गोरखा पत्रमा ‘नयाँ नेपाल’ को जन्म
१. नेपाली भाषामा मात्र प्रकाशित हुने ‘गोरखा पत्र’ मा २०६४ साल साउन ४ गतेको निर्णय अनुसार नेपालका अरू मातृभाषामा पनि समाचार, सूचना र टिप्पणी प्रकाशित गर्ने एउटा स्तम्भ थपियो, जसमा प्राय दुई ओटा भाषाले दिनहुँ ठाउँ पाएको देखिन्छ ।
मातृभाषाको सङ्ख्या : राष्ट्रिय जनगणना र समाज भाषा वैज्ञानिक सर्वेक्षण
२. नेपालको ‘राष्ट्रिय जन गणना २०६८’ अनुसार नेपालमा बोलिने मातृभाषाको सङ्ख्या १५० नाघ्ने सम्भावना छ । मातृभाषीहरूमा आफ्नो फरक चिनारी राख्ने होडले गर्दा त्यो सङ्ख्या बढ्ने पनि सम्भावना छ ।
३. जन गणनाको भाषा सम्बन्धी तथ्याङ्क बटुल्न तयार गरिएको प्रश्नावली (का दुई ओटा प्रश्न) ले नेपालका मातृभाषा कति ओटा छन् भन्ने तथ्य स्पष्ट रूपले किटान गर्न सकिने देखिँदैन ।
४. राष्ट्रिय योजना आयोगले त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागलाई जिम्मा दिएको नेपालका भाषाहरूको समाज भाषा वैज्ञानिक सर्वेक्षण सरकारी यन्त्रकै उत्तरदायित्व, समन्वय र निरन्तरताको कमीले गर्दा ७ वर्षमै सकिने सम्भावना छैन । नेपालमा मातृभाषा कति छन् भन्ने भाषा वैज्ञानिक टुङ्गो नलागुन्जेल राष्ट्रिय जनगणनाकै तथ्याङ्कलाई आधार मान्नु पर्ने हुन्छ ।
५. जन गणनाले मातृभाषाको सङ्ख्या जति ओटा भनेर टुङ्गो लगाए पनि ति सबै मातृभाषाहरू गोरखा पत्रको ‘नयाँ नेपाल’ मा छिर्न सक्तैनन् । अघिल्लो जन गणनाले ९२ ओटा मातृभाषा भएको लगत सार्वजनिक गरे पनि ‘नयाँ नेपाल’ ले ३० ओटालाई मात्रै ठाउँ दिने केही कारण र केही अप्ठ्याराहरू छन् ।
६. पहिलो अप्ठ्यारो त भाषा वैज्ञानिकहरूले बेग्लै भाषा भनेर चिनी सकेका (छिन्ताङ, बेलाहारे, आठपहरिया, मुगाली, जस्ता) कति भाषा पनि अघिल्लो जन गणनामा उल्लेख हुनबाट छुटेका छन् । जन गणनामा उल्लेख हुनै छुटेका भाषाले गोरखा पत्रमा ठाउँ नपाउनु स्वाभाविक छ ।
७. जन गणनामा उल्लेख भए पनि कुनै मातृभाषाका वक्ताहरूलाई आफ्नो मातृभाषाको उत्थान र विकास गर्न अल्छी लागी दियो भने, त्यस्तो भाषाले पनि गोरखा पत्रमा ठाउँ पाउन सक्तैन । मातृभाषाका वक्तालाई नै जाँगर चलेन भने कुनै पनि भाषाको उत्थान र विकास हुन सक्तैन ।
लिपि, लेख्य परम्परा, वर्ण निर्धारण
८. लेख्य परम्परा भई राखेका भाषालाई ‘नयाँ नेपाल’ मा ठाउँ दिन जति सजिलो लेख्य परम्परा नभएका भाषामा हुँदैन, त्यसैले राम्रो वर्ण विश्लेषण नभए पनि लेख्य परम्परा भएको नेवार, लिम्बु, लेप्चा, मैथिली र अवधीलाई जति सजिलो लेख्य परम्परा नभएको तिलुङ र लिङ्खिमलाई ‘नयाँ नेपाल’ मा ठाउँ दिनु हुँदैन ।
९. सन्ताली भाषाको ओल्चिकी भन्ने बेग्लै लिपि पनि छ, वर्ण विश्लेषण पनि एक किसिमले भई सकेको छ, जन गणनामा पनि उल्लेख छ, तर त्यसमा लागी पर्ने मातृभाषीहरूको के अनुकूल नपरेर त्यस भाषाले ‘नयाँ नेपाल’ मा ठाउँ पाउनु पर्छ भन्ने माग पनि अहिले सम्म गरेको छैन । लेप्चा (लाप्चा) भाषाको पनि आफ्नै लिपि छ, तर लेप्चा (लाप्चा) हरू ‘नयाँ नेपाल’ मा ठाउँ माग्न अहिले सम्म आएको मलाई थाह छैन ।
१०. कुनै भाषाको वर्ण निर्धारण भई सकेको छ भने, ‘नयाँ नेपाल’ मा त्यसलाई ठाउँ दिन सजिलो हुन्छ, तर वर्ण निर्धारण भई नसकेको भाषालाई ठाउँ दिनु सजिलो हुन्छ । यसको अर्थ अहिले ‘नयाँ नेपाल’ मा ठाउँ पाउने सबै भाषाहरूको वर्ण निर्धारण भई सकेको होला भन्ने ठान्नु हुँदैन । ‘नयाँ नेपाल’ मा ठाउँ पाई सकेका तर ‘वर्ण निर्धारण’ नभई सकेका भाषाको वर्ण निर्धारण गराउन सम्बन्धित मातृभाषीहरूलाई गोरखा पत्रले ध्यानाकर्षण गर्नु पर्छ ।
११. मैले नेपालका झन्डै ५० ओटा मातृभाषाको वर्ण निर्धारण गरी दिएको छु । ‘नयाँ नेपाल’ मा ठाउँ पाएका ३० ओटा मध्ये १० ओटा भाषा (मगर, सुनुवार, तामाङ, दराई, लिम्बु, माझी, राजवंशी, ह्लोमी, दनुवार र गुरुङ) मात्र त्यस भित्र परेका छन्, अरू (मेवाहाङ, दुङ्माली, दुमी, चाम्लिङ, बाहिङ, छथरे, व्यासी, राउटे, खाम, काइके, भुजेल, जस्ता झन्डै ४० ओटा) अनेक भाषाहरूले वर्ण निर्धारण भई सके पनि सम्भवतः मातृभाषीको जाँगर, तत्परता, प्रयास र के चाहिँ नपुगेर हो ‘नयाँ नेपाल’ मा आफ्नो ठाउँ माग्न आएको थाह छैन ।
एउटै नाउँ पर्ने समस्या
१२. एउटै नाउँ पर्नाले पनि कुनै भाषा ठाउँ पाउन छुट्ने रहेछ । मुगुमा बोलिने तिब्बतीसँग नजिकैको साइनो राख्ने ‘मुगाली’ र धन्कुटाको मुगा भन्ने गाउँमा बोलिने ‘मुगाली’ भन्ने किराँती भाषाको नाउँ एउटै परेकाले ‘नयाँ नेपाल’ मा ठाउँ पाउन गारो परेको हुन सक्छ । त्यस्तै ‘राई’ नाउँ भएका झन्डै ३०-३५ ओटा मातृभाषाहरू एक अर्काले बोलेको पटक्कै नबुझिने मातृभाषाहरूको जन गणनामा ‘राई’ भन्ने साझे नाउँ भएकाले ‘नयाँ नेपाल’ मा छुट्टा छुट्टै पृष्ठ पाउन सकेका छैनन् । एउटै नाउँ ‘मगर’ पाउनाले परस्पर पटक्कै नबुझिने खाम (पाङ), काइके र ढुट भाषाहरूले पनि एउटै पृष्ठ बाँड्नु परेको हुन सक्छ ।
छुट्टै भाषा र एउटै भाषा नचिन्ने समस्या
१३. ‘क’ ले बोलेको ‘ख’ ले पनि बुझ्छ, ‘ख’ ले बोलेको ‘क’ ले पनि बुझ्छ भने ‘क’ र ‘ख’ एउटै भाषाका दुइटा नाम हुन् । यस्तै अवस्था छुट्टा छुट्टै भाषा भनेर दाबी गरिएका राजवंशी, ताजपुरिया, गनगाई, सुरजपुरा र केवर्तको छ । तिनीहरू एउटै भाषामा बाझाबाझ गरेर ‘तेरो भाषा मेरो भाषा भन्दा फरक हो’ भन्ने दाबी गर्छन् । गोरखा पत्रमा मातृभाषाको निर्णय गर्न त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागको सहयोग लिने चलन नभएर हो कि किन हो, राजवंशी र ताजपुरियाले बेग्ला बेग्लै पृष्ठ पाएका छन् ।
१४. ‘क’ ले बोलेको भाषा ‘ख’ ले पनि बुझ्दैन, ‘ख’ ले बोलेको भाषा ‘क’ ले पनि बुझ्दैन भने, ति छुट्टा छुट्टै भाषा हुन्। ‘राई’, ‘मगर’, ‘मुगाली’, (र ‘नेपाली’) नाउँ भित्र यस्ता अनेक भाषा लुकेका पाइन्छन् । परस्पर बोधगम्यता नै फरक भाषा छुट्याउने मूल आधारका रूपमा प्रचलित छ ।
भाषा र भाषिका चिन्ने आधार
१५. ‘क’ ले बोलेको ‘ख’ ले बुझ्छ, तर ‘ख’ ले बोलेको ‘क’ ले बुझ्दैन भने, ‘क’ चाहिँ भाषा हो ‘ख’ चाहिँ भाषिका हो । उदाहरणका लागि बैतडेली भाषा बोलेको नेपाली बोल्नेले बुझ्दैन, तर नेपाली बोलेको बैतडेली बोल्नेले बुझ्ने हुनाले नेपाली चाहिँ भाषा, बैतडेली चाहिँ नेपालीको भाषिका मानिन्छ । नेवार बोलेको बलामीले बुझ्छ, बलामी बोलेको नेवार मातृभाषीले बुझ्दैन भने, बलामी नेवार भाषाको भाषिका हो ।
१६. भाषा र भाषिका छुट्याउने यी भाषा वैज्ञानिक आधार आफ्नो छुट्टै चिनारी खोज्ने राजनीतिक आधारका अगाडि शिथिल भएको उदाहरण विश्वका अनेक ठाउँमा पाइन्छ ।
एसआइएल, भाषाको ‘आइएसओ कोड’ र राष्ट्र सङ्घको घोषणा पत्र
१७. संसारका सबभन्दा धेरै मातृभाषाको लगत राख्ने अन्तरराष्ट्रिय संस्थाको नाम ‘समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स’ (एसआइएल) हो । आधार भूत रूपले त्यो बाइबल अनुवाद गर्ने लक्ष्य भएको संस्था हो । एउटै भाषाको बाइबलले पुग्छ कि अर्कै भाषाको बाइबल चाहिन्छ भन्ने जानकारी राख्नु उनीहरूको आवश्यकताको कुरो हो । संसारका सबै मातृभाषामा बाइबलको अनुवाद गर्ने उनीहरूको लक्ष्य हो । धर्म प्रचार गर्ने संस्थाहरूले आफ्ना अनुयायीहरू सके सम्म धेरै होउन् भन्ने लक्ष्य राख्छन् । त्यसैले कुनै मातृभाषा बोल्ने केटा केटीले भई राखेको कुनै पनि भाषाको बाइबल पढेर बुझ्न सक्तैनन् भने, त्यो छुट्टै मातृभाषा रहेछ र त्यस भाषामा बाइबलको अनुवाद गर्नु आवश्यक रहेछ भन्ने निर्णय एसआइएलका विशेषज्ञहरूले गर्छन् । एसआइएल भित्र थुप्रै भाषा वैज्ञानिकहरू र मानव शास्त्रीहरू काम गर्छन् । तिनीहरू सम्बन्धित भाषालाई मातृभाषाको रूपमा बोलिने ठाउँमा डेरा गरेर बस्छन्; मातृभाषीको समाज शास्त्रीय वा मानव शास्त्रीय अध्ययन गर्छन्; त्यस भाषाको भाषा वैज्ञानिक अध्ययन गर्छन्; व्याकरण बनाउँछन्, शब्द कोश बनाउँछन्; बाइबलको अनुवाद गर्छन् र त्यो बाइबल पढ्ने अनुकूल वातावरणको निर्माण गर्छन् । तिनीहरू मध्ये धेरैले अध्ययन गरेको भाषामा पिएचडी गर्छन् । एसआइएलले अनुसन्धान कर्ताको सिफारिसमा त्यस भाषाका लागि छुट्टै आइएसओ कोडका लागि निवेदन दिलाउँछ र आइएसओ कोड पाए पछि, त्यो बेग्लै भाषा ठहर्छ । एसआइएलले संसारभरका भाषाको लगत ‘एथ्नोलग’ भन्ने ग्रन्थमा बर्सेनि प्रकाशित गर्छ र ‘एथ्नोलग’ को पछिल्लो जानकारी अनुसार अहिले संसारमा ७००० भाषा भएको लगत छ ।
१८. आइएसओ कोडबाट छुट्टै अन्तरराष्ट्रिय भाषाको मान्यता नेपालीको भाषिका मानिएका जुम्ली र डोट्यालीले पनि पाएका छन् अनि अछामी भाषिकामा पनि बाइबलको अनुवाद भई सकेको छ । यसरी सरकारी लगत, मातृभाषा बोल्नेहरूको लगत र एसआइएलको लगत परस्पर बाझ्छन् । यस्ता परिस्थितिको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव गोरखा पत्रको ‘नयाँ नेपाल’ स्तम्भलाई ढिलो वा छिटो पर्ने सम्भावना छ ।
१९. संयुक्त राष्ट्र सङ्घको घोषणा पत्र अनुसार आफ्नो मातृभाषा फलानो हो भनेर तोक्ने सर्वोपरि अधिकार मातृभाषीको मात्र हुन्छ, अरू कसैको हुँदैन भन्ने सूचनाले पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव ‘नयाँ नेपाल’ लाई पार्ने सम्भावना छ, त्यसैले भाषा सम्बन्धी जे जे समस्या गोरखा पत्रलाई आउँछन्, ति सबै समस्याको पुर्पच्छे गर्ने जिम्मा स्थायी रूपमा त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान केन्द्रीय विभागलाई दिने निर्णय गोरखा पत्र संस्थानले गरोस् भन्ने मेरो शुभ कामना छ ।
देवनागरी तिरको आकर्षण र विकर्षणको प्रवृत्ति
२०. सुरुदेखि ‘नयाँ नेपाल’ को अध्ययन गर्दा एउटा के प्रवृत्ति देखिएको छ भने, नेवार र मैथिली जस्तो धेरै शताब्दी पुरानो लेख्य परम्परा र आफ्नो छुट्टै भए पनि आफ्नो लिपि छोडेर देवनागरी लिपि चलाएको देखिन्छ, तर लिम्बु र तामाङ जस्ता नेवारी र मैथिलीको तुलनामा धेरै नयाँ लेख्य परम्परा हुने भाषामा चाहिँ भाषाको लिपि बुझ्ने मान्छे एकदम कम भए पनि देवनागरी छोडेर परम्परागत लिपि चलाउने प्रवृत्ति देखिएको छ ।
वर्ण निर्धारण
२१. ‘नयाँ नेपाल’ मा प्रकाशित केही मातृभाषाहरूको वर्ण निर्धारण नभएको लेखाइको असङ्गतिबाट प्रस्ट चिनिन्छ ।
नेपाली भाषाका कोशीय शब्दहरूको ठुलो मात्रामा आगमन
२२. शेर्पा र ल्होमी जस्ता तिब्बती संस्कृतिसँग धेरै नजिक साइनो हुने भाषामा बाहेक धेरै जसो मातृभाषामा नेपाली शब्द कोशका शब्द चलाउने प्रवृत्ति देखिएको छ ।
नेपाली भाषाका व्याकरणात्म शब्दको आगमन
२३. ‘नयाँ नेपाल’ कै झ्यालबाट हेर्दा धेरै भाषामा त नेपाली भाषाकै व्याकरणात्मक शब्द (विभक्ति, संयोजक) वा निपात चलाउने प्रवृत्ति देखिन्छ । यो सामग्री प्रयोग गरेर कसैले नेपालका भाषाको तुलनात्मक र प्रकारपरक अनुसन्धान पनि गर्न सक्छ ।
पाठ्य पुस्तक, साहित्यिक र अरू ग्रन्थको सम्पादन गर्ने ठुलो स्रोत
२४. ‘नयाँ नेपाल’ ले नेपालका थुप्रै अलिखित भाषालाई लिखित भाषामा परिवर्तन गर्यो । यसले गर्दा भाषा भाषामा पाठ्य पुस्तक बनाउँदा अथवा साहित्यको सङ्कलित ग्रन्थ निकाल्न निकै सघाउ पुग्ने देखिन्छ ।