मानव शास्त्रीय र भाषा वैज्ञानिक अनुसन्धानका आधारमा नेपालका मातृभाषा बोल्नेहरू सबै बाहिरबाट आएका देखिन्छन् । ह्वाइटहाउसहरूले पछिल्लो पल्ट प्रकाशित गरेको पपुवा न्यु गिनीका तुलनात्मक शब्दहरूका आधारमा कुसुन्डा पनि दक्षिण पूर्वी प्रशान्त महासागरीय टापुबाट आएको सङ्केत पाइएको छ । आग्नेय परिवारका अरू मातृभाषीहरू नेपाल छिरेको धेरै भएको छैन । आज दक्षिण भारतमा विशेष गरेर पाइने द्रविड भाषा बोल्नेहरूको मूल थलो भूमध्य सागरीय क्षेत्र मानिएको छ । द्रविड भाषा बोल्नेहरू पनि नेपाल छिरेको धेरै भएको छैन । भोट चिनिया परिवारका भाषा बोल्नेहरूको मूल थलो तिब्बतीय माल भूमिको ईशान कोण तोकिएको छ भने भारोपेली भाषा बोल्नेहरूको मूल थलो पनि क्यास्पियन सागर र कालो सागरको छेउछाउ मानिएको छ । कुसुन्डा जस्ता प्रशान्त महासागरीय भाषा बोल्ने जातिहरूको प्रारम्भिक प्रभाव पछि नेपाल आधार भूत रूपले भोट चिनियाँ र भारोपेली भाषा बोल्नेहरूको सांस्कृतिक आदान प्रदान गर्ने क्रीडा भूमि बनेको देखिन्छ ।
जनकलाल शर्मा (हाम्रो समाज : एक अध्ययन, २०३९) को सूचनाका आधारमा आग्नेय परिवारका भाषा बोल्नेहरूले नेपालमा ‘कोरी’ र ‘बिसा’ जस्तो बिस सङ्ख्याका आधारमा गन्ने चलन, पान, सुपाडी, कौडी, शङ्ख, तरुल भ्यागुर खाने चलन, सिलौटो लोहोराको पूजा गर्ने र खेतबारीमा डढेलो लगाउने चलन ल्याए । उनीहरूले नेपालका भाषाहरूमा यी वस्तु चलाउने संस्कृति र शब्द भण्डार पनि थपे । मैथिली, राजवंशी र दराई भाषाको अनौठो पद सङ्गतिका जन्मदाता पनि आग्नेय परिवारकै भाषा बोल्नेहरू हुन् । भोट चिनियाँ भाषा बोल्नेहरूले पाछाईको साग, गुन्द्रुक, सिन्की, पाङ्लाङ, खल्पी, किनेमा, सुँगुर, कुखुरा र सिद्रा खाने चलन नेपालमा भित्र्याए । धनुष काँड, बाँसको कला, जरी बुटी, ओखती मूलो, झार फुक, टुना मुना, धामी झाँक्रीको चलन नेपाल सम्म ओसार्ने जस पनि भोट चिनियाँ भाषा बोल्नेहरूको देन हो ।
भारोपेली भाषा बोल्नेहरूले गाई वस्तु पालेर दुध खाने, घोडा चढ्ने, वेद पाठ र वैदिक कर्म काण्ड, चार जातमा मानव समाजको विभाजन गर्ने, चक्र अथवा पाङ्ग्राको अवधारणा, गहुँ जौको खेती गर्ने र होम हाल्ने चलन नेपाल सम्म ल्याए । द्रविडहरूले कृषि औजार बनाउने, शाकाहार गर्ने, भगवती दुर्गाको पूजा, जस्ता चलनहरू ल्याए । दक्षिण एसियामा आए पछि यी विभिन्न मातृभाषा बोल्ने जातिहरू बिच एक अर्काको चलनको आदान प्रदान भयो । यसरी मान्छेको बान्की भएका देउताको मात्र पूजा आराधना गर्न जान्ने भारोपेली आर्य जातिहरू यस उप महाद्वीपमा पसे पछि मानवेतर बान्की भएका देउताहरूको पनि पूजा गर्न थाले । ऋग्वेदमा न गणेश छन् न हनुमान् । गाई, बर पिपल, तुलसी, गोवर्धन पूजा, हिमालय पहाड, सिलौटो र लोहोरो जस्ता मानवेतर देउताहरूको पूजा आराधना गर्न समेत भारोपेली जातिहरूले अरू जातिहरूसित सिके । भोट चिनिया भाषा बोल्नेहरूले दुध खान र घोडा चढ्न पनि सिके । यसरी यस उपमहाद्वीपमा लामो समय सम्म सँगै बसे पछि तिनीहरूका सांस्कृतिक बेहोराहरू झन्डै एक अर्कासित मिल्न पनि थाले ।
नेपालको राष्ट्रिय जन गणना (CBS, 2011) मा उल्लेख भएका भाषाहरू प्रथमत: दुई किसिमका छन् । एक खालका भाषाहरूको फेद नेपालमै छ, अर्को खालका भाषाहरूको फेद नेपाल बाहिर छ । नेपाल भित्र फेद हुने भाषाहरू नेपालबाट लोप भए भने, संसारबाटै सिद्धिन्छन्, तर नेपाल भित्र फेद नहुने भाषाहरू नेपालबाट लोप भए भने पनि संसारबाट सिद्धिँदैनन् । नेपाल भित्र फेद हुने कुनै भाषा देश बाहिर भए पनि त्यस भाषाले बोकेका मौलिक सांस्कृतिक बेहोराहरू नेपाल भित्रै खोज्नु पर्छ भने, नेपाल बाहिर फेद हुने कुनै भाषा नेपालमा बोलिए पनि त्यस भाषाका मौलिक सांस्कृतिक बेहोरा खोज्न नेपाल बाहिर जानु पर्छ । यसरी नेपालका भाषा र ती भाषाको संस्कृतिका विषयमा छानबिन गर्दा चाहिँ यस्तो विभाजन रेखा सान्दर्भिक देखिन्छ, त्यसैले संस्कृतिको कुरो गर्दा यस लेखमा नेपाल भित्र फेद भएका नेपालका भाषाहरूलाई विशेष रूपमा ध्यान दिइन्छ ।
नेपालमा विश्वको पहिलो मानवका हाडखोड नभेटिए पनि र दोस्रो मानव (रामपिथेकस) का हाडखोड भेटिए पनि र बुढानीलकण्ठ छेउको उत्खननमा ३० हजार वर्ष अघिका ढुङ्गे युगका हतियार भेटिए पनि अहिले सम्मको प्रागितिहासिक, पुरातात्त्विक, ऐतिहासिक र मानव शास्त्रीय अनुसन्धानका आधारमा नेपालमा आज बसोवास गर्ने सबै जातिहरूको मूल फेद नेपाल बाहिर मात्रै देखिएको छ (शर्मा, हाम्रो समाज : एक अध्ययन, २०३९) ।
ह्वाइटहाउसहरू (Whitehouse, Usher, Ruhlen, & Wang) को एउटा लेखोटमा कुसुन्डा भाषाका ३१ ओटा शब्द (म, मेरो, तँ, तेरो, उ, उसको, यो, त्यो, बाबु, आँखो, घुँडो, कलेजो, लाम्टो, काँध, कुद्नु, दिनु, आइमाई, आगो, घाम, माटो, डाँडो, बालुवा, खोलो, रुख, जरो, काँचो, कुकुर, डिम्मा, छोटो, बिहान, आज) हरू हिन्द महासागरीय र प्रशान्त महासागरीय टापुका २०-२५ ओटा भाषामा मिलेको देखिन्छ । प्राय आग्नेय (अग्नेसियाली होइन) परिवारमा पर्ने यी भाषाहरूसँग कुसुन्डा भाषाको साइनो स्थापित भयो भने, अहिले सम्म अवर्गीकृत रूपमा चिनिएको कुसुन्डा भाषाले पनि गोती पाउला ।
कुसुन्डाहरूको संस्कृति अनौठो छ । उनीहरू जङ्गलमै बस्ने जात भएकाले कुसुन्डा भाषामा ‘हरियो’ रङ बुझाउने शब्दै छैन; अर्थात् हरियो त उनीहरूलाई रङै होइन । अर्को कुनै पनि नेपालीले मासुका लागि सिकार नगर्ने गोहोरो र भार्से (एक किसिमको ठुलो मल्साँप्रो) उनीहरू धनुष काँडले सिकार गर्छन् । उनीहरू भेटे सम्म बगुवा पानी नखाएर कुवाको जमेको पानी खोज्छन् । कुसुन्डाहरू गाई छुँदैनन् र गाईको दुध पनि खाँदैनन् । कुसुन्डाहरू आफूलाई वन राजा भन्दछन् । अच्चम्मको कुरो के छ भने, कुसुन्डा भाषामा कुसुन्डालाई बुझाउने र बाघलाई बुझाउने शब्द झन्डै एउटै (म्याक्) छ (Watters, Yadava, Pokharel, & Prasain, 2005)। वास्तवमा बाघ पनि त वन राजा नै हो । अहिले सम्मको अनुसन्धानले कुसुन्डाहरू अन्यत्रबाट आएको प्रमाणित भई सकेको छैन ।
भारतीय उपमहाद्वीपमा पस्ने जातिहरूमा पहिले आग्नेय, दोस्रो द्रविड र त्यस पछि मात्र भारोपेली आर्य र भोट बर्मेली भाषा बोल्ने वक्ताहरू पसेको क्रम स्थापित भएको छ, तर नेपाल चाहिँ कुसुन्डा पछि भोट बर्मेली र भारोपेली आर्य भाषा बोल्नेहरूकै क्रीडा भूमि भएको देखिन्छ ।
म्याक्डोनेल र किथ (Macdonell & Keith, 1912 [1958]) ले वेदिक इन्डेक्स भन्ने ग्रन्थको सुरुमा दिएको नक्सा अनुसार उत्तर वैदिक (Basham, 1975) ब्राह्मण काल (ईपू १०००-८००) मा ‘किरात’ हरू गण्डकी र कर्णाली नदीका बिचमा देखिन्छन् । त्यस वेला त्यहाँ भन्दा पश्चिम तिर भोट बर्मेली भाषा बोल्ने कुनै जाति पुगेको सङ्केत छैन । संस्कृत वाङ्मयमा किरात शब्दको सब भन्दा पहिले (ईपू आठौँ शताब्दी) उल्लेख गर्ने अथर्व वेद, वाजसनेयी संहिता, तैत्तिरीय ब्राह्मण र शतपथ ब्राह्मण जस्ता वैदिक ग्रन्थहरू लेखिएका वेलामा गण्डकी र कर्णाली नदी छेउमा देखिएका ‘किरात’ (Singh, 2008) हरू पक्कै पनि चिराइतो (किराततिक्त) चलाउने (Chatterji, Kirata-jana-krti, 1974) पूर्वी नेपालमा पछि प्रसिद्ध भएका किराँती होइनन् । अथर्व वेदमा गुफामा बस्ने एउटी ‘कैरातिका’ पहाडहरूमा ओखती मूलो सिलो गरी रहेको उल्लेख छ । महाकवि भारवि (सातौँ शताब्दी) ले किरातार्जुनीय भन्ने उनको महाकाव्यमा किरात भेस लिएका शिवजीलाई सिकारीका रूपमा देखाएका छन् । किथ र म्याक्डोनेलको नक्साले देखाए अनुसार कर्णाली र गण्डकी नदीका बिच (रुकुम, रोल्पा, बाग्लुङ, गुल्मी अर्घाखाँची) मा त आज भाषालाई ‘पाङ’ वा ‘खाम’ भन्ने मगर जातिहरू बसोवास गर्छन् । अनौठो कुरो चाहिँ के छ भने, पाल्पा, स्याङ्जा, तनहुँ, गोरखा र नवलपरासीमा ठुलो सङ्ख्यामा पाइने भाषालाई ‘ढुट’ भन्ने मगरहरूको भाषामा चाहिँ ‘सरल सर्वनामीकरण’ पाइन्छ भने, भाषालाई ‘पाङ’ वा ‘खाम’ भन्ने रुकुम, रोल्पा र बाग्लुङका मगरहरूको भाषामा चाहिँ पूर्वी नेपालका (राई, लिम्बुका) किराँती भाषामा जस्तै ‘जटिल सर्वनामीकरण’ पाइन्छ । किथ र म्याक्डोनेलका नक्सामा कर्णाली नदीदेखि पश्चिम तिर नदेखिएका मङ्गोलाकृतिक मानिसहरू आज त उत्तराञ्चल भारतको चम्बा सम्म पनि पाइन्छन् । यी सबै कुरा हेरेर विचार गर्दा के लाग्छ भने, उत्तर वैदिक कालमा प्रचलित ‘किरात’ शब्दको अर्थ ‘गुफामा बस्ने, ओखती मूलो खोज्ने र सिकार गर्ने मध्य पहाडको झन्डै उस्तै उस्तै अनुहार, पोसाक र जीवन शैली अपनाउने आज भोट बर्मेली भाषाका वक्ता भनेर चिनिने मङ्गोलाकृतिक जाति’ भन्ने बुझ्नु पर्छ ।
ग्रियर्सन (Grierson, Tibeto-Buraman family, 1909) ले आज भोट चिनिया परिवारका भाषा बोल्ने सबैको आदि पुर्ख्यौली थलो भनेर तिब्बतको ईशान कोणमा पर्ने पठार देखाएका छन् । त्यो पठार वर्तमान चीनको सछ्वान र छिङ्हाईमा पनि पर्छ । त्यसै पठारबाट ह्वाङ ह, याङ्सी, साल्विन र मिकङ जस्ता पूर्वी एसिया र दक्षिण पूर्वी एसियाका ठुल्ठुला नदी उम्रेका छन् । ग्रियर्सनको त्यस नक्साका आधारमा मैले भोट चिनिया जातिको खोलै खोला विस्तार भएको सूत्र निकालेको छु । भोट चिनिया भाषा बोल्नेहरूको जुन हाँगो त्यस पठारको पश्चिम तिर लाग्यो, त्यस हाँगालाई भोटीय (बोडिस) वा तिब्बतीय भन्ने चलन छ । भोट चिनिया भाषा बोल्ने जुन हाँगाले ह्वाङ ह (पहेँलो नदी) को बाटो समात्यो, त्यस हाँगाले चिनिया सभ्यता बनायो र जुन हाँगो याङ्सी (छाङछङ) नदी समातेर पूर्व तिर लाग्यो, दक्षिण चीनमा बोलिने भोट चिनिया भाषाहरको प्रतिनिधित्व त्यसैले गर्छ । आग्नेय र अग्नेसियाली परिवारका भाषाको प्रभाव यस हाँगाका भोट चिनिया भाषामा पाइन्छ ।
आज नेपालमा बोलिने भोट बर्मेली भाषाहरू मुख्य दुई समूहमा बाँडिन्छन् । जुन समूह हिमालयका साँघु र भन्ज्याङ हुँदै सोझै भोटबाट नेपाल पस्यो, त्यो समूहलाई भाषा वैज्ञानिकहरूले भोटात्मक (बोडिस) भन्ने नाउँ राखेका छन् र जुन समूह चाहिँ चीनको सछ्वान प्रान्तबाट ब्रह्मपुत्र नदीको ब्याँसी हुँदै हिमालयको कछाडै कछाड नेपाल पस्यो, त्यस समूहलाई हिमाली (हिमालयिस) भन्ने नाम राखेका छन् । उत्तर वैदिक साहित्यमा ‘किरात’ भन्ने नाउँले चिनिएको मङ्गोलाकृतिक जाति चाहिँ हिमाली समूहकै भोट बर्मेली भाषा बोल्ने समूह हो भनेर सजिलै किन अड्कल गर्न सकिन्छ भने, भोटात्मक भाषा बोल्नेहरूको सबलीकरण र विस्तार सातौँ शताब्दीका स्रङ चन गम्पोले तिब्बती जातिहरूको एकीकरण गरे भन्दा अगाडि हुनै सक्तैन, तर हिमाली समूह चाहिँ पहाडको दोगै दोग पश्चिममा सतलजको ब्याँसीमा पसेकै कम्तीमा ईपू १००० तिर हो र नेपाल भित्र नेवार आई पुगेको चाहिँ ईपू तेस्रो शताब्दी भन्दा अगाडि होइन भनेर सुनीति कुमार चटर्जी (Chatterji, Kirata-jana-krti, 1974, pp. 41-59) ले लेखेका छन् ।
थाइवान टापुलाई अग्नेसियाली आग्नेय परिवारको भाषा बोल्नेहरूको मूल थलो मानिएको छ भने दक्षिण चीनको युन्नान प्रान्तका पहाडहरूमा अस्ट्रोएसियाटिक आग्नेय परिवारका भाषा बोल्नेहरूको पुर्ख्यौली थलो मानिएको छ (http://en.wikipedia.org/wiki/Urheimat#Afro-Asiatic_homeland) । अहिले पनि एसिया महादेशको आग्नेय कोणमा भिएत्नामी, लाओसी, कम्बोडियाली, थाई, इन्डोनेसियाली र मलयाली जस्ता आग्नेय परिवारकै भाषाले ओगटेका छन् । आग्नेय परिवारका भाषाहरू त पश्चिममा अफ्रिकाको मडागास्कर टापुदेखि पूर्वमा प्रशान्त महासागरको न्यानो भाग ओगटेका सबै जसो टापुहरूमा बोलिन्छन् भन्ने कुरो ग्रियर्सन (Grierson, The Austric family, 1927) ले ‘लिङ्ग्विस्टिक सर्वे अफ इन्डिया’ मा लेखेका छन् । यस कारणले आग्नेय परिवारका भाषाहरूको प्रभाव ती भाषाको सम्पर्कमा आउने भोट चिनिया परिवारका भाषाहरूमा पनि देखिन्छ । केही ठुला भाषा वैज्ञानिकले पनि लिम्बु जस्ता नेपालका कतिपय किराँती भाषाहरूलाई आग्नेय परिवारका ठहराउने गल्ती गरेका छन् । त्यस्तै गल्ती थाई भाषालाई कहिले कहिले भोट चिनिया भाषा मानेर पनि भाषा वैज्ञानिकहरू झुक्किएका छन् ।
यसरी नेपाल आधार भूत रूपमा भारोपेली आर्य र भोट बर्मेली भाषा परिवारको क्रीडा भूमि हो । अङ्ग्रेजहरूले असमको जङ्गलमा पाइने चियालाई दार्जिलिङका डाँडाहरूमा लगाउने योजना ल्याए पछि एक दुई ओटा रमाइला कुरा भए । जनकलाल शर्मा (सुन फल्ने ठाउँ, २०६०) को भनाइ अनुसार अङ्ग्रेजहरू चिनियाहरू जस्तो हरियो चिया नखाएर कुम्याएको कालो चियामा दूध हालेको मन पराउने हुनाले उनीहरूले एकातिर चिया खेती अर्का तिर दूध व्यवसायलाई प्रश्रय दिए, बेलायतबाट विकसित प्रजातिका गाई ल्याएर असम सम्मका गाई पाल्न मानिसहरूलाई उकासे । गाई वस्तु पाल्नेमा नेपालीहरूले भारतको ईशान कोणका सबै जातिहरूलाई उछिने । यसरी दुग्ध व्यवसाय गर्दै उत्तर पूर्वी भारतमा पस्ने नेपालीहरू आधार भूत रूपमा बाहुन छेत्री थिए । आज पनि त्यस भेगको दुग्ध व्यवसाय धेरैजसो नेपाली छेत्री बाहुनको खटनमा छ भन्ने कुरो जनकलाल शर्माले लेखेका छन् । अङ्ग्रेजहरूले खोलेका चिया बगानमा काम गर्न मूल रूपमा झारखण्डबाट आएका द्रविड र आग्नेय जाति नै नेपालको आग्नेय र द्रविड परिवारका भाषा बोल्ने वक्ता हुन् भन्ने काशीनाथ तमोटको भनाइ छ । यसरी नेपालमा चियाको संस्कृति र द्रविड तथा आग्नेय जातिको घनिष्ठ साइनो रहेछ भन्ने बुझिन्छ अनि आग्नेय परिवारको साइनो एकातिर नेपालका भाषाहरूमा प्रागितिहासिक छ भने, अर्को चाहिँ निकट ऐतिहासिक छ ।
नेपालको लुम्बिनीमा जन्मेका शाक्य मुनि बुद्धले प्रवर्तन गरेको बुद्ध धर्म दुई तिन बाटाबाट मध्य एसिया, पूर्वी एसिया, दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका अनेक मुलुकहरूमा विस्तार भयो । ईपू तेस्रो शताब्दीमा सम्राट अशोकले यस धर्मलाई मध्य एसिया, श्रीलङ्का र दक्षिण पूर्वी एसियाका देशहरूमा पुर्याए । पहिलो शताब्दीमा सम्राट कनिष्कले बुद्ध धर्मलाई मध्य एसियाबाट चीन पुर्याए । चीनबाटै यो धर्म कोरिया र जापान सम्म ईसाको छैटौँ शताब्दीमै पुग्यो । चीन र तिब्बतको इतिहास अनुसार सातौँ शताब्दीमा भृकुटी (छी चन) ले नेपालबाट बुद्ध धर्मलाई चीनमा पुर्याइन् । यसरी बुद्ध धर्म दक्षिण एसिया र मध्य एसियाका भारोपेली आर्य र अन्य भाषाका अनेक वक्ताहरू कहाँ, दक्षिण पूर्व एसियामा मूलत: आग्नेय, अग्नेसियाली र भोट बर्मेली भाषाका वक्ताहरू कहाँ, तिब्बत, चीन र पूर्वी एसियामा चिनियाँ र अल्टाइक परिवारका भाषा बोल्ने वक्ताहरू कहाँ पुगेको देखिन्छ । यसरी पहिले प्राकृत र पालि भाषा, बिचमा संस्कृत भाषा र पछि अरू अनेक मातृभाषाहरूमा बुद्ध धर्मका माध्यमबाट संस्कृत, पालि र प्राकृत भाषाका माध्यमले हिन्दु र बौद्ध देवताहरू अनि संस्कृत भाषाका पारिभाषिक शब्द र अर्थ ती व्यापक क्षेत्रका मातृभाषाहरूमा फैलेको देखिन्छ । कहाँ सम्म भने, भोट चिनियाँ भाषा परिवारलाई म्याटिसोफ (Matisoff, 2003) ले हिन्दात्मक (इन्डोस्फेरिक) र चीनात्मक (साइनोस्फेरिक) भन्ने दुई मोटामोटी भागमा वर्गीकरण गरेका छन् : भारतीय उपमहाद्वीपमा बोलिने भोट बर्मेली भाषाहरू संस्कृत जस्ता द्विवचन हुने, आत्मनेपद र परस्मैपद जस्ता वाच्यका भेद छुट्याउने र लामा लामा क्रियाको रूपावली हुने पाइन्छन् भने, चीनमा बोलिने भोट बर्मेली भाषामा चाहिँ क्रियाको रूप छोटो हुने र उच्चारणमा तानको फरक छुट्याउने भेटिन्छन् । उल्लिखित क्षेत्रमा हिन्दु र बुद्ध धर्मको प्रभावलाई ती क्षेत्रका भाषाहरूमा संस्कृत, पालि र प्राकृत जस्ता आर्य भाषाको प्रभाव मान्नु पर्छ । दक्षिण एसियाका जुनसुकै मातृभाषामा संस्कृत र संस्कृतसँग साइनो राख्ने आर्य भाषाको सांस्कृतिक प्रभाव परेकै पाइन्छ । संस्कृतका वैदिक साहित्य, अनेक विधाका विद्या, भारतीय दर्शन, रामायण र महाभारत जस्ता महाकाव्य र पुराण जस्ता ग्रन्थहरूले दक्षिण एसियाको संस्कृति प्रत्यक्ष वा अप्रत्यक्ष रूपले गहिरो र बलियोसँग प्रभावित छ ।
भारतीय उपमहाद्वीपमा सबै भन्दा पहिले प्रवेश गरेको जाति भए पनि आग्नेय परिवारका भाषाको साहित्यिक समृद्धि संस्कृत, पालि र प्राकृतसँग होड गर्न सक्ने नभएकाले आग्नेय परिवारका भाषाको सांस्कृतिक प्रभाव आर्य परिवारका भाषाको प्रभावसँग बराबरी गर्न सक्ने पाइएको नभए पनि आग्नेय परिवारका भाषाको सांस्कृतिक प्रभाव भने नेपालकै भाषामा पनि परेको छ । द्रविड परिवारमा संस्कृत जति विकसित नभए पनि तमिल भाषा धेरै समृद्ध छ । नेपालका भाषामा कृषि औजार बुझाउने ‘कोदालो’ (सं. कुद्दाल) जस्ता अनेक शब्द द्रविड भाषाबाट संस्कृतमा आएका हुन् ।
क. डा. सुनीति कुमार चटर्जी र प्रबोध चन्द्र बाग्ची (Chatterji & Bagchi, Some more Austric words in Indo-Aryan, 1929) को भनाइ अनुसार संस्कृत भाषामा जङ्घा (जाङ), पण (८० कौडी) र नेपाली भाषाको गोट्टी बुझाउने शब्द आग्नेय परिवारबाट आएका हुन् ।
ख. डा. सुनीति कुमार चटर्जी (Chatterji, 1929) ले संस्कृत (र नेपाली) भाषाका निम्न लिखित शब्दहरू पनि आग्नेय भाषाबाट आएका हुन् : बाण, पिनाक, कम्बल, लिङ्ग, ताम्बूल (पान), कदलि (केरा), अङ्गार, कपोल, कपाल, भेक (भ्यागुतो), तुण्ड (टुँडो), मशक (लाम्खुट्टे), मत्सर (मच्छर), सर्षप (सर्स्युँ), नेपाली छोटो, फियो, पेट; घण्टा, गज (हात्ती), गण्डार (गैँडा), कुकुरलाई बोलाउने ‘चेई’, चम्चा, कपोत (परेवा), काक (काग), करौँती, वातिङ्गण (बैगुन वा भान्टा), दाडिम्ब (दारिम), कदम्ब (कदम), निम्ब (निम), रम्भा (केरा), निम्बुक (कागती), जम्बु (जामुनो वा फँडिर), स्तम्भ (खाँबो), उदुम्बर (डुम्री) र पगाहा ।
ग. प्सेलुस्की (Przyluski, 1929) ले पनि संस्कृत भाषाका निम्न लिखित शब्दहरू आग्नेय, द्रविड र अन्य भाषाबाट आएको सूचना दिएका छन् : कदली वा कन्दली (केरा), बाल (केश), कम्बल (कम्मल), शिम्बल (सिमल), लाङ्गल वा लाङ्गुल (खन्ती), लिङ्ग, लगुड (लौरो), ताम्बूल (पान), नेपाली ‘मोर्नु’, गुटुमुटु, बिडा (पानको कोटिकार), बाण, कर्पास (कपास), कर्पट (कपास, कपडा), कोटि (करोड, कडोर), कोरी (२०), मकुट वा मुकुट ।
घ. जुल्ज ब्लख (Bloch, 1929) ले संस्कृत भाषामा द्रविड (र आग्नेय) भाषाका निम्न लिखित शब्द पसेको सूचना दिएका छन् : घोट (घोडा), मयूर (मुजुर), गोधूम (गहुँ), फल ।
भोट चिनिया परिवारमा सबै भन्दा समृद्ध भाषा चिनिया हो । चिनिया भाषामा झन्डै ७००० वर्षको लेख्य परम्परा भएको सूचना चिनिया अनुसन्धाताहरूले दिएका छन् (Norman, 1988) । चिनिया पछि सातौँ शताब्दीदेखिको लेख्य परम्पराले तिब्बती भाषा समृद्ध छ । त्यस पछि बर्माली (वा बर्मेली), मणिपुरी र नेवार भाषा समृद्ध छन्। नेपाली भाषामा रायोलाई ‘पाछाई’ भन्दछन् । यो शब्द चिनिया भाषाको ‘पाई (सेतो) छाई (साग)’ शब्दबाट बनेको हो । ‘इउँ’ पनि चिनियाँ भाषाको ‘यु’ शब्दबाट बनेको हो । चिनियाँ भाषाका धेरै आधार भूत शब्दहरू नेपालका जुनसुकै भोट बर्मेली भाषासित मिल्छन् । तिब्बतीसँग धेरै नजिकको ऐतिहासिक साइनो भएका तामाङ, गुरुङ, थकाली, छन्त्याल, काइके, शेर्पा, ल्होमी, मनाङे, घले, ह्योल्मो, जिरेल र बार गाउँले भाषा बोल्नेहरूको संस्कृति त धेरैजसो तिब्बती संस्कृतिसितै मिल्छ । भोट चिनिया परिवारको हिमाली शाखाका व्यासी, राजी, राउटे, मगर खाम, मगर ढुट, भुजेल, चेपाङ, बनकरिया, नेवार, थामी, हायु, सुनुवार, राई, याक्खा र लिम्बु र धिमाल भाषा बोल्नेहरूको खान, पान, आवास र रहनसहन पनि धेरै मिल्छ ।
किराँतीहरू खोलालाई ‘कु-वा, खु-वा, गु-वा, वा’ भन्दछन्, त्यसैले पूर्वी नेपालका धेरै खोलाहरूको नाम किराँती भाषाबाट बनेको देखिन्छ, जस्तै पिखुवा, लेगुवा, ताङ्खुवा, बल्खु, बेल्खु, मलेखु, लिखु, सावा, रावा, मेवा, मैवा, आदि । मगर भाषाको प्रभाव क्षेत्रमा खोलाको नाममा ‘ति, दि, डि, रि, लि’ मिसिएको पाइन्छ, जस्तै, ‘रिस्ती, कलेस्ती, राम्दी, चुँदी, तादी, मर्स्याङ्दी, मादी, दरौँदी, रिडी, भेरी, काली’ । दार्जिलिङ क्षेत्रका धेरै ठाउँका नामहरू लाप्चा भाषाबाट बनेको कुरो रागिनी थापाले उत्तर बङ्ग विश्व विद्यालयमा गरेको पिएचडी अनुसन्धानबाट देखाएकी छिन् । नेपालमा गुन्द्रुक, सिन्की, पाङ्लाङ, किनेमा र सुँगुरको मासु खाने चलन दक्षिण चीनबाट आएको देखिन्छ, त्यसैले नेपालका भोट चिनिया भाषाहरूबाट ती कुरा जनाउने शब्द अन्यत्रका भोट चिनिया भाषाका शब्दसित मिल्न सक्छन् ।
भारोपेली आर्य परिवारका भाषामा प्रश्न वाचक (क-बाट उठेका को, के, कहाँ, कहिले, कता, कसरी, आदि) र सम्बन्ध वाचक (ज-बाट उठेका जो, जे, जहाँ, जहिले, जता, जसरी, आदि) सर्वनाम दुई थरी हुन्छन् । यसरी नेपाली भाषामा सम्बन्ध वाचक उपवाक्य (जहाँ पानी पर्छ,…) ज-बाट थालिन्छ भने, प्रश्न वाचक उपवाक्य (कहाँ पानी पर्छ?) चाहिँ क-बाट थालिन्छ । भोट चिनियाँ भाषामा सम्बन्ध वाचक सर्वनाम हुँदैन, त्यसैले सम्बन्ध वाचक उपवाक्य पनि प्रश्न वाचक सर्वनामबाटै थालिन्छ । भोट बर्मेली भाषाको त्यो संरचनाबाट पछि नेपाली भाषा आफै प्रभावित भयो (त्यो मान्छे कहाँ जान्छ, म त्यहीँ जान्छु ) ।
अमेरिकाको इलिनोई विश्व विद्यालयका संस्कृतका प्राध्यापक हेन्स हेन्रिक हकले १९८७ ई मा पुणे विश्व विद्यालयको डेक्कन कलेजमा दिएको प्रवचन अनुसार संस्कृत भाषाले द्रविड भाषालाई प्रभावित गर्यो कि द्रविड भाषाले संस्कृतलाई प्रभावित गर्यो, त्यो कुरो पत्तो लगाउनै सकिँदैन । यसरी दक्षिण एसियामा भएका चार ओटा मूल परिवारका भाषा बोल्नेहरूको संस्कृतिको पारस्परिक आदान प्रदानबाट नेपालीहरूको भाषिक संस्कृति पनि बनेको देखिन्छ ।
यसरी युरोप, एसिया र प्रशान्त क्षेत्रका बेग्ला बेग्लै भूभागमा मूल थलो भए पनि दक्षिण एसियाको नेपाल भेगमा आए पछि कुसुन्डा, आग्नेय, द्रविड, भोट चिनियाँ र भारोपेली आर्य भाषा बोल्ने नेपालीहरू सांस्कृतिक (र भाषा वैज्ञानिक) रूपले उत्तरोत्तर रूपमा एकाकार र एकता बद्ध भई रहेका छन् ।
Bibliography
Basham, A. (Ed.). (1975). A cultural history of India. London: Oxford University Press.
Bloch, J. (1929). Sanskrit and Dravidian. In S. Levi, J. Przyluski, & J. Bloch, Pre-Aryan and Pre-Dravidian in India (pp. 33-59). Calcutta: Calcutta University Press.
CBS. (2011). National population and housing census (Vol. 01). Kathmandu, Nepal: Central Bureau of Statistics, National Planning Commission.
Chatterji, S. K. (1929). Some more Austric words in Indo-Aryan. In S. Levi, J. Przyluski, & J. Bloch, Pre-Aryan and Pre-Dravidian in India (pp. xix-xxix). Calcutta: Calcutta University Press.
Chatterji, S. K. (1974). Kirata-jana-krti. Calcutta: Asiatic Society.
Chatterji, S. K., & Bagchi, P. C. (1929). Some more Austric words in Indo-Aryan. In S. Levi, J. Przyluski, & J. Bloch, Pre-Aryan and Pre-Dravidian in India (P. C. Bagchi, Trans., pp. i-xix). Calcutta: Calcutta University Press.
Grierson, G. A. (1909). Tibeto-Buraman family. In G. A. Grierson, Linguistic Survey of India (Indian ed., Vol. 3). Delhi: Low Price Publications [Indian edition].
Grierson, G. A. (1927). The Austric family. In G. A. Grierson, Linguistic Survey of India (Vol. 1, pp. 32-38). Delhi, India: Motilal Banarasidass.
http://en.wikipedia.org/wiki/Urheimat#Afro-Asiatic_homeland. (n.d.).
Macdonell, A. A., & Keith, A. B. (1912 [1958]). Vedic Index of Names and Subjects. London [Delhi]: Motilal Banarasidass.
Matisoff, J. A. (2003). Handbook of Proto-Tibeto-Burman: System and philosophy of Sino-Tibetan reconstruction. California: University of California Press.
Norman, J. (1988). Chinese. London: Cambridge University Press.
Przyluski, J. (1929). Non-Aryan loans in Indo-Aryan. In S. Levi, J. Przyluski, & J. Bloch, Pre-Aryan and Pre-Dravidian in India (pp. 1-32). Calcutta: Calcutta University Press.
Singh, G. P. (2008). Researches into the history and civilization of the Kiratas. New Delhi: Gyankunj.
Watters, D. E., Yadava, Y. P., Pokharel, M. P., & Prasain, B. (2005). Notes on Kusunda grammar (a language isolate of Nepal). Kathmandu: National Foundation for the Development of Indigenous Languages.
Whitehouse, P., Usher, T., Ruhlen, M., & Wang, W. S.-Y. (n.d.). Kusunda: An Indo-Pacific language in Nepal.
शर्मा, ज. (२०३९). हाम्रो समाज : एक अध्ययन. काठमाडौँ: साझा प्रकाशन.
शर्मा, ज. (२०६०). सुन फल्ने ठाउँ. In म. प. पोखरेल, & स. ढकाल (Eds.), जनकलाल शर्माका संस्मरण (pp. २१४-२१९). काठमाडौँ: साझा प्रकाशन.