डा.बल्लभ मणि दाहाल

१. झर्रोवादी आन्दोलनका सहभागी

डा.बल्लभ मणि दाहाल नेपालका प्रसिद्ध भाषा वैज्ञानिकको नाउँ हो। सं.२०१३ सालमा बनारसबाट बालकृष्ण पोखरेलको नेतृत्वमा ‘नौलेा पाइलो’  भन्ने पत्रिका निस्केको थियो। ‘झर्रो नेपाली आन्दोलन’ भन्ने नामले परिचित भाषिक आन्दोलन त्यसै पत्रिकामार्फत आएको हो। बल्लभ मणि दाहाल पनि त्यस आन्दोलनका एकजना सहभागी हुनुहुन्थ्यो। बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कोशराज रेग्मी, बल्लभ मणि दाहाल, चूडामणि रेग्मी, गणेश भण्डारी र पोषराज निरौला जस्ता झर्रोवादी आन्दोलनमा संलग्न सबै भाषाविद्हरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महानन्द सापकोटाको भाषिक राष्ट्रवाद र जनजिब्रोवादबाट प्रभावित भएका थिए।

२. महानन्द सापकोटाको प्रभाव

बल्लभ मणि दाहाल महानन्द सापकोटालाई गुरु मान्नुहुन्थ्यो र गुरु भनेरै सम्बोधन गर्नुहुन्थ्यो। राष्ट्रवादको चेतना मान्छेलाई स्वदेशमा बसेका वेलामा भन्दा विदेशमा बसेका वेलामा चर्को रूपमा हुन्छ। महानन्द सापकोटा पनि इलाममा जन्मेर आसामको दरङ जिल्लामा हुर्केका थिए अनि दार्जिलिङमा धरणीधर कोइरालाका घरमा बसेर पढेका थिए। विदेशमा हुर्केकाले महानन्दमा राष्ट्रवादी चेत तिक्खर थियो। टर्नरले नेपाली भाषाको व्युत्पत्तिमूलक शब्दकोश बनाउँदा धरणीधर कोइरालाको सहयोग लिएको महानन्दले नजिकैबाट देखेका थिए। यसले गर्दा महानन्दलाई विदेशीले त नेपाली भाषाको त्यति राम्रो शब्दकोश बनाए भने मैरै मातृभाषा नेपालीको व्युत्पत्तिमूलक शब्दकोश म आफैँ किन नबनाऊँ भन्ने प्रेरणा जाग्यो। नेपाली भाषाको व्युत्पत्तिमूलक शब्दकोश बनाउने सङ्कल्प गर्ने महानन्द पहिलो नेपाली हुन् भने बालकृष्ण पोखरेल दोस्रो नेपाली हुने बाटामा अघि बढिरहेका छन्। महानन्द जोसमनी सन्त ज्ञानदिलदासका चेला थिए भन्ने सूचना शङ्कर सुब्बा फागोले बटुलेका छन्। जोसमनी सन्तहरू निर्गुण भक्ति गर्ने हुनाले मूर्तिपूजाको विरोध गर्ने, आचारशुद्धिमा विश्वास गर्ने अनि चेतनामा प्रगतिशील र एक किसिमले राष्ट्रवादी पनि थिए। झर्रोवादीहरू धेरैजसो चाहिँ वामपन्थी विचारधाराबाट अनुप्राणित थिए। तिनीहरूलाई महानन्दका विचारहरू प्रगतिशील र राष्ट्रवादी लाग्थ्यो। यसरी सबैजसो झर्रोवादीहरू राष्ट्रवादी, प्रगतिवादी र नेपाली भाषाको मौलिकता जोगाउन घम्मर गरेर लाग्ने लेखक भएर निस्के। महानन्दको प्रेरणा र प्रभाव अनि झर्रोवादी आन्दोलनका विचारले गर्दा नै बालकृष्ण पोखरेल भाषाशास्त्रमा एम.ए. (२०१८साल?) पास गर्ने पहिलो नेपाली भए।

३. समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्सको प्रभाव

सं.२०१९–२० सालतिर नेपालमा समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स खुल्यो। त्यसले आफ्नो मुकाम कीर्तिपुरमा बनायो अनि नेपाल तथा एसियाली अध्ययन संस्थानसँग समन्वय गरेर नेपालका भाषाको व्यापक रूपमा वैज्ञानिक अध्ययन गर्न थाल्यो। त्यस संस्थासँग विश्वप्रसिद्ध भाषा वैज्ञानिक पाइक पनि सम्बद्ध थिए र डा.अस्टिन हेलको त्यसमा प्रमुख नेतृत्व थियो। अस्टिन हेलले प्रारम्भिक तालिम सुभद्रा सुब्बा, बल्लभ मणि दाहाल, कमलप्रकाश मल्ल, चूडामणि बन्धु, तेजरत्न कंसाकार, आदिलाई दिए। महानन्द सापकोटा, बालकृष्ण पोखरेल र डा.अस्टिन हेलको संयुक्त प्रभाव परेर बल्लभ मणि दाहाल पुणे विश्वविद्यालयमा भाषाविज्ञानमा पीएच.डी. गर्न जानुभयो। सुभद्रा सुब्बालाई चाहिँ भाषाविज्ञानमा पीएच.डी. गर्ने प्रेरणा आर.के. स्प्रिगबाट मिलेको होला। कमलप्रकाश मल्ल, चूडामणि बन्धु र तेजरत्न कंसाकारलाई भाषाविज्ञानमा पीएच.डी. गर्ने प्रेरणा चाहिँ डा.अस्टिन हेलबाट मिलेको हो। माथि लेखिएका कारणले गर्दा भाषाविज्ञानमा पीएच.डी. गर्ने पहिलो नेपाली डा.सुभद्रा सुब्बा (१९७३इ.) दोस्रो र तेस्रो नेपाली डा.बल्लभ मणि दाहाल (१९७४इ.) र डा.कमलप्रकाश मल्ल (१९७४इ.), चौथो र पाँचौँ नेपाली डा.चूडामणि बन्धु (१९७८इ.) र डा.शिशिरकुमार स्थापित (१९७८इ.) अनि छैटौँ नेपाली डा.तेजरत्न कंसाकार (१९७९इ.) भएको देखिन्छ।

४. राजनीतिक संलग्नता र रुचि

डा.बल्लभ मणि दाहाल अहिलेको सङ्खुवासभा जिल्लामा पर्ने चैनपुर मादीमा जन्मेका संभवतः सबैभन्दा प्रसिद्ध व्यक्तिको नाम हो। मैले केटाकेटी अवस्थादेखि नै उहाँको नाम सुनेको हुँ। छाँटले उहाँको धेरै नाउँ चलेको चाहिँ वामपन्थी मैदानमा उहाँको सक्रियता र प्रतिभाशाली तथा प्रभावशाली छविले गर्दा होला। बल्लभ मणि दाहाल म भन्दा बाह्र―पन्ध्र वर्ष जेठा हुनुहुन्थ्यो होला, त्यसैले म सिङाने केटो हुँदा नै उहाँ नेता भइसक्नुभएको रहेछ। एकपल्ट विद्यानाथ पोखरेल र बल्लभ मणि दाहाल एकैचोटि जेल पर्नुभएको रहेछ। त्यसवेला विद्यानाथ पोखरेलले उहाँको नाउँ आफ्नो कान देखाएर “ए, कान छो कैदी !” भन्ने गरेका रहेछन्। यस प्रसङ्गबाट के बुझिन्छ भने, कलिलै उमेरमा बल्लभ मणि दाहाल वामपन्थी राजनीतिमा हेलिनुभएको रहेछ।

५. वामपन्थी संस्कार

नेपालमा वामपन्थी हुनु एउटा मात्रा र प्रतिशतको कुरो मात्र रहेछ। डा.केसरजङ्ग रायमाझीदेखि पुष्पकमल दाहालसम्म लस्करै नेताहरूलाई मिलाउनु हो भने, वामपन्थीहरू एउटै स्केलको कोही देब्रेतिर पर्छन्, कोही दाहिनेतिर पर्छन्। डा.रायमाझीभन्दा पनि दाहिनेतिर पर्ने थुप्रै वामपन्थीहरू म चिन्दछु, तर पुष्पकमल दाहालभन्दा देब्रे तिर पर्ने पनि थुप्रै वामपन्थी हुन सक्छन्, तिनीहरूलाई म चिन्दिन। माओवादी पार्टी मूलधारमा आएको दिन पुच्छर चुँडिएर देबे्रतिर कोही छुट्ला कि भनेर मात्र मैले यो खाली ठाउँ राखेको हुँ। डा.रायमाझी भन्दा दाहिनेतिर पर्ने वामपन्थीहरू कोही पञ्च भएका थिए अथवा पञ्चायतलाई सघाउँदै थिए, अहिले पनि गोप्य रूपमा अथवा खुल्ला रूपमा नेपालमा राजाको शक्ति बलियो बनाउन लागिरहेकै होलान्। यस्ता वामपन्थीलाई मैले डा.रायमाझी भन्दा दाहिनेतिर राख्नुपर्ने कारण के हो भने, डा.रायमाझीले अरू वामपन्थीहरूलाई आफ्नो नीति लुकाएर राखेजस्तो मलाई लाग्दैन। पञ्चायतलाई खुलेरै सघाउने वामपन्थीहरू कमलराज रेग्मी, शैलेन्द्रकुमार उपाध्याय र डा.बल्लभ मणि दाहाल थिए। उनीहरूलाई मैले वामपन्थी नै भनिराख्नुपर्ने कारण के हो भने, राजा र पञ्चायतलाई पूरै सघाए पनि उनीहरूको वामपन्थी संस्कार र आचरण कहिल्यै पनि गएन। अर्कातिर नेपाली वामपन्थीहरूको वामपन्थिताको नापो आत्मदृष्टि र परदृष्टिमा कति हो कति फरक पर्ने गरेको छ। के समस्या छ भने, एउटा बगालको वामपन्थीले अर्को बगालको वा एक्लो वामपन्थीलाई बिटुलो अनि शोषक, सामन्त, पुँजीपति, दलाल, दरबार र विदेशको भरौटे भनेर व्याख्या गर्दै चिनाउँछ अनि उसका चेलाहरू गुरुले पढाएकै कुरो ट्याउँट्याउँ गर्छन्। यस रोगले गर्दा वामपन्थीहरूको सङ्ख्या ठूलै भएपनि तिनीहरूले अल्पमतमै पर्ने नियति रोजेकाले गर्दा उनीहरू भाषणमा जसलाई परास्त गर्ने कसम खान्छन्, त्यसैको भलो हुने परिस्थितिका सहजकर्ता हुन पुग्छन्।

डा.बल्लभ मणि दाहाल राजा वीरेन्द्रलाई सघाउने एउटा वामपन्थी हुनुहुन्थ्यो। उहाँ कति प्रतिशत वामपन्थी हुनुहुन्थ्यो भन्ने कुराको लेखाजोखा म गर्न सक्तिन। उहाँ गरिब, निःसहाय र निम्सराहरूलाई भित्री मनले सघाउनुहुन्थ्यो र त्यस वर्गको वकालत गर्नुहुन्थ्यो। यो मान्छे ठीक छ भन्ने लाग्यो भने, त्यसको भर गर्न लागिपर्नुहुन्थ्यो। उहाँ राष्ट्रवादी र देशभक्त हुनुहुन्थ्यो। उहाँ नेपाली भाषा र संस्कृति भनेपछि हुरुक्क हुनुहुन्थ्यो। नेपालका सबै जनजाति र तिनीहरूका भाषा र संस्कृतिका उहाँ प्रशंसक हुनुहुन्थ्यो र तिनीहरूको संरक्षण, उत्थान र विकासका लागि सघाउन उहाँ सधैँ तत्पर हुनुहुन्थ्यो। उहाँ औपचारिकताभन्दा अनौपचारिकता मन पराउनुहुन्थ्यो। उहाँ सबैसँग मित्रवत् व्यवहार गर्नुहुन्थ्यो। यी गुणहरू आदर्श नेपालीका संस्कारबाट आए कि उहाँका वामपन्थी गुरुबाट उहाँले पाउनुभयो, त्यो त म भन्न सक्तिन, तर डा.बल्लभ मणि दाहालकै जस्तो फराकिलो छाती र आदर्श भएका सबै नेपाली नेता भइदिए, नेपाल र नेपालीको उन्नति र भलो अवश्य हुने थियो भन्ने कुरामा मलाई रत्तिभर पनि शङ्का छैन।

६. वर्णविन्यासमा सुधार, अनिवार्य नेपालीका गोष्ठी र नेपाली बृहत् शब्दकोश

म २०२७ सालमा अर्थशास्त्र पढ्न कीर्तिपुर आएका वेलामा मैले बल्लभ मणि दाहाललाई पहिलोपल्ट देखेको हुँ। त्यस वेला उहाँ पूना विश्वविद्यालयमा पीएच.डी. गर्दै हुनुहुन्थ्यो। विषम परिस्थितिले गर्दा मैले धेरै महिना अर्थशास्त्र पढ्न पाइन। म धरान फर्कें। स्वाध्ययनबाट मैले नेपालीमा एम.ए. पास गरेपछि म व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा पढाउन थालेँ। डा.बल्लभ मणि दाहालसँग मेरो परिचय २०३४ सालमा भएको हो। त्रिभुवन विश्वविद्यालयमा अनिवार्य नेपाली पढाउने प्राध्यापकहरूको पहिलो राष्ट्रिय अधिवेशन पद्मकन्या क्याम्पसमा भएको थियो। डा.दाहालले त्यसवेला मसँग आत्मीयतासाथ एकान्तमा परिचय लिनुभएको थियो।

त्रिभुवन विश्वविद्यालयमा २०३० सालदेखि नयाँ शिक्षा योजना लागु भएको हो। नयाँ शिक्षा नलागुन्जेल अनिवार्य नेपाली भन्ने विषय नै थिएन। खालि ५० अङ्कको भर्नाकुलर नेपाली भन्ने एउटा पाठ्यक्रम थियो र त्यसका बद्लामा वैकल्पिक अङ्ग्रेजी रोज्न पाउने व्यवस्था थियो। अनिवार्य नेपाली भन्ने विषयका जन्मदाताहरूमा डा.दाहालको भूमिका उल्लेखनीय देखिन्छ। मैले थाह पाएका वेलामा अनिवार्य नेपाली विषय समितिका अध्यक्ष पनि डा.दाहाल नै हुनुहुन्थ्यो।

माथि उल्लेख गरिएको पद्मकन्या क्याम्पसको अधिवेशनमा डा.दाहालकै केन्द्रीय भूमिका देखिन्थ्यो। त्यस अधिवेशनको उपलब्धि भनेको नै नेपालीमा प्रचलित आगन्तुक शब्दहरूलाई नेपाली वर्णविन्यासअनुसार लेख्ने, क्षतिपूरक दीर्घीभवनको नियम तद्भव शब्दको वर्णविन्यासमा लागु गर्ने र तत्सम शब्दमा अनुस्वार र पञ्चम वर्णको विकल्पमध्ये पञ्चम वर्ण चाहिँ लेख्न लगाउने भन्ने सहमति भयो। बालकृष्ण पोखरेलको संयोजकत्वमा सम्पादित र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश तिनै नियमको पालन गर्ने दस्ताबेज हो।

यसरी नेपाली वर्णविन्यासलाई पछिल्लोपल्ट नियमित गर्नेमा डा.बल्लभ मणि दाहालको भूमिका उल्लेखनीय छ। नेपाली वर्णविन्यासलाई सरलीकरण र नियमित गर्ने प्रयासमा वीरेन्द्रकेसरी अर्ज्याल (१९६३), राममणि आ.दी. (१९६५), हेमराज पण्डित (१९६९) र नेपाली कसरी शुद्ध लेख्ने? (१९९२) को उल्लेखनीय भूमिका छ। यसबीचमा सूर्यविक्रम ज्ञवाली, महानन्द सापकोटा, शिवराज आचार्य, ईश्वर बराल, चूडामणि रेग्मी र मुकुन्द शरण उपाध्यायका वैकल्पिक प्रस्तावहरू पनि उल्लेखनीय ऐतिहासिक प्रयास भएका छन्।

डा.वासुदेव त्रिपाठीको भनाइअनुसार बालकृष्ण समको देहावसान नहुँदै साझा प्रकाशनले नेपाली वर्णविन्यासलाई नियमित गर्ने उद्देश्यले एउटा गोष्ठी गरेको थियो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रद्वारा गरिएको गोष्ठीले नेपाली वर्णविन्यासलाई नियमित गर्ने प्रयासमा जुन उल्लेखनीय फड्को मार्‍यो, उनको भनाइअनुुुसार त्यसको सहमति साझा प्रकाशनको उक्त गोष्ठीमै भएको  थियो। मैले डा.त्रिपाठीसँग त्यसको दस्ताबेज मागेको छु, उनले दिन्छु त भनेका छन्, तर मैले अहिलेसम्म देख्न नपाएकाले त्यसको मीमांसा गर्नं सकेको छैन। त्यो दस्ताबेज प्रकाशित भएन क्यार। त्यसका सूत्रधारहरूमध्ये बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, डा.ईश्वर बराल र गणेश भण्डारी अहिले छैनन्। डा.तारानाथ शर्मालाई मैले सोध्दा उनी के भन्छन् भने, त्यस गोष्ठीमा वास्तवमा सहमति नै केही भएन। सूर्यविक्रम ज्ञवाली र ईश्वर बराल नेपाली वर्णविन्यासको सुधारका लागि राखेको प्रस्तावका विपक्षमा भएकाले कुरो कुनै निष्कर्षविनै टुङ्गिएको थियो। डा.चूडामणि बन्धुले पनि त्यस गोष्ठीमा केही निष्कर्ष आउन नसकेको कुरो गरेका छन्। त्यस गोष्ठीको उपलब्धि कति मात्रै भयो भने, डा.वासुदेव त्रिपाठीले संस्कृत शब्दको वर्णविन्यासबारे एउटा लेख लेखेका थिए अरे। साझाको उक्त गोष्ठीका अर्का सहभागी सूत्रधार बालकृष्ण पोखरेलसँग कुरा हुन पाएको छैन, त्यसैले उक्त दस्ताबेज हेर्न नपाउन्जेल ‘नेपाली कसरी शुद्ध लेख्ने?’ पछाडिको ठूलो फड्को पाठ्यक्रम विकास केन्द्रद्वारा आयोजित उक्त गोष्ठीलाई नै मान्नुपर्छ र त्यसमा डा.दाहालको केन्द्रीय भूमिका देखिन्थ्यो।

७. त्रि.वि.मा भाषाविज्ञान

त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान विषय प्रवेश गराउने सर्वप्रथम व्यक्ति रामराज पन्त होलान्। बालकृष्ण पोखरेलले भाषाविज्ञानमा एम.ए. पास गरेपछि त्यसमा उल्लेखनीय रूपमा सुधार भएको देखिन्छ। त्यसलाई अझ सुधार गर्न निकै बलियो प्रेरणा दिने समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्सका भाषा वैज्ञानिकहरूमा डा.अस्टिन हेल थिए। त्यस वेला भाषाविज्ञानमा एम.ए. पनि त्रिभुवन विश्वविद्यालयमा खुल्यो। त्यसका उत्पादनहरू निर्मलमान तुलाधर र गीता चन्द, आदि थिए। भाषाविज्ञानको एम.ए. त्यसपछि बन्द भयो। डा.सुभद्रा सुब्बा, डा.बल्लभ मणि दाहाल, डा.कमलप्रकाश मल्ल, डा.चूडामणि बन्धु, डा.शिशिरकुमार स्थापित र डा.तेजरत्न कंसाकारले भाषाविज्ञानमा पीएच.डी. गरेपछि त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा भाषाविज्ञानको मात्रा थपिँदै गएको पाइन्छ। सं.२०५४ मा त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान केन्द्रीय विभाग खोल्न, भाषाविज्ञानका पाठ्यक्रम बनाउन र त्यसमा पढाउन डा.दाहालको उल्लेखनीय भूमिका रहेको थियो। भाषाविज्ञान विभागलाई सङ्कट परेका वेलामा हामी डा.दाहाललाई झन गुहार्थ्यौँ।

८. भाषाविज्ञानका मेरा पहिला प्रेरक र मार्गनिर्देशक गुरु

अनिवार्य नेपाली पढाउने प्राध्यापकहरूको उक्त अधिवेशनपछि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रद्वारा आयोजना गरिएका सबैजसो राष्ट्रिय र क्षेत्रीय अभिमुखीकरण कार्यशाला गोष्ठीमा म सहभागी भएँ। डा.दाहाल नै अनिवार्य नेपाली विषय समितिका अध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि म अनिवार्य नेपाली विषय समितिकै सदस्यमा मनोनीत भएँ। विस्तारै उहाँसँगको आत्मीयता घनिष्ठतर हुँदै घनिष्ठतम हुन पुग्योे।

उहाँसँग मेरो परिचय हुँदा म समालोचना र निबन्ध लेख्थेँ। उहाँले नै मलाई व्याकरण र भाषाविज्ञान विषयतिर आकर्षित गर्नुभयो। उहाँले मलाई लायन्स, रबिन्स र क्रिस्टलका सामान्य भाषाविज्ञानका किताब, लेह्मनको ऐतिहासिक भाषाविज्ञानको किताब, ग्लिसनको रूपविज्ञान अथवा शब्दव्याकरणको किताब अनि क्रिस्टलको बलाघात र अनुतान विषयमा लेखिएको किताब पढ्ने प्रेरणा दिनुभयो। पाठ्यक्रममा राखिएका बाहेक भाषाविज्ञान विषयका मैले पढेका पहिला पुस्तक यिनीहरू नै हुन्। उहाँले नै मलाई भाषाविज्ञानमा पीएच.डी. गर्न पनि प्रेरित गर्नुभयो। मैले छत्तीस सालमा पीएच.डी.का लागि त्रिभुवन विश्वविद्यालयमा दर्ता गरेँ। विश्वविद्यालयले उहाँलाई नै मेरा शोधनिर्देशक खटाइदिएछ। म अनुसन्धान गर्न भूत लागेझैँ लागेँ।

डा.दाहाललाई म दाजु भनेर बोलाउँथेँ। उहाँले मेरो जीवनमा ठूलो घुम्ती ल्याइदिनुभएको छ। यस दृष्टिले मेरा अनन्य इष्टका रूपमा मैले उहाँलाई मेरा मनको उच्च आसनमा राखेको छु। उहाँले नै मलाई भाषाविज्ञानतिर तान्नुभयो, उहाँ नै प्रारम्भमा मेरा शोधनिर्देशक हुनुहुन्थ्यो र उहाँले नै पूना विश्वविद्यालयका विभागीय प्रमुख प्राध्यापक डा.पेरी भास्कररावसित चिठी लेखेर मेरो परिचय गराइदिनुभयो र उहाँकै चिठी पढेर प्रो.भास्कररावले मलाई आफ्नो गुरुकुलमा प्रवेश दिनुभयो अनि अन्त्यमा मेरो पीएच.डी.को शोधप्रबन्धका एकजना बाह्य परीक्षकका रूपमा पनि उहाँले काम गर्नुभयो।

म काठमाडौँ आउनुभन्दा अगाडि अर्थात् धरानमै हुँदा एम.ए. कक्षाहरूमा उहाँले मेरो प्रशंसा गर्नुभएको कुरा विद्यार्थीहरूले मलाई सुनाएका थिए अर्थात् म कीर्तिपुर आइपुग्नुभन्दा अगाडिदेखि नै उहाँले मेरो परिचय कक्षामा दिइसक्नुभएको रहेछ।

९. अनन्य हितैषी र सहयोगी

म विज्ञान तथा प्रविधि अध्ययन संस्थानको धरान क्याम्पसमा पढाइरहेका वेलामा एकपल्ट परिवार नियोजनको चुनाव भयो। त्यसमा पञ्चहरूको विरोधी समूहबाट मैले चुनाव जितेको थिएँ। भर्खर बहुदलले हारेर निर्दलले जितेको वेला थियो। पञ्चहरू भुइँमा न भाँडामा भएका थिए। उनीहरूसँग नमिलेका 137वाँकले उनीहरूले कोसी अञ्चलका तात्कालिक अञ्चलाधीश ललितबहादुर बमलाई मैले केन्द्रमा “श्री५प्रेक्षाविरुद्ध उम्मेदवारी दिन्छु” भन्ने घोषणा गरेको झुटो पोल सुनाएछन्। रामचन्द्रबहादुर सिंह त्यसवेला त्रिभुवन विश्वविद्यालयका उपकुलपति थिए। ललित बमले टेलिफोनबाटै रामचन्द्रबहादुर सिंहमार्फत मेरो जनकपुर सरुवा गराइदिए। आफ्नो सरुवा थमौती गर्न म काठमाडौँ आएँ र डा.दाहाललाई नै मैले गुहारेँ। उहाँले रामचन्द्रबहादुर सिंहलाई “यो मान्छेको कुनै सिकायत आयो भने, म भएँ” भनेर मेरो धरान फिर्ती सरुवा गराउन ठूलो भरथेग गर्नुभयो। इष्टमित्र भनेको मर्दा र पर्दा नै चिन्नुपर्ने कुरो हो। मान्छेले एकपल्ट लगाएको गुन नै कहिल्यै पनि बिर्सिनु हुँदैन। त्यतिमाथि मलाई त डा.बल्लभ मणि दाहालले पटक―पटक ठूल्ठूला गुन लगाउनुभएको छ।

१०. मैले धरान छोड्दाको नाटकीय घटना

धरानमा म व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय क्याम्पस हात्तिसार (पछि विज्ञान तथा प्रविधि अध्ययन संस्थान धरान क्याम्पस) मा पढाउँथेँ। मेरा दाजु (स्वयंप्रकाश शर्मा) र भाइ (राजेन्द्र शर्मा) महेन्द्र क्याम्पसमा पढाउने हुनाले परिवार नियोजनको चुनावमा जितेर मसँगै सरुवामा परेका तात्कालिक क्याम्पस प्रमुख मेरा घनिष्ठ मित्र कुमार कार्कीले एकदिन मलाई भने, “माधवजी, के विज्ञान अध्ययन संस्थानमा पढाइरहनुहुन्छ? अब तपाईं पनि आउनुहोस् महेन्द्र क्याम्पस।” घर आएर मैले सोचेँ, “कुमार कार्कीको कुरो त ठीकै हो, तर हात्तिसारबाट महेन्द्र क्याम्पस सर्नु जाती कि कीर्तिपुर क्याम्पस सर्नु जाती?” दुईतीन महिना सरुवामा परेकाले पञ्चहरूसँग जोगिन पनि महेन्द्र क्याम्पसभन्दा कीर्तिपुर जाती हो भन्ने मैले ठहराएँ।

त्यसै वेला चितवनको रामपुरमा अनिवार्य नेपालीको एउटा गोष्ठी भइरहेको थियो। त्यहाँ गएर बल्लभदाइलाई मलाई कीर्तिपुर बोलाइदिनुहोस् भनेर अनुरोध गर्ने मेरो सुर थियो। मेरा अर्का घनिष्ठ मित्र जगत के.सी. मेरै क्याम्पसका क्याम्पसप्रमुख थिए। उनले धरान क्याम्पस छोड्न मलाई दिँदैनन् कि जस्तो मलाई लाग्यो। जगत के.सी.को बल्लभदाइसँग पनि घनिष्ठ सम्बन्ध थियो। बल्लभदाइकै बल मागेर जगत के.सी.ले मेरो सरुवा अड्काइदिए भने त, आफ्नो योजना सफल नहोला। यो कुरो सोचेर मलाई कीर्तिपुर सरुवा गराइदिनू भन्ने अनुरोध मैले डा.वासुदेव त्रिपाठीसँग चाहिँ गरेँ। डा.त्रिपाठीले त्यो कुरो बल्लभदाइलाई खुसीसाथ सुनाउनुभयो होला। आफूलाई चाहिँ नभनेर डा.त्रिपाठीलाई चाहिँ भन्ने कारण पक्कै पनि माधव पोखरेल र जगत के.सी.का बीचमा मनोमालिन्य भएर हुनुपर्छ भन्ने डा.दाहाललाई परेछ। उहाँले मलाई, जगतको के छ खबर भनेर सोध्नुभयो। मैले रामै्र छ, ठीकै छ भन्ने जवाफ दिएँ। उहाँलाई मैले कुरो लुकाएँ, पक्कै पनि यिनीहरू बीचमा मनोमालिन्य नभएको भए, माधवले धरान छाड्ने वेलामा मलाई नसुनाएर डा.त्रिपाठीलाई भन्ने थिएन भन्ने पर्‍यो क्यार। कुरा दुहुने उहाँको आफ्नो शैलीअनुसार उहाँले भन्नुभयो, “तपाईंले भनेर म कहाँ मान्छु १ मैले जगतका कस्ता कस्ता कुरा सुनिसकेको छु।” मैले भनेँ, “खोइ, एउटै मात्र फरक मैले विचार गरेको छु, पहिले उहाँ नेता जस्तो हुनुहुन्थ्यो, अहिले हाकिम जस्तो हुनुभएको छ। अरू कुरा त केही पनि फरक भएको मलाई थाह छैन।”

जगतजी काठमाडौँ पुगेका वेलामा बल्लभदाइलाई भेट्न गएछन्। जगतजीलाई ढोकैमा देख्ता जगतजीलाई “ए हाकिम, आऊ १” भन्नुभएछ। जगतजीले “दाजुले मलाई किन हाकिम भन्नुभयो?” भनेर सोध्दा बल्लभदाइले भन्नुभएछ, “होइन, अचेल तिम्रो माधवसँग सम्बन्ध राम्रो छैन?” भनेर सोध्नुभएछ र माधव तिमी हाकिम जस्तो भएका छौ भनेर सुनाउँदै थियो भन्ने कुरो सुनाइदिनुभएछ। बल्लभदाइको त्यस कुराले जगतजीलाई माधवले मेरो विरोध गर्न लागेछ भन्ने भ्रमले चिसो परेछ अनि त जगतजी धरान पुगेपछि मसँग त्यसै बटारिएका जवाफ दिन थाले। मैले जगतजीलाई धरानमै सोधेँ, “तपाईंको र मेरो वैमनस्य भएको मलाई कतै थाह छैन। काठमाडौँबाट फर्केपछि किन तपाईं बटारिएका कुरा गर्नुहुन्छ?” जगतजीले बल्लभदाइसँग भएका सबै कुरा सुनाएपछि म त छक्क परेँ। कुरो कहाँबाट कहाँ पुगेछ। यस घटनाले गर्दा मलाई धरान झन छिटो छोड्न मन लाग्यो। त्यस घटनामा दाहालदाइ र जगतजी दुवैजनाको म केही दोष देख्तिन। घनिष्ठतम मित्रहरूबीचमा पनि परस्परको हित चिताउँदा चिताउँदै कसैले केही नबिराए पनि भ्रम र फाटो हुने परिस्थिति आउने रहेछ भन्ने शिक्षा मलाई त्यस घटनाबाट मिलेको छ।

म काठमाडौँ आएको वेलामा डा.त्रिपाठीले महेशकुमार उपाध्यायकहाँ लगेर मेरैअगाडि मलाई कीर्तिपुर क्याम्पस सरुवा गरिदिने सिफारिस गरिदिनुभयो। यसरी चिनियाँ विद्यार्थीहरूलाई पढाउने जिम्मा लिएर म धरानबाट काठमाडौँ आएँ। डा.त्रिपाठीको यो गुन पनि म कहिल्यै बिर्सिन सक्तिन।

११. बहु–आयामिक सामाजिक व्यक्तित्वबाट लाभ र हानि

मान्छेहरूसँग भेट गर्नु, हरेक मान्छेसित आत्मीय भएर कुरा गर्नु, आफूसित भेट्न आउने सबैजसो मान्छेको गाउँ―ठाउँ, छर―छिमेक, आत्मोन्नति र स्थानीय राजनीतिको जानकारी लिनु अनि उसलाई उसको ठाउँ, देश र विश्वको राजनीतिक र सामाजिक विषयमा आफ्नो टिप्पणी अनौपचारिक शैलीमा गर्नु उहाँको व्यक्तिगत रुचिको विषय थियो। सके हरेक व्यक्तिसँग त्यसरी नजिकैको आत्मीय साइनो राख्ने उहाँको अन्तर्वैयक्तिक स्वभावले गर्दा उहाँको परिचयको क्षेत्र विशाल थियो। यस कुरामा मैले उहाँ जस्तो दोस्रो नेपाली अहिलेसम्म भेटेकै छैन। अन्तर्वैयक्तिक आत्मीय सम्बन्ध राख्ने कुरामा मेरा जानकारीमा उहँा अद्वितीय नेपाली व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको त्यस्तो राजनीतिक सामाजिक व्यक्तित्वले उहाँको अध्ययन, अनुसन्धान र प्रकाशनमा चाहिँ नकारात्मक प्रभाव पारेको छ। उहाँले विश्वविद्यालयको भर्भराउँदो प्राध्यापक हुँदा पनि एउटै मात्र पीएच.डी.को चेलो उत्पादन गर्न भ्याउनुभएन, अन्तर्वैयक्तिक सम्बन्धले उहाँको अध्ययनमा अड्को पारेका अनेक उदाहरण मलाई थाह छ अनि असङ्ख्य अनुसन्धान पत्र र प्रबन्धहरू लेख्ने सामर्थ्य र प्रतिभा हुँदा हुँदै उहाँका नाउँको पहिलो किताब पनि उहाँको देहावसान भएपछि अरूले निकाल्दिनुपर्‍यो। यसरी उहाँको अन्तर्वैयक्तिक सम्बन्धले एकातिर उहँालाई लोकप्रिय, महान र अद्वितीय नेपाली बनायो भने, अर्कातिर त्यसैले उहाँको उत्पादनमा अड्को र अल्झो पारेको देखिन्छ।

डा.बल्लभ मणि दाहाल शाही उच्च शिक्षा आयोगको सदस्य हुनुहुन्थ्यो। पञ्चायत ढल्ने वेलामा उहाँ पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्य सचिव हुनुहुन्थ्यो। बहुदल आएपछि बनेको अर्को उच्च शिक्षा आयोगको उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो। त्रिभुवन विश्वविद्यालयका विभिन्न तहमा उहाँले प्राज्ञिक नेतृत्व गर्नुभएको थियो। उहाँले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिएर आफ्नो फरक मत र फरक चिनारी दिनुभएको थियो। एकपल्ट संयुक्त राष्ट्रसङ्घको नेपाली प्रतिनिधि हुनुभएको थियो।

डा.बल्लभ मणि दाहाललाई शोधनिर्देशक बनाउँदाको मेरो अनुभव रमाइलो छ। म कुनै काम गर्ने अठोट गरेपछि द्रोणाचार्यको चरो हेेरेझैँ एकोहोरिएर लाग्ने मान्छे परेँ। दाहाल सरको चाहिँ विशेष रुचि राजनीतिमा थियो। मलाई देख्नेबितिक्कै बल्लभदाइ मलाई भन्नुहुन्थ्यो, “ए भाइ, तपाईंसँग बसेर मैले कति हो कति कुरा गर्र्नु छ।” मेरा अद्वितीय इष्टले त्यसो भनेपछि मैले टाउकाले टेकेर उहाँको सेवामा हाँजिर हुनु मेरो परम कर्तव्य थियो। मैले उहाँलाई भनेँ, “भन्नुहोस् न दाजु, म कहिले आउँ्क।” उहाँ भन्नुहुन्थ्यो, “तपाईं भोलि बिहान छ बजे मेरा घरमा आइपुग्न सक्नुहुन्छ? नबिर्सिनुहोस् नि १” म किन बिर्सिन्थेँ १ भोलिपल्ट बिहान उहाँले भनेकै वेलामा उहाँका दैलामा पुग्थेँ। दैलाको घण्टी बजेको सुनेर दाइ ढोका खोल्न आइपुग्नुहुन्थ्यो र मलाई देखेर भन्नुहुन्थ्यो, “ओहो भाइ, तपाईं पो आउनुभएछ त। बिहानै कता हिँड्नुभयो?” उहाँले नै अघिल्लो दिन बोलाउनुभएको कुरो सम्झाएपछि उहाँ भन्नुहुन्थ्यो, “ए हो त। ल भित्र आउनुहोस्।” म भित्र पस्थेँ। अत्यन्त आत्मीय व्यक्तिसँग जस्तो बोली―वचन र व्यवहार गर्नुपर्ने हो, उहाँको मसँगको व्यवहार त्यस्तै हुन्थ्यो। उहाँको रुचिअनुसार म दुई घण्टा बसेपनि कुरो र कुलो बगेर कहिले धरानको र नेपालको राजनीति, कहिले धरानको कुनै पुरानो नेता र राजनीतिक कार्यकर्ता, कहिले के कहिले के विषयमा कुरो हुन्थ्यो। बीचबीचमा एक―दुईओटा फोनले बाधा गर्थ्यो। अन्त्यमा दाहाल दाइ भन्नुहुन्थ्यो, “लु भाइ, मैले त कतै जानुपर्ने भयो। तपाईं मलाई फेरि कहिले भेट्नुहुन्छ त?” यस्तै क्रमले मेरो पीएच.डी. अनुसन्धानमा आइपरेका अड्का फुकाउन उहाँलाई कुनै प्रश्न सोध्दा पनि मेरा घण्टाहरू बित्थे। तत्कालीन उपकुलपति महेशकुमार उपाध्यायले उपकुलपतिको कोटामा मलाई पूना विश्वविद्यालयमा पीएच.डी. गर्ने विद्वद्वृत्ति दिएपछि म दाहाल सरकै सिफारिसअनुसार प्रोफेसर भास्कररावका गुरुकुलमा पुगेँ।

१२. पञ्चायत नीति तथा जाँचबुझ केन्द्र र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो

पीएच.डी. सकेर म पुणेबाट नेपाल फर्कंदा बल्लभदाइ पञ्चायत नीति तथा जाँचबुझको सदस्य सचिव हुनुहुन्थ्यो। म फर्केको थोरै समयमा पञ्चायत ढल्यो। अरू धेरै लुके, उहाँ लुक्नुभएन। त्यसको लगत्तैपछि भएको अनिवार्य नेपालीको गोष्ठीमा उहाँले मिश्रवाक्य र संयुक्त वाक्य विषयमा एउटा कार्यपत्र पढ्नुभएको थियो। यस्तै परिस्थितिमा उहाँलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको विशेषज्ञका रूपमा चीन जाने उहाँलाई निम्तो आयो। उहाँ चीनमा भएकै वेलामा मैले जापानबाट पनि उहाँलाई फोन गरेको थिएँ। चीनमा उहाँ र उहाँकी श्रीमती डा.सुभद्रा सुब्बा झन्डै चार वर्ष बस्नुभयो। गोविन्द भट्ट र डा.बल्लभ मणि दाहाल जस्ता विद्वान्को विशेषज्ञता चिनियाँ अन्ताराष्ट्रिय रेडियोले पाउनामा नेपालको राजनीतिक वातावरण नै सहायक भएको मैले निष्कर्ष निकालेको छु। चीनमा बसेका वेलामा उहाँले नेपालमा गर्न नभ्याएका दुईओटा उल्लेखनीय काम गर्नुभएको रहेछ। पेइचिङ क्वाङ्पो ताश्वे (पेइचिङ समाचार प्रसारण विश्वविद्यालय) मा नेपाली पढ्ने विद्यार्थीहरूका लागि उहाँले एउटा पाठ्यसामग्री बनाउनुभएको रहेछ। दोस्रो कुरो चाहिँ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको दैनिक प्रयोगका लागि सञ्चारक्षेत्रमा प्रयोग हुने नेपाली शब्दावली उहाँले बनाउनुभएको रहेछ।

१३. नेपाली विभाग त्रिशङ्कु अवस्थामा

म पूनामै हुँदा के कारणले हो, डा.त्रिपाठी र डा.दाहालका बीचमा कडा वैमनस्य भएछ। त्यस वैमनस्यले गर्दा भाँडिएको नेपाली केन्द्रीय विभाग अहिलेसम्म सङ्लिन सकेको छैन।

१४. नेपाली भाषामा बल्लभ मणि दाहालको योगदान

डा.दाहालले त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान पढाउनुभयो र विश्वविद्यालयलाई भाषाविज्ञान विषयको जनशक्ति तयार गर्न र राष्ट्रलाई भाषाविद्को उत्पादन गर्न टेवा दिनुभयो। देशका विश्वविद्यालयका विभिन्न तहमा भाषाविज्ञान विषय प्रवेश गराउन र त्यसको भर गर्न उहाँले उल्लेखनीय भूमिका पूरा गर्नुभयो। बेग्ला–बेग्लै प्रतिभाशाली नेपालीहरूलाई प्रेरणा र हौसला दिनुभयो अनि उसलाई उकेरा लगाउन सक्तो भर गर्नुभयो। यसरी राष्ट्रमा देशभक्तहरूको सङ्ख्या बढाउन सहयोग गर्नुभयो। डा.दाहाल र उहाँकी श्रीमती डा.सुभद्रा सुब्बा दुवैजना भाषा वैज्ञानिक भएकाले दुवैजनाले यस मुलुकका राष्ट्रभाषा र राष्ट्रिय भाषाको विकासमा राज्यले जति सहयोग पुर्‍याएको छ, त्यसभन्दा बढ्ता सहयोग गर्नुभएको छ। उच्च शिक्षा आयोगमा दुई दुईपल्ट प्राज्ञिक नेतृत्व गरेर नेपालको उच्च शिक्षाको विकासमा सरकारलाई समेत मार्गनिर्देशन गर्नुभयो। विश्वविद्यालयका नीतिनिर्माण गर्ने निकायहरूमा सक्रिय भएर उहाँ विश्वविद्यालयको गरिमा बढाउन सततः प्रयत्नशील रहनुभयो। भाषाविज्ञान विषय पढ्ने र अनुसन्धान गर्नेहरूलाई निर्देशन गरेर राष्ट्रभाषा र राष्ट्रिय भाषाहरूलाई सबल बनाउन पनि उहाँ क्रियाशील हुनुभयो। नेपाली वर्णविन्यासलाई नियमित र सरलीकृत बनाउन विशेषतः आगन्तुक शब्दको वर्णविन्यास नियमित गर्न अनिवार्य नेपाली विषय समितिको अध्यक्षका रूपमा उहाँले केन्द्रीय व्यक्तित्व स्थापित गर्नुभयो। साहित्यिक निबन्ध लेखेर नेपाली निबन्ध साहित्यमा पनि उहाँले योगदान पुर्‍याउनुभयो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा विशेषज्ञ भएर काम गर्दा सञ्चार क्षेत्रमा प्रयोग हुने नेपाली शब्दावली बनाउनुभयो। त्यसैवेला पेइचिङ क्वाम्पो ताश्वेमा नेपाली पढाउनुभयो र यु फुङसँग मिलेर चिनियाँहरूलाई पढाउने नेपाली पाठ्य पुस्तक पनि लेख्नुभयो। भाषाविज्ञानका गोष्ठीहरूमा गोष्ठीपत्र प्रस्तुत गर्नुभयो र सहभागीहरूको जानकारी बढाउनुभयो। भाषा वैज्ञानिक र अन्य फुटकर लेखहरू पनि लेख्नुभयो र प्रकाशित गर्नुभयो।

१५. सारांशमा डा.दाहाल र मेरो साइनो

सारांशमा नेपालले डाक्टर पनि धेरै जन्माउला, दाहाल पनि धेरै जन्माउला, तर डा.बल्लभ मणि दाहालको बहु–आयामिक व्यक्तित्व एकै ठाउँमा जन्माउनु गारै पर्ला। मसँग कुनै स्वार्थी साइनो नलागे पनि मेरा जीवनमा डा.दाहालले ल्याइदिनुभएको घुम्तीले गर्दा अब म कहिल्यै पनि पहिलेका ठाउँमा पुग्नै नसक्ने भएँ। डा.दाहालले मलाई रोजिदिनुभएको गन्तव्यमै अब आएर मेरो अस्मिता समेत कहिल्यै नछुट्ने गरी टाँसिएको छ। म आफू पनि यसै खुड्किलामा रमाएको छु। डा.दाहालको अमर आत्मालाई साधुवाद छ १

१६. सहयोगीहरूको जिम्मामा

गोविन्द भट्टराई र खगेन्द्र लुइँटेल (२०६१) ले झैँ डा.दाहालका अरू सबै छरिएका लेख प्रकाशित गरिदिने र थेसिस अनुवाद गरेर अथवा त्यसै पनि छपाइदिनुपर्ने खाँचो छ।

Leave a Reply