अनिवार्य शक्ति हो । नेपाल सबभन्दा बढ्ता त्यसै शक्तिले चलेको छ । खाने कुराले जिउमा ताप, तागत र तुजुक दिन्छ । कोसी नदीमा बाढी आयो भने, अचेल पानी नहरमा नअटाएर खेत बगाउन पस्छ । नेपालीहरूको पनि तुजुक बढे पछि मर्यादा नाघ्‍ने घटनाहरू थुप्रै घट्छन्, तर अँध्यारामा अदालत न्यायालयहरू बन्द हुन्छन् । घाम लागे पछि नरभक्षीहरू ओझेल पर्छन् । धेरैजसो निशाचरहरू त दिउँसो आउनै पर्‍यो भने, कि मुखुन्डो लगाएर लाखे नाच वा भैरव नृत्यमा आउँछन् कि त भेस बदलेरै नमस्कार सोहोर्छन् । अहिले नेपालको सडकमा भेटिएर नमस्ते खाने प्रकृति धर्मका त्यस्ता नियन्ता र प्रणयन्ताहरूको हत्त र पत्त शोक सभा गरेर मूर्ति बनाई दिन पाए, भावी इतिहासले तिनीहरूको निरन्तर पूजा गर्थ्यो भन्ने मेरो शुभ कामना छ ।

प्रकृतिको अर्को बलियो शक्ति यौन हो । भ्यागुताहरू विना काममा ट्वारट्वार गर्दैनन्; मुजुरहरू विना काममा नाच्तैनन्; कोइली विना काममा कराउँदैन; गाई भैँसी पनि विना काममा एकोहोरो कराउँदैनन् । अरू जन्तुहरू त वर्षको एक दुई पल्ट मात्र यौन तिर्खाले अनौठो व्यवहार गर्छन्, मान्छे चाहिँ सबभन्दा विकसित जन्तु भएकाले जुनसुकै वेला अनौठो व्यवहार देखाउँछ । प्रकृतिमा अरू जन्तुहरूले भन्दा मान्छे नाउँको जन्तुले कामदेव र रतिको पूजा गर्छन् । कामदेवको भस्म गर्ने महादेव नै मानव मन्दिरमा अर्ध नारीश्वर र योनिर्लिङ्गका रूपमा सधैँ पुजिन्छन् । उन्मत्त भैरवको मूर्ति मुनि टाउको निहुराउन भैरव भक्तहरू सधैँ पञ्‍चमकारको जप गर्न ठिक्‍क परेका देखिन्छन् । नेपालमा           जति किसिमका भैरवका रूप संसारकै हिन्दुहरू कहाँ त्यति पाइँदैनन्, त्यसैले होला विश्वको यौन बजारमा गरिब नेपालीका छोरीहरूलाई पुर्‍याई दिएर यहाँका राष्ट्र सेवकहरूले लक्ष्मी पूजा गरी रहेका छन् । उज्यालामा त्यस्ता ‘राष्ट्रिय चरित्र’ हरूले अखवारका हेडलाइनहरू सम्म नै उक्लेर जनतालाई उपदेश दिन पाएका हुन्छन्; अँध्यारामा मात्र तिनीहरू ‘अन्तर राष्ट्रिय चरित्र’ बन्छन् र विश्वका उन्मत्त भैरव र लक्ष्मीको पूजा गर्छन् । यस्ता अन्तर राष्ट्रिय छवि भएका प्रकृति पूजक नेपालीहरूले विश्वका वेश्या बजारमा नेपालको नाम राम्रै चलाएका छन् । यो कौशल ओलम्पिकमा पनि समावेश गर्न सके नेपालले स्वर्ण पदक पक्‍कै जित्ला। अन्तर राष्ट्रिय छवि कमाउन नसकेकै धेरै वीरहरूले राष्ट्रिय स्तरमा पनि ओझेल पारेर बलात्कार, परिवारमा नारी शोषण, अत्याचार र यौन हिंसा गरेर कीर्तिमान कमाई रहेकै छन् ।

यौन इन्द्रिय सुखको एउटा उदाहरण मात्र हो । प्रकृतिमा जन्तुहरू अनेक किसिममा खेलहरूमा पनि रमाउँछन्, नेपालीहरू पनि आफ्नो कर्तव्य पुरा नगरी नगरी भए पनि राष्ट्रलाई ठग्‍ने खेलहरू रमाएर खुब खेल्छन्। प्रकृतिका जन्तुहरू भोजन र यौनको खोजीमा डुली रहन रमाउँछन् । नेपाली प्रकृति पूजकहरू पनि पालेका नाउँमा तालिम लिन आएको विदेश घुम्‍ने निम्तो आफैँ मान्न पनि धक मान्दैनन् । त्यति मात्र होइन, नेपाली राष्ट्र सेवकहरू त कस्तो भ्रमणशील छन् भने, कहिल्यै पनि कार्यालयको आफ्नो फाँटमै भेटिँदैनन् ।

यसरी प्रकृतिमा भोजन र  इन्द्रिय सुख तिर तानिएर जन्तुहरू स्वेच्छाले गतिशील हुन्छन् भने डरले र बाध्यताले गर्दा पनि गतिशील र सक्रिय हुन्छन् । प्रकृति पूजक नेपालीहरू पनि कुनै माथिल्लो वा तल्लो शक्तिको डरले मात्र कर्तव्य परायण हुन्छन् । अकस्मात तरुनी स्वास्‍नीले बूढो पोइलाई अँगालो हालेर म्वाइँ खाई भने, त्यसको अर्कै कारण हुनु पर्छ भनेर पञ्‍चतन्त्रमा लेखिए जस्तै कसैको डरै नभए पनि नेपाली कर्तव्यपरायण भएको देखियो भने, त्यहाँ अदृश्य भोजन वा इन्द्रिय सुख कतै लुकेको छ कि भनेर सजिलै अड्कल गरी हाल्दा पनि हुन्छ, किन भने ति तिन ओटै शक्ति नहुँदा त प्रकृति पूजक नेपालीहरूले आलस्यको राष्ट्रिय विकल्प रोज्नु पर्ने हो । आफ्नै व्यक्तिगत वा पारिवारिक स्वार्थ केही नभई बेफ्वाँकमा मेहनत गर्ने त्यस्तो खाले अराष्ट्रिय चरित्र कहाँबाट आयो?
नेपालीहरूको यो बेहोरा त आफूलाई प्रकृतिसँग मिलाउने खालको र दिगो भयो, तर मानव सभ्यताको विकास भने, मान्छेले आफूलाई अरू जन्तुहरू भन्दा फरक पार्न बनाएका सामाजिक नियम, कानुन र आचार संहिताबाट भयो । आज भन्दा झन्डै पाँच हजार वर्ष अगाडि प्राचीन मिस्रका राजाहरूले नै आफ्ना नागरिकहरूलाई आदर्श बनाउने र समाजलाई व्यवस्थित र दिगो बनाउने ऐन कानुनहरू बनाउन थाले । प्राचीन सुमेरका कानुनहरूले त्यसमा सुधार गरे, हम्मुराबीका कानुनहरू, प्राचीन ग्रिस, रोम र भारतका शुक्र नीति, विदुर नीति, कणिक नीति, चाणक्य नीति, मनु स्मृति, याज्ञवल्क्य स्मृति र पराशर स्मृतिहरूले मानिसलाई असभ्य जङ्गली जन्तु भन्दा माथि उठेर सभ्य बनाउने अनेक प्रयास गरेको सबै खेर फालेर के नेपाली सभ्यहरूले आज आएर वन्य जन्तुहरूको प्राकृतिक न्याय वरण गर्नु ठिक भयो होला त ?

Leave a Reply