नेपालको इतिहासमा पृथ्वी नारायण शाह भन्दा पनि वीर कुनै मान्छेको नाम लिनु पर्दा म पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नाउँ लिन्छु, किन भने पृथ्वी नारायण शाहले भुरे टाकुरे राजाहरूलाई परम्परागत हतियार र रण कौशलका आधारमा जितेका थिए भने, प्रचण्डले चाहिँ राजा महेन्द्र भन्दा बढ्ता महत्त्वाकाङ्क्षी सम्राट् ज्ञानेन्द्रलाई आधुनिक हतियार र माओ च तुङको गुरिल्ला युद्धका बलमा जितेका थिए । पृथ्वी नारायण शाहले एकीकरण गरेर नेपालको इतिहासमा शाह वंशको सबै भन्दा ठुलो राज्य बनाएका थिए भने प्रचण्डले चाहिँ नेपालको इतिहासबाट राजतन्त्रको अन्त्य गराएका थिए । पृथ्वी नारायण शाह राजाकै छोरा थिए, तर प्रचण्ड चाहिँ जनताका छोरा मात्र थिए । पृथ्वी नारायण शाहले जितेको नेपालको भू भाग भन्दा प्रचण्डले जितेको भू भाग नै ठुलो हो । यिनै कारणले मैले पञ्चायती व्यवस्थामा जनतालाई भेडा बनाएर राजाका लागि प्रयोग हुने ‘चिरायु रहुन्’ भन्ने नारा वीर प्रचण्डका लागि प्रयोग गरेको हुँ ।
कार्ल मार्क्स एउटा दार्शनिक मात्र थिए । मार्क्सले बनाएको सिद्धान्त लेनिनका हातमा नपरेको भए मार्क्स वादी गण राज्य ‘युटोपिया’ (काल्पनिक राज्य) मात्र हुने थियो । नीर विक्रम प्यासीले भने जस्तै कार्ल मार्क्स मार्क्स वादी थिएनन् । विश्वमा लेनिन नै पहिला मार्क्स वादी हुन् । लेनिनले अनेक गण तन्त्रहरू जोड्दै सोभियत सङ्घ बनाएर मार्क्स वादी सिद्धान्तलाई व्यवहारमा नउतारेका भए, माओ च तुङले चीनमा मार्क्स वाद र लेनिन वादको प्रेरणा लिएर गुरिल्ला युद्धको रण कौशलको आविष्कार गर्ने थिएनन् । मार्क्सको सिद्धान्तलाई सोभियत सङ्घका माटामा लागु गर्न लेनिनले थुप्रै व्यावहारिक निर्णय गरे र मार्क्स वादको नयाँ भाष्य निकाले । मार्क्स मार्क्स वादी नभए जस्तै लेनिन पनि लेनिन वादी थिएनन् । सबभन्दा सफल पहिला लेनिन वादी त माओ च तुङ हुन् । लेनिनको अनुभव, प्रेरणा र सपना लिएर कृषिमा आधारित मार्क्स वादको नयाँ संस्करण विश्वका मार्क्स वादी लेनिन वादीलाई माओ च तुङले दिए । नेपालको परम्परागत राजतन्त्र सिध्याउन प्रचण्डले माओ च तुङको प्रेरणा लिए । यसरी प्रचण्ड चाहिँ मार्क्स वादी, लेनिन वादी र माओ वादी तिनै थरी हुन् ।
विश्वका मार्क्स वादी, लेनिन वादी र माओ वादीलाई प्रचण्डले ‘उत्तर आधुनिक माओ वाद’ को नयाँ संस्करण दिए । आधुनिकता र उत्तर आधुनिकतामा धेरै ठुलो फरक देखिए पनि उत्तर आधुनिकताको मूल प्रेरणा र भावना आधुनिकताबाटै जन्मेको हो । वैज्ञानिकता र वस्तुपरकता आधुनिकताको विशेषता हो भने, उत्तर आधुनिकताले अझ बढ्ता वैज्ञानिकता, वस्तुपरकता र न्यायपरकताको दाबी गर्छ । मार्क्स वादले गरिबलाई धनीले गर्ने संरचनागत शोषणबाट मुक्ति दिने प्रतिज्ञा गर्छ र आफ्नो राज्यबाट धनीले पाएका सबै हक र सुविधामा गरिबको बराबर हकको वकालत गर्छ । यसरी लेनिन वाद र माओ वादले आधुनिकताको प्रतिनिधित्व गर्छन् । उत्तर आधुनिकता चाहिँ फ्रान्सेली दार्शनिक देरिदाका सिद्धान्तको फल हो । स्विट्जर्ल्यान्डका भाषा वैज्ञानिक ससुरले संरचना वादको परिभाषा गर्दै कस्तो विचार राखे भने, कसैले एउटा वाक्य बनाउँदा हरेक शब्द रोजेर प्रयोग गर्छ; यसरी रोजिएको हरेक शब्दले एउटा कुरो जनाउँछ र त्यो जनाइएको कुरो नै त्यो शब्दको अर्थ हो । यसमा देरिदा चाहिँ के भन्छन् भने, कसैले एउटा वाक्य बनाउँदा रोजिएको हरेक शब्दले बराबर हकदार तर रोजिने मौका नपाएका असङ्ख्य शब्दहरूलाई ठाउँ (अर्थ) पाउने अधिकारबाट वञ्चित गर्छ । यसरी उत्तर आधुनिकताले चाहिँ त्यसरी केन्द्र ओगट्न नपाउने सबैको बराबरी हकको वकालत गर्छ । मार्क्स वाद आधारभूत रूपमा आर्थिक शोषणको विरुद्ध वकालत गर्ने दर्शन हो; त्यसका विचारमा अरू सबै समस्या आर्थिक समस्यासँगै झुन्डिएर आउँछन्; आर्थिक समस्याको समाधान भए पछि सबै समस्याहरू समाधान हुन्छन् । प्रचण्ड पथ चाहिँ मार्क्स वादको उत्तर आधुनिकतावादी भाष्य हो, किन भने यसले भाषा, लिङ्ग, क्षेत्र, जात, जाति, आदि कुराहरूलाई पनि नेपालको नागरिक असमानताका सम्याउनु पर्ने तत्त्वहरू ठानेको छ । नेपालमा प्रचण्डले उठाएका कुरा आधार भूत रूपमा मार्क्स वादको लक्ष्य भित्रै पर्नु पर्ने हो, तर उत्तर आधुनिकताले परम्परागत सत्ता पाउने सबै केन्द्रलाई भत्काउन खोज्छ । मार्क्स वादलाई नै एउटा आधुनिकता वादी महाख्यान (ग्र्यान्ड न्यारेटिभ) ठान्नेहरूले पनि प्रचण्ड पथलाई केन्द्र भत्काउने ठानेर विरोध गर्नु स्वाभाविक छ । मार्क्स वाद, लेनिन वाद र माओ वादलाई शत्रु मान्न बानी परेका राजनीतिक शक्तिहरूले त प्रचण्डको विरोध गर्नु स्वाभाविकै हो । विश्वभरका मार्क्स वाद विरोधीहरूले प्रचण्डको विरोध गर्ने पहिलै पक्का थियो । नेपालका विरोधी पार्टीहरूले माओ वादीको विरोध गर्ने पनि पक्कै थियो, तर प्रचण्डको अधोनति उनकै समर्थकहरूले उपियाँले छोडे झैँ छोड्न थाले पछि थालियो ।
प्रचण्डले नेपाली जनतालाई निराश बनाए : गाउँ गाउँमा अविश्वासको बिउ रोपे; कुनाकाप्चामा लुटेर खाने परम्परा बसाले; सबै राजनीतिक पार्टीहरूलाई आफ्ना आफ्ना पार्टीमा ख्यातनामा गुन्डालाई इज्जत दिएर सदस्य बनाउनु पर्ने रहेछ भन्ने ज्ञान दिए; अङ्गभङ्ग भएकाहरूलाई दिएका सपनाहरू नेता र नेताका परिवारलाई चाहिँ साकार भए, उनीहरूलाई क्षति पूर्ति, बाँच्ने आधार र इज्जत सकेनन्; असङ्ख्य विधवा, राँडा र टुहुराहरूको आँसुको मूल्य चुकाउन सकेनन्; उनीहरूले भत्काएका पूर्वाधारको पुनर्निर्माण गर्न कुनै सघाउ पुर्याएनन्; गाउँ गाउँको मानवीय मूल्यमा भएको घाउ निको पार्न सकेनन्; देशमा जातीय राज्यका सपनाको डढेलो झोसे, तर निभाउन सकेनन्; कृत्रिम शत्रुताको बिउ नेपाली नेपालीका बिचमा रोपी दिए; एउटा नेपालीले अर्को नेपालीलाई देख्ता आँखा बिझाउने किरिकिरी हाली दिए; खुल्लेआम ज्यान मुद्दा लागेकालाई पार्टीको सदस्य बनाए; आफ्नै छोरो मार्ने हत्यारालाई कारबाही होस् भनेर न्याय खोज्न काठमाडौँ पुग्न सक्ने गोरखा फुजेलका अधिकारी दम्पत्तिले तिन चार महिनादेखि अनशन गर्दा पनि देशले निराजको मुलुक हुनु पर्ने बनाए; न लुटिएको सम्पत्ति फिर्ता गरे, न छापामारहरूका सपना साकार पारे; देशमै युवाहरूलाई रोजगार दिन चाहिँ सकेनन्, बरु देशमै बसे कि छापामार कि सरकारी योद्धा हुनु पर्ला भनेर युवाहरूले बिदेसिने बाटो सजिलो पारी दिए । देशको यो कन्तबिजोकको कारण प्रचण्डले लिन माने पनि नमाने पनि मानिसहरूले प्रचण्डलाई नै ठाने ।
भूपी शेरचनले ‘बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ भनेर लेखे झैँ मुलुकले सकारात्मक बाटो लिन सकेको भए, सबै मरेका र जिउँदा सहिदले पाएको जिउ र धनको नाश राज्यले सहन्थ्यो; राष्ट्र निर्माणमा रगत बग्नु र सङ्क्रमण कालमा जनताले दु:ख पाउनु स्वाभाविक मानिन्थ्यो । गोपालप्रसाद रिमालले प्रचण्ड जस्ता नेताबाट देशको उन्नति होला भन्ने राष्ट्रले चाहेको हुन्छ भन्ने विचार व्यक्त गरेका छन्, ‘तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो ।’ प्रचण्डबाट मुलुकले कति ठुलो आस गरेको थियो; माओ वादीहरू पनि झस्किने गरी अघिल्लो संविधान सभामा जनताले माओ वादीलाई विजयको माला लगाई दिए, तर आफुबाट राष्ट्रको इतिहासले चाहेको मागलाई प्रचण्डले पुरा गर्न सकेनन् । आफ्नो युगीन उत्तरदायित्व बिर्सिनु हो भने, झापा आन्दोलनका सर्वोच्च नेता सिपी मैनालीको मुखमा आफ्नो ऐना हेर्ने अभ्यास प्रचण्डले गर्न थाले हुन्छ । प्रचण्डले माओ वादीको पुच्छर चुँडिन दिनु हुँदैनथ्यो । प्रचण्डको सिद्धान्त र व्यवहारका बिचमा देखिएको खोल्सो नै अहिलेको जन निराशाका कारण हो भन्ने प्रचण्डले बुझ्नु पर्छ । एउटा राजा बिदा गर्ने नेतृत्व लिएका प्रचण्डबाट हामीले राजतन्त्रको नौलो संस्करण खोजेका होइनौँ । हामीलाई हेलिकप्टर चढेर ‘जसरी भए पनि जिताउन’ भोट माग्ने हैसियत भएको जन नेता चाहिएको रहेनछ; पर्वतारोहणमा दुई करोड माग्ने र बहु विवाह गर्ने छोराको मुख मान्छेले प्रचण्डको अनुहारमा देखे; छोरा, छोरी, बुहारी, भाइ, सबैलाई नेता बनाउने उत्तर कोरियाली सपना देखे; सबभन्दा बिकाउ पत्रिकामा, सुपरमार्केटमा, बस कम्पनी र ब्याङ्कहरूमा जनयुद्धमा लुटेको पैसा छद्म नाउँमा राखिएको गाइँगुइँ; हिसाबमा गोलमाल, लेखा परीक्षण नभएको पार्टीको बही खाता, र सुविधा सम्पन्न महलको वास साँचो भए पनि झुटो भए पनि जनताका आँखामा बिझाएछ ।
प्रचण्डलाई छापामारको चरित्र बिग्रेर सामाजिक समस्या बन्ला भन्ने होस भएन । ज्ञान आएर बर्दियामा कुनै मूर्खले लक्ष्मीप्रसाद देवकोटाको सालिक ढाल्यो अरे ! यो विद्रोहको विकृत संस्करणमा गत जनयुद्धको दुष्प्रभाव छ कि छैन, लेखाजोखा गर्नु आवश्यक छ ।
राजा महेन्द्रले नेपालमा ल्याएको विकेन्द्रीकरण प्रचण्ड राजाका पालामा आग्नेयास्त्रका रूपमा तत्कालीन सरकार र माओ वादी छापामारहरूले नेपालका कुनाकाप्चामा पुर्याए । शक्तिको विकेन्द्रीकरणको नारा ल्याउने राजाको पञ्चायती व्यवस्थाले परिणाममा शक्तिको केन्द्रीकरण गर्यो कि विकेन्द्रीकरण गर्यो, त्यसको हरहिसाब राजनीति शास्त्रका पण्डितहरूले राखेकै होलान्, तर उत्तरआधुनिक विकेन्द्रीकरणको नारा लिएर राजाको शक्ति कब्जा गर्न केन्द्र पसेका नेता फेरि गाउँमा पुग्न नसकेको उदाहरण रोल्पालीहरूले माओ वादी नेताहरूलाई मत दानमा पूर्ण बहिष्कार गरेर देखाई दिए ।
माओ वादी वैद्यपन्थीहरूले यस पालि प्रचण्डपन्थीहरूलाई हराए । दुवै माओ वादी मिलेका भए पनि कुनै लछार्पाटो लाउन सक्ने थिएनन् होला । जिताउनु भन्दा हराउनु सजिलो रहेछ ! बिमाओ वादीले एमाओ वादीलाई हराउन त सक्यो, तर जिताउन सक्ने थिएन । वैद्यपन्थीहरूले निर्वाचनको सक्रिय बहिष्कार गर्ने घोषणा गरे; एक दुई ठाउँमा पड्का पनि पड्काई दिए र एउटा बालखको हात पनि गयो; धेरै बिजाइँ गर्ने नीति रहेनछ; सरकारलाई त तर्साउनु र घुर्की लगाउनु मात्र रहेछ, प्रचण्ड पथको चाहिँ मुन्टो जोताउनु रहेछ । यस काममा वैद्यपन्थी सफल भयो : ‘जसरी भए पनि जित्नु पर्ने’ प्रचण्ड पथको नारा थियो, जसरी भए पनि प्रचण्डपन्थीलाई हराउनु वैद्यपन्थीको दाउ थियो । वैद्यपन्थीको सक्रिय बहिष्कारको प्रारम्भिक उपद्राबाट निर्वाचन आयोग सतर्क भयो; खिलराज रेग्मी सरकारले जसरी भए पनि निर्वाचन सफल गराउनु थियो : तिन घेरा सुरक्षाकर्मी र विश्वभरका निर्वाचन पर्यवेक्षकहरू निम्त्याएर खिलराजले चुनाव गराई दिए । सरकारका आँखा र विदेशी पर्यवेक्षकहरू हम्मेसि नपुग्ने दुर्गम गाउँहरूमा निर्वाचन केन्द्र कब्जा गरेर प्रचण्डपन्थीहरूले चुनाउ जित्लान् भन्ने गुह्य कुरो वैद्यपन्थीलाई भन्दा कसलाई थाहा होला । कन्सुत्लाका खुट्टा कन्सुत्लैले गन्न सक्ला ! हारे पछि मुख लुकाउन गारो भएका प्रचण्डले निर्वाचनमा ‘सुनियोजित धाँधली भएकाले संविधान सभा बहिष्कार गर्ने’ घुर्की लगाए । किन रोइस् मङ्गले, आफ्नै ढङ्गले ! प्रचण्ड जस्ता ठुला नेतालाई कुरो फेर्न बेर लाग्दैन । प्रचण्डले गोपालप्रसाद रिमालले देखेको ‘आमाको सपना’ अझै बुझ्न सकेका छैनन् । यो युगले प्रचण्डसँग के मागी रहेको छ, प्रचण्डले त्यो चाल पाएका छैनन् ।
नेपाली मार्क्स वादले हरेक युगमा एक्ले बुलाहाहरूको उत्पादन गरी रहेको छ । मोहन विक्रम सिंह, चित्र बहादुर केसी, नेकपा मार्क्स वादी, नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, नेकपा मालेमा,…अरू कति हो कति, कसैसँग मिल्न नसक्ने नेपाल कम्युनिस्ट पार्टीका नेताहरू ! पृथ्वी नारायण शाह भन्दा अघिको नेपालका भुरे टाकुरे राजाहरू ! नेपालमा वामपन्थीहरूका पार्टी नाउँका कति भुरे टाकुरे राज्यहरू छन्, त्यो गन्न कहिल्यै पनि किन सकिँदैन भने, औँला भाँचेर एक पल्ट जप माला सिध्याउँदा नसिध्याउँदै वामपन्थी पार्टीहरूको जम्मा सङ्ख्या बढी सकेको हुन्छ । यसरी नेपालका जुँघाको लडाइँमा रमाउने वामपन्थी महाराजहरूले मार्क्स वादी जनताको अभिमत तुहाई रहेका छन् । सबै मार्क्स वादी ठुला नेताहरूलाई एउटा एउटा छुट्टै राज्य चाहिएको छ । अब बाइसी चौबिसी राज्यले पुग्दैन; जति जातका नेता छन्, त्यति जातका राज्य चाहियो । अहिलेका सबै विखण्डन वादी नेताहरू इतिहासमा बिग्रेका वामपन्थी नै छन्, किन भने नेपालमा एउटा वामपन्थीले आफु चुर्लुम्म डुबेको पार्टीका बाहेक अरू सबै वामपन्थीहरूलाई बिटुला र प्रतिक्रिया वादी भएको टड्कारै देख्छ । लेनिन बाँचेका भए नेपाली मार्क्स वादीहरूसँग यस्ता गुणहरू पक्कै पनि सिक्थे !
आज प्रचण्ड अर्कै औतार लिएर जागे भने नेपाली मार्क्स वादीहरूको खेर गई रहेको मतको सदुपयोग गर्ने बाटो रोज्न नसक्लान् त ! प्रचण्डका कति ओटा व्यक्तित्व छन् ? व्यक्ति प्रचण्ड, परिवारको नेता प्रचण्ड, आफ्नो गुटको नेता प्रचण्ड, एमाओ वादी नेता प्रचण्ड, जनयुद्ध कालको माओ वादी सुप्रिमो प्रचण्ड, मार्क्स वादीहरूको सफल प्रतीक प्रचण्ड, नेपालीहरूको उज्ज्वल भविष्यको प्रतीक प्रचण्ड, विश्वका मार्क्स वाद लेनिन वादमा विश्वास गर्नेहरूका गौरव प्रचण्ड ! हनुमान्ले आफ्नो सामर्थ्य बिर्से झैँ प्रचण्डले पनि आफ्नो विराट् स्वरूप बिर्सेका छन् र आफ्नो पार्टीका फुच्चे नेताहरूसँग सानो कुर्सीका लागि रोड्याइँ गर्दै निकट भविष्यमा आफुलाई सहजै प्राप्त हुने बाँदर, ढेडु वा गुनाको एक्ले बुलाहाको सिंहासन तिर लम्की रहेका छन् ।
अहिले पनि सबै छरिएका मार्क्स वादीहरूको भोट बटुल्नु हो भने, नेपालमा मार्क्स वादीहरूकै बहुमत छ, तर डा. के.आई. सिंह भन्थे, ‘भगवान्ले कोरीको नङ झारी दिन्छ’ । दुइटा एक्ले बुलाहाहरू मिलेर बस्न सक्तैनन् । काङ्ग्रेस र एमालेले जनताको हित गर्न गएका चारपाँच वर्षमा केही लछार्पाटो लगाएका होइनन्; गएका चुनाउमा माओ वादीको नकारात्मक भोट उनीहरूले पाएका हुन् । प्रचण्डले चाहेका भए, संविधान अघिल्लै पटक आउँथ्यो । प्रचण्डको चाणक्य नीतिबाट प्रभावित भएर मैले आफ्नी कान्छी बुहारीलाई चाणक्य नीतिमा पिएचडी गर्ने प्रेरणा दिएँ । जन आन्दोलनको फल नेताले मात्र पाउनु लक्ष्य होइन, त्यसै पार्टीका कार्य कर्ताहरूले मात्र पाउनु पनि लक्ष्य होइन, त्यसै पार्टीलाई भोट हाल्नेले मात्र पाउनु पनि लक्ष्य होइन, समग्र न्यायप्रेमी जनताले त्यसको फल पाउन् भन्ने लक्ष्य राखेको आन्दोलन मात्र सक्कली अर्थमा जन आन्दोलन हो ।
प्रचण्ड जस्ता नेपाली वामपन्थीहरूका शिखर पुरुषका अगाडि त सबै वामपन्थी राज्यहरूको एकीकरण गर्ने पृथ्वी नारायण शाहको जस्तो अभियान छैन र ? नेपालका महाराजाधिराजलाई परास्त गर्ने युद्ध जित्ने प्रचण्ड महाराजले त नेपालका वामपन्थी राज्यहरूको एकीकरण गर्ने अर्को महाप्रयाणमा पाइलो सार्नु पर्थ्यो । प्रचण्डले राज्यले आफुसित गरेको मागको युग सापेक्ष मर्म किन बुझ्न नसकेका ? ‘आमाको सपना’ बिर्सेर किन प्रचण्ड आफ्ना पार्टी भित्र पनि कहिल्यै नटुङ्गिने राज्य विभाजन गरी रहेका छन् । नेपालको इतिहासमा पृथ्वी नारायण शाह भन्दा पनि वीर अद्वितीय व्यक्तित्वबाट विश्वका विकसित मुलुक जस्तै नेपाललाई उन्नति तिर लैजाने र भ्रष्टाचार मुक्त मुलुक बनाउने आमाको सपना पुरा गर्न तिर नलागेर भासमा आकण्ठ हुनु यस राष्ट्रको ठुलो नाश हो । हनुमान् झैँ प्रचण्ड, तिमी आफुले कुल्चेको भुइँ भन्दा माथि उठ, कसैलाई ओर र कसैलाई पर गर्न तिम्रो पार्टी भित्र अरू माइलो दर्जाका नेतालाई छोडी देउ । तिमीले सबै राजनीतिक पार्टी छोडी नै दियौ भने पनि नेपालको इतिहासले तिम्रो ऐतिहासिक पाइलाका डाम मेट्न सक्तैन । नेपालको इतिहासमा तिमीले एउटा अनैतिहासिक काम गरी सक्यौ । अब यो भन्दा माथि आफुलाई उचाल्ने बाटो र ठाउँ देखेनौ भने, तिम्रो गन्तव्य पनि तिम्रा धेरै अग्रज वामपन्थी नेताहरूको जस्तै एक्ले बुलाहाको जस्तो हुन्छ । तिमीले अरू ऐतिहासिक फड्का हाल्नु पर्छ भन्ने गोपालप्रसाद रिमालकी ‘आमाको सपना’ छ ।
प्रचण्ड, तिमी नेल्सन मन्डेला, गान्धी, जयप्रकाश नारायण, गणेशमान सिंह र अन्ना हजारे झैँ नेपालका सर्वमान्य नेता बन । तिमी आफ्नो फुच्चे पार्टी छोडी देउ; राष्ट्रले तिमीलाई निर्विवाद राष्ट्रपति बनाउँछ भने, ठिक पर, नत्र नेपाल नाउँको यस घरको माथिल्लो तलामा तिम्रो ठाउँ खाली छ । उज्ज्वल भविष्यको इतिहासले तिमीलाई अपराजिताको माला लगाई दिन पर्खी रहेको छ । मास्तिर हेर प्रचण्ड, सम्पूर्ण नेपाली नभमण्डल तिम्रो नौलो औतारको स्वागत गर्न तयार छ ।