बालखले रूखको बेलौती टिप्न लम्के झैँ मैले योग्यता बढाउने होड सक्तो गरेँ, तर आज आएर मलाई अयोग्यताको बोध भइरहेको छ । मैले रोजेका बाटामा मेरो मुलुकले तोकेको योग्यता नै पर्दो रहेनछ ! मेरो जीवनभर मैले प्राज्ञिक अग्लाइलाई नै आफ्नो सबै अठोट र खिप्तीको तारो ठानेँ । विकसित विश्वमा यत्तिको योग्यताले पुग्छ, तर मेरो मुलुकले मलाई अयोग्य घोषित गरिरहेको छ । विश्वको त्यसै योग्यताको गजो समातेर म बिहान चार बजेदेखि बेलुका पौने दश बजे सम्म अनुशासित भएर आफ्नो समय प्राज्ञिक कसरत र अनुसन्धानमा लगाइरहेको छु, तर मृत्युको पूर्वाभास हुनु भन्दा पहिले नै मलाई आफू अयोग्य भएको पूर्वाभासले च्वास्स छोएको छ अनि यो अयोग्यता आफल्न चाहिँ मलाई ज्यान गए मन छैन । मलाई चाहिँ किन किन आफ्नो यो अयोग्यता नै एकदम प्यारो लागिरहेको छ । मान्छेलाई आफ्नै अयोग्यता पनि कति मीठो लाग्ने रहेछ । तपाईँले कहिल्यै आफ्नो अयोग्यता मीठो मान्नु भएको छ?
म केटाकेटी हुँदा मेरी आमा मलाई टाकुरा तिर उक्लिने उपदेश अल्छी नमानी सधैँ दिइरहनु हुन्थ्यो । म ठाडो मुन्टो लाएर आमाको उपदेश मानेर आमाले औँल्याएका बाटा तिर सधैँ लागेँ । म धनी परिवारमा नजन्मेको हुनाले आमाको उपदेश मैले धनको खेती गर्न लगाइन । म खाल्डो खनेर पैसा पुर्न सक्तिनथेँ । मसित आफ्नो अयोग्यतालाई योग्यता ठहराइदिने सिफारिसको गाडधन थिएन । मेरा लागि आमाले देखाए तिरको सोझो बाटो पढाइकै बाटो थियो । परिवारको आर्थिक अभावले मेरो पढाइको बाटो धेरै पल्ट छेक्यो, तर खोलालाई पहिराले छेक्न सकेन; म पटक पटक बाटो फेरेर आफ्नो शैक्षिक योग्यता बढाउन तिर लागेँ । म दश कक्षामा हुँदा टाइफाइडले एसएलसी दिन छेक्यो; आइएस्सी र एमए अर्थशास्त्रको पढाइ आर्थिक दुर्बलताले छेक्यो । टाइफाइडले छेकेको एसएलसी अर्को वर्ष दिएँ; आइएस्सी र एमए अर्थशास्त्र छेकिए पछि प्राइभेट विद्यार्थी भएर आइए र एमए नेपाली पास गरेँ । पिएचडी गर्न फेरि आर्थिक कारणले नै एमए पास भए पछि सत्र वर्ष पर्खिनु पर्यो । छेकाराहरूले अर्कै किसिमका व्यावहारिक शिक्षा र अनुभव भने दिँदा रहेछन् । यसरी अप्ठ्यारो बाटो जति योग्यताले काटे पनि आज मलाई अयोग्यताको बोध भइरहेको छ, तर यस पल्ट मलाई आफ्नो अयोग्यता नै प्यारो भएको छ । म मेरो मुलुकले ठहराएको योग्यताका लिस्नामा एक खुटकिलो टेक्न पनि आँट गर्न सक्तिन ।
आज भन्दा अगाडि भएको अयोग्यताको बोधले पनि मलाई नयाँ बाटो खोज्न सिकाएको थियो, तर आजको अयोग्यता बोधले चाहिँ मलाई मेरो मृत्यु सम्म लखेट्ला जस्तो लागेको छ । मेरा छ जना भाइ बहिनी थिए । म भन्दा पछाडिको भाइ म भन्दा चार वर्ष कान्छो थियो । मेरा पिताजीसित हामीलाई पुग्दो पैसा छैन भन्ने मैले कोनि कसरी चाल पाएको थिएँ, त्यसैले मैले भाइ बहिनीलाई आफैँ पढाउने निर्णय गरेको थिएँ । भाइ बहिनीलाई आफैँ पढाउने निर्णय गर्दा मलाई के पनि थाह भयो भने, मान्छेले पढ्दा भन्दा पढाउँदा कुनै पाठ बढ्ता बुझ्दो रहेछ । एउटा शिक्षकले एउटा पाठ एक दिन पढायो अरे, विद्यार्थीले केही पनि बुझेनन् अरे; दोस्रो दिन पढायो अरे, विद्यार्थीले फेरि पनि केही पनि बुझेनन् अरे; तेस्रो दिन पढाए पछि शिक्षकले चाहिँ आफूले पढाएको पाठ अलि अलि बुझ्यो अरे । सबै मानिसहरू गुरुले विद्यार्थीलाई सिकाएको देख्छन्; म भने विद्यार्थीहरूले मलाई सिकाइरहेको चाल पाइरहेको छु । यसबाट मलाई आफ्नो योग्यता हो कि अयोग्यता केको चाहिँ बोध भइरहेको छ, म ठम्याउन सक्तिन । जे भए पनि आज भन्दा अगाडिको अयोग्यताको बोधले नै मलाई खारेर उकालेको अनुभव मलाई भएको थियो, तर आजको अयोग्यताका बोधको ओखती र उपाय मसित छैन । मलाई आफ्नो अयोग्यता झन झन बढाउने तल्तल लागिरहेको छ ।
मलाई पुरेत्याइँ गर्न आउँछ, तर मैले आज सम्म पुरेत्याइँ गरेको पनि छैन, पुरेत्याईँ गर्ने रहर पनि छैन, तर पुरेत हुने योग्यता मसित भएकामै मलाई खुसी लागेको छ, तर आजको तथाकथित नयाँ नेपालमा म मेरै विश्व विद्यालयको कुल सचिव, शिक्षाध्यक्ष र उपकुलपति हुन किन अयोग्य भएको छु भने, म कुनै पनि राजनीतिक पार्टीको सदस्य छैन । विश्व विद्यालय र एकेडेमीका नियम, विनियम र विधानमा त्यहाँको प्राज्ञिक नेतृत्व लिने योग्यता पाउन कुनै राजनीतिक पार्टीको लाउके हुनै पर्छ भन्ने चाहिँ कतै पनि लेखेको छैन । व्यवहारमा भने अलिखित नियम के छ भने, नयाँ नेपालमा सबै तथाकथित प्राज्ञिक पदका लागि योग्य हुन कुनै न कुनै राजनीतिक पार्टीको लाउके हुनु पर्छ । मैले चाहिँ सके सम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिने र लाउक्याइँ नगर्ने अठोट गरेको छु । म किन मेरा प्राज्ञिक प्रमाण पत्र भन्दा माथि कुनै राजनीतिक प्रमाण पत्रलाई राखूँ ? यसै अयोग्यताले मलाई आज व्यङ्ग्यात्मक गुलियो लागिरहेको छ ।
मेरा धेरै सहकर्मी मित्रहरूलाई आफ्नो प्राज्ञिक योग्यतामा भन्दा राजनीतिक प्रमाण पत्रमा आस्था र भर छ भन्दैमा कुर्सीको मोह नै नभएको म पनि किन उनीहरूको पछि पछि कुद्ने होड गरूँ ? म पुरेत हुन सक्छु, तर म पुरेत्याइँ गर्दिन भन्न सके झैँ, मेरो नयाँ नेपालमा मैले ‘विश्व विद्यालय र एकेडेमीको प्राज्ञिक नेतृत्व गर्न म सक्छु, तर गर्दिन’ भन्न पाइन, किन भने राजनीतिक पार्टीको सदस्य र लाउके नभएकाले मेरो त त्यहाँ आधारभूत योग्यता नै पुगेन । मैले दश पन्ध्र जना विद्यार्थीलाई पिएचडी डिग्री दिलाइसकेको छु, नेपालका झन्डै आधाजसो मातृभाषाहरूको वर्ण माला बनाइदिएको छु, भिजिटिङ प्रोफेसर भएर म चीन, जापान र भारतका विश्व विद्यालयमा काम गरेको छु, मेरा आफ्नै अनुसन्धान र अनुभवले अनि आफ्नै प्रकाशित कृतिहरूले म आफैँ रमाएकै छु भने, मलाई राजनीतिक पार्टीको लाउक्याइँका भरमा पाइने तथाकथित प्राज्ञिक पद किन चाहियो? कुरो जे भए पनि आफू ती पदका लागि अयोग्य भएको अघोषित नीति पढेर मुलुकको फैसला प्रति मुसुक्क हाँसेर नतमस्तक छु ।