नोवल किशोर राई

प्राध्यापक डा. नोवल किशोर राई मेरा घनिष्ठ मित्र हुन् । मैले उनको नाउँ पहिले सुनेँ कि उनलाई पहिले देखेँ भन्न सक्तिन । सं. २०२७ मा म त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अर्थ शास्त्रमा एमए पढ्न आएको थिएँ । त्यस वेला डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना भर्खर सोभियत रुसबाट पिएचडी गरेर आउनु भएको थियो । कक्षामा उहाँ विद्यार्थीहरूलाई एकदम हँसिलो र मित्रवत् भएर पढाउनु हुन्थ्यो, तर मलाई भने डा. कृष्ण प्रसाद शर्माले पढाएको एकदम मन पर्थ्यो । पढाउने गुरु चाहिँ डा. तिमिल्सिना मन पर्थ्यो, पढाएको चाहिँ प्रोफेसर शर्माको मन पर्थ्यो । मेरा सहपाठीहरू राम शरण महत, भरत बहादुर कार्की, सन्तोष पन्त, पम्फा लिम्बुहरू थिए, तर म खर्च धान्न नसकेर दुई महिनामै अर्थ शास्त्र छोडेर धरान पब्लिक हाई स्कुलमा पढाउन पुगेँ, त्यसैले मेरा ति सहपाठीहरू मध्ये मलाई सन्तोष पन्तले चाहिँ चिन्छन् होला; अरूले चिन्दैनन् कि ! त्यति वेला नोवल किशोर राई कलेज अफ एजुकेसनमा हो कि अङ्ग्रेजी विभागमा पढ्थे । हाम्रो चिनजान नभए पनि उनले मेरो ध्यान कसरी ताने भने, बेलुका कलेज सकिए पछि बसको भिडमा उनी साथीहरूलाई खुब हँसाउँथे । उनको बाक्लो चस्मा पनि मेरो आकर्षणको केन्द्र थियो होला । तेस्रो आकर्षणको कुरो थियो उनको अम्रिकाने टोप !

 

  • नोवल किशोरका आँखा कमजोर भएकाले बाक्लो चस्मा लगाउँछन् । उसै त राईका आँखा, त्यहीँ माथि नेगेटिभ पावरको बाक्लो चस्मा लगाउँदा उनका आँखा चस्माबाट सारै साना देखिन्छन् । एक पल्ट कुनै कार्य क्रममा नोवल किशोर बसी रहेका वेलामा एउटा केटाकेटी कुदेर आएर चस्मा भित्र आँखा छन् कि छैनन् भनेर हात छिराएर छाम्यो अरे !
  • नोवल किशोर राईले कान्तिपुरमा अन्तर्वार्ता दिँदा के लेखे छन् भने, उनी केटाकेटी हुँदा लाहुरबाट एउटा आफन्तले ल्याएको दन्त मञ्जन मिठो लागेर पुरै ट्युब खाएर सिध्याई दिए अरे । टुथ पेस्ट मात्र नखाएर पछि आफन्तको गाली पनि खुब खाए अरे !

 

नोवल किशोरसँग साटिएकाले डा. स्वामी प्रपन्नाचार्यको जीवनमा कायापलट भएको रहेछ । नोवलको पहाडको घर (रवि, पाँचथर) मा एकपल्ट एउटा साधु आएका थिए अरे । नोवलजीको परिवार जोसमनी सन्तहरूको परिवार हो । जोसमनी सन्तहरूको नाम पछाडि ‘दास’ शब्द प्रत्यय जस्तो भएर जोडिन्छ ।  सन्त परिवार भएकाले साधु सन्तको सेवा गर्नु त्यो परिवारले आफ्नो कर्तव्य ठान्थ्यो । नोवलजीले ति साधुको छ महिना जति सेवा गरे पछि साधु खुसी भएर नोवलजी (आँखा कमजोर भएकाले साधुले बोलाउने नाम ‘सुरदास’) लाई आफूसितै लैजान मागेछन् । नोवलजीका बा त मान्नु भएछ, तर आफ्नो कान्छो छोरो जोगीसँग पठाउन आमा मान्नु भएनछ । त्यसै वेलामा जोगी हिँड्न लाग्दा नोवलजीका मामाले ‘ए सीतारामे, कि जान्छस् त तँ महात्मासित भनेर एउटा राई केटालाई सोधेछन् ।‘ तुरुन्त जोगीसँग जान ठिक्क परेर जोगीको झोली चिम्टा बोकेर हिँडेको उति वेलाको सीतारामे नै वीरगन्जमा विश्व हिन्दु सम्मेलनमा संस्कृत, नेपाली र हिन्दी तिन ओटै भाषामा भाषण गर्ने डा. स्वामी प्रपन्नाचार्य भएको गाउँलेहरूले चाल पाएछन् ।  डा. गोविन्द टण्डनलाई दिएको अन्तर्वार्तामा डा. प्रपन्नाचार्यले ‘नोवल किशोर राईसँग मेरो नाइटो जोडिएको छ’ भनेका रहेछन् ।

 

धरानमै बसेर मैले प्राइभेट विद्यार्थीका रूपमा नेपालीमा एमए पास गरेकाले म विश्व विद्यालयका नेपाली विषयका विद्यार्थीहरूलाई चिन्दिनथेँ । अनिवार्य नेपालीका गोष्ठीहरूमा सहभागी भएकाले अधिराज्य भरका नेपाली पढाउने वरिष्ठहरू मेरा चिनजानमा आए, तर नोवल किशोर राईसित अनिवार्य नेपालीको कुनै गोष्ठीमा भेट भए जस्तो मलाई लाग्दैन । नेपालीमा एमए पास भए पछि मैले पहिले एक सिमेस्टर धरान महेन्द्र क्याम्पसमा पढाएँ भने अर्को वर्षदेखि व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानको केन्द्रीय क्याम्पस धरान हात्तिसारमा १२ वर्ष सम्म पढाएँ । मैले हात्तिसार क्याम्पसमै पढाई रहेका वेलामा डा. बल्लभ मणि दाहालसित मेरो परिचय भयो र उहाँले नै मलाई भाषा विज्ञानमा पिएचडी गर्ने प्रेरणा दिनु भयो, त्यसैले काठमाडौँ पुगेका वेलामा म प्रोफेसर दाहाललाई भेट्न अवश्य जान्थेँ । नोवल किशोर राई पुनामा भाषा विज्ञानमा पिएचडी गर्न गएको सूचना मलाई डा. वल्लभ मणि दाहाल अथवा डा. सुभद्रा सुब्बाले नै दिनु भयो होला । शान्ति बस्‍नेतको नाउँ पनि मैले पहिलो पल्ट डा. बल्लभ मणि दाहालकै घरमा सुनेको हुनु पर्छ ।

 

डा. नोवल किशोर राईले मैले भन्दा ४ वर्ष अगाडि पुनाको डेक्‍कन कलेजबाट पिएचडी गरे जस्तो लाग्छ । उनले बान्तावा राई भाषामा पिएचडी गरेका हुन् । प्रो. एस.आर. शर्मा उनका गुरु हुन् । उनले बान्तावा राई भाषाको व्याकरणको पुस्तक प्रकाशित पनि गरेका छन् । नोवलजी जन्मले चाम्लिङ मातृभाषाले बान्तावा हुन् । उनी भाषा विज्ञानमा पिएचडी गर्ने पहिला किराँती हुन् । यस दृष्टिले नोवल किशोर नेपालका एक जना अद्वितीय व्यक्ति हुन् । नेपालमा अद्वितीय विद्वानले लेख्‍ने पढ्ने फुर्सद त्यति पाउँदैन, किन भने नोवल किशोरकै शब्दमा, अनेक तिरको बैठक भ्याई नभ्याई भएर उनी ‘सोर सरादको पुरेत’ जस्ता भएका छन् । खाई नखाई सास फेर्ने फुर्सद पनि नपाई धेरै जसो चाहिँ ‘खाई नपाई छालाको टोपी लाई’ मा कुद्‍नु पर्ने भएकाले शनि बार उनले सास फेर्न छुट्याएका छन्, तर मित्रहरूको अनुरोधमा मैन बनेर पग्लिने बानीले गर्दा बिचरा डाक्टर राईले चिताएको कुरो कति पुग्छ, मलाई थाह छैन ।

 

उनले अङ्ग्रेजी विषयमा एमए गर्ने सुर गरेर नेपाली विषयमा एमए सके जस्तो लाग्छ । उनी आधारभूत रूपमा नेपाली विषयका गुरु हुन् ।  भाषा विज्ञानमा पिएचडी गरे पछि पनि उनले नेपाली विषय नै धेरै वर्ष पढाए र अन्त्यमा नेपाली विषयकै प्राध्यापक पनि भए ।  नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) मा सर्नु भन्दा अघि सम्म उनी त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र सङ्कायकै प्राध्यापक थिए । सिनासमा उनी भोट चिनियाँ भाषाका विशेषज्ञ मानिन्थे र नेपालकै पनि उनी प्रसिद्ध भोट चिनियाँ विशेषज्ञ हुन् । किराँती भाषामा धेरै पछि डा. लाल रापचा र डा. गोविन्द बहादुर तुम्बाहाङले पिएचडी गरे पनि नेपालका भोट चिनियाँ विशेषज्ञमा प्रा. राईको विश्व प्रसिद्धि छुन सक्‍ने हुन उनीहरूले अझै केही वर्ष पर्खनु पर्ला ।

 

नगरकोट रिजोर्टमा एक पल्ट मदन पुरस्कार पुस्तकालयले पुर्‍याएको थियो । नोवल किशोरको र मेरो मन पनि मिल्ने, भोजन पनि मिल्ने, कुरो पनि मिल्ने भएकाले मैले एउटै कोठामा सुत्ने साथी उनैलाई रोजेँ, तर नोवल किशोरको ननस्टप घुर्ने बानी रहेछ भन्ने मलाई थाह थिएन । म सधैँ पौने दश बजे सुत्छु । सुत्ने वेलामा दुई तिन मिनट शान्ति भयो भने, रात भरि बन्दुक पड्काएको पनि म थाह पाउँदिन, तर नोवल त बेलुका आठ साढे आठ बजे तिर टिभी हेर्दा हेर्दै ठाडै घुर्न थाले । रात भर मेरो निन्द्रा बाक्लो हुन पाएन । छ वर्ष अघि डेक्कन कलेजको स्वर्ण जयन्ती समारोहमा भाग लिन नोवलजी र म दुवै जना श्रीमती सहित पुना जाँदा रेलमा मैले मेडमलाई नगरकोटमा म राम्ररी सुत्न नसकेको भोलि पल्ट नोवलजीलाई मैले भनेको कुरो सुनाएँ, “एक वास बसेर मात्रै भाउजुले तिमीसँग बिहे गर्न रोज्न पाउने भए, तिम्रो बिहे नै हुने रहेनछ ।“ भाउजुले भन्नु भयो, “म बेहुली भएर आउँदा दमकको काठको घरमा मलाई निन्द्रा नपर्दै पहिले ससुराले घुर्नु भयो; ससुराले रोक्न नपाउँदै तिन भाइ जेठाजुहरूले पनि कहिले पालै पालो कहिले सँगसँगै घुरेकाले मेरो रात भरि फर्लङ्ङ बितेको थियो ।“

 

डा. नोवल किशोर राई मेरा मन मिल्ने मित्र भएकाले भेट भए पछि हाम्रो कुरो सुरु मात्र हुन्छ, टुङ्ग्याउन गारो हुन्छ । प्रो. राईको र मेरो कुन कुन शीर्षकमा चाहिँ कुरा नगर्ने भन्ने कुनै छेकबार छैन । सुरुमा केही असहमति भयो भने पनि त्यो दिगो हुँदैन । नेपालका भाषा विज्ञान सम्बन्धी निर्णयमा नोवल किशोर र म एउटै चौतारामा पटक पटक भेटिन्छौँ । कहिले कुनै जनजातिको मातृभाषाको विकास गर्ने कार्य क्रममा, कहिले नेपालका भाषाको कसरी विकास गर्ने भन्ने सन्दर्भमा, कहिले नेपालमा कस्तो भाषा नीति र भाषा योजना चाहिन्छ भन्ने छलफलमा, कहिले विश्व विद्यालयमा भाषा विज्ञानको पाठ्य क्रम बारे छलफल गर्न, कहिले नेपालका भाषाहरूको सर्वेक्षण गर्ने कार्य क्रममा, कहिले कुनै साहित्य गोष्ठीमा र कहिले नेपाली विषयकै व्याकरण र लेखन सम्बन्धी अन्तरक्रियामा हामी सँगै हुन्छौँ । हामी दुवै जना औपचारिक भन्दा अनौपचारिक कुरा गर्न रुचाउँछौँ ।  नोवल किशोरलाई आफू कुनै वेला जर्मनीको राजदूत थिएँ भन्ने घमन्ड पनि छैन ।  मानिस सरल र रसिक व्यक्तित्वका छन् ।

 

नोवलजी बिए जाँच दिएर घर पुग्दा बाटामा आफ्नी एउटी सोल्टी भेटिई अरे ! कुनै लाउरेसँग बिहे गरी ओरि दुई तिन ओटा छोराछोरी पाई सकेकी ! सोल्टी गाई चराई रहेकी थिई अरे । नोवलले जिस्क्याउने सुरले सोल्टीलाई एउटा गाई देखाएर भने अरे, ‘होइन यो गाई त दुई तिन बेत बसेर बुढी भई सकेछ त !’ सोल्टीले प्रत्युत्पन्नमति जवाफ दिई अरे, ‘खोइ, बुढी भए पनि सिङले माटो उधिनेर बहर पछि लाग्न छोड्ने रहेनछ ।‘

Leave a Reply