जर्मनेली भाष्य वैज्ञानिक समालोचनाको चिनारी

भाष्य विज्ञान (वा टीका विज्ञान) कविता जस्तो कुनै कला कृतिको विश्लेषण कसरी गर्ने भन्ने चिन्तन र प्रविधिले सम्पन्न भएको जर्मन दार्शनिकहरूले विकास गरेको पाश्चात्य समालोचनाको प्रसिद्ध दार्शनिक धारा हो । यस लेखमा त्यसैको सामान्य चिनारी दिइएको छ ।

 

१.    ऐतिहासिकता

 

फ्रेड्रिक यास्ट (१८०८) भाष्य विज्ञानका प्रवर्तक हुन् । उनका विचारमा कुनै लेखकको एउटा कृति बुझ्न त्यस लेखकका अरू कृतिहरू पनि हेर्नु पर्ने हुनाले कुनै लेखकको एउटा कृतिको अर्थ बुझ्न त्यसै लेखकका समग्र कृतिहरूको अध्ययन गर्नु पर्छ । लेखकको जीवनी सम्बन्धी सूचना बटुलेर पनि उसको कुनै कृतिको अर्थ लगाउन सघाउ पुग्छ । कुनै लेखकको कुनै कृतिको समग्र अर्थ बुझ्न एउटै लेखकका समग्र कृति पढेर मात्र हुँदैन; त्यस काल खण्डका अरू समसामयिक श्रेष्ठ लेखकहरूका कृतिहरूको पनि अध्ययन गरे पछि मात्र इतिहासको त्यस काल खण्डको अर्थात् समसामयिक युगीन चेतना वा भावना बुझ्न सकिन्छ । त्यस्तै, कुनै एउटा लेखकको कुनै एउटा कृतिमा अभिव्यक्त भएको समसामयिक भाव इतिहासका अघिल्ला र पछिल्ला चरणका समसामयिक भाव वा चेतनाका तुलनामा कस्तो देखिन्छ, त्यसका आधारमा वा सापेक्षतामा पनि सम्बन्धित कृतिको ऐतिहासिक मूल्याङ्‍कन गर्न सकिन्छ ।

ऐतिहासिकता बारे डिल्देका विचारमा चाहिँ कान्टको प्रभाव छ (Palmer 101) । फरक के छ भने, कान्ट (Kant) ले कुनै कृतिको विश्लेषण गर्दा आफ्नै मन भित्र पसेर लेखकसँग सहभाव राख्तै समालोचकले अर्थ फेला पार्छ भन्ने विचार राखेका छन् भने, डिल्दे चाहिँ इतिहासका आडमा कृतिको विश्लेषण गर्ने धारणा राख्छन् । इतिहास सम्बन्धी दृष्टि कोणमा डिल्दे हिगेलबाट प्रभावित छन् (Palmer 102) । डिल्देका आधारमा इतिहास भनेको एउटै व्यक्तिको (वा अनेक व्यक्तिको) जीवन जगत् सम्बन्धी विचारहरूको शृङ्‍खला हो (Palmer 117) ।

ग्याडामरका विचारमा परम्पराका रूपमा इतिहासले हामीलाई कहिल्यै पनि छोड्दैन । सधैँ पानीमा डुबी रहने माछाका लागि पानी अदृश्य भए जस्तै हामीसँग इतिहास र परम्परा नङ मासु भएर मिलेको हामी चालै पाउँदैनौँ । हामीले हरेक कुरो बुझ्दा हिजोको आफ्नै अतीत सम्झिन्छौँ र परिस्थितिसँग गाँसिएका आफ्नै अतीतका अनुभव, विचार र परम्परागत दृष्टिसँग भिडाएर हामी नयाँ कुरा बुझ्दछौँ । कुनै कृति बुझ्ने आधार पनि यही हो । इतिहास जहिले पनि वर्तमानमा उभिएर चाल पाइन्छ (Palmer 176-177) । आधारभूत रूपमा ग्याडामरको यो विचार हाइडेगरबाट प्रभावित छ ।

हाम्रो बानी जहिले पनि आफूले बुझेको कुरालाई भूत, वर्तमान वा भविष्यसँग गाँस्‍ने भएकाले ग्याडामरले यसै बानीलाई कुरो बुझाइको ऐतिहासिकता भन्ने नाम दिएका छन् (Palmer 180) ।

 

२.     भाषा

 

कुनै कृतिको अर्थ लगाउन टीकाकार, भाष्यकार वा समालोचकले सबभन्दा पहिले कृतिको भाषिक विश्लेषण गर्नु पर्छ । कृतिका शब्द शब्दको, वाक्य वाक्यको र अनुच्छेद अनुच्छेदको अर्थ बुझे पछि समग्र पाठकै अर्थ बुझ्न कृतिको व्याकरणात्मक विश्लेषण पनि गर्नु पर्छ । यसरी कुनै कृतिको भाषिक अर्थ बुझ्न सकिन्छ । कुनै उत्कृष्ट कृतिमा सबै समसामयिक, ऐतिहासिक र मौलिक अर्थहरू भाषाकै रूपमा कुँदिएका हुन्छन् । कुनै भाषा समग्र मातृभाषा बोल्नेहरूको ऐतिहासिक र समसामयिक भावनाहरूको जिउँदो सङ्ग्रहालय हो । एउटा कवि वा स्रष्टाले कुनै कृतिमा लिपि बद्ध गरेको भाषा भित्र पनि तपाईँ हामी र हाम्रा पुर्खाका साझे भावना र अर्थहरू कुँदिएका हुन्छन् । भाषा भनेको एउटा यस्तो पोखरी हो जसमा आदिम कालदेखिका हाम्रा पुर्खा र समसामयिक सङ्‍गातीका भावनाहरू पनि बराबर मात्रामा चुर्लुम्म डुबेका हुन्छन् । त्यसैले कुनै कृति नै नपढे पनि त्यस कृतिमा लिपि बद्ध भएका ऐतिहासिक र समसामयिक भावनाहरू बुझ्न सक्‍ने क्षमता मातृभाषाका मर्मज्ञ पाठकहरूमा हुन्छ । भाषाको यसै शक्तिले गर्दा कुनै पनि मर्मज्ञ पाठकले समसामयिक मात्र होइन, प्राचीन साहित्य पनि सहृदयी भएर बुझ्‍न सक्छ भन्ने यास्टको विचार पाइन्छ ।

स्लेयर्माखरका विचारमा कुनै कृति बुझ्नु भनेको नै वक्ताले वाक्यका रूपमा बोलेको भाषा र व्याकरणलाई केलाएर वक्ताका दिमागका प्रक्रिया र अर्थको श्रोताले आफ्नो दिमागमा पुनर्निर्माण गर्नु हो (Palmer 86, 89) । एउटा कृतिको त्यसै पुनर्निर्माण गर्ने एउटा प्रक्रियाको नाम “भाष्य वैज्ञानिक चक्र”[i] हो ।

ग्याडामरका विचारमा कृतिको भाषा विश्लेषणबाटै इतिहास, अस्तित्व, यथार्थ र वर्णन गरिएका व्यक्ति वा वस्तुको अस्मिता प्रकट हुन सक्छ (Palmer 42-43) । भाषैमा सबैको अस्मिता अडिएको हुन्छ, किन भने हाम्रा पिता पुर्खादेखि आज सम्मका एउटै वंशका मान्छेहरू झन्डै एउटै भाषाका पोखरीमा चुर्लुम्म डुबेका हुन्छन्, त्यसैले भाषा र शब्द शब्दमा कुँदिएका अर्थबाट एउटा भाषिक समुदायका वक्ताहरूको पुरै परम्परा जोडिन्छ । त्यसो हुँदा हामी कुनै कृतिको भाषा विश्लेषण गरेरै बाबु बराजुका पालादेखि भाषाका शब्द र व्याकरणका रूपमा कुँदिएका अर्थको मर्म उधिन्न सक्छौँ भन्ने हाइडेगर र ग्याडामरको विचार थियो; अर्थात् भाषा भित्रै हाम्रो ऐतिहासिकता र अस्मिता लुकेको हुन्छ (Palmer 177) । मानिसले शब्द बनाउँदैन; शब्द र भाषा त पहिलेदेखि नै छँदै छ नि ! मानिसले शब्दमा अर्थ दिएको पनि होइन । हामीले भोगेको जगत् एउटै छ, विभिन्न परिस्थितिका अभिव्यक्तिसँग जोडिएर आउने वाक्य, व्याकरण र शब्द उनै छन्, यसैले भाषाले हामीहरू सबैलाई एउटै नेटा भित्र जोड्छ (Palmer 206-208) ।

ग्याडामरका विचारमा भाषा कुनै बैठकका पारित प्रस्ताव लेख्‍ने सचिव जस्तो हो, जसले सबै घटनालाई शब्दमा अनुवाद गर्छ, तर भाषाको अर्थ अचल हुँदैन; त्यो निरन्तर गतिशील र परिवर्तनशील हुन्छ, त्यसैले कुनै कृतिको विश्लेषणबाट पनि ठ्याक्‍क एउटै निश्चित अर्थ मात्रै निस्किने सम्भावना कम हुन्छ (Palmer 209-210) ।

कुनै कुरो भन्दा वा लेख्ता सबै कुरो भनिँदैन पनि लेखिँदैन पनि, त्यसैले भाषामा जहिले पनि हरेक ‘कथित’ सित ‘अकथित’ मिसिएको हुन्छ । यसरी हरेक कथनमा कथित र अकथित मिलेर एउटा एकाइ बनेको हुन्छ, तर हरेक कुराकानी वा कृतिमा प्रशस्त अकथित भए पनि र सधैँ चलाउने सजिला शब्द प्रयोग गरिएको भए पनि लेखक र पाठकको जगत् एउटै भएकाले लेखकले भन्न खोजेका कुरा पाठकले बुझ्न सक्छ । यो प्रक्रिया कवितामा सबभन्दा टड्कारो देखिन्छ, किन भने कविता पढ्दा त्यसै पुङ न पुच्छरसित शब्द थुपारे जस्तो पनि लाग्छ, तर अकथितको मात्रा धेरै भएकाले मात्र कविता त्यस्तो देखिने हो (Palmer 210) । होल्डर्लिनले भने झैँ, कविले आफूले सधैँ चलाएकै शब्द र प्रयोगबाट अर्थको रूढि हटाउँछ अनि उसले सधैँ देखेको जगतलाई पनि नौलो देख्छ; उसले आफूले सधैँ जानी राखेको अर्थलाई छेकेर थाती राख्छ; यसरी कविले कल्पनाबाट नयाँ विचार र भावनाको आविष्कार, सिर्जना र उद्‍घाटन गर्छ (Palmer 211) ।

कुनै कृति विश्लेषण वा समालोचना पनि निरपेक्ष हुँदैन । कृतिसँग पाठक वा समालोचकको संवाद वा कुराकानी भएकाले समालोचना पनि छुट्‍टै सिर्जना हो । कविता रच्ने काम कविका लागि भाषाका रूपमा नयाँ अर्थ सृष्टि गर्नु हो, तर समालोचक वा पाठकका लागि भने, त्यस कविताको विश्लेषण गर्ने काम भनेको आफ्नै क्षितिजलाई त्यस कवितामा छिराउने उद्योग भएकाले कविताको अर्थ लगाउने हरेक प्रयत्‍नमा आफ्नो अनुभवको क्षितिज हेरी अर्थ अड्कल गर्ने काम अवश्य हुन्छ (Palmer 212) ।

 

३.    भाष्य वैज्ञानिक चक्र[ii] : कविको मनोदर्शन 

 

कविले कविता बनाउँदा जुन जुन प्रक्रियाहरू अपनाएर जुन जुन चरण पुरा गरेको हुन्छ, सहृदयी पाठकले कविता पढेर कविसँग सहानुभूति गर्दै ती प्रक्रिया र चरण पत्तो लगाउने विधिलाई यास्टले  “भाष्य वैज्ञानिक चक्र” (Palmer 86) भन्ने नाम दिएका छन् । यसको अर्थ के हो भने, कुनै साहित्य वा कला कृति बुझ्नु भनेको नै कवि वा कलाकारले त्यो कविता वा कला रचना गर्दा जुन प्रक्रिया अपनाउँछ, पाठक वा समालोचकले कल्पना गरेर त्यही प्रक्रियाको पुनर्निर्माण गर्न सफल हुनु हो र त्यसै प्रक्रियाको पुनर्निर्माणलाई नै यास्ट “भाष्य वैज्ञानिक चक्र” भन्दछन् । यास्टको “भाष्य वैज्ञानिक चक्र” को “मनोरचना विज्ञान” (पोखरेल) सित साइनो छ । यसरी यास्टका विचारमा बुझाइका प्रक्रिया भनेको सिर्जनात्मक प्रक्रियाहरूको पुनरावृत्ति हो (Palmer 80) ।

स्लेयर्माखर (Palmer 87) का विचारमा कुनै कृति बुझ्नलाई अलिकति तुलना पनि गर्नु पर्छ र अलिकति अन्तर्ज्ञान पनि चाहिन्छ  । पहिले बुझी राखेकै कुरासित तुलना गरेर मान्छेले कुनै नयाँ कुरो बुझ्छ । कुनै कुरो पुरै (अङ्‍गी) बुझ्न त्यसका अङ्‍ग बुझ्नु पर्छ; अनि कुनै कुराका अङ्‍ग अङ्‍ग बुझ्न त्यो कुरो सम्पूर्ण (अङ्‍गी) पनि बुझ्नु पर्छ । यहाँ व्यक्त भएका कुराको मूल अर्थ के हो भने, कुनै नयाँ कृतिमा लेखक र पाठक दुवै पक्षले बुझेका कुरा धेरै हुन्छन् । भाषाले एकातिर लेखक र पाठक दुवै पक्षलाई जोड्छ भने अर्कातिर दुवैले भोगेको दृश्य जगत् वा पदार्थ र प्रकृति साझे हुन्छ । दुवै पक्षसँग साझे भएर बाँडिएका ती कुराका आडमा पाठक वा श्रोताका बिचमा सम्प्रेषण हुन्छ । यसरी बुझ्ने काम चक्रवत् हुन्छ, त्यसैले पनि कुनै कविता बुझ्न त्यो कविताका कविको दिमागमा बनेका भावको पुनर्निर्माण गर्ने प्रक्रियालाई “भाष्य वैज्ञानिक चक्र” भन्ने नाम दिइएको हो । कुनै कविताको बुझ्नु पर्ने समग्र मुख्यार्थलाई एउटा घेरो लगाउनु हो भने, त्यस ठुला घेरा भित्र शब्द शब्दका फरक फरक अर्थहरू पनि घेरिएका हुन्छन् । यसको अर्थ के हो भने, साना घेरा भित्र भएका अर्थ जोडेर ठुला घेरा भित्रको अर्थ निस्किन्छ अनि अर्का तिर ठुला घेराको अर्थ बुझेर मात्र साना घेरा भित्रका शब्दले प्रयोजनपरक अर्थ दिन सक्छन् । स्लेयर्माखरका विचारमा श्रोता, पाठक वा समालोचकले कुनै कुरो बुझ्नु भनेकै वक्ता वा लेखकसँग कुरो मिल्नु हो (Palmer 131) ।

यसरी एउटा मान्छेका मनको कुरो र अनुभव अर्को मान्छेमा सर्ने “मानसिक अभिसरण”[iii] प्रक्रियाबाट समालोचकले कवि वा कलाकारको मनोभाव फेला पार्न सक्छ अथवा सहभावको अनुभूति गर्न सक्छ । कवि र पाठकको समाज र वस्तु जगत् साझे भएकाले कविको कृति पढेर पाठकले आफ्नै अनुभवका आधारमा कविको अनुभवको साक्षात्कार गर्न सक्छ । यस प्रक्रियाबाट पाठकले कविका मनमा आफ्नै अनुभवको गम्भीर भण्डार फेला पार्न सक्छ र सम्पूर्ण मनोजगतको साक्षात्कार गर्न सक्छ । स्लेयर्माखरले भने झैँ एउटा मान्छेले अर्को मान्छेको मनको कुरो (सामाजिक र ऐतिहासिक जगतमा जीवनको अभिव्यक्ति) आफ्नै मनका झल्कामा पुनर्निर्माण गर्न सक्छ (Palmer 103) ।

डिल्देले पाठक वा समालोचकले साहित्यिक कृतिको अर्थ कसरी बुझ्छ अर्थात् कसरी पाठक लेखकको मनमा पस्न सक्छ भन्ने प्रश्नको जवाफमा तिन ओटा प्रक्रियालाई कारण बनाएका छन् । (क) पहिलो कारण हो अङ्‍ग[iv] र अङ्‍गीको[v] सम्बन्ध, (ख) दोस्रो कारण हो आफ्नै जीवनको अनुभूतिसँग तुलना र (ग) तेस्रो आधार हो सन्दर्भ[vi]

३.३.१ अङ्‍ग र अङ्‍गीको सम्बन्ध : कुनै कृति भित्रको एउटा मसिनो कुरो राम्ररी बुझ्न समग्र कृति बुझ्नु पर्छ; अनि त्यसको उल्टो, समग्र कृतिको अर्थ बुझ्न कृति भित्रका सबै मसिना तत्त्वहरू बुझ्नु पर्छ । त्यस्तै एउटा लेखकको कुनै कृति बुझ्न त्यस लेखकका समग्र कृति पढ्नु पर्छ; अनि त्यसको उल्टो कुनै लेखकका समग्र विशेषता चाल पाउन एउटा एउटा कृति मसिनो गरी पढ्नु पर्छ । अर्का तिर एउटा युगको एउटा लेखकको कृति बुझ्न समकालीन मुख्य लेखकहरूका मुख्य कृतिहरूले सघाउँछन्; अनि त्यसको उल्टो कुनै युगका साहित्यिक विशेषता चाल पाउनु छ भने, मुख्य मुख्य लेखकहरूका मुख्य मुख्य कृतिहरूको अध्ययन गर्नु पर्छ ।

३.३.२ आफ्नै जीवनका अनुभूतिसँग तुलना : एउटै सांस्कृतिक र सामाजिक परिवेशमा हुर्केका लेखकको कृति बुझ्न पाठकले हरेक घटनालाई आफ्नै जीवनमा घटाउँदै हरेक वस्तु, प्रक्रिया र घटनालाई आफ्नै अनुभवसँग तुलना गरेर बुझ्छ (Palmer 121), किन भने पाठक वा समालोचकको आफ्नै अनुभव पनि त इतिहासकै एउटा अङ्ग हो । यसरी कुनै कृति भित्र लुकेको ऐतिहासिक चेतको ज्ञान आफ्नो अनुभवलाई बिर्सेर होइन, त्यसलाई नै जोडेर पाउन सकिन्छ । यसरी महान कला र साहित्यका कृतिका भाषामा कुँदिएको अर्थ उस्तै जीवन भोग्‍ने आफ्ना पूर्वज र अरू मान्छेहरूसँग मिलेर उधिन्न खोज्दा आफूले भोगी राखेका र बुझी राखेका जीवनका अभिव्यक्तिहरू मात्र बुझिँदैनन्; यसो गर्दा पाठकले आफ्नै जीवनको रहस्य र ऐतिहासिकता पनि बुझ्न सक्छ (Palmer 178) ।

३.३.३ परिस्थिति सापेक्षता : बुझाइ परिस्थिति निरपेक्ष हुँदैन (Palmer 121) अनि मानविकीमा (अर्थात् कला र साहित्यमा) परिस्थिति भनेको नै आफ्नै जिउँदो अनुभव[vii] सँगको तुलना हो । मान्छेको आफ्नै अस्तित्व बोधको ऐतिहासिकताका सन्दर्भ र परिस्थितिमा कुनै साहित्यिक वा कलात्मक कृतिको अर्थ विश्लेषण गर्नु पर्छ भन्ने डिल्देको धारणा छ (Palmer 122) ।

ग्याडामर के भन्दछन् भने, कुनै महान कला कृति पढ्दा पाठकले आफू भित्र अरूको लोक र अस्मिता छिराउने हुनाले पाठकको आफ्नै नेटो र बुझाइ भरिएर फराकिलो हुँदै जान्छ; पाठकलाई सधैँ चिनी राखेको आफ्नै जीवन जगत् र सधैँ देखी राखेका वस्तु पनि कृतिले देखाएका उज्यालामा पहिलो पल्ट देखे जस्तो नौलो लाग्छ । यसरी कुनै कला जगतमा पसी राखेका वेलामा हामी आफूले सधैँ भोगी राखेको क्षण र इतिहास छोडेर अन्यत्र जाँदैनौ; हामी आफ्नो कला बाहिरको दुनियाबाट अलग्ग हुँदैनौ; बरु पुरै उपस्थित हुन्छौँ । कृति पढी सक्ता नसक्ता हामी आफ्ना अनुभव र अस्मितालाई पनि त्यसैमा घोल्दै जान्छौँ; हामीलाई कला भित्र आफ्नै जगत् र अस्मिता झन साँचो लाग्छ । यसरी कला कृतिले हामीलाई आनन्द मात्र दिँदैन; हाम्रो आफ्नै अस्मितालाई झन प्रस्ट पारेर देखाई दिन्छ (Palmer 167-168) ।

 

 

४.    संवादात्मक भाष्य विज्ञान

 

फ्रेड्रिक स्लेयर्माखर (१८१९ ई)  यास्टका समकालीन थिए र स्लेयर्माखरको भाष्य वैज्ञानिक समालोचनामा कृति समीक्षा गर्ने विधिमा यास्टको प्रभाव परेको कुरो उनैले स्वीकार गरेका छन्, तर स्लेयर्माखरलाई आधुनिक भाष्य विज्ञानका जन्म दाता पनि मानिन्छ ।

स्लेयर्माखरका विचार (Palmer 84-97) मा बुझ्ने काम भनेको कृतिकारसँग पाठकको दोहोरो कुराकानी[viii] जस्तै हो । कसैले बोलेका कुरा सुनेर आफ्नो दिमागमा भएको कुनै रहस्यमय प्रक्रियाबाट श्रोताले कुरो बुझ्छ । स्लेयर्माखरको भाष्य विज्ञान “संवादात्मक भाष्य विज्ञान” थियो (Palmer 94) ।

ग्याडामरका विचारमा कुनै कृति बुझ्ने क्रम भनेको, पाठक वा समालोचकले आफैँले बुझी राखेको कुरासित त्यस कृतिमा देखा परेको कुरो जुधाउने वा भिडाउने एउटा संवादात्मक अन्तरक्रिया हो, त्यसैले कुनै कला वा साहित्यको कृति बुझे पछि पाठकको नेटो पनि फराकिलो हुँदै जान्छ र विस्तारै पाठकले आफैँ भित्र कृतिलाई मिलाउँछ (Palmer 183) । पाठकले कृतिमा एउटा प्रश्न सोध्छ; कृतिले पनि पाठकलाई एउटा प्रश्न सोध्छ; यसरी अर्थ विश्लेषणको काम संवादात्मक बन्छ । ग्याडामरको यस विचारमा हिगलको प्रभाव छ । अनुभवको बेहोरा नै द्वन्द्वात्मक हुन्छ भनेर ग्याडामर भन्दछन् । ग्याडामरका विचारमा जुनसुकै कुरो बुझ्दा पनि यो हो कि त्यो हो भन्ने प्रश्न तेर्स्याइन्छ । हरेक प्रश्नले नकारात्मकता, अभाव वा अज्ञान जनाउँछ (Palmer 198) । विषय वस्तुमा चुर्लुम्म नडुबी कृतिमा प्रश्न गर्न पनि जानिँदैन । कृतिसँग संवाद गर्नु र विवाद गर्नु एउटै कुरो होइन । विवाद गर्दा चाहिँ प्रतिद्वन्द्वीलाई खसाल्नु पनि पर्छ, तर संवादमा त प्रतिद्वन्द्वी नै हुँदैन; एक अर्काको कुरो समर्थन गर्दै, कुरो बाट्तै प्लाटोका संवादमा झैँ, निष्कर्षमा पुगिन्छ । भाष्य विज्ञानका कुराकानीमा पाठक र कृति दुवै चुर्लुम्म डुब्‍ने विषय वस्तु भनेको परम्परा हो । त्यहाँ पाठ र पाठक दुइटै मिलेर एउटै टुङ्गामा पुग्छन्; दुवै मिलेर कृतिलाई अज्ञात देशबाट उकासेर आफैँले चिनेको वर्तमानमा पुर्‍याउँछन् (Palmer 199-200) ।

 

५.    जीवनवाद : आफ्नै जीवनसित जोडेर अर्थ लगाउने विधि

 

आफ्नै जीवनसित जोडेर भाष्य विज्ञानको धारणा बनाउने कुरो पनि स्लेयर्माखरको मौलिक हो । स्लेयर्माखर, डिल्दे र हाइडेगर तिनै जनाले “जीवनमै घटाएर” बुझाइका प्रक्रियाहरूको व्याख्या गरेका छन् (Palmer 96) ।

डिल्देले कुनै रचनामा लेखकका “आन्तरिक जीवनका कलात्मक अभिव्यक्ति” हरूको वस्तुगत र प्रामाणिक विश्लेषण र व्याख्या गर्ने विधिहरूको खोजी गरेका छन् । हाम्रो सोचाइ नै आफ्नै जीवनका आडमा विकास गर्नु पर्छ (Palmer 98-99) । डिल्दे जीवनवादी दार्शनिक थिए । “जीवन दर्शन” का तिन शिखर पुरुषमा नित्से, डिल्दे र बर्गसाँको नाउँ आउँछ । जीवनवादी दार्शनिकहरूका विचारमा मस्तिष्क र अस्तित्वका बलहरू चाहिँ अचल हुन्छन्, तर जीवनका बलहरू चाहिँ सधैँ गतिशील, सधैँ सिर्जनशील र अर्थका कहिल्यै नरित्तिने स्रोतका रूपमा रहेका हुन्छन् (Palmer 102) । डिल्देका विचारमा जीवनको आन्तरिक गतिशीलताको अभिव्यक्ति बुझ्न त संज्ञान[ix] वा चिन्ने प्रक्रिया, सुख दु:ख र आतेस जस्ता मनका भावना[x] र इच्छा शक्ति[xi] को जटिलता बुझ्नु पर्ने हुनाले बाहिरी सामग्रीका आधारमा प्राकृतिक विज्ञानको शोध विधिमा पर्ने तथ्याङ्‍क शास्त्र र कारण कार्य सम्बन्ध प्रयोग गरेर त्यो बुझ्न र केलाउन त कान्ट (Kant) ले भने झैँ सकिँदैन; जीवनलाई त जीवनकै अनुभवबाट बुझ्नु पर्छ; जीवनलाई बुझ्न कान्टको तार्किक यथार्थ[xii] काम लाग्दैन (Palmer 102) ।

हुस्सेलका विचारमा काव्य वा कलाको लक्ष्यार्थसँग त्यहाँ देखा परेको कुनै वस्तु जनाउने शब्दको के साइनो होला भनेर पाठक वा समालोचकले आफैँलाई सोध्‍नु पर्छ । त्यसको जवाफ खोज्दा पाठक वा समालोचकले आफ्नै बितेका अनुभवका कुरा एकातिर सम्झन्छ भने, अर्कातिर कल्पनाबाट त्यसको पुर्तल गर्छ  (Macann 32) । हुस्सेलले कृतिको अभिप्राय पत्तो लगाउने मनोरचना वैज्ञानिक विधिमा प्राकृतिक विज्ञानको जस्तो पुरानो किसिमको वस्तुपरकता काम नलाग्‍ने ठहराएका छन् । हुस्सेलका विचारमा कुनै कृतिको अभिप्राय पत्तो लगाउँदा पाठक वा समालोचकको जीवन जगतमा भएका सबै वस्तुहरू क्रियाशील हुन्छन्; यसरी कुनै मान्छे साक्षी नभएको निर्जन वैज्ञानिक वस्तुपरकताका विरुद्ध सबै मान्छेसँग साझे भएको अनि अस्मिता र अभिप्राय गाँसिएको जीवन जगत् नै अर्थ विश्लेषणमा काम लाग्छ (Palmer 179) ।

हाइडेगरका विचारमा हरेक पाठक, विश्लेषक वा समालोचकले कृति भित्रको जगतमा आफ्नै अस्मिता वा अस्तित्वको खोजी गर्छ (Palmer 131) । यास्ट, स्लेयर्माखर र डिल्देको ‘भाष्य वैज्ञानिक चक्र’ सम्बन्धी धारणा र हुस्सेलको अस्तित्ववाद सम्बन्धी प्रारम्भिक धारणाबाट हाइडेगरको यो अस्तित्ववादी धारणा जन्मेको हो ।

हाइडेगरका विचारमा जगत् भनेको सम्पूर्ण चराचर भएको जगत् नभएर मान्छेकै परिवेश मात्र हो, जहाँ मान्छेले हरेक व्यक्ति र वस्तु आफैँसँग सम्बन्धित भएको पाउँछ (Palmer 132) । जगतसँग सम्बन्धित यसै धारणासँग जोडिएर कुनै वस्तुको अस्तित्व आफैँ प्रकट हुन्छ । मान्छेले दैनिक जीवनमा अनेक सर्दाम अनेक कामका लागि चलाउँछ । जब कुनै सर्दाम भाँचिन्छ वा हराउँछ, अनि मात्र त्यसको महत्त्व, अस्तित्व र अर्थ थाह हुन्छ । यसरी कुनै व्यक्ति वा वस्तुको अर्थ आफैँ उपस्थिति र अनुपस्थितिको फरकबाट हुने काम र खाँचाबाट प्रकट हुन्छ, घोत्लिँदैमा हुँदैन भन्ने हाइडेगरको भाष्य वैज्ञानिक सिद्धान्तको पुष्टि हुन्छ (Palmer 133) । पाठ वा कुनै कृति भित्रको जगतमा भाषाका रूपमा कुनै वस्तुको अस्मिता र ऐतिहासिकता यसै गरी लिपिबद्ध भएको हुन्छ, तर कुनै वस्तु वा व्यक्तिको अर्थ त पारस्परिक साइनामा अडिएको हुन्छ; भाषा भन्दा पनि व्यक्ति र वस्तुसँगको मान्छेको पारस्परिक साइनो पुरानो हो, तर भाषामा ती सबै सम्बद्धता गाँसिएको वा अङ्‌कित हुन्छ (Palmer 134) । मान्छेको अस्तित्वसँग नजोडी हाइडेगरले कुनै कृतिको अर्थै लगाउँदैनन् (Palmer 137) ।

डिस्कार्टिजले यो जगतको सत्यता मान्छेका सापेक्षतामा मात्रै नापिन्छ भन्ने आत्मपरकतावाद[xiii] को सिद्धान्त प्रतिपादन गरेका छन् । हाइडेगरमा त्यसको प्रभाव छ । आत्मपरकतावाद अनुसार कला, संस्कृति र मूल्य पनि मान्छेकै उपयोगितामा आधारित हुन्छ (Palmer 144-145) ।

ग्याडामर भन्दछन्, जसरी कुनै खेलको जगत् र त्यसका खेलाडीको जगत् हाम्रै जगतबाट बनेको भए पनि खेल भित्रको जगत् र खेलाडी बेग्लै भूमिकामा देखिन्छन् (Palmer 175), त्यसै गरी एकातिर हाम्रो जगत् कला जगतका रूपमा फेरिएको हुन्छ भने अर्कातिर कला कृतिमा हामीले चिनेको वस्तु पनि अर्कै रूपमा फेरिएको हुन्छ । कलामा जगत् र वस्तुको यो दोहोरो रूपान्तरण भए पनि ग्याडामरले कला जगत् हाम्रो जगत् भन्दा बेग्लै होइन भन्ने धारणा राखेका छन् । उनका विचारमा कला जगत् र हामीले भोगेको अस्मिता अनि बाह्‍य जगत् उही र साझे भएकाले नै पाठकले कुनै कला कृति बुझ्न सक्छ (Palmer 169-170) ।

डिल्दे र ग्याडामरका विचारमा के फरक छ भने, डिल्दे चाहिँ प्राकृतिक विज्ञानको वस्तुपरकताबाट प्रभावित छन्, तर ग्याडामर चाहिँ कृति विश्लेषण गर्दा पाठक वा समालोचकले आफ्नै अनुभव, अस्मिता र वर्तमानका सापेक्षतामा कृति विश्लेषण गर्छ भन्ने धारणा राख्छन् (Palmer 178) । ग्याडामर के भन्छन् भने, हामीले आफ्नो बुझाइको संरचना कस्तो छ भन्ने कुरो ध्यान दिएर विचार गर्दा हामी के पाउँछौँ भने, कुनै कृति बुझ्न हामी जुन जुन प्रश्नहरू राख्छौँ, ती प्रश्नहरूको क्रम अतीतका आडमा भविष्य बुझ्न हामीले आफ्नै जीवनमा राखेका प्रश्नहरूको क्रमसित मिल्छ (Palmer 182) ।

ग्याडामर अर्को कुरो के पनि के भन्दछन् भने, कुनै कृतिको विश्लेषण गर्दा हाम्रा पूर्वाग्रह छुट्तैनन् र छुट्नु पनि हुँदैन, किन भने हामीले इतिहास बुझ्ने नै तिनै पूर्वाग्रहहरूका आडमा हो, हाम्रा पूर्वाग्रहहरू आफ्नै परम्पराबाट बनेका हुन्छन् अनि पूर्वाग्रहहरूबाट नै हरेक व्यक्तिको ऐतिहासिक यथार्थ  बन्छ, यसैले कृति विश्लेषणमा पूर्वाग्रहहरूको ठुलो महत्त्व हुन्छ । जे जस्ता धारणा र पूर्वाग्रहहरूका आडमा हामी आफ्नो अस्मितामा गर्व गर्छौँ, ती धारणा र पूर्वाग्रहहरू परम्पराले नै बनाएको हुन्छ (Palmer 182-183) ।

अनुभूतिका कुरा गर्दा प्राय हामी विज्ञानको प्रभावले दृश्य र संवेद्य वस्तुगत अनुभूतिका मात्र कुरा गर्छौँ, हामी आफ्नै अनुभवका रूपमा रहेको वस्तुमय नहुने इतिहासलाई चाहिँ बिर्सिन्छौँ (Palmer 194), तर कृति विश्लेषणमा आफ्नै अनुभव सबै भन्दा धेरै काम लाग्छ भन्ने ग्याडामरको विचार छ।

ग्याडामरले दृश्य जगतका सबै वस्तु र ‘वस्तुगत जगत्’ को परिचय र परिभाषा हाम्रै ‘जीवन जगत्’ का सापेक्षतामा हुन्छ भन्ने धारणा अघि सारेका छन् । उनका विचारमा विज्ञानको वस्तुपरकताका आधारमा हाम्रो जीवन जगतको परिभाषा हुँदैन (Palmer 179-180) ।

 

६.     अर्थ विश्लेषणमा परिस्थितिको भूमिका

 

कुरा बुझ्न बालखले पनि परिस्थितिबाट सहयोग लिन्छ । बालखले जसरी वाक्यमा भएको प्रयोग र परिस्थितिबाट शब्दको अर्थ बुझ्छ, भाष्य विज्ञानले त्यसै गरी प्रयोग र प्रसङ्‍ग केलाएर शब्दको र पुरै भाषाको अर्थ बुझ्न सिकाउँछ (Palmer 94) ।

हुस्सेलका विचारमा हरेक मान्छेका अगाडि वर्तमान नै जिउँदो भएर आउने हुनाले भूत र भविष्यत काल पनि आधारभूत रूपमा वर्तमानकै उपज हुन्, यसैले समालोचकले कुनै कृतिको विश्लेषण गर्दा वर्तमानको यथार्थ वा सापेक्षतालाई बिर्सिन सक्तैन (Macann 53) ।

ग्याडामरका विचारमा हामीले आफ्नो वर्तमानमा राखेका प्रश्नहरूका आडमा नै अतीतको कुनै कृति बुझ्न सक्छौँ, किन भने वर्तमानसँग सान्दर्भिक पारेर नजोडी कुनै साहित्यिक कृतिको विश्लेषण हुनै सक्तैन । कृति विश्लेषणबाट आउने अर्थ जहिले पनि वर्तमानसँग सम्बन्धित भएर जोडिने गर्छ (Palmer 182-184) । कला वा साहित्यको कुनै कृति अध्ययन गरी रहेका वेलामा अतीत पनि वर्तमान भएर आउँछ भन्ने ग्याडामरको विचार छ[xiv]

न्यायालयका बहसमा र धार्मिक व्याख्यानमा झैँ कृति जगतको अतीतलाई वर्तमानमा उपयोग नगरी कृति विश्लेषणको कामै पुरा हुँदैन । कृति विश्लेषणमा वर्तमानका समस्या समाधान गर्न पाठ जगतको अतीतले सघाउँछ । कृति विश्लेषणमा बुझ्ने, व्याख्या गर्ने र आफ्नो समस्याका समाधानमा कृति जगतका अतीतको उपयोग गर्ने तिन ओटै पाटा हुन्छन् भन्ने राम्बाखको विचारबाट पनि ग्याडामर प्रभावित छन् (Palmer 187) । काव्य जगत (अथवा मिथक र पुराणहरू) को नबुझिने अतीतलाई वर्तमानको समस्या समाधान गर्न उपयोग गर्ने यस प्रक्रिया वा विधिलाई रुडोल्फ बुल्ट्मनले ‘अपमिथकीकरण[xv]’ भन्ने नाम दिएका छन् (Palmer 189) । हरेक कृतिको विश्लेषणमा अपमिथकीकरण नगरी हुँदैन । रमाइलो कुरो के हुन्छ भने, कुनै काव्य पढी रहेका वेलामा कृति भित्रको अतीत वर्तमानमा घटी रहेको अनुभव गरिन्छ (Palmer 190) ।

ग्याडामरको भाष्य वैज्ञानिक समालोचनामा अतीत र वर्तमानको दूरी महत्त्व पूर्ण हुन्छ, किन भने समयले नै कुनै कृतिलाई महत्त्व पूर्ण प्रमाणित गर्छ र अरू कति कृतिहरूलाई कम महत्त्वको ठहराएर विस्थापित गर्छ । समयको अन्तराल एक किसिमले नाटकको पर्दा भित्रको यथार्थ र दर्शकहरू कहाँ सम्प्रेषित एकान्वितिको यथार्थका बिचको फरक जस्तै हो । वर्तमानमा कुनै कृतिका कति यथार्थहरू चाल पाइँदैनन्, समयको दूरी[xvi] ले महत्त्व पूर्ण कति अर्थहरूलाई चाल पाइने बनाउँछ । भाष्य विज्ञानले समयको त्यस अन्तरालमा बुझाइको त्यस इतिहास र परम्पराको फरकलाई पुर्तल गर्न मध्यस्थता गर्छ भन्ने ग्याडामरको विचार छ (Palmer 184-185) । यसरी समयको अन्तरालले पाठक वा विश्लेषकलाई अलग्याउने खोल्सामा पुल हाल्ने काम कृति विश्लेषणले गर्छ (Palmer 188) ।

 

७.     निष्कर्ष

यसरी कृति विश्लेषण सिकाउने पाश्चात्य समालोचनाको जर्मनेली भाष्य विज्ञान एकातिर जर्मन दार्शनिक कान्ट, हेगल, हुस्सेल, नित्से र अस्तित्ववादी हाइडेगर (र पछि फ्रान्सेली दार्शनिक साख्थे) हरूको दर्शनसँग जोडिँदै आफ्नै काया दार्शनिक बनाई रहेको देखिन्छ भने अर्का तिर अमेरिकाली नव समालोचना र उत्तर आधुनिक विचारहरूको मिर्मिरे देखाई रहेको पाइन्छ ।



[i] Hermeneutical circle

[ii] Hermeneutical circle

[iii] Mental transfer

[iv] Part

[v] Whole

[vi] Context

[vii] Lived experience

[viii] Dialogue

[ix] Cognition

[x] Feelings

[xi] Will

[xii] Transcendental reality

[xiii] Subjectism

[xiv][xiv] Sense of presentness

[xv] Demythologiging

[xvi] Temporal distance

 

सन्दर्भ सामग्री

Kant, Immanuel. The critique of pure reason. Þýð. J.M.D. Meiklejohn. ?: ?, 1781.

Macann, Christopher. Phenomenological philosophers. New York: Routledge, 1993.

Palmer, Richard E. Hermeneutics: Interpretation theory in Schleirmacher, Dilthey, Heidegger and Gadamer. Evanston: Northwestern University Press, 1969.

 

Leave a Reply