नेपाली साहित्यका प्रसिद्ध मार्क्सवादी समालोचक गोविन्द भट्ट मेरा भिनाजु पर्नु हुन्थ्यो । उहाँले मेरी साइँली ठुल्यामा (कुन्ती पुरी) की छोरी इन्दिरा पुरीलाई बिहे गर्नु भएको थियो । ठुला बाको नाम लोकनाथ पुरी थियो । ठुला बाको केटाकेटी हुँदाको नाउँ बम्बटु थियो अरे । केटाकेटी हुँदा उहाँ त्यसै ‘बमभटक-बमभटक’ भनी राख्ने हुनाले उहाँलाई केटाकेटीदेखि चिन्नेहरूले उहाँको नाउँ नै ‘बम्बटु’ राखी दिएका थिए अरे । हामी पनि ठुला बालाई अरू ठुला बासँग छुट्ट्याएर चिनाउँदा ‘बम्बटु ठुलाबा’ भनेरै चिन्दथ्यौँ । मैले नै पनि उहाँको सक्कली नाउँ धेरै पछि मात्र बिहे बटुलाको निम्ते पातामा पढेर थाह पाएको हुँ ।
पुरी, गिरि, भारती, वन, पर्वत, आदि सन्यासीका थर हुन् । पाठकलाई लाग्न सक्छ मेरी ठुल्यामा कसरी सन्यासी हुनु भयो ? मेरी आमाका बाको नाम आदौरत्न दाहाल हो, आमाका हजुरबाको नाम धर्मदत्त हो र आमाका बूढा हजुरबाको नाम कृष्ण प्रसाद हो । उहाँहरूको पुर्ख्यौली थलो भोजपुर जिल्लाको जरायो टार (सानो दुङ्मा) हो अरे । कृष्ण प्रसाद दाहालका जेठा छोरा धर्मदत्तका खलक मेरा साख्य मावली हुन् भने कृष्ण प्रसाद दाहालका कान्छा छोराका खलक चाहिँ धरानकै सेउती खोला पारि आजको पाँच कन्या गाविसको पत्रङ्भारी भन्ने ठाउँमा बस्थे । पिताजीसित म पनि अनेक पल्ट पत्रङ्भारीको मावल गएको सम्झन्छु । कृष्ण प्रसाद दाहालका पत्रङ्भारीमा बस्ने कान्छा छोराकी एउटी छोरी बाल विधवा थिइन् अरे । मेरी आमाकी फुपु पर्ने तिनै बाल विधवासित काशीनाथ प्याकुरेल भन्ने उपाध्याय बाहुनले बिहे गरेका थिए । काशीनाथ उपाध्याय प्याकुरेलका जेठा छोरा शिवनाथ प्याकुरेल चाहिँ बाल विधवाका छोरा भएकाले परम्परागत चलन अनुसार जैसी बाहुन भए। शिवनाथ प्याकुरेल (मामा) बाँझागरामा बस्थे । बाँझागराका लक्ष्मी प्याकुरेल शिवनाथकै छोरा थिए ।
बाल विधवालाई बिहे गरेकाले हो कि कुनै कारणवश काशीनाथ प्याकुरेललाई राणा शासनले चारपाटा मुडेर दामल गर्छ भन्ने हल्ला चलेको सुनेर सरकारले चारपाटा मुडेर बेइज्जतमा पर्नु भन्दा बरु आफैँ मुडिनु राम्रो भन्ठानेर काशीनाथ प्याकुरेल आफैँ मुडिएर सन्यासी भएछन् । जुन थरका गुरुसँग मुडियो, सन्यासीहरूको त्यही थर हुने हुनाले काशीनाथ प्याकुरेल काशीनाथ पर्वत भएछन् । यसरी काशीनाथ प्याकुरेल नमुडिँदै जन्मेका जेठा शिवनाथ मामा चाहिँ प्याकुरेल नै रहेछन् भने, शिवनाथ मामाका अरू भाइ बहिनीहरू सबै पर्वत भएछन्, जस्तै माइला टीकाराम पर्वत, साइँला इन्द्र प्रसाद पर्वत, आदि । काशीनाथ पर्वतका सबै छोरीहरू मेरा ठुल्यामा परे ।
काशीनाथ पर्वतकी जेठी छोरीका छोरा सनत्कुमार गिरि पञ्चायती व्यवस्थामा अञ्चलाधीश भएका थिए । माइली छोरीका छोरा धरानका सतीश चन्द्र गिरि, प्रेमचन्द गिरि, गोपाल गिरि र दिनेश गिरि, आदि हुन् । काशीनाथ पर्वतका साइँली (कुन्ती) र कान्छी (इन्दु) छोरी दुवै जना लोकनाथ पुरीले बिहे गर्नु भएको थियो । इन्दिरा दिदी चाहिँ मेरी साइँली ठुल्यामा (कुन्ती) की छोरी हुनु हुन्छ । नरेश, राधा, रमेश, उमेश, महेश, बिन्दु, भूपी र राजु पुरी इन्दिरा दिदीका भाइ बहिना हुन् । कान्छी ठुल्यामा पट्टिका छोराछोरी (सुरेश, मञ्जु, मीरा, कौशल्या र मुकेश) पनि सबै इन्दिरा दिदीका भाइ बहिनी नै हुन् ।
इन्दिरा दिदी धरानको शारदा बालिका माध्यमिक विद्यालयकी प्रधानाध्यापिका हुनु हुन्थ्यो । संवत् २०२० मा उहाँको बिहे गोविन्द भट्टसँग हुँदा म दसौँ कक्षामा पढ्थेँ । पढ्न बनारस बसेका वेलामा उहाँको भेट, चिनजान र मैत्री गोविन्द भट्टसँग भएछ र उहाँले गोविन्द भट्टलाई मन पराउनु भएको रहेछ । वास्तवमा इन्दिरा दिदीसँग गोविन्द भट्टको बानी धेरै मिल्थ्यो । दुवै जनाको स्वभाव गम्भीर, शालीन र आदर्श ! दुवै जना आफ्ना परिवारका सबभन्दा शिक्षित ! इन्दिरा दिदी पनि आफ्ना बाआमाकी जेठी छोरी, गोविन्द भट्ट पनि आफ्ना आमाबाका जेठा छोरा ! इन्दिरा दिदी पनि दुइटी आमा मध्ये जेठीकी जेठी छोरी, गोविन्द भट्ट पनि आफ्ना दुइटी आमा मध्ये जेठीका जेठा जेठा छोरा ! इन्दिरा लक्ष्मीको एउटा नाउँ, गोविन्द विष्णुको एउटा नाउँ ! लक्ष्मीका पति भए पनि विष्णुले सर्पका ओछ्यानमा सागरमा सुत्नु परे झैँ गोविन्द भट्ट पनि धनी परिवारमा जन्मे पनि सङ्घर्षमय विषम परिस्थितिमा हुर्किनु भयो । दुवै जना त्याग, समर्पण, तपस्या, क्षमा र सहनशीलताका जीवन्त मूर्ति ! दुवै जनाको पारिवारिक पृष्ठ भूमि सम्पन्न नै भए पनि सङ्घर्षमय जीवनका ठक्कर, चोट र अभाव बिर्सेर पारस्परिक प्रेम र कदरलाई जगेर्ना गर्न अद्वितीय !
भिनाजुका रूपमा उहाँलाई सके म मात्र एकोहोरो चिन्दथेँ । भट्ट भिनाजुसँग मेरो घनिष्ठ चिनजान पछि मात्र भयो । सं. २०३६ तिर नेपालमा जन मत सङ्ग्रहको घोषणा भएकाले राजनीतिक वातावरण केही अनुकूल भएर उहाँहरूले चीनबाट नेपाल फर्किने निर्णय गर्नु भएछ । त्यति वेला म एसएलसी सम्मका सबै विषय टिउसन पढाउन धरान भरिमा प्रसिद्ध थिएँ । मसँग धरानका बेग्ला बेग्लै हाईस्कुलका झन्डै ६०-६५ जना विद्यार्थीहरू टिउसन पढ्न दिनहुँ पुग्दथे । इन्दिरा दिदीको माइती घर मेरा विद्यार्थीहरू दोहोरीलत्त हिँड्ने बाटैमा पर्थ्यो । मेरा गन्तीका ६०-६५ जना विद्यार्थी छिमेकीले जाँदा पनि आउँदा पनि गन्दा १००-१२५ पुग्थे होलान् । इन्दिरा दिदीले आफ्ना छोरी लुना र शिरीष मलाई जिम्मा लगाउने विचार गर्नु भएछ । म बेलुका ५ बजे पछि पढाउँदिनथेँ । साँझ जहिले पनि धरान छाता चोकका गफाडीहरूका भिडमा म सामेल हुन्थेँ र बेलुका छ साढे छ बजे तिर घर तिर उकालो लाग्थेँ ।
एक दिन इन्दिरा दिदीले म घर फर्किने वेलामा आफ्नो माइतीका तघारामा मेरो बाटो हेर्ने मान्छे राख्नु भएछ । दिदीले मलाई भन्नु भयो, ‘अब हामी नेपाल फर्कने निर्णय गरेर आएका ! यी छोरीहरू चिनियाँ माध्यममा पढेका हुन् ! चीनमा शिरीष ५ क्लासमा पढ्थी; लुना ७ क्लासमा पढ्थी । यिनीहरूलाई नेपाली पटक्कै आउँदैन । अब भाइले नै यिनीहरूको जाँच लिई दिएर कुन क्लासमा राख्ता ठिक पर्छ, त्यो पनि भनी देऊ; यहाँ कुन स्कुलमा पढाउनु पर्छ, त्यो पनि भनी देऊ र तिमीले नै पढाई पनि देऊ ।‘ मैले लुनाको तुरुन्तै मौखिक परीक्षा लिएँ । सबभन्दा पहिले अङ्ग्रेजीमा कसरी ‘मलाई पानी खान मन लाग्यो’ भन्ने भनेर सोधेँ; लुनाले भनिन्, ‘आई वान्ट टु ड्रिङ्क वाटर’ (I want to drink water) । त्यस पछि मैले हिसाब जाँच्ने विचार गरेँ । मेरो अनुभवमा बीज गणित जान्नेले अङ्क गणित जान्दथ्यो, ज्यामिति जान्नेले बीज गणित जान्दथ्यो र त्रिकोणमिति जान्नेले ज्यामिति जान्दथ्यो, त्यसैले मैले लुनालाई त्रिकोणमितिको प्रश्न सोधेँ, ‘एउटा सम कोण त्रिभुजमा लम्ब र आधारको अनुपातको के नाउँ हो?’ लुनाले जवाफमा त्रिज्या (Tangent) को चिनियाँ उच्चारण ‘तङ्’ भनिन् । त्यस पछि मैले दिदीलाई भनेँ, ‘लुनालाई कक्षा ९ मा राख्नु पर्छ; शिरीषलाई कक्षा ८ मा राख्नु पर्छ । धरान बोर्डिङ स्कुलमा नाम लेखाई दिनु पर्छ । दिदी डराउनु भयो, किन भने मैले चीनमा ५ कक्षा पढी रहेकी शिरीषलाई ८ कक्षामा राख्ने र ७ कक्षामा पढी रहेकी लुनालाई ९ कक्षामा राख्ने सुझाउ दिएको थिएँ । मैले दिदीलाई भनेँ, ‘म पढाई दिन्छु ।‘ दिदीले लुना र शिरीष मेरो जिम्मा लगाउनु भयो ।
बोर्डिङ स्कुलमा दुवै जनाको नाम लेखाइयो । लुना र शिरीष दुवै जना बिहान छ साढे छ बजे एक एक झोला किताब बोकेर मेरा घरमा आउँथे । पहिले लुनाले सोध्थिन् । तिनीहरू सबै दिन सबै विषयका नबुझेका कुरा सोध्थे । पढेको कुरो नबुझेको वा शङ्का लागेका ठाउँमा सिसा कलमले चिनो लगाउँथे; नबुझेको बाहेक अरू केही सोध्दैनथे । तिनीहरूका प्रश्न विशिष्ट हुन्थे, ‘नेपालीमा यहाँ किन ‘ले’ लागेको?’, अङ्ग्रेजीमा यहाँ किन ‘इन’ नभएर ‘अन’ भयो?; इत्यादि । दुवै दिदी बहिनी आफ्नो आफ्नो कुरो सकिए पछि कहिले आधा घण्टामै फर्किन्थे, कहिले अलिक बढ्ता लगाउँथे । मैले तिनीहरूलाई नेपालीमा ‘क,ख’ देखि नै सिकाएँ । ‘क-ख’ चिनेको ३ महिने परीक्षामा लुनाले आफ्नो कक्षाको नेपालीमा सबैलाई जितेको सुनेर म अत्यन्त खुसी भएँ । लुनाले लेखेको ‘चीनको पढ्ने तरिका’ भन्ने निबन्ध मन परेर मैले साँचेर राखेको थिएँ; अहिले चाहिँ नभेटेको धेरै वर्ष भयो । वार्षिक परीक्षामा लुना सर्व प्रथम भइन् । दसौँ कक्षामा लुना र शिरीषलाई प्रवेश लिन ल्याबोरेट्री स्कुलले गारो मानेको थियो अरे । पछि त, २०३८ सालमा लुना एसएलसी परीक्षामा सर्व प्रथम भइन् भने, २०३९ सालमा शिरीष बोर्ड सेकेन्ड भइन् । लुनाले नेपालीमा पनि ८५ अङ्क ल्याएकी थिइन् अरे । परीक्षा नियन्त्रकले प्राध्यापक शिव गोपाल रिसाललाई लुनाको कापी देखाएर सोधेका थिए अरे, ‘नेपालीमा पनि यति धेरै नम्बर आउँछ सर?’ प्रोफेसर रिसालको जवाफ थियो अरे, ‘खोइ, कसले जाँचेको हो ! म भए, ९५ दिन्थेँ ।‘ आफूले क-ख सिकाएको दुई वर्षमै त्यस्तो उत्कृष्ट कीर्ति राख्न सफल लुना र शिरीष मेरो जीवनका उत्कृष्ट विद्यार्थी हुन् भनेर मैले ‘मेरो मान्छे’ निबन्ध सङ्ग्रहमा ‘मेरो विद्यार्थी’ भन्ने निबन्धमा लेखेको छु ।
लुना र शिरीषको सफलताले पनि त्यसै आत्मीय साइनो भएकी मेरी इन्दिरा दिदीसित मेरो आत्मीयता दोबर भएको मैले अनुभव गरेको छु भने, भट्ट भिनाजुका हृदयमा पनि मैले राम्रै ठाउँ बनाएको अनुभव गरेरको थिएँ । म उहाँको सालो भए पनि उहाँ मलाई सधैँ ‘डाक्टर साहेब’ भनेर आदरार्थी व्याकरणकै प्रयोग गर्नु हुन्थ्यो।
लुना र शिरीषले एसएलसी पास गरे पछि जन मत सङ्ग्रहको जितले पञ्चायती व्यवस्था फेरि बहुलायो । गोविन्द भट्टलाई फेरि पनि नेपालमा बस्नु सहज भएन । छोरीलाई उच्च शिक्षा पढाउन पनि उहाँ फेरि चीन जानु भयो । आफू चीनबाट फर्किने वेलामा गोविन्द भट्टले चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा मेरो नाम सिफारिस गर्नु भएछ । म २००० ई. मा चीन जाने एउटा कारण गोविन्द भट्टको सिफारिस पनि हो । मेरो नाउँ सिफारिस गर्नेमा कीर्तिपुरमा पढ्न आएका रेडियोका कर्मचारी मेरै चिनियाँ विद्यार्थीहरू पनि थिए । डा. वल्लभ मणि दाहालले पनि मेरो नाम सिफारिस गर्नु भएको थियो अरे । पछि त चिनिया अन्तरराष्ट्रिय रेडियोको नेपाली विभागकी हाकिम कुसुम (छाङ हो, चौ) नै विश्व विद्यालयमा मेरी चेली भएर आएकी थिइन् । उनको सिफारिस पनि थपियो । यसरी मलाई चिनिया अन्तरराष्ट्रिय रेडियोको नेपाली भाषा विशेषज्ञ बनाएर पठाउने सर्व प्रथम सिफारिस कर्ता गोविन्द भट्ट नै हुनु हुन्थ्यो ।
गोविन्द भट्ट कोलम्बो योजनाको शोध वृत्ति पाएर लखनउ विश्व विद्यालयमा पिएचडी गर्न जानु भएको थियो । तिन वर्षको वृत्ति अवधिमा उहाँले पिएचडी पुरा गर्न सक्नु भएन; अरू ६ महिना छात्र वृत्तिको म्याद बढाई माग्नु भयो, तर योजनाले बढाउन सकेन, त्यसैले आफ्नो पाश्चात्य दर्शन शास्त्रको कुनै पक्षमा पिएचडी गर्ने अनुसन्धान झन्डै पुरा भए पनि समय र खर्च नपुगेर उहाँ ‘डाक्टर गोविन्द भट्ट’ नभई फर्किनु भयो । उहाँको पिएचडीको शीर्षक के थियो भन्ने कुरो चाहिँ थाह हुन सकेको छैन । उहाँको विषय दर्शन शास्त्र थियो । एमए पनि उहाँले लखनउ विश्व विद्यालयबाटै गर्नु भएको थियो ।
प्रज्ञा प्रतिष्ठानबाट निस्केको ‘नेपाली साहित्य कोश’ को म एउटा सम्पादक थिएँ । त्यस कोशका संयोजक कृष्ण चन्द्र सिंह प्रधानले गोविन्द भट्टलाई मार्क्स वाद भन्ने विषयमा प्रविष्टि लेख्न दिएका रहेछन् । गोविन्द भट्टले लेखेको प्रविष्टि सम्पादन गर्न संयोजकले मलाई पठाई दिएर फोनबाट के भने भने, प्रविष्टिमा तोकिएको शब्द सङ्ख्या भन्दा गोविन्द भट्टका लेखोटमा एकदम धेरै शब्द बढेकाले सके सम्म शब्द सङ्ख्या घटाई दिनु राम्रो हो । मैले गोविन्द भट्टको ‘मार्क्स वाद’ विषयमा लेखिएको त्यो प्रविष्टि हेरेँ । दर्शन शास्त्रमै एमए र पिएचडी सम्मको अध्ययन, चिन्तन र अनुसन्धानमा निष्णात र विश्व विद्यालयमा प्राध्यापनको अनुभव समेत बटुलेका अनि धेरै वर्ष चीनमा बसेर मार्क्स वादको अध्ययन र चिन्तन गरेका गोविन्द भट्टको मार्क्स वादी दर्शनको ज्ञानमा होड गर्ने नेपालमा अर्को जोडै छैन भन्ने कुरो थाह भएकाले मैले त्यो प्रविष्टि विद्यार्थीले अध्ययन गरे जस्तै अध्ययन र मनन गरेँ । अत्यन्त सजिलो पाराले मार्क्स वादको फेद टुप्पै छामेर भट्टजीले लेख्नु भएको त्यो प्रविष्टि पढेर मेरो ऊर्जा मात्र बढ्यो; मैले कृष्ण चन्द्रजीको काटछाँट गरी दिने निर्देश पालन गर्न सकिन अनि गोविन्द भट्टलाई फोन गरेर भनेँ, ‘तपाईँको प्रविष्टि मैले पढेँ; कृष्ण चन्द्रजीले शब्द घटाउन मलाई दिनु भएको सुझाउ मैले मान्न सकिन, त्यसैले म शब्द घटाउन लेखकलाई नै अनुरोध गर्ने भनी दिन्छु; तपाईँले पनि शब्द घटाउन मैले कोसिस गरेँ, त्यति सकिन भनी दिनु होस् ।‘ भट्टजीले कुरो नघटाई शब्द मात्र केही घटाएर पठाई दिनु भएछ । ‘नेपाली साहित्य कोश’ मा त्यही प्रविष्टि छापिएको छ ।
नेपालका त्यस्ता अद्वितीय चिन्तक र गरिमामय व्यक्तित्व गोविन्द भट्ट वाम पन्थी भए पनि कुनै पार्टी विशेषको छाता मुनि अटाउनु हुन्नथ्यो, तर नेकपा (एमाले) ज्ञानेन्द्र राजाको सरकारमा हुँदा उहाँलाई एकेडेमीको सदस्य बनाइयो र परिस्थितिगत बाध्यतावश उहाँले बोलेका कुरालाई बङ्ग्याएर विभिन्न वाम पन्थी गोलाहरूले उहाँलाई छेडपेच गरे । उहाँले आफ्नो आलोचनाको गरलपान गर्नु भयो । जुन पार्टी सरकारमा गएको थियो, त्यसका ठुला नेताहरू त राजालाई सघाए पनि दुग्धस्नान गरेर चोखिए, तर नेपालका अद्वितीय महान मार्क्स वादी दार्शनिक गोविन्द भट्ट भने नेपाली मार्क्स वादी साहित्यमा अद्वितीय योग दान गरे पनि, अति वादीहरूका आँखामा बिटुलिनु भयो ।