संस्कृत विसर्गसन्धिको गलत प्रयोग

अचेल नेपाली अखबारहरूमा पुनर्स्थापना, पुनर्प्रयोग”, “अन्तर्क्रियामनोकामना जस्ता तथाकथित संस्कृत शब्दहरू प्रयोग भएका देखिन्छन् । तिनै शब्दका छेउछाउमा संस्कृत र हिन्दी रूपमिश्रण भएको पुनर्ताजगी भन्ने शब्द पनि पर्छ । यी शब्दहरू संस्कृत विसर्गसन्धिको नियमअनुसार अशुद्ध छन् । नेपाली पत्रकारिता क्षेत्रमा संस्कृत व्याकरण राम्रो जान्ने हेमराज ज्ञवाली जस्ता व्यक्तिहरू पनि संलग्न छन् र मैले थाह पाएसम्म हरेक समाचारपत्रमा भनेजसो संस्कृत व्याकरण पढेर आउने पत्रकारहरूको कमी छैन । पत्रकारिता क्षेत्र भनेको भाषाको समसामयिक प्रयोग भइरहने र सबभन्दा बढी पाठकहरूले पटक-पटक हेरिरहने (र सुनिरहनर) फाँट हो, यसैले कक्षामा व्याकरणका गुरुजीले सिकाएको कुरोभन्दा सञ्चारमाध्यममा भएको बारम्बार प्रयोगबाट माथिल्लो तहका विद्यार्थी र प्रयोगकर्ताहरू बढी प्रभावित हुन्छन् । कहिलेकाहीँ के हुँदो रहेछ भने, एउटा अखबारले नजानेरै गल्ती गर्‍यो भने, अरू अखबारले आकर्षक ठानेर त्यसैको सिको गर्दा रहेछन् ।

संस्कृतमा विसर्ग पाँच किसिमले वाक्यमा अभिव्यक्त हुन्छ :

(क) वर्णका रूपमा

(ख) वर्णका रूपमा

(ग) वर्णका रूपमा

(घ) लोपका रूपमा

(ङ) विसर्गका रूपमा

 

१. संस्कृत शब्दका अन्तमा नेपाली तासतार जस्ता शब्दमा झैँ रेफ ( ध्वनि) र सकार भेटिँदैन । त्यस्ता परिस्थितिमा रेफ र सकारका ठाउँमा विसर्ग हुन्छ, जस्तै : नम: (नमस्), मन: (मनस्), तेज: (तेजस्), पुन: (पुनर्), प्रात: (प्रातर्), अन्त: (अन्तर्), पुर: (पुरस्), प्रात: (प्रातर्), धनु: (धनुर्), ज्योति: (ज्योतिर्), चतु: (चतुर्), बहि: (बहिर्), आयु: (आयुर्), आशी: (आशीर्), आदि (नियम : खरवसानयो: विसर्जनीय:, पाणिनि) ।

२. पुनर्, अन्तर्, प्रातर्, धनुर्, ज्योतिर्, चतुर्, बहिर्, आयुर्, आशीर् जस्ता रेफ ( ध्वनि) मा टुङ्‍गो लाग्ने शब्दको ध्वनि पछाडि घोष ध्वनि (गजडदब, घझढधभ, ङनम, यव, स्वर) भए मात्र जोगिन्छ, जस्तै : अन्तर्गत, दुर्गति, दुर्गन्ध, बहिर्गमन,अन्तर्जातीय, निर्जलीयता, निर्जीव, पुनर्जन्म, निर्जन, अन्तर्देशीय, निर्देशन, निर्दोष, निर्धन, धनुर्धारी, निर्धारण, ज्योतिर्मय, निर्मल, निर्माण, निर्यात, दुर्योधन, दुर्लभ, निर्लज्ज, अन्तर्वार्ता, आशीर्वाद, पुनर्विवाह, निर्वाह, दुर्व्यवहार, निर्वस्त्र, निर्विकल्प, पुनरुक्ति, निरङ्कुश, निरुक्त, प्रातराश, चतुर्दिक्, चतुर्मास, बहिरङ्ग, आदि ।

नेपाली सञ्चार माध्यममा अचेल नबिराई आउने “पुनर्” पछाडि अघोष ध्वनि (कचटतप, खछठथफ, शषस) भएकाले ती शब्द अशुद्ध हुन् ।

३. नेपाली “घुर्रो”, “मुर्रो” र “पर्रा” शब्दमा झैँ संस्कृत शब्दमा ‘र’ वर्णको द्वित्व हुँदैन, त्यसैले “अन्तर्राष्ट्रिय” नेपाली संस्कृत शब्द हो, संस्कृत व्याकरणअनुसार “अन्ताराष्ट्रिय” शब्द बन्छ, “अन्तर्राष्ट्रिय” शब्द बन्दैन । संस्कृत व्याकरणको नियमअनुसार वाक्यमा अघिल्लो शब्दका अन्त्यमा पनि त्यसपछि आउने शब्दका सुरुमा पनि ‘र’ वर्ण आयो भने, अघिल्लो रेफको लोप हुन्छ र त्यसअगाडिको स्वर चाहिँ दीर्घ हुन्छ, जस्तै : नीरस, नीराजन, नीरोगी, नीरज, अन्ताराष्ट्रिय ।

४. अरू सबै भाषामा झैँ संस्कृतमा पनि दुई किसिमको सन्धि हुन्छ । एउटा शब्द वा रूपभित्र मात्र सीमित हुने वर्णपरिवर्तनको नियमलाई आन्तरिक सन्धि र दुईओटा शब्दका बीचमा मात्र सीमित हुने वर्णपरिवर्तनको नियमलाई बाह्य सन्धि भन्ने चलन छ । संस्कृत भाषामा षकारको विकास पछाडि भएको देखिन्छ, त्यसैले दन्त्य स कहाँ कहाँ लाग्छ भन्ने नियम नभएर पाणिनिले आफ्नो व्याकरणमा षत्वविधान चाहिँ दिएका छन् । त्यस नियमानुसार अकार र आकारबाहेक अरू स्वरपछाडि दन्त्य स मूर्धन्य षमा बद्लिन्छ । यस नियमको अपवाद आन्तरिक सन्धिमा मात्र पाइन्छ, जस्तै : विस्फोट, विस्फीति, विस्मय नत्र नियमअनुसार रसना, प्रशासन, चतुष्कोण, बहिष्कार, विष, भीषण, उषा, मूषक, ऋषि, घोषणा, ज्योतिष, औषधि हुन्छ ।

५. अन्त्यमा रेफ अथवा सकार भएका रूपपछाडि सकारबाटै कुनै शब्द वा रूप सुरु हुन्छ भने, त्यो अघिल्तिरको रेफ पनि कि त्यसपछि आउने सकारको उच्चारणस्थानसँग समीभवन हुने (अथवा मेल खाने) सकारमा परिवर्तन भएर क्रमश: एकनासको सकार पाइन्छ कि अघिल्लो सकार चाहिँ विसर्गमा बद्लिन्छ, जस्तै: प्रातस्स्नान (प्रात:स्नान), चतुश्शाला (चतु:शाला), चतुश्श्लोकी (चतु:श्लोकी), मनस्सन्तुष्टि (मन:सन्तुष्टि), पुनस्संस्कार (पुन:संस्कार), दुस्साहस (दु:साहस), दुस्साध्य (दु:साध्य), दुस्स्वप्न दु:स्वप्न), दुस्साहस (दु:साहस), दुश्शासन (दु:शासन), ज्योतिश्शास्त्र (ज्योति:शास्त्र), निस्सन्देह (नि:सन्देह), निस्सन्तान (नि:सन्तान), निस्सार (नि:सार), निस्स्पृह (नि:स्पृह), निश्शब्द (नि:शब्द), मनस्स्थिति (मन:स्थिति), अन्तश्शुल्क (अन्त:शुल्क), पुनस्स्थापना (पुन:स्थापना), प्रातस्स्मरण (प्रात:स्मरण), निश्शुल्क (नि:शुल्क) (नियम : विसर्जनीयस्य स:, पाणिनि ८।३।३४) ।

६.  अन्त्यमा रेफ अथवा सकार भएका रूपपछाडि कवर्ग र पवर्गका अघोष (कप, खफ) वर्ण भए, त्यो रेफ पनि कि सकार बन्छ, कि सकार समेत विसर्ग बन्छ । उपसर्ग भए, त्यहाँ अनिवार्य रूपमा सकार हुन्छ, तर दुई शब्दका बीचमा समास भए, विशेष नियममा बाहेक विसर्ग मात्र हुन्छ, जस्तै :

(उपसर्गमा) : दुष्कर्म, दुष्प्रभाव, धनुष्खण्ड, निष्कपट, निष्कण्टक, निष्काम, निष्क्रिय, निष्कर्ष, निष्पाप, दुष्परिणाम, निष्फल, निष्कासन, निष्पक्ष,

(समासमा) : मन:कामना, पुन:परीक्षा, ज्योति:पुञ्ज, प्रात:काल, अन्त:करण

(विशेष नियम) : अन्तस्करण, नमस्कार, पुरस्कार (नियम : नमस्पुरसोर्गत्यो:, पाणिनि ८।३।४०)।

७. कुनै शब्दका अन्त्यमा अकारपछाडि विसर्ग छ र त्यसपछि घोष व्यञ्जन (गजडदब, घझढधभ, नम, यरजवह) छ भने, त्यो विसर्ग समेतको अकार चाहिँ ओकारमा बद्लिन्छ, जस्तै : अधोगति, मनोज, पुरोडाश, मनोदशा, मनोबल, पुरोधा, अधोभाग, मनोभाव, मनोनीत, मनोमालिन्य, मनोरञ्जन, मनोविज्ञान, मनोवाद, तेजोवध, मनोहर (नियम : हशि च, पाणिनि ६।१।११०) ।

अचेल नेपाली सञ्चार क्षेत्रमा धेरै प्रचलित “मनोकाङ्क्षा, मनोकल्पना, मनोकामना” जस्ता शब्दमा विसर्गपछाडि अघोष वर्ण ‘क’ भएकाले तिनीहरूको शुद्ध रूप “मन:काङ्क्षा, मन:कल्पना, मन:कामना” हुन्छ । माथिकै विश्लेषणका आधारमा पुनर्स्थापना, अन्तर्कलहपुनर्प्रयोग शब्दको शुद्ध रूप क्रमश: पुन:स्थापना (अथवा पुनस्थापना), अन्त:कलहपुन:प्रयोग हुन्छ । अन्तर्क्रिया शब्दको शुद्ध रूप दुइटा हुन सक्छ : अन्त:क्रिया अथवा अन्तरक्रिया

Leave a Reply